अध्याय २८
कुराकानीको शैलीमा प्रस्तुत गर्नुहोस्
साथीभाइसित गफ गर्दा मानिसहरू अक्सर तनावमुक्त हुन्छन्। तिनीहरू मनमा फुरेको कुरा नहिचकिचाईकन व्यक्त गर्छन्। केही मानिस हावभावसहित खुलेर कुराकानी गर्छन् त केही अलि सङ्कोची स्वभावका हुन्छन्। जेहोस्, स्वाभाविक सुनिने तरिकामा गरिएको यस्तो कुराकानी कर्णप्रिय हुन्छ।
तर अपरिचित व्यक्तिसित कुराकानी गर्दा भने घनिष्ठ साथीसित जस्तै कुरा गर्नु वा अनौपचारिक शैलीमा बोल्नु उपयुक्त हुँदैन। वास्तवमा कुनै-कुनै संस्कृतिमा अपरिचित व्यक्तिसित कुराकानी थाल्दा अत्यन्तै औपचारिक हुनुपर्छ। स्थानीय चलनअनुसारको औपचारिकता पूरा गरिसकेपछि सुझबुझ देखाउँदै अलि कम औपचारिक हुनु र कुराकानी गरेको शैलीमा बोल्नु बढी उपयुक्त हुन सक्छ।
मञ्चबाट आफ्नो भाग प्रस्तुत गर्दा पनि होसियार हुनै पर्छ। अत्यन्तै अनौपचारिक शैलीमा गफ गरेको जस्तै गरी आफ्नो भाग प्रस्तुत गर्दा ख्रीष्टियन सभाको मर्यादा खस्कन्छ र भनिएको कुरालाई गम्भीरतासाथ लिइँदैन। कुनै-कुनै भाषामा वृद्धसित, शिक्षकसित, अफिसरसित वा बुबाआमासित कुराकानी गर्दा केही खास शब्द वा वाक्य प्रयोग गर्नुपर्छ। (प्रेषित ७:२ र १३:१६ मा प्रयोग गरिएको शैलीलाई ध्यान दिनुहोस्।) श्रीमान्श्रीमतीबीच कुराकानी गर्दा वा घनिष्ठ साथीसित कुराकानी गर्दा भने भिन्नै शब्द वा वाक्य प्रयोग गरिन्छ। मञ्चबाट बोल्दा हाम्रो भाषा-शैली ज्यादै औपचारिक हुनुहुँदैन तर आदरपूर्ण हुनुपर्छ।
तर कुनै व्यक्तिको प्रस्तुति अति नै रूखो अथवा औपचारिक सुनिनुका थुप्रै कारण हुन सक्छन्। त्यसमध्ये एउटा कारण वाक्यसंरचना हो। जस्तो लेखिएको छ वक्ताले त्यस्तै पढ्न खोज्दा यस्तो समस्या देखिन्छ। किनकि लेख्ने शैली अनि बोल्ने शैली प्रायजसो एकदमै फरक हुन्छ। यो कुरा साँचो हो, भाषणको तयारी गर्दा अक्सर हामी छापिएकै साहित्यबाट अनुसन्धान गर्छौं। भाषणको लागि रूपरेखा पनि उपलब्ध गराइएको हुन्छ। तर तपाईंले छापिएकै कुरा जस्ताको तस्तै पढ्नुभयो अथवा छापिएकै रूपरेखाबाट सीधै पढ्नुभयो भने तपाईंको प्रस्तुति स्वाभाविक सुनिंदैन। आफ्नो प्रस्तुतिलाई कुराकानी गरेको जस्तै बनाउने हो भने आफ्नै शब्दमा विचार व्यक्त गर्ने कोसिस गर्नुहोस् र वाक्यसंरचना जटिल नबनाउनुहोस्।
अर्को कारण हो, गतिमा हुने विविधता। एउटै तरिकाले ठाउँ-ठाउँमा रोकिंदा अनि एउटै गतिमा बोल्दा हाम्रो प्रस्तुति रूखो र औपचारिक सुनिन्छ। कुराकानी गर्दा हामी विभिन्न ठाउँमा विभिन्न तरिकाले रोकिन्छौं र हाम्रो बोल्ने गति पनि एउटै हुँदैन।
धेरै श्रोतासामु बोल्दा तपाईंले तिनीहरूको ध्यान निरन्तर खिच्ने हो भने कुराकानीको शैलीमा बोलेर मात्र पुग्दैन, आवाज ठूलो बनाउनुपर्छ, जोड दिनुपर्छ र उत्साहित हुनुपर्छ।
प्रचारमा उपयुक्त हुनेगरि कुराकानी गर्ने हो भने दिनहुँ त्यसरी नै बोल्ने बानी बसाल्नुपर्छ। यसको अर्थ तपाईंले धेरै पढे-लेखेको हुनुपर्छ भन्ने होइन। तर अरूलाई मनपर्ने तरिकामा बोल्ने बानी बसाल्नु राम्रो हुन्छ। यसरी बोल्दा अरूले तपाईंको कुरा आदरभावसहित सुन्नेछन्। यस कुरालाई मनमा राख्दै तपाईंले आफ्नो दैनिक बोलीचालीमा तल दिइएका बुँदाहरूमध्ये कुन-कुनमा उन्नति गर्नुपर्छ, पक्का गर्नुहोस्।
व्याकरणको नियमसित सरासर बाझिने अथवा तपाईंलाई पनि ईश्वरीय स्तर इन्कार गर्ने मानिस भन्ठान्ने किसिमका शब्द वा वाक्य प्रयोग नगर्नुहोस्। कलस्सी ३:८ मा पाइने सल्लाहअनुसार असभ्य वा अश्लील बोली त्याग्नुहोस्। तर अर्कोतर्फ बोलीचालीको शब्द प्रयोग गर्नुमा आपत्ति छैन। बोलीचालीका शब्दहरू अनौपचारिक भए तापनि स्वीकार्य हुन्छन्।
भिन्ना-भिन्नै विचार व्यक्त गर्न एउटै शब्द वा एउटै वाक्य पटक-पटक दोहोऱ्याउने नगर्नुहोस्। आफ्नो कुरालाई स्पष्ट पार्ने शब्द चलाउन सिक्नुहोस्।
भर्खरै भनेको कुरा विनाकारण नदोहोऱ्याउनुहोस्। बरु भन्न खोजेको कुरा मनमा ठप्प बसाल्नुहोस्; त्यसपछि मात्र बोल्नुहोस्।
व्यक्त गर्न खोजेको विचारलाई तीनथुप्रो शब्द प्रयोग गरेर ओझेलमा नपार्नुहोस्। स्रोताले सम्झून् भनेर चाहेको बुँदा सरल शब्दमा प्रस्टसित भन्ने बानी बसाल्नुहोस्।
अरूलाई आदर देखाउने तरिकामा बोल्नुहोस्।