प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be अध्या. ३० पृ. १८६-पृ. १८९ अनु. ४
  • चासो देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चासो देखाउनुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी गर्न अझै सिपालु कसरी हुन सक्छौं?
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मनको गहिराइसम्म पुग्ने प्रयास गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • व्यावहारिकता प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • चेला बनाउन सिपालु शिक्षकको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be अध्या. ३० पृ. १८६-पृ. १८९ अनु. ४

अध्याय ३०

चासो देखाउनुहोस्‌

तपाईंले के गर्नुपर्छ?

अरूको विचारको कदर गर्नुहुन्छ अनि तिनीहरूको हित चाहनुहुन्छ भनेर देखाउनुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

यसो गर्दा हामी यहोवाले देखाएको प्रेमको अनुकरण गरिरहेका हुन्छौं। अनि मानिसहरूको हृदयसम्म पनि पुग्न सक्छौं।

अरूलाई बाइबल सत्य बाँड्‌दा तिनीहरूलाई जानकारी दिनु मात्र पर्याप्त छैन; तिनीहरूको हृदयसम्मै पुग्नुपर्छ। यसो गर्ने एउटा तरिका कुरा सुन्‍ने व्यक्‍तिहरूप्रति साँचो चासो देखाउनु हो। यस्तो चासो विभिन्‍न तरिकामा देखाउन सकिन्छ।

श्रोताको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस्‌। प्रेषित पावलले आफ्नो श्रोताको पृष्ठभूमि अनि विचारलाई ध्यानमा राखे। तिनले यसो भने: “यहूदीहरूलाई हासिल गर्न सकूँ भनेर म यहूदीहरूका लागि यहूदीजस्तै भएँ। अनि व्यवस्थाको अधीनमा भएकाहरूलाई हासिल गर्न सकूँ भनेर म व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएजस्तै भएँ। परमेश्‍वरसामु म व्यवस्था नभएको मानिस होइन, किनकि म ख्रीष्टसामु व्यवस्थाकै अधीनमा छु तैपनि व्यवस्था नभएकाहरूलाई हासिल गरूँ भनेर व्यवस्था नभएकाहरूको लागि म व्यवस्था नभएजस्तै भएँ। कमजोरलाई हासिल गरूँ भनेर कमजोरका लागि म कमजोरै भएँ। कसै-कसैलाई हर हालतमा बचाउन सकूँ भनेर सबै किसिमका मानिसहरूका लागि म सबै कुरा भएको छु। अरूलाई सुसमाचार बाँड्‌न सकूँ भनेर यसको खातिर म सब थोक गर्छु।” (१ कोरि. ९:२०-२३) आज हामी पनि कसरी “सबै किसिमका मानिसहरूका लागि . . . सबै कुरा” हुन सक्छौं?

मानिसहरूसित कुराकानी गर्नुअघि एकैछिन मात्र अवलोकन गर्ने मौका पाउनुभयो भने पनि तिनीहरूलाई कुन कुरामा चासो लाग्छ अनि तिनीहरूको अवस्था कस्तो छ, त्यसबारे छनक पाउन सक्नुहुन्छ। के तपाईंले तिनीहरूको पेसा थाह पाउनुभयो? तिनीहरूको धार्मिक आस्था के हो, थाह पाउनुभयो? तिनीहरूको पारिवारिक अवस्था कस्तो छ, याद गर्नुभयो? तपाईंले अवलोकन गरेको कुराको आधारमा आफ्नो प्रस्तुतिलाई घरधनीको चासोअनुसार ढाल्न सक्नुहुन्छ कि?

घरधनीको मन छुने तरिकामा प्रस्तुति ढाल्न इलाकाका मानिसहरूसित कसरी कुरा थाल्ने भनेर पहिल्यै विचार पुऱ्‍याउनुपर्छ। कुनै-कुनै इलाकामा विदेशबाट बसाइँ सरेका मानिसहरू पनि हुन्छन्‌। तपाईंको इलाकामा पनि यस्तै मानिसहरू छन्‌ भने तिनीहरूलाई प्रभावकारी रूपमा साक्षी दिने तरिका के तपाईंले भेट्टाउनुभयो? परमेश्‍वर “सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ।” (१ तिमो. २:४) त्यसकारण भेटेजति सबैलाई मन छुने तरिकामा राज्य सन्देश सुनाउने लक्ष्य बनाउनुहोस्‌।

ध्यान दिएर सुन्‍नुहोस्‌। यहोवासँग सबै कुरा थाह पाउन सक्ने क्षमता छ, तैपनि उहाँ अरूको कुरा सुन्‍न तयार हुनुहुन्छ। अगमवक्‍ता मीकायाले देखेको दर्शनअनुसार यहोवाले स्वर्गदूतहरूलाई एउटा खास विषयबारे आ-आफ्नो विचार व्यक्‍त गर्न प्रोत्साहन दिनुभयो। त्यसपछि यहोवाले एक जना स्वर्गदूतलाई तिनको विचारअनुसारै कदम चाल्न अनुमति दिनुभयो। (१ राजा २२:१९-२२) यहोवाले सदोममाथि ल्याउने न्यायदण्डलाई कार्यान्वयन गर्ने विषयमा अब्राहामले चिन्ता व्यक्‍त गर्दा उहाँले कृपालु हुँदै तिनको कुरा सुन्‍नुभयो। (उत्प. १८:२३-३३) अरूको कुरा सुन्‍ने सन्दर्भमा यहोवाले बसालेको उदाहरण हामी प्रचारकार्यमा कसरी लागू गर्न सक्छौं?

अरूलाई आफ्नो कुरा व्यक्‍त गर्न प्रोत्साहन दिनुहोस्‌। तिनीहरूलाई उपयुक्‍त प्रश्‍नहरू सोध्नुहोस्‌ र जवाफ दिने पर्याप्त समय दिनुहोस्‌। तिनीहरूले कुरा गर्दा ध्यान दिएर सुन्‍नुहोस्‌। तपाईंले ध्यान दिएर सुन्‍नुभएको छ भने तिनीहरूले ढुक्क भएर बोल्ने प्रोत्साहन पाउनेछन्‌। कुराकानीको दौडान तिनीहरूलाई चासो लाग्ने कुनै कुरा थाह पाउनुभयो भने सुझबुझ चलाएर थप प्रश्‍न गर्नुहोस्‌। कौशलतासाथ प्रश्‍न सोध्नुहोस्‌ तर ज्यादै खोजीनिती नगर्नुहोस्‌। तिनीहरूले व्यक्‍त गरेको विचारको प्रशंसा गर्न मिल्छ भने खुलेर प्रशंसा गर्नुहोस्‌। तिनीहरूको विचारसित सहमत हुनुभएन भने पनि दयालु हुँदै तिनीहरूको कुरा सुनिदिनुहोस्‌।—कल. ४:६.

अरूलाई चासो देखाउँदा हामीले होसियार हुँदै आफ्नो सीमा बुझ्नुपर्छ। अरूमा चासो लिनुको मतलब तिनीहरूको निजी मामिलामा हात हाल्नु होइन। (१ पत्रु. ४:१५) बहिनीहरूले लोग्नेमान्छेप्रति चासो देखाउँदा अनि भाइहरूले स्वास्नीमान्छेप्रति चासो देखाउँदा अरूले त्यसलाई गलत अर्थमा नलिऊन्‌ भनेर हामी होसियार हुनुपर्छ। हुन पनि ठाउँ अनि मान्छेपिच्छे अरूलाई चासो देखाउने हद फरक-फरक हुने भएकोले अरूलाई चासो देखाउँदा हामीले सुझबुझ चलाउनुपर्छ।—लूका ६:३१.

तयारी गरेका छौं भने राम्रो श्रोता हुन सक्छौं। आफूले बताउन लागेको सन्देश हाम्रो मनमा ठप्प बसेको छ भने हामी ढुक्क हुन्छौं र स्वतः अरूको कुरा ध्यान दिएर सुन्छौं। यसो गर्दा अरूले पनि सजिलो महसुस गर्छन्‌ र हामीसित कुराकानी गर्न अझै उत्सुक हुन सक्छन्‌।

अरूको कुरा सुनेर हामी तिनीहरूलाई आदर देखाउँछौं। (रोमी १२:१०) अरूको कुरामा ध्यान दिंदा तिनीहरूको विचार अनि भावनाको कदर गर्छौं भनेर देखाइरहेका हुन्छौं। साथै हामीले भनिरहेको कुरा पनि तिनीहरूले ध्यान दिएर सुन्‍नेछन्‌। त्यसकारण राम्रै कारणले परमेश्‍वरको वचन हामीलाई यस्तो सल्लाह दिन्छ: “हरेक मानिसले चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।”—याकू. १:१९.

अरूलाई उन्‍नति गर्न मदत गर्नुहोस्‌। अरूप्रति चासो लिन्छौं भने हाम्रो सन्देश सुन्‍न इच्छुक मानिसहरूबारे हामी सोच्छौं र तिनीहरूलाई चाहिएकै जानकारी बाइबलबाट देखाउन फेरि भेट्‌न जान्छौं। पुनःभेट गर्ने योजना बनाउँदा अघिल्लो भेटबाट तिनीहरूबारे के-के थाह पाउनुभयो विचार गर्नुहोस्‌। तिनीहरूले चासो देखाएको विषयबारे तयारी गर्नुहोस्‌। सिकिरहेको कुराबाट तिनीहरूले कसरी फाइदा उठाउन सक्छन्‌ भनेर बुझ्न मदत गर्दै छलफल गरिरहेको विषयको व्यावहारिक पक्षलाई जोड दिनुहोस्‌।—यशै. ४८:१७.

तपाईंसित कुरा गर्ने व्यक्‍तिले आफ्नो चिन्ता वा फिक्रीबारे बतायो भने यसलाई सुसमाचार सुनाउने राम्रो मौका ठान्‍नुहोस्‌। येशूको उदाहरण अनुकरण गर्नुहोस्‌। विचलित मानिसहरूलाई सान्त्वना दिन उहाँ हर क्षण तयार हुनुहुन्थ्यो। (मर्कू. ६:३१-३४) तत्काल समाधान दिन वा खोक्रो सल्लाह दिन हतार नगर्नुहोस्‌। यसो गर्नुभयो भने तिनले साँचो चासो नपाएको महसुस गर्न सक्छन्‌। त्यसकारण उसको पीडा बुझ्ने प्रयास गर्नुहोस्‌। (१ पत्रु. ३:८) त्यसपछि बाइबलआधारित प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌ र तिनलाई परिस्थितिको सामना गर्न मदत गर्ने उत्थानदायी जानकारीहरू बताउनुहोस्‌। तपाईंको कुरा सुन्‍ने व्यक्‍तिको गोप्य कुरा अरूलाई बताउनुपर्ने जायज कारण छैन भने तपाईं तिनको गोप्य कुरा अरूलाई बताउनुहुन्‍न। यसो गर्नु तिनलाई मायालु चासो देखाएको प्रमाण हो।—हितो. २५:९.

विशेषगरि हामीले आफूसित बाइबल अध्ययन गर्ने मानिसहरूप्रति साँचो चासो देखाउनुपर्छ। प्रत्येक विद्यार्थीको आवश्‍यकतालाई प्रार्थनामा राख्नुहोस्‌ र तिनको आवश्‍यकतालाई ध्यानमा राख्दै अध्ययनको तयारी गर्नुहोस्‌। आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘अब तिनले आध्यात्मिक प्रगति गर्न के गर्नुपर्छ?’ यस सन्दर्भमा बाइबलमा अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले तयार पारेका प्रकाशनमा कस्ता जानकारी छन्‌, त्यसको मोल गर्न विद्यार्थीलाई मायालु भई मदत गर्नुहोस्‌। (मत्ती २४:४५) कुनै-कुनै अवस्थामा बाइबल विद्यार्थीलाई लेखिएको कुराको व्याख्या गरिदिएर मात्र नपुग्न सक्छ। बाइबलका कुनै खास सिद्धान्तहरू कसरी लागू गर्ने भनेर तपाईं आफैले कुनै व्यावहारिक कदम चालेर देखाउनुपर्ने हुन सक्छ। यसको लागि दुवै जना सँगै बसेर काम गर्न सक्नुहुन्छ।—यूह. १३:१-१५.

अरूलाई यहोवाको स्तर अनुरूप चल्न मदत गर्ने हो भने हामी सन्तुलित अनि सही निर्णय गर्न जान्‍ने हुनुपर्छ। मानिसहरूको पृष्ठभूमि अनि क्षमता फरक-फरक हुन्छ र तिनीहरू सबैले एकैनासले प्रगति गर्दैनन्‌। त्यसकारण अरूबाट माग गर्ने सन्दर्भमा व्यावहारिक हुनुहोस्‌। (फिलि. ४:५) तिनीहरूलाई आ-आफ्नो जीवनमा छाँटकाँट गर्न दबाब नदिनुहोस्‌। परमेश्‍वरको वचन र उहाँको पवित्र शक्‍तिले नै तिनीहरूलाई उत्प्रेरित गरोस्‌। यहोवा मानिसहरूले राजीखुसीसाथ आफ्नो सेवा गरेको चाहनुहुन्छ, करकापले होइन। (भज. ११०:३) तिनीहरूले व्यक्‍तिगत निर्णय गर्दा तपाईंले त्यसबारे आफ्नै विचार व्यक्‍त नगर्नुहोस्‌। तिनीहरूले तपाईंलाई के-कसो गर्ने भनेर सोधे भने पनि तिनीहरूको निम्ति निर्णय नगरिदिनुहोस्‌।—गला. ६:५.

व्यावहारिक मदत दिनुहोस्‌। येशूले मुख्यगरि आफ्ना श्रोताहरूको आध्यात्मिक हितप्रति चासो देखाउनुभयो। तर उहाँ श्रोताका अन्य आवश्‍यकताप्रति पनि सजग हुनुहुन्थ्यो। (मत्ती १५:३२) भौतिक तवरमा सीमित छौं भने पनि अरूलाई मदत गर्न सक्ने अन्य थुप्रै व्यावहारिक तरिका छन्‌।

अरूप्रति चासो देखाउँदा हामी विचारशील भई तुरुन्तै कदम चाल्छौं। उदाहरणका लागि, मौसमले गर्दा तपाईंको कुरा सुन्‍ने व्यक्‍तिलाई अप्ठेरो परिरहेको छ भने ओत लाग्न सक्नुहुन्छ कि अथवा अर्को समय भेटेर कुरा गर्ने प्रबन्ध मिलाउन सक्नुहुन्छ कि? यदि तपाईं तिनलाई भेट्‌न गलत समयमा पुग्नुभयो भने ‘पछि आएर कुरा गर्छु’ भन्‍नुहोस्‌। छिमेकी वा चासो देखाउने कोही बिरामी परेका छन्‌ वा अस्पतालमा भर्ना भएका छन्‌ भने तिनलाई कार्ड अथवा छोटो पत्र पठाएर वा भेट्‌न गएर चासो देखाउन सक्नुहुन्छ। मिल्छ भने साधारण खाना लगिदिन सक्नुहुन्छ वा अरू तरिकाबाट पनि मदत गर्न सक्नुहुन्छ।

बाइबल विद्यार्थीले प्रगति गर्दै गएपछि तिनले पहिला आफ्ना साथीभाइलाई जति समय दिने गरेका थिए, त्यति दिन पाउँदैनन्‌। यसले गर्दा तिनलाई न्यास्रो महसुस हुन सक्छ। त्यसकारण तिनको साथी बन्‍नुहोस्‌। बाइबल अध्ययनपछि वा अन्य उपयुक्‍त समयमा तिनीसित कुराकानी गरेर समय बिताउनुहोस्‌। तिनलाई असल मानिसहरूसित मित्रता गाँस्न प्रोत्साहन दिनुहोस्‌। (हितो. १३:२०) ख्रीष्टियन सभा, सम्मेलनमा उपस्थित हुन मदत गर्नुहोस्‌। तिनीसँगै बस्नुहोस्‌ र तिनले कार्यक्रमबाट पूरापूर फाइदा उठाउन सकून्‌ भनेर तिनको बच्चा हेरिदिनुपर्छ भने मदत गर्नुहोस्‌।

मनदेखि चासो देखाउनुहोस्‌। अरूलाई चासो देखाउनु सिपालु हुन सकिने सीपजस्तो होइन, यो त मनदेखि नै देखाउनुपर्ने गुण हो। हामी अरूलाई कुन हदसम्म चासो देखाउँछौं भन्‍ने कुरा विभिन्‍न तरिकामा देखिन्छ। तिनीहरूको कुरा कसरी सुन्छौं अनि तिनीहरूलाई के भन्छौं, त्यसमा तिनीहरूप्रतिको चासो झल्किन्छ। साथै अरूलाई दया देखाउँदा अनि तिनीहरूप्रति विचारशील हुँदा पनि हामीले चासो देखाएको प्रस्ट हुन्छ। केही नबोलेर वा केही नगरेर पनि हाम्रो व्यवहार अनि अनुहारको हावभावबाट अरूलाई चासो देखाएका छौं कि छैनौं भनेर प्रकट भइरहेको हुन्छ। यदि हामी अरूप्रति साँच्चै चासो देखाउँछौं भने अरूले बुझिहाल्छन्‌।

अरूलाई चासो देखाउँदा हामीले स्वर्गमा बस्ने बुबा यहोवाको प्रेम र कृपाको अनुकरण गरिरहेका हुन्छौं। यो नै चासो देखाउनुपर्ने महत्त्वपूर्ण कारण हो। यसो गर्दा यहोवाप्रति र उहाँले सबैलाई सुनाउन हामीलाई सुम्पेको सन्देशप्रति श्रोताको ध्यान खिचिनेछ। त्यसकारण सुसमाचार प्रचार गर्दा “आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान” दिने प्रयास गर्नुहोस्‌।—फिलि. २:४.

साँचो चासो कसरी देखाउन सकिन्छ?

  • अर्को व्यक्‍ति बोल्दा ध्यान दिएर सुन्‍नुहोस्‌। तिनले आफ्नो विचार अनि भावना व्यक्‍त गरेकोमा कृतज्ञता व्यक्‍त गर्नुहोस्‌। तिनको विचार अझ राम्रोसित बुझ्न प्रश्‍नहरू सोध्नुहोस्‌।

  • कुराकानी गरिसकेपछि तिनीबारे सोच्नुहोस्‌। चाँडोभन्दा चाँडो तिनीसित सम्पर्क राख्ने कोसिस गर्नुहोस्‌।

  • तिनलाई चाहिएकै जानकारी बाइबलबाट देखाउनुहोस्‌।

  • तिनलाई सघाउ पुग्ने काम गरिदिनुहोस्‌। तिनलाई अहिले तुरुन्तै कस्तो मदत गर्नुपर्छ वा पछि कस्तो मदत दिनुपर्ला, विचार गर्नुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- (१) सभा सुरु हुनुअघि सभामा आएको कुनै व्यक्‍तिप्रति चासो देखाउनुहोस्‌। “नमस्कार” मात्र भनेर गइहाल्ने नगर्नुहोस्‌। तिनलाई अझै राम्रोसँग चिन्‍ने प्रयास गर्नुहोस्‌। तिनको ख्याल राख्नुहुन्छ भनेर देखाउनुहोस्‌। सधैं यसो गर्ने प्रयास गर्नुहोस्‌। (२) प्रचार गर्दा भेटेको मान्छेलाई चासो देखाउनुहोस्‌। साक्षी दिने काम मात्र नगर्नुहोस्‌। तिनलाई राम्ररी चिन्‍ने प्रयास गर्नुहोस्‌। तिनीबारे थाह पाइसकेपछि त्यसैअनुसार भन्‍ने कुरामा अनि गर्ने काममा छाँटकाँट ल्याउनुहोस्‌। यसो गर्ने मौका खोजिरहनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने