अध्याय ३१
आदर देखाउनुहोस्
बाइबलले हामीलाई “हरप्रकारका मानिसहरूको आदर गर” अनि ‘कसैको बदनाम नगर’ भन्ने सल्लाह दिएको छ। (१ पत्रु. २:१७; ती. ३:२) वास्तवमा हामीले भेटेजति सबै मानिस “‘परमेश्वरको स्वरूपमा’ बनाइएका” हुन्। (याकू. ३:९) तिनीहरू प्रत्येकको लागि येशूले आफ्नो ज्यान दिनुभयो। (यूह. ३:१६) तिनीहरूले सुसमाचारअनुसार काम गर्ने हो र जीवन जोगाउने हो भने सुसमाचार सुनेको हुनै पर्छ। (२ पत्रु. ३:९) क्षमता वा ओहदाले गर्दा पनि मानिसहरू आदर पाउन योग्यका हुन्छन्।
बाइबलले जसरी आदर देखाउन प्रोत्साहन दिएको छ त्यसरी आदर देखाउनदेखि केही मानिस किन पन्छिन खोज्छन्? जात, वर्ण, लिङ्ग, स्वास्थ्य, उमेर, सम्पत्ति अनि सामाजिक ओहदाअनुसार कसलाई आदर गर्ने स्थानीय प्रचलनअनुसार निर्धारण गरिन्छ। सरकारी कर्मचारीहरूबीच भ्रष्टाचार व्याप्त भएकोले पनि मानिसहरू अख्तियारको आदर गर्दैनन्। केही मुलुकमा मानिसहरू आफ्नो जीवनदेखि विरक्तिएका छन्। आफ्नो आधारभूत आवश्यकता पूरा गर्न घण्टौं खटिनु परेकोले र अरूको फिटिक्कै आदर नगर्ने मानिसमाझ बस्नु परेकोले तिनीहरूलाई यस्तो लागेको हुन सक्छ। मन नपर्ने शिक्षक-शिक्षिकाको र अख्तियारप्राप्त अन्य व्यक्तिको विरोध गर्न युवायुवतीलाई साथीहरूले नै दबाब दिन्छन्। टेलिभिजन कार्यक्रममा छोराछोरीले बुबाआमालाई मूर्ख बनाएको र बुबाआमाको टाउकोमा टेकेको देखेर पनि थुप्रैले अरूको आदर गर्न छोडेका छन्। अरूप्रति आदर देखाइरहने हो भने हामीले यस्ता सांसारिक सोचाइहरूको प्रतिरोध गर्न कडा प्रयास गर्नै पर्छ। जेहोस्, अरूलाई आदर देखायौं भने खुलेर विचार आदानप्रदान गर्ने वातावरण सृजना हुन्छ।
प्रस्तुत हुने शैलीबाट आदर देखाउनुहोस्। धार्मिक कार्यमा संलग्न व्यक्तिले आफ्नो पहिरन अनि व्यवहारबाट आदर झल्काएको आशा गरिन्छ। कस्तो व्यवहारलाई राम्रो मान्ने, त्यो ठाउँअनुसार फरक-फरक हुन्छ। जस्तो कि ह्याट अथवा टोपी लगाएर नै वा खल्तीमा हात राखेर नै अरूलाई भेट्दा आदर नगरेको जस्तो कसै-कसैलाई लाग्छ। तर अरू ठाउँमा भने कसै-कसैलाई यस्ता कुरा स्वीकार्य होला। त्यसकारण अरूलाई चोट नपुऱ्याउन स्थानीय मानिसहरूको भावनाको कदर गर्नुहोस्। यसो गर्दा तपाईंले विनाअवरोध प्रभावकारी रूपमा सुसमाचार प्रचार गर्न सक्नुहुनेछ।
अरूलाई र विशेषगरि आफूभन्दा ठूलालाई सम्बोधन गर्ने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। साधारणतया जवान व्यक्तिले आफूभन्दा पाको व्यक्तिलाई नामै काढेर बोलाउनुलाई राम्रो मानिंदैन तर पाको व्यक्तिले नै नाम काढेर बोलाउने अनुमति दिएका छन् भनेचाहिं त्यसलाई सामान्य रूपमा लिइन्छ। कुनै-कुनै ठाउँमा पाको व्यक्तिहरूले पनि नचिनेको मान्छेसित कुराकानी गर्दा तिनको नाम काढ्नुलाई राम्रो मानिंदैन। साथै थुप्रै भाषामा आफूभन्दा ठूलालाई वा अख्तियारमा भएकाहरूलाई आदर देखाउन आदरार्थी शब्दहरू प्रयोग गर्ने अथवा अरू तरिका अपनाइने गरिन्छ।
अभिवादन गरेर आदर देखाउनुहोस्। आफ्नो टोलछिमेकमा होस् वा गाउँघरमा हिंड्दा अथवा कोठाभित्र छिर्दा होस्, कसैलाई देख्ने बित्तिकै तिनको उपस्थितिलाई याद गरेको देखाउन केही न केही गर्ने चलन हुन्छ। जस्तो कि, नमस्कार गर्ने, मुसुक्क हाँस्ने इत्यादि। कुनै व्यक्तिलाई देखे पनि नदेखेको जस्तो गर्दा अनादर गरेको ठानिन्छ।
तर तपाईंले कुनै व्यक्तिको उपस्थितिलाई स्वीकार्नुभयो भने पनि तिनलाई तपाईंले बेवास्ता गरेको जस्तो लाग्न सक्छ। किन? किनभने तपाईंले तिनलाई व्यक्तिविशेषको रूपमा मान्यता नदिएको तिनले स्पष्टै बुझ्न सक्छन्। मानिसहरूको शारीरिक विशेषता फरक-फरक हुने भएकोले तिनीहरूलाई विभिन्न समूहमा वर्गीकरण गर्नु कुनै नौलो कुरा होइन। अशक्त र अस्वस्थ मानिसहरूलाई प्रायः त्यत्ति वास्ता गरिंदैन। तर यस्ता मानिसहरूलाई पनि कसरी प्रेम र आदर देखाउन सकिन्छ, परमेश्वरको वचनले बताएको छ। (मत्ती ८:२, ३) आदमको पापले गर्दा हामीमा पनि कुनै न कुनै खोट छ। अरूले त्यही खोटलाई तपाईंको चिनारी बनाएका छन् भने तपाईंलाई तिनीहरूले आदर गरेजस्तो लाग्छ र? आफूमा भएका थुप्रै राम्रा गुणबाट अरूले चिनेको के तपाईंलाई मन पर्दैन र?
आदर देखाउनुमा घरमूलीलाई मान्यता दिनु पनि समावेश छ। कुनै-कुनै ठाउँमा घरका अरू सदस्यसित कुरा गर्नुअघि घरमूलीसित कुरा गर्ने चलन छ। यहोवाले हामीलाई प्रचार गर्ने अनि सिकाउने आज्ञा दिनुभएको छ तर छोराछोरीलाई तालिम दिने, अनुशासन दिने अनि डोऱ्याउने जिम्मा उहाँले आमाबाबुलाई नै दिनुभएको छ भनेर हामीले बुझेका छौं। (एफि. ६:१-४) त्यसकारण घर-घरको प्रचारमा केटाकेटीसित लामो कुरा गर्नुअघि तिनका आमाबुबासित कुरा गर्नु अक्सर राम्रो हुन्छ।
उमेर सँगैसँगै मानिसहरू अनुभवी हुँदै जान्छन् र हामीले यो कुराको कदर गर्नै पर्छ। (अय्यू. ३२:६, ७) त्यसै गर्दा श्रीलङ्काकी एउटी अग्रगामी बहिनीले वृद्ध व्यक्तिलाई प्रचार गर्न सकिन्। सुरुमा त ती वृद्ध व्यक्तिले हाम्री बहिनीलाई यसो भन्दै कुरा सुन्न चाहेका थिएनन्: “ओहो, तिमीले पो मलाई बाइबल सिकाउने?” तर हाम्री बहिनीले यसो भन्दै जवाफ दिइन्: “वास्तवमा म तपाईंलाई सिकाउन आएकी हैन। आफूले सिकेको कुराले गर्दा म अत्यन्तै खुसी छु। अनि त्यो कुरा अरूलाई नबताई बस्नै सक्दिनँ।” यसरी अग्रगामी बहिनीले आदरपूर्वक कुरा गरेकोले तिनको चासो जाग्यो। तिनले सोधे: “त्यसो भए तिमीले सिकेको कुरा मलाई पनि बताऊ न त।” बहिनीले भनिन्: “मैले सधैंभरि बाँच्न सक्ने तरिका सिकेकी छु।” ती वृद्ध पुरुषले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। यसरी आदर देखाउँदा सबै पाका व्यक्तिहरूले सकारात्मक प्रतिक्रिया देखाउँछन् भन्ने छैन तर धेरैजसोले भने पक्कै राम्रो प्रतिक्रिया देखाउनेछन्।
तर कहिलेकाहीं आवश्यकताभन्दा बढी आदर देखाउने सम्भावना पनि हुन्छ। प्रशान्त महासागरका टापुहरूमा अनि अरू ठाउँमा गाउँको वा कुनै जातिको मुखियालाई भेट्ने बेला स्थानीय चलनअनुसार अभिवादन गर्दा उनीहरू र उनीहरूको मातहतमा बस्ने व्यक्तिहरूसित कुरा गर्न सकिन्छ। तर त्यसो भन्दैमा उक्त व्यक्तिलाई चाहिनेभन्दा बढी आदर-सम्मान दिएर कुरा गर्नु आवश्यक पनि छैन, उचित पनि छैन। (हितो. २९:५) त्यसैगरि व्याकरणअनुसार आदर गरेर बोल्ने भाषा/शब्द त होलान् तर ख्रीष्टियनहरूले अरूको आदर गर्दा यसरी बढ्तै आदर-सम्मान दिएर कुरा गर्नु आवश्यक छैन।
बोल्ने शैलीबाट आदर देखाउनुहोस्। कसैले हाम्रो आशाको कारणबारे सोध्दा “कोमल भाव र गहिरो आदर”-सहित जवाफ दिन बाइबल हामीलाई आग्रह गर्छ। (१ पत्रु. ३:१५) अरूको गल्ती हामी तुरुन्तै औंल्याउन सक्छौं होला तर तिनको बेइज्जत हुनेगरि गल्ती औंल्याउनु के बुद्धिमानी हो र? तिनको कुरा धैर्य गर्दै सुन्नु, तिनलाई त्यस्तो लाग्नुको कारण सोध्नु अनि त्यसपछि तिनको भावनाको कदर गर्दै बाइबलबाटै तर्क गर्नु बेस हो नि, होइन र?
कसैसित कुरा गर्दा तिनलाई आदर गरेझैं मञ्चबाट बोल्दा पनि प्रत्येक श्रोतालाई आदर गर्नुपर्छ। श्रोतालाई आदर गर्ने वक्ताले तिनीहरूको कठोर आलोचना गर्दैनन् वा ‘गर्ने मन भए पो गर्थ्यो’ भन्ने भाव झल्कने किसिमले पनि बोल्दैनन्। यसरी बोल्दा अरूलाई निरुत्साहित मात्र बनाइरहेका हुन्छौं। त्यसैले यी श्रोता यहोवालाई प्रेम गर्ने अनि उहाँको सेवा गर्न चाहने मानिसहरू हुन् भनेर मनमा राख्नु ज्यादै राम्रो हुन्छ। हामीले आध्यात्मिक रूपमा कमजोर, कम अनुभवी वा बाइबलका सल्लाह तुरुन्तै लागू नगर्नेहरूसित व्यवहार गर्दा येशूले जस्तै व्यवहार गर्नुपर्छ।
वक्ताले आफूलाई पनि परमेश्वरको वचन अझ राम्रोसँग लागू गर्नुपर्ने व्यक्तिको रूपमा चिनाउँछन् भने श्रोताले आदर पाएको महसुस गर्न सक्छन्। त्यसकारण मञ्चबाट शास्त्रको उपयोगिताबारे बताउँदा जतिखेर पनि ‘तपाईं’ सर्वनाम प्रयोग गर्ने नगर्नुहोस्। जस्तै, “के तपाईं आफूले सकेजति सबै गर्दै हुनुहुन्छ” भनेर सोध्नु र “हामी प्रत्येकले आफैलाई यसरी सोध्नुपर्छ, ‘के मैले सकेजति गरिरहेछु’” भन्नुबीच के भिन्नता छ याद गर्नुहोस्। यी दुवै प्रश्नले सोध्न खोजेको कुरा त एउटै हो तर पहिलो प्रश्नमा भने वक्ताले श्रोतालाई मात्र सम्बोधन गरेका छन्। तर दोस्रो प्रश्नमा भने आफूलगायत प्रत्येक श्रोतालाई आ-आफ्नो परिस्थिति र मनोवृत्ति केलाउन प्रोत्साहन दिइएको छ।
श्रोतालाई हँसाउनको लागि मात्र कुनै कुरा भन्ने प्रलोभनमा नपर्नुहोस्। यसो गर्दा बाइबल सन्देशको गरिमा ओझेलमा पर्छ। हो, हामीले परमेश्वरको सेवा गर्दा आनन्दित महसुस गर्नुपर्छ। सायद हामीले जिम्मा पाएको कुनै-कुनै विषयवस्तु हँसाउने खालकै होलान्। तर गम्भीर विषयलाई पनि ठट्यौलो पारामा प्रस्तुत गर्नुभयो भने श्रोतालाई र परमेश्वरलाई आदर नगरेको ठहरिन्छ।
हामीले मानिसहरूप्रति जस्तो दृष्टिकोण राखेको यहोवा परमेश्वर चाहनुहुन्छ, त्यस्तै दृष्टिकोण राखेका छौं भनेर प्रस्तुत हुने शैलीबाट, व्यवहारबाट अनि बोलीबाट देखाइरहन सकौं।