अध्याय ४७
प्रभावकारी ढङ्गमा दृश्य-सामग्री प्रयोग गर्नुहोस्
सिकाउने बेला किन दृश्य-सामग्री अर्थात् देखिने कुराहरूको प्रयोग गर्नुपर्छ? किनकि यसले तपाईंलाई अझै प्रभावकारी भएर सिकाउन मदत गर्छ। यहोवा परमेश्वरले र येशू ख्रीष्टले सिकाउँदा दृश्य-सामग्री प्रयोग गर्नुभयो। हामी उहाँहरूबाट सिक्न सक्छौं। कुनै कुरा बताउँदा दृश्य-सामग्री पनि देखाइएको छ भने आँखा र कान दुवै इन्द्रियबाट जानकारी लिन सकिन्छ। दृश्य-सामग्री प्रयोग गर्दा श्रोताको ध्यान खिचिरहन र तिनीहरूमा बलियो प्रभाव पार्न मदत पुग्छ। सुसमाचार प्रस्तुत गर्दा दृश्य-सामग्री कसरी प्रयोग गर्न सक्नुहुन्छ? दृश्य-सामग्री प्रभावकारी तरिकामा प्रयोग गरिरहेको छु भनेर तपाईं कसरी ढुक्क हुन सक्नुहुन्छ?
सबैभन्दा महान् शिक्षकहरूले दृश्य-सामग्री प्रयोग गरेको तरिका: यहोवाले महत्त्वपूर्ण पाठ सिकाउनको लागि सजिलै सम्झन सकिने किसिमका दृश्य-सामग्री प्रयोग गर्नुभयो। एक रात उहाँले अब्राहामलाई पालबाहिर लगेर यसो भन्नुभयो: “आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्तैनस्, गनिहेर्। . . . तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।” (उत्प. १५:५) यहोवाले अब्राहामसँग गरेको प्रतिज्ञा मानिसको दृष्टिकोणमा पूरा हुन असम्भव नै भए तापनि तिनमा गहिरो छाप पऱ्यो र तिनले यहोवामाथि विश्वास गरे। यर्मियालाई भने यहोवाले कुमालेको घरमा पठाउनुभयो र कुमालेले माटोलाई कसरी आकार दिन्छ, हेर्न लगाउनुभयो। मानिसहरूमाथि सृष्टिकर्ताको कस्तो अख्तियार छ भनेर बुझाउने कस्तो अविस्मरणीय पाठ! (यर्मि. १८:१-६) यहोवाले कुभिण्डोको बोट प्रयोग गरेर योनालाई कृपाबारे पाठ सिकाएको कुरा तिनले कसरी बिर्सन सक्थे र? (योना ४:६-११) यहोवाले आफ्ना भविष्यवक्ताहरूलाई उपयुक्त सरसामान प्रयोग गरेर अभिनय गर्दै अगमवाणी बताउन पनि लगाउनुभयो। (१ राजा ११:२९-३२; यर्मि. २७:१-८; इज. ४:१-१७) वासस्थान र मन्दिरमा भएका विभिन्न सामग्रीले स्वर्गमा रहेको यहोवाको मन्दिरको प्रतिनिधित्व गर्ने भएकोले स्वर्गका कुराहरूको वास्तविकता बुझ्न त्यसले हामीलाई मदत गर्छ। (हिब्रू ९:९, २३, २४) यहोवाले महत्त्वपूर्ण सन्देश दिन पनि दर्शनहरूको प्रशस्तै प्रयोग गर्नुभयो।—इज. १:४-२८; ८:२-१८; प्रेषि. १०:९-१६; १६:९, १०; प्रका. १:१.
येशूले दृश्य-सामग्रीको प्रयोग कसरी गर्नुभयो? फरिसीहरू र हेरोदका मानिसहरूले येशूलाई उहाँले बोलेकै कुरामा फसाउन खोजे। त्यतिबेला येशूले एउटा सिक्का माग्नुभयो र सिक्कामा भएको सम्राट्को चित्रतर्फ तिनीहरूको ध्यान खिच्नुभयो। त्यसपछि जे-जे सम्राट्का हुन्, सम्राट्लाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई दिनुपर्छ भनेर बताउनुभयो। (मत्ती २२:१९-२१) हामीसँग भएको सबै कुराले यहोवाको महिमा गर्नुपर्छ भनेर बुझाउन येशूले मन्दिरमा आएकी एउटी गरिब विधवालाई देखाउनुभयो। ती गरिब विधवाले आफूसँग भएको दुई साना सिक्का अर्थात् आफ्नो जीविका चलाउने सबै पैसा मन्दिरको दानपात्रमा खसालेकी थिइन्। (लूका २१:१-४) अनि नम्र हुनुपर्छ र उच्च ओहदा पाउने झुकाव हटाउनुपर्छ भन्ने पाठ सिकाउन येशूले एक पटक एउटा सानो बालकलाई प्रयोग गर्नुभयो। (मत्ती १८:२-६) नम्र हुनुको अर्थ के हो भनेर बुझाउन उहाँ आफैले चेलाहरूको गोडा धोएर उदाहरण बसाल्नुभयो।—यूह. १३:१४.
दृश्य-सामग्री प्रयोग गर्ने तरिका: मानिसहरूसित कुराकानी गर्दा हामी यहोवाले जस्तै दर्शन देखाउन सक्दैनौं। तर यहोवाका साक्षीहरूका प्रकाशनमा भएका सोच्न लगाउने चित्रहरू भने देखाउन सक्छौं। चासो देखाउने मानिसहरूलाई परमेश्वरको वचनमा प्रतिज्ञा गरिएको प्रमोदवन कस्तो हुन्छ भनेर कल्पना गराउन ती चित्र प्रयोग गर्नुहोस्। बाइबल अध्ययन सञ्चालन गर्दा अध्ययन गरिरहेको विषयसित सम्बन्धित चित्रतर्फ विद्यार्थीको ध्यान खिच्नुहोस्। उक्त चित्रमा के-कस्ता कुरा छन् भनेर विद्यार्थीलाई सोध्नुहोस्। यहोवाले आमोसलाई केही खास दर्शनहरू देखाइसकेपछि सोधेको कुरा ध्यान दिन लायकको छ: “आमोस, तँ के देख्तैछस्?” (आमो. ७:७, ८; ८:१, २) सिकाउनको लागि हामीलाई मदत गर्न तयार पारिएका चित्रहरू देखाउँदै तपाईं पनि त्यसरी नै प्रश्न सोध्न सक्नुहुन्छ।
महत्त्वपूर्ण घटनाहरूको कालक्रम बुझाउन तपाईं हिसाबकिताब लेखेर देखाउन सक्नुहुन्छ अथवा ऐतिहासिक क्रमअनुसार चार्ट बनाएर देखाउन सक्नुहुन्छ। यसो गर्दा मानिसहरूले दानियल ४:१६ मा लेखिएको “सात काल” र दानियल ९:२४ मा उल्लेख गरिएको “सत्तरी हप्ता” जस्ता भविष्यवाणी सजिलै बुझ्न सक्छन्। अध्ययनको लागि तयार पारिएका हाम्रा प्रकाशनमा यस्ता दृश्य-सामग्री थुप्रै पाइन्छन्।
परिवारसँगै मिलेर बाइबल अध्ययन गर्दा वासस्थान, यरूशलेमको मन्दिर, मन्दिरबारे इजकिएलको दर्शन जस्ता कुराबारे छलफल गर्दा चित्र प्रयोग गर्नुभयो भने सजिलै बुझ्न सकिन्छ। यस्ता चित्रहरू धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्ग्रेजी), पवित्र बाइबल नयाँ संसार अनुवाद—सन्दर्भसहित (अङ्ग्रेजी) र विभिन्न अङ्कका प्रहरीधरहरा-मा पाइन्छन्।
परिवारसँगै बाइबल पढ्दा नक्साहरू हेर्ने गर्नुहोस्। अब्राहामले ऊरदेखि हारानसम्म यात्रा गर्दा अनि बेतेलसम्मै पुग्दा तिनीसँगै हिंड्नुहोस्। इस्राएलीहरू मिश्रबाट निस्केर प्रतिज्ञा गरिएको देशसम्म पुग्दा कुन बाटो भएर हिंडे, पत्ता लगाउनुहोस्। इस्राएलको प्रत्येक कुललाई पैतृक सम्पत्तिको रूपमा दिइएको भूभाग कहाँ-कहाँ रहेछ, हेर्नुहोस्। सुलेमानको राज्य कहाँसम्म फैलिएको थियो, ध्यान दिनुहोस्। ईजेबेलले धम्क्याएपछि एलिया यिज्रेलबाट बेर्शेबा हुँदै उजाडस्थानसम्म भाग्दा तिनीसँगसँगै भाग्नुहोस्। (१ राजा १८:४६–१९:४) येशूले प्रचार गरेका गाउँ र सहरहरू पत्ता लगाउनुहोस्। प्रेषितको किताबमा वर्णन गरेको कुरा पढ्दै पावलसँगसँगै यात्रा गर्नुहोस्।
मण्डलीका कामकुरा कसरी सञ्चालन हुन्छन् भनेर बाइबल विद्यार्थीलाई बुझाउन दृश्य-सामग्री प्रयोग गर्नु प्रभावकारी हुन्छ। सम्मेलन र अधिवेशनको कार्यक्रम-पर्ची देखाएर त्यहाँ के-कस्ता विषयमा छलफल हुन्छ भन्ने कुरा बताउन सक्नुहुन्छ। धेरै मानिस राज्यभवन, शाखा कार्यालय वा स्थानीय कार्यालयको अवलोकन गरेर प्रभावित भएका छन्। हाम्रो काम र उद्देश्यप्रति मानिसहरूले राखेको गलत धारणा हटाउन यस्तो भ्रमण प्रभावकारी हुन सक्छ। राज्यभवनको अवलोकन गराउँदा अरू विभिन्न उपासनास्थलभन्दा राज्यभवन किन फरक छ भनेर देखाउनुहोस्। राज्यभवन एउटा सामान्य घर हो र त्यहाँको वातावरण सिक्न सकिने किसिमको छ भन्ने कुरातर्फ ध्यान खिच्नुहोस्। विशेषगरि प्रचारको लागि गरिएका प्रबन्धतर्फ ध्यान खिच्नुहोस्। जस्तै: साहित्य वितरण गरिने ठाउँ, इलाकाको नक्सा, अनुदान बाकस (चर्चमा चन्दा उठाउने चलनभन्दा फरक) इत्यादि।
परिचालक निकायले तयार पारेको भिडियो उपलब्ध छ भने बाइबलप्रति मानिसहरूको भरोसा बढाउन भिडियो देखाउनुहोस्। भिडियो देखाएरै बाइबल विद्यार्थीलाई यहोवाका साक्षीहरूको गतिविधिबारे जानकारी दिन सक्नुहुन्छ र दर्शकहरूलाई बाइबलका सिद्धान्तअनुसार जीवन बिताउने प्रोत्साहन पनि दिन सक्नुहुन्छ।
धेरै श्रोतासामु दृश्य-सामग्री प्रयोग गर्ने तरिका: राम्रो तयारी गरिएको छ र राम्ररी देखाइएको छ भने धेरै श्रोतालाई सिकाउँदा पनि दृश्य-सामग्री प्रभावकारी हुन्छ। विभिन्न किसिमका दृश्य-सामग्री विश्वासी र बुद्धिमान् दासले उपलब्ध गराएको छ।
प्रहरीधरहरा-को अध्ययन लेखमा दृश्य-सहायकको रूपमा प्रायजसो चित्रहरू दिइएका हुन्छन्। महत्त्वपूर्ण बुँदालाई जोड दिन सञ्चालकले त्यसतर्फ ध्यान खिच्न सक्छन्। मण्डली बाइबल अध्ययन सञ्चालन गर्दा पनि त्यसरी नै चित्रहरूतर्फ ध्यान खिच्नुपर्छ।
कुनै-कुनै जनभाषणमा कुनै बुँदा प्रस्ट पार्न दृश्य-सामग्री पनि प्रयोग गर्न सकिन्छ कि जस्तो देखिन्छ। तैपनि सबैजसो श्रोताको हातमा भएको बाइबलतर्फ ध्यान खिच्यौं भने सबैभन्दा ठूलो उपलब्धि हासिल हुनेछ। कहिलेकाहीं चित्र वा छोटो रूपरेखा बनाएर एउटा वा केही मुख्य बुँदा प्रस्ट पार्ने विचार गर्नुभएको छ भने तपाईंले देखाउने चित्र वा अक्षरहरू राज्यभवनको सबैभन्दा पछाडि बसेका श्रोताले पनि प्रस्टै देख्छन् कि देख्दैनन् पक्का गर्नुपर्छ। दृश्य-सामग्री सकभर थोरै मात्र प्रयोग गर्नुपर्छ।
अरूलाई सिकाउँदा दृश्य-सामग्री प्रयोग गर्नुको उद्देश्य श्रोतालाई मनोरञ्जन दिनु होइन। हामीले प्रयोग गर्ने दृश्य-सामग्री मर्यादित किसिमको हुनुपर्छ र यस्ता दृश्य-सामग्रीले विशेष जोड दिनुपर्ने विचारहरूलाई अझै प्रस्ट पार्नुपर्छ। हामीले प्रयोग गर्ने यस्ता दृश्य-सामग्रीले गर्दा हाम्रो कुरा प्रस्ट हुन्छ, अरूले हाम्रो कुरा सजिलै बुझ्छन् अथवा हामीले भनेको कुराको बलियो आधार दिन्छ भने मात्र त्यसको उद्देश्य पूरा हुन्छ। दृश्य-सामग्री ठीक तरिकाले प्रयोग गरिएको छ र विषयसँग सुहाउँदो छ भने दृश्य-सामग्री र सिकाइएको कुरा दुवै वर्षौंसम्म श्रोताको मनमा ठप्प बस्छ।
कुनै पनि कुरा सिक्नको लागि हेर्ने अनि सुन्ने दुवै इन्द्रियको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। दुई महान् शिक्षक अर्थात् यहोवा र येशूले सिकाउँदा हामीलाई यी इन्द्रिय कसरी प्रयोग गर्न लगाउनुभयो, याद गर्नुहोस्। अनि अरूलाई सत्य सिकाउँदा उहाँहरूको अनुकरण गर्ने प्रयास गर्नुहोस्।