अध्याय३४
उत्थानदायी र सकारात्मक हुनुहोस्
हामीले जुन सन्देश अरूलाई सुनाउने आदेश पाएका छौं, त्यो सुसमाचार हो। येशूले यसो भन्नुभयो: “सारा जातिहरूलाई पहिला सुसमाचार प्रचार गरिनुपर्छ।” (मर्कू. १३:१०) येशू आफैले “परमेश्वरको राज्यको सुसमाचार” सुनाएर उदाहरण बसाल्नुभयो। (लूका ४:४३) प्रेषितहरूले प्रचार गरेको सन्देशलाई पनि “परमेश्वरको सुसमाचार” र “ख्रीष्टबारे सुसमाचार” भनेर वर्णन गरिएको छ। (१ थिस्स. २:२; २ कोरि. २:१२) त्यस्तो सन्देश उत्थानदायी र सकारात्मक छ।
‘आकाशमा उडिरहेको स्वर्गदूतले’ घोषणा गरेको “अनन्त सुसमाचार”-अनुसारै हामी पनि मानिसहरूलाई यस्तो आग्रह गर्छौं: “परमेश्वरसित डराओ र उहाँलाई महिमा देओ।” (प्रका. १४:६, ७) हामी सबैतिरका मानिसहरूलाई साँचो परमेश्वर, उहाँको नाम, उहाँका अद्भुत गुण, उहाँका उदेकलाग्दा काम, उहाँको मायालु उद्देश्य, हामीले उहाँलाई दिनुपर्ने लेखा अनि उहाँले हामीबाट चाहने कुराबारे बताउँछौं। यहोवा परमेश्वरले उहाँको अनादर गर्ने अनि अरू मानिसको जीवन बर्बाद गर्ने दुष्टहरूलाई नाश गर्नुहुनेछ भन्ने तथ्य सुसमाचार अन्तर्गत नै पर्छ। तर हामीले प्रचार गर्ने प्रत्येक व्यक्तिको इन्साफ गर्ने काम हाम्रो होइन। धेरैभन्दा धेरै मानिसले बाइबल सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाऊन् र यो तिनीहरूको लागि साँच्चै नै सुसमाचार साबित होस् भन्ने हाम्रो मनदेखिको चाहना छ।—हितो. २:२०-२२; यूह. ५:२२.
नकारात्मक विषयवस्तुबारे लम्बेतान कुरा नगर्नुहोस्। अवश्य पनि, जीवनमा थुप्रै नकारात्मक कुरा छन्। हामी त्यसप्रति आँखा चिम्लन सक्दैनौं। तपाईं आफ्नो इलाकामा भएका मानिसहरूलाई पिरोलिरहेको कुनै समस्या उल्लेख गर्दै कुराकानी थाल्न सक्नुहुन्छ र त्यही विषयमा अलिकता छलफल गर्न सक्नुहुन्छ। तर त्यस्तो विषयमा लम्बेतान कुरा गर्दा केही फाइदा हुँदैन। मानिसहरूले नराम्रो समाचार नसुनेको क्षण नै छैन भन्दा पनि हुन्छ। त्यसैले तपाईंले पनि त्यस्तै विषयमा कुरा गर्दा घरधनीले ढोका बन्द गर्न सक्छन् वा तपाईंको कुरा नसुन्न सक्छन्। त्यसकारण कुराकानी थाल्दा सुरुमै परमेश्वरको वचनमा पाइने स्फूर्तिदायी सत्यतर्फ मानिसको ध्यान खिच्ने कोसिस गर्नुहोस्। (प्रका. २२:१७) यसो गर्दा घरधनीले कुरा गर्न चाहेनन् भने पनि तपाईंले सुरुमै बताएको उत्थानदायी कुरामा पछि तिनले विचार गर्न सक्छन् र सायद भविष्यमा हाम्रो सन्देश सुन्न तिनी अझै इच्छुक होलान्।
त्यसैगरि भाषण दिंदा श्रोतालाई बताउन सकिने नकारात्मक जानकारी तीनथुप्रो छन् भन्दैमा त्यसको ओइरो नै नलगाउनुहोस्। यदि वक्ताले मानव शासकको असफलता, अपराध र हिंसाको समाचार वा व्यापक रूपमा फैलिएको अवैध यौनसम्बन्धबारे लम्बेतान कुरा गरे भने श्रोता निरुत्साहित हुन सक्छन्। नकारात्मक विषय उल्लेख गर्नु उपयोगी छ भने मात्र त्यसबारे चर्चा गर्नुहोस्। तपाईंको भाषण समयसुहाउँदो छ भनेर जोड दिन यस्ता विषयबारे अलिकता मात्र उल्लेख गर्नुहोस्। यसो गर्दा अहिले परिस्थिति बिग्रनुको मुख्य कारण के हो र बाइबलमा दिइएको समाधान किन व्यावहारिक छ, बताउन सक्नुहुन्छ। सकिन्छ भने यस्ता समस्या तोकेरै उल्लेख गर्नुहोस्; त्यसबारे बेलीबिस्तार नलगाउनुहोस्।
भाषणबाट भएभरको नकारात्मक बुँदा हटाउनु अक्सर सम्भव हुँदैन र यो उपयुक्त पनि छैन। त्यसैले श्रोतामा राम्रो छाप पर्नेगरि सकारात्मक र नकारात्मक दुवै कुरा उल्लेख गर्दै भाषण दिनु चुनौतीपूर्ण हुन्छ। यसको लागि तपाईंले भाषणमा के भन्ने, के नभन्ने र कुन कुरामा जोड दिने, त्यो पक्का गर्नै पर्छ। डाँडामा दिइएको उपदेशमा येशूले श्रोतालाई सदुकी र फरिसी जस्तै स्वार्थी नहुन सल्लाह दिनुभयो र यसलाई जोड दिन केही उदाहरण प्रस्तुत गर्नुभयो। (मत्ती ६:१, २, ५, १६) यसबाहेक येशूले यी धर्मगुरुहरूको नराम्रो उदाहरणमा ध्यान खिच्नुको साटो परमेश्वरको सत्य मार्ग बुझ्नुपर्ने र त्यस अनुरूप जीवन बिताउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। (मत्ती ६:३, ४, ६-१५, १७-३४) यसको परिणाम अत्यन्तै सकारात्मक भयो।
बोल्ने शैली पनि सकारात्मक बनाउनुहोस्। ख्रीष्टियन सेवाको कुनै पक्षबारे भाषण दिने जिम्मेवारी पाउनुभएको छ भने आलोचनात्मक होइन, उत्थानदायी हुने प्रयास गर्नुहोस्। अरूलाई जे गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ त्यो तपाईं आफैले गर्दै हुनुहुन्छ कि हुनुहुन्न, पक्का गर्नुहोस्। (रोमी २:२१, २२; हिब्रू १३:७) प्रेमले उत्प्रेरित भएर बोल्नुहोस्, चिढिएर होइन। (२ कोरि. २:४) तपाईंका सँगी विश्वासीहरू यहोवालाई खुसी पार्न चाहन्छन् भन्ने कुरामा विश्वस्त हुनुहुन्छ भने तपाईंको विश्वस्तता तपाईंको बोलीमा झल्किनेछ र यसले श्रोतामा राम्रो छाप पार्नेछ। पहिलो थिस्सलोनिकी ४:१-१२; २ थिस्सलोनिकी ३:४, ५ र फिलेमोन ४, ८-१४, २१ मा लेखिएअनुसार प्रेषित पावलले यस्तो विश्वस्तता कसरी देखाए, याद गर्नुहोस्।
गलत कदमबारे एल्डरहरूले कहिलेकाहीं भाइबहिनीलाई चेतावनी दिनुपर्ने हुन्छ। तर तिनीहरू नम्रताको मनोभावसहित भाइहरूसित व्यवहार गर्छन्। (गला. ६:१) कुरा गर्ने शैलीबाट पनि मण्डलीका भाइबहिनीलाई आदर गरेको देखाउनुपर्छ। (१ पत्रु. ५:२, ३) बाइबलले विशेषगरि युवकहरूलाई यस सन्दर्भमा होसियार हुन सल्लाह दिएको छ। (१ तिमो. ४:१२; ५:१, २; १ पत्रु. ५:५) अरूलाई सुधार्नु, अनुशासन दिनु र सच्याउनु आवश्यक पऱ्यो भने बाइबलमा बताइएको कुराको आधारमा नै त्यसो गर्नुपर्छ। (२ तिमो. ३:१६) कुनै कुरा वक्तालाई यस्तै हो भन्ने लागेको हुन सक्छ। तर तिनले बाइबल सिद्धान्तलाई बङ्ग्याउन वा जबरजस्ती आफ्नो धारणासित मिलाउन खोज्नुहुँदैन। कसैलाई सुधारको निम्ति सल्लाह दिनुपर्दा समेत बोल्ने शैली सकारात्मक बनाउनुपर्छ। विशेषगरि गलत कार्यमा फस्नदेखि कसरी जोगिन सकिन्छ, समस्याको समाधान कसरी गर्न सकिन्छ, गाह्रो परिस्थितिको सामना कसरी गर्न सकिन्छ, गलत मार्गलाई कसरी सुधार्न सकिन्छ अनि यहोवाले हामीबाट माग गरेको कुराले हामीलाई कसरी सुरक्षित राख्न सक्छ भनेर सल्लाह दिंदै हुनुहुन्छ भने बोल्ने शैली सकारात्मक हुनुपर्छ।—भज. ११९:१, ९-१६.
भाषणको तयारी गर्दा प्रत्येक मुख्य बुँदालाई कसरी टुङ्ग्याउने अनि पूरै भाषण कसरी दिने, त्यसबारे विशेष ध्यान दिनुहोस्। तपाईंले अन्तमा भन्ने कुरा श्रोताले प्रायः पछिसम्म सम्झिरहन्छन्। त्यसो भए के तपाईंले अन्तमा भनेको कुरा सकारात्मक छ?
सँगी विश्वासीसित कुरा गर्दा उत्थानदायी र सकारात्मक हुनुहोस्। यहोवाका सेवकहरू ख्रीष्टियन सभामा सँगी भाइबहिनीहरूसित सङ्गत गर्न पाउनुलाई अमूल्य मौका ठान्छन्। यस्तो अवसरमा हामी आध्यात्मिक रूपमा स्फूर्ति पाएको महसुस गर्छौं। उपासना गर्ने ठाउँमा भेला हुँदा ‘एकअर्कालाई प्रोत्साहन दिइरहन’ बिर्सनुहुँदैन भनेर बाइबलले हामीलाई सल्लाह दिएको छ। (हिब्रू १०:२५) सभामा भाषण वा टिप्पणी दिंदा मात्र होइन तर सभाअघि वा सभापछि कुराकानी गरेर पनि प्रोत्साहन दिन सकिन्छ।
आफ्नो दिनचर्याबारे कुराकानी गर्नु स्वाभाविक नै हो तर आध्यात्मिक कुराहरूबारे चर्चा गर्दा भने प्रशस्तै प्रोत्साहन पाउन सकिन्छ। यसमा पवित्र सेवामा लाग्दा पाएका अनुभव समावेश छन्। आपसमा साँचो चासो देखाउनु पनि उत्थानदायी हुन्छ।
संसारको प्रभावमा नपर्न हामी होसियार हुनुपर्छ। एफिससमा भएका ख्रीष्टियनहरूलाई पत्र लेख्दा पावलले यसो भने: “तिमीहरूले झूट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल।” (एफि. ४:२५) झूट त्यागेर सत्य बोल्नुमा, संसारका मानिसहरूले मरिमेट्ने सामान वा व्यक्तिको बढाइ-चढाइ नगर्नु पनि समावेश छ। त्यसैगरि येशूले पनि “धनसम्पत्तिको भ्रामक शक्ति”-बाट जोगिनू भन्नुभयो। (मत्ती १३:२२) त्यसकारण आपसमा कुराकानी गर्दा भौतिक सरसामानको अति नै बखान नगरौं। किनभने यसरी बखान गर्दा धनसम्पत्तिको भ्रामक शक्तिलाई फैलाइरहेका हुन्छौं।—१ तिमो. ६:९, १०.
कुनै भाइ अथवा बहिनीको “विश्वास कमजोर” भएकोले अर्थात् तिनले ख्रीष्टियन स्वतन्त्रताको सीमा नबुझेकोले कुनै खास काम गर्दैनन् होला। तर उत्थानदायी हुने हो भने हामीले तिनको इन्साफ गर्नु हुँदैन वा तिनलाई तुच्छ ठान्नु हुँदैन भनेर प्रेषित पावलले आग्रह गरे। वास्तवमा भन्ने हो भने, अरूसित कुरा गर्दा उत्थानदायी हुन हामीले तिनीहरूको पृष्ठभूमि अनि आध्यात्मिक उन्नतिबारे विचार पुऱ्याउनुपर्छ। हामी “आफ्नो भाइसामु [अथवा बहिनीसामु] ठेस खाने ढुङ्गा वा ठक्कर खाएर लड्ने कारण” हुनु कत्ति दुःखलाग्दो कुरा हो!—रोमी १४:१-४, १३, १९.
गम्भीर समस्या भोगिरहेका, जस्तै:- दीर्घकालीन रोगले ग्रस्त भएका व्यक्तिहरू उत्थानदायी कुराकानीको मोल गर्छन्। त्यस्ता व्यक्तिहरूले सभामा उपस्थित हुन निकै प्रयास गरेका हुन्छन्। तिनको अवस्था थाह हुने व्यक्तिहरूले यस्तो प्रश्न सोध्लान्: “तपाईंलाई अहिले कस्तो छ?” निस्सन्देह तिनले यस्तो चासोको कदर गर्लान्। तर तिनको स्वास्थ्यबारे कुरा गर्नु तिनलाई त्यत्ति प्रोत्साहनदायी नलाग्न सक्छ। कदर गरेर वा सराहना गरेर दुई-चार शब्द बोलिदिनु मात्र पनि तिनको लागि पर्याप्त हुन सक्छ। यस्तो कठिन अवस्थामा पनि तिनले यहोवालाई माया गरिरहेको र धैर्य गरिरहेको प्रमाण देख्नुभयो? सभामा तिनले दिएको टिप्पणी सुन्दा के तपाईंले प्रोत्साहन पाउनुभयो? तिनको सीमितताबारे चर्चा गर्नुको सट्टा तिनले गर्न सकेका कुराहरू र मण्डलीमा तिनले पुऱ्याएको योगदानबारे कुराकानी गर्नु अझ उत्थानदायी हुन्छ नि, होइन र?—१ थिस्स. ५:११.
हाम्रो कुराकानीलाई उत्थानदायी बनाउने हो भने छलफल गरिरहेको विषयलाई यहोवाले कस्तो नजरले हेर्नुहुन्छ भनेर विचार पुऱ्याउनु नितान्त आवश्यक छ। प्राचीन इस्राएलमा यहोवाका प्रतिनिधिको विरोध गर्ने र मन्नलाई तुच्छ ठान्नेहरू विरुद्ध यहोवाको क्रोध दन्क्यो। (गन्ती १२:१-१६; २१:५, ६) प्राचीन समयका ती उदाहरणबाट लाभ उठाइरहेका छौं भनेर देखाउन हामी एल्डरहरूको आदर गर्छौं अनि विश्वासी र बुद्धिमानी दास वर्गले तयार पारिदिएको आध्यात्मिक भोजनप्रति कृतज्ञता देखाउँछौं।—१ तिमो. ५:१७.
ख्रीष्टियन भाइबहिनीसित स्वस्थकर विषयमा कुरा गर्नु गाह्रो छैन। तर कसैको टिप्पणी अचाक्ली आलोचनात्मक भयो भने तुरुन्तै उत्थानदायी विषयतर्फ कुरा मोड्नुहोस्।
प्रचार गर्दा, मञ्चबाट बोल्दा वा भाइबहिनीसित कुरा गर्दा सुझबुझ प्रयोग गर्दै मनको भण्डारबाट “आवश्यकताअनुसार अरूको उत्थान गर्ने असल वचन” निकाल्न सकौं, “ताकि सुन्नेहरूलाई त्यसबाट फाइदा होस्।”—एफि. ४:२९.