के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ?
बाइबल किन पढ्ने?
बाइबल अरू पुस्तकहरूभन्दा भिन्न छ। यसमा परमेश्वरले दिनुभएका मायालु निर्देशनहरू समावेश छन्। (१ थिस्सलोनिकी २:१३) बाइबलका शिक्षाहरू तपाईंले आफ्नो जीवनमा लागू गर्नुभयो भने निकै लाभ उठाउनुहुनेछ। परमेश्वरप्रति तपाईंको प्रेम बढ्नेछ र तपाईं “हरेक असल दान र हरेक उत्तम वरदान[का]” दातासँग नजिक हुनुहुनेछ। (याकूब १:१७) प्रार्थनामा उहाँलाई कसरी पुकार्ने भनेर तपाईंले बुझ्नुहुनेछ। समस्या परेको बेला तपाईंले परमेश्वरको मदत महसुस गर्न सक्नुहुनेछ। बाइबलमा दिइएका स्तरहरूअनुरूप तपाईंले आफ्नो जीवन बिताउनुभयो भने, परमेश्वरले तपाईंलाई अनन्त जीवन दिनुहुनेछ।—रोमी ६:२३.
बाइबलमा पाइने सच्चाइले हामीलाई ज्योति प्रदान गर्छ। बाइबलको ज्ञान हासिल गर्ने मानिसहरू, लाखौं मानिसहरूलाई प्रभाव पार्ने गलत धारणाहरूबाट मुक्त हुन्छन्। उदाहरणका लागि, मरिसकेका मानिसहरूको अवस्थाबारे सत्य कुरा थाह पाएपछि मरिसकेकाहरूले हामीलाई हानि पुऱ्याउँछ वा हाम्रा प्रिय मृत जनहरूले दुःख भोगिरहेका छन् होला भन्ने डरबाट मुक्त हुन्छौं। (इजकिएल १८:४) मृत्युले गर्दा आफ्नो प्रिय जन गुमाउनु परेकाहरूलाई पुनरुत्थानको शिक्षाले निकै सान्त्वना प्रदान गर्छ। (यूहन्ना ११:२५) दुष्ट स्वर्गदूतहरूबारे सत्य कुरा थाह पाएपछि प्रेतवादका खतराहरूबारे हामी सजग हुन्छौं र पृथ्वीमा यतिबिघ्न समस्या हुनुको कारण बुझ्ने मदत पाउँछौं।
बाइबलका ईश्वरीय सिद्धान्तहरूले हामीलाई शारीरिक तवरमा स्वस्थ रहने तरिकाहरू पनि सिकाउँछ। उदाहरणका लागि, “परहेजी” हुँदा स्वास्थ्य राम्रो हुन्छ। (१ तिमोथी ३:२) ‘शरीर र आत्माका सबै किसिमका अशुद्धपनाबाट आफूलाई शुद्ध’ राख्दा हामी शरीरलाई हानि पुऱ्याउने कुराहरूबाट अलग रहन्छौं। (२ कोरिन्थी ७:१) बाइबलमा पाइने परमेश्वरको सल्लाह व्यवहारमा उतार्दा वैवाहिक जीवन आनन्दमय हुन्छ र आत्म-सम्मान बढ्छ।—१ कोरिन्थी ६:१८.
परमेश्वरको वचनका कुराहरू तपाईंले व्यवहारमा उतार्नुभयो भने, तपाईं अझ बढी आनन्दित हुन सक्नुहुनेछ। बाइबलको ज्ञानले हामीलाई मनोशान्ति र सन्तुष्टि पाउन मदत गर्नुका साथै आशा पनि प्रदान गर्छ। यसले हामीलाई अनुकम्पा, प्रेम, आनन्द, शान्ति, दया र विश्वासजस्ता मनमोहक गुणहरू विकास गर्न मदत गर्छ। (गलाती ५:२२, २३; एफिसी ४:२४, ३२) यस्ता गुणहरूले हामीलाई असल पति वा पत्नी, आमा वा बुबा, छोरा वा छोरी हुन मदत गर्छ।
के तपाईंले भविष्यबारे कहिल्यै सोच्नुभएको छ? बाइबलका भविष्यवाणीहरूले हामी अत्यन्तै महत्त्वपूर्ण समयमा बाँचिरहेका छौं भनेर देखाउँछ। यी भविष्यवाणीहरूले अहिलेको संसारको अवस्थाबारे मात्र बताउँदैन तर परमेश्वरले चाँडै यस पृथ्वीलाई सुन्दर प्रमोदवनमा परिणत गर्नुहुनेछ भनेर पनि देखाउँछ।—प्रकाश २१:३, ४.
बाइबलका कुराहरू बुझ्न मदत
तपाईंले बाइबल पढ्ने प्रयास त गर्नुभएको होला तर बुझ्न भने गाह्रो भएको हुनसक्छ। आफ्ना प्रश्नहरूको जवाफ बाइबलमा कहाँ खोज्ने भनेर तपाईंलाई थाह नभएको हुनसक्छ। तर यस्तो महसुस गर्ने तपाईं मात्र होइन। परमेश्वरको वचनका कुराहरू बुझ्न हामी सबैलाई मदत चाहिन्छ। झन्डै २३५ मुलुकहरूमा यहोवाका साक्षीहरूले लाखौं मानिसहरूलाई बाइबलबारे निश्शुल्क जानकारी प्रदान गरिरहेका छन्। तपाईंलाई पनि तिनीहरूले खुसीसाथ मदत दिनेछन्।
साधारणतया, बाइबल अध्ययन क्रमबद्ध तरिकामा आधारभूत शिक्षाहरूबाट सुरु गर्नु बेस हुनेछ। (हिब्रू ६:१) बिस्तारै बुझ्दै जानुभएपछि तपाईंले “खँदिलो खानेकुरा” अर्थात् गहिरा-गहिरा सत्य कुरा बुझ्न सक्नुहुनेछ। (हिब्रू ५:१४) बाइबल, भरपर्दो जानकारीको स्रोत हो। बाइबलले वास्तवमा के सिकाउँछ? जस्ता बाइबल आधारित साहित्यहरूले तपाईंलाई विविध विषयमा धर्मशास्त्रीय विवरण बुझ्न मदत गर्नेछ।
बाइबलका कुराहरू बुझ्न के तपाईं हरेक हप्ता केही समय बिताउन इच्छुक हुनुहुन्छ?
तपाईंलाई पायक पर्ने समय र ठाउँमा बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाउन सकिन्छ। थुप्रैले आफ्नै निजी घरमा अध्ययन गर्छन्। कसै-कसैले त टेलिफोनद्वारा समेत अध्ययन गर्छन्। यो अध्ययन, कक्षाकोठामा जस्तो थुप्रै मानिस राखेर गरिंदैन। बरु, तपाईंको पृष्ठभूमि तथा शैक्षिक योग्यताजस्ता व्यक्तिगत परिस्थितिअनुसार प्रबन्ध मिलाइन्छ। कुनै परीक्षा लिइँदैन र तपाईंले अप्ठ्यारो महसुस गर्नुहुने छैन। तपाईंका प्रश्नहरूको जवाफ दिइनेछ र परमेश्वरसँग कसरी घनिष्ठ हुन सकिन्छ भनेर तपाईंले सिक्नुहुनेछ।
यस्तो बाइबल अध्ययनको लागि तपाईंले कुनै शुल्क तिर्नु पर्दैन। (मत्ती १०:८) यो सबै धर्मका र धर्मै नमान्ने तर परमेश्वरको वचनको ज्ञान सिक्न चाहने निष्कपट मानिसहरूलाई निश्शुल्क सिकाइन्छ।
यस्तो छलफलमा क-कसले भाग लिनसक्छन्? तपाईंको सम्पूर्ण परिवारले भाग लिनसक्छन्। तपाईं यस छलफलमा आफ्नो जुनसुकै मित्रलाई पनि बोलाउन सक्नुहुन्छ। अथवा तपाईं एक्लै गर्न चाहनुहुन्छ भने त्यो पनि गर्न सकिन्छ।
थुप्रैले हरेक हप्ता बाइबल अध्ययन गर्न एक घण्टा अलग्गै छुट्याउँछन्। हरेक हप्ता तपाईंले धेरै अथवा कम, जति समय दिन सक्नुहुन्छ, साक्षीहरूले त्यसैअनुसार तपाईंलाई मदत दिन प्रबन्ध मिलाउनेछन्।
सिक्न निमन्त्रणा
हामी तपाईंहरूलाई यहोवाका साक्षीहरूसँग सम्पर्क राख्न निमन्त्रणा दिन्छौं। तपाईं तल दिइएको ठेगानामा पत्राचार गर्न सक्नुहुन्छ। त्यसपछि तपाईंसँग निश्शुल्क गृह बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाइनेछ।
□ मलाई बाइबलले वास्तवमा के सिकाउँछ? भन्ने पुस्तकबारे थप जानकारी पठाइदिनुहोस्।
□ कृपया निश्शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्।
अन्यथा उल्लिखित नभए सबै बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्।