युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ?
“म आफ्नो जीवनबाट सबैभन्दा उत्तम कुरा चाहन्छु।” यो हो, एउटी किशोरीको भनाइ। तपाईं पनि अवश्य त्यस्तै चाहनुहुन्छ होला। तर तपाईं जीवनबाट “सबैभन्दा उत्तम” कुरा कसरी पाउन सक्नुहुन्छ? सञ्चार माध्यम, तपाईंका साथीसंगत तथा शिक्षकहरूले समेत टन्न पैसा कमाएर कुनै प्रतिष्ठित पेसामा लागेर सफल हुँदा यस्तो उत्तम कुरा पाइन्छ भन्लान्!
तथापि, बाइबलले जवान व्यक्तिहरूलाई भौतिक सुखसुविधाको पछि लाग्नु “बतासलाई खेदेको जस्तो मात्र हो” भनी चेताउनी दिन्छ। (उपदेशक ४:४) एउटा कारण त, थोरै जवानहरूले मात्र नाम र दाम कमाउन सक्छन्। अनि नाम र दाम कमाउनेहरू पनि अक्सर एकदमै अन्योलमा परेको महसुस गर्छन्। उच्च शिक्षा हासिल गरेर एउटा प्रतिष्ठित पेसामा लागेका एक जना बेलाइती युवकले यसो भने, “भौतिक सफलता भनेको खोक्रो बाकस जस्तो हो।” हो, कहिलेकाहीं आफ्नो जागिरबाट नाम र दाम दुवै कमाउन सकिन्छ। तर यसले तपाईंको “आध्यात्मिक आवश्यकता” पूरा गर्न सक्दैन। (मत्ती ५:३, NW) यसबाहेक १ यूहन्ना २:१७ ले “संसार बितिजान्छ” भनी चेताउनी दिन्छ। तपाईंले यस संसारमा सफलता हासिल गर्नुभए तापनि यो क्षणिक हुनेछ।
उपदेशक १२:१ जवानहरूलाई यस्तो आग्रह गर्छ: “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्।” हो, तपाईंको जीवन व्यतीत गर्ने सबैभन्दा उत्तम तरिका यहोवा परमेश्वरको सेवा गरेर हो। तर पहिला तपाईं परमेश्वरको सेवा गर्न योग्य हुनुपर्छ। तपाईं कसरी योग्य हुन सक्नुहुन्छ? अनि परमेश्वरको सेवामा जीवन बिताउनुमा के-के समावेश छ?
यहोवाको साक्षी हुन योग्य हुने
सर्वप्रथम, तपाईंले परमेश्वरको सेवा गर्ने इच्छा जगाउनुपर्छ र यो इच्छा तपाईंको आमाबाबु मसीही हुनुभए तापनि स्वतः आउँदैन। तपाईं आफैले यहोवासँग व्यक्तिगत तवरमा सम्बन्ध गाँस्नुपर्छ। “यहोवासँग नजिकको सम्बन्ध गाँस्न प्रार्थनाले मदत गर्छ” भनी एक जना किशोरी बताउँछिन्।—भजन ६२:८; याकूब ४:८.
रोमी १२:२ मा तपाईंले चाल्नुपर्ने अर्को कदमलाई जोड दिइएको छ। त्यहाँ यसो भनिएको छ: “परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” के तपाईंले आफूलाई सिकाइएको कुनै कुरामा शंका गर्नुभएको छ? छ भने बाइबलको सल्लाह पालन गर्नुहोस् र ती कुरा सत्य हुन् कि होइनन् भनेर ‘जाँचेर पत्ता लगाउनुहोस्!’ आफैले खोजीनिती गर्नुहोस्। बाइबल अनि बाइबल आधारित प्रकाशनहरू पढ्नुहोस्। परमेश्वरबारे सिक्नु भनेको बौद्धिक ज्ञान विकास गर्ने प्रक्रिया मात्र होइन। आफूले पढेको कुरा मनन गर्न समय निकाल्नुहोस्, ताकि त्यो कुरा तपाईंको लाक्षणिक हृदयमा भित्रसम्म गड्नेछ। यसो गर्दा परमेश्वरप्रतिको तपाईंको प्रेम बढ्नेछ।—भजन १:२, ३.
त्यसपछि आफूले सिकिरहेको कुरा सायद तपाईंका सहपाठीहरूलाई अनौपचारिक तरिकामा बताउने कोसिस गर्नुहोस्। यसपछिको कदम हो, घरघर प्रचारकार्य। तपाईंले कहिलेकाहीं प्रचारकार्यको दौडान आफ्नो स्कूलको साथी भेट्न सक्नुहुन्छ र तपाईंलाई एकदमै अप्ठ्यारो महसुस हुन सक्छ। तर बाइबलले हामीलाई ‘सुसमाचारसँग शर्माउन’ नपरोस् भन्ने सल्लाह दिन्छ। (रोमी १:१६) तपाईंले जीवन र आशाको सन्देश सुनाउँदै हुनुहुन्छ! यसको लागि किन शर्माउने?
तपाईंको आमाबाबु मसीही हुनुहुन्छ भने तपाईंले यस काममा भाग लिइसक्नुभएको होला। तर के तपाईं ढोकामा चुपचाप लागेर उभिने वा पत्रिका र पर्चाहरू दिनेबाहेक अरू थप गर्न सक्षम हुनुभएको छ? के तपाईं आफै बाइबल पल्टाएर घरधनीलाई सिकाउन सक्नुहुन्छ? सक्नुहुन्न भने, तपाईंको आमाबाबु वा मण्डलीको परिपक्व सदस्यसँग मदत माग्नुहोस्। सुसमाचारको बप्तिस्मा अप्राप्त प्रकाशक बन्न योग्य हुने लक्ष्य बनाउनुहोस्!
केही समयपछि तपाईं समर्पण गर्न अर्थात् अब उप्रान्त परमेश्वरको सेवा गर्नेछु भनी उहाँसँग वाचा बाँध्न उत्प्रेरित हुनुहुनेछ। (रोमी १२:१) तथापि, समर्पण भनेको व्यक्तिगत मामिला मात्र होइन। हामीले सबैको सामु “मुखबाट उद्धारको निम्ति स्वीकार” गरेको परमेश्वर चाहनुहुन्छ। (रोमी १०:१०) बप्तिस्माको बेला तपाईंले पहिला मौखिक रूपमा आफ्नो विश्वासको घोषणा गर्नुहुनेछ। त्यसपछि पानीमा बप्तिस्मा लिनुहुनेछ। (मत्ती २८:१९, २०) हुन त हो, बप्तिस्मा भनेको एउटा गम्भीर कदम हो। तर तपाईं पछि गएर कुनै न कुनै तरिकामा चुक्नुहोला भन्ने डरले पछि नहट्नुहोस्। बलको निम्ति तपाईं परमेश्वरमा भर पर्नुभयो भने उहाँले दृढ अडान लिन “असामान्य शक्ति” प्रदान गर्नुहुनेछ।—२ कोरिन्थी ४:७, NW; १ पत्रुस ५:१०.
बप्तिस्मापछि तपाईं यहोवाको साक्षी हुनुहुनेछ। (यशैया ४३:१०) यसले अब उप्रान्त तपाईं आफ्नो जीवन कसरी चलाउनुहुन्छ, त्यसमा ठूलो प्रभाव पार्नुपर्छ। समर्पण भनेको “आफूलाई इन्कार” गर्नु हो। (मत्ती १६:२४) तपाईंले आफ्ना केही व्यक्तिगत लक्ष्य तथा आकांक्षालाई त्यागेर ‘पहिले परमेश्वरको राज्य खोजी’ गर्ने विचार गर्नुहुन्छ होला। (मत्ती ६:३३) अतः समर्पण र बप्तिस्माले सेवाका थुप्रै सुअवसरहरूको ढोका खोल्छ। आउनुहोस्, त्यसमध्ये केही छलफल गरौं।
पूर्ण-समय परमेश्वरको सेवा गर्ने सुअवसरहरू
● अग्रगामी एउटा त्यस्तो सुअवसर हो। अग्रगामी प्रकाशक एक जना उदाहरणीय बप्तिस्मा प्राप्त मसीही हुन् जसले हरेक महिना सुसमाचार प्रचार गर्न कम्तीमा पनि ७० घण्टा बिताउने प्रबन्ध मिलाएका हुन्छन्। क्षेत्रमा जत्ति धेरै समय बिताउनुहुन्छ त्यत्ति नै तपाईंले आफ्नो प्रचार र शिक्षण कला विकास गर्ने मदत पाउनुहुनेछ। थुप्रै अग्रगामीहरूले आफ्नो बाइबल विद्यार्थीलाई बप्तिस्मा प्राप्त मसीही हुन मदत गर्ने आनन्द अनुभव गरेका छन्। अरू कुनचाहिं सांसारिक जागिर यो जत्तिको रोमाञ्चकारी र सन्तोषजनक हुन सक्छ?
अधिकांश अग्रगामीहरूले आफ्नो जीविकोपार्जन गर्न आंशिक जागिर खाएका हुन्छन्। स्कूलमा छँदा वा आफ्नो आमाबाबुबाट केही सीप सिकेर थुप्रैले यस जिम्मेवारीको निम्ति अग्रिम योजना बनाउँछन्। स्कूलको शिक्षापछि थप केही प्रशिक्षण लिनु फाइदाजनक हुनेछ जस्तो तपाईं र तपाईंको आमाबाबुलाई लाग्छ भने, तपाईंको मनसाय धेरै पैसा कमाउने होइन तर सेवकाईमा टेवा पुऱ्याउने र सायद पूर्ण-समय सेवकको रूपमा सेवा गर्ने हुनुपर्छ।
तथापि, अग्रगामी जीवनको केन्द्रबिन्दु जागिर नभई तिनको सेवकाई अर्थात् अरूलाई जीवन प्राप्त गर्न मदत गर्नु हो! अग्रगामी गर्ने व्यक्तिगत लक्ष्य बनाउनुभए कसो होला? अग्रगामी कार्यले अक्सर अन्य सुअवसरहरूको ढोका खोल्छ। उदाहरणका लागि, केही अग्रगामीहरू राज्य प्रकाशकहरूको आवश्यकता बढी भएको ठाउँमा बसाइँ सर्छन्। अरूचाहिं अर्को भाषा सिकेर या त स्थानीय विदेशी भाषाको मण्डलीमा सेवा गर्छन् वा विदेशी भूमिमा जान्छन्। हो, अग्रगामी सेवा इनामदायी जीवन शैली हो!
● राज्य प्रचारकहरूका लागि स्कूल अर्को सुअवसरको ढोका हो। यो तालिम दुई महिनाको हुन्छ। आत्मत्यागी मनोभाव देखाउँदै आवश्यकता बढी भएको ठाउँमा जान इच्छुक अनुभवी अग्रगामीहरूको लागि यो तालिमको प्रबन्ध गरिएको हो। तिनीहरूले सबैभन्दा महान् प्रचारक येशू ख्रीष्टको अनुकरण गर्दै “म हाजिर छु। मलाई पठाउनुहोस्” भनिरहेका हुन्छन्। (यशैया ६:८; यूहन्ना ७:२९) आफ्नो घर छोडेर टाढा बस्दा सरल जीवन बिताउनुपर्ने हुन सक्छ। नयाँ ठाउँको रहनसहन, हावा-पानी र खाना आफ्नो घरतिरको भन्दा धेरै फरक हुन सक्छ। नयाँ भाषासमेत सिक्नुपर्ने हुन सक्छ। अविवाहित भाइ, बहिनी वा विवाहित जोडी, जो २३ देखि ६५ वर्षबीचका छन्, तिनीहरूले यस तालिममा भाग लिन सक्छन्। यस तालिमले आफ्नो जिम्मेवारी पूरा गर्न चाहिने आध्यात्मिक गुणहरू खेती गर्न अनि यहोवा र उहाँको सङ्गठनको लागि अझै उपयोगी हुने सीपहरू विकास गर्न मदत गर्छ।
● बेथेल सेवा भनेको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा स्वयम्सेवकको रूपमा सेवा गर्नु हो। बेथेल परिवारका कोही सदस्यहरू प्रत्यक्षतः बाइबल प्रकाशनहरूको उत्पादनमा संलग्न हुन्छन्। अरूले चाहिं भवन तथा उपकरणहरूको मर्मत-सम्भार वा बेथेल परिवारको हेरचाह गर्नेजस्ता काम गर्छन्। सबै कामहरू यहोवाको सेवामा पवित्र सुअवसरहरू हुन्। साथै, बेथेलमा कार्यरत भाइहरू आफूले जुनसुकै काम गरे तापनि विश्वभरिका थुप्रै भाइहरूलाई यसले लाभ पुऱ्याउँछ भनी थाह पाएर आनन्दित हुन्छन्।
कहिलेकाहीं विशेष योग्यता भएका भाइहरूलाई बेथेलमा सेवा गर्न आमन्त्रित गरिन्छ। तथापि, थुप्रैले बेथेलमा प्रवेश गरेपछि मात्र प्रशिक्षण पाउँछन्। बेथेलमा कार्यरत भाइहरूले भौतिक लाभको निम्ति सेवा गर्दैनन् र तिनीहरू भोजन तथा आवासको निम्ति गरिएको प्रबन्ध र व्यक्तिगत खर्चको निम्ति पाइने अलिकति रकममा सन्तुष्ट हुन्छन्। बेथेल परिवारका एक जना जवान सदस्य आफ्नो सेवाबारे यसो भन्छन्, “एकदमै राम्रो छ! यहाँको तालिका सजिलो छैन तर मैले यहाँ सेवा गरेर थुप्रै आशिष्हरू पाएको छु।”
● निर्माण सेवामा लाग्दा शाखा कार्यालय तथा राज्यभवनहरूको निर्माण कार्यमा भाग लिन पाइन्छ। निर्माण सेवकहरू भनिने यी सेवकहरू निर्माण कार्यमा सघाउँछन्। यो पनि एक प्रकारको पवित्र सेवा हो र सुलेमानको मन्दिर निर्माण कार्य जस्तै हो। (१ राजा ८:१३-१८) निर्माण सेवकहरूको हेरचाहको निम्ति बेथेल परिवारको लागि जस्तै प्रबन्धहरू गरिन्छन्। यहोवाको प्रशंसा हुने कार्यमा यसरी भाग लिन पाउनु यी भाइबहिनीहरूको निम्ति कस्तो विशेष सुअवसरको कुरा हो!
यहोवालाई तनमनले सेवा गर्नुहोस्
जीवन व्यतीत गर्ने सबैभन्दा उत्तम तरिका यहोवाको सेवा गरेर हो। यहोवालाई पूर्ण-समय सेवा गर्ने व्यक्तिगत लक्ष्य बनाउनुभए कसो होला? पूर्ण-समय सेवाबारे तपाईंको आमाबाबु, स्थानीय प्राचीनहरू तथा तपाईंको क्षेत्रीय निरीक्षकसित कुराकानी गर्नुहोस्। तपाईं बेथेल, अविवाहित भाइहरूका लागि बाइबल स्कूल अथवा ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कूलमा भाग लिन इच्छुक हुनुहुन्छ भने, क्षेत्रीय सम्मेलन तथा जिल्ला अधिवेशनहरूमा सम्भाव्य आवेदकहरूको निम्ति आयोजना हुने सभाहरूमा उपस्थित हुनुहोस्।
हो, सबै जना पूर्ण-समय सेवा गर्न योग्य वा सक्षम नहोलान्। कहिलेकाहीं स्वास्थ्य समस्या, आर्थिक अवस्था वा पारिवारिक जिम्मेवारीहरूको कारण आफूले चाहे जत्ति गर्न सक्दैनौं। तैपनि, सबै समर्पित मसीहीहरूले बाइबलको यो आज्ञा पालन गर्नैपर्छ: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) तपाईंको परिस्थितिले दिएसम्म यथासक्दो गरेको यहोवा चाहनुहुन्छ। त्यसैले तपाईंको परिस्थिति जस्तोसुकै भए तापनि यहोवाको सेवा गर्नु तपाईंको जीवनमा प्रमुख कुरा बनाउनुहोस्। व्यावहारिक ईश्वरतान्त्रिक लक्ष्यहरू बनाउनुहोस्। हो, ‘आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्नुहोस्’ र तपाईंले सदाको लागि आशिष् पाउनुहुनेछ!
अन्यथा उल्लिखित नभए सबै बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्।