अध्याय ५
‘यिनी मेरो छोरा हुन्’
बच्चाले राम्रो काम गर्दा तिनका आमाबाबु खुसी हुन्छन्। सानी नानीले राम्रो काम गर्दा तिनका बुबाले खुसी हुँदै अरूलाई यसो भन्न सक्छन्: “बुझ्नु भो! यिनी मेरी छोरी पो हुन् त!” अथवा सानो बाबुले राम्रो काम गर्दा बुबाले खुसी हुँदै यसो भन्छन्: “बुझ्नु भो! यिनी मेरो छोरा पो हुन् त!”
येशू सधैं आफ्नो बुबालाई खुसी पार्ने काम गर्नुहुन्छ। त्यसैले उहाँको बुबा उहाँमाथि गर्व गर्नुहुन्छ। एक दिन येशू आफ्ना तीन जना साथीसित हुँदा उहाँको बुबाले के भन्नुभएको थियो, तिमीलाई याद छ?— हो, परमेश्वरले स्वर्गबाटै तिनीहरूलाई यसो भन्नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्, जससित म अति प्रसन्न छु।”—मत्ती १७:५.
आफ्नो बुबालाई खुसी पार्ने काम गर्न पाउँदा येशू सधैं रमाउनुहुन्छ। किन, तिमीलाई थाह छ? किनभने उहाँ आफ्नो बुबालाई साँचो माया गर्नुहुन्छ। यदि कुनै मानिसले कुनै काम करबलले मात्र गर्छ भने उसलाई त्यो काम गर्न गाह्रो लाग्छ। तर ऊ इच्छुक छ भने त्यो काम गर्न सजिलो हुन्छ। काम गर्न इच्छुक हुनु भनेको के हो, तिमीलाई थाह छ?— यो भनेको, कुनै काम साँच्चै गर्न चाहनु हो।
पृथ्वीमा आउनुअघि पनि येशू आफ्नो बुबाले भनेको सबै काम गर्न इच्छुक हुनुहुन्थ्यो। किनभने उहाँ आफ्नो बुबा यहोवा परमेश्वरलाई माया गर्नुहुन्छ। आफ्नो बुबासित स्वर्गमा छँदा येशूको महत्त्वपूर्ण स्थान थियो। तर येशूले एउटा विशेष काम गरोस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। त्यो काम गर्नको लागि येशूले स्वर्ग छोड्नुपर्थ्यो। सानो बच्चाको रूपमा उहाँ पृथ्वीमा जन्मनुपर्थ्यो। येशू यसको लागि इच्छुक हुनुभयो किनभने उहाँले यसो गरेको यहोवा चाहनुहुन्थ्यो।
गब्रिएल स्वर्गदूतले मरियमलाई के भने?
येशू सानो बच्चाको रूपमा यस पृथ्वीमा जन्मनुभयो। के तिमीलाई उहाँकी आमाको नाम थाह छ?— उहाँकी आमाको नाम मरियम थियो। यहोवाले मरियमसित कुरा गर्न स्वर्गबाट गब्रिएल भन्ने स्वर्गदूत पठाउनुभयो। मरियमले एउटा बालक जन्माउनेछिन् भनेर गब्रिएलले बताए। ती बालकको नाम येशू राखिनेथियो। अनि ती बालकको बुबाचाहिं को हुनुहुनेथियो?— ती स्वर्गदूतले बताएअनुसार ती बालकको बुबा यहोवा परमेश्वर हुनुहुनेथियो। त्यसैले येशू परमेश्वरको छोरा भनेर चिनिनुहुनेथियो।
यो कुरा सुन्दा मरियमलाई कस्तो लाग्यो होला, सोच त! तिनले “नाइँ, म येशूकी आमा बन्न चाहन्नँ” भनिन् र? अहँ, भनिनन्। मरियम परमेश्वरले चाहेको कुरा गर्न इच्छुक थिइन्। तर स्वर्गमा बस्नुहुने परमेश्वरको छोरा कसरी बालकको रूपमा यस पृथ्वीमा जन्मन सक्नुहुन्थ्यो? अरू बच्चाहरूको जन्म र येशूको जन्ममा के फरक थियो, तिमीलाई थाह छ?—
परमेश्वरले हाम्रो पहिलो आमाबाबु आदम र हव्वालाई बनाउनुको एउटा कारण तिनीहरू विशेष तरिकामा नजिकिन सकोस् भनेर हो। यसरी नजिकिएपछि आमाको पेटमा बच्चा बढ्न थाल्छ। मानिसहरू यसलाई चमत्कार भन्छन्! पक्कै पनि तिमीलाई त्यस्तै लाग्छ होला नि, होइन र?
तर परमेश्वरले योभन्दा नि ठूलो अर्को एउटा चमत्कार गर्नुभयो। उहाँले स्वर्गमा भएको आफ्नो छोराको जीवनलाई मरियमको गर्भमा सार्नुभयो। योभन्दा पहिला परमेश्वरले कहिल्यै यस्तो काम गर्नुभएको थिएन र त्यसपछि पनि कहिल्यै गर्नुभएको छैन। यो चमत्कारले गर्दा अरू बच्चाहरू आमाको पेटमा बढेझैं येशू पनि मरियमको पेटमा बढ्न थाल्नुभयो। त्यसपछि मरियमले यूसुफसित विवाह गरिन्।
येशूको जन्म हुन लाग्दा यूसुफ र मरियम बेतलेहेम सहरमा गएका थिए। तर त्यो ठाउँ मानिसहरूले खचाखच भरिएको थियो। मरियम र यूसुफले एउटा कोठासमेत पाउन सकेनन्। त्यसैले तिनीहरू जनावरहरूलाई राख्ने ठाउँमा बास बस्नुपऱ्यो। त्यहीं मरियमले येशूलाई जन्माइन्। त्यसपछि येशूलाई यहाँ चित्रमा देखाइएझैं डुँडमा राखियो। डुँड भनेको गाई अनि अरू जनावरहरूलाई खुवाउन प्रयोग गरिने भाँडो हो।
येशूलाई किन डुँडमा राखिंदैछ?
येशू जन्मेको रात रोचक घटनाहरू भए। बेतलेहेम नजिकैको ठाउँमा केही गोठालासामु एक स्वर्गदूत देखा परे। तिनले उनीहरूलाई येशू महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ भनी बताए। तिनले भने: ‘हेर म सबै मानिसहरूलाई असाध्यै आनन्दित बनाउने सुसमाचार तिमीहरूलाई सुनाउँदैछु। आज तिमीहरूलाई बचाउने व्यक्तिको जन्म भएको छ।’—लूका २:१०, ११.
यिनीहरूमध्ये एक स्वर्गदूतले गोठालाहरूलाई के सुसमाचार सुनाए?
येशूलाई बेतलेहेममा डुँडमा राखिएको भेट्टाउन सक्नेछौ भनेर ती स्वर्गदूतले गोठालाहरूलाई बताए। त्यसपछि अचानक पहिलो स्वर्गदूतको साथमा अरू स्वर्गदूत देखा परे र तिनीहरू सबैले सँगै मिलेर यहोवाको प्रशंसा गाए। स्वर्गदूतहरूले यसो भनेर गाए: ‘परमेश्वरको महिमा होस् अनि पृथ्वीमा उहाँको दया पाएका मानिसहरूलाई शान्ति।’—लूका २:१२-१४.
स्वर्गदूतहरू गएपछि गोठालाहरू बेतलेहेमतिर लागे र उनीहरूले येशूलाई भेट्टाए। त्यहाँ उनीहरूले यूसुफ र मरियमलाई आफूले सुनेका सबै राम्रा कुराहरू बताए। येशूकी आमा बन्न इच्छुक भएकोमा मरियम कत्ति खुसी भइ होलिन्, के तिमी कल्पना गर्न सक्छौ?
पछि यूसुफ र मरियमले येशूलाई नासरत भन्ने सहरमा लगे। त्यही ठाउँमा येशू हुर्कनुभयो। ठूलो भएपछि येशूले अरूलाई सिकाउने एकदमै महत्त्वपूर्ण काम थाल्नुभयो। यहोवा परमेश्वरले आफ्नो छोरालाई दिएका कामहरूमध्ये यो एउटा थियो। येशू अरूलाई सिकाउन इच्छुक हुनुभयो किनभने उहाँ आफ्नो स्वर्गमा बस्नुहुने बुबालाई धेरै माया गर्नुहुन्थ्यो।
महान् शिक्षकको रूपमा काम थाल्नुअघि येशूले यर्दन नदीमा बप्तिस्मा गर्नुभयो र त्यतिबेला उहाँलाई बप्तिस्मा गराउने व्यक्ति यूहन्ना थिए। त्यसपछि एउटा अचम्मको कुरा भयो! येशू पानीमाथि निस्कनेबित्तिकै स्वर्गबाट यहोवाले यसो भन्नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्, जससित म अति प्रसन्न छु।” (मत्ती ३:१७) तिम्रो आमाबाबुले ‘म तिमीलाई माया गर्छु’ भन्नुहुँदा के तिमीलाई खुसी लाग्दैन र?— येशूलाई पनि पक्कै खुसी लागेको हुनुपर्छ!
येशूले सधैं नै जे सही छ त्यही गर्नुभयो। आफू अरू नै कुनै व्यक्ति हो भनेर उहाँले ढोंग गर्नुभएन। ‘म परमेश्वर हुँ’ भनेर उहाँले मानिसहरूलाई भन्नुभएन। येशू परमेश्वरको छोरा भनेर चिनिनुहुनेछ भनी गब्रिएल स्वर्गदूतले मरियमलाई बताएका थिए। येशू आफैले पनि ‘म परमेश्वरको छोरा हुँ’ भन्नुभयो। ‘बुबालाई भन्दा मलाई धेरै थाह छ’ भनी येशूले मानिसहरूलाई भन्नुभएन। उहाँले यसो भन्नुभयो: “मभन्दा बुबा महान् हुनुहुन्छ।”—यूहन्ना १४:२८.
स्वर्गमा छँदासमेत बुबाले दिएको काम येशूले गर्नुभयो। उहाँले ‘हुन्छ, गर्छु’ भन्दै अर्कै काम गर्नुभएन। उहाँ बुबालाई माया गर्नुहुन्थ्यो। त्यसैले बुबाले भनेको कुरा उहाँ सुन्नुहुन्थ्यो। पृथ्वीमा आउनुभएर पनि येशूले स्वर्गमा हुनुहुने बुबाले गर्न पठाउनुभएको काम गर्नुभयो। अरू नै काम गरेर आफ्नो समय बिताउनुभएन। त्यसकारण यहोवा आफ्नो छोरासित खुसी हुनुभएकोमा अचम्म मान्नुपर्दैन!
हामी पनि यहोवालाई खुसी पार्न चाहन्छौं नि, होइन र?— त्यसोभए येशूले जस्तै हामीले पनि परमेश्वरको कुरा साँच्चै सुन्छौं भनी देखाउनै पर्छ। परमेश्वर हामीसित बाइबलमार्फत कुरा गर्नुहुन्छ। परमेश्वरको कुरा सुनेझैं गर्ने तर बाइबलविपरीत कुराहरूमा विश्वास गरेर त्यसअनुसार गर्नु गलत हुनेछ नि, होइन र?— हामी यहोवालाई साँच्चै माया गर्छौं भने उहाँलाई खुसी पार्ने कुराहरू गर्न हामी रमाउनेछौं भन्ने कुरा नबिर्सौं।
येशूलाई चिन्नु र विश्वास गर्नुपर्छ भनी देखाउने यी बाइबल पदहरू अब हामी पढौं: मत्ती ७:२१-२३; यूहन्ना ४:२५, २६ अनि १ तिमोथी २:५, ६.