प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ६/१ pp. २०-२४
  • यहोवाको अख्तियार स्वीकार्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको अख्तियार स्वीकार्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अख्तियारप्रति हाम्रो दृष्टिकोण
  • ज्ञानेन्द्रिय शक्‍तिको अभ्यास
  • शैतानले यहोवाको अख्तियारलाई कमजोर बनाउन खोज्छ
  • आफूखुसी गर्ने मनोभावदेखि सतर्क रहनुहोस्‌
  • नम्र हुनै पर्छ
  • हामीले किन अख्तियारको आदर गर्नुपर्छ?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • अख्तियार सम्बन्धी मसीही दृष्टिकोण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • अख्तियारवालाहरूलाई आदर गर्नु किन अत्यावश्‍यक?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • तपाईंले कसको अख्तियारलाई मान्यता दिनुपर्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ६/१ pp. २०-२४

यहोवाको अख्तियार स्वीकार्नुहोस्‌

“हामीले उहाँका आज्ञा पालन गर्नु नै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।”—१ यूह. ५:३.

१, २. (क) आजकल किन थुप्रैलाई अरूको अधीनमा बस्ने कुरा मन पर्दैन? (ख) अरूको अधीनमा बस्न नचाहनेहरूले के साँच्चै आफूखुसी गर्न सकेका छन्‌ त? व्याख्या गर्नुहोस्‌।

“अख्तियार” शब्द सुन्‍नेबित्तिकै आजकल थुप्रैले नाक चेप्य्राउँछन्‌। अरूको इच्छाअनुसार गर्ने विचार समेत धेरैलाई मन पर्दैन। अरूको अधीनमा बस्न नचाहनेहरूमा “मैले के गर्नुपर्छ कसैले सिकाउनु पर्दैन” भन्‍ने मनोवृत्ति हुन्छ। तर, के यिनीहरूले साँच्चै आफूखुसी गर्न सकिरहेका छन्‌ त? पक्कै छैनन्‌। यिनीहरूमध्ये थुप्रैले केवल “यस संसारसित एकै चाल”-मा चल्नेहरूका स्तर पछ्याइरहेका छन्‌। (रोमी १२:२) आफूखुसी गर्ने कुरा त परै जाओस्‌, प्रेरित पत्रुसकै शब्दमा भन्‍ने हो भने यिनीहरू “भ्रष्टताका दास” भएका छन्‌। (२ पत्रु. २:१९, NRV ) यिनीहरू “यस संसारको रीतिअनुसार, आकाशको शक्‍तिको मालिक” शैतानको इसारामा चल्छन्‌।—एफि. २:२.

२ एक जना लेखकले घमन्ड गर्दै यसो भने: “मैले कुन कुरालाई सही ठान्‍नुपर्छ भनेर म मेरा आमाबाबु, धर्मगुरु अनि बाइबल कसैलाई पनि निर्णय गर्न दिन्‍न।” हुन त हो, कसै-कसैले आफ्नो अख्तियार दुरुपयोग गर्लान्‌ र तिनीहरू आज्ञा पालन गर्न योग्यका नदेखिएलान्‌। तर कसैको निर्देशन चाहिंदै चाहिंदैन भन्दैमा समस्या समाधान हुन्छ त? पत्र-पत्रिकाको विषयवस्तुलाई सरसरती हेर्दा यसको दुःखलाग्दो जवाफ पाइन्छ। निर्देशनको ठूलो खाँचो परेको बेला झन्‌ धेरै मानिसहरूमा यसलाई नस्वीकार्ने झुकाव बढिरहेको छ। कत्ति दुःखलाग्दो कुरा!

अख्तियारप्रति हाम्रो दृष्टिकोण

३. प्रथम शताब्दीका ख्रीष्टियानहरूले मानिसको अख्तियार आँखा चिम्लेर स्वीकारेनन्‌ भनेर कसरी देखाए?

३ ख्रीष्टियान भएकोले हामी संसारको भन्दा भिन्‍न विचार राख्छौं। यसो भन्दैमा हामीलाई भनेको कुरा आँखा चिम्लेर पालन गर्छौं भनेको होइन। बरु, कुनै-कुनै बेला अरूको इच्छामुताबिक चल्न हामी इन्कार गर्छौं चाहे तिनीहरू अख्तियार भएकाहरू नै किन नहोऊन्‌। प्रथम शताब्दीमा पनि यस्तै भएको थियो। उदाहरणको लागि, प्रचार नगर्नू भनेर प्रेरितहरूलाई आदेश दिइँदा उनीहरूले महासभाका प्रधान पूजाहारी र अरू गन्‍ने मान्‍नेहरूले भनेअनुसार गरेनन्‌। मानिसको अख्तियार स्वीकार्न तिनीहरूले सही आचरणलाई लत्याएनन्‌।—प्रेरित ५:२७-२९ पढ्‌नुहोस्‌।

४. विगतमा परमेश्‍वरका जनहरूले सबैलाई मन पर्ने निर्णय गरेनन्‌ भनेर हिब्रू धर्मशास्त्रका कस्ता उदाहरणले देखाउँछ?

४ येशूको समयभन्दा अघिका परमेश्‍वरका थुप्रै सेवकले पनि दृढ भएर यस्तै कदम चालेका थिए। उदाहरणका लागि, ‘राजाको क्रोध’ खप्नुपरे तापनि मोशाले “फिरऊनकी छोरीको छोरा कहलिनलाई इन्कार गरे” बरु “परमेश्‍वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे।” (हिब्रू ११:२४, २५, २७) पोतिफरकी श्रीमतीले बदला लिनको लागि जे पनि गर्न सक्छे भन्‍ने कुरा थाह भए पनि यूसुफले उसको प्रस्ताव ठाडै इन्कार गरे। (उत्प. ३९:७-९) बेबिलोनका मुख्य अफिसरहरूलाई दानियलले लिएको अडान स्वीकार्न सजिलो नभए पनि “राजाले तिनीहरूलाई दिनू भनी अह्राएका भोजन . . . खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्‍चय गरे।” (दानि. १:८-१४) यी उदाहरणले के देखाउँछ भने विगतमा परमेश्‍वरका जनहरूले परिणामको वास्ता नगरी सही कुराको लागि दृढ अडान लिए। तिनीहरूले मानिसहरूको अनुमोदन पाउन उनीहरूले जे भने त्यही गरेनन्‌, न त हामीले नै गर्नु हुन्छ।

५. अख्तियारप्रति हाम्रो दृष्टिकोण संसारको भन्दा कसरी फरक छ?

५ हाम्रो साहसी अडान अटेरीपन होइन, नता हामी राजनैतिक व्यवस्थाको विद्रोह गर्नेहरू जस्ता नै छौं। बरु, हामी मानिसको भन्दा यहोवाको अख्तियार स्वीकार्न कटिबद्ध छौं। जब परमेश्‍वरको व्यवस्थासित मानिसको व्यवस्था बाझिन्छ, तब के गर्ने होला भनेर हामीलाई निर्णय गर्न गाह्रो पर्नेछैन। प्रथम शताब्दीका प्रेरितहरूले जस्तै हामी पनि मानिसको भन्दा परमेश्‍वरको आज्ञा मान्छौं।

६. यहोवाको आज्ञा पालन गर्नु किन सबैभन्दा उचित हो?

६ हामीलाई यहोवाको अख्तियार स्वीकार्न कुन कुराले मदत गरेको छ? हितोपदेश ३:५, ६ मा बताइएको यस कुरासित हामी सहमत छौं: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” कुनै पनि कुरा परमेश्‍वरले चाहनुभएअनुसार गर्दा आखिर हाम्रै फाइदा हुन्छ भनेर हामी विश्‍वास गर्छौं। (व्यवस्था १०:१२, १३ पढ्‌नुहोस्‌) यहोवाले इस्राएलीहरूसामु आफ्नो वर्णन यसरी गर्नुभयो: “जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।” उहाँले अझै यसो भन्‍नुभयो: “यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!” (यशै. ४८:१७, १८) यी शब्दहरूमा हामी भरोसा गर्छौं। परमेश्‍वरको आज्ञा पालन गर्दा सधैं हाम्रै फाइदा हुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं।

७. परमेश्‍वरको वचनमा दिइएको कुनै आज्ञाको अर्थ राम्ररी नबुझ्दा हामीले के गर्नुपर्छ?

७ परमेश्‍वरले बाइबलमा दिनुभएको कतिपय आज्ञाको अर्थ राम्ररी नबुझ्दा पनि हामी उहाँको अख्तियार स्वीकार्छौं र उहाँको आज्ञा पालन गर्छौं। यस्तो भरोसा अन्धो विश्‍वास होइन। हाम्रो लागि के असल छ त्यो यहोवालाई राम्ररी थाह छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं भनेर यस्तो भरोसाले देखाउँछ। हाम्रो आज्ञाकारिता प्रेमको अभिव्यक्‍ति पनि हो। प्रेरित यूहन्‍नाले पनि यस्तो लेखे: “हामीले उहाँका आज्ञा पालन गर्नु नै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।” (१ यूह. ५:३) तर आज्ञाकारीताको अर्को पक्ष पनि छ जसलाई हामीले बेवास्ता गर्नुहुँदैन।

ज्ञानेन्द्रिय शक्‍तिको अभ्यास

८. “ज्ञानेन्द्रियको अभ्यास” गर्नु यहोवाको अख्तियार स्वीकार्नुसित कसरी सम्बन्धित छ?

८ हामीले “खराब र असल छुट्याउनलाई ज्ञानेन्द्रियको अभ्यास” गरेको हुनुपर्छ भनेर बाइबल बताउँछ। (हिब्रू ५:१४) तसर्थ, हाम्रो लक्ष्य यहोवाको व्यवस्था आँखा चिम्लेर पालन गर्नु होइन। बरु, हामी यहोवाको स्तरको आधारमा “खराब र असल छुट्याउनलाई” सक्षम हुन चाहन्छौं। यहोवाले कुनै पनि कामकुरा गर्दा कसरी बुद्धि चलाउनुहुन्छ, त्यो हामी बुझ्न चाहन्छौं। अनि हामी पनि भजनरचयिताले जस्तै यसो भन्‍न सक्नेछौं: “तपाईंको व्यवस्था मेरो हृदयमा छ।”—भज. ४०:८.

९. हामी कसरी आफ्नो अन्तस्करण यहोवाको स्तर अनुरूप मिलाउन सक्छौं र यसो गर्नु किन महत्त्वपूर्ण छ?

९ भजनरचयिताले जस्तै परमेश्‍वरको व्यवस्थालाई मोल गर्न हामीले बाइबलमा पढेको कुरा मनन गर्नुपर्छ। जब यहोवाले हामीबाट चाहनुहुने कुनै खास कुराबारे सिक्छौं, तब यस्तो प्रश्‍न सोध्न सक्छौं: ‘यो आज्ञा अथवा सिद्धान्त किन बुद्धिमानी हो? यो पालन गर्दा कसरी मेरै भलाइ हुन्छ? यस सन्दर्भमा परमेश्‍वरको सल्लाह स्वीकार नगर्नेहरूले कस्तो खराब नतिजा भोगेका छन्‌?’ हाम्रो अन्तस्करण यहोवाको तौरतरिका अनुरूप हुँदै जाँदा हामीले गर्ने निर्णय उहाँको इच्छामुताबिक हुनेछ। हामी ‘यहोवाको इच्छा के रहेछ, सो बुझ्न’ सक्नेछौं र आज्ञाकारी भएर चल्न सक्नेछौं। (एफि. ५:१७) तर यसो गर्न सधैं सजिलो हुँदैन।

शैतानले यहोवाको अख्तियारलाई कमजोर बनाउन खोज्छ

१०. शैतानले यहोवाको अख्तियारलाई फितलो बनाउन खोजेको एउटा क्षेत्र के हो?

१० यहोवाको अख्तियारलाई कमजोर बनाउन शैतानले लामो समयदेखि प्रयास गरिरहेको छ। त्यसको आफूखुसी गर्ने मनोभाव थुप्रै तरिकामा देख्न सकिन्छ। जस्तै: परमेश्‍वरले प्रबन्ध गरेको विवाहप्रति आदरको कमी। कुनै-कुनै जोडी विवाह नगरीकनै सँगै बस्न रोज्छन्‌। अरू कतिपयले चाहिं आफ्नो श्रीमान्‌ वा श्रीमतीबाट छुट्टिने दाउ खोज्छन्‌। एउटी प्रख्यात अभिनेत्रीको भनाइसित यी मानिसहरू सहमत होलान्‌, जसले यसरी ठोकुवा गरिन्‌: “एक जनासित मात्रै विवाह गरेर बस्नु पुरुष र स्त्री दुवैको लागि असम्भव छ।” उनी अझै यसो भन्छिन्‌: “मैले यस्तो कुनै मान्छे चिनेको छैन जो आफ्नो जोडीप्रति वफादार छ वा हुन चाहन्छ।” एक जना लोकप्रिय अभिनेताले पनि आफ्नो असफल सम्बन्धलाई सम्झँदै यसो भने: “जिन्दगीभर एकै जनासित जीवन बिताउनु मानव स्वभावमा छ कि छैन मलाई शंकै लाग्छ।” आफैलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ: ‘के म विवाहको सन्दर्भमा यहोवाको अधीनता स्वीकार्छु अथवा संसारको जस्तै फितलो मनोवृत्तिले मेरो सोचाइलाई असर गरेको छ?’

११, १२. (क) जवानहरूलाई यहोवाको अख्तियार स्वीकार्न किन गाह्रो हुन सक्छ? (ख) यहोवाको व्यवस्था र सिद्धान्त वास्ता नगर्दा कस्तो परिणाम भोग्नुपऱ्‍यो, एउटा अनुभव बताउनुहोस्‌।

११ के तपाईं यहोवाको संगठनको जवान हुनुहुन्छ? त्यसो हो भने, शैतानले विशेषगरि तपाईंलाई यहोवाको अख्तियार तपाईंको लागि हितकर छैन भनेर सोच्न लगाउन सक्छ। “जवानीका अभिलाषा”-का साथै तपाईंका साथीहरूबाट आइपर्ने दबाबको कारण तपाईंलाई परमेश्‍वरको व्यवस्था बोझिलो छ भन्‍ने भान पर्न सक्छ। (२ तिमो. २:२२) कृपया होसियार रहनुहोस्‌। परमेश्‍वरले तोक्नुभएको स्तर बुझ्ने कोसिस गर्नुहोस्‌। “व्यभिचारदेखि अलग रहो” भनेर बाइबलले बताएको कुरा याद गर्नुहोस्‌। (१ कोरि. ६:१८) फेरि पनि आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘यो आज्ञा किन बुद्धिमानी हो? यस विषयमा आज्ञाकारी हुँदा मलाई कस्तो फाइदा हुन्छ?’ परमेश्‍वरको सल्लाह बेवास्ता गरेकोले एकदमै नराम्रो परिणाम भोगेको कसैलाई चिन्‍नुहुन्छ होला। के तिनीहरू अहिले साँच्चै खुसी छन्‌? यहोवाको संगठनमा हुँदा जस्तो जीवन बिताएका थिए के अहिले त्यो भन्दा राम्रो जीवन बिताउन सकेका छन्‌? यहोवाका सेवकहरूले पाएको आनन्द भन्दा अझ धेरै आनन्दको रहस्य तिनीहरूले भेट्टाउन सकेका छन्‌ कि?—यशैया ६५:१४ पढ्‌नुहोस्‌।

१२ ख्रीष्टियान बहिनी स्यारोनले केही समयअघि गरेको टिप्पणीलाई विचार गर्नुहोस्‌। उनी भन्छिन्‌: “यहोवाको व्यवस्थालाई वास्ता नगर्दा अहिले मलाई एड्‌स जस्तो घातक रोग लागेको छ। यहोवाको सेवा गर्दा पाएका अनेकौं खुसीका पलहरू म सम्झिरहन्छु।” यहोवाको व्यवस्था उल्लंघन गर्नु मूर्खता थियो र उहाँको व्यवस्थालाई ठूलो मोल गर्नुपर्थ्यो भनेर तिनले मानिलिइन्‌। यहोवाको व्यवस्था हाम्रै सुरक्षाको लागि हो। स्यारोनले यी शब्दहरू लेखेको सात हप्तापछि नै उनको मृत्यु भयो। यो दुःखलाग्दो अनुभवले देखाएझैं, यस दुष्ट संसारको भाग हुनेहरूलाई दिन शैतानसित केही असल कुरो छैन। त्यो “झूटको पिता” भएकोले नानाथरी प्रतिज्ञा त गर्छ, तर एउटै पूरा हुँदैन—हव्वालाई गरेको प्रतिज्ञाजस्तै! (यूह. ८:४४) साँच्चै नै, सधैं यहोवाको अख्तियार स्वीकार्नुभन्दा उत्तम कुरा अर्को छैन।

आफूखुसी गर्ने मनोभावदेखि सतर्क रहनुहोस्‌

१३. आफूखुसी गर्ने मनोभावबाट सतर्क रहनुपर्ने एउटा क्षेत्र के हो?

१३ यहोवाको अख्तियार स्वीकार्ने हो भने आफूखुसी गर्ने मनोभावदेखि हामी सतर्क रहनुपर्छ। घमन्डी झुकावले हामीलाई कसैको पनि डोऱ्‍याइ चाहिंदैन भन्‍ने महसुस गराउँछ। उदाहरणको लागि, परमेश्‍वरका जनहरूमाझ अगुवाइ लिनेहरूले सल्लाह दिंदा हामी प्रतिरोध गर्ने हुन सक्छौ। परमेश्‍वरले विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत ठीक-ठीक समयमा आध्यात्मिक खाना पस्कन एउटा प्रबन्ध मिलाउनुभएको छ। (मत्ती २४:४५-४७) यहोवाले अहिले यसरी नै आफ्ना जनहरूको रेखदेख गर्नुहुन्छ भन्‍ने कुरा हामीले नम्र भएर स्वीकार्नुपर्छ। विश्‍वासी प्रेरितहरूजस्तै हुनुहोस्‌। जब केही चेलाहरूलाई येशूको कुरा आपत्तिजनक लाग्यो र उहाँको पछि लाग्न छोडे, तब येशूले प्रेरितहरूलाई सोध्नुभयो: “के तिमीहरू पनि गइहाल्ने इच्छा गर्दछौ?” पत्रुसले जवाफ दिए: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌।”—यूह. ६:६६-६८.

१४, १५. बाइबलको सल्लाह हामीले किन नम्र भएर स्वीकार्नुपर्छ?

१४ यहोवाको अख्तियार स्वीकार्नुमा उहाँको वचनको आधारमा दिइएको सल्लाहअनुसार काम गर्नु पनि समावेश छ। उदाहरणको लागि, विश्‍वासी र बुद्धिमान्‌ दासले हामीलाई “जागा रहौं र होशियार होऔं” भनेर चेतावनी दिंदै आएको छ। (१ थिस्स. ५:६) थुप्रै मानिस ‘स्वार्थी र धनका लोभी’ भएको यो आखिरी दिनमा यी सल्लाह एकदमै उपयुक्‍त छन्‌। (२ तिमो. ३:१, २) वरपर व्याप्त यस्ता कुराले के हामीलाई पनि असर गर्छ? किन नगर्नु! आध्यात्मिक लक्ष्य राखेनौं भने हामी आध्यात्मिक रूपमा निदाउन सक्छौं अथवा हामी भौतिकवादी मनोवृत्तिका हुन सक्छौं। (लूका १२:१६-२१) त्यसैले बाइबलको सल्लाह स्वीकार्नु र शैतानको संसारमा व्याप्त स्वार्थी जीवनशैली तिरस्कार गर्नु कत्ति बुद्धिमानी हो!—१ यूह. २:१६.

१५ विश्‍वासी र बुद्धिमान्‌ दासले स्थानीय मण्डलीमा नियुक्‍त प्राचीनहरूमार्फत आध्यात्मिक खाना पस्किरहेका छन्‌। बाइबल यस्तो सल्लाह दिन्छ: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्‌, यो तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभदायक हुँदैन।” (हिब्रू १३:१७) यसको मतलब मण्डलीका प्राचीनहरूले गल्ती नै गर्दैनन्‌ भनेको हो? पक्कै होइन। उनीहरूको गल्ती कुनै मानिसले भन्दा पनि परमेश्‍वरले अझ स्पष्टसँग देख्न सक्नुहुन्छ। तैपनि, प्राचीनहरूप्रति हामी आज्ञाकारी भएको उहाँ चाहनुहुन्छ। प्राचीनहरू असिद्ध भए पनि तिनीहरूसित मिलेर काम गर्दा हामी यहोवाको अख्तियार स्वीकार्छौं भनेर प्रमाण दिइरहेका हुन्छौं।

नम्र हुनै पर्छ

१६. मण्डलीको शिरको रूपमा हामी येशूलाई कसरी आदर देखाउन सक्छौं?

१६ येशू नै मण्डलीको शिर हुनुहुन्छ भन्‍ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन। (कल. १:१८) नियुक्‍त प्राचीनहरूलाई “अति उच्च आदर” गर्दै तिनीहरूको निर्देशन हामीले नम्र भएर स्वीकार्नुपर्ने यो एउटा कारण हो। (१ थिस्स. ५:१२, १३) मण्डलीका प्राचीनहरूले पनि आफ्नो होइन तर परमेश्‍वरको सन्देश होसियारसाथ सिकाएर आफू अधीनमा बसेको छु भनेर देखाउन सक्छन्‌। प्राचीनहरूले आफ्नै विचार अघि सार्नको लागि “लेखिएका कुराभन्दा बढता” गर्दैनन्‌।—१ कोरि. ४:६.

१७. ठूलो हुन खोज्ने मनोभाव किन खतरनाक छ?

१७ मण्डलीका सबै जना आफ्नै मान खोज्नदेखि होसियार हुनुपर्छ। (हितो. २५:२७) प्रेरित यूहन्‍नाले भेटेका एक जना चेला यस्तै पासोमा परेका थिए। यसबारे यूहन्‍ना लेख्छन्‌: “तिमीहरूमा ठूलो हुनखोज्ने डियोत्रिफसले हामीलाई ग्रहण गर्दैनन्‌। यसकारण म आएँ भने, त्यसले कुवचनले हाम्रा विरुद्ध बोलेर गरेको . . . कुराहरूको सम्झना म गराउनेछु।” (३ यूह. ९, १०) यसमा आज हाम्रो लागि पनि पाठ छ। हामीमा ठूलो हुन खोज्ने छनक देखियो भने त्यसलाई जरैदेखि उखेल्नु राम्रो हुन्छ। बाइबल हामीलाई यसो भन्छ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।” परमेश्‍वरको अख्तियार स्वीकार्नेहरू अहंकारी हुने पासोबाट जोगिनै पर्छ, नत्रता यसले अनादरको बाटोमा लैजान्छ।—हितो. ११:२; १६:१८.

१८. यहोवाको अख्तियार स्वीकार्न हामीलाई कुन कुराले मदत गर्छ?

१८ हो, आफूखुसी गर्ने संसारको मनोवृत्तिको प्रतिरोध गर्ने र यहोवाको अख्तियार स्वीकार्ने लक्ष्य बनाउनुहोस्‌। यहोवाको सेवा गर्न पाएको ठूलो सुअवसरलाई समय समयमा कृतज्ञ भएर मनन गर्नुहोस्‌। वास्तवमा, तपाईं यसरी यहोवाका जनहरूमाझ हुनु नै परमेश्‍वरले तपाईंलाई उहाँको पवित्र आत्माले खिचेको प्रमाण हो। (यूह. ६:४४) यहोवासितको तपाईंको सम्बन्धलाई कहिल्यै हल्कासित नलिनुहोस्‌। आफूखुसी गर्ने मनोभावलाई इन्कार गरिरहेको छु र यहोवाको अख्तियार स्वीकारिरहेको छु भनेर देखाउन जीवनको हरेक पक्षमा सक्दो प्रयास गर्नुहोस्‌। (w 08 6/15)

के तपाईंलाई याद छ?

• यहोवाको अख्तियार स्वीकार्नुमा के-के समावेश छ?

• ज्ञानेन्द्रिय शक्‍तिको अभ्यास गर्नु यहोवाको अख्तियार स्वीकार्नुसित कसरी सम्बन्धित छ?

• कुन-कुन क्षेत्रमा शैतानले यहोवाको अख्तियार कमजोर बनाउन खोज्छ?

• यहोवाको अख्तियार स्वीकार्नुमा नम्र हुनु किन महत्त्वपूर्ण छ?

[पृष्ठ २०-मा भएको चित्र]

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ”

[पृष्ठ २२-मा भएको चित्र]

परमेश्‍वरको स्तर अनुरूप चल्नु सधैं बुद्धिमानी हुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने