प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bt chap. १२ pp. ९३-९९
  • ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’
  • परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “ठूलो जमातले प्रभुमा विश्‍वास गर्न थाल्यो” (प्रेषित १४:१-७)
  • “जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌” (प्रेषित १४:८-१९)
  • “तिनीहरूले यी एल्डरहरूलाई यहोवा परमेश्‍वरको जिम्मा लगाए” (प्रेषित १४:२०-२८)
  • मसीही मिसनरी कार्यको एउटा प्रेरित नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • बर्णाबास—“सान्त्वनाको छोरो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाका मानिसहरू विश्‍वासमा दह्रो बनाइन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
bt chap. १२ pp. ९३-९९

अध्याय १२

‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’

पावल र बर्णाबासले नम्रता, लगनशीलता अनि साहस देखाए

प्रेषित १४:१-२८ मा आधारित

१, २. पावल र बर्णाबास लिस्त्रामा हुँदा कस्ता घटनाहरू घट्‌छन्‌?

लिस्त्रामा खैलाबैला मच्चिन्छ। दुई जना नौला मानिसले एक जना जन्मैदेखि लङ्‌गडो मानिसलाई निको पारेपछि ऊ खुसीले बुर्लुक-बुर्लुक उफ्रिरहेको छ। मानिसहरू अक्क न बक्क पर्छन्‌। मानिसहरूले देवता ठानेका ती मानिसहरूका लागि ज्युसका पुजारीहरू फूलमाला लिएर आउँछन्‌। पुजारीहरूले ती मानिसहरूका लागि बलिदान चढाउन तयार पारेका साँढेहरूको फुङ्‌कार सुनिन्छ। पावल र बर्णाबास तिनीहरूलाई ठूलठूलो स्वरले सम्झाउन खोज्दै छन्‌। आफ्नो लुगा च्यातेर तिनीहरू भीडमा हाम फाल्छन्‌ र आफूहरूलाई उपासना नगरियोस्‌ भनेर मनाउन बल्लतल्ल सफल हुन्छन्‌।

२ त्यति नै खेर पिसिदियाको एन्टिओक र आइकोनियमबाट यहुदी विरोधीहरू आइपुग्छन्‌। तिनीहरू पावल र बर्णाबासको गर्नुसम्म निन्दा गर्छन्‌ र मानिसहरूलाई उचाल्न सफल हुन्छन्‌। एकछिन अघिसम्म उपासना गर्न तम्सिएका ती मानिसहरूले नै पावललाई घेर्छन्‌। तिनीहरू पावल अचेत नहोउन्जेल तिनलाई ढुङ्‌गाले हान्छन्‌। आफ्नो रिस पोखिसकेपछि तिनीहरू पावललाई घिसार्दै सहरबाहिर लैजान्छन्‌ र तिनी मरे होलान्‌ भन्ठानेर छोडिदिन्छन्‌।

३. हामी यस अध्यायमा कस्ता प्रश्‍नहरू चर्चा गर्नेछौँ?

३ यस डरलाग्दो घटनापछि के हुन्छ? बर्णाबास, पावल र भड्‌किहाल्ने लिस्त्राका ती मानिसहरूको घटनाबाट आज सुसमाचार सुनाउनेहरूले के सिक्न सक्छन्‌? बर्णाबास र पावल ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोल्दै’ साक्षीकार्यमा लगनशील भई लागेका छन्‌। ख्रिष्टियन एल्डरहरूले तिनीहरूको उदाहरण कसरी अनुकरण गर्न सक्छन्‌?—प्रेषि. १४:३.

“ठूलो जमातले प्रभुमा विश्‍वास गर्न थाल्यो” (प्रेषित १४:१-७)

४, ५. पावल र बर्णाबास किन आइकोनियम गए र त्यहाँ के भयो?

४ रोमी सहर पिसिदियाको एन्टिओकमा विरोधी यहुदीहरूले मानिसहरूलाई भड्‌काएपछि त्यहाँबाट पावल र बर्णाबासलाई धपाइएको धेरै दिन भएको थिएन। तर निरुत्साहित हुनुको सट्टा त्यस सहरका बासिन्दाहरू अबुझ भएकोले यी दुई पुरुषले “पैतालाको धुलो टकटक्याए।” (प्रेषि. १३:५०-५२; मत्ति १०:१४) परमेश्‍वरबाट आउने इन्साफको नतिजा सहरका मानिसहरूले नै भोग्नुपर्छ भन्‍ने कुरा मनमा राख्दै पावल र बर्णाबास शान्तपूर्वक त्यहाँबाट गए। (प्रेषि. १८:५, ६; २०:२६) यी दुई मिसनरी खुसीसाथ साक्षीकार्यमै लागिरहे। करिब १५० किलोमिटर हिँडेर तिनीहरू दक्षिण-पूर्वमा पर्ने टाउरस र सुलतान पर्वतमालाबीचको एउटा उर्वर पठारमा पुगे।

५ सुरुमा पावल र बर्णाबास आइकोनियममा रोकिए। आइकोनियममा अझै ग्रीक संस्कृतिको प्रभाव देखिन्थ्यो। यो रोमी प्रान्त गलातियाको मुख्य सहरहरूमध्ये एउटा थियो।a यस सहरमा प्रभावशाली यहुदीहरू र धर्म परिवर्तन गरेर यहुदी बनेका थुप्रै मानिस बस्थे। आफ्नो बानीअनुसारै पावल र बर्णाबास यहुदीहरूका सभाघरमा गए र साक्षी दिन थाले। (प्रेषि. १३:५, १४) तिनीहरूले “यत्ति राम्ररी बोले कि यहुदी र ग्रीकहरूको ठूलो जमातले प्रभुमा विश्‍वास गर्न थाल्यो।”—प्रेषि. १४:१.

आइकोनियम—फ्रिजियालीहरूको सहर

आइकोनियम पानीको सुविधा भएको उर्वर पठारमा पर्थ्यो। यो सहर मुख्य व्यापारिक मार्गमा पर्थ्यो। यसले सिरियालाई रोम, ग्रीस र रोमी प्रान्त एसियासित जोड्‌थ्यो।

आइकोनियमका मानिसहरूले फ्रिजियाली प्रजनन देवी सिबिलको उपासना गर्थे अनि त्यसमा ग्रीक शासनकालको बेला चलेका ग्रीक उपासनाका केही चलनहरू पनि समावेश थियो। ईसापूर्व ६५ मा यो सहर रोमको अधीनमा पऱ्‍यो र इस्वी संवत्‌ प्रथम शताब्दीमा यो सहर व्यापार र कृषिको मुख्य केन्द्र हुनुका साथै भौतिक रूपमा सम्पन्‍न पनि थियो। आइकोनियममा प्रभावशाली यहुदीहरू बस्ने भए तापनि उक्‍त सहरमा अझै ग्रीक संस्कृतिको प्रभाव देखिन्थ्यो। त्यसैले त प्रेषितको विवरणमा त्यहाँका मानिसहरूलाई यहुदीहरू र “ग्रीकहरू” भनी सम्बोधन गरिएको छ।—प्रेषि. १४:१.

आइकोनियम गलातियाको प्रान्त लाइकाओनिया र फ्रिजियाबीचको सीमामा पर्थ्यो। सिसेरो र स्ट्राबोजस्ता प्रथम शताब्दीका लेखकहरूले आइकोनियमलाई लाइकाओनियाको सहर भने। भौगोलिक रूपमा पनि यो सहर त्यही प्रान्तमा पर्थ्यो। तर प्रेषितको विवरणमा भने “लाइकाओनियाली भाषा” बोलिने लाइकाओनिया र आइकोनियमलाई दुई फरक सहरको रूपमा उल्लेख गरिएको छ। (प्रेषि. १४:१-६, ११) यसैकारण आलोचकहरूले प्रेषितको विवरण सही होइन भनेर तर्क गरेका छन्‌। तर सन्‌ १९१० मा पुरातत्त्वविद्‌हरूले त्यस सहरमा भेट्टाएका शिलालेखहरूअनुसार पावल र बर्णाबासले त्यहाँ यात्रा गरेको दुई शताब्दीपछिसम्म पनि आइकोनियममा फ्रिजियाली भाषा नै बोल्ने गरिन्थ्यो। त्यसैले प्रेषितको पुस्तकका लेखकले लाइकाओनिया र आइकोनियमबीच फरक छुट्ट्याउनु सही थियो।

६. पावल र बर्णाबास प्रभावकारी शिक्षक हुन सक्नुको कारण के थियो? हामी कसरी तिनीहरूको देखासिकी गर्न सक्छौँ?

६ पावल र बर्णाबासले भनेका कुराहरू एकदमै प्रभावकारी हुनुको कारण के थियो? पावलसित बाइबलको गहिरो ज्ञान थियो। येसु नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्न तिनले इतिहास, भविष्यवाणी र मोसाको व्यवस्थाका कुराहरू एकदमै राम्रोसित चलाए। (प्रेषि. १३:१५-३१; २६:२२, २३) बर्णाबासको कुरा गर्ने शैलीमा तिनी मानिसहरूको कत्ति ख्याल गर्थे भन्‍ने कुरा झल्किन्थ्यो। (प्रेषि. ४:३६, ३७; ९:२७; ११:२३, २४) यी दुवै पुरुष आफ्नै समझमा भर परेनन्‌ तर “यहोवा परमेश्‍वरबाट अख्तियार पाएको हुनाले” बोले। साक्षीकार्यमा यी दुई मिसनरीको देखासिकी गर्न परमेश्‍वरको वचन बाइबलसित पूरै परिचित हुनुहोस्‌। आफ्नो श्रोताको मन छुन सक्ने शास्त्रपदहरू छान्‍नुहोस्‌। आफूले साक्षी दिने मानिसहरूलाई कसरी सान्त्वना दिन सकिन्छ, त्यसबारे विचार गर्नुहोस्‌। आफ्नै बुद्धिमा होइन, सधैँ परमेश्‍वरको वचनमा आधारित भएर सिकाउनुहोस्‌।

७. (क) सुसमाचारप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाउन सक्छन्‌? (ख) सुसमाचारको पक्ष लिएकोले तपाईँको परिवारमा बेमेल भएको छ भने तपाईँले कुन कुरा बिर्सनु हुँदैन?

७ तर पावल र बर्णाबासको कुरा आइकोनियमका कोही-कोहीलाई चित्त बुझेको थिएन। यसबारे लुकाले यस्तो लेखे: “विश्‍वास नगर्ने यहुदीहरूले अन्यजातिका मानिसहरूलाई भड्‌काएर भाइहरूविरुद्ध रुष्ट बनाए।” पावल र बर्णाबासले त्यहीँ बसेर सुसमाचार सुनाउनुपर्ने आवश्‍यकता देखेकोले तिनीहरू “साहसी भई निकै समय बोले।” परिणामस्वरूप “सहरका मानिसहरूमा फूट उत्पन्‍न भयो अनि कसैले यहुदीहरूको पक्ष लिए भने कसैले प्रेषितहरूको।” (प्रेषि. १४:२-४) आज पनि मानिसहरूले सुसमाचारप्रति त्यस्तै प्रतिक्रिया देखाउँछन्‌। सुसमाचार कसैको लागि एकता गराउने शक्‍ति हुन्छ भने कसैको लागि चाहिँ फूट गराउने कारण। (मत्ति १०:३४-३६) सुसमाचारको पक्ष लिएकोले के तपाईँको परिवारमा बेमेल भएको छ? छ भने नबिर्सनुहोस्‌, बेतुकको हल्ला वा कसैले निन्दा गरेको कारण यस्तो विरोध आएको हुन सक्छ। तपाईँको असल आचरणले त्यस्ता हल्लाहरू झूटा हुन्‌ भनेर प्रमाणित गर्न सक्छ र अन्ततः तपाईँलाई विरोध गर्ने व्यक्‍तिको मनोवृत्ति परिवर्तन हुन सक्छ।—१ पत्रु. २:१२; ३:१, २.

८. पावल र बर्णाबास किन आइकोनियमबाट अन्तै गए? यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

८ यसको केही समयपछि आइकोनियमका विरोधीहरूले पावल र बर्णाबासलाई ढुङ्‌गाले हान्‍ने योजना बनाए। त्यसको सुइँको पाउनेबित्तिकै यी दुई मिसनरी साक्षी दिन अर्कै इलाका गए। (प्रेषि. १४:५-७) आज पनि राज्य प्रचारकहरू यस्तै बुद्धिमानी तरिका अपनाउँछन्‌। मौखिक दुर्व्यवहार हुँदा हामी निडर भई बोल्छौँ। (फिलि. १:७; १ पत्रु. ३:१३-१५) तर जब हिंसा हुने सङ्‌केत पाउँछौँ, तब हामी आफ्नो वा भाइबहिनीको जीवनलाई खतरामा पार्ने कुनै मूर्ख काम गर्दैनौँ।—हितो. २२:३.

“जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌” (प्रेषित १४:८-१९)

९, १०. लिस्त्रा कहाँ पर्थ्यो? लिस्त्राका मानिसहरूबारे हामीलाई के थाह छ?

९ पावल र बर्णाबास आइकोनियमबाट लगभग ३० किलोमिटर दक्षिण-पश्‍चिमतिर रहेको रोमी उपनिवेश लिस्त्रामा जान्छन्‌। पिसिदियाको एन्टिओकसँग लिस्त्राको राम्रो सम्बन्ध थियो। तर लिस्त्रामा एन्टिओकमा जस्तो प्रभावशाली यहुदीहरूको समुदाय भने थिएन। त्यहाँका मानिसहरू ग्रीक भाषा बोल्थे तर तिनीहरूको मातृभाषाचाहिँ लाइकाओनियाली थियो। सायद सभाघर नभएकोले पावल र बर्णाबासले त्यहाँको एउटा सार्वजनिक स्थलमा गएर साक्षी दिन थाले। यरुसलेममा पत्रुसले एक जना अपाङ्‌गलाई निको पारेका थिए। त्यस्तो चमत्कार देखेर एउटा ठूलो भीडले प्रभुमा विश्‍वास गरेको थियो। (प्रेषि. ३:१-१०) लिस्त्रामा पावलले जन्मैदेखि लङ्‌गडो मानिसलाई निको पारे। (प्रेषि. १४:८-१०) तर तिनको चमत्कारले भने एकदमै फरक नतिजा ल्यायो।

१० यस अध्यायको सुरुमै बताइएझैँ जब त्यो लङ्‌गडो मानिस बुर्लुक्क उफ्रेर हिँड्‌न सक्ने भयो, तब झूटा देवीदेवताको उपासना गर्ने लिस्त्राका मानिसहरू गलत निष्कर्षमा पुगे। तिनीहरूले बर्णाबासलाई देवताहरूका प्रमुख ज्युस भनेर पुकारे अनि पावललाई ज्युसको छोरा र देवताहरूको प्रवक्‍ता हर्मेस भने। (पृष्ठ ९७ मा भएको “लिस्त्रा र त्यहाँ ज्युस अनि हर्मेसको उपासना” शीर्षकको पेटी हेर्नुहोस्‌।) तर आफूले झूटा देवताहरूको अख्तियार पाएर बोलेको होइन बरु एक मात्र साँचो परमेश्‍वर यहोवाको अख्तियार पाएर बोलेको हो भनेर बर्णाबास र पावलले मनाउन खोजे।—प्रेषि. १४:११-१४.

लिस्त्रा र त्यहाँ ज्युस अनि हर्मेसको उपासना

लिस्त्रा मुख्य राजमार्गबाट टाढा एउटा उपत्यकामा पर्थ्यो। सिजर अगस्तसले यस सहरलाई जुलिया फेलिक्स जेमिना लुस्त्रा भन्‍ने नाम दिँदै रोमको उपनिवेश बनाए। स्थानीय पहाडी इलाकामा बसोबास गर्ने मानिसहरूबाट गलातिया प्रान्तको सुरक्षा गर्नु त्यहाँ भएको सैन्य दलको जिम्मेवारी थियो। त्यसैले यस सहरको प्रशासन रोमी परम्पराअनुसार चलाइन्थ्यो र यसका अधिकारीहरूको ओहदा पनि रोमी नामबाटै राखिन्थ्यो। तैपनि लिस्त्राले धेरै हदसम्म आफ्नै पहिचान कायम राखेको थियो। यस सहरमा रोमको भन्दा लाइकाओनियाको प्रभाव धेरै देखिन्थ्यो। वास्तवमा प्रेषितको पुस्तकमा चर्चा गरिएका लिस्त्राका मानिसहरू लाइकाओनियाली भाषा बोल्थे।

पुरातत्त्वविद्‌हरूले पुरातन लिस्त्राको इलाकामा हर्मेस देवताको मूर्ति र “ज्युसका पुजारी” भनेर लेखिएको लेखोट भेट्टाएका छन्‌। तिनीहरूले ज्युस र हर्मेसको लागि बलि चढाइने वेदी पनि भेट्टाएका छन्‌।

रोमी कवि ओभिडले (ईसापूर्व ४३ देखि इस्वी संवत्‌ १७) लेखेका एउटा प्रख्यात कथाले प्रेषितको किताबको थप पृष्ठभूमिबारे बताउँछ। ओभिडले लेखेअनुसार ग्रीक देवताहरू ज्युस र हर्मेस, जसलाई रोमी भाषामा जुपिटर र मर्करी भनिन्छ, तिनीहरू मानिसको भेषमा फ्रिजियाको पहाडी इलाकामा आएका थिए। तिनीहरूले हजारौँ मानिसको घरमा बास खोजे तर कसैले पनि तिनीहरूलाई बास दिएनन्‌। वृद्ध दम्पती फिलेमोन र बसिसले मात्र आफ्नो झुपडीमा तिनीहरूलाई बास दिए। त्यसको परिणामस्वरूप ज्युस र हर्मेसले त्यस झुपडीलाई सङ्‌गमर्मर र सुनले बनेको मन्दिरमा परिणत गरिदिए, ती वृद्ध दम्पतीलाई त्यस मन्दिरको पुजारी बनाए र बास नदिने सबैलाई नाश गरे। ग्रीक-रोमी समयमा प्रेषितको पुस्तक–अनुसार (अङ्‌ग्रेजी) “पावल र बर्णाबासले लङ्‌गडो मानिसलाई निको पारेको देखेपछि त्यो दन्त्यकथा सम्झेर लिस्त्राका मानिसहरू तिनीहरूको लागि बलि चढाउन तयार हुनु नौलो कुरा थिएन।”

पावल र बर्णाबास लिस्त्रामा भीडले दिएको महिमाको प्रतिरोध गर्छन्‌। मानिसहरू गीत गाउँदै, बलि तयार पार्दै र ती दुई पुरुषलाई दण्डवत्‌ गर्दै छन्‌।

“यी निरर्थक कुराहरूबाट फर्केर आकाश, पृथ्वी . . . बनाउनुहुने जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌।”​—प्रेषित १४:१५

११-१३. (क) लिस्त्राका मानिसहरूलाई पावल र बर्णाबासले के भने? (ख) पावल र बर्णाबासले भनेको कुराबाट हामीले सिक्न सक्ने एउटा पाठ के हो?

११ यस्तो नाटकीय अवस्था सृजना भए तापनि पावल र बर्णाबासले अझै आफ्ना श्रोताहरूको मनसम्म पुग्न हर प्रयास गरे। मानिसहरूलाई साक्षी दिने प्रभावकारी तरिका लुकाले यस घटनामा लेखे। पावल र बर्णाबासले आफ्ना श्रोताहरूसँग कसरी मन छुने तरिकाले कुरा गरे, ध्यान दिनुहोस्‌: “हे मानिसहरू हो, तपाईँहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईँहरूजस्तै कमीकमजोरी भएका मानिसहरू हौँ। अनि यी निरर्थक कुराहरूबाट फर्केर आकाश, पृथ्वी र समुद्र अनि तिनमा भएका सबै थोक बनाउनुहुने जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌ भनेर तपाईँहरूलाई सुसमाचार सुनाउन आएका हौँ। विगतमा उहाँले सबै जातिका मानिसहरूलाई आ-आफ्नै मार्गमा चल्न दिनुभयो। तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो अर्थात्‌ उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”—प्रेषि. १४:१५-१७.

१२ मानिसहरूलाई सोच्न लगाउने यी शब्दहरूबाट हामी के सिक्न सक्छौँ? पहिलो, पावल र बर्णाबासले आफ्ना श्रोताहरूभन्दा आफूलाई ठूलो ठानेनन्‌। तिनीहरूले कुनै ढोँग गरेनन्‌ बरु आफू जस्तो हो, मानिसहरूसामु त्यस्तै प्रस्तुत भए। आफ्ना श्रोताहरूमा भएका जस्तै कमीकमजोरी आफूमा पनि छ भनेर तिनीहरूले नम्रतासाथ स्विकारे। हो, पावल र बर्णाबासले परमेश्‍वरको पवित्र शक्‍ति पाएका थिए र झूटा शिक्षाको चङ्‌गुलबाट मुक्‍त भएका थिए। तिनीहरूले आशिष्‌स्वरूप ख्रिष्टसँगै शासन गर्ने आशा पनि पाएका थिए। लिस्त्राका मानिसहरूले पनि ख्रिष्टको आज्ञा पालन गरे भने यस्तै आशिष्‌ पाउन सक्छन्‌ भनेर तिनीहरूलाई थाह थियो।

१३ सुसमाचार सुनाउँदा हामी मानिसहरूप्रति कस्तो दृष्टिकोण राख्छौँ? के तिनीहरू पनि हामीजस्तै हुन्‌ भन्‍ने सोच्छौँ? परमेश्‍वरको वचनबाट सत्य कुरा सिक्न अरूलाई मदत गर्दा आफ्नै महिमा नखोजेर के हामी पनि पावल र बर्णाबासको अनुकरण गछौँ? यस सम्बन्धमा १९ औँ शताब्दीको अन्ततिर र २० औँ शताब्दीको सुरुतिर साक्षीकार्यमा नेतृत्व लिएका प्रभावकारी शिक्षक चार्ल्स टेज रसलले राम्रो उदाहरण बसाल्नुभयो। उहाँले यस्तो लेख्नुभयो: “हामी आफ्नो लागि वा आफूले तयार पारेका लेखहरूको लागि कसैबाट श्रद्धा र महिमा चाहँदैनौँ। हामीलाई कसैले श्रद्धेय वा गुरु भनेको पनि चाहँदैनौँ।” पावल र बर्णाबासले जस्तै भाइ रसलले पनि नम्र मनोवृत्ति देखाउनुभयो। त्यसैगरि हामी पनि आफ्नै महिमाको लागि होइन तर मानिसहरूलाई “जीवित परमेश्‍वरकहाँ” फर्कन मदत गर्ने उद्देश्‍यले साक्षी दिन्छौँ।

१४-१६. पावल र बर्णाबासले लिस्त्राका मानिसहरूलाई भनेका कुराबाट हामीले सिक्न सक्ने दोस्रो र तेस्रो पाठ के हो?

१४ पावल र बर्णाबासले दिएको भाषणबाट हामीले सिक्न सक्ने दोस्रो पाठ विचार गर्नुहोस्‌। तिनीहरू परिस्थितिअनुसार छाँटकाँट गर्थे। आइकोनियमका यहुदीहरू र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूलाई बाइबलबारे र परमेश्‍वरसँग इस्राएलीहरूको सम्बन्धबारे राम्ररी थाह थियो। तर लिस्त्राका मानिसहरूलाई भने त्यसबारे अलिअलि मात्र थाह थियो वा पटक्कै थाह थिएन। पावल र बर्णाबासका श्रोताहरू खेतीकिसानी गर्थे। लिस्त्राको हावापानी राम्रो थियो र भूमि पनि उर्वर थियो। ती मानिसहरूले थुप्रै कुरामा, जस्तै: ऋतुअनुसार प्रशस्त बाली लागेको बेला सृष्टिकर्ताका गुणहरू छर्लङ्‌गै देख्न सक्थे। आफ्ना श्रोताहरूको मन छुन यी मिसनरीहरूले तिनीहरू पनि सहमत हुने यही विषयबाट कुरा सुरु गरे।—रोमी १:१९, २०.

१५ के हामी पनि परिस्थितिअनुसार छाँटकाँट गर्छौँ? हुनत किसानले एकै प्रकारको बिउ फरक-फरक जमिनमा छर्न सक्छ तर माटो राम्ररी तयार पार्न किसानले जमिनअनुसार फरक तरिका अपनाउनुपर्छ। कुनै-कुनै जमिन असल हुने भएकोले तुरुन्तै बिउ उम्रन सक्छ। तर कुनै-कुनै जमिनको माटोलाई तयार पार्न भने धेरै काम गर्नुपर्ने हुन सक्छ। त्यसैगरि हामीले रोप्ने बिउ पनि सधैँ एकै प्रकारको हुन्छ। त्यो हो, परमेश्‍वरको वचनमा पाइने सन्देश। तर पावल र बर्णाबासले जस्तै हामी मानिसहरूको परिस्थिति र धार्मिक पृष्ठभूमि बुझ्ने प्रयास गर्छौँ। त्यसपछि राज्य सन्देश सुनाउने तरिकामा त्यहीअनुसार छाँटकाँट गर्न सक्छौँ।—लुका ८:११, १५.

१६ पावल, बर्णाबास र लिस्त्राका मानिसहरूको विवरणबाट हामीले सिक्न सक्ने तेस्रो पाठ हो: हामीले जत्ति नै प्रयास गरे तापनि कहिलेकाहीँ हामीले छरेको बिउ खोसेर लगिन्छ वा चट्टाने जमिनमा पर्छ। (मत्ति १३:१८-२१) त्यस्तो भयो भने निराश नहुनुहोस्‌। पावलले पछि रोमका ख्रिष्टियनहरूलाई भनेझैँ “हामी सबैले [र हामीले सुसमाचार सुनाएका प्रत्येक व्यक्‍तिले] परमेश्‍वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।”—रोमी १४:१२.

“तिनीहरूले यी एल्डरहरूलाई यहोवा परमेश्‍वरको जिम्मा लगाए” (प्रेषित १४:२०-२८)

१७. डर्बीबाट पावल र बर्णाबास कता गए र किन?

१७ विरोधीहरूले पावल मरे भन्ठानेर लिस्त्राबाट घिसार्दै निकालेपछि चेलाहरूले तिनलाई लगे अनि तिनको लागि बासको प्रबन्ध मिलाइदिए। भोलिपल्ट पावल र बर्णाबासले डर्बीसम्मको १०० किलोमिटर लामो यात्रा सुरु गरे। अघिल्लो दिन मात्र मरणासन्‍न अवस्थामा पुगेका पावललाई कठिन बाटोको यो यात्रा कत्ति कष्टकर भयो होला! तैपनि पावल र बर्णाबासले लत्तो छाडेनन्‌। डर्बी पुगेपछि तिनीहरूले “थुप्रै चेला” बनाए। त्यसपछि तिनीहरूले सिरियाको एन्टिओक फर्कन छोटो बाटो रोज्नुको सट्टा “फर्केर लिस्त्रा, आइकोनियम र [पिसिदियाको] एन्टिओक गए।” किन? ‘चेलाहरूलाई ढाडस दिन र विश्‍वासमा रहिरहन प्रोत्साहन दिन।’ (प्रेषि. १४:२०-२२) कस्तो राम्रो उदाहरण! तिनीहरूले आफ्नो सुविधा खोज्नुभन्दा मण्डलीको हितलाई प्राथमिकता दिए। आज परिभ्रमण निरीक्षक र मिसनरीहरूले तिनीहरूको उदाहरण अनुकरण गरेका छन्‌।

१८. एल्डरहरू नियुक्‍त गर्न के-के गरिन्छ?

१८ आफ्नो बोली र कामद्वारा चेलाहरूलाई ढाडस दिनुका साथै पावल र बर्णाबासले “प्रत्येक मण्डलीमा एल्डरहरू नियुक्‍त गरे।” तिनीहरू मिसनरी यात्राको लागि “पवित्र शक्‍तिद्वारा पठाइएका” भए तापनि यहोवाको डोऱ्‍याइको लागि प्रार्थना गरे र उपवास बसे अनि “यी एल्डरहरूलाई यहोवा परमेश्‍वरको जिम्मा लगाए।” (प्रेषि. १३:१-४; १४:२३) आज पनि यही नमुना पछ्याइन्छ। नियुक्‍तिका लागि सिफारिस पठाउनुअघि एल्डरहरूको स्थानीय निकायले प्रार्थना गर्छ र उक्‍त भाइले धर्मशास्त्रमा तोकिएका आवश्‍यकताहरू पूरा गरेका छन्‌ कि छैनन्‌ भनेर केलाउँछ। (१ तिमो. ३:१-१०, १२, १३; ति. १:५-९; याकु. ३:१७, १८; १ पत्रु. ५:२, ३) तिनी ख्रिष्टियन भएको कति समय भयो त्यसलाई मुख्य आधार बनाएर निर्णय गरिने त होइन। तर उक्‍त भाइको बोली र बानीबेहोरा कस्तो छ र तिनले कस्तो नाम कमाएका छन्‌, त्यसबाट तिनको जीवनमा पवित्र शक्‍तिले कुन हदसम्म काम गरेको छ भन्‍ने कुरा प्रस्ट हुन्छ। तिनले निरीक्षकहरूका लागि बाइबलमा तोकिएका आवश्‍यकताहरू पूरा गरेका छन्‌ कि छैनन्‌, त्यसैको आधारमा तिनी गोठालोको रूपमा सेवा गर्न योग्य छन्‌ कि छैनन्‌ भनेर पक्का गरिन्छ। (गला. ५:२२, २३) यसरी नियुक्‍त गर्ने जिम्मेवारी क्षेत्रीय निरीक्षकको हुन्छ।—१ तिमोथि ५:२२ तुलना गर्नुहोस्‌।

१९. आफूले दिनुपर्ने लेखाबारे एल्डरहरूलाई के थाह छ? तिनीहरू कसरी पावल र बर्णाबासको अनुकरण गर्छन्‌?

१९ एल्डरहरूले भाइबहिनीसित जस्तो व्यवहार गर्छन्‌, त्यसको लागि यहोवालाई लेखा दिनुपर्छ भनेर तिनीहरूलाई थाह छ। (हिब्रू १३:१७) पावल र बर्णाबासले जस्तै एल्डरहरूले पनि साक्षीकार्यमा अगुवाइ लिन्छन्‌। आफ्नो बोलीद्वारा तिनीहरू भाइबहिनीलाई ढाडस दिन्छन्‌। तिनीहरू आफ्नो सुविधा खोज्नुभन्दा मण्डलीको हितलाई प्राथमिकता दिन तयार हुन्छन्‌।—फिलि. २:३, ४.

२०. हाम्रा भाइहरूको सेवाको कामबारे पढेर हामी कसरी लाभ उठाउन सक्छौँ?

२० अन्ततः पावल र बर्णाबास आफ्नो मिसनरी यात्राको केन्द्र सिरियाको एन्टिओक फर्केपछि “परमेश्‍वरले कसरी तिनीहरूमार्फत थुप्रै काम गर्नुभयो अनि अन्यजातिहरूले पनि प्रभुमा विश्‍वास गरून्‌ भनेर उहाँले कसरी ढोका खोलिदिनुभयो” भनी सुनाउन थाले। (प्रेषि. १४:२७) हाम्रा ख्रिष्टियन भाइहरूको सेवाको कामबारे पढेपछि र तिनीहरूको प्रयासमा यहोवाले कसरी आशिष्‌ दिनुभयो भन्‍ने कुरा देखेपछि हामीले पनि ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोलिरहन’ प्रोत्साहन पाउनेछौँ।

a पृष्ठ ९६ मा भएको “आइकोनियम—फ्रिजियालीहरूको सहर” शीर्षकको पेटी हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने