प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ४/१५ pp. २०-२३
  • बर्णाबास—“सान्त्वनाको छोरो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बर्णाबास—“सान्त्वनाको छोरो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उदार सहयोगी
  • एन्टिओकमा
  • विशेष मिसनरी कार्य
  • खतनाको विवाद
  • “चर्को मतभेद”
  • “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • यहोवाका मानिसहरू विश्‍वासमा दह्रो बनाइन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मसीही मिसनरी कार्यको एउटा प्रेरित नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ४/१५ pp. २०-२३

बर्णाबास—“सान्त्वनाको छोरो”

तपाईंले कुनै साथीबाट सान्त्वना पाउनुभएको कति भयो? अनि हालै तपाईंले कसैलाई सान्त्वना दिनुभएको याद छ कि? समय समयमा हामी सबैलाई प्रोत्साहन चाहिन्छ। अनि प्रेमसहित प्रोत्साहन दिनेहरूको हामी कति मूल्यांकन गर्छौं! सान्त्वना दिन अरूको कुरा सुन्‍ने, बुझ्ने तथा अरूलाई मदत गर्ने समय निकाल्नुपर्छ। के तपाईं त्यसो गर्न तयार हुनुहुन्छ?

उदाहरणीय ढंगमा यस्तो इच्छुकता देखाउने एक जना व्यक्‍ति बर्णाबास थिए जो “पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण भएका एक असल मानिस थिए।” (प्रेरित ११:२४) बर्णाबासको विषयमा किन यसो भन्‍न सकिन्छ? तिनले त्यस्तो प्रशंसायोग्य के काम गरे?

उदार सहयोगी

तिनको खास नाउँ यूसुफ थियो। तर प्रेरितहरूले तिनको स्वभावसँग मिल्दोजुल्दो वर्णात्मक उपनाउँ दिएका थिए—बर्णाबास। यस नाउँको अर्थ “सान्त्वनाको छोरो” हो।a (प्रेरित ४:३६, NW) मसीही मण्डली भर्खरै मात्र स्थापना भएको थियो। बर्णाबास पहिला येशूका चेलाहरूमध्ये एक थिए भन्‍ने केही मानिसहरूको भनाइ छ। (लूका १०:१, २) चेलाहरूमध्ये एक होऊन्‌ या नहोऊन्‌, तिनले असल काम भने गरेका छन्‌।

पेन्तिकोस सा.यु. ३३ को केही दिनपछि साइप्रसका लेवी बर्णाबासले स्वेच्छासाथ आफ्नो जमीनको केही अंश बेचेर त्यसबाट पाएको रकम प्रेरितहरूलाई दिए। तिनले किन त्यसो गरे? त्यतिखेर यरूशलेमका मसीहीहरूले “जस जसलाई जे जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे” भनेर प्रेरितको विवरणले बताउँछ। बर्णाबासले पक्कै पनि खाँचो खट्‌केको देखेकोले स्नेहसाथ कदम चाले। (प्रेरित ४:३४-३७) सायद तिनी सम्पन्‍न थिए, तर परमेश्‍वरको राज्यसम्बन्धी कामकुरालाई बढाउन आफ्नो भौतिक सम्पत्ति र आफैलाई अर्पण गर्न तिनी हिचकिचाएनन्‌।b शास्त्रविद्‌ एफ. एफ. ब्रुस बताउँछन्‌, “बर्णाबासले प्रोत्साहन चाहिएको मानिस वा परिस्थिति देख्नासाथ यथासक्य प्रोत्साहन दिन्थे।” तिनीसँग सम्बन्धित दोस्रो घटनाबाट उक्‍त कुरा प्रस्ट हुन्छ।

सा.यु. ३६ तिरको कुरा हो। त्यतिखेर टार्ससका शावल (पछि प्रेरित पावल) मसीही भइसकेका थिए र यरूशलेमका मण्डलीसँग सम्पर्क राख्ने कोसिस गरिरहेका थिए “तर तिनीहरूलाई उनी चेला हो भन्‍ने पत्यार नपर्दा सबै तिनीसँग डराए।” तिनी साँच्चै परिवर्तन भएका छन्‌ र त्यो परिवर्तन मण्डली विनाश गर्ने तरकीब मात्र होइन भनी तिनले कसरी त्यस मण्डलीलाई विश्‍वास गराउनसक्थे? मदत गर्ने हेतुले “बर्णाबासले तिनलाई समातेर प्रेरितहरूकहाँ ल्याए।”—प्रेरित ९:२६, २७; गलाती १:१३, १८, १९.

बर्णाबासले किन शावललाई विश्‍वास गरे, त्यो त बताइएको छैन। तर जे होस्‌, शावलको कुरा सुन्‍नुका साथै आशाविहीन देखिने स्थितिमा तिनलाई मदत गरेर “सान्त्वनाको छोरो” आफ्नो उपनाउँअनुसार चले। त्यसपछि शावल आफ्नो जन्मथलो टार्सस फर्के तापनि ती दुईबीच मित्रताको साइनो गाँसियो। भविष्यमा त्यो मित्रताले महत्त्वपूर्ण नतिजाहरू ल्याउनै लागेको थियो।—प्रेरित ९:३०.

एन्टिओकमा

सिरियास्थित एन्टिओकमा भएको असाधारण वृद्धि अर्थात्‌ त्यस शहरका थुप्रै युनानीभाषीहरू विश्‍वासमा आएको खबर लगभग सा.यु. ४५ तिर यरूशलेममा पुग्यो। यरूशलेमको मण्डलीले एन्टिओकको गतिविधि बुझ्न तथा आवश्‍यक चाँजोपाँजो मिलाउन बर्णाबासलाई खटाए। तिनीहरूले बर्णाबासलाई छानेर अति बेस गरे। लूका यसो भन्छन्‌: “तिनी त्यहाँ आएर परमेश्‍वरको अनुग्रह देखीकन खुशी भए र तिनीहरू सबैलाई हृदयको संकल्पले प्रभुमा लागिरहनुपर्छ भनी तिनले उत्साहपूर्ण अर्ती दिए, किनभने तिनी पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण भएका एक असल मानिस थिए, र धेरै मानिसहरू प्रभुमा थपिए।”—प्रेरित ११:२२-२४.

तिनले त्यति मात्र कहाँ गरे र। जुजेपे रीकोटीअनुसार, “बर्णाबास व्यवहारिक व्यक्‍ति थिए। अनि तिनले राम्ररी विश्‍वासमा बढ्‌दै गरेका व्यक्‍तिहरूबाट प्रशस्त कटनी हुन्छ भन्‍ने जानेर तिनीहरूका लागि प्रबन्ध मिलाउने र त्यसैअनुरूप कदम चालिहाल्ने आवश्‍यकता बुझे। अतः मूलभूत आवश्‍यकता फसलका कामदारहरूको थियो।” साइप्रसबाट फर्केपछि बर्णाबासलाई अन्यजातिहरूसँग व्यवहार गर्ने बानी परिसकेको हुनुपर्छ। विशेषगरि मूर्तिपूजकहरूलाई प्रचार गर्न सक्षम छु भन्‍ने तिनलाई लागेको हुनुपर्छ। तर तिनी यस रोमाञ्चकारी तथा प्रोत्साहनदायी क्रियाकलापमा अरूलाई सरीक गराउँन चाहन्थे।

बर्णाबासले शावललाई सम्झे। शावलको जीवन परिवर्तन हुँदा कुनै समय मसीहीहरूलाई सताउने व्यक्‍ति ‘अन्यजातिहरूलाई येशूको नाउँ चलाउन एक छानिएका पात्र भएका छन्‌’ भनी हननियाले पाएको भविष्यसूचक दर्शन बर्णाबासलाई थाह भएको हुनुपर्छ। (प्रेरित ९:१५) अतः शावल खोज्न बर्णाबास टार्ससको बाटो लागे। त्यहाँ पुग्न तिनले २०० किलोमिटरभन्दा लामो एकतर्फी बाटोको यात्रा तय गर्नुपऱ्‍यो। दुवै जनाले वर्षभरि सँगै काम गरे। अनि “चेलाहरू पहिले एन्टिओकमानै ख्रीष्टियान भनिएका हुन्‌” भन्‍ने तथ्य यसै समयदेखि सुरु भएथ्यो।—प्रेरित ११:२५, २६.

क्लौडियसका शासनकालमा रोमी साम्राज्यका विभिन्‍न स्थानहरूमा ठूलो अनिकाल पऱ्‍यो। यहूदी इतिहासकार जोसेफसअनुसार यरूशलेममा “खाद्यान्‍नको अभावले गर्दा थुप्रै मानिसहरू मृत्युको मुखमा परे।” तसर्थ, एन्टिओकका चेलाहरूले “आफ्ना आफ्ना औकातअनुसार यहूदियामा बस्ने भाइहरूका निम्ति सहायता पठाउने निश्‍चय गरे। तिनीहरूले आफ्ना दान बर्णाबास र शावलका हातमा धर्म-गुरूहरूकहाँ पठाइदिए।” उक्‍त कार्य पूरा गरेपश्‍चात्‌ मर्कूस कुलनाउँ गरेको यूहन्‍नासँग ती दुई एन्टिओक फर्के र त्यहाँ तिनीहरू मण्डलीका अगमवक्‍ता तथा शिक्षक भएर बसे।—प्रेरित ११:२९, ३०; १२:२५; १३:१.

विशेष मिसनरी कार्य

तत्पश्‍चात्‌ एउटा असाधारण घटना भयो। “तिनीहरूले प्रभुको सेवा गरी उपवास बसेपछि पवित्र आत्माले भन्‍नुभयो, ‘मेरो निम्ति बर्णाबास र शावललाई त्यस कामको लागि छुट्याओ, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।’ ” यसो विचार गर्नुहोस्‌ त! यहोवाको पवित्र आत्माले ती दुईलाई विशेष कार्यमा लगाउने आज्ञा दिए। “तब तिनीहरूले पवित्र आत्माद्वारा खटिएर सिल्युसियामा झरेर त्यहाँबाट साइप्रसतिर समुद्र-यात्रा गरे।” बर्णाबासलाई प्रेरित भन्‍नु वा प्रेरितहरूद्वारा पठाइएको भन्‍नु उपयुक्‍त थियो।—प्रेरित १३:२, ४; १४:१४.

साइप्रसको यात्रा तथा रोमी प्रान्तीय द्वीपका राज्यपाल सर्गियस पौलसलाई मसीही बनाएपछि तिनीहरू एसिया माइनरको दक्षिणमा पर्ने पर्गातर्फ लागे। त्यहाँबाट मर्कूस कुलनाउँ गरेको यूहन्‍ना छुट्टिएर यरूशलेम फर्के। (प्रेरित १३:१३) त्यतिञ्जेल बर्णाबासले अलि अनुभवी साथीको हैसियतमा मुख्य नेतृत्व लिइरहेका थिए जस्तो देखिन्छ। तर यस घडीदेखि भने (पावल भनिन थालिएका) शावलले नेतृत्व लिन्छन्‌। (प्रेरित १३:७, १३, १६; १५:२ तुलना गर्नुहोस्‌।) के पावलको उन्‍नति देखेर बर्णाबासलाई नमीठो लाग्यो? अहँ, लागेन। तिनी परिपक्व मसीही थिए र यहोवाले आफ्नो साथीलाई पनि शक्‍तिशाली ढंगमा प्रयोग गरिरहनुभएको छ भन्‍ने तिनले विनम्रतापूर्वक स्वीकारे। यहोवाले तिनीहरूलाई प्रयोग गर्नुभएर अन्य क्षेत्रहरूमा सुसमाचार सुनाउन चाहनुहुन्थ्यो।

भनौं भने, पिसिदियाबाट खेदिनुअघि त्यहाँका सबै मानिसहरूले पावल र बर्णाबासको मुखबाट परमेश्‍वरको वचन सुनिसकेका र थुप्रैले सुसमाचार स्वीकारिसकेका थिए। (प्रेरित १३:४३, ४८-५२) आइकोनियममा “यहूदीहरू र ग्रीकहरू समेतबाट एक ठूलो भीडले विश्‍वास गऱ्‍यो।” यसले गर्दा पावल र बर्णाबास त्यहाँ ‘चिह्नहरू र अचम्मका कामहरू तिनीहरूका हातबाट गराउनुहुने प्रभुको भरोसामा साहससित बोल्दै धेरै समयसम्म रहन’ उत्प्रेरित भए। तिनीहरूलाई ढुंगा हान्‍ने षडयन्त्रको सुइँको पाएपछि ती दुवै जना बुद्धि पुऱ्‍याएर भागे अनि लाइकाओनिया, लिस्त्रा र डर्बीमा प्रचार गरे। लिस्त्रामा जीवन नै खतरामा पार्ने परिस्थितिको सामना गर्नुपरे तापनि बर्णाबास र पावल दुवैले “चेलाहरूका आत्मालाई स्थिर गराउँदै तिनीहरूलाई विश्‍वासमा रहिरहेर अनेक कष्ट सही परमेश्‍वरको राज्यमा पस्नैपर्छ भन्‍ने तिनीहरूलाई उत्साह दिए।”—प्रेरित १४:१-७, १९-२२.

यी दुई सक्रिय प्रचारक कहिल्यै डरले थरथराएनन्‌। यसको विपरीत, तिनीहरू नयाँ मसीहीहरूलाई दृढ बनाउन पहिला घोर विरोध सामना गर्नुपरेका ठाउँहरूमा फेरि गए। तिनीहरूले दक्ष भाइहरूलाई नयाँ मण्डलीको अगुवाइ लिने मदत दिएको हुनुपर्छ।

खतनाको विवाद

पेन्तिकोस सा.यु. ३३ को लगभग १६ वर्षपछि खतनाको विवादसित सम्बन्धित ऐतिहासिक घटनामा बर्णाबास विथोलित भए। “केही मानिसहरू यहूदियाबाट [सिरियाको एन्टिओक] ओर्ली आए, र ‘तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने ता तिमीहरूको उद्धार हुन सक्नेछैन’ भनी भाइहरूलाई सिकाए।’ ” बर्णाबास र पावललाई खतना गर्न आवश्‍यक छैन भन्‍ने थाह थियो र तिनीहरूले उक्‍त कुरामा बहस गरे। तिनीहरूले आफ्नो अख्तियार चलाउनुको साटो उक्‍त विवाद सम्पूर्ण भाइहरूका फाइदाको निम्ति समाधान गर्नुपर्ने हो भनी विचार गरे। अतः तिनीहरूले उक्‍त विवादलाई यरूशलेमको परिचालक निकायमा पुऱ्‍याए र तिनीहरूको रिपोर्टअनुरूप विवाद समाधान भयो। तत्पश्‍चात्‌ तिनीहरूलाई “प्रिय . . . जसले हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा आफ्ना प्राण पनि खतरामा राखेका छन्‌” भनिएको छ। पावल र बर्णाबास पनि एन्टिओकका भाइहरूलाई उक्‍त निर्णय सुनाउन खटाइएकाहरूमध्ये थिए। परिचालक निकायको पत्र पढेर सुनाउनुका साथै अर्ती दिएपछि मण्डलीका भाइहरू “सान्त्वनाको कुराले खुशी भए” र ‘स्थिर भए।’—प्रेरित १५:१, २, ४, २५-३२.

“चर्को मतभेद”

बर्णाबासबारे यतिका सकारात्मक विवरणहरू थाह पाएपछि, तिनको उदाहरणअनुरूप हामी त कहाँ बाँच्न सकौंला जस्तो लाग्नसक्छ। यद्यपि, “सान्त्वनाको छोरो” पनि हामीजस्तै असिद्ध थिए। पावलसँग मण्डलीहरूको पुनः भ्रमण गर्नका लागि दोस्रो मिसनरी यात्रा गर्ने बेलामा तिनीहरूको ठाकठुक पऱ्‍यो। बर्णाबास आफ्नो नाता पर्ने मर्कूस कुलनाउँ गरेको यूहन्‍नालाई पनि लग्न चाहन्थे। तर त्यो पावललाई उचित लागेन किनकि पहिलो मिसनरी यात्रामा मर्कूस कुलनाउँ गरेको यूहन्‍ना तिनीहरूसँग छुट्टिंएर गएका थिए। अनि “तिनीहरूका बीचमा यति चर्को मतभेद भयो, कि तिनीहरू एक अर्काबाट छुट्टिए, र बर्णाबासले मर्कूसलाई साथमा लिएर साइप्रसतिर समुद्र-यात्रा गरे।” अनि “पावलले सिलासलाई चुनेर” अर्कै ठाउँतर्फ लागे।—प्रेरित १५:३६-४०.

कत्ति दुःखलाग्दो कुरा! तैपनि उक्‍त घटनाले बर्णाबासको व्यक्‍तित्वबारे केही सिकाउँछ। एक शास्त्रविद्‌ बताउँछन्‌, “बर्णाबासले खतरा मोलेर मर्कूसलाई दोस्रो चोटि विश्‍वास गर्नु तिनलाई श्रेय दिनुपर्ने कुरा हो।” उक्‍त लेखकको भनाइअनुसार “बर्णाबासले मर्कूसलाई विश्‍वास गरेकोले मर्कूसको आत्मविश्‍वास मजबुत हुनुका साथै तिनलाई वचनबद्ध तुल्याएको हुनुपर्छ।” समयको अन्तरालमा मर्कूसमाथिको बर्णाबासको विश्‍वास सिद्ध साबित भयो किनकि मर्कूस मसीही क्रियाकलापका लागि उपयोगी छन्‌ भनेर पावलले समेत स्वीकारे।—२ तिमोथी ४:११; कलस्सी ४:१० तुलना गर्नुहोस्‌।

बर्णाबासको उदाहरणले दुःखीहरूको कुरा सुन्‍ने, बुझ्ने तथा प्रोत्साहन दिने समय निकाल्न अनि खाँचोमा परेको बेला व्यवहारिक सहयोग दिन हामीलाई प्रोत्साहित गर्नसक्छ। भाइहरूका लागि काम गर्ने तिनको इच्छुकता, नम्रता तथा साहसका साथै ती कुराहरूका नतिजाहरूको लेखोट प्रोत्साहनका स्रोत हुन्‌। मण्डलीमा आज बर्णाबासजस्तो भाइबहिनीहरू हुनु कस्तो आशिष्‌को कुरा हो!

[फुटनोटहरू]

a कसैलाई कुनै गुनको “छोरो” भन्दा तिनको त्यो गुन विशिष्ट भएको बुझिन्छ। (व्यवस्था ३:१८ हेर्नुहोस्‌।) प्रथम शताब्दीमा एक व्यक्‍तिका गुनहरूप्रति ध्यानाकर्षित गर्न उपनाउँहरू प्रयोग गर्ने चलन थियो। (मर्कूस ३:१७ तुलना गर्नुहोस्‌।) त्यसरी उपनाउँ दिएर जनसाधारणले उक्‍त व्यक्‍तिको कदर गर्थे।

b कोही कोहीले मोशाको व्यवस्थालाई ध्यान दिंदै कसरी लेवी भएर बर्णाबासले निजी जमीन पाउनसक्थ्यो भनी प्रश्‍न उठाएका छन्‌। (गन्ती १८:२०) तथापि, जमीन प्यालेस्टाइनमा थियो या साइप्रसमा, प्रष्ट छैन भन्‍ने बिर्सनु हुँदैन। यसबाहेक, त्यो जमीन सम्भवतः बर्णाबासले यरूशलेमको इलाकामा प्राप्त गरेका चिहान मात्र पनि हुनसक्छ। जेसुकै होस्‌, बर्णाबासले अरूलाई मदत गर्न आफ्नो सम्पत्ति दिए।

[पृष्ठ २३-मा भएको चित्र]

बर्णाबास “पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण भएका एक असल मानिस थिए”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने