मसीही मिसनरी कार्यको एउटा प्रेरित नमुना
“म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।”—१ कोरिन्थी ११:१.
१. येशूले कुन कुन ढङ्गमा आफ्ना चेलाहरूका लागि एउटा उत्कृष्ट नमुना कायम गर्नु भयो? (फिलिप्पी २:५-९)
येशूले आफ्ना चेलाहरूका लागि कस्तो उत्कृष्ट उदाहरण कायम गर्नु भयो! पृथ्वीमा पापी मानिसहरूका बीच बसोबास गर्नका लागि उहाँले खुसीका साथ आफ्नो स्वर्गीय महिमा छाडनु भयो। मानवजातिको मुक्ति र विशेषतः स्वर्गमा हुनु हुने आफ्नो पिताको नाउँलाई पवित्र पार्नका लागि उहाँ ठूलो सङ्कष्ट भोग्न तयार हुनु हुन्थ्यो। (यूहन्ना ३:१६; १७:४) आफ्नो प्राणसमेत खतरामा परेको बेलामा पनि येशूले निडरताका साथ यसो भन्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।”—यूहन्ना १८:३७.
२. आफ्ना चेलाहरूलाई उहाँले सुरु गर्नु भएका कार्यलाई पुनःरुत्थान भएका येशूले अघि सार्न किन अह्राउन सक्नु भयो?
२ आफ्ना चेलाहरूले राज्यको सत्यताबारे पछिसम्मै साक्षी दिइरहन सकून् भनेर आफू मर्नभन्दा अघि येशूले आफ्ना चेलाहरूलाई सर्वोत्तम प्रशिक्षण दिनु भयो। (मत्ती १०:५-२३; लूका १०:१-१६) अतः आफ्नो पुनरुत्थान पश्चात्, येशूले यो आज्ञा दिन सक्नु भयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.
३. चेला बनाउने काम कसरी बढदै गयो तर त्यो विशेष गरी कुन कुन इलाकाहरूमा केन्द्रित थियो?
३ आउँदो साढे तीन वर्षसम्म येशूका चेलाहरूले यो आज्ञा पालन गरे। तर तिनीहरूले आफ्नो अभियान यहूदीहरू र यहूदी धर्म अपनाउने अन्यजातिहरू र खतना गरेका सामरीहरू बीच सीमित राखे। तब सा० यु० ३६-मा, खतना नगरेका कर्नीलियस र तिनका परिवारकहाँ गएर सुसमाचार प्रचार गर्नु भनी परमेश्वरले निर्देशन दिनु भयो। आउँदो दशकको दौडानमा, अन्यजातिका अरूहरूलाई पनि मण्डली भित्र ल्याइयो। तथापि, तिनीहरूको यो काम धेरै जसो भूमध्यसागरका पूर्वीय इलाकाहरूमा सीमित रहेको जस्तो देखिन्छ।—प्रेरित १०:२४, ४४-४८; ११:१९-२१.
४. सा० यु० ५७-४८ तिर के महत्त्वपूर्ण घटना घट्यो?
४ अझ टाढा टाढा बस्ने यहूदीहरू र अन्यजातिका मानिसहरूलाई पनि चेला बनाउनका लागि मसीहीहरूलाई प्रेरणा चाहिएको थियो। यसैकारण, सा० यु० ४७-४८ तिर, सिरिया एन्टिओकको मण्डलीका प्राचीनहरूले यो इश्वरीय सन्देश पाए: “मेरो निम्ति बर्णाबास र शावललाई त्यस कामको लागि छुट्याओ, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।” (प्रेरित १३:२) यति बेलासम्म पनि पावललाई तिनको पहिलेकै नाउँले पुकारेको कुरा सायद तपाईंले यहाँ याद गर्नु भयो होला। साथै, यहाँ परमेश्वरले पावलको नाउँ लिनुभन्दा अघि बर्णाबासको नाउँ लिनु भएको देखिन्छ। सम्भवतः त्यति खेर ती दुई जना मध्ये बर्णाबासलाई नै वरिष्ठ मानिएको हुनु सक्छ।
५. पावल र बर्णाबासको मिसनरी यात्राहरूको विवरणले आज मसीहीहरूका लागि किन ठूलो महत्त्व राख्तछ?
५ पावल र बर्णाबासको मिसनरी यात्राहरू बाट यहोवाका साक्षीहरूले धेरै नै प्रोत्साहन पाउँदछन्। आफ्नो गाउँ-घर छाडेर परमेश्वरको सेवा गर्न विशेष गरी टाढा, विदेश गएका मिसनरीहरू र अग्रगामीहरूका लागि ती यात्राहरूको विस्तृत विवरण ठूलो प्रोत्साहनको स्रोत हुन गएको छ। यसबाहेक, प्रेरित १३ र १४ अध्यायको पुनरावलोकनद्वारा अझ धेरै जना पावल र बर्णाबासको नमुना अनुसरण गर्न र चेला बनाउने यो सर्वमहत्त्वपूर्ण काममा अझ ठूलो भाग लिन निश्चय नै प्रेरित हुने छन्।
साइप्रसको टापु
६. साइप्रसमा मिसनरीहरूले के उदाहरण कायम गरे?
६ तुरुन्तै, ती मिसनरीहरू सिरियाको बन्दरगाह सिल्युसियाबाट साइप्रसको टापुतिर हिंडे। सलामिसमा पुग्ना साथै, तिनीहरूले आलेटाले नगरीकन “यहूदीहरूको साभाघरहरूमा परमेश्वरको वचनको सुसमाचार प्रचार” गर्न थाले। टापुका मानिसहरू तिनीहरू कहाँ आइ हाल्ने छन् भन्दै तिनीहरू एक ठाउँमा ढुक्क बसेनन्। बरु, यसमा तिनीहरूले खीष्टको उदाहरण अनुसरण गरे। तिनीहरू “सिङ्गै टापु छिचलेर” काम गर्न थाले। साइप्रस एउटा ठूलो टापु थियो र तिनीहरूले टापुको सबैभन्दा चौडा भागको एक छेउदेखि अर्को छेउसम्म यात्रा गरे। अतः तिनीहरूले निश्चय पनि धेरै टाढा-टाढासम्म हिंडेर जानु पर्यो होला। धेरै पटक डेरा पनि सर्न खाँचो परेको हुनु सक्छ।—प्रेरित १३:५, ६.
७. (क) पाफोसमा के विशिष्ट घट्ना घट्यो? (ख) यो लेखोटले हामीलाई कुन प्रकारको मनोवृत्ति राख्ने प्रोत्साहन दिन्छ?
७ यस ठाउँलाई छाडेर जाने समय आइपुगुञ्जेल सम्म त ती दुई जनाले पाफोसमा एउटा अति नै आनन्दमय र फलदायक समय बिताइ सकेका थिए। त्यस टापुका शासक, सर्गियस पौलसले तिनीहरूको सन्देश सुनी दिए र स्वयं ‘विश्वास गर्ने’ भए। (प्रेरित १३:७, १२) पावलले पछि यस प्रकार लेखे: “ए भाइ हो, तिमीहरू आफ्नो बोलावटलाई विचार गर, शरीरअनुसार धेरै जना बुद्धिमान, धेरै जना शक्तिमान, धेरै जना खानदानीलाई बोलावट भएको छैन।” (१ कोरिन्थी १:२६) तथापि, वचन सुन्ने शक्तिशालीहरू मध्ये सर्गियस पौलस एक जना थिए। यस अनुभवद्वारा हामी सबैले नै, विशेषगरी मिसनरीहरूले, सरकारी अधिकृतहरूलाई साक्षी दिने सम्बन्धमा एउटा सकारात्मक विचार अपनाउने प्रोत्साहन पाउन सक्तछौं। किनभने यस्ता ओहदामा रहेका व्यक्तिहरूलाई साक्षी दिने प्रोत्साहन १ तिमोथी २:१-४ मा पनि हामी पाउँदछौं। अख्तियारवालाहरूले समय समयमा परमेश्वरका सेवकहरूलाई ठूलो मद्दत दिएका छन्।—नहेम्याह २:४-८.
८. (क) यस समयदेखि उप्रान्त बर्णाबास र पावलबीचको स्थितिमा के परिवर्तन आएको जस्तो देखिन्छ? (ख) बर्णाबास कुन कुरामा एउटा असल उदाहरण थिए?
८ सर्गियस पौलसको धर्म-परिवर्तन गर्ने काममा, पावलले यहोवाको आत्माद्वारा निर्देसित हुँदै, विशेष भूमिका निभाए। (प्रेरित १३:८-१२) र यसै समयदेखिन् पावलले अगुवाइ लिएको जस्तो देखिन्छ। (प्रेरित १३:७-लाई प्रेरित १३:१५, १६, ४३-सित तुलना गर्नु होस्।) र यसो गर्नु उचित पनि थियो किनभने पावलको धर्म-परिवर्तन हुँदा यसो गर्ने ईश्वरीय जिम्मेवारी तिनलाई सुम्पिएको थियो। (प्रेरित ९:१५) सायद, यो परिवर्तित स्थितिको कारण बर्णाबासको नम्रताको पनि जाँच भयो होला। तर बर्णाबासले यो परिवर्तनलाई व्यक्तिगत रूपमा अपमानजनक ठानेनन्। तिनको नाउँको अर्थ “सान्त्वनाको पुत्र” थियो र तिनले यसै अर्थसित मिल्दो व्यवहार गरे। मिसनरी यात्राभरि र पछि खतना नगरेका अन्यजातिका मानिसहरूलाई तिनीहरूले प्रचार गरेकोमा केही यहूदी मसीहीहरूले तिनीहरूको सेवकाईलाई चुनौती दिंदा पनि, बर्णाबासले वफादारीका साथ पावलको समर्थन गरे। (प्रेरित १५:१, २) यो हामी सबैका लागि एउटा कति राम्रो उदाहरण हो! विशेष गरी मिसनरी र बेथेल घरहरूमा बस्नेहरू समेतका लागि! हामी सधैं नै ईश्वरतान्त्रिक परिवर्तनहरू स्वीकार्न तयार हुनु पर्छ। साथसाथै, हामीहरू बीच अगुवाइ लिन नियुक्त भएकाहरूलाई हर समर्थन दिन हामी राजी हुनु पर्दछ।—हिब्रू १३:१७.
एशिया माइनरको अधित्यका
९. पावल र बर्णाबास, पिसिदियाको एन्टिओकमा जान तयार भएकोबाट हामी के सिक्न सक्तछौं?
९ साइप्रसबाट पावल र बर्णाबास एशिया महाद्वीपको उत्तरतिर समुद्री-यात्रा गर्न थाले। कुनै अनजान कारणवश, ती मिसनरीहरू त्यहाँको तटवर्ती इलाकामा बसेनन्। बरु, त्यो करीब १८० किलोमिटर लामो खतरनाक बाटो हुँदै, तिनीहरू एशिया माइनरको मध्यवर्ती अधित्यकामा स्थित पिसिदियाको एन्टिओकमा आइपुगे। यहाँसम्म आउनका लागि तिनीहरूलाई एउटा पहाडी बाटो उक्लँदै फेरि तलतिर, समुद्री सतहदेखि करीब १,१०० किलोमिटर माथि स्थित एउटा तराइमा ओर्लनु पऱ्यो। बाइबलविद्ध, जे० एस० हाउसन यसो भन्छन्: “दक्षिणका तराइ र अधित्यका बीचका यी पहाडहरूका बासिन्दाहरू बदमाश डाँकाहरू थिए . . . प्राचीन इतिहासभरि तिनीहरू कुख्यात थिए।” यसबाहेक, ती मिसनरीहरूले प्राकृतिक खतराहरूको पनि सामना गर्न पर्द थियो। हाउसन अनुसार: “पिसिदियाका पहाडी इलाका त्यसका उर्लंदो ‘खहरेहरू’-का लागि प्रसिद्ध थियो। एशिया माइनरका अरू कुनै पनि जिल्लामा यतिका खहरेहरू देखिन्दैन थियो। पिसिदियामा भने ठूला-ठूला चट्टानहरूको फेदबाट खोलाहरू फुटेर निस्कन्थे अथवा साँघुरो खोल्चाहरू हुँदै तलतिर बेगसित बग्दथिए।” सुसमाचार फैलाउनका लागि ती मिसनरीहरू कस्ता कस्ता यात्राहरू गर्न तयार थिए भनेर बुझ्ने सहायता हामी यी विवरणहरू बाट पाउन सक्तछौं। (२ कोरिन्थी ११:२६) यसै प्रकार, आज पनि यहोवाका धेरै सेवकहरूले मानिसहरू कहाँ गएर तिनीहरू सित सुसमाचार बाँड्नाका लागि, हर प्रकारका बाधाविघ्नहरूको सामना गर्दछन्।
१०, ११. (क) पावलले आफ्ना श्रोताहरूसित एउटा स्वीकार्य आधार कसरी कायम राखे? (ख) मसीहले उठाउनु भएका कष्टहरू बारे सुनेर सम्भवतः धेरै यहूदीहरू किन चकित भए होलान्? (ग) पावलले आफ्ना श्रोताहरूको सामुन्ने कुन प्रकारको मुक्ति प्रस्तुत गरे?
१० पिसिदियाको एन्टिओकमा यहूदीहरूको एउटा सभाघर थियो। अरूहरू भन्दा यिनीहरू नै परमेश्वरको वचनसित बढी परिचित थिए। अतः सुसमाचार स्वीकार गर्ने मौका दिन ती मिसनरीहरू सर्वप्रथम त्यस ठाउँमा नै गए। बोल्ने निम्तो पाएपछि, पावल जुरुक्क उठे र एउटा प्रभावशाली आम-भाषण दिए। भाषणभरि, तिनले त्यहाँ उपस्थित यहूदीहरू र यहूदी मतमा लागेका अन्यजातिहरू, दुवैलाई स्वीकृत हुने एउटा आधार स्थापित गरे। (प्रेरित १३:१३-१६, २६) आफ्नो भाषणको परिचय पश्चात्, पावलले यहूदीहरूको विशिष्ट इतिहासको पुनःरावलोकन गरे। यहोवाले तिनीहरूका पुर्खाहरूलाई छान्नु भएको, त्यस पछि तिनीहरूलाई मिस्रबाट छुटकारा दिनु भएको, र प्रतिज्ञा गरिएको देशका निवासीहरू माथि पनि विजयी हुने मद्दत दिनु भएको कुराहरूको सम्झना पावलले तिनीहरूलाई गराए। यस पछि यहोवाले दाऊदसित गर्नु भएको व्यवहार तर्फ तिनले ध्यान आकर्षित गरे। यो जानकारी प्रथम शताब्दीका यहूदीहरूका लागि एउटा विशेष चासोको विषय थियो। किनकि परमेश्वरले दाऊदको एक जना सन्तानलाई मुक्तिदाता र अनन्त शासक बनाउनु हुने छ भन्ने आशामा तिनीहरू थिए। यसैकारण, पावलले निर्भयतासाथ यो घोषणा गरे: “यही मानिसको वंशबाट (दाऊद), उहाँको प्रतिज्ञाबमोजिम, परमेश्वरले इस्राएलका लागि मुक्तिदाता ल्याइदिनुभयो, अर्थात येशूलाई।”—प्रेरित १३:१७-२३.
११ तथापि, धेरै जसो यहूदीहरूले एउटा सैनिक वीरको हैसियतमा काम गर्ने मुक्तिदाताको बाटो हेरेर बसेका थिए। रोमीहरूको शासनबाट मुक्त गराएर यहूदी राष्ट्रलाई अरू सबै राष्ट्रहरू भन्दा श्रेष्ठ तुल्याउने मुक्तिदाताको आशामा ती यहूदीहरू थिए। अतः, तिनीहरूका आफ्नै धर्मगुरुहरूले मसीहलाई मृत्युका लागि सुम्पिदिएको कुरा पावलले भन्दा तिनीहरू छक्क परे। “तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो” भनेर पावलले निर्भयतासाथ घोषणा गरे। र तिनीहरूले एउटा अति नै अद्भुत प्रकारको मुक्ति पाउन सक्नेछन् भनेर पावलले तिनको श्रोतागणलाई आफ्नो भाषणको अन्ततिर देखाए। तिनले यसो भने: “यसकारण तपाईंहरूलाई थाह होस् कि यिनै मानिसद्वारा पापमोचनको समाचार तपाईंहरूलाई घोषणा गरिएको छ, र उहाँबाटनै तपाईं विश्वास गर्नेहरू जत्ति हरेक, सबै कुरामा धार्मिक ठहरिनुहुनेछ, जुन कुरामा मोशाको व्यवस्थाबाट तपाईंहरू धार्मिक ठहरिन सक्नुभएको थिएन।” तर मुक्ति पाउने यो अद्भुत प्रबन्धलाई धेरै जनाले उपेक्षा गर्नेछन् भनेर परमेश्वरले अग्रिमवाणी गर्नु भएको थियो। त्यस्ता व्यक्तिहरू मध्येका नहुनु भनेर पावलले आफ्ना श्रोतागणलाई आग्रह गरे।—प्रेरित १३:३०-४१.
१२. पावलको आम भाषणको परिणामस्वरूप के भयो, र यसले हामीलाई कसरी प्रोत्साहित पार्नु पर्ने हो?
१२ शास्त्रमा आधारित यो भाषण कति राम्रोगरी प्रस्तुत गरियो! श्रोताहरूले कसरी प्रतिक्रिया व्यक्त गरे? “यहूदीहरू र यहूदी मत मान्ने भक्तहरू मध्ये धेरै जसो पावल र बर्णाबासको पछि लागे।” (प्रेरित १३:४३) यो हाम्रा लागि कति उत्साहवर्धक कुरा हो! हामी पनि सच्चाइलाई सबैभन्दा प्रभावशाली ढङ्गमा प्रस्तुत गर्ने हर प्रयास गरौं। चाहे त्यो हाम्रा आम-सेवकाईको सिलसिलामा होस् अथवा मण्डलीका सभाहरूमा टिप्पणीहरू वा भाषण दिने बेलामा होस्।—१ तिमोथी ४:१३-१६.
१३. मिसनरीहरूले पिसिदियाको एन्टिओकलाई किन छाडनु पऱ्यो र नयाँ चेलाहरू बारे के प्रश्नहरू उठ्छन्?
१३ पिसिदियाको एन्टिओकमा भर्खरै चासो देखाउने मानिसहरूले यो सुसमाचार आफूमै सीमित राख्न सकेनन्। फलःस्वरूप, “आउँदो विश्रामको दिनमा परमेश्वरको वचन सुन्नालाई झन्डै सारा शहर उल्टेर आयो।” चाँडै नै समाचार शहर बाहिरसम्मै पुग्यो। वास्तवमा “प्रभुको वचन देशभरि चारैतिर फैलियो।” (प्रेरित १३:४४, ४९) यो कुराको स्वागत गर्नुको सट्टा, डाह गर्ने केही यहूदीहरू ती मिसनरीहरूलाई शहरदेखि बाहिर लघार्न सफल भए। (प्रेरित १३:४५, ५०) नयाँ चेलाहरू माथि यसले के प्रभाव पार्यो? के तिनीहरू निरुत्साहित र निष्क्रिय भए?
१४. मिसनरीहरूले सुरु गरेका कामलाई विरोधीहरूले किन मेटाउन सकेनन्, र यसबाट हामी के सिक्न सक्छौं?
१४ भएनन्। किनभने यो काम परमेश्वरको थियो। साथै, पुनरुत्थान भएका प्रभु येशू ख्रीष्टमाथि नै विश्वासको बलियो जग मिसनरीहरूले बसालेर गएका थिए। प्रत्यक्षतः, ती नयाँ चेलाहरूले मिसनरीहरूलाई होइन, तर ख्रीष्टलाई आफ्नो अगुवा मान्द थिए। त्यसैकारण, तिनीहरू “आनन्द र पवित्र आत्माले परिपूर्ण भए” भन्ने कुरा हामी शास्त्रमा पढ्दछौं। (प्रेरित १३:५२) यो कुरा मिसनरीहरू र चेला बनाउने काममा भाग लिने अरूहरूका लागि पनि कति प्रोत्साहनजनक कुरा हो! हामीले नम्रता र जोशका साथ आफूले गर्नु पर्ने काम गर्यौं भने यहोवा परमेश्वर र येशू खीष्टले हाम्रो सेवकाईलाई आशिष दिनु हुने छ।—१ कोरिन्थी ३:९.
आइकोनियम, लिस्त्रा र डर्बी
१५. मिसनरीहरूले आइकोनियममा कुन प्रकारको कार्य-प्रणाली अपनाए र परिणाम के भयो?
१५ पावल र बर्णाबास अब १४० किलोमिटर, दक्षिणपूर्व तर्फ यात्रा गर्दै अर्को शहर, आइकोनियममा आइपुगे। तिनीहरूले यहाँ पनि त्यही कार्यप्रणाली अपन्याए जुन तिनीहरूले एन्टिओकमा अपनाएका थिए। सतावटको डरले तिनीहरू पछि सरेनन्। परिणामस्वरूपः बाइबल भन्दछ: “यहूदीहरू र ग्रीकहरू समेतबाट एक ठूलो भीडले विश्वास गऱ्यो।” (प्रेरित १४:१) फेरि यहाँ पनि सुसमाचार स्वीकार नगर्ने यहूदीहरूले विरोध गर्न थाले। तर मिसनरीहरूले धैर्य धारण गरे, र नयाँ चेलाहरूलाई मद्दत दिन आइकोनियममा निकै समय बिताए। अनि तिनीहरूका यहूदी विरोधीहरूले तिनीहरूलाई ढुङ्गाले हान्ने सुर कसेका छन् भनी थाह पाए पछि, पावल र बर्णाबास बुद्धिमानीका साथ अन्य इलाकामा अथवा “लिस्त्रा, डर्बी र तिनका छेउछाउका जिल्ला तर्फ भागेर गए।”—प्रेरित १४:२-६.
१६, १७. (क) पावललाई लिस्त्रामा के भयो? (ख) परमेश्वरले पावलका निम्ति गर्नु भएका कुराहरूले लिस्त्राका एक जना जवान मानिसमाथि कस्तो प्रभाव पाऱ्यो?
१६ साहसपूर्वक तिनीहरू नयाँ नयाँ इलाकामा “सुसमाचार प्रचार” गर्दै गए। (प्रेरित १४:७) पिसिदियाको एन्टिओक र आइकोनियमका यहूदीहरूले यो सुनेपछि, तिनीहरू लिस्त्रासम्मै आइ पुगे र पावललाई ढुङ्गाले हान्नु भनी भीडलाई भडकाए। पावलले भाग्ने मौका नै पाएनन्। तिनीमाथि ढुङ्गै-ढुङ्गाले प्रहार गरियो। यहाँसम्म कि तिनका विरोधीहरूले तिनी मरे भनी ठाने। तिनीहरूले तिनलाई घसार्दै शहर बाहिर लगे।—प्रेरित १४:१९.
१७ यसले गर्दा नयाँ चेलाहरू कति दुःखित भए होलान्, के तपाईं कल्पना गर्न सक्नु हुन्छ? तर तिनीहरू पावलको वरिपरि जम्मा भएपछि, सबैलाई छक्क पार्दै पावल जुरुक्क उठे! ती नयाँ चेलाहरू मध्ये तिमोथी नाउँ भएको एक जना युवक पनि थिए भनेर बाइबलले भन्नु त भन्दैन। तर परमेश्वरले पावलका निम्ति गर्नु भएका यी कुराहरू यो युवकलाई निश्चय नै थाह भएको हुन सक्छ र यसले तिनको जवान हृदयमा एउटा गहिरो प्रभाव पारेको हुनुपर्छ। पावलले तिमोथीलाई पठाएका आफ्नो दोस्रो पत्रमा यस प्रकार लेखे: “तर तिमी ता मेरो शिक्षा, अभिप्राय . . . खेदो र कष्ट-भोगमा पछि लाग्यौ। कस्ता कस्ता कुराहरू एन्टिओक, आइकोनियम र लिस्त्रामा मलाई पर्नआएको थियो। कस्ता कस्ता खेदो मैले सहें, र ती सबैबाट प्रभुले मलाई छुटकारा दिनुभयो।” (२ तिमोथी ३:१०, ११) पावललाई यहाँ ढुङ्गा हानेको केही एक वा दुई वर्षपछि तिनी लिस्त्रामा फर्केर गए। त्यहाँ तिनले जवान तिमोथीलाई भेट्टाए, जो त्यस बेलासम्म एक जना अनुकरणीय मसीही भइसकेका थिए। साथै लिस्त्रा र आइकोनियमका “भाइहरूमा तिनका बारेमा असल नाउँ चलेको थियो।” (प्रेरित १६:१, २) अतः पावलले तिनलाई आफ्ना सह-यात्री हुनका लागि रोजे। यसले तिमोथीलाई आध्यात्मिक प्रगति गर्ने मद्दत दियो। समयमा, पावलले तिनलाई विभिन्न मण्डलीहरूको निरीक्षण गर्न पठाउन सकिने योग्यका तिनी भए। (फिलिप्पी २:१९, २०; १ तिमोथी १:३) यसै प्रकार, आज पनि परमेश्वरका जोशिला सेवकहरूले जवान मानिसहरूमा एउटा अति नै राम्रो प्रभाव पार्दछन्। यस्ता धेरै जवान मानिसहरू ठूलो भइ सकेपछि, तिमोथी जस्तै परमेश्वरका कामलाग्दा सेवकहरू हुन्छन्।
१८. (क) डर्बीमा मिसनरीहरूलाई के भयो? (ख) अब तिनीहरूका अगाडि के गर्ने मौका थियो तर तिनीहरूले कुन मार्ग अपनाए?
१८ लिस्त्रामा मृत्युबाट बाँचेको भोलिपल्ट नै पावल बर्णाबाससित डर्बीतिर लागे। यस पटक चाहिं कुनै पनि विरोधीहरूले तिनीहरूको पिछा गरेनन् र ‘तिनीहरूले धेरै जनतालाई चेला बनाए’ भनेर बाइबल भन्दछ। (प्रेरित १४:२०, २१) डर्बीमा एउटा मण्डली स्थापित गरी सकेपछि, पावल र बर्णाबासले एउटा फैसला गर्नु परेको थियो। रोमीहरूले डर्बीदेखिन् तार्सस जाने एउटा राम्रो सडकको निमार्ण गरेका थिए र यसमा मानिसहरूको निकै आउजाउ पनि भइरहन्थ्यो। र तार्ससदेखि एन्टिओक धेरै टाढा थिएन। सम्भवतः, फर्केर जाने यो सबैभन्दा सुविधाजनक बाटो थियो र ती मिसनरीहरूले अब चाहिं अलिकता आराम लिने विचार गर्न सक्तथिए। तर आफ्नो मालिकको अनुकरण गर्दै, पावल र बर्णाबासले एउटा अझ ठूलो आवश्यकता महसुस गरे।—मर्कूस ६:३१-३४.
परमेश्वरको कार्य सम्पूर्णतया पूरा गर्न
१९, २०. (क) लिस्त्रा, आइकोनियम र एन्टिओकमा फर्केर गएका लागि यहोवाले मिसनरीहरूलाई कसरी आशिष दिनु भयो? (ख) यसबाट यहोवाका मानिसहरूले आज के सिक्न सक्छन्?
१९ घर फर्कने छोटो बाटो लिनुको सट्टा, बरु जुन जुन शहरमा तिनीहरूको ज्यान खतरामा परेको थियो, ती सबै शहरहरूमा ती मिसनरीहरू साहसपूर्वक फर्केर गए। नयाँ भेडाहरूका लागि तिनीहरूले देखाएका यो निःस्वार्थ चासोलाई के यहोवाले आशिष दिनु भयो? अवश्य दिनु भयो। लेखोट भन्दछ कि “चेलाहरूका आत्मालाई स्थिर गराउँदै तिनीहरूलाई विश्वासमा रहिरहने” उत्साह दिन तिनीहरू सफल भए। ती नयाँ चेलाहरूलाई तिनीहरूले यो उपयुक्त कुरा भने: ‘अनेक कष्ट सही हामी परमेश्वरको राज्यमा पस्नपर्छ।’ (प्रेरित १४: २१, २२) आउने राज्यमा सङ्गी-हकवाला हुनका लागि तिनीहरू बोलाइएका हुन् भन्ने कुराको पनि पावल र बर्णाबासले तिनीहरूलाई सम्झना गराए। यसै प्रकार, आज पनि हामीले नयाँ चेलाहरूलाई प्रोत्साहन दिनु पर्छ। जुन राज्यबारे पावल र बर्णाबासले प्रचार गरे, त्यही राज्य अन्तर्गत अनन्त जीवन पाउने आशा हामीले तिनीहरूका सामने राख्न सक्तछौं। यसरी, कठिनाइहरू सहन सक्नका लागि हामीले तिनीहरूलाई बलियो बनाउन सक्छौं।
२० प्रत्येक शहर छाडेर जानुअघि, पावल र बर्णाबासले स्थानीय मण्डलीलाई अझ राम्रोसित व्यवस्थित हुने मद्दत दिने गरे। प्रत्यक्षतः, तिनीहरूले योग्य पुरुषहरूलाई प्रशिक्षण दिने गरे र अगुवाइ लिनका निम्ति तिनीहरूलाई नियुक्त गर्द थिए। (प्रेरित १४:२३) निःसन्देह यसले अझ बढी वृद्धि हुनुमा योगदान दियो। त्यसरी नै आज पनि, अनुभव नभएकाहरूलाई प्रगति गर्न र जिम्मेवारी वहन गर्न प्रशिक्षण दिएपछि, यी मिसनरीहरू र अन्य अरूहरू फेरि आफ्ना बोटो लाग्छन् र आफूले गरिरहेको असल कार्यलाई अझ बढी आवश्यकता परेका अन्य ठाउँहरूमा जारी राख्छन्।
२१, २२. (क) पावल र बर्णाबासले आफ्नो मिसनरी यात्रा समाप्त गरे पछि, के भयो? (ख) यसबाट के प्रश्नहरू उठ्दछन्?
२१ अन्तमा सिरिया एन्टिओकमा फर्के पछि, ती मिसनरीहरूले एउटा गहिरो सन्तोष अनुभव गर्न सके। हो, परमेश्वरले तिनीहरूलाई सुम्पनु भएको काम तिनीहरूले “पूरा गरे” भनेर बाइबलमा उल्लेखित गरिएको छ। (प्रेरित १४:२६) तिनीहरूले आफ्ना अनुभवहरू सुनाएर स्वभाविकतः “सबै भाइहरूलाई बडो आनन्दित तुल्याए”-को हुनु पर्दछ। (प्रेरित १५:३) तर भविष्यबारे के नि? के तिनीहरू अब उप्रान्त केही प्रयास नगरीकन, ढुक्क बसेर आराम गर्ने थिए? पटक्कै होइन। यरूशलेम स्थित परिचालक निकायबाट खतनाबारे एउटा निर्णय गराएपछि, यी दुई जना फेरि मिसनरी यात्रामा हिंडे। यस पटक तिनीहरू दुई बेग्ला बेग्लै दिशातर्फ गए। यूहन्ना मर्कूसलाई आफ्नो साथमा लगेर, बर्णाबास साइप्रसतिर लागे। तर पावल भने सिलास नाउँको एउटा नयाँ साथीका साथ सिरिया र सिलिसिया हुँदै यात्रा गरे। (प्रेरित १५:३९-४१) यसै पटकको यात्रामा तिनले तिमोथीलाई रोजेर तिनलाई आफ्नो साथमा लगेका हुन्।
२२ बर्णाबासको दोस्रो यात्राको परिणाम बाइबलमा उल्लेखित छैन। पावल चाहिं नयाँ नयाँ इलाकाहरू हुँदो गए र युरोपका कमसेकम पाँचवटा विभिन्न शहरहरू अर्थात् फिलिप्पी, बिरिया, थिस्सलोनिकी, कोरीन्थ र एफिसस्मा मण्डलीहरूको स्थापना गरे। पावलको यो विशिष्ट सफलताको कुञ्जी के थियो? के त्यही सिद्धान्तहरू वर्तमान समयमा चेला बनाउनेहरूमा पनि लागू हुन्छ? (w92 9/1)
के तपाईं सम्झनु सक्नु हुन्छ?
◻ अनुकरण गर्नु पर्ने सबै भन्दा उत्कृष्ट उदाहरण येशू नै किन हुनु हुन्छ?
◻ बर्णाबास कुन कुरामा एउटा उदाहरण थिए?
◻ पिसिदियाको एन्टिओकमा पावलले दिएका भाषणबाट हामी के सिक्न सक्छौं?
◻ पावल र बर्णाबासले आफ्नो जिम्मेवारी कसरी पूरा गरे?
[पृष्ठ ८-मा भएको चित्र]
सतावट सहन सक्ने प्रेरित पावलको धैर्यले जवान मानिस तिमोथीलाई सदाका लागि प्रभावित पार्यो