पाठ ५
हाम्रा ख्रिष्टियन सभाहरूमा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ?
अर्जेन्टिना
सियरा लियोन
बेल्जियम
मलेसिया
मानिसहरू आजकल धार्मिक कार्यक्रमहरूमा उपस्थित हुन छोडेका छन्। किन? किनभने त्यहाँ जाँदा तिनीहरूले जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ वा कुनै सान्त्वना पाएका छैनन्। तर यहोवाका साक्षीहरूले आयोजना गरेको सभामा जाँदा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ? त्यहाँ तपाईँले के पाउनुहुनेछ?
एकअर्कालाई माया गर्ने र चासो देखाउने व्यक्तिहरूबीच हुन पाउँदाको आनन्द। प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई विभिन्न मण्डलीमा व्यवस्थित गरिएको थियो। तिनीहरू एकसाथ भेला भएर परमेश्वरको उपासना गर्थे, धर्मशास्त्रको अध्ययन गर्थे र एकअर्कालाई प्रोत्साहन दिन्थे। (हिब्रू १०:२४, २५) त्यसरी आफ्ना ख्रिष्टियन भाइबहिनीसित मायालु वातावरणमा एकसाथ भेला हुँदा तिनीहरूले साँचो मित्रहरूमाझ भएको महसुस गर्थे। (२ थिस्सलोनिकी १:३; ३ युहन्ना १४) आज हामी पनि तिनीहरूको उदाहरण अनुकरण गर्छौँ र त्यस्तै प्रकारको आनन्द अनुभव गर्छौँ।
बाइबल सिद्धान्तहरू लागू गर्न सिक्दा हुने फाइदा। पहिले-पहिलेका व्यक्तिहरूजस्तै आज पनि पुरुष, स्त्री र केटाकेटीहरू एकसाथ भेला हुन्छन्। सिकाउन निपुण व्यक्तिहरूले बाइबलका सिद्धान्तहरू जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर बाइबलबाटै बुझाउँछन्। (व्यवस्था ३१:१२; नहेम्याह ८:८) श्रोताहरूसितको छलफल र गीतमा सबैले भाग लिन सक्छन्। यसरी हामी आफ्नो ख्रिष्टियन आशा व्यक्त गर्ने मौका पाउँछौँ।—हिब्रू १०:२३.
परमेश्वरमाथिको विश्वास बलियो बनाउन पाउँदाको फाइदा। प्रेषित पावलले आफ्नो समयको एउटा मण्डलीलाई यस्तो लेखे: “म तिमीहरूलाई भेट्ने तीव्र इच्छा गर्दै छु, ताकि . . . मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौँ।” (रोमी १:११, १२) सङ्गी ख्रिष्टियनहरूसित नियमित रूपमा भेला हुँदा यसले हाम्रो विश्वासलाई बलियो बनाउँछ अनि बाइबल सिद्धान्तअनुसारै जीवन बिताउन हामी अझ कटिबद्ध हुन्छौँ।
हाम्रो मण्डलीको आउँदो सभामा उपस्थित भई यी कुराहरू आफैले अनुभव गर्नुभए कसो होला? तपाईँलाई सबैले न्यानो स्वागत गर्नेछन्। त्यहाँ उपस्थित हुन कुनै शुल्क लाग्दैन र त्यहाँ कुनै चन्दा पनि उठाइँदैन।
मण्डलीका सभाहरू सञ्चालन गर्दा हामी कुन नमुना पछ्याउँछौँ?
ख्रिष्टियन सभाहरूमा उपस्थित भएर हामी कसरी लाभ उठाउन सक्छौँ?