प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bhs chap. १ pp. ८-१८
  • परमेश्‍वर को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर को हुनुहुन्छ?
  • बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले सिकाउँछ-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के परमेश्‍वर साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ अथवा उहाँ निर्दयी हुनुहुन्छ?
  • मानिसहरूले दुःख भोग्दा परमेश्‍वरलाई कस्तो लाग्छ?
  • तपाईँले परमेश्‍वरलाई चिनेको उहाँ चाहनुहुन्छ
  • के तपाईँ यहोवा परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ?
  • साँचो भगवान्‌ को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • परमेश्‍वर र येसुबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
बाइबलले हामीलाई के सिकाउँछ?
bhs chap. १ pp. ८-१८

अध्याय एक

परमेश्‍वर को हुनुहुन्छ?

१, २. मानिसहरू अक्सर कस्ता प्रश्‍नहरू सोध्ने गर्छन्‌?

केटाकेटीहरू थुप्रै प्रश्‍न सोध्छन्‌। तपाईँले उनीहरूलाई बुझाउने कोसिस गरे तापनि उनीहरू सोध्छन्‌, ‘किन?’ अनि त्यसको जवाफ दिन खोज्नुहोला तर उनीहरू फेरि पनि सोध्छन्‌, ‘किन?’

२ केटाकेटीहरूको मनमा मात्र होइन, जुनसुकै उमेरका मानिसहरूको मनमा प्रश्‍न उब्जिन्छ। के खाने, के लगाउने वा के किन्‍ने भन्‍ने विषयमा हाम्रो मनमा प्रश्‍नहरू आउन सक्छ। अथवा जीवन र भविष्यबारे पनि महत्त्वपूर्ण प्रश्‍नहरू उब्जिन सक्छ। तर यस्ता प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ नपाउँदा हामी त्यसको जवाफ भेट्टाउने कोसिस गर्नै छोड्‌छौँ होला।

३. थुप्रैलाई आफ्नो मनमा उब्जेका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ भेट्टाउन सकिँदैन जस्तो किन लाग्छ?

३ हाम्रो मनमा उब्जिने महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ के बाइबलमा पाइन्छ? कसै-कसैलाई पाइन्छ जस्तो लाग्छ तर उनीहरूलाई बाइबलमा बताइएका कुराहरू बुझ्न असाध्यै गाह्रो छ जस्तो लाग्न सक्छ। त्यस्ता प्रश्‍नहरूको जवाफ धर्मगुरुहरूलाई मात्र थाह छ भन्‍ने उनीहरूलाई लाग्ला। अनि अरू भने त्यस्ता प्रश्‍नहरूको जवाफ थाह छैन भनेर स्विकार्न अप्ठ्यारो मान्छन्‌। तपाईँलाई चाहिँ कस्तो लाग्छ?

४, ५. तपाईँको मनमा कस्ता महत्त्वपूर्ण प्रश्‍नहरू उब्जिएका छन्‌? ती प्रश्‍नहरूको जवाफ खोज्ने कोसिस किन गरिरहनुपर्छ?

४ सायद तपाईँ यस्ता प्रश्‍नहरूको जवाफ थाह पाउन चाहनुहुन्छ होला: म किन यहाँ छु? मरिसकेपछि मलाई के हुन्छ? परमेश्‍वर कस्तो हुनुहुन्छ? प्रख्यात गुरु येसुले यसो भन्‍नुभयो: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।” (मत्ति ७:७) भरपर्दो जवाफ नपाएसम्म खोजिरहनुहोस्‌।

५ हो, तपाईँले ‘खोजिरहनुभयो’ भने बाइबलमा ती प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ। (हितोपदेश २:१-५) अनि ती जवाफहरू बुझ्नै नसकिने किसिमका छैनन्‌। बाइबलबाट सिकेको कुराले तपाईँलाई अहिले सुखी जीवन बिताउन मदत गर्छ। साथै भविष्यको सुन्दर आशा पनि दिन्छ। आउनुहोस्‌, थुप्रै मानिसलाई अलमलमा पारेको एउटा प्रश्‍नबारे विचार गरौँ।

के परमेश्‍वर साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ अथवा उहाँ निर्दयी हुनुहुन्छ?

६. कसै-कसैलाई किन परमेश्‍वर उनीहरूको ख्याल राख्नुहुन्‍न जस्तो लाग्छ?

६ थुप्रैलाई परमेश्‍वर हाम्रो ख्याल राख्नुहुन्‍न जस्तो लाग्छ। उनीहरूको विचारमा परमेश्‍वरले हाम्रो ख्याल राख्नुभएको भए यो संसारको हालत यस्तो हुँदैनथ्यो। अहिले हामी जताततै युद्ध, घृणा अनि दुःखकष्ट देख्छौँ। मानिसहरू बिरामी पर्छन्‌, दुःख भोग्छन्‌ अनि मर्छन्‌। त्यसैले कसै-कसैलाई लाग्छ, ‘यदि परमेश्‍वर हाम्रो ख्याल राख्नुहुन्छ भने उहाँले किन दुःखकष्ट हटाउनुहुन्‍न?’

७. (क) धर्मगुरुहरूले गर्दा मानिसहरूमा परमेश्‍वर निर्दयी हुनुहुन्छ भन्‍ने छाप कसरी परेको छ? (ख) खराब कुराहरूको लागि परमेश्‍वरलाई दोष दिन किन मिल्दैन?

७ कहिलेकाहीँ धर्मगुरुहरूले गर्दा मानिसहरूमा परमेश्‍वर निर्दयी हुनुहुन्छ भन्‍ने छाप परेको छ। मानिसहरूले दुःख भोग्दा उनीहरू ‘यो सब दैवको लीला हो’ भन्‍ने गर्छन्‌। उनीहरू परमेश्‍वरको इच्छा नै यस्तो थियो भन्छन्‌। उनीहरूले यसो भन्दा वास्तवमा परमेश्‍वरलाई नै दोषी ठहऱ्‍याइरहेका हुन्छन्‌। तर बाइबलले परमेश्‍वर दुष्ट कुराहरूको स्रोत हुनुहुन्‍न भनी सिकाउँछ। याकुब १:१३ मा परमेश्‍वरले दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न भनिएको छ। त्यहाँ यस्तो लेखिएको छ: “परीक्षा आइपर्दा कसैले पनि यसो नभनोस्‌: ‘परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ।’ किनकि कुनै दुष्ट कुराद्वारा परमेश्‍वरको परीक्षा लिन सकिँदैन र उहाँ आफैले पनि कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न।” यसको मतलब परमेश्‍वरले खराब कुराहरूलाई रोक्नुभएको छैन तर उहाँले नै ती कुराहरू गराउनुभएको भने होइन। (अय्युब ३४:१०-१२ पढ्‌नुहोस्‌) एउटा उदाहरण विचार गरौँ।

८, ९. हामीले भोगिरहेको दुःखको लागि परमेश्‍वरलाई दोष दिनु किन सरासर गलत हुनेछ? एउटा उदाहरण दिनुहोस्‌।

८ आमाबुबासँगै बस्ने एक जना युवकबारे विचार गर्नुहोस्‌। बुबा उसलाई धेरै माया गर्छन्‌ अनि असल निर्णय कसरी गर्ने भनेर पनि बुबाले सिकाएका छन्‌। पछि त्यस युवकले आफ्नो बुबाको विद्रोह गर्छ अनि घर छोडेर जान्छ। ऊ असाध्यै नराम्रा कामहरू गर्छ अनि उसले दुःख पाउँछ। बुबाले छोरालाई घर छोड्‌नदेखि रोकेको भए उसले त्यस्तो दुःख पाउने थिएन भनेर के तपाईँ बुबालाई दोष दिनुहुन्छ? पक्कै दिनुहुन्‍न! (लुका १५:११-१३) परमेश्‍वरले पनि त्यस बुबाले जस्तै मानिसहरूले उहाँको विद्रोह गर्ने र नराम्रो काम गर्ने निर्णय गर्दा उनीहरूलाई रोक्नुभएन। त्यसैले कुनै खराब कुरा हुँदा परमेश्‍वरले गर्दा त्यस्तो भएको होइन भनेर सम्झनुपर्छ। त्यसको दोष परमेश्‍वरलाई दिनु सरासर गलत हुनेछ।

९ परमेश्‍वरले अझै पनि खराब कुराहरूलाई रोक्नुभएको छैन। त्यसको एउटा जायज कारण छ। बाइबलले यसबारे के बताउँछ, अध्याय ११ मा तपाईँले सिक्नुहुनेछ। तर परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ र हामीले भोगिरहेको दुःखको लागि उहाँलाई दोष दिन मिल्दैन भन्‍ने कुरामा तपाईँ ढुक्क हुन सक्नुहुन्छ। वास्तवमा ती दुःखहरू उहाँले मात्र हटाउन सक्नुहुन्छ।—यसैया ३३:२.

१०. खराब मानिसहरूले पुऱ्‍याएको सबै हानिलाई परमेश्‍वरले किन सच्याउन सक्नुहुन्छ?

१० परमेश्‍वर पवित्र हुनुहुन्छ। (यसैया ६:३) उहाँले गर्नुहुने सबै कुरा शुद्ध, स्वच्छ र असल छ। त्यसैले हामी उहाँमा भरोसा राख्न सक्छौँ। तर मानिसहरू त्यस्तो छैनन्‌। उनीहरू कहिलेकाहीँ गल्ती गर्छन्‌। एकदमै इमानदार शासकसित समेत खराब मानिसहरूले पुऱ्‍याएको सबै हानिलाई सच्याउन सक्ने शक्‍ति छैन। परमेश्‍वरजति शक्‍तिशाली अरू कोही छैन। उहाँ खराब मानिसहरूले पुऱ्‍याएको सबै हानिलाई सच्याउन सक्नुहुन्छ र उहाँले त्यसो गर्नु पनि हुनेछ। उहाँले सबै दुष्टताको नामोनिसान मेटाउनुहुनेछ।—भजन ३७:९-११ पढ्‌नुहोस्‌।

मानिसहरूले दुःख भोग्दा परमेश्‍वरलाई कस्तो लाग्छ?

११. तपाईँले भोगिरहेको दुःखकष्ट देख्दा परमेश्‍वरलाई कस्तो लाग्छ?

११ यस संसारको अवस्था अनि तपाईँले भोगिरहेको दुःखकष्ट देख्दा परमेश्‍वरलाई कस्तो लाग्छ? परमेश्‍वर “न्याय मन पराउनुहुन्छ” भनी बाइबल सिकाउँछ। (भजन ३७:२८) त्यसैले के सही छ र के गलत छ, त्यसमा उहाँ गहिरो चासो राख्नुहुन्छ। मानिसहरूले दुःख भोगेको उहाँलाई पटक्कै मन पर्दैन। धेरै पहिला संसार खराब कुराहरूले भरिएको देख्दा “उहाँ असाध्यै दुःखी हुनुभयो” भनी बाइबल बताउँछ। (उत्पत्ति ६:५, ६) परमेश्‍वर परिवर्तन हुनुभएको छैन। (मलाकि ३:६) परमेश्‍वर तपाईँको साँच्चै ख्याल राख्नुहुन्छ भनी बाइबल बताउँछ।—१ पत्रुस ५:७ पढ्‌नुहोस्‌।

परमेश्‍वरका सृष्टिहरू: पहाड, ताल, माछा, चरा र रूख

यहोवा ब्रह्‍माण्डको मायालु सृष्टिकर्ता हुनुहुन्छ भनी बाइबल सिकाउँछ

१२, १३. (क) हामी किन अरूलाई प्रेम गर्छौँ अनि यस संसारमा भइरहेको दुःखकष्ट देख्दा हामीलाई कस्तो लाग्छ? (ख) परमेश्‍वरले सबै दुःखकष्ट र अन्याय हटाउनुहुनेछ भनेर हामी किन पक्का हुन सक्छौँ?

१२ परमेश्‍वरले हामीलाई उहाँकै स्वरूपमा बनाउनुभयो भनेर पनि बाइबल बताउँछ। (उत्पत्ति १:२६) यसको मतलब परमेश्‍वरले हामीलाई उहाँको जस्तै असल गुणहरू दिनुभयो। निर्दोष मानिसहरूले दुःख भोगिरहेको देख्दा तपाईँलाई त नमीठो लाग्छ भने परमेश्‍वरलाई झन्‌ कस्तो लाग्ला?

१३ “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनी बाइबल सिकाउँछ। (१ युहन्‍ना ४:८) परमेश्‍वरले सबै कुरा प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। परमेश्‍वरले प्रेम गर्नुभएकोले नै हामी पनि प्रेम गर्छौँ। यो कुरा विचार गर्नुहोस्‌: यदि तपाईँसित शक्‍ति भएको भए के तपाईँ यस संसारमा भइरहेको सबै दुःख र अन्याय हटाउनुहुने थिएन र? पक्कै हटाउनुहुने थियो किनभने तपाईँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ। त्यसोभए परमेश्‍वरबारे के भन्‍न सकिन्छ? उहाँसित शक्‍ति छ अनि उहाँ हामीलाई प्रेम पनि गर्नुहुन्छ। त्यसकारण उहाँले सबै दुःखकष्ट र अन्याय हटाउनुहुनेछ। यस किताबको सुरुमा बताइएका परमेश्‍वरका सबै प्रतिज्ञा पूरा हुनेछ भनेर तपाईँ ढुक्क हुन सक्नुहुन्छ! तर यी प्रतिज्ञाहरूमा भरोसा राख्न तपाईँले परमेश्‍वरबारे अझ धेरै कुरा सिक्नुपर्छ।

तपाईँले परमेश्‍वरलाई चिनेको उहाँ चाहनुहुन्छ

दुई जना महिला एकअर्कालाई आफ्नो परिचय दिँदै

तपाईँ कसैलाई आफ्नो साथी बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला तपाईँ उसलाई आफ्नो नाम बताउनुहुन्छ। परमेश्‍वरले बाइबलमा आफ्नो नाम बताउनुभएको छ

१४. परमेश्‍वरको नाम के हो र हामीले किन उहाँको नाम लिनुपर्छ?

१४ तपाईँ कसैको साथी बन्‍न चाहनुहुन्छ भने उसलाई सबैभन्दा पहिला आफ्नो नाम बताउनुहुन्छ नि, होइन र? उसोभए के परमेश्‍वरको पनि नाम छ? थुप्रै धर्मले उहाँको नाम “परमेश्‍वर” वा “प्रभु” हो भनेर सिकाउँछन्‌ तर त्यो उहाँको नाम होइन। त्यो त “राजा” अनि “राष्ट्रपति”-जस्तै उपाधि मात्र हो। परमेश्‍वरले आफ्नो नाम यहोवा हो भनेर हामीलाई बताउनुभएको छ। भजन ८३:१८ यसो भन्छ: “मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।” बाइबलमा उहाँको नाम हजारौँ पटक उल्लेख गरिएको छ। यहोवा परमेश्‍वर तपाईँले उहाँको नाम थाह पाएको र उहाँको नाम लिएको चाहनुहुन्छ। तपाईँ उहाँको साथी बन्‍न सकोस्‌ भनेर उहाँले तपाईँलाई आफ्नो नाम बताउनुभएको छ।

१५. यहोवा नामको अर्थ के हो?

१५ यहोवा नामको गहिरो अर्थ छ। उहाँको नामको अर्थ उहाँ आफ्नो सबै प्रतिज्ञा र उद्देश्‍य पूरा गर्न सक्नुहुन्छ भन्‍ने हो। उहाँलाई कुनै कुराले रोक्न सक्दैन। यो नाम यहोवा परमेश्‍वरलाई मात्र सुहाउँछ।a

१६, १७. यी उपाधिहरूको अर्थ के हो? (क) “सर्वशक्‍तिमान्‌” (ख) “युगयुगका महाराजा” (ग) “सृष्टिकर्ता।”

१६ भजन ८३:१८ मा यहोवा परमेश्‍वरबारे यसो पनि भनिएको छ: “तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।” साथै प्रकाश १५:३ मा यसो भनिएको छ: “हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा, तपाईँका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌। हे युगयुगका महाराजा, तपाईँका मार्गहरू सही अनि सत्य छन्‌।” “सर्वशक्‍तिमान्‌” भन्‍ने उपाधिको अर्थ के हो? यसको अर्थ यस ब्रह्‍माण्डमा यहोवा परमेश्‍वर सबैभन्दा शक्‍तिशाली हुनुहुन्छ भन्‍ने हो। अनि “युगयुगका महाराजा” भन्‍ने उपाधिको अर्थचाहिँ उहाँको अस्तित्व कहिल्यै मेटिँदैन भन्‍ने हो। भजन ९०:२ मा उहाँ युगौँयुगसम्म हुनुहुन्छ भनेर बताइएको छ।

१७ यहोवा मात्रै सृष्टिकर्ता हुनुहुन्छ। प्रकाश ४:११ यसो भन्छ: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँ महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।” स्वर्गदूतहरू, आकाशका ताराहरू, रूखमा फल्ने फलहरू, समुद्रका माछाहरू—हो, तपाईँले सोच्न सक्ने सबै कुरा यहोवा परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो।

के तपाईँ यहोवा परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ?

१८. कोही-कोहीलाई आफू परमेश्‍वरको साथी कहिल्यै बन्‍न सक्दिनँ जस्तो किन लाग्न सक्छ? तर बाइबल के भन्छ?

१८ यहोवा परमेश्‍वरका गुणहरूबारे थाह पाउँदा कोही-कोहीलाई डर लाग्न सक्छ। तिनीहरू यस्तो सोच्न सक्छन्‌, ‘परमेश्‍वर यति शक्‍तिशाली, यति महान्‌ अनि मबाट यति टाढा हुनुहुन्छ, उहाँले मेरो चासो राख्नुहोला र?’ तर के परमेश्‍वर हामीले यस्तै सोचेको चाहनुहुन्छ? त्यसो त पक्कै होइन। यहोवा परमेश्‍वर हाम्रो नजिक हुन चाहनुहुन्छ। परमेश्‍वर “हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न” भनी बाइबल बताउँछ। (प्रेषित १७:२७) तपाईँ परमेश्‍वरसित नजिक हुन खोजेको उहाँ चाहनुहुन्छ। यसो गर्नुभयो भने ‘उहाँ तपाईँसित नजिक हुनुहुनेछ’ भनी परमेश्‍वर प्रतिज्ञा गर्नुहुन्छ।—याकुब ४:८.

१९. (क) तपाईँ कसरी परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ? (ख) तपाईँलाई यहोवा परमेश्‍वरको कुनचाहिँ गुण सबैभन्दा मन पर्छ?

१९ तपाईँ कसरी परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ? येसुले यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।” (युहन्‍ना १७:३) यहोवा परमेश्‍वर र येसुबारे सिक्दै जानुहोस्‌। यसो गर्नुभयो भने तपाईँले उहाँहरूलाई चिन्‍न सक्नुहुनेछ अनि अनन्त जीवन अर्थात्‌ सधैँभरि बाँच्न सक्ने जीवन पाउन सक्नुहुनेछ। उदाहरणको लागि, “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनेर हामीले सिकिसक्यौँ। (१ युहन्‍ना ४:१६) तर उहाँसित अरू पनि राम्रा गुणहरू छन्‌। यहोवा परमेश्‍वर ‘कृपालु र दयालु, हतपती नरिसाउने अनि अटल प्रेम र सत्यले भरिपूर्ण’ हुनुहुन्छ भनी बाइबल बताउँछ। (प्रस्थान ३४:६) उहाँ “असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।” (भजन ८६:५) उहाँ धीरजी र वफादार हुनुहुन्छ। (२ पत्रुस ३:९; प्रकाश १५:४) तपाईँले बाइबल पढ्‌दै जानुभयो भने यहोवाका राम्रा गुणहरूबारे अझ धेरै कुरा थाह पाउनुहुनेछ।

२०-२२. (क) परमेश्‍वरलाई देख्न नसके तापनि हामी कसरी उहाँको नजिक हुन सक्छौँ? (ख) तपाईँलाई कसैले ‘बाइबल पढ्‌नुहुन्‍न’ भनेमा तपाईँले के गर्नुपर्छ?

२० परमेश्‍वरलाई देख्न सकिँदैन। तैपनि तपाईँ कसरी उहाँसित नजिक हुन सक्नुहुन्छ? (युहन्‍ना १:१८; ४:२४; १ तिमोथि १:१७) तपाईँले बाइबल पढ्‌दै जाँदा यहोवा वास्तवमा कस्तो हुनुहुन्छ अनि उहाँसित कस्ता गुणहरू छन्‌ भनेर थाह पाउनुहुनेछ। (भजन २७:४; रोमी १:२०) उहाँबारे अझ धेरै सिक्दै जाँदा तपाईँले उहाँलाई अझ धेरै प्रेम गर्नुहुनेछ अनि उहाँसित नजिक हुनुहुनेछ।

बुबा आफ्नो सानो छोरालाई काँधमा बोकेर सृष्टिलाई नियाल्दै

बुबा आफ्नो छोराछोरीलाई माया गर्छन्‌ तर स्वर्गमा बस्नुहुने हाम्रो बुबा हामीलाई अझ धेरै माया गर्नुहुन्छ

२१ तपाईँले यहोवा परमेश्‍वर हाम्रो बुबा हुनुहुन्छ भनेर बुझ्नुहुनेछ। (मत्ति ६:९) उहाँले हामीलाई जीवन दिनुभयो र उहाँ हामीले सुखी जीवन बिताएको चाहनुहुन्छ। मायालु बुबाले आफ्ना छोराछोरीको लागि चाहने कुरा यस्तै हो। (भजन ३६:९) तपाईँ यहोवा परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ भनी बाइबल सिकाउँछ। (याकुब २:२३) हो, ब्रह्‍माण्डको सृष्टिकर्ता यहोवा, तपाईँ उहाँको साथी बनेको चाहनुहुन्छ!

२२ कोही-कोहीले तपाईँलाई ‘बाइबल पढ्‌नुहुन्‍न’ भन्लान्‌। तपाईँले आफ्नो धर्म परिवर्तन गर्नुहोला भनेर उनीहरूलाई चिन्ता लाग्न सक्छ। तर यहोवा परमेश्‍वरको साथी बन्‍नदेखि तपाईँलाई कसैले नरोकोस्‌। उहाँभन्दा असल साथी तपाईँले अन्त कतै पाउनुहुन्‍न।

२३, २४. (क) प्रश्‍नहरू सोध्न किन अप्ठेरो मान्‍नु पर्दैन? (ख) अर्को अध्यायमा के छलफल गर्नेछौँ?

२३ बाइबल अध्ययन गर्दै जाँदा तपाईँलाई कुनै-कुनै कुरा बुझ्न गाह्रो लाग्न सक्छ। नबुझेको कुरा सोध्न र मदत माग्न अप्ठेरो नमान्‍नुहोस्‌। हामी साना केटाकेटीजस्तै नम्र हुनुपर्छ भनेर येसुले बताउनुभयो। (मत्ति १८:२-४) केटाकेटीहरू धेरै प्रश्‍न सोध्छन्‌। तपाईँले पनि प्रश्‍न सोधेको र त्यसको जवाफ पाएको परमेश्‍वर चाहनुहुन्छ। त्यसैले आफूले सिकेको कुरा सत्य हो कि होइन भनेर पक्का गर्न राम्ररी बाइबल अध्ययन गर्नुहोस्‌।—प्रेषित १७:११ पढ्‌नुहोस्‌।

२४ यहोवा परमेश्‍वरबारे सिक्ने सबैभन्दा राम्रो तरिका बाइबललाई जाँचेर हेर्नु हो। अर्को अध्यायमा हामी बाइबल अरू किताबभन्दा कसरी फरक छ भनेर बुझ्नेछौँ।

a यदि तपाईँको बाइबलमा यहोवा नाम छैन अथवा तपाईँ परमेश्‍वरको नामको अर्थ र त्यसको उच्चारणबारे थप जानकारी पाउन चाहनुहुन्छ भने नोट १ हेर्नुहोस्‌।

सारांश

एक: परमेश्‍वर को हुनुहुन्छ?

“तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो।”—प्रकाश ४:११

बाइबलले हामीलाई परमेश्‍वरबारे के सिकाउँछ?

  • प्रकाश १५:३

    उहाँ सर्वशक्‍तिमान्‌ अर्थात्‌ ब्रह्‍माण्डकै सबैभन्दा शक्‍तिशाली व्यक्‍ति हुनुहुन्छ।

  • भजन ९०:२

    उहाँ सधैँ अस्तित्वमा हुनुहुन्छ।

  • मत्ति ६:९

    परमेश्‍वर हाम्रो बुबा हुनुहुन्छ।

    उहाँ हामीले सुखी जीवन बिताएको चाहनुहुन्छ।

  • प्रेषित १७:२७

    परमेश्‍वर हामीसित नजिक हुन चाहनुहुन्छ।

दुई: परमेश्‍वरको नाम छ

“यहोवा . . . मेरो नाम सधैँका लागि यही रहनेछ।”—प्रस्थान ३:१५

परमेश्‍वरको नाम किन महत्त्वपूर्ण छ?

  • भजन ८३:१८

    परमेश्‍वरले आफ्नो नाम यहोवा हो भनेर हामीलाई बताउनुभएको छ। “परमेश्‍वर” र “प्रभु” नाम होइन। त्यो त “राजा” अनि “राष्ट्रपति”- जस्तै उपाधि मात्र हो। यहोवा परमेश्‍वर तपाईँले उहाँको नाम लिएको चाहनुहुन्छ।

  • प्रस्थान ३:१४

    उहाँको नामको अर्थ “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ” भन्‍ने हो। यहोवा परमेश्‍वरले नै सबै थोक सृष्टि गर्नुभएकोले उहाँ आफ्नो सबै प्रतिज्ञा र उद्देश्‍य पूरा गर्न सक्नुहुन्छ।

तीन: यहोवा परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ

“परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ युहन्‍ना ४:८

परमेश्‍वरले हामीलाई प्रेम गरेको कुरा कसरी देखाउनुहुन्छ?

  • प्रस्थान ३४:६; भजन ३७:२८

    उहाँ कृपालु र दयालु हुनुहुन्छ। उहाँ सत्य र न्याय मन पराउनुहुन्छ।

  • भजन ८६:५

    उहाँ क्षमाशील हुनुहुन्छ।

  • २ पत्रुस ३:९

    उहाँ हामीप्रति धीरजी हुनुहुन्छ।

  • प्रकाश १५:४

    उहाँ हामीप्रति वफादार हुनुहुन्छ।

चार: परमेश्‍वर तपाईँको ख्याल राख्नुहुन्छ

“तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७

परमेश्‍वर साँच्चै तपाईँको ख्याल राख्नुहुन्छ भनेर किन भन्‍न सक्नुहुन्छ?

  • भजन ३७:९-११

    परमेश्‍वरले दुःखकष्ट हटाउने र खराब मानिसहरूले पुऱ्‍याएका सबै हानिलाई सच्याउने प्रतिज्ञा गर्नुभएको छ।

  • याकुब ४:८

    तपाईँ यहोवा परमेश्‍वरसित नजिक भएको उहाँ चाहनुहुन्छ।

  • युहन्‍ना १७:३

    तपाईँ परमेश्‍वरबारे जति धेरै सिक्नुहुन्छ, उहाँलाई त्यति नै धेरै प्रेम गर्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने