पाठ ३७
यहोवा परमेश्वर समुएलसित बोल्नुहुन्छ
प्रधानपुजारी एलिका दुई छोरा थिए। तिनीहरूको नाम होप्नि र पिनहास थियो। तिनीहरू वासस्थानको पुजारी थिए। तिनीहरूले यहोवा परमेश्वरको नियम पालन गर्दैनथे र अरूसित नराम्रो व्यवहार गर्थे। होप्नि र पिनहास इस्राएलीहरूले बलि चढाएको मासुको सबैभन्दा राम्रो भाग लिन्थे। एलिले आफ्ना छोराहरूले के गरिरहेका छन् भनेर सुनेका थिए तर तिनले केही गरेनन्। के यहोवा परमेश्वरले यस्तो भइरहन दिनुहुने थियो?
होप्नि र पिनहासभन्दा समुएल धेरै सानो थिए तर तिनले तिनीहरूको नक्कल गरेनन्। यहोवा परमेश्वर समुएलसित खुसी हुनुहुन्थ्यो। एक रात तिनी सुतिरहेका बेला कसैले तिनको नाम लिएर बोलाएको तिनले सुने। तिनी उठेर दौडँदै एलिकहाँ गएर भने: “तपाईँले मलाई बोलाउनुभएको हो?” तर एलिले भने: “मैले तिमीलाई बोलाएको छैनँ। गएर सुत।” समुएल गएर सुते। फेरि त्यस्तै भयो। समुएलले तेस्रो पटक त्यो आवाज सुनेपछि तिनलाई बोलाउनुहुने यहोवा परमेश्वर हुनुहुन्छ भनेर एलिले बुझे। एलिले समुएललाई त्यो आवाज तिनले फेरि सुने भने ‘भन्नुहोस् यहोवा! तपाईँको सेवक सुन्दै छ’ भन्न सिकाए।
समुएल गएर सुते। तिनले फेरि “समुएल, समुएल” भनेर बोलाएको सुने। तिनले भने: ‘भन्नुहोस्, तपाईँको सेवक सुन्दै छ।’ परमेश्वरले भन्नुभयो: ‘एलिलाई भन, म तिनी र तिनको परिवारलाई सजाय दिँदै छु। किनभने तिनले छोराहरूले वासस्थानमा नराम्रो काम गरिरहेको सुनेर पनि उनीहरूलाई हप्काएका छैनन्।’ भोलिपल्ट बिहान समुएलले सदाझैँ वासस्थानका ढोकाहरू खोले। यहोवा परमेश्वरले भन्नुभएको कुरा प्रधानपुजारीलाई बताउन तिनलाई डर लागिरहेको थियो। तर एलिले समुएललाई बोलाए र सोधे: ‘बाबु, परमेश्वरले तिमीलाई के भन्नुभयो? मलाई सबै कुरा भन।’ तिनले एलिलाई सबै बताए।
समुएल हुर्कँदै गए र यहोवा परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो। उहाँले तिनलाई भविष्यवक्ता र न्यायकर्ता हुन रोज्नुभएको छ भनेर चारैतिरका इस्राएलीहरूले सुने।
“त्यसैले युवावस्थामै आफ्नो महान् सृष्टिकर्ताको सम्झना गर।”—उपदेशक १२:१