के नरक एउटा अग्निमय ठाउँ हो?
“उन्नाईसौं-साठीको दशकमा नरक गायब भयो।” यो कुरा ब्रिटिश लेखक डेविड लजले सोल्स एन्ड बडिज भन्ने आफ्नो पुस्तकमा भनेको पाउँछौं र उनका यी शब्दहरूसँग दोस्रो विश्व-युद्ध पछिका दशकहरूमा धेरै क्याथोलिक र प्रोटेस्टेन्टहरूको विचारधारा मेल खान्छ। केही समयका लागि, विभिन्न प्रमुख गिर्जाहरूले आधुनिक विचारधाराहरूसँग सहमत हुने प्रयास गर्दै, अग्निमय नरकबारे आफ्नो औपचारिक शिक्षामा जोड् दिन छाड़े।
विशेषगरी, मृत्यु पश्चात् सजाय पाउने कुरा मानिसहरूका लागि अस्वीकृत भयो, किनभने पापको परिभाषानै तिनीहरूको मनमा धमिलो भइसकेको थियो। सन् १९८४ मा, रोमका कार्डिनल रातसिङ्गरले, आफ्नो एउटा अन्तरवार्तामा एसो भने: “हाम्रो सभ्यताले . . . मानिसहरूबाट पाप अथवा दोषको चेतना हटाउने प्रयासमा ध्यान दिने गर्दछ . . . किनभने यो चेतना नै नरक र पाप मोचन गर्ने ठाउँको विश्वाससँग सम्बन्धित छ।”
मृत्यु पछि नरक अथवा पाप मोचन गर्ने ठाउँमा सजाय भोग्ने शिक्षा स्वीकार नगरीकन के आज पापको वास्तविकतामा विश्वास गर्न सम्भव छ र? आब्रेगे ड ला फ्वा केतोलिक (क्याथोलिक विश्वास सारांशमा) शीर्षक भएको एउटा हालसालैको पुस्तकको प्रस्तावनामा फ्रेन्च कार्डिनल डिकुरत्ले यो प्रश्न प्रस्तुत गरे: “के नरकमा विश्वास गर्नै पर्छ र?” जवाफ यो छ: “नरकको डरलाग्दो प्रश्नबाट भाग्न सम्भव छैन।” वेतिकन काउनसिल II—मोर पोस्टकोनसिलियर डोक्युमेन्ट्स (१९८२) मा, “परमेश्वरका मानिसहरूक क्रेडो” अन्तर्गत एसो भनिएको पाउँदछौं: “जस जसले परमेश्वरको प्रेम र अनुग्रह स्वीकारेका छन्, तिनीहरू अनन्त जीवन तर्फ जानेछन्। तर इन्कार गर्नेहरू त्यो कहिले ननिभने आगोमा पठाइनेछन्।”
यसकारण, धार्मिक विद्वानहरूले विपरीत प्रमाण दिने प्रयास गरेता पनि, अग्निमय नरकको शिक्षा अहिले सम्म क्याथोलिक धर्मको एउटा विशेष भाग रहेकै छ। तापनि, अ न्यु डिक्शनेरी अफ क्रिश्चियन थियोलोजी (१९८३) मा, अनन्त सन्ताप भोग्ने शिक्षाले गर्दा मसीही जगतका गिर्जाहरूका धेरै मानिसहरूले आज अनुभव गर्नु परेको “लाज” र “अपठ्यारोपनाको” चर्चा गरिएको छ। प्रेमको परमेश्वरको धारणालाई नरकको यो शिक्षासँग मेल गराउन तिनीहरूलाई गाह्रो भइरहेछ। तिनीहरू सोंच्दछन्: ‘के एउटा अग्निमय नरकको शिक्षा वास्तवमा एउटा मसीही र शास्त्रमा आधारित शिक्षा हो र? होइन भने, यो शिक्षाको शुरूआत कहाँबाट भयो?’ (w89 10/1)