शान्ति कतिको सम्भव छ?
अखबारहरूमा मुख्य समाचारका शिर्षकहरू जे भएता पनि, वास्तविक शान्तिबाट मानवजाति अहिले धेरैनै टाढ़ा छ भन्ने साँचो कुरा हामी सबैलाई थाह छ। विदेशी फौज अफगानिस्तानबाट हटेर गएता पनि, त्यस देशमा शान्ति आएको छैन। फिलिपिन, सुडान, इस्राएल, उत्तरी आएरलैन्ड, लेबनन, र श्री लङ्का इत्यादि ठाउँमा कुनै नकुनै प्रकारको कलह चलिनै रहेको छ।
धेरै जसो मानिसहरूले शान्ति रूचाए तापनि, शान्ति किन हामीबाट यसरी टाढ़ा भागि रहेछ? राजनीतिज्ञहरूले कैयों शताब्दी देखिन् अनेक प्रकारले शान्ति ल्याउने प्रयास गरिरहेका छन्, तरपनि तिनीहरूका प्रयत्नहरू सँधै असफल भएका छन्। किन? केही उदाहरणहरू हेरौं र बुझने प्रयास गरौं।
धर्म र व्यवस्था द्वारा शान्ति
कसै कसैको दृष्टिमा, रोमी साम्राज्यले शान्ति ल्याउने एउटा सफल प्रयास गरेको थियो। त्यसको अधीनमा, स्थापित नियमहरू, लचिलो प्रशासन, बलियो सैन्य शक्ति र व्यवस्थित बाटो-घाटो, सबै मिलेको हुनाकारण, कैयौं शताब्दीसम्म रोमी साम्राज्यले पश्चिमी एशिया, अफ्रिका, र युरोपको एउटा ठूलो भागमा अन्तर्राष्ट्रिय स्थायित्व कायम राख्न सकेको थियो, र यसलाई प्याक्स रोमाना (रोमी शान्ति) भनिन्छ। तथापि, अन्तत्वगत्वा, रोमी साम्राज्य आन्तरिक भ्रष्टाचार, र वाह्य आक्रमणको शिकार भयो र अन्तमा रोमी शान्तिको ह्रास भयो।
मानव प्रयत्नको यो एउटा विषादपूर्ण सत्यताको उदाहरण हो। शुरूमा आशामुखी भएता पनि, अक्सर त्यसको विकृति हुँदै जान्छ। परमेश्वर आफैले भन्नुभयो: “मानिसको हृदयका विचार बालक देखिनै खराब हुन्छ,” र यो खराब प्रवृत्ति पछि बढ़दै जान्छ। (उत्पत्ति ८:२१) अझै, अगमवक्ता यर्मियाले भने: “मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्नसक्छ र?” (यर्मिया १७:९) मानव वारे केही भन्न सकिंदैन। एक व्यक्तिको राम्रा अभिप्रायहरूलाई अर्को व्यक्तिको ईष्या र स्वार्थपूर्ण महत्वाकांक्षाले भ्रष्ट पारि दिन सक्दछ; अथवा उच्च सिद्धान्त भएको एउटा शासक आफै भ्रष्ट हुनसक्दछ। यी सबै कारणले गर्दा, मानवले शान्ति ल्याउन कसरी सक्छ होला र?
सा. यु. पू. तेस्रो शताब्दीमा, भारतीय महाद्वीपमा शान्ति कायम गर्ने एउटा असाधारण प्रयास गरिएको थियो। त्यहाँ, अशोक नाउँ भएका एउटा शक्तिशाली शासकले युद्ध र रक्त-पात द्वारा एउटा विशाल साम्राज्य कायम गरेका थिए। पछि, लेखोट अनुसार, तिनले बौद्ध धर्म स्वीकार गरे। तिनले युद्ध त्यागे र आफ्ना प्रजाहरूले असल जीवन यापन गर्ने मद्दत पाऊन् भनेर राज्यभरि स्तम्भहरू खड़ा गरे जसमा उपदेशका असल वचनहरू खोपेका हुन्थिए। देख्नमा, तिनको साम्राज्य शान्तिमय र समृद्धशाली थियो।
के अशोकले अपनाएको मार्ग शान्तिको मार्ग हो? दु:खका साथ भन्नुपर्छ, होइन। सम्राटको मृत्यु पश्चात्, उनको शान्ति पनि उनका साथै मरेर गयो र उनको साम्राज्य ध्वस्त भयो। यसबाट यो प्रदर्शित हुन्छ कि एउटा राम्रो मनसाय र योग्य शासकको प्रयास अन्तत्वगत्वा विफल भएर जान्छ किनभने उ आखिरमा मर्नु पर्छ। उपदेशकका लेखकले यस समस्या बारे यसरी लेखेका छन्: “मैले गरेका मेरो सबै परिश्रम र मेहनतलाई मैले घृणा गर्नलागें किनभने मैले त्यसको फल मेरो उत्तराधिकारीको निम्ति छोड़िराख्नु पर्छ। त्यो बुद्धिमान हुने हो कि मूर्ख हुने हो कसलाई थाह छ र? तापनि संसारमा मेरा सबै परिश्रम र निपुणताको फल त्यसैले पाउनेछ। यो पनि व्यर्थ हो।”—उपदेशक २:१८, १९.
हो, मानिसको मरणशीलता, उसको शान्ति प्रयासमा एउटा दुस्तर बाधा हो। यस विषयमा भजनसंग्रहका लेखकको यो सल्लाह बुद्धिमत्तापूर्ण छ: “राजाहरूमाथि तँ भरोसा नगर्, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्तिहरू नष्ट भइहाल्छन्।”—भजनसंग्रह १४६:३, ४.
शान्तिकालागि अझै प्रयासहरू
शान्तिकालागि मानव कोशिशहरू असफल हुने कारण, अन्य मानव प्रयासहरू द्वारा पनि प्रदर्शित भएकाछन्। उदाहरणकालागि, १० वाँ शताब्दीमा, युरोपमा परमेश्वरको शान्ति नाउँ भएको एउटा आन्दोलन शुरू गरिएको थियो। गिर्जाका सम्पत्तिहरूको रक्षा गर्ने उद्देश्यले गरिएको यो कार्यक्रम, आक्रमण नगर्ने एउटा समझौताको रूपमा विकशित भयो र १२ वाँ शताब्दीको मध्यसम्ममा यो आन्दोलन युरोपको धेरै भागमा फैलिसकेको थियो।
“शक्ति संतुलन” भन्ने अर्को एउटा विचार छ। यस नीतिलाई अनुसरण गरेर, युरोप जस्ता राष्ट्रहरूका समूहले—राष्ट्रहरू बीच शक्ति संतुलन कायम गरेर युद्धलाई हतोत्साहित पार्दछ। एउटा बलियो राष्ट्रले अर्को कमजोर राष्ट्रलाई थिचो-मिचो गर्न खोजेको खण्डमा, अर्को बलियो राष्ट्रले कमजोर राष्ट्रलाई साथ दिएर आक्रमणकारी हुन खोज्ने राष्ट्रलाई निरूत्साहित पार्दछ। नेपोलियनको समयको युद्धहरूको अन्त देखि १९१४ को प्रथम विश्वयुद्धको समयसम्म यस नीतिले युरोपलाई निर्देशित गरेको थियो।
प्रथम विश्व-युद्ध पछि, आपसी मतभेदको कारण युद्ध गर्नुको सट्टा, ती भिन्नताहरूलाई छलफल द्वारा मिलाउने उद्देश्य लिएर, लीग आफ नेशन्सको स्थापना भयो। दोस्रो विश्वयुद्ध शुरू भए पछि, त्यो लीग आफ नेशन्सले काम गर्न छाड्यो, तर युद्ध पछि, सोही भावनाका साथ संयुक्त राष्ट्र सङ्घको पुनर्स्थापन गरियो, जसको अस्तित्व अहिले सम्म छँदै छ।
तथापि, यी सारा प्रयत्नहरूले वास्तविक अथवा स्थायी शान्ति ल्याउन सकेको छैन। परमेश्वरको शान्ति भन्ने आन्दोलन युरोपमा हुँदाहुँदै, युरोपेलीहरूले मुसलमानहरूसित रक्तपातपूर्ण क्रुसेड्स कहलिने लड़ाइँ लड़े। र शक्ति संतुलनको माध्यम द्वारा युरोपमा शान्ति कायम राख्न राजनीतिज्ञहरूको प्रयास एकातिर थियो भने, अर्कोतिर आफ्नो साम्राज्य स्थापित गर्न, तिनीहरू युरोप बाहिरका देशहरूमा युद्ध गरिरहेका थिए। लीग आफ नेशन्सले दोस्रो विश्वयुद्ध रोक्न सकेन, र संयुक्त राष्ट्र सङ्घले कम्पुचियामा भएको विभत्स हत्या अथवा कोरिया, नाइजेरिया, भियतनाम, र जायर जस्ता ठाउँहरूमा भइ रहेका द्वन्दहरूलाई रोक्न सकेको छैन।
हो, शान्ति ल्याउन राजनीतिज्ञहरूका सारा असल प्रयासहरू आजसम्म विफल भएका छन्। स्थायी शान्ति कसरी ल्याउने हो सो कुरा शासकहरू जान्दै जान्दैनन्, किनकि तिनको मरणशीलता र आफ्नो र अरूहरूमा हुने मानवीय कमजोरीहरूले यस कुरामा बाधा दिन्छ। तथापि, त्यसो नभएता पनि, राजनीतिज्ञहरूले शान्ति ल्याउन सक्ने थिएनन्। किन? किनभने अर्को एउटा साँच्चीकै विकट बाधा छ।
लुकेर बसेको एउटा शक्तिले शान्ति ल्याउनै दिंदैन
यस बाधाबारे बाइबलले यसरी भन्दछ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) त्यो दुष्ट, शैतान अथवा दियाबल हो, जो हामी भन्दा धेरैनै बलियो एउटा आत्मिक प्राणी हो। शुरू देखिनै, शैतान विद्रोह, झूट, र हत्यामा सामेल छ। (उत्पत्ति ३:१-६; यूहन्ना ८:४४) सांसारिक गतिविधिमाथि त्यसको शक्तिशाली प्रभाव सबैले देख्न नसकेता पनि, अन्य प्रेरित भाष्यकारहरूले त्यस प्रभावको अस्तित्वलाई स्वीकारेका छन्। पावलले त्यसलाई “यस संसारको देव” “आकाशको शक्तिको मालिक” भनेर सम्बोधन गरे। (२ कोरिन्थी ४:४; एफिसी २:२) येशूले एक पटक भन्दा बढ़ी त्यसलाई “यस संसारको मालिक” भन्नुभएको छ।—यूहन्ना १२:३१; १४:३०; १६:११.
संसार शैतानको शक्तिको अधीनमा परेको हुनाले, मानव राजनीतिज्ञहरूले स्थायी शान्ति ल्याउन सक्ने कुनै सम्भावनानै छैन। त्यसको अर्थ, के उसो भए शान्ति कहिले आउने छैन? के कसैले मानवजातिलाई शान्तिको बाटोमा हिड़ाउँन सक्नेछ? (w90 4/1)
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
कुनै शासक जति नै सिद्धान्तवादी र बुद्धिमान भएतापनि, तिनी अन्तत्वगत्वा मर्दछन् र अकसर तिनको ठाउँमा तिनी भन्दा कम योग्यता भएका र सिद्धान्तलाई त्यतिको मान्यता न दिने प्रकारका मानिसहरू आउँदछन्
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
शान्ति ल्याउने मार्गमा सबै भन्दा ठूलो एउटा रूकावट दियाबल अथवा शैतान हो