बाइबलको युगमा जवान सेवकहरू
परमेश्वरको सेवालाई विशेष महत्त्व दिने थुप्रै जवान व्यक्तिहरूबारे बाइबलमा चर्चा गरिएको छ र तिनीहरूले सो गरेकोमा प्रशस्त आशिष पाए। हामी जवान अथवा बूढ़ा सबैले नै, बाइबलमा पाइने यी असल उदाहरणहरूबाट धेरै प्रोत्साहन पाउन सक्छौं।
यूसुफलाई मिश्रमा दास तुल्याएर बेची दिंदा, तिनी केवल १७ वर्षका थिए। त्यहाँ, आफ्नो परिवारबाट धेरै टाढ़ा, आफूलाई चिन्ने कोही नभएतापनि, यूसुफले आफ्नो समग्रता कायम राखे। पोतिफरकी पत्नीले युसूफलाई फकाउने कोशिश गर्दा, तिनले एसो भने: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?” महान फिरऊन, त्यसबेलाका सबै भन्दा शक्तिशाली राजाका अगाड़ि पनि फिरऊनका सपनाहरूको अर्थ खोल्न सकेकोमा, यूसुफले श्रेय परमेश्वरलाईनै दिए। तिनले प्रशस्त आशिष पाए। मिश्रीहरू र आफ्नो परिवारलाई अनिकालमा मर्न देखिन् र आफ्नो पिता र पिताका घरानालाई मिश्रमा ल्याउन परमेश्वरले तिनलाई प्रयोग गर्नुभयो।—उत्पत्ति ३७:२; ३९:७-९; ४१:१५, १६, ३२.
युवावस्थामा मोशा र अन्य विश्वासीहरू
फिरऊनकी छोरीले मोशालाई आफ्नै बच्चा सरह अपनाइन् तर मोशाका आमा र बाबुले तिनलाई साँचो परमेश्वरको बारेमा सिकाउन सके। बाइबल भन्दछ, जब मोशा हुर्के, तिनले “फिरऊनकी छोरीको छोरा कहलिनालाई इन्कार गरे। केही समयसम्म पापको सुख भोग्नभन्दा बरू परमेश्वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे।” परमेश्वरले आफ्ना जनलाई मिश्रबाट बाहिर निकाल्नमा, सीनै पर्वतमा व्यवस्था दिनमा र बाइबलको एउटा प्रमुख भाग लेखाउने काममा मोशाको प्रयोग गर्नु भयो। तपाईं जुनसुकै उमेरको हुनु भएतापनि, के तपाईंले मोशाले झैं, परमेश्वरको सेवा गर्ने दृढ़ता आफूमा बढ़ाउनु हुँदैछ?—हिब्रू ११:२३-२९; प्रस्थान २:१-१०.
परमेश्वरको व्यवस्था इस्राएललाई पढ़ेर सुनाइन्दा, सुन्ने व्यक्तिहरू मध्य राष्ट्रका सबै जनासँग “साना बालकहरू [न्यु. व.]” पनि थिए भनेर शास्त्रले बताउँदछ। (व्यवस्था ३१:१०-१३) नहेम्याहको समयमा “कुरा बुझ्न सक्ने सबैजना” “बिहानदेखि मध्यदिनसम्म” व्यवस्था सुन्न उभिनै रहे। (नहेम्याह ८:१-८) सानाहरूले सबै कुरा नबुझेतापनि, यहोवा परमेश्वरलाई तिनीहरूले प्रेम गर्नु पर्दछ र उहाँको उपासना र आज्ञा पालन गर्नु पर्छ भन्ने कुराको मूल्याङ्कन गर्न सक्थे। तपाईं जुनसुकै उमेरको भएतापनि, जिल्ला र अन्य अरू सम्मेलनहरूमा परमेश्वरको वचनको छलफल हुँदा, के तपाईं ध्यान दिएर सुन्नुहुन्छ? ती जवान इस्राएलीहरूले झैं, के तपाईंले पनि, ईश्वरको आज्ञा पालन गर्ने महत्व सिक्नु भएको छ?
दाऊद, योशियाह, र यर्मिया
आठ भाइहरूमा सबैभन्दा कान्छो, दाऊदलाई परमेश्वरले विशेष सेवाका लागि रोज्नु भयो र तिनको विषयमा एसो भन्नुभयो: “मैले यस्सीको छोरो दाऊदलाई मेरो हृदय अनुसारको एउटा मानिस पाएँ, जसले मेरो सबै इच्छा पूरा गर्नेछ।” परमेश्वरले तिनलाई उहाँका जनहरूको “गोठालो” हुन रोज्नु भयो र दाऊदले यहोवाका लागि धेरै वर्षसम्म आफ्नो प्रेम प्रकट गर्दै, त्यो सेवा पूरा गरे। तिनले भजनसंग्रहका ७० भन्दा बढ़ी भजनहरू लेखे र येशू ख्रीष्टका पुर्खा पनि भए। तपाईं जवान वा वृद्ध, जे हुनु भएतापनि, के तपाईं दाऊदले झैं परमेश्वरका मार्गहरूको मूल्याङ्कन गर्नुहुन्छ, र दाऊदले झैं, तपाईं पनि परमेश्वरले इच्छा गर्नुभएका कामहरू गर्नुहुन्छ?—प्रेरित १३:२२; भजन ७८:७०, ७१; १ शमूएल १६:१०, ११; लूका ३:२३, ३१.
योशियाह केवल आठ वर्षका हुँदा तिनी राजा भए। लगभग १५ वर्षको उमेर देखिन्, तिनी “बालक छँदा नै तिनले आफ्नो पुर्खा दाऊदका परमेश्वरको अगुवाइ खोज्न शुरू गरे।” २० वर्ष नपुग्दै तिनले झूटो उपासनाको विरुद्धमा अभियान चलाए। पछि, तिनले मन्दिरको मर्मत गरे र देशमा पवित्र उपासनाको पुनःस्थापना गरे। हामी पढ्छौं: “तिनी बाँचुञ्जेल [यहोवा न्यु. व.] परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको भक्ति गर्नदेखि तिनी तर्केनन्।” हामी सबैजना योशियाह जस्तै राजा त हुन सक्दैनौं तर जुनसुकै उमेरका भएतापनि हामी पनि परमेश्वरको सेवा गर्न सक्छौं र झूटो उपासना विरुद्ध दृढ़तापूर्वक खड़ा हुनसक्छौं।—२ इतिहास ३४:३, ८, ३३.
सर्वशक्तिमान परमेश्वरले यर्मियालाई भन्नुभयो: “मैले तँलाई गर्भमा रच्नभन्दा अघिनै तँलाई चिनिसकेको थिएँ, तँ जन्मन भन्दा अघिनै मैले तँलाई अलग गरें। मैले तँलाई जाति जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।” अगमवक्ता हुनका लागि अहिले सानै छु भन्दै यर्मियाले आपत्ति जनाए: “हे परमप्रभु [यहोवा, न्यु.व.] हेर्नुहोस्, मता बोल्नै जान्दिन, किनभने मता बच्चै छु।” यहोवाले प्रत्युत्तरमा एसो भन्नु भयो: “मता बच्चै छु, भनी नभन किनभने जसकहाँ म तँलाई पठाउनेछु ती सबैकहाँ तँ जानैपर्छ। औ जे जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्नैपर्छ।” ४० वर्षभन्दा बढ़ी समयका लागि यर्मियाले त्यसै गरे, र तिनले त्यो काम छाड़ने इच्छा गर्दा पनि, छाड़न सकेनन्। परमेश्वरको वचन तिनको “हृदयमा जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै भयो।” तिनी नबोलीकन बस्नै सकेनन्! तपाईंको उमेर जे भएतापनि, के तपाईं यर्मियाले गरे जस्तै आफ्नो विश्वासको विकास गर्दै हुनुहुन्छ र तिनले गरे झैं, के तपाईं पनि निरन्तर परमेश्वरको सेवामा अघि बढ़नु हुँदैछ?—यर्मिया १:४-८; २०:९.
दानियल, येशू, र तिमोथी
के तपाईंले दानियल बारे सुन्नुभएको छैन र? तिनी सम्भवतः २० वर्ष नपुग्दै, अरू “केटाकेटीहरू” सँग कैदी भएर, शक्तिशाली बाबेलका राजा नबूकदनेसरको दरबारमा लगिएका थिए। दानियल युवावस्थामा भएतापनि, तिनले परमेश्वरका आज्ञा मान्ने निश्चय गरेका थिए। दानियल अनि तिनका संगीहरूले परमेश्वरका व्यवस्था उल्लङ्घन हुने या मूर्तिपूजकहरूको धार्मिक रीतिले बिटुलिएका आहार खाएर आफूलाई दूषित पार्न इन्कार गरे। ८० वर्ष भन्दा बढी अवधिसम्म दानियल कहिल्यै डगमगाएनन् र सिंहको खोरमा फालिने खतराको सामुन्ने पनि तिनले आफ्नो समग्रता कायम राख्दै, परमेश्वरलाई प्रार्थना गर्न छाड़ेनन्। के तपाईंले परमेश्वरलाई चढ़ाउनुहुने सेवा र प्रार्थनाहरूलाई त्यत्ति कै महत्त्वपूर्ण ठान्नु हुन्छ? ठान्नुपर्ने हो।—दानियल १:३, ४, ८; ६:१०, १६, २२.
१२ वर्षको उमेरमा, येशूलाई “मन्दिरमा शिक्षकहरूको बीच सुन्दै र सोद्धै गरिरहनुभएको भेट्टाए” र उहाँलाई “सुन्नेहरू सबै उहाँको समझ र जवाफहरूमा छक्क” परे। मन्दिरमा पाका मानिसहरूका शास्त्रीय छलफलमा के तपाईंले पनि, येशूले झैं, चासो लिनु हुनेथियो? तपाईंको समझ र जवाफहरू देखेर, के अरूहरू चकित हुनेथिए होलान्? आज पनि, लगनशीलता साथ अध्ययन गर्ने, ध्यानपूर्वक सुन्ने र मसीही सभाहरूमा भाग लिने जवान मानिसहरू छन् जसको शास्त्रीय ज्ञान पाकाहरूको भन्दा बढ़ी छ।—लूका २:४२, ४६, ४७.
के तपाईं बाल्यकालदेखि नै “पवित्र लेखोटहरू” सिखाइएका तिमोथी जस्तै हुनुहुन्छ? तिनी जवान मानिस छँदा, कमसेकम दुई मण्डलीका भाइहरू बीच तिमोथीको “असल नाउँ चलेको थियो।” प्रेरित पावलले तिमोथीलाई आफूसँग यात्रा गर्नका लागि रोजे। पावलको भारी बोक्नका लागि होइन, तर अरूहरूलाई सिकाउने काममा पावललाई मदद दिनका निम्ति। यस प्रकारको विशेषाधिकारका लागि के तपाईं रोजिनु हुन्थ्यो होला? के तपाईंको पनि, आफ्नो मण्डलीमा मात्र नभएर अरू मण्डलीहरूमा समेत “असल नाउँ चलेको” छ?—२तिमोथी ३:१५; प्रेरित १६:१-४.
तपाईं कस्तो प्रकारको भविष्य चाहनुहुन्छ?
के आज जवान मानिसहरूलाई, यूसुफ, मोशा, दाऊद र अरूहरू जस्ता विश्वासी हुन सम्भव छ? सम्भव छ। हो, आज धेरै जवान मानिसहरू केवल रमाइलो मात्र गर्न चाहन्छन्। तर अरू जवान मानिसहरूले परमेश्वरलाई चिन्न र उहाँको इच्छा सिक्ने काममा आफ्नो जवानीलाई बुद्धिमानीसाथ प्रयोग गरिरहेका छन्। यिनीहरूले बाइबलको यो भविष्यवाणीलाई पूरा गर्छन्: “तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्। . . . तिम्रा जवान मानिसहरूको समुदाय शीतजस्तै छ।”—भजन ११०:३.
यस्ता जवान व्यक्तिहरूले आफ्नो उमेरकाहरूको भन्दा बढ्ता बुद्धि दर्शाउँछन्, कारण परमेश्वरले तिनीहरूको वर्तमान जीवन सफल पारिदिन सक्नु हुन्छ साथै आउनै लागेको नयाँ संसारमा एउटा उज्ज्वल भविष्य प्रदान गर्नसक्नु हुन्छ। (१ तिमोथी ४:८) तर, एक जना आधुनिक जवान मानिसले बाइबलमा उल्लेखित जवान मानिसहरू जस्तै विश्वास कसरी बढ़ाउन सक्दछ? तपाईं जान्न इच्छुक हुनुहुन्छ भने, “यहोवाको सेवामा आनन्दित जवानहरू” भन्ने लेख पढ्न हामी तपाईंलाई निम्त्याउँद छौं। यो लेख, यस पत्रिकाको पृष्ठ २७ देखिन् शुरू हुन्छ। (w90 8/1)
[पृष्ठ ५-मा भएको चित्र]
जवान मोशा मिश्रको सम्पत्तिले लोभिएनन्
जवान दाऊद परमेश्वरको हृदयलाई मनपर्दा थिए
[पृष्ठ ६-मा भएको चित्र]
यर्मिया आफ्नो नजरमा “बच्चै” भएतापनि, तिनले साहसपूर्वक मानिसहरूलाई अप्रिय लाग्ने एउटा समाचारको प्रचार गरे
१२ वर्षको उमेरमा, येशूले आफू भन्दा पाकाहरूलाई परमेश्वरको वचनको आफ्नो ज्ञानद्वारा चकित पार्नुभयो
[पृष्ठ ७-मा भएको चित्र]
इस्राएलमा परमेश्वरको व्यवस्था पढ़ेर सुनाइन्दा, साना बच्चाहरूले पनि सुन्ने गर्थे। के तपाईं पनि त्यसरी सुन्नुहुन्छ?