प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 २/१ pp. २२-२५
  • खुल्लमखुल्ला र घरघरमा सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खुल्लमखुल्ला र घरघरमा सिकाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रेरितहरूले अपनाएको तरिका
  • त्यसको निम्ति अरू कुनै विकल्प छैन
  • प्राचीनहरूले अगुवाइ लिनु पर्दछ
  • सबै जना नै साक्षी हुन्‌
  • घर-घरको साक्षीकार्य
    हाम्रो राज्य सेवकाई—२००६
  • घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • ढिलासुस्ती नगरिकन घर घरको सेवकाई गर्ने
    हाम्रो राज्य सेवकाई—१९९४
  • विस्तृत साक्षी दिन कटिबद्ध हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 २/१ pp. २२-२५

खुल्लमखुल्ला र घरघरमा सिकाउनुहोस्‌

“तपाईंहरूलाई खुल्लमखुल्ला र घरघरमा सिकाउनालाई . . . म हच्किन।” —प्रेरित २०:२०, “बायिंङ्‌गटन्‌.”

१. यहोवाका साक्षीहरूले घर-घरमा गएर गर्ने सेवकाईको प्रभावकारिताबारे, एक जना क्याथोलिक पादरीले के टिप्पणी गरे?

“क्याथोलिकहरू सुसमाचार लिएर ढोका-ढोकामा जान्छन्‌।” अक्‍तुबर ४, १९८७ को दी प्रोभिडेन्स सन्डे जर्नलमा यो एउटा मुख्य खबरको रूपमा छापिएको थियो। यो गतिविधिको एउटा मुख्य उद्देश्‍य “आफ्नो गिर्जाका केही निष्कृय सदस्यहरूलाई गिर्जाको कामकुरोमा अझ क्रियाशीलता साथ पुनःभाग लिन लगाउनु थियो।” अफिस फर इवेन्जलाइजेशन इन दी डायोसिज अफ प्रविडेन्सका [ईश्‍वरीय निर्देशनको प्रशासनीय विभाग अन्तर्गत धर्म-प्रचारको कार्यालयका] निर्देशक पादरी जोन एलार्डले एसो भनेका थिए भनी उद्धृत गरिएको थियो: “निश्‍चय नै, यो विषय विवादास्पद हुनेछ। मानिसहरूले भन्‍नेछन्‌, ‘लौ हेर, यिनीहरू पनि यहोवाका साक्षीहरू झैं हिंड्‌न थाले।’ तर यहोवाका साक्षीहरू प्रभावशाली छन्‌, होइन र? तपाईं यस प्रान्तको [रोड्‌ आइलैण्ड, संयुक्‍त राष्ट्र अमेरिका] जुन सुकै राज्य-सभागृहमा जानु भयो भने, त्यहाँका मण्डलीहरूमा भूत-पूर्व क्याथोलिकहरूले भरिभराउ भएको पाउनु हुनेछ भनी म बाजी लगाएर भन्‍न सक्‍तछु।”

२. कुन प्रश्‍न उठाउनु उचित छ?

२ हो, घर-घरमा गएर प्रभावशाली ढङ्‌गमा प्रचार गर्ने कामका निम्ति यहोवाका साक्षीहरू प्रसिद्ध छन्‌। तर तिनीहरू घर-घर किन जाने गर्छन्‌?

प्रेरितहरूले अपनाएको तरिका

३. (क) येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई कुन जिम्मावारी दिनु भयो? (ख) ख्रीष्टका प्रारम्भिक अनुयायीहरूले तिनीहरूको यो जिम्मावारी कुन मुख्य ढङ्‌गले पूरा गरे?

३ येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यो अर्थपूर्ण जिम्मावारी दिनु भयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगतको अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०) यो काम पूरा हुने प्रमुख ढङ्‌ग सा. यु. ३३ सालको पेन्तीकोसको दिन पछि तुरुन्तै प्रत्यक्ष भयो। “औ दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेनन्‌।” (प्रेरित ५:४२) केही २० वर्ष पश्‍चात्‌, प्रेरित पावल घर-घर गएर प्रचार गरिरहेका थिए किनकि तिनले एफिसस शहरका मसीही प्राचीनहरूलाई यस कुराको सम्झना गराए: “कसरी तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूलाई देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन . . . म पछि हटिनँ।”—प्रेरित्‌ २०:२०.

४. प्रेरित ५:४२ र प्रेरित २०:२० को अर्थ येशूका चेलाहरूले घर-घरमा गएर प्रचार गर्द थिए भनी हामी किन भन्‍न सक्‍तछौं?

४ प्रेरित्‌ ५:४२ मा, “घर-घर” भन्‍ने शब्दहरू, काट-ओइ-कोन बाट अनुवाद गरिएका हुन्‌। यहाँ का-टा शब्द व्याकरणको विभक्‍ति भावसाथ प्रयोग गरिएको छ। यसकारण, चेलाहरूको प्रचारको काम एउटा घर देखिन्‌ अर्को घरमा विभक्‍त थियो। रेन्डोल्फ ओ. यिगरले, प्रेरित २०:२० बारे टिप्पणी गर्दा लेखे, कि पावलले “आम सम्मेलनहरू [डेमोस्या] र एउटा घर देखिन्‌ अर्को घर (विभक्‍त र कर्मकारक, दुवै भावमा प्रयोग गरिएको [का-टा]) जाँदै शिक्षा दिए। पावलले एफिससमा तीन वर्ष बिताएका थिए। तिनी प्रत्येक घरमा गएका थिए अथवा कमसेकम त्यहाँ भएका सबै जनालाई प्रचार गरेका थिए (२६ वाँ पद)। घर-घर गएर साथै आम सभाहरूमा सुसमाचार सुनाउने कामका निम्ति यो एउटा शास्त्रीय आधार हो।”

५. प्रेरित २०:२० मा, पावलले प्राचीनहरूलाई सामाजिक भेट-घाट अथवा मण्डलीका सदस्यहरूको हेर-चाह गर्न जाने विषयलाई मात्र किन सङ्‌केत गरेको हुन सक्‍तैन?

५ का-टा शब्द यसै प्रकार प्रयोग गरिएको हामी लूका ८:१ मा पाउँदछौं जहाँ येशूले “शहर शहर र गाउँ गाउँ हुँदो” प्रचार गर्नु भएको चर्चा गरिएको छ। पावलले प्रेरित्‌ २०:२० मा काट-ओइ-कुस्‌ शब्दको बहुवचन प्रयोग गरे। यस ठाउँमा, बाइबलका कुनै कुनै अनुवादमा “तपाईंका घरहरूमा” भनेर लेखिएको छ। तर यहाँ प्रेरितले प्राचीनहरूसँग भेट्‌घाट गर्न गएका अथवा सङ्‌गी विश्‍वासीहरूको हेर-विचार गर्न तिनीहरूका घरहरूमा गएको कुरालाई मात्र सङ्‌केत गरेका थिएनन्‌। तिनले यस पछि भनेका शब्दहरूबाट प्रष्ट हुन्छ कि अविश्‍वासीहरूका माझमा, घर-घर गएर प्रचार गर्ने विषयमा तिनी कुरा गरिरहेका थिए, किनभने तिनले एसो भने: “यहूदीहरूलाई र ग्रीकहरूलाई समेत परमेश्‍वरतिरको पश्‍चातापको, र हाम्रा प्रभु येशू ख्रीष्टको विश्‍वासको साक्षी दिनालाई म पछि हटिनँ।” (प्रेरित २०:२१) सङ्‌गी विश्‍वासीहरूले त पश्‍चाताप गरेर येशूमा विश्‍वास गरी सकेका थिए। यसकारण, प्रेरित ५:४२ र प्रेरित २०:२०, दुवैमा उल्लेखित्‌ कुरा, “घर-घर” अथवा ढोका-ढोकामा गएर विश्‍वास नगर्नेहरूलाई प्रचार गर्ने विषयसँग सम्बन्धित्‌ छ।

त्यसको निम्ति अरू कुनै विकल्प छैन

६. एफिससमा पावलले गरेको प्रचारको प्रकृतिबारे के भनिएको छ?

६ प्रेरित २०:२० मा पावलका शब्दहरूबारे टिप्पणी गर्दै, १८४४ मा एबिएल आबट लिवरमोरले यस प्रकार लेखे: “तिनले आम-सभाहरूमा विवाद गरेर मात्र सन्तोष मान्दै, प्रचारका अरू प्रणालीहरूलाई अनावश्‍यक ठानेनन्‌। तर जोशका साथ, घर-घर जाँदै, तिनले व्यक्‍तिगत रूपमा आफ्नो महान कार्यको पिछा गरी रहे र ईश्‍वरीय सच्चाइ एफिसीहरूका हृदय र घर-आँगनसम्मै पुर्‌याइ दिए।” हालसालैमा, यो देखिएको छ कि: “घर-घरमा गएर सुसमाचार फैलाउने काम सुरू देखिन्‌ नै प्रथम शताब्दीका मसीहीहरूको विशेषता थियो (प्रेरित २:४६; ५:४२ सँग तुलना गर्नु होस्‌). . . . एफिसस्‌का दुवै यहूदीहरू र अन्यजातिका मानिसहरू प्रति पावलले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरेका थिए र तिनीहरू आफ्नो पापी अवस्थामै मरेको खण्डमा, तिनीहरूलाई बहाना गर्ने ठाउँ थिएन।”—दी वेजलियन बाइबल कमेन्ट्री, वल्युम ४, ६४२-३ पृष्ठहरू.

७. घर-घरमा गएर यहोवाका साक्षीहरूले गर्ने सेवकाईका काम परमेश्‍वरको सामुन्‍ने स्वीकार्य छ भनी किन भन्‍न सकिन्छ?

७ सुसमाचारको घोषणा गर्ने सिलसिलामा, आम-भाषणहरूको आफ्नै ठाउँ छ तर ढोकामा गएर स्थापित गर्न सकिने व्यक्‍तिगत सम्पर्कको ठाउँ त्यसले लिन सक्‍तैन। यस सम्बन्धमा, विद्वान जोसेफ एडिसन एलेक्जेन्डरले भने: “गिर्जाबाट र घरभित्र गरिने प्रचारको ठाउँ लिन सक्ने अथवा त्यसको प्रभावसँग प्रतियोगिता गर्न सक्ने अरू कुनै उपायको गिर्जाले आजसम्म आविष्कार गर्न सकेको छैन।” शास्त्री ओ. ए. हिलले भने झैं: “खुल्लमखुल्ला आम शिक्षा दिन र घर-घरमा शिक्षा दिन, दुवै एक साथ गर्नु पर्दछ।” यहोवाका साक्षीहरूले तिनीहरूका साप्ताहिक सभाहरूमा हुने छलफल द्वारा शिक्षा प्रदान गर्दछन्‌। साथै, घर-घरमा गएर बाइबलका सच्चाइहरू फैलाउन प्रेरितहरूले अपनाएको तरिका एउटा प्रभावशाली तरिका हो भनी तिनीहरूसँग स्पष्ट प्रमाण छ। र यहोवाले निश्‍चय नै यसको अनुमोदन गर्नु हुन्छ किनकि यस प्रकारको सेवकाई द्वारा, उहाँले प्रत्येक साल आफ्नो उच्च उपासना तर्फ हजारौंलाई ओइरिन लगाउनु हुँदैछ।—यशैया २:१-४; ६०:८, २२.

८. (क) घर-घर गएर प्रचार गर्ने काम प्रभावशाली भएको कारणबारे के भनिएको छ? (ख) मानिसहरूको ढोका-ढोकामा र अरू अन्य ढङ्‌ग द्वारा साक्षी दिने काममा, यहोवाका साक्षीहरूलाई पावलसँग किन तुलना गर्न सकिन्छ?

८ एउटा अर्को आधिकारिक स्रोतले एसो भनेको छ: “मानिसहरूलाई गिर्जामा भन्दा आफ्नो घरको ढोकामा पाएको शिक्षा याद राख्न सजिलो लाग्छ।” र पावल पनि, एक जना प्रचारकका लागि असल उदाहरण कायम गर्दै, नियमित रूपमा, मानिसहरूको ढोका-ढोकामा जान्‌ थिए। “सभाघरहरूमा र बजारमा गरिएको छलफलसँग तिनी सन्तोष मान्दैन थिए। तिनी जहिले पनि ‘घर-घ’र गएर ‘शिक्षा’ दिने गर्द थिए। मानिसहरूलाई ख्रीष्टको पक्षमा जितेर ल्याउनका लागि, तिनले एफिससमा घर-घर गएर, हाता-हाती, मुखा-मुख र आमनेसामनेबाट खराबीसँग मुकाबिला गरे,” भनेर बाइबलविद्‌ एन्रि डब्लु. राइस्‌ले लेखेका छन्‌। मानिसहरूको घरको ढोकामा गएर, व्यक्‍ति-व्यक्‍तिसँग गरिएको छलफल प्रभावशाली हुँदछ भनेर यहोवाका साक्षीहरूले स्वीकार्दछन्‌। यसका साथै, तिनीहरू पुनः भेट गर्न जान्छन्‌ र मुनासिब ढङ्‌गमा छलफल गर्न तयार भएमा, विरोधीहरूसँग पनि कुरा गर्न खुशी छन्‌। पावल जस्तै! तिनको विषयमा, एफ. एन. पेलुबेटले यस प्रकार लेखे: “पावलको गतिविधि सभाहरूमा सीमित थिएन। बुझ्न चाहने, अथवा अति नै चासो व्यक्‍त गर्ने, अर्थात्‌ विरोध गरे तापनि धर्मबारे कुरा-कानी गर्न तयार हुने कुनै व्यक्‍तिको विषयमा जानकारी पाउँदा, तिनी ती मानिसहरूका घरहरूमै गएर तिनीहरूसँग भेट गर्द थिए।”

प्राचीनहरूले अगुवाइ लिनु पर्दछ

९. पावलले सङ्‌गी प्राचीनहरूका लागि के उदाहरण कायम गरे?

९ सङ्‌गी प्राचीनहरूका निम्ति पावलले के उदाहरण कायम गरे? तिनीहरू घर-घर जाने, सुसमाचारका निडर र अथक प्रचारकहरू हुनु पर्दछ भन्‍ने कुरा पावलले प्रदर्शित गरे। १८९७ मा, जे. ग्लेन्टवर्थ बटलरले यस प्रकार लेखे: “एफिससका प्राचीनहरूलाई थाह थियो कि व्यक्‍तिगत खतरा अथवा लोक-प्रियताको वास्ता न गरिकन, पावलले प्रचार गरेका थिए; तिनले कुनै पनि आवश्‍यक सच्चाइ मानिसहरूबाट लुकाएर राखेनन्‌; तिनले एउटा पक्ष लिंदै, सच्चाइका विशेष अथवा असाधारण कुराहरू तर्फ मात्र ध्यान आकर्षित गरेनन्‌ तर ‘आध्यात्मिक शिक्षा’ अथवा प्रगतिका लागि मात्र फायदाजनक हुने सबै कुरा: अर्थात्‌, पवित्र र पूर्णरूपमा परमेश्‍वरबाट आएको सम्पूर्ण शिक्षा प्रस्तुत गरे! र यस प्रकार मसीही सच्चाइको यो जोसिलो ‘शिक्षा’, विश्‍वासीलो भएर ‘देखाउने’ काम, तिनले टिरान्‍नसको पाठशाला र चेलाहरू भेला हुने अन्य ठाउँहरूमा मात्र होइन, तर प्रवेश गर्न सकिने हर घरमा गर्ने गर्द थिए। घर-घरमा, व्यक्‍ति-व्यक्‍ति कहाँ र दिन प्रति दिन, ख्रीष्टको जस्तै इच्छा र चाहना साथ, तिनले सुसमाचार पुर्‌याएका थिए। सबै श्रेणी र जातिका मानिसहरूलाई, अर्थात्‌ अमित्रैलो यहूदी र ठट्टा गर्ने युनानीलाई सुनाउन तिनको एउटै विषय थियो अथवा—परमेश्‍वरको सामुन्‍ने पश्‍चाताप र प्रभु येशू ख्रीष्टमाथि विश्‍वास गर्नु—यही एउटा विषयमा बचाउका लागि आवश्‍यक अरू सबै सच्चाइहरू समावेश छन्‌।”

१०, ११. (क) मसीही सेवकाईको सम्बन्धमा, एफिससका प्राचीनहरूबाट पावलले के आशा गरे? (ख) पावलले झैं, यहोवाका साक्षीहरू र तिनीहरू मध्येका प्राचीनहरू समेतले कसरी प्रचार गर्ने गर्छन्‌?

१० यसकारण, पावलले एफिससका प्राचीनहरूबाट मुख्यतः कुन कुराको आशा राखे? विद्वान ई. एस. यङ्‌गले पावलका शब्दहरूलाई यसरी शब्दान्तर गरे: “जन-साधारणको सामुन्‍ने मात्र मैले बोल्ने गरिन तर घर-घर जाँदै, सबै श्रेणीका, दुवै यहूदी र अन्यजातिका मानिसहरूका लागि मैले मेहनत गरें। सबै श्रेणीका मानिसहरूका लागि मेरो सेवकाईको विषय, ‘परमेश्‍वर तर्फ पश्‍चाताप र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्‍वास गर्नु’ थियो।” पावलका शब्दहरूलाई अर्कै ढङ्‌गमा प्रस्तुत्‌ गर्दै, डब्लु. बी. रिलीले यस प्रकार लेखे: “भन्‍नुको तात्पर्य यो थियो: ‘मैले जे शुरू गरें, त्यसमा तिमीहरू लागिरहेको म आशा गर्दछु। अर्थात्‌ मैंले गरें झैं गर्ने र मैले सिकाए झैं सिकाउने र मैंले सङ्‌घर्ष गरें झैं तिमीहरूले पनि सङ्‌घर्ष गर्ने छौ भनी म आशा राख्तछु; बाटो-घाटोमा र घर-घरमा, खुल्लमखुल्ला र व्यक्‍तिगत, दुवै ढङ्‌गमा मैले शिक्षा दिए झैं शिक्षा दिनु र यहूदीहरू र युनानीहरूलाई परमेश्‍वर तर्फ पश्‍चाताप र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्‍वास बारे साक्षी दिनु, किनकि यिनीहरू नै मौलिक कुराहरू हुन्‌!’”

११ स्पष्टतया, प्रेरित २० अध्यायमा, पावलले सङ्‌गी प्राचीनहरूलाई देखाउँदै थिए कि तिनीहरू घर-घर जाने यहोवाका साक्षीहरू हुनु पर्ने हो। यस सम्बन्धमा, प्रथम शताब्दीका प्राचीनहरूले अगुवाइ लिनु परेको थियो र मण्डलीका अरू सदस्यहरूका लागि एउटा असल उदाहरण कायम गर्नु परेको थियो। (हिब्रू १३:१७ सँग तुलना गर्नु होस्‌) यसैकारण, पावलले झैं, यहोवाका साक्षीहरूले घर-घरमा गएर प्रचार गर्दछन्‌ र परमेश्‍वरको राज्य, उहाँको सामुन्‍ने पश्‍चाताप गर्ने र येशू ख्रीष्टमाथि विश्‍वास राख्ने विषयमा सबै जातिका मानिसहरूलाई भन्‍ने गर्छन्‌। (मर्कूस १३:१०; लूका २४:४५-४८) र यस प्रकार घर-घर जाने काममा आधुनिक साक्षीहरू मध्येका प्राचीनहरूले अगुवाइ लिनु आवश्‍यक छ।—प्रेरित २०:२८.

१२. पहिलेका केही प्राचीनहरूले के गर्न इन्कार गरे तर आज प्राचीनहरूले के गर्नमा अगुवाइ लिन्छन्‌?

१२ सन्‌ १८७९ मा चार्लस टेज रसलले जायन्स वाचटावर एन्ड हेरल्ड अफ क्राइस्ट्‌स प्रेजेन्स प्रकाशित गर्न थाले र त्यसलाई आज दी वाचटावर अनाउन्सिङ्‌ग जेहोवास किङ्‌गडम [प्रहरीधरहरा—यहोवाको राज्य घोषणा गर्दछ] भन्छन्‌। रसल र बाइबलका अन्य विद्यार्थीहरूले प्रेरितहरूले गरे झैं, राज्यको समाचारको घोषणा गरे। तथापि, केही साल पश्‍चात्‌, मण्डलीका कुनै कुनै प्राचीनहरूले साक्षी दिने आफ्नो दायित्व पूरा गरेनन्‌। उदाहरणका लागि, एक जना साक्षीले लेखे: “साथमा साहित्य लिएर, घर-घर जाँदै साक्षी दिनमा, विशेषगरी आइतबारको दिन घर-घर जाने काममा, सबैले नै भाग लिने विषयमा घोषणा न आउञ्जेल, सबै कुरा राम्रैसँग चली रहेको थियो—यो १९२७ को कुरा हो। हाम्रा चुनिएका प्राचीनहरूले यसको विरोध गरे र यस प्रकारको कुनै पनि काममा भाग लिन देखिन्‌ सम्पूर्ण कक्षालाई रोक्ने कोशिश गरे।” समयमा, घर-घर गएर प्रचारको काममा भाग लिन न चाहने व्यक्‍तिहरूले प्राचीनको हैसियतमा सेवा गर्ने सुअवसर पाउने भएनन्‌। आज पनि, प्राचीनहरू र सहायक-सेवकहरूको हैसियतमा सेवा गर्ने व्यक्‍तिहरूले घर-घर गएर साक्षी दिने र मसीही सेवकाईका अन्य कामहरूमा भाग लिनु आवश्‍यक छ।

सबै जना नै साक्षी हुन्‌

१३. (क) मानिसहरूले राज्यको सन्देश न सुनेता पनि, हामीले के गर्नु उचित हो? (ख) पावललाई इजकिएलसँग कसरी तुलना गरिएको छ?

१३ मानिसहरूले मूल्याङ्‌कन न गरेता पनि, मसीहीहरूले यहोवाको मद्दत द्वारा, राज्यको सन्देश, घर-घर गएर घोषणा गर्नु आवश्‍यक छ। परमेश्‍वरको पहरेदारको हैसियतमा, इजकिएलले मानिसहरूलाई, तिनीहरूले सुनून्‌ वा न सुनून्‌, चेताउनी दिनु परेको थियो। (इजकिएल २:५-७; ३:११, २७; ३३:१-६) इजकिएल र पावलको तुलना गर्दै, इ. एम. ब्लेकलकले लेखे: “[प्रेरित २० मा उल्लेखित पावलको भाषणबाट] एफिससमा गरिएको सेवकाईबारे एउटा स्पष्ट नक्सा देखा पर्दछ। निम्न कुराहरूलाई विचार गर्नुहोस्‌: प्रथमतः, पावलको जोसपूर्ण विश्‍वासिलोपना। तिनी लोक-प्रियता अथवा जन-साधारणको स्वीकृतिको पछि लाग्दैन थिए। इजकिएल झैं, तिनी एउटा पहरेदारको काम गर्न नियुक्‍त भएका थिए, र आफ्नो बोली अनुसारको व्यवहार देखाउन, तिनले आफ्नो कर्त्तव्य निष्कपट उत्साह र जोशका साथ पूरा गरे। दोस्रो, तिनको प्रेमपूर्ण सहानुभूति। ओंठबाट दण्डको घोषणा गर्दा पनि, तिनले हृदयमा कोमल भाव राख्द थिए। तेस्रो, थाक्दै न थाक्ने गरी तिनले सुसमाचारको प्रचार गरे। खुल्लमखुल्ला र घर-घरमा, शहर भित्र र प्रान्त भरि, तिनले सुसमाचारको प्रचार गरेका थिए।”

१४. यहोवा परमेश्‍वरलाई प्रार्थनामा येशू ख्रीष्ट द्वारा आफ्नो जीवन समर्पण गर्ने हरेक व्यक्‍तिको जिम्मेवारी साक्षी दिने काम किन हो?

१४ परमेश्‍वरले आफ्ना वर्तमान सेवकहरूलाई दिनु भएको प्रशस्त आशिषहरूबाट प्रमाणित हुँदछ कि तिनीहरूले आफूलाई यहोवाका साक्षीहरू कहलाएकोमा उहाँ प्रसन्‍न हुनु हुन्छ। (यशैया ४३:१०-१२) यस बाहेक, तिनीहरू ख्रीष्टका साक्षीहरू पनि हुन्‌ किनभने येशूले उहाँका चेलाहरूलाई भन्‍नु भयो: “पवित्र आत्मा तिमीहरूमा आउनु भए पछि, तिमीहरूले शक्‍ति पाउने छौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) यसकारण, साक्षी दिने काम, यहोवा परमेश्‍वरलाई येशू ख्रीष्ट द्वारा प्रार्थनामा आफ्नो जीवन समर्पण गर्ने प्रत्येक व्यक्‍तिको जिम्मेवारी हो।

१५. प्राचीन मसीहीहरूले गरेका साक्षी दिने कामको सम्बन्धमा के भनिएको छ?

१५ साक्षी दिने कामबारे एसो भनिएको छ: “यसमा सारा गिर्जा समावेश हुँद थियो। प्राचीन गिर्जामा, प्रचारको काम कुनै महिला प्रचारक सङ्‌गठन अथवा वैदेशिक प्रचार समितिको जिम्मावारी थिएन। साक्षी दिने काम नता प्राचीनहरू, डीकनहरू अथवा प्रेरितहरू . . . जस्ता पेसेवर व्यक्‍तिहरूको हातमा सुम्पिएको थियो। ती प्राचीन दिनहरूमा, गिर्जा नै प्रचार-समिति थियो। प्राचीन गिर्जाको प्रचार सम्बन्धी कार्यक्रम दुईवटा तथ्यहरूमा आधारित थियो: (१) गिर्जाको मुख्य काम विश्‍वभरि सुसमाचार सुनाउनु हो। (२) यो काम पूरा गर्ने जिम्मेवारी सम्पूर्ण मसीही समाजलाई सुम्पिएको छ।”—जे. हर्बर्ट केन.

१६. मसीही जगतका लेखकहरूले पनि मसीहीहरू र साक्षी दिने कामबारे के स्वीकारेका छन्‌?

१६ राज्यको सन्देशसँग मसीही जगतका आधुनिक लेखकहरू सहमत न भएता पनि, केहीले चाहिं साक्षी दिनु मसीहीहरूको कर्त्तव्य हो भनी स्वाकार्दछन्‌। उदाहरणका लागि, एवरीवन अ मिनिस्टर [प्रत्येक जना एउटा प्रचारक] भन्‍ने पुस्तकमा, अस्कर इ. फोयिक्‍तले यो विचार व्यक्‍त गर्छन्‌: “प्रत्येक विश्‍वासी व्यक्‍तिलाई परमेश्‍वरले दिनु भएको सेवकाईको जिम्मेवारी कुनै एउटा पादरीले पूरा गर्न सक्‍तैन। दुर्भाग्यवस, शताब्दियौं देखिन्‌ गिर्जामा चली आएको गलत धारणाको कारण, गिर्जाका ५०० सदस्यहरूले गर्नु पर्ने काम एक जना पादरीको काम हुन गएको छ। प्राचीन समयको गिर्जामा यस्तो थिएन। जस जसले विश्‍वास गर्द थिए, तिनीहरू सबै ठाउँमा वचन प्रचार गर्दै जाँद थिए।”

१७. प्राचीन मसीहीहरूको जीवनमा साक्षी दिने कामले लिएको स्थान बारे के भन्‍न सकिन्छ?

१७ प्राचीन मसीहीहरूको जीवनमा साक्षी दिने काम सर्वोपरि थियो जसरी आज यहोवाका साक्षीहरूको जीवनमा पनि छ। हारवार्ड युनिवर्सीटीका एड्‌वर्ड कल्डवेल मूरले यस प्रकार लेखेका छन्‌: “भनौं भने, विश्‍वास फैलाउने कामका निम्ति ठूलो जोशको प्रदर्शन, मसीही आन्दोलनका प्रथम तीन शताब्दीहरूमा देखिन्छ। सुसमाचार प्रचार गर्न र छुटकाराको सन्देश सुनाउन मसीहीहरू उत्साहित थिए . . . । शुरू-शुरूमा, येशूको प्रभाव र उहाँका शिक्षाहरू फैलाउने काममा, प्रचारक अथवा मिशनेरी कहलाइने मानिसहरूले एउटा सानो भूमिका मात्र निभाए। त्यो काम, समाजका हर श्रेणीका, हर प्रकारका व्यापार गर्ने र हर व्यवसायका मानिसहरू द्वारा सम्पन्‍न भयो। त्यो आन्तरिक जीवनको रहस्य, संसार प्रति त्यो नया दृष्टिकोण अर्थात्‌ आफूले अनुभव गरेको मुक्‍तिको सन्देश लिएर तिनीहरू [रोमी] साम्राज्यका सबै भन्दा टाढ़ाका सिमानाहरूसम्म पुगे . . . । वर्तमान संसारको गतिविधिको अन्त चाँड़ै नै आउनेछ भन्‍ने कुरामा [प्राचीन मसीही धर्म] सम्पूर्णतया निश्‍चित थियो। अकस्मात र चमत्कारपूर्ण ढङ्‌गमा एउटा नया विश्‍व व्यवस्थाको पुनः स्थापना हुने कुरामा त्यो विश्‍वास गर्द थियो।”

१८. कुन महान आशाको सामुन्‍ने राजनैतिक नेताहरूको सपना केही जस्तो पनि होइन?

१८ घर-घर गएर अथवा तिनीहरूको सेवकाईका अन्य गतिविधिहरूमा, यहोवाका साक्षीहरूले पनि आनन्दपूर्वक आफ्ना स्रोताहरूको ध्यान परमेश्‍वरले प्रतिज्ञागर्नु भएको नया संसार तर्फ आकर्षित गर्दछन्‌। अनन्त जीवनको आशिष पाउनेबारे गरिएका भविष्यवाणीको सामुन्‍ने, आज एउटा नया संसार बनाउन खोज्नेहरूका सबै भन्दा सुन्दर कल्पनाहरू पनि केही जस्तो होइनन्‌। (२ पत्रुस ३:१३; प्रकाश २१:१-४) परमेश्‍वरको अद्‌भुत नया संसारमा बाँच्ने चाहना सबैले गरेको जस्तो देखिएता पनि, यथार्थमा कुरा त्यस्तो छैन। तथापि, अनन्त जीवनको खोजी गर्नेहरूलाई यहोवाका सेवकहरूले कुन कुन प्रभावशाली ढङ्‌गमा मद्दत दिन सक्ने छन्‌ भन्‍ने कुराको छलफल, यस पछि गरौं। (w01/15/91)

तपाईंको प्रतिक्रया के हुनेछ?

▫ प्रेरित ५:४२ र प्रेरित २०:२० को अर्थ येशूका अनुयायीहरूले घर-घरमा गएर प्रचार गर्नु हो भनी हामी किन भन्‍न सक्छौं?

▫ यहोवाका साक्षीहरूले घर-घरमा गएर गरेको सेवकाईमाथि परमेश्‍वरको अनुमोदन छ भनी हामीलाई कसरी थाह छ?

▫ सेवकाईको सम्बन्धमा, प्राचीनहरू र सहायक सेवकहरूले के आवश्‍यकता पूरा गर्नु पर्दछ?

▫ एक जना मसीहीको जीवनमा, साक्षी दिने कामले के स्थान पाउनु पर्ने हो?

[पृष्ठ २३-मा भएको चित्र]

सा. यु. ३३ मा येशूका अनुयायीहरूले घर-घर गएर निरन्तर साक्षी दिने काम गरे

[पृष्ठ २५-मा भएको चित्र]

पावलले “घर-घर” गएर शिक्षा दिए यस प्रकारको सेवकाई आज यहोवाका साक्षीहरूले मात्र गर्दछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने