परमेश्वरको दयाको अनुकरण आज नै गर्नु होस्
“हामीलाई परमप्रभुको [यहोवाको, न्यु.व.] हातमा पर्नुनै बेस होला, किनभने उहाँको करुणा महान छ।” —२ शमूएल २४:१४.
१. परमेश्वरको दयाबारे दाऊदको कस्तो विचार थियो र किन?
मानिसहरू भन्दा यहोवा धेरै नै दयापूर्ण हुनु हुन्छ भन्ने कुरा राजा दाऊदले अनुभवबाट बुझेका थिए। परमेश्वरका मार्गहरू सर्वोत्तम छन् भनी निश्चिन्त भएको हुनाकारण, दाऊदले उहाँकै मार्गहरू सिक्ने र उहाँको सत्यतानुसार हिंड्ने इच्छा गरे। (१ इतिहास २१:१३; भजनसंग्रह २५:४, ५) के तपाईंको मनको विचार पनि दाऊदको जस्तै छ?
२. येशूले मत्ती १८:१५-१७ मा गम्भीर प्रकारको पापको समाधान गर्ने विषयमा के सल्लाह दिनु भयो?
२ कसैले हाम्रो विरुद्धमा पाप गर्यो भने, हामीले के कसो गर्नु पर्ने हो जस्ता विषयमा पनि बाइबलले हामीलाई ईश्वरीय सोंचाईबारे अन्तर्दृष्टि दिन्छ। पछि गएर मसीही अध्यक्षहरू हुने आफ्ना प्रेरितहरूलाई येशूले भन्नु भयो: “तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा, त्यसको दोष देखाइ देऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिमीले तिम्रो भाइलाई आफ्नो गरायौ।” यहाँ विथोलित गल्ती कुनै एउटा व्यक्तिगत चानचुने दोष थिएन तर ठगी अथवा मानहानि जस्ता गम्भीर पाप थियो। येशूले भन्नु भयो कि यो कदम द्वारा मामलाको सामाधान भएन र मामलासँग सम्बन्धित गवाहीहरू छन् भने, जुन व्यक्तिको विरुद्धमा पाप गरिएको छ, उसले गल्ती भएको कुरा प्रमाणित गर्न आफूसँग ती गवाहीहरू लिएर जानु पर्दछ। के यो आखिरी कदम हो? होइन। “यदि त्यसले [पापीले] तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्छ भने, समुदायलाई भन, र त्यसले समुदायको बात पनि सुन्न इन्कार गर्छ भने, त्यो तिम्रोलागि अन्यजाति र महसूल उठाउने सरह होस्।”—मत्ती १८:१५-१७.
३. गलत काम गरेर, पश्चातापको भाव व्यक्त नगर्ने व्यक्ति “अन्यजाति र महसुल उठाउने सरह होस्” भन्नु हुँदा, येशूको तात्पर्य के थियो?
३ यहूदीहरू भएकाले, एक जना पापीलाई “अन्यजाति र महसूल उठाउने सरह” ठान्नुको अर्थ, प्रेरितहरूले बुझ्ने थिए। यहूदीहरू अन्यजातिका मानिसहरूसँग सङ्गत गर्न चाहँदैन थिए र रोमीहरूका लागि महसुल उठाउने काम गर्नेa यहूदीहरूलाई तिनीहरू तुच्छ ठान्द थिए। (यूहन्ना ४:९; प्रेरित १०:२८) यसकारण, मण्डलीले कुनै पापीलाई अस्वीकार गरेमा, त्यस मानिससँग सङ्गत गर्न छाड़नु पर्नेछ भनी येशूले आफ्ना चेलाहरूलाई सम्झाउनु हुँदै थियो। तथापि यो कुरा सँग, येशू स्वयं कहिले काहीं महसुल उठाउनेहरूसँग सङ्गत गर्नु भएको कुरा कसरी मेल खान्छ?
४. मत्ती १८:१७ मा उल्लेखित् येशूका शब्दहरूको बावजूद, येशूले केही पापीहरू र महसुल उठाउनेहरूसँग किन सम्पर्क राख्नु भयो?
४ लूका १५:१ भन्छ: “औ सबै महसुल उठाउनेहरू उहाँको वचन सुन्नलाई उहाँको नजीक, नजीक सर्दै थिए।।” त्यहाँ प्रत्येक पापी र महसूल उठाउनेहरू भेला भएका थिएनन्। यसकारण यहाँ “सबै” भन्नुको अर्थ धेरै हो। (लूका ४:४० सँग तुलना गर्नु होस्) तिनीहरू को को थिए? आफ्ना पापहरूका लागि क्षमा चाहनेहरू त्यहाँ थिए। यी मध्ये कोही चाहिं, बप्तिस्मा दिने यूहन्ना द्वारा प्रचार गरिएको पश्चातापको सन्देश सुनेर पहिले नै आकर्षित भएकाहरू थिए। (लूका ३:१२; ७:२९) यसकारण, अरूहरू येशूकहाँ आउँदा, उहाँले तिनीहरूलाई प्रचार गर्नु भएर, मत्ती १८:१७ मा उहाँले उल्लेखित् गर्नु भएको सल्लाहको उल्लङ्घन गर्नु भएन। “धेरै महसुल उठाउनेहरू र पापीहरू पनि . . . उहाँका पछि लागेका थिए” भन्ने कुरामा ध्यान दिनु होस्। (मर्कूस् २:१५) यिनीहरू हर प्रकारको सहायता इन्कार गर्दै, निरन्तर एउटा खराब जीवन शैली अपनाइ रहन चाहने व्यक्तिहरू थिएनन्। बरू, येशूको सन्देश सुनेर तिनीहरूको हृदय प्रभावित भएको थियो। शायद आफ्नो जीवनमा परिवर्तन ल्याउने कोशिश गर्दा गर्दै पनि तिनीहरू पाप गरी नै रहेका भएता पनि, तिनीहरूलाई प्रचार गर्नु भएर, “असल गोठालाले” उहाँका दयापूर्ण पिताको अनुकरण गर्नु भयो।—यूहन्ना १०:१४.
क्षमाशीलता, एउटा मसीही कर्त्तब्य
५. क्षमाशीलताको सम्बन्धमा, परमेश्वरको आधारभूत् दृष्टिकोण के हो?
५ हाम्रा पिता हामीलाई क्षमा गर्न इच्छुक हुनु हुन्छ भनेर हामीलाई निर्धक्क तुल्याउने यी हृदयस्पर्शी आश्वासनहरू छन्: “यदि हामीले आफ्ना पापको स्वीकार गर्यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनु हुन्छ।” “तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्तछु। औ कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रा एक सहायक हुनु हुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट।” (१ यूहन्ना १:९; २:१) बहिष्कार भएको मानिसका लागि क्षमा पाउन के सम्भव छ?
६. एक जना बहिष्कृत व्यक्तिलाई क्षमा गरेर मण्डलीमा उसलाई पुनःस्थापित कसरी गर्न सकिन्छ?
६ छ। पाप गरेर पश्चाताप न गरेको हुनाकारण, कसैलाई बहिष्कार गर्दा, उसले पश्चाताप गरेर परमेश्वरबाट क्षमा पाउन सम्भव छ भनी मण्डलीलाई प्रतिनिधित्व गर्ने प्राचीनहरूले उसलाई बताउँछन्। उ राज्य-सभागृहमा हुने सभाहरूमा उपस्थित हुन सक्छ जहाँ बाइबलमा आधारित उपदेश सुनेर उसले पश्चाताप गर्ने मद्दत पाउन सक्नेछ। (१ कोरिन्थी १४:२३-२५ सँग तुलना गर्नुहोस्) केही समय पश्चात्, उसले सफा मण्डलीमा पुनः स्थापित हुने इच्छा प्रकट गर्ला। त्यस बेला प्राचीनहरूले उ सँग भेट गर्दा, उसले पश्चाताप गरेर आफ्नो पापी मार्ग छाड़ेको छ वा छैन भनी थाह लगाउन तिनीहरूले कोशिश गर्नेछन्। (मत्ती १८:१८) पश्चाताप गरेको छ भने, २ कोरिन्थी २:५-८ मा दिएको उदाहरण बमोजिम, उसलाई मण्डलीमा पुनः स्थापित् गर्न सकिन्छ। उ धेरै वर्ष अघि बहिष्कार भएको थियो भने, अब उन्नति गर्न उसले निकै नै प्रयास गर्न आवश्यक हुनेछ। आत्मिक तौरमा एक जना बलियो मसीही हुनका लागि, उसलाई बाइबलबारे आफ्नो ज्ञान र मूल्याङ्कन बढ़ाउन धेरै नै सहायताको खाँचो पर्नसक्छ।
यहोवा तर्फ फर्कनु
७, ८. निर्वासनमा गएका आफ्ना जनहरूको सम्बन्धमा, परमेश्वरले के नमूना कायम गर्नु भएको थियो?
७ तर एक जना बहिष्कार भएको व्यक्तिसँग कुरा गर्न, के प्राचीनहरूले नै प्रथम पाइलो चाल्न सक्छन्? सक्छन्। सजाय न दिएर, नकरात्मक ढङ्गमा मात्र दया देखाइन्दैन तर अकसर सकारात्मक कार्यहरू द्वारा दया देखाइन्छ भनी बाइबलले देखाउँदछ। हाम्रो सामुन्ने यहोवाको उदाहरण छ। उहाँका अविश्वासी जनहरूलाई निर्वासनमा पठाउनु भन्दा अघि, उहाँले भविष्यवाणी द्वारा तिनीहरू फर्केर आउने सम्भावना तिनीहरूको सामुन्ने प्रस्तुत गर्नु भयो। “हे याकूब, हे इस्राएल, यी कुरालाई सम्झना गर्, किनकि तँ मेरो दास होस्। . . . मैले तेरा अपराधहरू बादलझैं र तेरा पापहरू कुइरोझैं हटाइदिएँ। मतिर फर्की, किनकि मैले तँलाई छुटाएको छु।”—यशैया ४४:२१, २२.
८ निर्वासनको समयमा, यहोवाले अझ केही पाइलाहरू चाल्नु हुँदै, सकारात्मक ढङ्गमा काम गर्नु भयो। इस्राएलीहरूले उहाँको ‘खोजी’ गरून् र उहाँलाई ‘भेट्टाऊन’ भनेर निम्त्याउन, उहाँले आफ्ना प्रतिनिधिहरू अथवा अगमवक्ताहरू पठाउनु भयो। (यर्मिया २९:१, १०-१४) इजकिएल ३४:१६ मा, उहाँले स्वंयलाई एउटा गोठाला र इस्राएली जातिलाई हराएका भेड़ाहरूसँग तुलना गर्नु भयो। “हराएकोलाई म खोज्ने छु, बाटो बिराएकोलाई म फेला पारेर ल्याउनेछु।” यर्मिया ३१:१० मा पनि यहोवाले स्वयंलाई इस्राएलीहरूका एक जना गोठालाको रूपमा चित्रित् गर्नु भएको छ। तर उहाँले आफूलाई गोठमा बसेर हराएको भेड़ाका लागि पर्खि रहने गोठालासँग तुलना गर्नु भएन; उहाँले आफूलाई त्यो गोठालासँग तुलना गर्नु भयो जसले हराएकाहरूलाई खोज्दै हिंड्दछ। आम मानिसहरू पश्चाताप न गरिकन, निर्वासन मै भएता पनि, परमेश्वरले तिनीहरूलाई फिर्ता ल्याउने कदमहरू चाल्नु भएको कुरालाई विशेष ध्यान दिनु होस्। र मलाकी ३:६ मा उल्लेखित सिद्धान्त अनुसार, मसीही प्रबन्ध अन्तर्गत पनि, परमेश्वरको व्यवहारमा केही परिवर्तन हुने छैन।
९. मसीही मण्डलीमा परमेश्वरको उदाहरणको अनुकरण कसरी गरियो?
९ बहिष्कार भएका तर अब सम्भवतः, पश्चाताप गरी सकेका केही व्यक्तिहरू प्रति पनि कदमहरू चाल्ने कारण हुन सक्तछ भनेर यसबाट बुझ्न सकिन्छ, होइन र? सम्झनुहोस्, त्यो दुष्ट मानिसलाई कोरिन्थका मण्डलीबाट हटाउन प्रेरित पावलले निर्देशन दिए। तर पछि, त्यो मानिस, पश्चाताप गरेर मण्डलीमा पुनः स्थापित् भएको हुनाकारण, उसलाई आफ्नो प्रेमको प्रमाण दिनु भनी पावलले मण्डलीलाई आग्रह गरे।—१ कोरिन्थी ५:९-१३; २ कोरिन्थी २:५-११.
१०. (क) बहिष्कृत भएका कुनै कुनै व्यक्तिहरूसँग सम्पर्क राख्दा हामी कुन कारणले प्रेरित हुनु पर्दछ? (ख) सम्पर्क राख्ने काममा प्रथम पाइलो चाल्ने काम मसीही नातेदाहरूले किन गर्नु हुँदैन?
१० केही समय अघि उद्धृत गरिएको एनसायक्लोपेड्या एसो भन्छ: ‘समूहका सिद्धान्तहरूको रक्षा नै बहिष्कार गर्नुको मूल कारण थियो: किनकि “अलिकता खमीरले जम्मै ढिकालाई खमिरी बनाइहाल्छ।” (१ कोरिन्थी ५:६) बाइबल र बाइबल बाहिरका धेरै जसो लेखहरूमा यो नियत स्पष्ट छ, तर बहिष्कार भइसके पछि पनि, बहिष्कृत व्यक्ति प्रतिको चासो, २ कोरिन्थी २:७-१० मा उल्लेखित् पावलको बिन्तीको आधार थियो।’ (विशेष अक्षर हाम्रो) त्यसकारण, यस प्रकारको चासो बगालका गोठालाहरूले आज प्रकट गर्नु तर्कसङ्गत हो। (प्रेरित २०:२८; १ पत्रुस ५:२) पहिलेका साथीहरू र नातेदारहरूले बहिष्कृत व्यक्ति फर्केर आउला भन्ने आशा गर्न सक्छन्; तर १ कोरिन्थी ५:११ मा दिएको आज्ञाको आदर गर्दै, तिनीहरूले एउटा बहिष्कृत व्यक्तिसँग सङ्गत गर्दैनन्।b यस प्रकारको व्यक्ति फर्केर आउन इच्छुक छ वा छैन भन्ने कुरा थाह लगाउने काम नियुक्त प्राचीनहरूको हातमा तिनीहरूले छाड़ि दिन्छन्।
११, १२. कुन प्रकारका बहिष्कृत व्यक्तिहरूसँग प्राचीनहरूले पनि सम्पर्क राख्ने छैनन्, तर कस्ताहरूसँग चाहिं तिनीहरूले भेट गर्न सक्नेछन्?
११ तर धर्मत्यागीहरू अथवा ‘बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि’ लैजाने बहिष्कृत व्यक्तिहरूसँग कुरा गर्न प्राचीनहरूले पनि कदम चाल्न उपयुक्त हुने छैन। यस प्रकारका व्यक्तिहरू ‘झूटा शिक्षकहरू हुन् जसले विधर्म ल्याउने र मण्डलीलाई बनावटी कुराहरूले लुट्ने कोशिश गर्छन्।’ (प्रेरित २०:३०; २ पत्रुस २:१, ३) विरोध गर्ने अथवा सक्रिय ढङ्गमा गलत कामलाई प्रोत्साहित गर्ने बहिष्कृत व्यक्तिहरूको खोजी गर्ने बाइबलमा केही आधार छैन।—२ थिस्सलोनिकी २:३; १ तिमोथी ४:१; २ यूहन्ना ९-११; यहूदा ४, ११.
१२ तथापि, धेरै बहिष्कृत व्यक्तिहरू त्यस प्रकारका छैनन्। जुन गम्भीर गल्तीका लागि कुनै व्यक्ति बहिष्कृत भएको थियो होला, त्यो गल्ती गर्न उसले छाड़ि सकेको हुन सक्छ। कसैले चाहिं तमाखु खाने अथवा बितेको समयमा बढ़ी मात्रामा रक्सी पिउने गरेको हुन सक्छ, तर हाल उसले अरूहरूलाई गलत काम तिर लग्ने प्रयास गरेको छैन। सम्झनुहोस्, निर्वासनमा गएका इस्राएलीहरू परमेश्वर तर्फ फर्कनु भन्दा अघि नै, उहाँले तिनीहरूलाई फर्केर आउने आग्रह गर्न प्रतिनिधिहरू पठाउनु भयो। त्यस बहिष्कार भएको मानिसको अवस्था थाह लगाउन, पावल अथवा कोरिन्थका प्राचीनहरूले केही कदमहरू चाले वा चालेनन् भन्ने कुरा बारे बाइबल केही भन्दैन। त्यस मानिसले पश्चाताप गरेर आफ्नो अनैतिकता छाड़े पछि, उसलाई पुनः स्थापित गर्न पावलले मण्डलीलाई निर्देशन दिए।
१३, १४. (क) बहिष्कृत भएका कुनै कुनै जनहरू प्रति दयापूर्ण कदमहरू चालेमा, तिनीहरूले असल प्रतिक्रिया देखाउन सक्छन् भनी केले सङ्केत गर्दछ? (ख) प्राचीनहरूका समूहले सम्पर्क राख्ने प्रबन्ध कसरी मिलाउन सक्नेछन्?
१३ हालसालै यस प्रकारका केही कुराहरू भएकाछन् जहाँ एउटा बहिष्कार भएको मानिससँग एक जना प्राचीनको भेट हुन गएको छ।c उचित भएको खण्डमा, पुनः स्थापनाका लागि लिनु पर्ने कदमहरू बारे गोठालाले संक्षिप्तमा बताइ दिएका छन्। यस प्रकारका केही व्यक्तिहरूले पश्चाताप गरे र तिनीहरू पुनः स्थापित भए। यस्ता आनन्दमय परिणामहरू द्वारा सङ्केत हुँदछ कि गोठालाहरूले उठाएका दयापूर्ण कदमबाट प्रभावित हुने बहिष्कृत अथवा सङ्गतबाट अलग्याइएका जनहरू हुन सक्छन्। तर प्राचीनहरूले यस विषयमा के गर्न सक्छन्? बढ़ीमा, वर्षको एक पटक, प्राचीनहरूको समूहले तिनीहरूको इलाकामा बसेका त्यस्ता केही व्यक्तिहरू छन् वा छैनन् भन्ने विषयमा ध्यान दिनु पर्दछ।d प्राचीनहरूले एक वर्ष भन्दा बढ़ी समय देखिन् बहिष्कार भएका मानिसहरूमा ध्यान केन्द्रित गर्नेछन्। परिस्थिति अनुसार, साथै उचित छ भने, यस प्रकारका व्यक्तिसँग भेट गर्न तिनीहरूले दुई जना प्राचीनहरू (सकेसम्म त्यो व्यक्तिसँग सम्बन्धित घटना सित परिचित प्राचीनहरू) नियुक्त गर्नेछन्। तर आलोचनायुक्त र खतरनाक विचारहरू भएका अथवा मद्दतको खाँचो छैन भनी सबैलाई जनाउ दिएका व्यक्तिहरूसँग भेट गरिने छैन।—रोमी १६:१७, १८; १ तिमोथी १:२०; २ तिमोथी २:१६-१८.
१४ थोरै समयका लागि भेट गर्न आउन पाउँछन् कि भनेर ती दुई प्राचीनहरूले पहिले नै त्यस बहिष्कृत व्यक्ति कहाँ फोन गरेर कुरा मिलाउन सक्छन् अथवा कुनै पनि उपयुक्त समयमा गए पनि हुन्छ। भेट गर्न गएको बेलामा, तिनीहरू कड़ा अथवा अमित्रैलो हुनु पर्दैन तर आफ्नो दयापूर्ण चासो प्रेमपूर्वक ढङ्गमा व्यक्त गर्नु पर्दछ। बितेका कुराहरू दोहोऱ्याउनुको सट्टा, तिनीहरूले यशैया १:१८ र ५५:६, ७ र याकूब ५:२० जस्ता पदहरूको छलफल गर्न सक्तछन्। परमेश्वरको बगालमा त्यस व्यक्तिलाई फर्केर आउने चासो छ भने, उसले बाइबल र वाचटावर सोसाइटीका प्रकाशनहरू पढ़ने र राज्य-सभागृहका सभाहरूमा उपस्थित हुने जस्ता कदमहरू चाल्नु पर्ने छ भनी तिनीहरूले दयापूर्वक बताइ दिन सक्तछन्।
१५. बहिष्कृत व्यक्तिसँग सम्पर्क राख्ने प्राचीनहरूले कुन कुरालाई ध्यानमा राख्नु पर्दछ?
१५ पश्चाताप गरेको कुनै सङ्केत छ कि छैन र फेरि भेट गर्न आउन उचित होला कि न होला भनी थाह लगाउन, यी प्राचीनहरूलाई बुद्धि र समझ-शक्तिको खाँचो पर्नेछ। तर कुनै कुनै बहिष्कृत मानिसहरूलाई कहिले पनि ‘पश्चातापको निम्ति नयाँ तुल्याउन सकिने छैन’ भनी तिनीहरूले मनमा याद राख्नु पर्दछ। (हिब्रू ६:४-६; २ पत्रुस २:२०-२२) भेट गरेर आए पछि, संक्षिप्तमा एउटा मौखिक रिपोर्ट यी दुई जनाले मण्डलीका सेवा समितिलाई दिनेछन्। यिनीहरूले चाहिं फेरि यस कुराको सूचना प्राचीनहरूको समूहलाई तिनीहरूका आउँदो सभामा दिने छन्। प्राचीनहरूका दयापूर्ण चासोमा, यहोवाको दृष्टिकोण प्रतिबिम्बित भएको हुनेछ: “‘मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु,’ सेनाहरूका परमप्रभु [यहोवा, न्यु.व.] भन्नु हुन्छ।”—मलाकी ३:७.
अन्य दयापूर्ण मद्दत
१६, १७. कुनै बहिष्कृत व्यक्तिका मसीही नातेदारहरू प्रति हाम्रो दृष्टिकोण कस्तो हुनु पर्दछ?
१६ बहिष्कार भएका व्यक्तिहरू प्रति सक्रिय कदम न चाल्ने हामी, जो अध्यक्षहरू होइनौं, हामीहरूको विषयमा के भन्न सकिन्छ? यो प्रबन्धसँग मिल्नेगरी र यहोवाको अनुकरण गर्दै, हामीले के गर्न सक्छौं?
१७ कुनै व्यक्ति बहिष्कृत अथवा सङ्गत गर्न अयोग्यको भए सम्म, हामीहरूले यो सल्लाह मान्नु आवश्यक छ: “त्यसको सङ्गत नगर्नू . . . जो भाइ कहलिएर व्यभिचारी, अथवा लोभी, वा मूर्तिपूजक, वा गाली गर्ने, कि मतवाला, अथवा लुटाहा हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ।” (१ कोरिन्थी ५:११) तर बाइबलको यो निर्देशनको असर, बहिष्कृत व्यक्तिसँग बस्ने मसीही परिवारका सदस्यहरू प्रति हामीले राख्ने दृष्टिकोणमा पर्नु भएन। प्राचीन यहूदीहरूले महसुल उठाउनेहरू प्रति यती कड़ा प्रतिक्रिया व्यक्त गर्ने गर्थिए कि तिनीहरूले महसुल उठाउनेको परिवार समेतलाई घृणा गर्द थिए। यसलाई येशूले समर्थन गर्नु भएन। येशूले मद्दत अस्वीकार गर्ने पापीलाई “अन्यजाति र महसूल उठाउने सरह” ठान्नु भन्नु भयो; उहाँले परिवारका मसीही सदस्यहरूसँग पनि त्यस्तै व्यवहार गर्न भन्नु भएन।—मत्ती १८:१७.
१८, १९. बहिष्कृत व्यक्तिका विश्वासीलो नातेदारहरूसँग सम्पर्क राख्दा, हामीले कुन कुन ढङ्गमा आफ्नो मसीही-धर्म व्यवहारमा ल्याउन सक्तछौं?
१८ परिवारका सदस्यहरू, जो विश्वासी मसीहीहरू हुन्, तिनीहरूको हामीले विशेष रूपमा समर्थन गर्नु पर्दछ। आध्यात्मिक कामकुरामा तिनीहरूलाई निरुत्साहित पार्न सक्ने, एक जना बहिष्कृत व्यक्तिसँग घरमा बस्दा, तिनीहरूले त्यसै पनि कष्ट र रोकावटको सामना गर्न परिरहेको होला। त्यो व्यक्तिले मसीहीहरू घरमा भेट गर्न आएको मन न पराउला; अथवा, तिनीहरू परिवारका वफादार सदस्यहरूलाई भेट गर्न मसीहीहरू आए भने, पाहुनाहरू देखिन् अलग्ग बस्ने सौजन्यता उसले न देखाउला। सबै मसीही सभाहरू र सम्मेलनहरूमा जान परिवारले गरेको प्रयासमा उसले बाधा पनि दिन सक्छ। (मत्ती २३:१३ सँग तुलना गर्नु होस्) यस प्रकारको असुविधाजनक परिस्थितिमा परेका मसीहीहरू साँच्चै हाम्रा दयाका पात्र हुन्।—२ कोरिन्थी १:३, ४.
१९ स्नेहपूर्ण दयाभाव प्रकट गर्ने एउटा तरिका ‘दिलाशा दिएर’ र परिवारका त्यस्ता विश्वासी जनहरूसँग प्रोत्साहनपूर्ण कुराकानी गरेर हुनेछ। (१ थिस्सलोनिकी ५:१४) साथै, सभाहरूको अघि र पछि, क्षेत्र सेवकाईमा भाग लिंदा अथवा अरू बेलामा पनि एक साथ बस्दा, ढाड़स दिने सुअवसरहरू छन्। (हितोपदेश २५:११; कलस्सी १:२-४) प्राचीनहरूले परिवारमा भएका मसीहीहरूलाई हेर-विचार गर्दा, बहिष्कृत व्यक्तिसँग सम्पर्क नराखिकन हामीले पनि तिनीहरूसँग भेट गर्न जाने मौका पाउन सक्नेछौं। भेट गर्न जाँदा अथवा फोन गर्दा, बहिष्कृत व्यक्ति फेला परेमा, हामीले भेटगर्न खोजेको मसीही नातेदारलाई बोलाइ दिन भन्नसक्छौं। कहिले काहीँ परिवारका मसीही सदस्यहरूले हाम्रा घरमा आएर भेट-घाट गर्ने निम्तो स्वीकार्न सक्छन् होलान्। मुख्य कुरा के हो भने: तिनीहरू—जवान र बूढ़ा—हाम्रा सङ्गी सेवकहरू र परमेश्वरको मण्डलीका प्रिय सदस्यहरू हुन् जसलाई हामीले छुट्ट्याउनु हुँदैन।—भजनसंग्रह १०:१४.
२०, २१. कुनै व्यक्ति मण्डलीमा पुनः स्थापित हुँदा, हाम्रो भावना र कार्य कस्तो हुनु पऱ्यो?
२० बहिष्कृत व्यक्ति मण्डलीमा पुनःस्थापित हुँदा दया दर्शाउने एउटा अर्को क्षेत्र पाउँदछौं। ‘एउटा पापीले पश्चाताप’ गर्दा, स्वर्गमा हुने आनन्दको विवरण येशूका उदाहरणहरूले दिंदछ। (लूका १५:७, १०) बहिष्कृत भएको मानिसबारे पावलले कोरिन्थीहरूलाई लेखे: “तिमीहरूले अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनुपर्दछ, नत्रता कुनै किसिमले त्यस्तो मानिस झन् बढ़ता शोकले चुर्लुम्म डुब्नेछ। यसकारण, त्यसलाई आफ्नो प्रेमको प्रमाण देओ भनी म तिमीहरूसित आग्रहपूर्वक बिन्ती गर्दछु।” (२ कोरिन्थी २:७, ८) मण्डलीमा एउटा व्यक्ति पुनःस्थापित भइसके पछिका दिनहरू र हप्ताहरूमा, हामीले त्यो सल्लाह गम्भीरता र प्रेमपूर्ण ढङ्गमा प्रयोग गर्ने गरौं।
२१ उड़न्ता पुत्रबारे येशूले दिनु भएको उदाहरणमा उल्लेखित एउटा खतराबाट हामीलाई बच्नु आवश्यक छ। उड़न्ता पुत्र फर्केर आउँदा, उसको दाजु खुशी हुनुको सट्टा अप्रसन्न भयो। हामी उ जस्तो न होऊँ अर्थात् बितेको समयमा गरिएको गल्तीलाई लिएर अमित्रैलो हुने वा कुनै व्यक्ति पुनःस्थापित भएकोमा अप्रसन्न हुने नगरौं। बरू, हाम्रो लक्ष्य त यहोवाको प्रतिक्रियालाई चित्रित् गर्ने त्यो पिता जस्तो हुनु पर्दछ। हराएको र मरेकै सरह भएको आफ्नो पुत्र पाइयो अथवा जीवित भयो भनेर पिता आनन्दित भएको थियो। (लूका १५:२५-३२) यसै प्रकार, हामीहरूले पनि मण्डलीमा पुनःस्थापित भएको भाइसँग खुलामनले कुरा गर्नेछौं र उसलाई प्रोत्साहित पार्ने छौं। हो, जसरी हाम्रा दयालु र क्षमाशील स्वर्गीय पिताले दया दर्शाउनु हुन्छ, त्यसरी नै हामीले पनि दया दर्शाउँदैछौं भनी स्पष्ट देखिनु पर्यो।—मत्ती ५:७.
२२. यहोवा परमेश्वरको हामीले अनुकरण गर्नमा, कुन कुरा विथोलित छ?
२२ हामी हाम्रा परमेश्वरको अनुकरण गर्न चाहन्छौं भने, हामीले उहाँका आज्ञाहरू र न्याय अनुसारको दया प्रकट गर्नै पर्छ। भजनसंग्रहका लेखकले उहाँको वर्णन यस प्रकार गर्दछन्: “परमप्रभु [यहोवा, न्यु.व.] अनुग्रही र दयाले भरिपूर्ण हुनु हुन्छ। रिसाउनमा धीरजी र अति करुणामय हुनु हुन्छ। परमप्रभु [यहोवा, न्यु.व.] सबैमाथि भलो हुनुहुन्छ। र उहाँका कोमल दया उहाँका कार्यहरूमा श्रेष्ठ छन्।” (भजनसंग्रह १४५:८, ९) मसीहीहरूले अनुकरण गर्नु पर्ने यो कस्तो प्रेमपूर्ण नमूना हो! (w04/15/91)
[फुटनोटहरू]
a “पलिस्तिनका मानिसहरूले खासगरी महसुल उठाउनेहरूलाई घृणा गर्ने धेरै कारणहरू थिए: (१) इस्राएलको देशलाई कब्जा गरेको विदेशी शक्तिका लागि तिनीहरूले रकम उठाउँद थिए र यस प्रकार, अप्रत्यक्ष रूपमा भएता पनि, ती विदेशीहरूले गरेका अपमानजनक कार्यको समर्थन गर्द थिए; (२) तिनीहरूको सिद्धान्तहीनता र बेइमानी कुख्यात थियो र तिनीहरूले आफ्नै मानिसहरूलाई दबाएर धनी भएका थिए; र (३) तिनीहरूको पेशाले गर्दा, अन्यजातिहरूसँग तिनीहरूले नियमित रूपमा सम्पर्क राख्नु पर्द थियो, र यस प्रकार विधिविधानको दृष्टिकोणबाट अशुद्ध हुन्थिए। महसुल उठाउनेहरूका लागि घृणा, दुवै नया नियम र रब्बीहरूको साहित्यमा पाइन्छन् . . . रब्बीहरूका साहित्य अनुसार, महसूल उठाउनेको परिवारलाई समेत घृणा गर्नु पर्दथियो।”—दी इन्टरनेशनल स्टेन्डर्ड बाइबल एनसायक्लोपेड्या.
b कुनै मसीही घरानामा एक जना बहिष्कृत नातेदार भएमा, घरका साधारण र दैनिक काम-कुरामा उसले भाग लिइनै रहनेछ। उदाहरणका लागि, परिवार एक साथ बसेर आध्यात्मिक कुराहरूको छलफल गर्दा, उ उपस्थित हुन सक्नेछ।—नवम्बर १५, १९८८ को वाचटावर, पाना १९-२० हेर्नु होस्।
c १९९१ यर बुक अफ जेहोवास विट्नेसेज, पाना ५३-४, हेर्नुहोस्.
d बहिष्कार भएको एक जना व्यक्ति त्यस इलाकामा बस्छ भनी कुनै साक्षीलाई घर-घर प्रचार गर्ने काम अथवा अरू कुनै उपाय द्वारा थाह लागेमा, तिनले यस कुराको जानकारी प्राचीनहरूलाई दिनु उचित हुनेछ।
के तपाईंले यी बुँदाहरूलाई ध्यान दिनु भयो?
▫ यहूदीहरूले महसुल उठाउनेहरू र पापीहरूसँग कस्तो व्यवहार गर्द थिए तर यस प्रकारका कुनै कुनै मानिसहरूसँग येशूले किन सम्पर्क राख्नु भयो?
▫ हराएका धेरै जनहरू प्रति दयापूर्ण कदम उठाउने शास्त्रीय आधार के हो?
▫ प्राचीनहरूका समूहले यस प्रकारको कदम कसरी चाल्न सक्छन् र कुन प्रकारका व्यक्तिहरू प्रति?
▫ पुनःस्थापित भएकाहरू र बहिष्कृत व्यक्तिहरूका परिवारहरू प्रति हामीले दया कसरी देखाउनु पर्दछ?
[पृष्ठ १९-मा भएको पेटी]
कुनै समयमा परमेश्वरको सफा र आनन्दित मण्डलीको सहभागी भएर बसेको मानिस आज बहिष्कृत अथवा सङ्गतबाट अलग्याइएको छ भने, उसलाई त्यसै अवस्थामा रही रहनु आवश्यक छैन। बरू, उसले पश्चाताप गर्न सक्छ र मण्डलीका प्राचीनहरूसँग सम्पर्क राख्न अघि सर्न सक्छन्। फर्केर आउने बाटो खुल्ला छ।