कुनै नातेदार बहिष्कृत हुँदा मसीही वफादारीता देखाउनुहोस्
१. कस्तो परिस्थितिमा मसीही वफादारिताको परीक्षा हुन सक्छ?
१ पारिवारका सदस्यहरूबीचको बन्धन निकै बलियो हुन सक्छ। पति वा पत्नी, छोरा वा छोरी, आमा वा बुबा वा अन्य घनिष्ठ नातेदारमध्ये कोही मण्डलीबाट बहिष्कृत हुँदा वा स्वेच्छाले संगत गर्न छोड्दा एक जना मसीहीमाथि परीक्षा आइपर्छ। (मत्ती १०:३७) यस्तो नातेदारसँग वफादार मसीहीहरूले कसरी व्यवहार गर्नुपर्छ? उक्त व्यक्ति तपाईंको घरपरिवारमा बस्छन् भने के उनलाई गर्ने व्यवहारमा फरक ल्याउनुपर्छ? सर्वप्रथम, बहिष्कृत हुने तथा स्वेच्छाले संगत गर्न छोड्ने दुवै परिस्थितिमा लागू हुने बाइबल सिद्धान्तबारे पुनरावलोकन गरौं।
२. बाइबलअनुसार मसीहीहरूले मण्डलीबाट बहिष्कृत व्यक्तिहरूसित कस्तो व्यवहार गर्नुपर्छ?
२ बहिष्कृत भएकाहरूसँग कस्तो व्यवहार गर्ने: परमेश्वरको वचनले मसीहीहरूलाई मण्डलीबाट बहिष्कृत गरिएका व्यक्तिहरूसित मित्रता नगाँस्ने वा संगति नगर्ने आज्ञा दिन्छ: “तर अब म तिमीहरूलाई त्यसको संगत नगर्नू भनेर लेख्तछु, जो भाइ कहलिएर व्यभिचारी, अथवा लोभी, वा मूर्तिपूजक, वा गाली गर्ने, कि मतवाला, अथवा लुटाहा हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ। . . . तिमीहरूले तिमीहरूको बीचबाट दुष्ट मानिसलाई हटाओ।” (१ कोरि. ५:११, १३) मत्ती १८:१७ मा लिपिबद्ध येशूका शब्दहरू पनि यसै विषयमा केन्द्रित छन्: “[बहिष्कृत व्यक्ति] तिम्रोलागि अन्यजाति र महसूल उठाउने सरह होस्।” त्यसबेलाका यहूदीहरूले अन्यजातिहरूप्रति कुनै भ्रातृभाव राख्दैनथे र तिनीहरूले महसुल उठाउने व्यक्तिलाई बहिष्कृत व्यक्ति सरह ठान्थे भनी येशूका श्रोताहरूलाई राम्ररी थाह थियो। त्यसैले येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई बहिष्कृत व्यक्तिहरूसित संगत नगर्नु भन्ने निर्देशन दिनुहुँदै थियो।—सेप्टेम्बर १५, १९८१, पृष्ठ १८-२० को द वाचटावर हेर्नुहोस्।
३, ४. बहिष्कृत र संगत गर्न छाडेका व्यक्तिसित कस्तो प्रकारको संगति निषेध गरिएको छ?
३ यसको अर्थ मण्डलीबाट बहिष्कृत भएका कुनै पनि व्यक्तिसित वफादर मसीहीहरूले आध्यात्मिक संगति गर्दैनन्। तर यसमा अरू धेरै कुराहरू पनि विथोलित छन्। परमेश्वरको वचनले ‘त्यस्तो मानिससित खाँदै पनि नखाओ’ भनी बताउँछ। (१ कोरि. ५:११) त्यसैले, हामी बहिष्कृत भएका व्यक्तिहरूसित सामाजिक संगति पनि गर्दैनौं। यसले उक्त व्यक्तिसित पिकनिक, पार्टी, खेलकुद वा सँगै किनमेल गर्ने वा चलचित्र हेर्न जाने वा घरमा होस् वा रेष्टुराँमा सँगै खाने कुराहरूलाई निषेध गर्छ।
४ बहिष्कृत व्यक्तिसित कुराकानी गर्नु हुन्छ कि हुँदैन नि? बाइबलले सबै सम्भाव्य परिस्थितिहरूलाई नसमेटे तापनि २ यूहन्ना १० ले हामीलाई यहोवाको दृष्टिकोण बुझ्न मदत गर्छ: “यदि कोही तिमीकहाँ आएर यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू।” यस विषयमा टिप्पणी गर्दै सेप्टेम्बर १५, १९८१ को द वाचटावर, पृष्ठ २५ ले यसो भन्छ: “कसैलाई साधारण ‘अभिवादन’ मात्र गर्नु पनि कुराकानी वा मित्रता अघि बढाउने पहिलो कदम हुन सक्छ। के हामी बहिष्कृत व्यक्तिसित यस किसिमको पहिलो कदम चाल्न चाहन्छौं?”
५. बहिष्कृत हुँदा कुनै व्यक्तिले के-के गुमाउँछ?
५ वास्तवमा, सोही अंकको द वाचटावर, पृष्ठ ३१ ले यसो भन्छ: “कुनै मसीहीले पाप गरेको कारण बहिष्कृत हुँदा उसले धेरै कुरा गुमाउनुपर्ने हुन्छ: परमेश्वरसितको अनुमोदन; . . . भाइहरूसँगको आनन्ददायी संगति, अनि मसीही नातेदारहरूसितको संगति।”
६. के कुनै मसीहीले एउटै घरपरिवारमा बस्ने बहिष्कृत नातेदारसित गर्ने सबै प्रकारको संगतिलाई बन्द गर्नु आवश्यक छ? व्याख्या गर्नुहोस्।
६ आफ्नै घरपरिवारमा: के यसको मतलब एउटै घरमा बस्ने मसीहीहरूले दैनिक क्रियाकलापको दौडान परिवारको कुनै बहिष्कृत सदस्यसित बोल्न, सँगै बसेर खान अनि संगत गर्नै हुँदैन? फेब्रुअरी १, १९९२ को प्रहरीधरहरा, पृष्ठ १८ को पादटिप्पणीले यसो भन्छ: “कुनै मसीही घरानामा एक जना बहिष्कृत नातेदार भएमा, घरका साधारण र दैनिक काम-कुरामा उसले भाग लिइनै रहनेछ।” त्यसैले खाँदा वा अन्य दैनिक क्रियाकलापहरूमा बहिष्कृत परिवारको सदस्यलाई कुन हदसम्म समावेश गर्ने वा नगर्ने त्यो परिवारका सदस्यहरूले नै निर्णय गर्न सक्छन्। तर तिनीहरूले आफूले संगत गरिरहेका भाइबहिनीहरूलाई त्यस बहिष्कृत परिवारका सदस्यप्रति बहिष्कृत हुनु अघिको र अहिलेको तिनीहरूको व्यवहारमा कुनै परिवर्तन नआएको भान पर्न दिने छैनन्।
७. परिवारको कुनै सदस्य बहिष्कृत हुँदा घरभित्रको आध्यात्मिक संगतिमा कस्तो परिवर्तन आउँछ?
७ यद्यपि, सेप्टेम्बर १५, १९८१ को द वाचटावर, पृष्ठ २८ ले बहिष्कृत वा संगतिबाट अलग्याइएको व्यक्तिबारे यसो भन्छ: “उक्त व्यक्तिसित पहिलेको आध्यात्मिक सम्बन्ध केही पनि रहने छैन। यो कुरा उक्त व्यक्तिका परिवारका सदस्य तथा अन्य नातेदारहरूमा पनि लागू हुन्छ। . . . यसको अर्थ घरमा पहिले रहेको आध्यात्मिक संगतिमा परिवर्तन आउनेछ। उदाहरणका लागि, यदि पति बहिष्कृत भएका छन् भने, उनकी पत्नी र छोराछोरीहरू उनले सञ्चालन गरेको पारिवारिक बाइबल अध्ययन वा बाइबल पढाइ र उनले गरेको प्रार्थनामा सहमत हुने छैनन्। यदि खाना खाने समयमा उनी प्रार्थना गर्न चाहन्छन् भने आफ्नो घरमा उनलाई यसो गर्ने अधिकार छ। तर परिवारका सदस्यहरूले परमेश्वरलाई मनमनै प्रार्थना गर्न सक्छन्। (हितो. २८:९; भज. ११९:१४५, १४६) परिवारले सँगै बाइबल पढ्दा वा बाइबल अध्ययन गर्दा बहिष्कृत व्यक्ति पनि उपस्थित हुन चाहन्छन् भने के गर्ने? यदि उक्त व्यक्तिले तिनीहरूलाई सिकाउन वा आफ्ना धार्मिक विचारहरू बताउने कोसिस गर्दैनन् भने परिवारका अन्य सदस्यहरूले सुन्नको लागि उनलाई उपस्थित हुन अनुमति दिन सक्छन्।”
८. आफ्नो घरमा बस्ने नाबालिग बहिष्कृत बच्चाप्रति मसीही आमाबाबुको जिम्मेवारी के हो?
८ यदि परिवारको कुनै नाबालिग बहिष्कृत भएको खण्डमा उनको लालनपालनको जिम्मेवार अझै मसीही आमाबाबु नै हुन्छन्। द वाचटावर, नोभेम्बर १५, १९८८, पृष्ठ २० ले यसो भन्छ: “तिनीहरूले उनलाई गाँस, बास र कपासको प्रबन्ध गरिरहनु परे जस्तै परमेश्वरको वचनअनुरूप सिकाउनु तथा अनुशासन दिनु पनि आवश्यक छ। (हितोपदेश ६:२०-२२; २९:१७) अतः उनी बहिष्कृत भए तापनि मायालु आमाबाबुले उनीसित गृह बाइबल अध्ययनको प्रबन्ध मिलाउन सक्छन्। तिनीहरूले बहिष्कृत बच्चाकै लागि भनेर गरेको अध्ययन उक्त बच्चालाई सुधार्ने एउटा उत्तम उपाय हुन सक्छ। अथवा तिनीहरूले उनलाई पारिवारिक अध्ययनमा समावेश गराउने निर्णय गर्न पनि सक्छन्।”—अक्टोबर १, २००१ पृष्ठ १६-१७ को प्रहरीधरहरा पनि हेर्नुहोस्।
९. बहिष्कृत नातेदारसित मसीहीहरूले कुन हदसम्म सम्पर्क राख्नुपर्छ?
९ एउटै घरमा नबस्ने नातेदारहरू: अप्रिल १५, १९८८ द वाचटावर-को पृष्ठ २८-ले यसो भन्छ, “बहिष्कृत वा संगतिबाट अलग्याइएका नातेदार आफ्नो घर परिवारबाट अलग्गै बसेको छ भने परिस्थिति भिन्न हुन्छ। उक्त नातेदारसित पटक्कै सम्पर्क नराख्न पनि सकिन्छ। पश्चात्तापी भावविना सरासर पाप गरिरहने व्यक्तिसित “सङ्गत नगर्नू” भन्ने धर्मशास्त्रीय आज्ञाअनुरूप परिवारिक मामिलाले गर्दा भेट्नै पर्ने भए तापनि भेटलाई सकेसम्म छोटो बनाइनेछ। (१ कोरि. ५:११) यस्ता नातेदारहरूसित व्यापारिक कारोबारहरूलाई समेत सकेसम्म कम गर्दै वफादार मसीहीले अनावश्यक संगत नगर्ने कोसिस गर्नुपर्छ।—सेप्टेम्बर १५, १९८१ द वाचटावर-को पृष्ठ २९-३० पनि हेर्नुहोस्।
१०, ११. बहिष्कृत नातेदारलाई घरमा सर्न अनुमति दिनुअघि एक जना मसीहीले कस्तो विचार गर्ने छन्?
१० द वाचटावर-ले अर्को सम्भाव्य परिस्थितिमा पनि हाम्रो ध्यान आकृष्ट गर्छ: “घरमा आफूसँगै नबस्ने आफ्ना नजिकका नातेदारहरू जस्तै छोरा वा आमाबाबु बहिष्कृत भएपछि आफ्नो घरमा सर्न चाहन्छन् भने के गर्ने? परिस्थितिलाई विचार गरेर परिवारले निर्णय गर्न सक्छन्? उदाहरणको लागि, बहिष्कृत आमा वा बाबु बिमारी अथवा आर्थिक वा शारीरिक रूपमा आफ्नो हेरचाह गर्न असक्षम भएका हुन सक्छन्। तिनीहरूलाई मदत गर्ने मसीही छोराछोरीको आध्यात्मिक अनि नैतिक दायित्व छ। (१ तिमो. ५:८) . . . आमाबाबुको वास्तविक आवश्यकताहरू अनि तिनीहरूको मनोवृत्ति तथा घरको आध्यात्मिक हितप्रति परिवारको शिरको चासोलाई ध्यानमा राख्दै निर्णय गर्न सकिन्छ।”—सेप्टेम्बर १५, १९८१ द वाचटावर-को पृष्ठ २८-९.
११ बच्चाको सन्दर्भमा सोही लेख यसो भन्छ: “कहिलेकाहीं मसीही आमाबाबुले शारीरिक वा भावनात्मक तवरमा बिरामी भएका बच्चालाई केही समयको लागि घरमा राखेका छन्। तर आमाबाबुले हरेक परिस्थितिमा व्यक्तिविशेषको अवस्थालाई मूल्याकंन गर्न सक्छन्। बहिष्कृत छोरा आत्मनिर्भर थिए र अहिले आएर आत्मनिर्भर हुन नसकेका हुन् कि? अथवा सजिलो होस् भनेर मात्र उनी तपाईंहरूसँगै बस्न चाहेका हुन्? उसको नैतिकता र आचरणबारे के भन्न सकिन्छ? के उनले घरमा ‘खमीर’ ल्याउने छन्?—गला. ५:९.”
१२. बहिष्कार गर्ने प्रबन्धका केही फाइदाहरू के-के हुन्?
१२ यहोवाप्रति वफादार हुँदा प्राप्त हुने लाभहरू: बहिष्कृत र गल्ती गरेर पश्चात्ताप नगर्ने व्यक्तिसितको संगतिलाई त्याग्ने धर्मशास्त्रीय प्रबन्धलाई सहयोग गर्नु लाभदायक छ। यसले मण्डलीको स्वच्छतालाई सुरक्षित राख्नुका साथै हामीलाई बाइबलको उच्च नैतिक स्तरहरूअनुसार हिंड्ने व्यक्तिको रूपमा चिनाउँछ। (१ पत्रु. १:१४-१६) यसले हामीलाई भ्रष्ट प्रभावहरूबाट सुरक्षित राख्छ। (गला. ५:७-९) यसले गलत काम गर्ने व्यक्तिलाई प्राप्त अनुशासनबाट पूर्णतया लाभ उठाउने अवसर दिन्छ जसद्वारा तिनले “शान्तिको फल अर्थात् धार्मिकताको फल” खेती गर्न मदत पाउँछन्।—हिब्रू १२:११.
१३. एउटा परिवारले कस्तो छाँटकाँट गरे र परिणाम के भयो?
१३ एक जुम्ल्याहा दाजु-बहिनीले क्षेत्रीय सम्मेलनमा एउटा भाषण सुनेपछि छ वर्षदेखि बहिष्कृत भएकी आफ्नी अलग्गै बस्ने आमासित गर्ने व्यवहारमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरे। सम्मेलन सकिने बित्तिकै उक्त जुम्ल्याहा दाजुले आफ्नी आमालाई फोन गरेर दुवैले उनलाई निकै प्रेम गर्ने कुरा बताएपछि अबदेखि भेट्नै पर्ने पारिवारिक मामिलामा मात्र उनीसित भेट्न सक्ने कुरा बुझाए। त्यसको केही समयपछि, तिनकी आमा सभाहरू धाउन थालिन् र अन्ततः पुनर्स्थापित भइन्। साथै, बेग्लै विश्वास भएको तिनको पतिले पनि अध्ययन सुरु गरे र पछि बप्तिस्मा लिए।
१४. हामीले किन बहिष्कारको प्रबन्धलाई वफादारीतासाथ समर्थन गर्नुपर्छ?
१४ धर्मशास्त्रमा उल्लेख गरिएको बहिष्कारको प्रबन्धलाई वफादारीतासाथ पालन गर्नाले यहोवाप्रति हाम्रो प्रेम प्रदर्शित हुन्छ अनि उहाँको आलोचना गर्नेहरूलाई मुखभरिको जवाफ दिन्छ। (हितो. २७:११) फलतः हामी यहोवाको अनुमोदनप्रति विश्वस्त हुन सक्छौं। यहोवाबारे राजा दाउदले यस्तो लेखे: “उहाँका धार्मिक-विधानहरू पालन गर्न मैले बिराएको छैनँ। भक्तसँग तपाईं भक्त देखा पर्नुहुन्छ।”—२ शमू. २२:२३, २६.