युवा-युवतीहरू हो—के तपाईं मसीही वफादारीको जाँचमा सफल हुनु हुनेछ?
“तपाईं अनैतिक चाल-चलनलाई बेवफादारी ठान्नुहुन्न। तपाईंले अलिकता रमाइलो मात्र गर्नु भएको जस्तो लाग्छ। हो, तपाईंलाई थाह छ कि, तपाईंका आमा-बाबु वा प्राचीनहरूलाई थाह भयो भने, तिनीहरूको हृदयमा चोट पुग्नेछ र धेरै समस्याहरू उत्पन्न हुनेछन्। तर तपाईं चाहिं रमाइलो गर्नु भएको बेलामा यी सबै कुरा बिर्सिनुहुन्छ।”
यहाँ उद्धृत गरिएका नौजवान गोप्य रूपमा, केही समयका लागि व्यभिचारमा लागेका थिए। आफ्ना आमा-बाबु र मसीही मण्डलीलाई छलेर, तिनी दोहोरो जीवन बिताइ रहेका थिए। तिनी मसीही वफादारीको एउटा जाँचमा असफल भइरहेका थिए भन्ने कुरा तिनले त्यस बेला महसुस गरेनन्।
त्यस प्रकारका वफादारीका जाँचहरूमा हजारौं नौजवान मसीहीहरू असफल भइ रहेकाछन्। र यो कुनै आश्चर्यको कुरा होइन! किनकि, परमेश्वरका जनहरूसँग शैतान अर्थात् दियाबलले ‘युद्ध लड़ी रहेछ’, र तिनीहरूको समग्रता भङ्ग गर्न त्यसले सक्दोभर प्रयास गरिरहेछ। (प्रकाश १२:१७) खासगरी त्यसले आफ्नो “धुर्त युक्तिहरूको” तारो नौजवानहरूलाई बनाएको छ। (एफिसी ६:११, किङ्गडम इन्टरलिनिएर) यसकारण वफादार रहनकालागि साँच्चैकै प्रयत्न र दृढ़ फैसलाको आवश्यकता पर्दछ।
तर वफादारी भनेको के हो? हिब्रू शास्त्रमा, “वफादारीका” निम्ति प्रयोग भएको मूल भाषाको शब्दबाट, कुनै उद्देश्यलाई ध्यानमा राखेर एउटा व्यक्तिसित जोडिएको मायालु सम्बन्धको बोध हुँदछ। (भजनसंग्रह १८:२५) यहाँ, एउटा सजिलैसित तोड्न सकिने प्रकारको कुनै कमजोर बन्धन होइन तर त्यस व्यक्तिसित सम्बन्धित उद्देश्य पूरा नहोउञ्जेलसम्म कायम रहने किसिमको घनिष्ठताको वर्णन गरिएको छ। युनानी शास्त्रमा, “वफादारीको” निम्ति प्रयोग हुने मूल भाषाको शब्दले पवित्रता, धार्मिकता, वा आदरको भाव व्यक्त गर्दछ।
यस प्रकार वफादारीमा परमेश्वरसितको एउटा उचित सम्बन्ध विथोलित छ। एफिसी ४:२४ ले “नया मानिसलाई धारण गर जो . . . धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ” भनी हामीलाई भन्दछ। के तपाईं यहोवा प्रति वफादार हुन चाहनुहुन्छ? उसोभए उहाँसित तपाईंले एउटा वफादार सम्बन्ध, अछिन्न बन्धन, आफूले गर्ने प्रत्येक कुराहरूबाट उहाँलाई खुशी पार्ने दृढ़ताको विकाश गर्नुपर्दछ। अन्यथा गर्न कतिकै परिक्षा आइ परेतापनि—तपाईं यहोवाका धार्मिक आदर्शहरूमा अडेर बस्नु पर्छ!
बेवफादार हुन लगाउने दबाउहरू
यो प्रशंसनीय कुरा हो कि, यहोवाका साक्षीहरूमध्ये धेरै जस्ता नौजवानहरूले वफादार रहने हर प्रयास गरिरहेकाछन्, र फलःस्वरूप तिनीहरू एउटा सफा अन्तस्करणको आनन्द उठाउँछन्। तथापि प्रेरित पावलले भविष्यवाणी गरे कि “अन्तिम दिनहरूमा” बेवफादारी साधारणतया मानव चरित्र हुनेछ। (२ तिमोथी ३:१, २) दुःखको कुरा हो कि, केही मसीही नौजवानहरूले यो बेवफादार संसारको “साँचामा आफूहरूलाई ढालिन” दिएका छन्। (रोमी १२:२, फिलिप्स) शैतानले यो कसरी गर्न सकेको छ?
साथीहरूको दबाउ, शैतानको एउटा प्रभावशाली हतियार हो। अरूहरूले आफूलाई असल ठानोस् भन्ने अभिलाषा धेरै जसो मानिसहरूमा हुन्छ, र यो स्वाभाविक इच्छालाई कसरी चलाउने हो, सो शैतानलाई थाहा छ। अरूहरूको नजरमा आफू बेग्लै हुनु न परोस् भनेर, केही मसीही नौजवानहरूले मादक पदार्थको दुरूपयोग, अहितकर वार्तालाप, अनैतिक चालचलन, चुरोट पिउने र मतवालापन जस्ता कुरामा भाग लिएका छन्—सबै आफ्ना साथीहरूको नजरमा स्वीकृत हुनका निम्ति।
‘हामी पनि हाम्रो शरीर र मनको इच्छा पूरा गरेर आफ्नै शरीरको लालसा अनुसार’ हिडेंको शैतान चाहन्छ। (एफिसी २:३) “बैंस” लाग्दा, यौन इच्छा कति प्रबल हुन्छ भन्ने कुरा त्यसलाई राम्रोसँग थाह छ। (१ कोरिन्थी ७:३६) र तपाईं ती इच्छाहरूको वशमा परेको त्यो चाहन्छ। केही मसीही नौजवानहरू अश्लील साहित्यहरू, चल-चित्रहरू र भिडियोहरू हेरेर वा हस्तमैथुन गरेर, चालै न पाइकन, शैतानको हातमा फँस्तछन्। आखिरमा यी कुराहरू द्वारानै बेवफादारीको गम्भीर गलतीहरूतर्फ गइन्छ। के शैतानको संसारले तपाईंलाई ती मध्यका केही क्षेत्रहरूमा, ‘आफ्नो साँचामा ढालेको छ?’
दोहोरो जीवन बिताउनु
व्यभिचार जस्तो एउटा ठूलो गलती गर्नु स्वयंमानै एउटा गम्भीर भूल हो। तर केही नौजवानहरूले आफ्नो समस्यालाई अझ जटिल पार्दछन्। तिनीहरू भजनसंग्रह २६:४ मा उल्लेख गरिएका “आफूलाई ढाक-छोप गर्ने” “असत्य मानिसहरू” जस्तै छन्। यस्ता नौजवानहरू तिनीहरूका माता-पिता वा अरू परिपक्व मसीहीहरूका सामु एक प्रकारको व्यवहार गर्ने गर्दछन् र आफ्ना साथीहरूसँग हुँदा अर्कै प्रकारको व्यवहार गर्दै, दोहोरो जीवन बिताउँछन्।
तथापि, दोहोरो जीवन बिताउँनु निरर्थक र खतरनाक हो। न सुधारिएको गलत कामहरूले अझ अरू गलत कामहरू तिर लैजान्छ। र शुरूमा अन्तस्करण पिरिएता पनि, गलत काम जति गर्दै गयो उतिनै अन्तस्करणमा कम पीर महसुस हुन्छ। पछि गएर, गलत काम गर्दा वास्तवमा ‘पीर अनुभव नै हुँदैन।’—एफिसी ४:१९, किङ्गडम लिनिएर.
यस्तो अवस्थामा पुगिसके पछि, आफ्नो गलती स्वीकार गरेर मदत माग्नु अतिनै कठिन भएर जान्छ। खासगरी अरू नौजवान मसीहीहरू पनि यसमा बिथोलित छन् भने एसो गर्न झनै गाह्रो हुन्छ। गलत प्रकारको वफादारी अकसर विजयी हुन जान्छ। शुरूमा उद्धृत गरिएका नौजवानले व्याख्या गरे: “आफूले जे गरिंदै छ त्यो गलत हो भनी थाहा हुन्छ। तर त्यसमा बिथोलित अरूहरू झन्झटमा नपरून् भन्ने उद्देश्यले कसैलाई न भन्ने फैसला गर्न तपाईं मञ्जुर गर्नु हुन्छ।”
तिनी वास्तवमा कस्ता व्यक्ति हुन् भन्ने कुरा शायद कसैले आफ्ना माता-पिता वा मण्डलीबाट ‘लुकाएता पनि’, तिनी यहोवाबाट लुक्न सक्तैनन्। “उहाँको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नु पर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्।” (हिब्रू ४:१३) बाइबलले हामीलाई विश्वस्त पार्दछ: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्नति हुँदैन।” (हितोपदेश २८:१३) समयमा दोष खुली हाल्छ। यहोवालाई कसैले छल्न सक्तैन। हितोपदेश ३:७ भन्दछ: “आफैलाई बुद्धिमान नसम्झी, तर परमप्रभुको [यहोवाको न्यु. व.] भय मान्, र दुष्कर्मबाट अलग बस्।” साथै, यो पनि याद राख्नुहोस्, “परमप्रभुको [यहोवाको न्यु. व.] नजर दुष्ट र असल दुवैलाई हेर्दै सर्वत्र रहन्छ।”—हितोपदेश १५:३.
अघि उल्लेखित् नौजवान साथै तिनीसँग गोप्य ढङ्गमा गलत काममा लागेका अरूहरूको विषयमा पनि थाह पाइयो, र ती र तिनका साथीहरूलाई मसीही मण्डलीबाट बहिष्कार गर्नुपऱ्यो। पछि गएर तिनीहरू आध्यात्मिक रूपमा होशमा आए र तिनीहरूलाई मण्डलीमा पुनःस्थापित गरियो। तथापि, वफादारीको अर्थ तिनीहरूले कस्तो गाह्रो गरी बुझे!
परमेश्वरसित ‘बसेर आफ्ना कुरा छलफल’ गर्नु
सम्भवतः गलत काम गरेर कसैले आफूलाई कुनै प्रकारबाट बेवफादार साबित गरिसकेको छ भने कसो गर्ने? आफूलाई ठग्न र कुरा सच्याउने आवश्यकतालाई इन्कार गर्न सजिलो हुन्छ। गोप्य रूपमा व्यभिचारमा लागेका एउटा नौजवानले भने: “मेरो यो गलत काम ढाक-छोप होला भनी ठानेर, मैले आफ्नो क्षेत्र-सेवकाईमा बिताउने समय बढ़ाएँ।” बाटो बिराएका इस्राएलीहरूले पनि यसै प्रकार बलिहरूद्वारा यहोवाको चित्त बुझाउने प्रयास गरे। तर यहोवाले यस प्रकारका कपटपूर्ण भक्ति इन्कार गर्नुभयो। उहाँले तिनीहरूलाई आग्रह गर्नुभयो: “आफूलाई धोएर चोखो पार। मेरो सामनेबाट तिमीहरूका दुष्ट्याइँ फालिदेऊ, खराबी गर्न छोड़।” तिनीहरूले ‘उहाँसित बसेर छलफल गरे’ पछि मात्र यहोवाले तिनीहरूको बलिदानहरू स्वीकार गर्नुहुने थियो। आज पनि गलत काममा लागेकाहरूका निम्ति सोही कुरा लागूहुन्छ।—यशैया १:११, १५-१८.
एक जना साथीलाई मनपेट दिएर सबै कुरा बताउँदैमा यहोवासित बसेर छलफल गरेको हुँदैन। एउटा कुरा पक्का हो कि साथीहरूले सँधैनै सर्वश्रेष्ट मदत दिंदैनन्, किनभने अक्सर जीवनमा तिनीहरूको अनुभव पनि सीमितनै हुन्छ। अझ महत्त्वपूर्ण कुरा के हो भने, तिनीहरूले तपाईंको पाप क्षमा गर्न सक्तैनन्। परमेश्वरले मात्र सो गर्न सक्नुहुन्छ। अतः आफ्नो गलती स्वीकार गर्दै, “उहाँको सामने आफ्नो हृदयको दुःख” पोखाउनु होस्। (भजनसंग्रह ६२:८) आफ्नो चाल-चलनको कारण तपाईं लज्जित हुनु भए तापनि, यहोवाले ‘प्रशस्त गरी क्षमा गर्नु हुनेछ’ भनी तपाईं विश्वस्त रहनु होस्।—यशैया ५५:७.
तपाईंलाई यस बाहेक अरू मदतको आवश्यकता पर्नेछ। यस प्रकारको मदतबाट लाभ उठाएका एक जना नौजवान मसीही भन्दछन्: “आफ्नो माता-पिता र प्राचीनहरूलाई तुरुन्तै सबै बुरा बताइ हाल्नु होस्—शुरूमै।” हो, तपाईंका माता-पितालेनै सम्भवतः तपाईंलाई राम्ररी मदत दिन सक्तछन्। तिनीहरूलाई आफ्नो “मन” को सारा कुरा बताउनु होस् र आफ्ना समस्याहरूको पूर्ण जानकारी उहाँहरूलाई दिनुहोस्। (हितोपदेश २३:२६) तपाईंलाई अझ अरू मदतको आवश्यकता परेमा, उहाँहरूले मण्डलीका प्राचीनहरूसँग तपाईंको भेट गराइ दिने प्रबन्ध मिलाउन सक्नेछन्।—याकूब ५:१४, १५.
साँचो वफादारी प्रदर्शन गर्नु—कसरी?
अवश्य, बेवफादार चाल-चलनमा नपर्नु नै सबै भन्दा बेस हो। भजनसंग्रह १८:२५ ले हामीलाई भन्दछ: “कृपालुसँग तपाईं [यहोवा] कृपालुनै देखा पर्नुहुनेछ; सिद्धसँग [वफादारसँग, न्यु.व.] तपाईं सिद्धनै [वफादार, न्यु.व.] देखा पर्नुहुनेछ।” वफादारीसाथ उच्च स्तरको चाल-चलन कायम राख्नेहरूलाई यहोवाले धेरैनै आशिष दिनुहुन्छ।
तथापि, अरूनै तरिकाहरूद्वारा पनि तपाईंको वफादारीको जाँच हुन सक्तछ। उदाहरणकालागि, मानिलिनुहोस् तपाईंको एक जना साथी गलत बाटोमा हिंड़ि रहेछ। त्यस साथी प्रति गलत प्रकारको वफादारी कायम राख्दै, के तपाईं यहोवा प्रति दर्साउनु पर्ने वफादारीलाई बिर्सिनु हुनेछ? तपाईंले त्यस साथीकहाँ गएर उसको माता-पिता वा प्राचीनहरूलाई उ आफैले गएर सबै कुरा बताओस् भनी आग्रह गर्नु एउटा मायालु कुरा हुनेछ। यदि उसले एउटा मनासिब समय भित्र भनेन भने, तपाईं आफैले गएर भन्नु हुनेछ भनी तपाईंको साथीलाई भन्नुहोस्। हितोपदेश २७:५ भन्दछ: “गुप्त प्रेम भन्दा खुल्लमखुल्ला गरेको हप्की असल हो।” यस प्रकार आफ्नो साथीलाई मदत दिनु भएर, तपाईंले आफ्नो असली मित्रता मात्र होइन तर यहोवा प्रति आफ्नो वफादारी पनि प्रदर्शित गर्नु हुनेछ।
जस्तो सुकै परीक्षा आइ परेता पनि, यहोवासित राखिएको बलियो व्यक्तिगत सम्बन्धबाट नै वफादारी प्रदर्शन गर्ने बल प्राप्त हुन्छ। यस प्रकारको एउटा सम्बन्धको आनन्द उठाउन चाहन्छौं भने, अर्थपूर्ण प्रार्थना र व्यक्तिगत अध्ययन आवश्यक छन्। रमाइलो कुरा के हो भने, अघि उल्लेख गरिएका सबैनै नौजवानहरूले स्वीकार गरे कि तिनीहरूका प्रार्थनाहरू र व्यक्तिगत अध्ययन गर्ने बानीहरू नित्यक्रम मात्र भएको थियो—र केही समय पछि, त्यो पनि हराएर गयो। तिनीहरूका निम्ति यहोवा वास्तविक हुन छाड्नुभयो, र चाँड़ैनै फोहोर बानीहरू बसालिए। वफादार रहिरहनका निम्ति के तपाईंले प्रार्थना र व्यक्तिगत अध्ययनद्वारा यहोवासँगको सम्बन्धलाई बलियो पारिरहनु भएको छ?
यो साँचो हो, रमाइलो गर्नै पाइएन भनी कहिलेकाहीं तपाईंलाई लाग्दो हो। एउटी जवान आइमाईले भनिन्: “सांसारिक मानिसहरूले कतिको मौज-मज्जा गरे जस्तो कहिलेकाहीं लाग्दछ। तर एउटा जटिल उल्झनमा फँसे पछि चाहिं थाहा हुन्छ कि ती कुराहरूलाई कुनै हालतमा पनि मौज-मज्जा भन्न सकिन्दैन।” यौनिक अनैतिकतामा फँसेर, त्यस पछि पेट बोकेर अनि गर्भपात गराउनु परेको आफ्नो अनुभवबाट तिनी बोलिरहेकी थिइन्। अब तिनी भन्दछिन्, “सच्चाइमा हुनु एउटा संरक्षण हो।” तिनले यो पाठ कठिन ढ़ङ्गले सिकिन्। भजनसंग्रह ११९:१६५ ले हामीलाई याद दिलाउँछ कि “तपाईंको [परमेश्वरको) व्यवस्थामा प्रेम राख्नेहरूलाई ठूलो शान्ति हुन्छ।”
यसकारण, वफादार रहिरहने सक्दो भर प्रयास गर्नुहोस्। यहोवासँग एउटा बलियो सम्बन्ध कायम राख्ने प्रयास गर्नु होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर्नुहोस्, र जुन कुरा असल छ, त्यसमा लागिरहनु होस्। (रोमी १२:९) हामीलाई भजनसंग्रह ९७:१० भन्दछ: “हे परमप्रभुलाई [यहोवालाई न्यु. व] प्रेम गर्ने हो, खराबीलाई घृणा गर। उहाँले आफ्ना पवित्रजनहरूका प्राणलाई जोगाई राख्नुहुन्छ।” हो, एउटा मसीही नौजवानको हैसियतमा, मसीही वफादारीको जाँचमा तपाईं सफल हुनु भयो भने, यहोवाको संरक्षण र अनन्त जीवनको आनन्द उठाउनु हुनेछ। (w91 6/15)