हेर, वफादार जन!
“हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र [वफादार, न्युव] हुनुहुन्छ।”—प्रकाश १५:४.
१. जे. एफ. रदरफर्डले आफूअघिका अध्यक्ष सि. टि. रसलको वफादारीबारे के भने?
चार्ल्स टि. रसलपछि सन् १९१७ मा जे. एफ. रदरफोर्ड वाचटावर सोसाइटीका अध्यक्ष भए। रसलको अन्त्येष्टि भाषणमा तिनले यसरी भने: “चार्ल्स टेज रसल परमेश्वर, ख्रीष्ट येशू र मसीह राज्यको पक्षमा वफादार हुनुहुन्थ्यो। हो, यहाँसम्म कि उहाँ मृत्युपर्यन्त वफादार रहनुभयो।” साँच्चै, त्यो भनाइ यहोवाको विश्वासी सेवकलाई चढाउनुपर्ने उत्कृष्ट श्रद्धाञ्जली थियो। कुनै व्यक्तिलाई तिनले अन्तिम घडीसम्म वफादारीको चुनौती सामना गरे भन्नुबाहेक तिनलाई चढाउनसक्ने महान् श्रद्धाञ्जली अरू छँदैछैन।
२, ३. (क) वफादारी कायम गर्नु किन चुनौती हो? (ख) वफादारी कायम गर्न साँचो मसीहीहरूको प्रयास विरुद्ध को पनि सुसज्जित छन्?
२ वफादारी कायम गर्नु एउटा चुनौती हो। किन? किनभने वफादारी र स्वार्थ आपसमा जुझ्छन्। परमेश्वरप्रति वफादार नरहनेहरूमध्ये अग्रस्थानमा मसीहीजगतका पादरीहरू छन्। त्यसपछि आउँछ आजका वैवाहिक सम्बन्धहरू, त्यसमा जतिको सर्वव्यापी अवफादारी कहिल्यै पनि भएको छैन। यौन अनैतिकता सामान्य कुरा भएको छ। अवफादारी व्यापारिक संसारमा पनि व्याप्त छ। यस सम्बन्धमा यसो भनिएको छ: “थुप्रै प्रबन्धक तथा पेशेवरहरूले . . . मूर्ख र सजिलैसित ठगिनेहरू मात्र तिनीहरूका कम्पनीमा वफादारसाथ रहन्छन् भन्ने विश्वास गर्छन्।” “असाध्यै वफादार” रहनेहरू अपहेलित हुन्छन्। प्रबन्धक परामर्श तथा कार्यकारी खोज फर्मका अध्यक्षले अपनाएको तरिका हो, “मुख्यतः तपाईं आफैप्रति मात्र वफादार हुनुपर्छ।” तथापि, आफैप्रति वफादार होऊ भन्नु वफादार शब्दको अर्थलाई अशुद्ध पार्नु हो। यसले हामीलाई मीका ७:२ मा उल्लिखित कुरा स्मरण गराउँछ: “भक्त [वफादार, न्युव] मानिस पृथ्वीदेखि नष्ट भएको छ।”
३ हामीलाई परमेश्वरप्रति अवफादार बनाउने संकल्प गरेर शैतान र त्यसका प्रेतहरू एकदमै जोडतोडले हाम्रो विरुद्धमा लागेका छन्। त्यसैकारण मसीहीहरूलाई एफिसी ६:१२ मा यसो भनिएको छ: “हाम्रो यो लड़न्त मानिसहरूका विरुद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” हो, हामीले यो चेताउनीलाई पालन गर्नु आवश्यक छ: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।”—१ पत्रुस ५:८.
४. कुन झुकाउहरूले गर्दा वफादार रहन कठिन हुन्छ?
४ उत्पत्ति ८:२१ मा उल्लेख गरिएझैं हाम्रा मातापिताबाट प्राप्त वंशानुगत स्वार्थी झुकाउहरूको कारण पनि हामीलाई वफादारी कायम गर्नु कठिन पर्छ। उक्त पदमा यस्तो लेखिएको छ: “मानिसको हृदयका विचार बालकदेखिनै खराब” र स्वार्थी हुन्छ। हामी सबैसित एउटा समस्या छ। प्रेरित पावल आफूले भोगेका त्यस्तै समस्या यसरी स्वीकार्छन्: “असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्न, त्यही म गर्नेगर्छु।”—रोमी ७:१९.
वफादारी विशेष कुरा हो
५, ६. वफादारीको अर्थबारे के भन्न सकिन्छ र यसलाई कसरी परिभाषित गरिएको छ?
५ “वफादार” अनुपम शब्द हो। यसर्थ, इन्साइट अन द स्क्रिप्चर्स-ले (धर्मशास्त्रमाथि अन्तरदृष्टि) (नेपालीमा उपलब्ध छैन) यसरी बताउँछ: “हिब्रू र युनानी शब्दहरूको सही अर्थ दिने अंग्रेजी शब्दहरू पाइँदैन। तर ‘वफादारीलाई’ परमेश्वर र उहाँको सेवाको सम्बन्धमा प्रयोग गर्दा यसले प्रायः सही अर्थ दिन्छ। किनभने यसमा भक्तिको विचार तथा विश्वसनीयता समावेश छन्।”a “वफादारी”-को सम्बन्धमा एक पटक प्रहरीधरहरा-ले यसो भन्यो: “विश्वासीलोपना, कर्तव्य, प्रेम, जिम्मेवारी, निष्ठा। यी सबै शब्दहरूमा के समानता छ? यी शब्दहरू वफादारीका विभिन्न रूप हुन्।” हो, कतिपय सद्गुणहरू वफादारीका साँच्चै भिन्न भिन्न पक्षहरू हुन्। वास्तवमा वफादारी र धार्मिकतालाई धर्मशास्त्रमा कति पटक मिलाइएको छ, त्यो उल्लेखनीय छ।
६ निम्न परिभाषाहरू पनि मदतकारी छन्: ‘वफादारीले स्थिर रहने, प्रलोभनमा नपर्ने, अटुट, भरोसायोग्य विश्वसनीयता र निष्ठा संकेत गर्छ।’ ‘आफ्नो प्रतिज्ञालाई विश्वसनीयताका साथ पूरा गर्नु वा आफू आबद्ध रहेको सम्बन्ध वा सिद्धान्तहरूप्रति निष्ठावान् भएर बस्नु पनि वफादारी हो। यो शब्दले कुनै कुरामा लागिरहनुलाई मात्र होइन तर बहकाउ तथा लोभको विरोध गरेर त्यसमा लागिरहनुलाई संकेत गर्छ।’ यसैले परीक्षा, विरोध तथा सतावटको बावजूद पनि निरन्तर विश्वासी रहने मानिसलाई “वफादार” भन्नु उचित छ।
७. वफादारी र विश्वसनीयताबीच के कस्ता भिन्नता छुट्याउन सकिन्छ?
७ तथापि, यस सन्दर्भमा वफादारी र विश्वसनीयताबीचको भिन्नतालाई उदाहरणद्वारा छुट्टयाउनु बेस होला। पश्चिमी संयुक्त राज्यमा एउटा तातो पानीको फोहराले प्रायः प्रत्येक घण्टामा तातो पानी फ्याँक्छ। यसले यो कार्य नियमित ढंगमा गर्ने हुनाले यसलाई पुरानो विश्वासी भनी नामाकरण गरिएको छ। बाइबलले चन्द्रमाजस्ता निर्जीव कुराहरूलाई विश्वासी भन्छ। किनभने यो भरोसायोग्य छ। भजन ८९:३७ ले चन्द्रमालाई “आकाशमा विश्वासी गवाही” भन्छ। परमेश्वरको वचनलाई पनि विश्वासयोग्य भनिएको छ। प्रकाश २१:५ ले भन्छ: “औ सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ औ उहाँले भन्नुभयो, ‘लेख, किनकि यी कुराहरू विश्वासयोग्य र सत्य छन्।’” यी सबै उदाहरणहरू विश्वसनीय र भरपर्दा छन् तर तिनीहरू कसैप्रति आसक्त हुनसक्दैन वा त्यसमा वफादारीजस्ता कुनै नैतिक गुनहरू हुँदैन।
यहोवा, सर्वश्रेष्ठ वफादार जन
८. धर्मशास्त्रीय प्रमाणले वफादारीको के कस्ता उत्तम उदाहरण प्रस्तुत गर्छ?
८ यहोवा परमेश्वर वफादारीको उत्तम उदाहरण हुनुहुन्छ भन्ने कुरामा रत्तिभर सन्देह छैन। मानवजातिलाई अनन्त जीवनका लागि आफ्ना पुत्रसमेत दिनुभएर यहोवाले तिनीहरूप्रति वफादारी देखाउनुभएको छ। (यूहन्ना ३:१६) यर्मिया ३:१२ मा हामी यस्तो लेखिएको पाउँछौं: “‘हे विश्वासघाती इस्राएल, तँ फर्की, परमप्रभु भन्नुहुन्छ, क्रोधले म तँलाई हेर्नेछैनँ, किनभने म कृपालु [वफादार, न्युव] छु।’” यहोवाको वफादारीको अझ प्रमाण दिने शब्दहरू प्रकाश १६:५ मा उल्लिखित छन्: “‘तपाईं धर्मात्मा [अनि वफादार, न्युव] हुनुहुन्छ। जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो।” त्यसपछि फेरि भजन १४५:१७ मा यसो भनिएको छ: “परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही [वफादार, न्युव] हुनुहुन्छ।” वास्तवमा यहोवा वफादारीमा कतिसम्म श्रेष्ठ हुनुहुन्छ भनेर प्रकाश १५:४ ले बताउँछ: “हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र [वफादार, न्युव] हुनुहुन्छ।” यहोवा परमेश्वर सबैभन्दा उच्च श्रेणीको वफादार जन हुनुहुन्छ।
९, १०. इस्राएल राष्ट्रसित व्यवहार गर्नुहुँदा यहोवाले वफादारीको कस्तो छवि बसाल्नुभयो?
९ आफ्ना मानिसहरूप्रति यहोवाले देखाउनुभएको वफादारीको प्रशस्त प्रमाण विशेषगरि इस्राएल राष्ट्रको इतिहासमा पाइन्छ। न्यायकर्ताहरूको समयमा इस्राएल साँचो उपासनादेखि बारम्बार तर्कियो। तर यहोवाले तिनीहरूका लागि घरीघरी अफसोस गर्नुभयो र तिनीहरूलाई बचाउनुभयो। (न्यायकर्त्ता २:१५-२२) पाँच शताब्दीभरि इस्राएलमा राजाहरू थिए। यहोवाले त्यस राष्ट्रप्रति वफादारी देखाउनुभयो।
१० आफ्नो वफादारीले गर्दा २ इतिहास ३६:१५, १६ मा भनिएझैं यहोवा आफ्ना जनहरूप्रति धैर्यवान् हुनुभयो: “आफ्नो प्रजा र आफ्नो बासस्थानमाथि दया गर्नुभएको हुनाले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले तिनीहरूलाई दूतहरूद्वारा घरिघरि चेताउनी दिनुभएको थियो। तर परमप्रभुको क्रोध तिनीहरूमाथि नपरुञ्जेल तिनीहरूले उहाँको दूतहरूलाई हँसी-ठट्टा गर्न, उहाँको वचनहरूको निन्दा गर्न र उहाँका अगमवक्ताहरूका गिल्ला गर्न छोड़ेनन्। औ त्यो शान्त हुनैसकेन।”
११. यहोवाको वफादारीले हामीलाई कस्तो आश्वासन वा सान्त्वना दिन्छ?
११ यहोवा वफादारीमा सर्वोत्कृष्ट हुनुभएकोले प्रेरित पावलले रोमी ८:३८, ३९ मा यसरी लेख्न सके: “म यो निश्चय जान्दछु, कि नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्त्तमानका कुराहरूले, न पछि हुने कुराहरूले, न शक्तिहरूले, न उँचाइले, न गहराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्नसक्छ।” हो, यहोवाले हामीलाई यस्तो आश्वासन दिनुहुन्छ: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्यागनेछैनँ।” (हिब्रू १३:५) साँच्चै, यहोवा सधैं वफादार हुनुहुन्छ भनेर जान्नु कति सान्त्वनादायी कुरा हो!
येशू ख्रीष्ट, वफादार पुत्र
१२, १३. परमेश्वरको पुत्रको वफादारीबारे हामीसित कस्तो प्रमाण छ?
१२ यहोवाको दुरुस्त अनुकरण गरेर वफादारीको चुनौती सामना गर्ने व्यक्ति येशू ख्रीष्ट हुनुहुन्थ्यो अनि हुनुहुन्छ। यसैले त प्रेरित पत्रुसले प्रेरित २:२७ मा भजन १६:१० उद्धृत गर्दै येशू ख्रीष्टमाथि प्रयोग गर्नसके: “तपाईंले मेरो प्राणलाई पातालमा छोड़नुहुनेछैन, नता तपाईंले आफ्ना पवित्र [वफादार, न्युव] जनको शरीर कुहुनदिनुहुनेछ।” येशू ख्रीष्टलाई “वफादार जन” भन्नु पूर्णतया उचित छ। उहाँ सधैं आफ्नो पिता र परमेश्वरले प्रतिज्ञा गर्नुभएको राज्यप्रति वफादार रहनुभयो। शैतानले प्रथमतः प्रलोभन ल्याएर येशूको निष्ठा भंग गर्ने चेष्टा गऱ्यो। त्यसले उहाँलाई स्वार्थी बनाउन चाह्यो। प्रलोभनद्वारा उहाँको निष्ठा भंग गर्न असफल भएपछि दियाबलले सतावटलाई हतियार बनायो। अन्ततः शुलीमा झुण्डाउन लगाएर त्यसले उहाँको हत्या गरायो। स्वर्गमा हुनुहुने आफ्नो पिता यहोवा परमेश्वरप्रतिको वफादारीबाट येशू रत्तिभर चुक्नुभएन।—मत्ती ४:१-११.
१३ मत्ती २८:२० मा उल्लिखित प्रतिज्ञा पूरा गरेर येशू ख्रीष्ट आफ्ना अनुयायीहरूप्रति वफादार हुनुभएको छ: “हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” त्यस प्रतिज्ञाको पूर्तिस्वरूप उहाँले सा.यु. ३३ पेन्तिकोसदेखि आफ्नो मण्डलीमाथि वफादारीसाथ नेतृत्व गरिरहनुभएको छ।
वफादार रहने असिद्ध मानवहरू
१४. अय्यूबले वफादारीको कस्तो उदाहरण कायम गरे?
१४ अब, असिद्ध मानवहरूबारे के भन्न सकिन्छ? के तिनीहरू परमेश्वरप्रति वफादार हुनसक्छन्? हामीसित अय्यूबको विशिष्ट उदाहरण छ। अय्यूबको घटनामा शैतानले स्पष्ट विवाद उठायो। के अय्यूब यहोवा परमेश्वरप्रति वफादार थिए वा स्वार्थका लागि मात्र तिनले उहाँको सेवा गर्दैथिए? संकष्ट ल्याएर अय्यूबलाई यहोवाबाट बहकाउन सक्छु भन्ने घमण्ड शैतानले गऱ्यो। अय्यूबले आफ्ना सारा सम्पत्ति, छोराछोरी र स्वास्थ्यसमेत गुमाएपछि तिनकी पत्नीले तिनलाई भनिन्: “परमेश्वरलाई सरापेर मरे असल हुन्छ!” तर अय्यूब वफादार थिए। तिनले पत्नीलाई यसो भने: “‘तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्छौ। परमेश्वरबाट सुख चाहिं भोगेर हामीले दुःख नभोग्नू र?’ यी सबै कुरामा अय्यूबको मुखबाट एउटै पापको कुरा निस्केन।” (अय्यूब २:९, १०) वास्तवमा आफ्ना सान्त्वनादाता भनौंदाहरूलाई अय्यूबले भने: “उहाँले [परमेश्वर] मलाई मार्नुभए तापनि म धुकचुक मान्नेछैनँ।” (अय्यूब १३:१५) स्वाभाविकतः अय्यूबले यहोवाको अनुमोदन प्राप्त गरेकोमा अचम्म मान्नुपर्ने कुरा छैन! अतः यहोवाले एलीपज तेमानीलाई भन्नुभयो: “तँ र तेरा दुइ मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्यूबले मेरो विषयमा भनेझैं तिमीहरूले भन्नुपर्ने कुरा भनेनौ।”—अय्यूब ४२:७, १०-१६; याकूब ५:११.
१५. यहोवा परमेश्वरका थुप्रै सेवकहरूका वफादारीबारे के कस्ता धर्मशास्त्रीय प्रमाण छ ?
१५ हिब्रू अध्याय ११ मा वर्णन गरिएका सबै विश्वासी पुरुष तथा स्त्रीहरूलाई वफादार जनहरू भन्न सकिन्छ। दबाब आइपर्दा तिनीहरू विश्वासी मात्र होइन वफादार पनि रहे। यसैले हामी तिनीहरूबारे पढ्छौं, “जसले विश्वासद्वारा . . . सिंहका मुखहरू थुनिदिए, आगोका ज्वाला निभाए, तरवारका धारबाट उम्के, . . . अरूहरूले बढ़ता उत्तम पुनरुत्थान प्राप्त गर्नालाई छुटकाराको इच्छा नगरेर शास्ती खाएर मरे। औ अरूहरूले गिल्ला, कोर्राबाजी, औ, अझ बढ़ी बन्धन र कैदको परीक्षा भोग्नुपऱ्यो। तिनीहरू ढुङ्गाले हानिए, करौंतीले चिरिए, तिनीहरू परीक्षामा परे, तिनीहरू तरवारले मारिए, भेड़ा र बाख्राका छालाहरू लगाए, गरिबी भई क्लेश र दुःख पाएर तिनीहरू यताउता डुल्नुपऱ्यो।”—हिब्रू ११:३३-३७.
१६. प्रेरित पावलले वफादारीको कस्तो उदाहरण कायम गरे?
१६ मसीही युनानी धर्मशास्त्रले पनि प्रेरित पावलको ज्वलन्त उदाहरण प्रदान गर्छ। तिनले पूर्ण औचित्यकासाथ आफ्नो सेवकाईबारे थिस्सलोनिकाका मसीहीहरूलाई यसो भन्न सके: “तिमीहरू गवाही छौ, र परमेश्वर पनि, कसरी तिमी विश्वास गर्नेहरूसँग हामी आफैले पवित्रता [वफादारी, न्युव] र धर्मसाथ, निर्दोष भई व्यवहार गऱ्यौ।” (१ थिस्सलोनिकी २:१०) पावलको वफादारीबारे अझ थप प्रमाण २ कोरिन्थी ६:४, ५ मा उल्लिखित तिनका शब्दहरूबाट हामी पाउँछौं: “हरेक कुरामा हामी आफैलाई परमेश्वरका सेवकजस्तो देखाउँछौं, ज्यादै धीरजमा, सङ्कष्टमा दरिद्रतामा, दुःखमा, कोर्राबाजीमा, कैदमा, हुल-दङ्गामा, परिश्रममा, जाग्राममा, उपवासमा।” यी सबै कुराहरूले प्रेरित पावलसित आत्मसम्मान थियो भन्ने प्रमाणित गर्छ। किनभने तिनी वफादार थिए।
आधुनिक समयका वफादार जनहरू
१७. जे. एफ. रदरफर्डका कुन शब्दहरूले वफादार रहने तिनको संकल्पलाई देखायो?
१७ हामीले यस लेखको प्रथम अनुच्छेदमै आधुनिक समयको उत्तम उदाहरणलाई छलफल गरिसकेका छौं। वर्ल्डवाइड सिक्युरिटी अन्डर द “प्रिन्स अफ पीस,” (“शान्तिको राजकुमार” अधीनस्थ विश्वव्यापी सुरक्षा) (नेपालीमा उपलब्ध छैन) नामक पुस्तकको पृष्ठ १४६ मा “कैदको दौडान वफादार” उपशीर्षकअन्तर्गत बताइएको कुरालाई ध्यान दिनुहोस्: “कैदको दौडान यहोवाको संगठनप्रति वफादारी कायम गर्दै वाचटावर सोसाइटीका अध्यक्ष जोसेफ एफ. रदरफर्डले डिसेम्बर २५, १९१८ मा निम्न कुरा लेखे: ‘किनभने मैले महान् बेबिलोनसित सम्झौता गर्न इन्कार गरेर विश्वासपूर्वक प्रभुको सेवा गर्ने चेष्टा गरें। त्यसैकारण म जेलमा थुनिएँ तर म अति कृतज्ञ छु। . . . त्यस जनावरसित सम्झौता गर्न वा त्यसप्रति समर्पित भई जेलबाट छुटेर सारा संसारको स्याबासी पाउनुभन्दा त बरु जेलमै रहेर परमेश्वरको अनुमोदन प्राप्त गर्न रुचाउँछु।’”b
१८, १९. आधुनिक समयमा वफादारीको कुन उत्कृष्ट उदाहरणहरू हामीसित छन्?
१८ सतावट सहेका थुप्रै मसीहीमा हामी वफादारीको उत्कृष्ट उदाहरणहरू पाउँछौं। यी वफादारहरूमध्ये नाजी शासनकालका यहोवाका जर्मन साक्षीहरू पनि हुन्। अंग्रेजी भाषामा विस्तृत रूपले वितरित भिडिओ चलचित्र पर्पल ट्रयाङ्गल्स (बैजनी त्रिकोणहरू) मा तिनीहरूको वृतान्त दिइएको छ। मलावी र त्यस्तै अन्य अफ्रिकी मुलुकका थुप्रै वफादार साक्षीहरूको वफादारी पनि उत्तिकै उल्लेखनीय छन्। मलावीमा जेलका एक जना सुरक्षाकर्मीले यसो भन्दै साक्षीहरूको वफादारीको प्रमाण दिए: “तिनीहरूले कहिल्यै सम्झौता गर्नेछैनन्। तिनीहरू खालि वृद्धि हुन्छन्।”
१९ हालै प्रकाशित यर बूक्स् अफ जेहोभाज् विटनेसेज् (यहोवाका साक्षीहरूको वार्षिक पुस्तकहरू) (नेपालीमा उपलब्ध छैन) ग्रीस, मोजाम्बिक तथा पोल्याण्डजस्ता देशहरूमा साँचो मसीहीहरूले देखाएका वफादारीबाट प्रभावित नभई कुनै पनि व्यक्तिले पढ्न सक्दैन। धेरैले असह्य यातना भोगे भने, कतिको हत्या गरियो। नाइन्टीन नाइन्टिटू यरबूक (सन् १९९२ वार्षिक पुस्तक) को पृष्ठ १७७ मा इथियोपियाका नौ मसीही पुरुषका चित्र दिइएको छ। तिनीहरू आफ्नो हत्या होउञ्जेलसम्म वफादार रहे। यहोवाका साक्षीहरूको हैसियतमा वफादारीको चुनौती सामना गर्न उत्प्रेरित गर्ने यति धेरै उदाहरणहरू पाएर के हामी खुशी छैनौं र?
२०. हामीले वफादारी कायम गर्दा परिणाम के हुन्छ?
२० वफादारीपूर्वक प्रलोभन र दबाबहरूको सामना गरेर हामी आत्मसम्मान बढाउँछौं। त्यसो भए, हामी कसको पक्षमा वफादार रहन चाहन्छौं? वफादारीको चुनौती सामना गरेर हामी यहोवा परमेश्वरप्रति वफादार हुन्छौं अनि शैतान अर्थात् दियाबललाई दुष्ट र अति झूट भनी साबित गर्छौं। त्यसो गर्नाले हाम्रा सृजनहार यहोवा परमेश्वरको अनुमोदन तथा आनन्ददायी अनन्त जीवनको इनाम हामी प्राप्त गर्छौं। (भजन ३७:२९; १४४:१५ख) वफादारीको चुनौती सामना गर्न कुन कुन कुराको आवश्यकता पर्छ, सो हामी अर्को लेखमा विचार गर्नेछौं।
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित दुइ खण्ड भएको बाइबल कोश।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ वफादारी कायम गर्नु किन चुनौती हो?
◻ “वफादारी” अनुपम शब्द हो भनेर किन भन्न सकिन्छ?
◻ असिद्ध मानवहरूको वफादारीका कस्ता धर्मशास्त्रीय उदाहरणहरू हामीसित छन्?
◻ आधुनिक समयमा वफादारीका कस्ता असल उदाहरणहरू हामीसित छन्?
[पृष्ठ ११-मा भएको चित्र]
चार्ल्स टेज रसल
[पृष्ठ १२-मा भएको चित्र]
येशू साँच्चै यहोवाका ‘वफादार जन’ हुनुहुन्थ्यो
[पृष्ठ १३-मा भएको चित्र]
असिद्ध भए तापनि अय्यूब परमेश्वरप्रति वफादार रहे
[पृष्ठ १४-मा भएको चित्र]
पावलले यहोवाप्रति वफादारीको उत्तम उदाहरण बसाले