साँचो सुख कहाँ पाउन सकिन्छ?
थुप्रै मानिसहरू धनसम्पत्ति छ भने मात्रै सुखी हुन सकिन्छ भन्ने विचार गर्छन्। तपाईं नि? हो, केही हदसम्म भौतिक चीजबीजबाट सुख त पाउन सकिएला तर पाइन्छ नै भन्ने ग्यारेन्टी चाहिं छैन। नता भौतिक सुखसुविधाले विश्वास वा आध्यात्मिक आवश्यकताहरू नै पूरा गर्छ।
येशू ख्रीष्टले डाँडाको उपदेशमा यसो भन्नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:३) येशूले यसो पनि भन्नुभयो: “होशियार रहो, आफूलाई सबै किसिमका लालचबाट जोगाओ, किनकि मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।”—लूका १२:१५.
थुप्रै मानिसहरू अवैध यौन सम्बन्ध राखेर अनि “शरीरका कामहरू[मा]” लागेर सुख खोज्छन्। (गलाती ५:१९-२१) तर, त्यस्ता कामुक कुराहरूमा लागेर साँचो र अनन्त सुख पाउन सक्दैनौं। वास्तवमा, त्यस्तो काममा लाग्नेहरू परमेश्वरको राज्यको हकदार हुनसक्दैनन्।—१ कोरिन्थी ६:९, १०.
कोही चाहिं आत्मसम्मान बढाएर सुखी हुन खोज्छन्। पुस्तकालय र पुस्तक पसलहरूमा त्यस्ता आत्मविकाससम्बन्धी पुस्तकहरू टन्नै छन् तर ती पुस्तकहरूले अनन्त सुख भने दिन सकेका छैनन्। त्यसोभए, साँचो सुख कहाँ पाउनसक्छौं त?
साँच्चै सुखी हुन हामीसित जन्मजात भएको आध्यात्मिक आवश्यकतालाई चिन्नुपर्छ। येशूले “धन्य आत्मामा दरिद्र हुनेहरू” भन्नुभयो। निस्सन्देह, त्यस आवश्यकतालाई बुझ्नु चाहिं बुझ्ने तर त्यसलाई पूरा गर्न केही नगर्ने हो भने कुनै फाइदा हुनेछैन। उदाहरणका लागि: लामो दूरी दौडने धावकले पानीको तृष्णा मेटाउन सकेनन् भने के हुन्छ? तिनको शरीरमा पानीको अभाव हुनुका साथै अन्य गम्भीर परिणामहरू हुनेछन्, होइन र? त्यसैगरि, आध्यात्मिक भोजनको आवश्यकता पूरा गरेनौं भने हामी पनि आध्यात्मिक रूपमा ओइलाउनेछौं। यसले गर्दा हामी आनन्द र सुख गुमाउनसक्छौं।
येशूले आफ्नो आध्यात्मिक आवश्यकता राम्ररी बुझ्नुभएको थियो। त्यसैले उहाँले परमेश्वरको वचन नियमित तवरमा पढ्नु र मनन गर्नुभयो। उहाँले पवित्र धर्मशास्त्रका भागहरू सजिलैसँग पल्टाएर पढ्न सक्नुहुन्थ्यो र अरूलाई पनि त्यस्तै गर्न सिकाउनुभयो। (लूका ४:१६-२१; तुलना गर्नुहोस् एफिसी ४:२०, २१) येशूले स्वर्गमा हुनुहुने आफ्नो पिताको कामलाई भोजनसित तुलना गर्नुभयो। परमेश्वरको कार्य गर्दा उहाँ औधी खुशी हुनुहुन्थ्यो।—यूहन्ना ४:३४.
हो, भौतिक धनसम्पत्ति बटुलेर साँचो आनन्द प्राप्त गर्न सक्दैनौं। नता पतित शरीरको इच्छाअनुसार गरेर नै आनन्द पाउँछौं। साँचो आनन्द त विश्वास र यहोवा परमेश्वरसितको घनिष्ठ सम्बन्धमा आधारित हृदयको अवस्था हो। त्यसैकारण भजनरचयिता दाऊदले यसरी गाए: “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभुनै हुनुहुन्छ।”—भजन १४४:१५ख.
[पृष्ठ २३-मा भएको चित्र]
विश्वास र परमेश्वरसितको घनिष्ठ सम्बन्धद्वारा साँचो सुख प्राप्त गर्न सकिन्छ