“ज्योति वाहकहरू” जिल्ला सम्मेलनहरूमा थुप्रा आशिषहरू
केही २,७०० वर्षअघि अगमवक्ता यशैयाले लेखे: “हेर, अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ।” (यशैया ६०:२) ती शब्दहरू कति सत्य प्रमाणित भएका छन्! तथापि, यहोवाले ज्योति चम्किन दिनु भएकोले अझै आशा छ। गएको वर्षमा परमेश्वरको ज्योति मन पराउनेहरूलाई “ज्योति वाहकहरू” जिल्ला सम्मेलनमा उपस्थित हुने हार्दिक आमन्त्रण दिइएको थियो।
सम्मेलनको प्रथम कार्यक्रम सर्व-प्रथम जून महिनामा उत्तरी अमेरिकामा सुरु गरिएको थियो। त्यसपछिका महिनाहरूमा त्यो कार्यक्रम पूर्वी र पश्चिमी युरोप, मध्ये र दक्खिन अमेरिका, अफ्रिका, एसिया, र समुद्री द्वीपहरूमा सञ्चालन गरिएको छ। लाखौं मानिसहरूले त्यसमा भाग लिएका छन्। र एउटा कति राम्रो अर्थपूर्ण आत्मिक भोजको आनन्द तिनीहरूले उठाएका छन्।
“तपाईं सबै ज्योति वाहकहरूलाई स्वागत छ!”
धेरै जसो ठाउँहरूमा शुक्रवारको दिन सम्मेलन सुरु भयो र आइतवार दिउँसो समाप्त भयो। शुक्रवार विहान सम्मेलनमा आउनेहरू आ-आफ्ना ठाउँमा बसेपछि यी अन्तिम दिनहरूमा यहोवाको ज्योति झन्-झन् कसरी उज्यालो हुँदै गएको छ भन्ने कुराको छोटकरीमा जानकारी पाउने मौका तिनीहरूले पाए। त्यसपछि सम्मेलनका अध्यक्ष मञ्चमा आए। साँचो मसीहीहरू ज्योति वाहक हुनु पर्दछ भन्ने कुरामा जोर दिंदै बडो आत्मियताका साथ तिनले भने: “तपाईं सबै ज्योति वाहकहरूलाई स्वागत छ!” सम्मेलनको कार्यक्रमले यहोवाको ज्योतिलाई सदा प्रतिबिम्ब गर्न प्रतिनिधिहरूलाई मदत पुऱ्याउनेछ।
मुख्य सिद्धान्त सम्बन्धी भाषणले सारा सम्मेलनको रूपरेखा स्थापित गऱ्यो। सम्मेलनमा उपस्थित हुनेहरूलाई यी वक्ताले सम्झना गराए कि धेरै नै पहिले अदनको बगैंचामा मानवजातिबाट ज्योति हराएर गयो। त्यस बेलादेखि नै शैतानले सत्यको ज्योति नपाउने गरी मानिसहरूको आँखा बन्द गरिदिएको छ। (२ कोरिन्थी ४:४) तर पनि “जाति जातिहरूको ज्योति” भएर येशू आउनु भयो। (यशैया ४२:१-६) उहाँले धार्मिक कपटतालाई खुलस्त पार्नुभयो, अन्धकारसित सम्बन्धित गलत कामहरूलाई चिनाउनु भयो, यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुभयो, र राज्यको सुसमाचार प्रचार गर्नुभयो। येशूका अनुयायीहरूले पनि त्यसै गरे र अझै गरिरहेका छन्! (मत्ती २८:१९, २०) वक्ताले बडो उत्तेजनाका साथ भने: ‘हामी पनि येशू जस्तै ज्योति वाहकहरू हुन सक्तछौं। योभन्दा अझ महत्त्वपूर्ण अरु कुनै काम छैन। र योभन्दा ठूलो सौभाग्य अरू केही छैन।’
सम्मेलनको प्रथम अधिवेशन समाप्त हुने बेलामा एउटा आनन्दको खबर सुनियो। सम्मेलनका अध्यक्ष मञ्चमा फर्केर आए र चारवटा नया पर्चाहरूको विमोचन भएको घोषणा गरे। यो सूचनालाई हर्षमय तालीको गडगडाहटले स्वागत गरियो, र त्यहाँ उपस्थित प्रत्येक प्रतिनिधिलाई एक एक प्रति उपलब्ध गराइयो।
शुक्रवार दिउँसो, सम्मेलनको कार्यक्रममा ज्योति वाहक मसीहीहरूका निम्ति आधारभूत सल्लाहहरू थिए। यस संसारको अन्धकारबाट कसरी निष्कलङ्क रहन सकिन्छ भन्ने राम्रो सल्लाह दुईवटा भाषणहरूद्वारा दिइयो। शैतानले आफूलाई एउटा ज्योतिर्मय स्वर्गदूतको भेषमा प्रस्तुत गर्न सक्ने हुनाले एउटा आध्यात्मिक मनोवृत्ति राख्नु अत्यावश्यक छ ताकि संसारका गन्दा कुराहरूले हामीलाई फसाउन नसकोस्। (२ कोरिन्थी ११:१४) पावलले सल्लाह दिए: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) आफूमा मसीही गुणहरूको विकाश गर्ने कुरा एउटा चलिरहने प्रक्रिया हो भन्ने कुरा सम्मेलनमा आएका प्रतिनिधिहरूले सुने। जसै हामी परमेश्वरको वचन पढ्दछौं र सिकेका कुराहरूलाई प्रयोगमा ल्याउँछौं, हाम्रो मन निरन्तर स्वच्छ हुँदै जान्छ र त्यसै अनुसार ढालिन्छ। यसप्रकार हामी झन् झन् येशू जस्तै हुँदै जान्छौं, जो “अनुग्रह र सत्यले पूर्ण” हुनुहुन्थ्यो।—यूहन्ना १:१४.
नौजवान ज्योति वाहकहरू
शुक्रवार दिउँसोको आधा कार्यक्रम विशेषगरी नौजवानहरूका लागि थियो। पहिलो भाषणले (“जवानहरू—तपाईंहरू के पछ्याई रहनु भएको छ?”) नौजवान मसीहीहरूको प्रशंसा गऱ्यो जो साँच्चै नै विश्वासीलोपनाको एउटा यस्तो राम्रो उदाहरण छन्। तर तिनीहरू शैतानको एउटा खास निसाना छन् भन्ने कुरा पनि याद गराइयो। कस्तै राम्ररी प्रशिक्षित खेलाडीलाई पनि एउटा प्रशिक्षकको आवश्यकता पर्दछ। त्यसैगरी नौजवानहरूलाई ज्योतिमा हिंडिरहनका निम्ति तिनीहरूका आमा-बाबु र मण्डलीको सहायताको आवश्यकता पर्दछ।
यस कुरालाई यहोवाको नजरमा जे उचित छ, सोही गर्ने भन्ने एउटा अत्युत्तम नाटकद्वारा जोरदार ढङ्गमा समझाइयो। त्यसपछि शुक्रवारको कार्यक्रम समाप्त भयो। योशियाह राजाको उदाहरणलाई प्रमुखता दिइयो। केटा-केटी हुँदादेखि नै तिनी यहोवाको सेवा गर्न कटिबद्ध थिए। तिनको चारैतिर खराब प्रभावहरू भए तापनि प्रधान पूजाहारी हिल्कियाहको निर्देशनमा र साथै यहोवा प्रतिको तिनको आफ्नै पनि प्रेम भएको हुनाले योशियाहले त्यही गरे जो यहोवाको नजरमा ठीक थियो। नौजवान मसीहीहरूले आज पनि त्यसै गर्न सकून्।
ज्योतिलाई चम्किन दिनुहोस्
रातको विश्रामपछि प्रतिनिधिहरू आत्मिक बृद्धिका लागि दिइने अझै अरू सल्लाह सुन्न तैयार भएर शनिवार विहान सम्मेलनमा आए। तिनीहरू निराश हुनु परेन। दैनिक पदको छलफलपछि कार्यक्रम एउटा गोष्ठीद्वारा सुरुभयो। त्यसमा एक जना मसीहीले आफ्नो ज्योति कसरी विभिन्न तरिकाहरूले चम्काउन सक्तछ भन्ने विषय प्रस्तुत गरिएको थियो। (मत्ती ५:१४-१६) प्रचार एउटा अत्यावश्यक तरिका हो, र राम्रो चाल-चलनले पनि एउटा महत्त्वपूर्ण भूमिका खेल्दछ। वक्ताले भने: “हामी के विश्वास गर्दछौं सो हामी अरूहरूलाई प्रचारद्वारा भन्दछौं, तर प्रेमलाई व्यवहारमा ल्याउनाले हाम्रो विश्वासको प्रदर्शन हुन्छ।”
त्यसपछि सम्मेलनमा उपस्थित हुनेहरूको ध्यान प्रचारको एउटा अत्यावश्यक सहायक—पर्चाहरूतर्फ लगियो। अगिल्लो दिनमा गरिएको घोषणा प्रतिनिधिहरूको मनमा अझै ताजा नै रहेको बेलामा त्यो सानो हतियार कतिको शक्तिशाली प्रमाणित हुन सक्तछ भन्ने अनुभवहरू तिनीहरूले सुन्न पाए। सधैं नै, हर प्रकारको परिस्थितिका लागि तयार रहन आफ्ना साथमा थुप्रा पर्चाहरू राखिरहने प्रोत्साहन प्रतिनिधिहरूले पाए।
त्यसपछि ज्योति वाहक हुनका लागि कडा मेहनत गरेर पूर्ण समय राज्य-प्रचारकहरू हुने अग्रगामीहरू तर्फ ध्यान खिंचियो। आफ्ना अग्रगामीहरूले गरेको कडा परिश्रमको हामी कति मूल्याङ्कन गर्दछौं! र तिनीहरूको सङ्ख्या बढी रहेको छ। ती देशहरूमा जहाँ भर्खरै मात्र उपासनाको स्वतन्त्रता प्राप्त भएको छ, अग्रगामीहरू को सङ्ख्या बढ्दो छ। आफ्नो यो विशेषाधिकारको बडो मोल गर्नु भनी अग्रगामीहरूलाई प्रोत्साहन दिइयो। अहिलेसम्म अग्रगामी नभएकाहरूलाई आफ्नो परिस्थितिमाथि विचार गर्न आग्रह गरियो। सम्भवतः पूर्णसमय सेवकाई गरेर तिनीहरूले पनि आफ्नो ज्योतिलाई चम्काउनका निम्ति आफ्नो व्यवस्था मिलाउन सक्तछन्।
ज्योति वाहक हुनुको अर्थ अक्सर त्याग गर्नुपर्ने हुन्छ भन्ने कुरालाई त्यसपछिको “आत्म-त्यागको भावनाले यहोवाको सेवा गर्ने” भन्ने भाषणद्वारा त्यसमाथि जोर दिइयो। पावलले आग्रह गरे: “आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) सतावट सहनेहरूले एउटा आत्म-त्यागको भावनालाई प्रदर्शित गर्दछन्। पूर्ण-सेवकाईमा रहिरहनका लागि अग्रगामीहरूले प्रति दिन त्यागहरू गर्दछन्। यथार्थमा, सबै नै साँचो मसीहीहरूले यस संसारको स्वार्थपूर्ण, भौतिकवादको पछि लाग्नुको सट्टा यहोवाको सेवामा व्यस्त रहेर त्याग गर्दछन्। यस प्रकारको कदमको परिणामस्वरूप यहोवाबाट ठूलो आशिष आउँछ।
यो भाषणले त्यसपछि भएको बप्तिस्मा सम्बन्धी भाषणका लागि एउटा उपयुक्त भूमिकाको काम गऱ्यो। “ज्योति वाहकहरू” जिल्ला सम्मेलनमा बप्तिस्मा लिनेहरूले यो भाषणलाई निश्चय पनि कहिले बिर्सिने छैनन्। तिनीहरूको बप्तिस्मा तिनीहरूको जीवनको सबै भन्दा महत्त्वपूर्ण घटनाको रूपमा सदा रहिरहनेछ। तीस वर्षको उमेरमा बप्तिस्मा लिनु हुने येशू ख्रीष्टको तिनीहरूले अनुसरण गरिरहेका छन् भनी तिनीहरूलाई याद दिलाइयो। साथै, “अन्धकारका काम छोड़ेर” आफूले “यहोवाको सेवा” गर्ने निर्णय लिएको कुराको सम्झना गरेर तिनीहरू आनन्दित भएका थिए। (रोमी १२:११; १३:१२) बप्तिस्मा लिन जानुभन्दा अघि हर्षित भएर तिनीहरूले सम्मेलनमा उपस्थित भीडका सामू उभिएर सुनिने गरी आम घोषणा गरे। (रोमी १०:१०) “ज्योति वाहकहरू” भन्ने जिल्ला सम्मेलनहरूमा पानीमा डुबुल्की लिएर बप्तिस्मा लिएर आफ्नो समर्पण जाहेर गर्ने सबै माथि यहोवाको आशिष होस् भनी हामी प्रार्थना गर्दछौं।
शनिवार दिउँसो केही खास किसिमका चेताउनीहरू दिइयो। यी चेताउनीहरू “लोभका पासोहरूलाई त्याग्नु होस्,” “के तपाईंको काम-लाग्ने बानीहरूलाई कसैले बिगार्दै छ?” र “हरेक प्रकारका मूर्तिपूजाबाट जोगिनु होस्” भन्ने शीर्षक भएका भाषणहरू द्वारा दिइयो। शैतानले एउटा मसीहीलाई कमजोर पार्ने केही तरकिपहरूबारे यी तीनवटा भाषणहरू द्वारा जानकारी दिइयो। यूहदा इस्करयोती एकजना प्रेरित थिए, तर धनको लोभमा तिनले येशूसँग विश्वासघात गरे। तरूण शमूएल यहोवाको उपासना हुने ठीक केन्द्रिय स्थलमा हुर्के, तर तिनको चारैतिर धेरै नै खराब सङ्गत थियो। (१ शमूएल २:१२, १८-२०) मूर्तिपूजा भन्नाले त्यसमा अनैतिक यौन र लालच जस्ता कुराहरूसमेत सामेल हुन सक्तछन्। (एफिसी ५:५; कलस्सी ३:५) हो, लोभ, खराब सङ्गत, र मूर्तिपूजाहरू खतरनाक कुराहरू हुन् र तिनीहरूबाट जोगिनु पर्दछ।
यसपछि सम्मेलनको कार्यक्रमको रूप-रेखा नै बदलियो। त्यसपछिको भाषणमा बाइबलसम्बन्धी चाखलाग्दा प्रश्नहरू उठाइयो र त्यसका उत्तरहरू दिइयो। उदाहरणका लागि, के तपाईं व्याख्या गर्न सक्नुहुन्छ कि सच्चाइलाई स्वीकार नगरिकनै महा सङ्कष्ट आउनुअघि मर्ने व्यक्तिहरूको पुनरुत्थान हुन्छ र? विवाह गर्न एउटा उपयुक्त साथी पाउन असमर्थ हुँदा एक जना मसीहीले के गर्न सक्तछ? बाइबलको आफ्नो ज्ञानलाई गहिरो पार्न वाच टावर पब्लिकेशन्स इनडेक्स-को पूर्ण प्रयोग गर्न प्रतिनिधिहरूलाई प्रोत्साहित गरियो, खासगरी “पाठकहरूका प्रश्नहरू” भन्ने शीर्षक अन्तर्गत।
ख्रीष्टको उपस्थिति र प्रकाश
शनिवारको कार्यक्रमको समापनमा “ख्रीष्टको उपस्थिति र प्रकाश माथि उज्यालो फैलाउँदै” भन्ने शिर्षक भएको भविष्यवाणी सम्बन्धित गोष्ठी थियो। येशू ख्रीष्टको उपस्थितिलाई प्रमाणित गर्ने “चिन्ह”-का विशेषताहरूलाई पुनरावलोकन गरियो। (मत्ती २४:३) दोस्रो भागमा “विश्वासी र बुद्धिमान दास”-को वर्तमान गतिविधिबारे छलफल गरियो। (मत्ती २४:४५-४७) ती दास वर्गले १९१९ देखि राज्यको सुसमाचार प्रचार गर्ने काममा विश्वासपूर्वक अगुवाइ गर्दै आएको कुरालाई सङ्केत गरियो। अनि यहोवाको ज्योतिलाई प्रतिबिम्बित गर्ने काममा अभिषिक्त मसीहीहरूसङ्ग मिलेर त्यस काममा भाग लिन सारा जातिबाट एउटा ठूलो भीड जम्मा गरिएको थियो। वक्ताले यसो भन्दै आफ्नो भाषण टुङ्ग्याए: “हामीहरू सबैले लगातार विश्वासी र बुद्धिमान दासलाई उत्सुकताका साथ समर्थन गरौं। किनभने यसो गरेमा मात्र कुनै दिन चाँडै सबै भेडा खालका व्यक्तिहरूले आनन्दका यी शब्दहरू सुन्न पाउनेछन्: ‘आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगतको उत्पत्ति देखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अघिकार गर।’”—मत्ती २५:३४.
अन्तिम वक्ताले येशू ख्रीष्टको प्रकाशको अर्थ र त्यसमा विथोलित विषयबारे छलफल गरे। (१ कोरिन्थी १:७) त्यो प्रकाश कस्तो अचम्मको अनुभव हुनेछ! महान बेबिलोन नाश हुनेछ। शैतानको संसार तथा येशू र उहाँका स्वर्गदूतहरू बीच हुने युद्धले यस रीतिरिवाजको अन्त ल्याउने छ। अन्तमा, शैतानलाई नै खाँदमा हालेर निस्क्रिय पारिने छ। तर स्वर्गमा थुमाको विवाह र एउटा नयाँ पृथ्वीको स्थापना हुने भएकोले परमेश्वरका जनहरूलाई हाईसंचो हुनेछ। के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? भन्ने नयाँ पुस्तिकाको विमोचन गरेर वक्ताले आफ्ना श्रोतागणलाई आनन्दित पारे। हाम्रो फिक्री गर्नुहुने सृष्टिकर्त्ता र हाम्रा लागि उहाँको उद्देश्य जान्न चाहने नम्र व्यक्तिहरूका निम्ति यो एउटा कति राम्रो मदत हुनेछ!
मसीही घर-परिवारहरू
अब सम्मेलनको अन्तिम दिन, आइतवार आइपुग्यो। तथापि अझै निकै कुराहरू प्रस्तुत गर्न बाँकी नै थियो। दैनिक पदको छलफलपछि, “मसीही घरानामा एक अर्काको हेरचाह गर्नु” भन्ने गोष्ठीद्वारा मसीही परिवारप्रति ध्यान दिइयो। प्रथम भागबाट आत्मिक कुरालाई प्रथम स्थान दिएमा एउटा सफल मसीही परिवार कसरी हुन सक्तछ भन्ने गाँठी कुरा बुझ्ने मदत सम्मेलनमा उपस्थित हुनहरूले पाए। गोष्ठीको दोस्रो भागले सभामा उपस्थित हुँदा, क्षेत्र सेवकाईमा जाँदा, पारिवारिक अध्ययन गर्दा, वा मनोरञ्जन गर्दा एकसाथ मिलेर गर्ने प्रोत्साहन परिवारलाई दियो। र गोष्ठीको तेस्रो भागले बुढा-बुढीहरूको हेरचाह गर्ने जिम्मावारी र सुअवसरबारे प्रतिनिधिहरूलाई याद दिलायो। वक्ताले भने: “हाम्रा पाको भाइहरू र बहिनीहरू मण्डलीको लागि सम्पत्ति हुन्।” तिनीहरूको अनुभवको मोल गरौं र तिनीहरूको सम्पूर्ण निष्ठाको अनुकरण गरौं।
त्यसपछि, “शुद्ध मन” भन्ने अभिव्यक्तिको अर्थमाथि विचार गरियो। (१ पत्रुस ४:७) शुद्ध मनको व्यक्ति सन्तुलित, समझदार, विवेकशील, नम्र, र विचारवान हुन्छ। सही र गलत, सत्य र झूटलाई उसले छुट्टाउन सक्तछ। साथै, राम्रो आत्मिक स्वास्थ्य राख्ने प्रयास गर्दछ।
आइतबार विहानको अन्तिम कार्यक्रममा परमेश्वर र ख्रीष्टमा हाम्रो अधीनता भन्ने विषयमाथि छलफल गरियो। वक्ताले भने: “यहोवा परमेश्वर र उहाँका पुत्र, येशू ख्रीष्टको भक्तिपूर्ण अधीनतामा बस्ने महत्त्वको वर्णन गरी नसक्नु छ।” हाम्रो जीवनको प्रत्येक पक्षमा यसले कसरी असर पार्दछ भन्ने कुरा तिनले दर्शाए। अधीनतामा बसी रहन हामीलाई केले मदत दिने छ? चार गुणहरूले: प्रेम, ईश्वरीय भय, विश्वास, र नम्रता।
आइतवार दिउँसो
थाहै नपाइकनै आइतवार दिउँसो पो आइपुग्यो र अब ता सम्मेलनको अन्तिम बैठकको बेला भयो। धेरैलाई सम्मेलन भर्खरै सुरु भएको जस्तो लाग्यो, तर सम्मेलन ता अब समाप्त हुन लागेको थियो।
जन-भाषणको विषय थियो “संसारको ज्योतिलाई पछ्याउनु होस्।” जीवनलाई कायम राख्नका लागि भौतिक ज्योतिको भूमिकाबारे त्यहाँ उपस्थित सबैलाई नै आकर्षक ढङ्गमा बताइयो। त्यसपछि वक्ताले आत्मिक ज्योतिको महत्त्वलाई दर्शाए। भौतिक ज्योतिले हामीलाई मात्र केही दशकसम्म धान्न मदत दिन सक्तछ, तर आत्मिक ज्योतिले अनन्तकालसम्म हामीलाई जीवित राख्न सक्तछ। भाषणको एउटा विशेषता थियो यूहन्ना १-को १-१६ पदसम्म एक-एक पदमाथिको छलफल, जसमा येशूलाई संसारको ज्योति भनी सङ्केत गरिएको छ। आज, यस रीतिरिवाजको अन्तिम वर्षहरूमा येशूको यस भूमिकालाई अनुसरण गर्नु अति नै जरुरी छ।
यस हप्ता पढिने वाचटावर-को सारांशमा छलफल गरिएपछि समापन भाषणको पालो थियो। बडो खुशीको कुरा हो कि, आउने समयहरूमा अझै अरू धेरै नै कुराहरूको प्रत्याशा हामीलाई छ भनी वक्ताले दर्शाए। उदाहरणका लागि, उत्साहका साथ परमेश्वरको इच्छा गर्ने भन्ने नाटकको एउटा भिडियो क्यासेटबारे घोषणा गरियो। त्यति मात्र होइन। द बाइबल—ए बुक आफ फ्याक्ट एण्ड प्रोफेसी भन्ने शिर्षक भएको एउटा नयाँ धारावाहिक भिडियो क्यासेट तयार हुने छ। त्यस विषयको प्रथम क्यासेटको शीर्षक छ, द बाइबल—याक्युरेट हिस्टरी, रिलायबल प्राफेसी।
अन्तमा, वक्ताले १९९३ मा चार-दिने सम्मेलनहरू हुनेछन् भनी घोषणा गरे, जसमा अफ्रिका, युरोप, र दक्खिन अमेरिकामा हुने अन्तर्राष्ट्रिय जमघटहरू पनि सम्मिलित छन्। “ज्योति वाहकहरू” भन्ने सम्मेलन समाप्त भए तापनि प्रतिनिधिहरूले आउने वर्षमा हुने सम्मेलनका लागि योजना बनाउन थाले हुन्छ।
अब सम्मेलनका प्रतिनिधिहरू घर फर्किने समय आइ पुगेको थियो। तिनीहरू निश्चय पनि यस अन्धकारमय संसारमा ज्योति प्रतिबिम्बित गर्ने कुरामा पहिलेभन्दा अझ बढी दृढ निश्चित भएका थिए। तीन दिनसम्म असल आत्मिक कुराहरूले भरिपूर्ण कार्यक्रमहरू पश्चात अन्तिम भाषणमा उद्धृत गरिएको अन्तिम शास्रपदको ठूलो महत्त्व थियो: “परमप्रभुनै परमेश्वर हुनुहुन्छ, र उहाँले ज्योति दिनुभएको छ। . . . परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ भलो हुनुहुन्छ। र उहाँको करुणा सदा सर्वदा रहिरहन्छ।”—भजनसंग्रह ११८:२७, २९. (w93 1/15)