“ज्योति वाहकहरूका” १९९२-को जिल्ला सम्मेलन
१ येशूले भन्नु भयो कि उहाँका चेलाहरू “जगत्का ज्योति” हुने छन्। (मत्ती ५:१४) तर अर्कोतिर चाहिं संसारको आध्यात्मिक तथा नैतिक अन्धकार प्रत्येक दिन बढ्दो छ। (यशै० ६०:२; रो० १:२१) जसै हामी यस रीतिरिवाजको अन्ततर्फ बढदै जान्छौं, ज्योति वाहकहरूको हैसियतमा हाम्रो दायित्वले अझ महान अर्थ राख्तछ। हामीले निभाउने महत्त्वपूर्ण भूमिका बुझेर हामी सन् १९९२ को “ज्योति वाहकहरूका” जिल्ला सम्मेलनमा उपस्थित हुन उत्साहपूर्वक प्रतीक्षा गर्दछौं। यस श्रृङ्खलाको प्रथम सम्मेलन सेप्टेम्बर ११, शुक्रवार सुरु हुने छ।
२ एउटा तीन दिने सम्मेलन: यो साल भारतवर्षभरि हामीले जम्माजम्मी ३१ सम्मेलनहरूको आयोजना गरेका छौं। कार्यक्रम १०:२० शुक्रवार बिहान आरम्भ हुनेछ तथा आइतवारको दिन लगभग ४:१५-मा गीत र प्रार्थनाका साथ समाप्त हुनेछ। ढोकाहरू ७:३० देखि नै खुल्ला हुनेछन् तर काम गर्न खटाइएकाहरू बाहेक अरू कोही पनि भित्र पस्न पाउने छैनन्। यहोवाका सारा जन सम्पूर्ण कार्यक्रमका लागि उपस्थित हुन चाहने छन्। त्यहाँ तीनै दिन उपस्थित हुने व्यक्तिगत निर्णय के तपाईंले गर्नु भएको छ? तपाईंले गर्नु भएको प्रयत्नमा यहोवाको आशिष रहोस् भनेर अवश्य प्रार्थना गर्नु होस्।
३ शुक्रवार बिहानको प्रारम्भिक प्रार्थनादेखिन् लिएर आइतवार अपरान्हको अन्तिम टिप्पणीहरूसम्मको सम्पूर्ण कार्यक्रमलाई हामीले आफ्नो एकाग्र ध्यान दिनु पर्ने हो। भाषणहरू, प्रदर्शनहरू, र अन्तरवार्ताहरू तथा एउटा नाटकद्वारा हौसला बढाउने विषय-वस्तु सविस्तार प्रस्तुत गरिने छ। शुक्रवारको दिन कार्यक्रम सुरु हुनुभन्दा अघि नै आफ्नो ठाउँमा बसी सक्ने योजना मिलाउनु होस्। मोटर बिसाउने तथा आफू बस्ने ठाउँ खोज्न इत्यादिका लागि प्रथम दिन प्रायः अलिकता बढी समय लाग्ने गर्दछ। अतः यी सबै कुराका लागि प्रशस्त समय लिएर आउँनु होस्। जम्मै बैठकहरूमा प्रस्तुत हुने कुराहरूलाई मनमा टिपेर अन्तिम गीत र प्रार्थनासम्मका लागि उपस्थित भयौं भने हामीले कार्यक्रमबाट पूर्ण लाभ उठाउँन सक्ने छौं तथा ज्योति वाहकहरूको हैसितयतमा सेवा गर्न पाएको हाम्रो सौभाग्यका लागि मूल्याङ्कन व्यक्त गर्ने छौं।
४ तपाईंको कानले ध्यानपूर्वक सुनोस्: भजनसंग्रहका लेखकले घोषणा गरे: “तर म ता तपाईंका साक्षी-वचनमा विचार गर्नेछु। आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।” (भजन० ११९: ९५ख, ९७) यहोवाबाट शिक्षा प्राप्त गर्नका लागि भेला हुने प्रत्येक अवसरमा हामीले आफ्नो कानले मात्र नभएर आफ्नो हृदयले पनि ध्यानपूर्वक सुन्ने गर्नु आवश्यक छ। जिल्ला सम्मेलनहरू जस्ता ठूलो जमघटहरूमा उपस्थित हुँदा यसो गर्न अझ आवश्यक हुन्छ। त्यहाँ आँखाले देख्नु र कानले सुन्नु पर्ने कुराहरू अझ धेरै हुन्छन्। जिल्ला सम्मेलन धाउन त्यतिका समय र पैसा खर्च गरेपछि, घर फर्कने बेलामा चाहिं ज्योति वाहकहरूको हैसियतमा प्रगति गर्ने विषयमा कुनै विशेष बुँदा मनमा याद रहेन भने कस्तो व्यक्तिगत नोक्सान हुनेछ! यस कार्यक्रमबाट पूर्णतया लाभ उठाउँनका लागि ध्यान अलमलाउने हर कुरासित हामीले सकेसम्म सङ्घर्ष गर्नुपर्छ। सम्मेलनमा प्रस्तुत गरिएका कुराहरूले हाम्रो हृदय र मनभित्र गहिरो जरा गाडेको छ छैन भनी सम्मेलनको अन्तमा हामी कसरी निश्चित गर्न सक्छौं?
५ सुन्ने एउटा कला हो जसको विकाश गर्नुपर्छ तथा त्यसलाई व्यवहारमा ल्याउँनु पर्दछ। “सुन्नु” शब्दको अर्थ “विचारपूर्वक ध्यान दिएर सुन्नु” हो। निम्नलिखित सुझावहरूमाथि विचार गर्नुहोस्: (१) प्रत्येक बिहान, पर्याप्त आराम लिनुभएर सम्मेलन स्थलमा आउने हर प्रयास गर्नुहोस्। यसो गर्नका लागि योजना बनाउँनाका साथै पारिवारिक सहयोग पनि आवश्यक पर्नेछ। निन्द्राको अभावले गर्दा तपाईं थकित हुनुहुन्छ वा नास्ता नखानु भएको हुनाकारण भोको हुनु हुन्छ वा हतार हतार आउनु परेकोले तपाईंको मन अस्तव्यस्त छ भने तपाईंले कार्यक्रमबाट थोरै मात्र लाभ उठाउन सक्नु हुनेछ। (२) मूल ध्येयको विकास कसरी गरिने छ, त्यसका लागि अघि देखि नै मनमा उत्सुकता सृजनु होस्। सम्मेलन सुरु हुनु भन्दा केही साताअघि नै पारिवारिक अध्ययनको सिलसिलामा ज्योति वाहक हुनुको अर्थबारे परिवारका प्रत्येक सदस्यलाई टिप्पणी दिन लगाउन सक्नुहुन्छ। सम्मेलनमा छँदा कार्यक्रम सुरु हुनुभन्दा अगावै त्यस दिनका लागि तोकिएको कार्यक्रमबारे अग्रिम विचार गर्नुहोस्। (३) उचित पहिरन लगाउनु होस्, तथा बैठक बसेको बेलामा खाने र पिउँने नगर्नु होस्। कार्यक्रम चलिरहेको बेलामा पनि हलभित्र बसेर एकाध जनाले खाने पिउने गरेको देखिएको छ। यो अपमानजनक व्यवहार हो। यसले अरूहरूको ध्यान अलमलाउँदछ तथा आत्म-संयमको अभाव प्रकट गर्दछ।—नवम्बर १५, १९९१-को द वॅचटावर, पृष्ठहरू ८–१८ हुर्नु होस्।
६ टिप्पणी लिने कुरामा हामी विशेष ध्यान दिन चाहन्छौं। यो काम राम्रोसित गर्नुभयो भने वक्ताहरूले भनेका कुराहरूलाई होसियारीका साथ सुन्ने मद्दत पाउनु बाहेक सुनेका कुराहरूलाई याद राख्न पनि सक्नु हुनेछ। हामी बोल्नभन्दा चार गुणा चाँडो सोच्न सक्ने भएका हुनाले मनलाई कता कता डुल्नदेखिन् रोक्ने सबैभन्दा राम्रो उपाय टिपोट लिनु हो। एउटा लेखकले भने झैं: “भाषण दिनुभन्दा भाषण सुन्नु अक्सर अत्यन्तै गाह्रो हुन्छ।” प्राचीन मसीहीहरू सभाहरूमा जाँदा आफूसँग माटाको भाँडाका खपटोहरू लगेर जाने गर्दथ्ये र तीमाथि मसीले शास्त्रपद्यहरू लेख्ने गर्दथिए भन्ने कुरा सायद तपाईंलाई यादै होला। तर हामीले चाहिं एउटा मझौला नोटबुक र कलम वा सिसाकलमको प्रयोग गर्न पाएकोमा कृतज्ञ हुन सक्छौं। टिपोट लिनुमा सिपालु हुनुको अर्थ मुख्य कुरालाई समेट्नेसम्मको कुरा मात्र लेख्नु हो, नत्रता हामी लेखेको लेखेकै हुने छौं। यस्तो भयो भने टिपोट लिने हाम्रो उद्देश्य विफल हुने छ र फलःस्वरूप वक्ताले प्रस्तुत गरेका महत्त्वपूर्ण कुराहरूमा हामीले ध्यान दिन नभ्याउँन पनि सक्छौं। मुख्य शब्दहरू टिप्नुहोस्, तथा छोटकरी प्रयोग गर्नुहोस्। आफ्नो टिपोटबाट सबैभन्दा बढीमात्रामा लाभ उठाउन चाहनु हुन्छ भने त्यही बेलुकी तथा मण्डलीले सेवकाई सभामा सम्मेलन कार्यक्रमको मुख्य मुख्य विषयलाई छलफल गर्नु अगावै आफूले लिनु भएका टिपोटहरूको पुनःरावलोकन गर्नुहोस्।
७ हार्दिक गीत तथा प्रार्थना: यहोवाको स्तुति गाउनु तथा प्रार्थनाद्वारा उहाँसित आदरपूर्वक सम्पर्क राख्नु हाम्रो उपासनाका अभिन्न भागहरू हुन्। (२ इति० ३०:२१, २७) यी कुराहरू सम्मेलनका महत्त्वपूर्ण विशेषताहरू हुन् जसमा सबैले नै भाग लिन सक्नेछन्। तीन दिनसम्म चल्ने “ज्योति वाहकहरूका” जिल्ला सम्मेलनमा यहोवाको प्रशंसामा १८-वटा गीतहरू गाउँने छौं तथा हामी एकताबद्ध भएर स्वर्गमा हुनुहुने हाम्रा पितालाई आठवटा प्रार्थनाहरू चढाउने छौं। यी वास्तवमा बहुमूल्य विशेषाधिकारहरू हुन्। यहोवाले हामीलाई १२ घन्टाभन्दा बढी समयसम्म आध्यात्मिक शिक्षा र प्रशिक्षण दिनु हुँदै छ। गीत र प्रार्थनामा बिताइने केही मिनेटहरूमा हामी यहोवालाई उहाँले उदारताका साथ दिनु भएका उपहारहरूका निम्ति धन्यवाद चढाउँछौं र उहाँको प्रशंसा गर्छौं। तर यहोवालाई हामीले सामूहिक रूपमा प्रार्थना चढाउने भएका हुनाले अपर्याप्त योजनाको कारण हामी गीत र प्रार्थनामा सामेल नहुँदा उहाँले हामीलाई स्वार्थी तथा अकृतज्ञ व्यक्तिहरू ठान्नु भएको के हामी चाहन्छौं र? साथै, यो वर्ष, प्रत्येक सम्मेलनमा प्रशस्तमात्रामा प्रकाशनहरू हुनु पर्ने हो। यसकारण, सभा समाप्त नहोउञ्जेल उचित रूपमा आ-आफ्नो ठाउँमा बस्नेहरूले पनि ती पाउन सक्ने छन्। यसै अनुरूप, अरूहरूभन्दा प्रथम हुने विचारले भोजनका लागि पंक्तिबद्ध हुन बैठक समाप्त न भइ कोही पनि नजानु होस्।—मत्ती ७:१२; रो० १२:१०; फि० २:१-४.
८ सबै थोक परमेश्वरको महिमाको निम्ति गर: सम्मेलनमा हाम्रो बानीबेहोरा र आचरणको महत्त्वबारे प्रत्येक वर्ष हामीलाई दयापूर्वक सम्झना गराइ रहन्छन्। लगनशीलताका साथ यी सम्झौटोहरू पालन गर्ने ती अधिकांश जनहरूको हामी प्रशंसा गर्दर्छौं। जसै यो रीतिरिवाजको अन्त्य नजिक आउँदछ, कामगर्ने ठाउँमा तथा स्कूलहरूमा हामी २ तिमोथी ३:१-५ मा उल्लेखित आचरण भएका मानिसहरूसित सङ्गत गर्न बाध्य हुन्छौं। हामी सतर्क भएनौं भने यस प्रकारको सङ्गतको खराब असर हामीमाथि पर्न सक्तछ। हाम्रो “विरुद्धमा हामीलाई कुकर्मी” भन्ने कारण हामी कसैलाई दिन चाहन्दैनौं। (१ पत्रु० २:१२) यसका लागि हामीले आफ्नो मसीही व्यक्तित्त्वलाई सधैंभन्दा बढ्ता ध्यान दिनुपर्छ। सम्मेलनमा तथा होटेल र खाने-ठाउँहरूजस्ता सार्वजनिक स्थलहरूमा हामी सबै नै आ-आफ्नो आचरणबारे होसियार हुनुपर्छ। प्राचीनहरूले तिनीहरूका सबै भाइहरूमा चासो राख्तछन्। (फि० २:४) यी प्राचीनहरू मद्दतकारी हुनुपर्छ र अरूहरूका असल आचरणको सराहना गर्नुपर्दछ। व्यक्तिगत रूपमा कुनै भाइ वा बहिनीसँग चिनजान नभए तापनि आवश्यक परेको खण्डमा तिनीहरूलाई प्रेमपूर्वक सल्लाह दिन प्राचीनहरू हिचकिचाउनु हुँदैन। केही गम्भीर समस्याहरू देखा परेमा सम्मेलनको प्रशासन कार्यालयलाई सूचना दिनुपर्छ।
९ हामीले कुन कुरालाई मनमा राख्नु आवश्यक छ? होटेलका कर्मचारीहरूसँग भद्र एवं आदरणीय व्यवहार गर्नुपर्छ। कोठाहरूलाई सदाभन्दा कम मूल्यमा प्राप्त गर्न रुमीङ डिपार्टमेन्टका (कोठाको व्यवस्था गर्ने विभागका) भाइहरूले धेरै नै परिश्रम गरेका छन्। यसकारण, हामीहरू अति नै कचकचे भयौं वा कोठालाई लथालिङ्ग छाडी दियौं भने भविष्यमा सम्मेलनहरू हुँदा होटेलका सञ्चालकहरूले यहोवाका साक्षीहरूलाई राख्ने मन न गर्लान्। अझ पनि हामीमध्ये कतिपयलाई यो कुरा सम्झाउनु आवश्यक परिरहेको छ। थोरैले गर्दा धेरैको नाउँ बदनाम हुन सक्तछ।
१० हाम्रो निम्ति गरिएका सेवाका लागि बक्सिस अथवा टिप दिने विषयबारे जुलाई १९९१-को हाम्रो राज्य सेवकाई-मा छलफल गरिएको थियो। यसका केही प्रमुख बुँदाहरूलाई पुनःरावलोकन गर्नुहोला।
११ एफिसी ४:२५-मा उल्लेखित नयाँ व्यक्तित्त्वलाई पुरानो व्यक्तित्त्व थन्काएपछि लगाउने एउटा पोशाकसँग तुलना गरिएको छ। व्यक्तित्त्वमा भएको परिवर्तन हाम्रा वास्तविक पहिरनमा पनि प्रतिबिम्बित हुनुपर्छ। कहिलेकाहीं केही भाइ तथा बहिनीहरूले, विशेष गरी जवान मानिसहरूले, लापरवाहीका साथ अथवा उत्ताउला किसिमका पोशाक लगाएका पनि देखिएको छ। कसै कसैले चाहिं आफ्नो जुत्ता फुकालेर आफू बसेको सामून्नेको मेचको पछाडिपट्टि आफ्नो खुट्टालाई अडाउँछन्। के राज्य गृहमा पनि हाम्रो आचरण यस्तै हुन्छ? साथै, बप्तिस्मा लिने केही उम्मेदवारहरूले चाहिं सांसारिक नारा तथा शब्दहरू वा विभिन्न सरसामानको विज्ञापन छापिएका कमिच पहिरेर आएका छन्। बप्तिस्मा लिने बेलामा कस्तो पहिरन उपयुक्त हुनेछ भनी बप्तिस्मा लिनेहरूलाई बुझाउने काम ती प्राचीनहरूको हो जसले बप्तिस्माका लागि तयारी हुने व्यक्तिहरूसँग प्रश्नहरूको पुनःरावलोकन गर्दछन्।—जुन १, १९८५, पृष्ठ ३०, तथा अप्रिल १५, १९७३, पृष्ठहरू २५४–५ को द वॅचटावर-हरू हेर्नु होला।
१२ रिकर्डिङ उपकरणहरू: भिडियो क्यामेराहरूको प्रयोग गर्ने अनुमति तपाईंलाई भए तापनि जथाभाबी फोटो लिने नगर्नु होस् र खाइरहेको बेलामा, कार्यक्रम सुनी रहेको बेलामा, अथवा प्रार्थना गर्ने समयमा आफ्नो फोटो उतार्न कोही चाहन्दैनन् भने तिनीहरूको इच्छाको कदर गर्नुहोस् र यस प्रकार अरूहरूको विचार राख्ने गर्नुहोस् भनी हामी ती उपकरणहरूको प्रयोग गर्नेहरूसित आग्रह गर्दछौं। भिडियोटेप गर्ने वा क्यासेट् रिकर्डरहरूको प्रयोग गर्नेहरूले श्रोतागणको ध्यान अलमलाउनु वा खैलाबैला मचाउँनु हुँदैन। कार्यक्रमका केही भागलाई तपाईंले आफ्नै मेचबाट रिकर्ड गर्नु भएमा कुनै आपत्ति छैन। तर बैठक बसेको बेलामा कार्यक्रम टेप गर्दै हलभित्र यताउता वा स्रोतागणका अगाडितिर डुल्नु उचित हुनेछैन। यस सम्बन्धमा भातृ प्रेम नदेखाउनेहरूसित आवश्यक परेमा परिचारकहरूले कुरा गर्न सक्तछन्। कुनै पनि क्यामेरा वा रिकर्डिङ यन्त्रलाई सम्मेलनमा प्रयोग गरिने विद्युतको लाइन वा ध्वनि उपकरणहरूसित जोड्नु हुँदैन, र यस्ता कुनै यन्त्रहरूलाई मान्छे हिंड्ने बाटो वा आउ-जाउ गर्ने ठाउँहरूमा राख्न पाइने छैन भन्ने कुरा पनि याद राख्नुहोला।
१३ आमा-बाबुहरूका लागि: सम्मेलन-स्थलमा होस् वा होटेलमा, आमा-बाबुहरूले हर समय आफ्ना छोरा-छोरीहरूको हेरविचार गर्ने विषयमाथि हामी फेरि जोड दिन चाहन्छौं। (हितो० २९:१५ख; लू० २:४८) कार्यक्रम चलिरहेको बेलामा तपाईंका छोरा-छोरीले ध्यानपूर्वक टिपोट लेखी रहेका छन् कि छैनन् भनी निश्चित गर्नुहोस्। अरू मण्डलीहरूबाट आएका साथीहरूसित भेट्ने अवसर मध्यान्तरमा पाइन्छ।
१४ तपाईंका छोरा-छोरीहरू कहाँ छन् भन्ने कुरा तपाईंलाई हरसमय थाहा हुनु कतिको महत्त्वपूर्ण हो, निम्नलिखित घटनाले देखाउँदछ। सम्मेलन बसेको शहरमा कुनै एक जना ट्याक्सी ड्राइभरले हाम्रो भाइलाई खबर दियो कि सम्मेलन-स्थलबाट दुइटी केटीहरू उसको ट्याक्सीमा पसेछन्। अपरान्हको सम्पूर्ण कार्यक्रममा उपस्थित नहुने योजना तिनीहरूले बनाएका हुनाकारण तिनीहरूले ड्राइभरलाई भनेछन् कि ५:०० बजे सम्म तिनीहरूका आमाहरूले तिनीहरूको खोजी-निती गर्ने छैनन्। तिनीहरूको सुरक्षाबारे यो ट्याक्सी ड्राइभर चिन्तित थियो तर तिनीहरूकी आमाहरूको विषयमा के भन्न सकिन्छ? कुनै आपद-विपद तिनीहरूमाथि आइपरेको भए कति दुःखलाग्दो कुरा हुनेथियो र परमेश्वरको नाउँ र उहाँको जनहरूको बदनामीबारे त कुरै नगरौं!
१५ तपाईंको पूर्ण सहयोगको हामी मूल्याङ्कन गर्दछौं: हाम्रो मण्डलीका लागि खटाइएको ठाउँकै सम्मेलनमा उपस्थित भएर सङ्गठनको निर्देशनलाई सहयोग पुऱ्याउँनु कत्ति को महत्त्वपूर्ण कुरा हो? प्रत्येक सम्मेलन तयार गर्दा, सङ्गठन एवं जिम्मेवार भाइहरूले धेरै सोचविचार गरेर योजना बनाउँदछन्। यसमा यथेष्ट बस्ने स्थान, भोजन, प्रकाशनहरू तथा यस्तै अन्य कुराहरूको प्रबन्ध समावेश हुन्छन्। यदि धेरै भाइहरू तिनीहरूका निम्ति नखटाइएको सम्मेलनमा उपस्थित भइ दिए भने समस्या उत्पन्न हुन सक्तछ। परिस्थितिवश् अर्कै सम्मेलनमा जाने आवश्यकता सम्भवतः थोरैलाई मात्र पर्न सक्छ। अनेकन् कारणहरूले गर्दा अरू नै सम्मेलनस्थलहरू बढी आकर्षक लाग्यो भन्दैमा धेरैजसा भाइहरू आफूलाई मनपर्ने स्थलहरूमा गइ दिए भने परिणाम अत्यन्तै गडबडीपूर्ण हुनेछ।
१६ बस्ने ठाउँ साँचेर राख्ने सम्बन्धमा तपाईंको सहयोग चाहिएको छ। तपाईंको आफ्नै परिवारका सदस्यहरूका लागि र तपाईंकै मोटरमा यात्रा गर्नेहरूका निम्ति मात्र बस्ने ठाउँ रोकेर राख्न सकिन्छ। वृद्ध वा अशक्त मानिसहरूका लागि सबै सम्मेलनहरूमा छुट्टै बस्ने ठाउँ उपलब्ध हुनेछन्। सबैले होसियारीपूर्वक संकेतहरू बमोजिम काम गरून् तथा परिचारकहरूका निर्देशहरू पालन गरून् भनी हामी अनुरोध गर्दछौं। वृद्धहरूका लागि छुट्ट्याइएका ठाउँहरूमा जवान मानिसहरू बसी दिंदा केही पाको उमेरका भाइहरूले अप्ठ्यारो ठाँउहरूमा बस्ने ठाउँ खोज्नु परेको छ। कृपया, बुज्रुकहरू प्रति विचारशील हुनु होस्। हामीलाई खेद छ कि एलरजी जस्ता समस्याहरू हुनेहरूका लागि अलग्ग बस्ने क्षेत्र वा कोठाहरूको प्रबन्ध मिलाउँन सम्भव छैन।
१७ सम्मेलनमा सकेसम्म कम व्यक्तिगत सामानहरू ल्याउने गर्नुहोस् भनी हामी सल्लाह दिन्छौं। कुनै सामान तपाईंको मेचमनि अँट्दैन भने त्यसलाई घरैमा छाडनु बेस हुनेछ। चिसो पानी राख्ने ठूला ठूला थर्मसहरू मानिस हिंड्ने बाटोमा राख्न सुरक्षाको दृष्टिले मनाही छ। ती सामानलाई तपाईंले आफ्नो छेउको मेचमा राख्नु भयो भने पनि कुनै एक जनाले बस्ने ठाउँ नपाउला।
१८ प्रत्येक सम्मेलनमा प्रतीक्षा गरिएको उपस्थितिअनुसार सबैलाई पुग्ने मात्रामा भोजन मगाइन्छ। जवान मानिसहरू लगायत प्रत्येकले प्रत्येक पटकका लागि चाहिंदो मात्र भोजन लिएमा सबैलाई पुग्नु पर्ने हो। तपाईं र तपाईंका परिवारले तुरुन्तै उपभोग गर्नका लागि मात्र खाने कुरा लिनुहोस्। पछि अन्य ठाँउमा प्रयोग गर्नका लागि सम्मेलनस्थलबाट भोजन न लैजानुहोस्। बेलुकी प्रत्येक दिनको अन्तमा खाने कुरा बाँकी रहेको हुनाले त्यसलाई खाना दिने ठाउँबाट दिंदैछ भने वा आइतवार बेलुकी, सम्मेलनको अन्तमा खाने कुरा बढी भएको खण्डमा मात्र सम्मेलनस्थलबाट भोजनबाहिर लैजान मिल्नेछ।
१९ आवश्यकताभन्दा बढी भोजन लिनेहरूले पछि गएर त्यो खान नसकेको भोजनलाई फोहरमैला फाल्ने बाकसमा फालेको देखिएको छ। यसैकारण पहिलो पटक चाहिं ठिक्क मात्रामा लिएर पछि अरू थप्ने इच्छा भयो भने, अरू सबैले लिइसकेपछि फेरि थप्न जानु बेस हुनेछ। भोजन-पानीसम्बन्धी सबैका सामान्य आवश्यकताहरू यथासम्भव सुविधापूर्वक पूरा गर्न सम्मेलन समिति खुशी हुनेछ।—नोभेम्बर १५, १९९१-को वॅचटावर, पृष्ठ ११, अनुच्छेद १३ तथा १५ हेर्नु होला।
२० तयार पारिएको आध्यात्मिक कार्यक्रमबाट लाभ उठाँउनका लागि सहुलियत मिलेको ठाउँमा भेला हुन पाएका लागि यहोवाका जनहरू मूल्याङ्कन प्रकट गर्छन्। साथै यस्ता भेलाहरूमा उपलब्ध यत्तिका सेवा तथा सुविधाहरूको पनि हामी मूल्याङ्कन गर्दछौं! सम्मेलन धाउन सबैका लागि एउटा आनन्दायी र आध्यात्मिक तवरमा स्फूर्तिदायक अनुभव होस् भनेर धेरै सोचविचारका साथसाथै खर्च समेत गर्नु परे तापनि सङ्गठनले पर्याप्त बस्ने ठाउँ, किम्मती ध्वनियन्त्रहरू, एउटा सक्षम भोजन सेवा विभागको सञ्चालन तथा अन्य सेवाहरूको प्रबन्ध मिलाइ दिएको हुन्छ।
२१ “ज्योति वाहकहरूका” जिल्ला सम्मेलनमा उपस्थित हुनुहोस्। ज्योति वाहकहरू हुन पाउनु एउटा महान आदर तथा सौभाग्यको कुरा किन हो, “ज्योति वाहकहरूका” जिल्ला सम्मेलनमा उपस्थित भएर सुनेपछि हामी हर्षले गदगद हुनेछौं। तर यो एउटा गम्भीर जिम्मावारी पनि हो भनेर हामीलाई सम्झना गराइने छ। सम्मेलनमा सुनेका कुराहरूलाई साधारणभन्दा बढी ध्यान दियौं भने, ज्योति वाहकहरू हुन पाएकोमा हामीले आफ्नो मूल्याङ्कन बढाउनका साथै आफ्नो सीपमा पनि उन्नति ल्याउन सक्नेछौं। शुक्रवारको प्रारम्भिक गीतदेखिन् लिएर शनिवार अपरान्हका समाप्तिको प्रार्थनासम्म, सबै बैठकहरूमा उपस्थित हुन अहिले नै योजना बनाउँनु होस्।
[पृष्ठ ६-मा भएको पेटी]
जिल्ला सम्मेलनका लागि सम्झौटोहरू
कोठाको प्रबन्ध: सम्मेलन समितिले प्रबन्ध गरी दिएका बासस्थानहरूको प्रयोग गर्नमा तपाईंको सहयोगको धेरै नै मूल्याङ्कन गरिन्छ। तपाईंका लागि रिजर्भ गरिएको कोठा कुनै कारणवश तपाईंलाई नचाहिने भयो भने, तपाईंले सकेसम्म धेरै नै अगाडि सोझै होटेललाई फोन वा पत्रद्वारा सो जनाइ दिनु उचित हुनेछ र यस प्रकार त्यो कोठा अरू कसैका लागि उपलब्ध गराइन सकिनेछ।
बप्तिस्मा: शनिवार बिहानको कार्यक्रम सुरु हुन अगावै बप्तिस्मा लिने उम्मेदवारहरू तिनीहरूका निम्ति खटाइएका ठाउँहरूमा बसी सकेको हुनु पर्दछ। बप्तिस्मा लिन चाहने प्रत्येकले पानीमा पस्दा लगाउन उत्ताउलो नदेखिने पहिरन तथा एउटा तौलिया लिएर आउनु पर्छ। बप्तिस्मा सम्बन्धी भाषण तथा प्रार्थना पश्चात बैठकका अध्यक्षले बप्तिस्मा उम्मेदवारहरूलाई छोटकरीमा निर्देशनहरू दिइ सकेपछि गीत गाउने आह्वान गर्ने छन्। गीतको अन्तिम चरणपछि, परिचारकहरूले बप्तिस्मा लिने उम्मेदवारहरूलाई डुबुल्की लाउने स्थान वा तिनीहरूलाई त्यहाँ लैजाने मोटरतर्फ डोऱ्याउने छन्। आफ्नो समर्पणलाई व्यक्त गर्नका लागि गरिएको बप्तिस्मा, यहोवा र बप्तिस्मा लिने व्यक्ति बीचको एउटा घनिष्ठ र व्यक्तिगत कुरा भएको हुनाले, सामूहिक बप्तिस्मा अथवा दुई वा बढी उम्मेदवारहरूले एक अर्काको हात समातेर वा एकअर्कालाई अङ्गालो हालेर बप्तिस्मा लिने खण्ड पटक्कै छैन।
स्वयंसेवा: जिल्ला सम्मेलनलाई सुचारु रूपमा सञ्चालन गर्नलाई स्वयंसेवाको खाँचो पर्छ। तपाईं सम्मेलनमा केही समयका लागि मात्र काम गर्न सक्नुहुन्छ भने पनि तपाईंको सेवाको मोल गरिने छ। तपाईंले सहायता दिन सक्नुहुन्छ भने, सम्मेलनस्थलमा आइपुग्नासाथै स्वयंसेवा विभागलाई सो जनाइ दिनुहोस्। सम्मेलनलाई सफल पार्ने काममा १६ वर्षभन्दा कम उमेरकाहरूले पनि भाग लिन सक्छन् तर तिनीहरूले आफ्नो आमा वा बाबु वा अरू कुनै जिम्मेवार बालिगसँग काम गर्नु पर्दछ।
बिल्ला कार्डहरू: विशेष रूपमा तयार पारिएको बिल्लालाई सम्मेलनमा तथा सम्मेलन स्थलबाट आउजाउ गर्नुहुँदा कृपया लगाउनु होस्। यात्रा गर्दा यसले हामीलाई अक्सर एउटा प्रभावकारी साक्षी दिन सम्भव पारी दिन्छ। सम्मेलनको सदस्य हुनुहुन्छ भनेर तपाईंको छाती बिल्लामा आफ्नो परिचय स्पष्टगरी लेखिएको छ भने, सरल पारिएको भोजन विभागको सञ्चालनमा पनि मद्दत पुग्नेछ। बिल्लाहरू तपाईंको मण्डलीमार्फत प्राप्त गर्नु पर्दछ किनकि यी सम्मेलनहरूमा उपलब्ध हुने छैनन्।
सतर्क गराउने केही शब्दहरू: तपाईंले आफ्नो मोटरलाई जुनसुकै ठाउँमा बिसाउनु भए तापनि त्यसलाई हरहमेसा बन्द राख्नु होस् र त्यसभित्र कुनै पनि वस्तु देखिने गरी कहिल्यै नराख्नु होस्। सम्भव भएमा आफ्नो सरसामान ट्रङ्कभित्र ताल्चा लगाएर राख्नु होस्। साथै, ठूला ठूला जमघटहरूप्रति आकर्षित हुने चोरहरू र पाकेटमारहरू देखिन् पनि सावधान रहनु होला। यसको अर्थ, सम्मेलनका मेचहरूमा कुनै पनि मूल्यवान वस्तु त्यसलाई रुङ्गने मानिस बिना नछाडनु होस्। सिद्धान्तहीन व्यक्तिहरूले साना साना केटा-केटीहरूलाई फकाइ-फुस्ल्याइ सम्मेलनस्थलबाट लैजाने प्रयास गरेको सूचना पनि पाइएको छ। कृपया सतर्क हुनुहोस्।
कुनै कुनै होटेलहरूले अनैतिक अथवा अश्लील विषय-वस्तु भएका चलचित्रहरू पनि सजिलैसित देखाउने गर्छन् भनी थाह पाइएको छ। यसले गर्दा, बास बस्ने यी ठाउँहरूमा बच्चाहरूलाई कुनै देखरेख बिना टी. भी. हेर्न नदिनु अति नै महत्त्वपूर्ण कुरा हो।
कतिपय भाइहरू तथा चासो देखाउँने मानिसहरूले चाहिं सम्मेलनका बैठकहरू बस्ने समय इत्यादिबारे सम्मेलनस्थलका प्रबन्धकहरूसित सोधपूछ गरेका छन्। कृपया यसो नगर्नु होस्। तपाईंलाई चाहिएको जानकारी प्रहरीधरहरा वा हाम्रो राज्य सेवकाई-मा छैन भने प्रत्येक मण्डलीका सेक्रेट्रीसँग हुने सम्मेलनको ठेगानामा पत्र लेख्नु होस्।
[पृष्ठ १-मा भएको पेटी]
१९९२-९३ जिल्ला सम्मेलन गीत सङ्खयाहरू
बिहान अपरान्ह
शुक्रवार ३३ (१३) ३८ (६५)
९१ (६१) २२१ (७३)
१११ (२०) २१७ (२४)
[पृष्ठ १-मा भएको पेटी]
बिहान अपरान्ह
शनिवार ४३ (१०३) १७७ (५२)
१२८ (१०) २०७ (११२)
१५२ (८२) २०१ (१०२)
रविवार ३५ (१५) १६८ (८४)
८९ (४९) ४२ (१८)
५० (२३) ४५ (१०७)