“नमस्कार! के तपाईंलाई परमेश्वरको नाउँ थाहा छ?”
ब्राजिल स्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा, फर्टालेजा भन्ने शहरका १२ वर्षीया जम्ल्याहा दिदी-बहिनीबाट निम्न पत्र पाइयो:
“सन् १९९० सालमा हामी पाँच कक्षमा हुँदा, हाम्रो स्कूलले विज्ञान, कला र संस्कृतिबारे एउटा प्रदर्शनी आयोजित गरेको थियो। अरू विद्यार्थीहरूले तयार गरिरहेको कुराभन्दा हामी अलिकता बेग्लै कुरा प्रस्तुत गर्न चाहन्छौं भनेर हामीले आफ्नी शिक्षिकालाई बतायौं। हामीले यहोवा र बाइबलबारे कुरा गरेको तिनले सुनेकी थिइन्। यसकारण तिनले हामीलाई यो सुझाव दिईन्: ‘त्यसो भए तिमीहरूले आफ्नो परमेश्वरबारे लेखे हुन्छ!’
“हामीले यहाँ एउटा साक्षी दिने मौका देख्यौं। यहोवाको नामलाई महत्त्व दिने साहित्यसहितको प्रदर्शनी तयार पार्ने हामीले फैसला गऱ्यौं। भजनसंग्रह ८३:१८-का शब्दहरूलाई ठूला-ठूला अक्षरमा लेखेर हामीले खुला बाइबलको तस्वीरमा टाँसी दियौं। साथै, हामीले यहोवा नाउँ भएको बेग्ला-बेग्लै बाइबल अनुवादहरू टेबलमाथि राख्यौं। त्यही टेबलमा हामीले बाइबलसम्बन्धी विभिन्न प्रकाशनहरू प्रदर्शित गऱ्यौं। यसबाहेक, एउटा लोकप्रिय फिल्ममा यहोवाको नाम प्रयोग गरिएको एकैवटा उदाहरण दर्शकहरूलाई देखाउन हामीले टेबलको एक छेउमा टेलीभिजन र भिडिओ डेक पनि राखेका थियौं।
“प्रदर्शनीको दौडानमा कुनै एकजना व्यक्ति हाम्रो टेबलमा आउँदा हामी यसो भन्थ्यौं: ‘नमस्कार! के तपाईंलाई परमेश्वरको नाम थाहा छ?’ दर्शकलाई तिनको प्रतिक्रिया व्यक्त गर्ने मौका दिएपछि, हामी फेरि यसो भन्थ्यौं: ‘हेर्नुहोस् त यहाँ! बाइबलका विभिन्न अनुवादहरूमा उहाँको नाउँ यहोवा हो भनी देखाइएको छ।’ यसो भन्दै हामी योवा फरइरा दी आलमाइडा, द यरुशलेम बाइबल र न्यु वर्ल्ड ट्रान्सलेशन जस्ता बेग्लाबेग्लै बाइबलहरूबाट परमेश्वरको नाउँ देखाइ दिन्थ्यौं। यसपछि हामी फिल्मको त्यो दृश्य देखाउँथ्यौं जहाँ मुख्य कलाकारले परमेश्वरको नाउँ यहोवा हो भनी जोड दिन्छ। चासो देखाउने मानिसहरूलाई हामी अझ जानकारी भएको कुनै एउटा पत्रिका अथवा पर्चा दिन्थ्यौं।
“हाम्रो टेबलमा आउने एकजना युवकले क्वेश्चन्स यङ्ग पिपल आस्क—आन्सर्स द्यात वर्क [नेपालीमा उपलब्ध छैन।] भन्ने पुस्तक माग्यो। हाम्री शिक्षिकाले चाहिं मेकिङ्ग यर फ्यामिली लाइफ ह्यापी [नेपालीमा उपलब्ध छैन।] पुस्तक राम्ररी हेरेपछि यसो भनीन्: ‘आहा! कस्तो चासो लाग्ने पुस्तक!’ प्रदर्शनी समाप्त हुँदा त हामीले ७ वटा पुस्तक, १८ वटा पर्चाहरू र ६७ पत्रिकाहरू वितरण गरी सकेका थियौं। हामीलाई प्रदर्शनीमा तेस्रो स्थान प्रदान गरियो। तर मुख्यतः ईश्वरीय नाउँ यहोवाको घोषणा गर्ने सुअवसर पाएकोमा हामी अति नै खुशी थियौं।” (w93 2/1)