मसीही परिवारले आध्यात्मिक कुराहरूलाई प्रथम स्थान दिन्छ
“तिमीहरू सबै एकै मनका, सहानुभूति देखाउने, भ्रातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका [होओ]।”—१ पत्रुस ३:८.
१. हामी सबैसँग छनौट गर्ने कस्तो मौका छ र हाम्रो छनौटले हाम्रो भविष्यलाई कसरी असर गर्न सक्छ?
उपरोक्त पद मानवजातिको सबैभन्दा पुरानो संस्थापन अर्थात् परिवारमा कस्तो सत्य साबित हुन्छ! र यी कुराहरूमा आमाबाबुहरूले नेतृत्व गर्नु कस्तो महत्त्वपूर्ण छ! तिनीहरूका सकारात्मक र नकारात्मक गुणहरू प्रायजसो बच्चाहरूमा झल्किन्छन्। यद्यपि, परिवारको प्रत्येक सदस्यसित आफ्नो लागि आफै निर्णय गर्ने मौका छ। मसीहीहरू हुनाकारण हामी आध्यात्मिक अथवा शारीरिक व्यक्तिहरू हुन छान्न सक्छौं। हामी परमेश्वरलाई खुशी या दुःखी तुल्याउन रोज्न सक्छौं। ती छनौटको परिणाम आशिष, अनन्त जीवन र शान्ति—अथवा सराप, अनन्त विनाश हुन सक्छ।—उत्पत्ति ४:१, २; रोमी ८:५-८; गलाती ५:१९-२३.
२. (क) पत्रुसले परिवारप्रति आफ्नो चासो कसरी देखाए? (ख) आध्यात्मिकता भनेको के हो? (फुटनोट हेर्नुहोस्)
२ पत्नी र पतिहरूलाई राम्रो सल्लाह दिने बित्तिकै प्रेरितले १ पत्रुस अध्याय ३-को ८ पदमा ती शब्दहरू भनेका थिए। मसीही परिवारहरूको कुशलताबारे पत्रुस साँच्चै नै चिन्तित थिए। बलियो आध्यात्मिकता एउटा एकत्रित, स्नेही परिवारको कुञ्जी हो भनेर तिनलाई थाहा थियो।a तसर्थ, पद ७-मा पतिहरूले तिनको सल्लाहलाई अवहेलना गरे भने पति र यहोवाको बीचमा अवरोध खडा हुनेछ भनेर तिनले भने। आफ्नी पत्नीको आवश्यकताहरूलाई बेवास्ता गरेमा अथवा निर्दयितापूर्वक सताएमा पतिको प्रार्थनाहरूमा अड्चन पैदा हुन सक्छ।
ख्रीष्ट—आध्यात्मिकताको एउटा सिद्ध उदाहरण
३. पतिहरूको निम्ति ख्रीष्टले छाड्नुभएको उदाहरणलाई पावलले कसरी प्रकाश पारे?
३ परिवारको आध्यात्मिकता असल उदाहरणमा भर पर्दछ। पति एक जना साँचो मसीही हो भने आध्यात्मिक गुणहरू देखाउन तिनले राम्रो उदाहरण कायम गर्छन्। यदि पति सच्चाइमा छैनन् भने, आमाले प्राय त्यो जिम्मेवारी निभाउन खोज्छिन्। यी दुवै अवस्थामा उदाहरण पछ्याउनका लागि ख्रीष्टले राम्रो नमुना छाड्नु भएको छ। उहाँको चालचलन, वचन र सोचाइ सधैं नै ढाडस दिने खालका र स्फूर्तिदायक थियो। प्रेरित पावलले बारम्बार पाठकको ध्यान ख्रीष्टको मायालु नमुनातर्फ केन्द्रित गरे। उदाहरणको लागि, तिनले भने: “पत्नीका शिर पति हुन्, जस्तो ख्रीष्ट शरीरको मुक्तिदाता भई मण्डलीका शिर हुनुहुन्छ। ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।”—एफिसी ५:२३, २५, २९; मत्ती ११:२८-३०; कलस्सी ३:१९.
४. येशूले आध्यात्मिकताको कस्तो उदाहरण छाड्नुभयो?
४ प्रेम, दया र सहानुभूतिका साथ आध्यात्मिकता र शिरत्व प्रकट गर्ने कुरामा येशू अतुलनीय उदाहरण हुनुहुन्थ्यो। उहाँ विलासी होइन आत्म-त्यागी हुनुहुन्थ्यो। उहाँले सधैं नै आफ्नो पिताको महिमा गर्नुभयो र उहाँको शिरत्वको आदर गर्नुभयो। उहाँले आफ्नो पिताको निर्देशनलाई पालन गर्नुभयो, त्यसैकारण त उहाँले यसो भन्न सक्नुभयो: “म आफै केही गर्न सक्तिनँ, जस्तो म सुन्छु, म इन्साफ गर्छु औ मेरो इन्साफ ठीक छ, किनकि म आफ्नो इन्साफ होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।” “म आफै केही गर्दिनँ, तर जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा बोल्दछु।”—यूहन्ना ५:३०; ८:२८; १ कोरिन्थी ११:३.
५. आफ्ना चेलाहरूका लागि प्रबन्ध गरिदिएर येशूले पतिहरूको निम्ति कस्तो उदाहरण छाड्नुभयो?
५ पतिहरूको निम्ति यसले के अर्थ राख्दछ? यसको अर्थ हो, हरेक कुराहरूमा तिनीहरूले आफूलाई पिताको अधीनमा राख्ने ख्रीष्टको नमुनालाई पछ्याउनुपर्छ। उदाहरणको लागि, यहोवाले पृथ्वीमा भएका सबै जीव-जीवातहरूको निम्ति खानाको प्रबन्ध गरिदिनुभएझैं येशूले पनि आफ्ना चेलाहरूलाई खानाको प्रबन्ध गरिदिनुभयो। उहाँले तिनीहरूका भौतिक आधारभूत आवश्यकताहरूको बेवास्ता गर्नुभएन। उहाँले पहिले ५,००० र पछि ४,००० जनालाई खुवाउन गर्नुभएको चमत्कार मानिसहरूप्रति उहाँको चासो र जिम्मेवारीपूर्ण भावको प्रमाण हो। (मर्कूस ६:३५-४४; ८:१-९) आज पनि त्यस्तैगरि परिवारका जिम्मेवार शिरहरूले तिनीहरूका घरानाको शारीरिक आवश्यकताहरू पूरा गर्दछन्। तर तिनीहरूको जिम्मेवारी त्यति मात्रै हो र?—१ तिमोथी ५:८.
६. (क) परिवारका कस्ता महत्त्वपूर्ण आवश्यकताहरूलाई पूरा गर्नुपर्छ? (ख) पति र पिताहरूले अरूहरूप्रति समझदारी कसरी देखाउन सक्छन्?
६ येशूले देखाउनुभएअनुसार परिवारहरूका अरू महत्त्वपूर्ण आवश्यकताहरू पनि हुन्छन्। तिनीहरूका आध्यात्मिक र भावनात्मक आवश्यकताहरू हुन्छन्। (व्यवस्था ८:३; मत्ती ४:४) हामी घर र मण्डली दुवै ठाउँमा अरू व्यक्तिहरूसित व्यवहार गर्दछौं। हामी ढाडस दिने खालको हुनको निम्ति हामीलाई राम्रो मार्गदर्शनको आवश्यकता पर्दछ। यस विषयमा पतिहरू र पिताहरूले एउटा महत्त्वपूर्ण भूमिका निभाउनु पर्छ—यदि तिनीहरू प्राचीनहरू र सहायक सेवकहरू हुन् भने त जिम्मेवारी अझ बढी हुन्छ। आमा या बाबु मात्र भएको परिवारहरूमा पनि बच्चाहरूलाई मदत गर्न यस्ता गुणहरूको आवश्यकता पर्दछ। आमाबाबुहरूले आफ्नो परिवारका सदस्यहरूले व्यक्त गरेका कुराहरू मात्रै होइन तर व्यक्त नगरेका कुराहरू पनि बुझ्नु पर्छ। त्यसो गर्न विवेक, समय र धैर्यको खाँचो पर्दछ। यो एउटा कारण हो जसले गर्दा पत्रुसले पतिहरूलाई आफ्ना पत्नीहरूप्रति दयालु हुनु र तिनीहरूसित ज्ञानअनुसार व्यवहार गर्नुपर्छ भनेर भन्न सके।—१ तिमोथी ३:४, ५, १२; १ पत्रुस ३:७.
जोगिनु पर्ने खतराहरू
७, ८. (क) परिवारको आध्यात्मिक पतन हुनबाट जोगिन के गर्नुपर्छ? (ख) मसीही मार्गमा राम्रो सुरुआत गर्नुको अलावा अरू के को खाँचो छ? (मत्ती २४:१३)
७ परिवारको आध्यात्मिकतामा ध्यान दिनु किन यत्तिको महत्त्वपूर्ण छ? यो कुरा बुझ्न हामी प्रश्न गर्न सक्छौं, ‘एक जना नाविकले पानी कम भएको ठाउँमा जहाज चलाउँदा नक्शालाई ध्यान दिएर हेर्नु किन महत्त्वपूर्ण छ? अगस्त १९९२-मा क्वीन इलिजाबेथ दोस्रो (क्यूइटु) नामक जंगी जहाजलाई नौ-यात्रा सम्बन्धी त्रुटिहरू हुनसक्ने बलौटे पहाड र चट्टानहरू भएको ठाउँमा लगियो। त्यहाँका स्थानीय बासिन्दाले यसप्रकार टिप्पणी गरे: “यस क्षेत्रमा नाविकहरूको गल्तीले गर्दा धेरै दुर्घटनाहरू भए। यसकारण धेरैजना चालकहरूले आफ्नो जागिर गुमाउनु पऱ्यो।” क्यूइटु पानी मुनि भएको चट्टानमा ठक्कर खायो। त्यस गल्तीको लागि ठूलो मोल चुकाउनु पऱ्यो। त्यस जहाजको एक तिहाई भाग बिग्रियो र जहाजको मर्मतका लागि त्यसलाई केही हप्तासम्म काममा लगाइएन।
८ त्यस्तैगरि परिवारको “नाविक”-ले नक्शा अर्थात् परमेश्वरको वचनलाई ध्यानपूर्वक जाँचेन भने सजिलैसँग परिवारको आध्यात्मिक क्षति हुन सक्छ। फलस्वरूप एक जना प्राचीन अथवा सहायक सेवकले मण्डलीमा पाएका अवसरहरू गुमाउन सक्छन् र सायद परिवारका अरू सदस्यहरूमाथि गम्भीर हानि पुग्न सक्छ। तसर्थ, प्रत्येक मसीहीले आफ्नो पहिला पहिला गरिआएका अध्ययन गर्ने असल बानीहरू र जोशमा मात्र भर गरेर आध्यात्मिक तवरमा सन्तुष्ट हुन देखि जोगिनु पर्दछ। हाम्रो मसीही जीवनमा सुरुआत मात्र राम्रो भएर पुग्दैन; सम्पूर्ण यात्रा नै सफलतापूर्वक पूरा गर्नुपर्छ।—१ कोरिन्थी ९:२४-२७; १ तिमोथी १:१९.
९. (क) व्यक्तिगत अध्ययन कत्तिको महत्त्वपूर्ण छ? (ख) कस्ता महत्त्वपूर्ण प्रश्नहरू आफूलाई सोधेमा बेस हुनेछ?
९ आध्यात्मिक तवरमा पानी कम भएका भूमिहरू, चट्टानहरू र बलौटे थुप्रोहरू देखि जोगिन हामीले परमेश्वरको वचनको नियमित अध्ययन गरेर हाम्रो “नक्शा”-को ताजा ज्ञान राख्नुपर्छ। हामीले सुरुमा सच्चाइ सिक्दाखेरिको आधारभूत अध्ययनमा मात्र निर्भर गर्नु हुँदैन। हाम्रो आध्यात्मिक बल अध्ययन र सेवकाईको नियमित तथा सन्तुलित कार्यक्रममा भर पर्दछ। उदाहरणको लागि, हाम्रो हातमा भएको यस प्रहरीधरहरा मण्डलीमा अध्ययन गर्न तपाईं उपस्थित हुनुहुँदा, आफैलाई प्रश्न गर्न सक्छौं, ‘के मैले अथवा हामीहरूले पारिवारिक रूपमा साँच्चै नै यस लेखलाई पढेका छौं? अथवा के हामीले उत्तरहरूलाई धर्सो मात्र तानेका छौं? के हामीले शास्त्रपदहरू खोलेर पढेका छौं र त्यसको कसरी प्रयोग गर्न सकिन्छ भनेर मनन गरेका छौं? सभामा आउनु भन्दा पहिले सायद यस लेखलाई पढेर सम्म आएका छैनौं कि?’ इमान्दारीपूर्वक यी प्रश्नहरूको जवाफ दियौं भने आवश्यक भएमा हाम्रो पढ्ने बानीबारे गहिरिएर विचार गर्न र उन्नति गर्ने इच्छा जगाउन उत्प्रेरित गराउन सक्छ।—हिब्रू ५:१२-१४.
१०. आत्म-विश्लेषण किन महत्त्वपूर्ण छ?
१० यस प्रकारको आत्म-विश्लेषण किन महत्त्वपूर्ण छ? किनभने अहिले हामी शैतानी आत्माले प्रभावित संसारमा बाँचिरहेका छौं, त्यस्तो संसार जसले विभिन्न धूर्त तरिकाहरूद्वारा परमेश्वर र उहाँको प्रतिज्ञाहरूप्रति हाम्रो विश्वासलाई धमिल्याउन खोज्छ। यो त्यस्तो संसार हो जसले आध्यात्मिक कुराहरूमा ध्यान दिन समय नै नहुने गरी एकदमै व्यस्त राख्न चाहन्छ। तसर्थ आफैलाई यी प्रश्नहरू गर्न सक्छौं, ‘के मेरो परिवार आध्यात्मिकतामा बलियो छ? के म आमा या बाबुको हैसियतमा हुनुपर्ने जति बलियो छु? धार्मिकता र निष्ठामा आधारित निर्णयहरू गर्न मनको आत्मालाई सक्रिय गर्ने आध्यात्मिक बललाई के हामीले पारिवारिक तवरमा विकास गरिरहेका छौं?’—एफिसी ४:२३, २४.
११. मसीही सभाहरू किन आध्यात्मिक तवरमा लाभकारी छन्? एउटा उदाहरण दिनुहोस्।
११ हामी उपस्थिति हुने प्रत्येक सभाले हाम्रो आध्यात्मिकतालाई अझ बलियो पार्नुपर्छ। वैमनस्यताले भरिएको शैतानको संसारमा जीवन धान्न दिनहुँ धेरै समय बिताउँछौ। यसरी समय बिताइसकेपछि राज्य भवन अथवा मण्डली पुस्तक अध्ययनमा बिताउने ती मूल्यवान घण्टाहरूले हामीलाई स्फूर्ति दिन मदत गर्दछ। उदाहरणको लागि आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक पढ्न पाउनु कस्तो स्फूर्तिदायक कुरा भएको छ! यसले हामीलाई येशू, उहाँको जीवनी र उहाँको सेवकाईबारे बढी कुराहरू थाहा पाउन मदत दिएको छ। हामीले उद्धरित शास्त्रपदहरू पढेका छौं, व्यक्तिगत तवरमा अनुसन्धान गरेका छौं। यसप्रकार येशूले छाड्नुभएको उदाहरणबाट धेरै कुराहरू सिकेका छौं।—हिब्रू १२:१-३; १ पत्रुस २:२१.
१२. क्षेत्र सेवकाईले हाम्रो आध्यात्मिकताको जाँच कसरी गर्दछ?
१२ हाम्रो आध्यात्मिकताको सर्वोत्तम जाँच मसीही सेवकाई हो। हाम्रो समाचारप्रति भावशून्यता प्रकट गर्ने अथवा विरोध गर्ने जनसाधारणलाई औपचारिक या अनौपचारिक साक्षी दिंदा हतोत्साही नभई निरन्तर लागिरहन हामीमा परमेश्वर र छिमेकीप्रतिको प्रेम साथै सही प्रेरणा हुनु आवश्यक छ। निस्सन्देह, विरोधको सामना गर्नु पर्दा कोही पनि आनन्दित हुँदैन र त्यस्ता घटनाहरू हाम्रो क्षेत्र सेवकाईमा हुन सक्छन्। तर त्यसो हुँदा तिनीहरूले हाम्रो होइन तर सुसमाचारको विरोध गरेको हो भन्ने कुरा हामीले बिर्सनु हुँदैन। येशूले भन्नुभयो: “संसारले तिमीहरूलाई घृणा गर्दछ, तर तिमीहरूलाई घृणा गर्नुभन्दा अघाडि मलाई घृणा गरेको हो भनी तिमीहरू जान्दछौ। तिमीहरू यस संसारका हुँदा हौ ता संसारले तिमीहरूलाई माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। . . . तर तिनीहरूले यी सबै कुरा मेरो नाउँको खातिर तिमीहरूसँग गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनेलाई चिन्दैनन्।”—यूहन्ना १५:१८-२१.
मुखले भन्नुभन्दा काम गरेर देखाउनु प्रभावकारी हुन्छ
१३. एक जना व्यक्तिले सम्पूर्ण परिवारको आध्यात्मिकतालाई कसरी कमजोर पारिदिन सक्छ?
१३ घरको सरसफाई र स्वच्छतामा परिवारको एक जना सदस्यले ध्यानै दिंदैन भने के हुन्छ? पानी परेको दिनमा त्यस भुलक्कड व्यक्ति बाहेक अरू सबैजना घरभित्र हिलोको दाग नलगाउन होशियार हुन्छन्। जताततै हिलोको छापले त्यस व्यक्तिको हेलचेक्राईंको प्रमाण दिन्छ। र परिवारका अरू सदस्यहरूले बढी काम गर्नुपर्ने हुन्छ। यही नै कुरा आध्यात्मिकतामा पनि लागु हुन्छ। एक जना स्वार्थी र लापरवाही व्यक्तिले सारा परिवारको नाममा कलङ्क लगाइदिन सक्छ। आमाबाबुहरूले मात्र होइन तर परिवारमा भएका सबैजनाले नै ख्रीष्टको मनसाय प्रदर्शन गर्ने प्रयत्न गर्नुपर्छ। सबैले अनन्त जीवनलाई दृष्टिगत गर्दै एकसाथ मिलेर काम गर्दा कस्तो आनन्ददायी हुन्छ! त्यस्तो परिवारको मानसिक झुकाव आध्यात्मिक कुराहरूमा हुन्छ (तर आत्म-श्रेष्ठत्व होइन)। त्यस्ता परिवारहरूमा आध्यात्मिकतालाई अवहेलना गरिएको लक्षणहरू विरलै देखिन्छन्।—उपदेशक ७:१६; १ पत्रुस ४:१, २.
१४. कस्ता भौतिक प्रलोभनहरू शैतानले हाम्रो सामु राखिदिन्छ?
१४ हाम्रो जीवन धान्न दिनहुँ पूरा गर्नु पर्ने आधारभूत भौतिक आवश्यकताहरू हामी सबैको छ। (मत्ती ६:११, ३०-३२) तर प्राय हाम्रा चाहनाहरू आवश्यकताहरू भन्दा बढी हुन्छन्। उदाहरणको लागि, शैतानको संसारमा थरि थरिका उपकरण तथा साधनहरू हुन्छन्। हामीले सधैं अत्याधुनिक उपकरणहरू चाहना गर्न थाल्यौं भने हामी कहिल्यै सन्तुष्ट हुनेछैनौं। किनभने त्यो अत्याधुनिक वस्तु पनि चाँडै नै पुरानो भएर त्यसको ठाउँमा झन् नयाँ तथा आधुनिक सामान आउँछ। व्यापारिक संसारले कहिल्यै अन्त नहुने चक्र बनाएको छ। हाम्रो बढ्दो चाहनाहरू पूरा गर्न अझ बढी पैसा कमाउन त्यसले हामीलाई प्रलोभित गर्दछ। यसले गर्दा हामीमा “धेरै मूर्ख र हानिकारक अभिलाषाहरू” अथवा “बेवकूफ र खतरनाक आकाङ्क्षाहरू” हुन सक्छन्। यसको परिणामस्वरूप आध्यात्मिक क्रियाकलापहरूको लागि कम समय हुँदै गइरहेको असन्तुलित जीवन हुन सक्छ।—१ तिमोथी ६:९, १०; द जेरूशलेम बाइबल.
१५. कुन अर्थमा परिवारको शिरको उदाहरण महत्त्वपूर्ण छ?
१५ यस विषयमा पनि मसीही परिवारको शिरले देखाउने उदाहरण अति नै महत्त्वपूर्ण छ। सांसारिक र आध्यात्मिक जिम्मेवारीहरूप्रति तिनको सन्तुलित दृष्टिकोणले परिवारका अरू सदस्यहरूलाई उत्प्रेरित गराउनु पर्दछ। एक जना पिताले राम्रो मौखिक सल्लाहहरू चाहिं दिने तर आफूले भने त्यसअनुसार काम नगर्ने भएमा निश्चय नै खतिपूर्ण हुनेछ। मैले भनेजस्तो गर्नु तर गरेजस्तो होइन भन्ने खालको जीवनशैली बच्चाहरूले छिट्टै नै थाहा पाउन सक्छन्। त्यस्तैगरि अरूहरूलाई भने घर-घरको सेवकाईमा जान प्रोत्साहन दिने तर आफू भने परिवारसित कमै मात्र भाग लिने प्राचीन अथवा सहायक सेवकले आफ्नो परिवार र मण्डली दुवैमा अरूहरूको विश्वस्तता गुमाउँछ।—१ कोरिन्थी १५:५८; मत्ती २३:३ तुलना गर्नुहोस्।
१६. हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्न सक्छौं?
१६ यसर्थ, हाम्रो जीवनलाई केलाएर हेर्नु फाइदाजनक नै हुनेछ। आध्यात्मिक प्रगति गर्न बाधा पुऱ्याउने गरी के हामी सांसारिक सफलता हासिल गर्नमा व्यस्त छौं? के हामी सांसारिक सफलताहरू प्राप्त गरिरहेका तर मण्डलीमा भने अवनति भइरहेका छौं? पावलको सल्लाहलाई याद गर्नुहोस्: “यो वचन विश्वासयोग्य छ, यदि कुनै मानिसले विशपको काम गर्न खोज्छन् भने, तिनले असल कामको इच्छा गर्छन्।” (१ तिमोथी ३:१) हाम्रो काममा भएको पदोन्नतिलेभन्दा मण्डलीमा हाम्रो जिम्मेवारीहरूले आफ्नो आध्यात्मिकताको बढी प्रमाण दिन्छ। मानो, यहोवाप्रति नभई आफ्ना कामहरूप्रति समर्पित भए झैं गरी, तिनीहरूले हामीमाथि नियन्त्रण पाउन नदिन हामीले होशियारीपूर्वक सन्तुलन कायम गर्नुपर्छ।—मत्ती ६:२४।
अर्थपूर्ण कुराकानीले आध्यात्मिकतालाई बढाउँछ
१७. परिवारमा साँचो प्रेम खेती गर्न कुन कुराले योगदान पुऱ्याउँछ?
१७ लाखौं घरहरू आज केवल सुत्ने डेराहरू जस्ता मात्र भएका छन्। कसरी? परिवारका सदस्यहरू केवल खान र सुत्न मात्र घरमा आउँछन् त्यसपछि हतार हतार घरबाट फुत्त बाहिर निस्किहाल्छन्। कमै मात्र तिनीहरू सँगै बसेर खाना खान्छन्। परिवारमा हुनुपर्ने आत्मीयता हुँदैन। यसको परिणाम? कुनै खास कुराकानी र विचारको आदानप्रदान नै हुँदैन। त्यसो हुँदा परिणामस्वरूप अरू सदस्यहरूको कुनै वास्ता रहँदैन। सायद अरूबारे कुनै असली चासो नै नहुनसक्छ। हामी एकअर्कालाई प्रेम गर्छौं भने कुराकानी गर्न र सुन्न समय निकाल्छौं। हामी प्रोत्साहन र मदत दिन्छौं। आध्यात्मिकताको यस पक्षलाई कायम गर्न पति पत्नी बीच र आमाबाबु तथा बच्चाहरू बीच स्पष्ट कुराकानी हुन आवश्यक छ।b यसका लागि एकअर्काका आनन्दहरू, अनुभवहरू र समस्याहरूबारे बुझ्न समय र विवेक आवश्यक पर्दछ।—१ कोरिन्थी १३:४-८; याकूब १:१९.
१८. (क) आपसी कुराकानी गर्न अवरोध पैदा गर्ने सबैभन्दा ठूलो बाधा के हो? (ख) अर्थपूर्ण सम्बन्धहरूका आधार के हुन्?
१८ अर्थपूर्ण कुराकानी गर्न समय र प्रयासको खाँचो पर्दछ। यसको अर्थ एकअर्कासित कुरा गर्न र सुन्न समय छुट्ट्याउनु हो। तर यसको सबैभन्दा ठूलो अवरोध, सबैको समय खाने यन्त्र—अर्थात् टिभी हो, जसले धेरै घरहरूमा प्रतिष्ठित ठाउँ पाइरहेको छ। यसले एउटा चुनौती खडा गर्दछ। त्यो हो: के टिभीले तपाईंलाई नियन्त्रणमा राख्दछ अथवा तपाईंले त्यसको नियन्त्रण गर्नुहुन्छ? टिभी माथि नियन्त्रण जमाउन दृढ संकल्पको आवश्यकता हुन्छ—अर्थात् त्यो बन्द गर्न कटिबद्ध हुनुपर्छ। तर यसो गर्नाले परिवारका सदस्यहरू र आत्मिक भाइ बहिनीहरूसित बढी घुलमिल गर्न सकिन्छ। अर्थपूर्ण सम्बन्धहरू राख्न स्पष्ट कुराकानी, अथवा एकअर्काका आवश्यकताहरू र आनन्द बुझ्नु र अरूले हाम्रो निम्ति गरिदिएको मायालु कार्यहरूको हामी कत्तिको मूल्याङ्कन गर्छौं भनेर भन्नु आवश्यक छ। अर्को शब्दमा भन्ने हो भने अर्थपूर्ण कुराकानीहरूले हामी एकअर्काको मूल्याङ्कन गर्दछौं र तिनीहरूप्रति कृतज्ञ छौं भनेर देखाउँछ।—हितोपदेश ३१:२८, २९.
१९, २०. यदि परिवारमा सबैप्रति स्नेह र अनुकम्पा देखाउँछौं भने हामीले के गर्नेछौं?
१९ तसर्थ, हामी परिवारमा एकअर्काप्रति स्नेह र अनुकम्पा देखाउँछौं भने हाम्रो आध्यात्मिकतालाई बढाउन तथा कायम गरिराख्न निकै मदत दिइरहेका हुनेछौं। अरूहरूलाई माया गर्नुमा सच्चाइमा नभएका परिवारका सदस्यहरू पनि समावेश छन्। परिवारको परिधिभित्र हामी पत्रुसको सल्लाहलाई पालन गरिरहेका हुनेछौं: “अन्त्यमा, तिमीहरू एकै मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका, खराबीको बदला गाली नदिने, तर उल्टा आशिष दिने होओ। किनभने आशिषको हकदार हुनालाई तिमीहरू यसैमा बोलाइएका हौ।”—१ पत्रुस ३:८, ९.
२० हाम्रो आध्यात्मिकतालाई कायम राख्न परिश्रम गऱ्यौं भने हामीले यहोवाको आशिष पाउन सक्छौं। यसो गर्नाले भविष्यमा प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवनको उपहार पाउने आशिषतर्फ अघि बढिरहेका हुनेछौं। एकअर्कालाई आध्यात्मिक तवरमा मदत गर्न परिवारको रूपमा एकसाथ मिलेर गर्न सक्ने अरू कुराहरू पनि छन्। यस पछिको लेखले परिवारको रूपमा मिलेर काम गर्दा हुने फाइदाहरूबारे छलफल गर्नेछ।—लूका २३:४३; प्रकाश २१:१-४. (w93 9/1)
[फुटनोटहरू]
a आध्यात्मिकतालाई “धार्मिक मूल्यहरूप्रतिको चेतनशीलता अथवा घनिष्ठता” भनेर परिभाषित गरिएको छ। (वेब्सटर्स नाइन्थ न्यु कोलेजियट डिक्शनरी) एक जना आध्यात्मिक व्यक्ति शारीरिक व्यक्ति अथवा जङ्गली व्यवहार भएको व्यक्तिको विपरीत हो।—१ कोरिन्थी २:१३-१६; गलाती ५:१६, २५; याकूब ३:१४, १५; यहूदा १९.
b पारिवारिक कुराकानीबारे अझ बढी सुझावहरू पाउन सेप्टेम्बर १, १९९१-को द वाचटावर (अङ्ग्रेजी) पृष्ठहरू २०-२ हेर्नुहोस्।
के तपाईंलाई याद छ?
▫ आध्यात्मिकता भनेको के हो?
▫ परिवारको शिरले ख्रीष्टको उदाहरण कसरी अनुकरण गर्न सक्छन्?
▫ हाम्रो आध्यात्मिकतामाथि आउने खतराहरूदेखि कसरी जोगिन सक्छौं?
▫ परिवारको आध्यात्मिकतालाई कुन कुराले कमजोर तुल्याइदिन सक्छ?
▫ अर्थपूर्ण कुराकानी किन महत्त्वपूर्ण छ?
[पृष्ठ ५-मा भएको चित्र]
मण्डली पुस्तक अध्ययनमा उपस्थित हुनाले परिवारको आध्यात्मिकता बढ्दछ