मसीही परिवारले कामकुराहरू एकसाथ गर्दछ
“अब ए भाइ हो, . . . म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, . . . तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।”—१ कोरिन्थी १:१०.
१. धेरैजसो परिवारहरूको एकता कस्तो छ?
के तपाईंको परिवारमा एकता छ? अथवा के प्रत्येक जना आ-आफ्नै धुनमा मस्त छन्? के तपाईं एकसाथ मिलेर कामकुराहरू गर्नुहुन्छ? अथवा के तपाईंहरू कहिलेकाहीं मात्र एकै ठाउँमा भेला हुनुहुन्छ? “परिवार” भन्ने शब्दले नै एउटा एकत्रित घरबारलाई बुझाउँछ।a तर सबै परिवारहरू एकत्रित छैनन्। एक जना बेलाइती प्राध्यापकले यस सन्दर्भमा यस हदसम्म भने: “राम्रो समाजको आधार बन्नु त कता हो कता, परिवार . . . सबै प्रकारका असन्तुष्टताहरूको स्रोत भएको छ।” के तपाईंको परिवारमा यो कुरा लागु हुन्छ? यदि हुन्छ भने, हुनुपर्ने कुरा के त्यस्तै नै हो र?
२. बाइबलमा कुन कुन व्यक्तिहरूले राम्रो परिवारबाट आएको प्रमाण दिन्छ?
२ परिवारमा आमाबाबु दुवै जना अथवा तिनीहरूमध्ये एकजना मात्र भए तापनि परिवारमा हुने एकता अथवा अमेल परिवारले पाएको नेतृत्वमा भर पर्दछ। बाइबलको समयमा, एकसाथ उपासना गर्ने एकत्रित परिवारहरूले यहोवा- को आशिषको आनन्द उठाउँथे। पुरातन इस्राएलमा यो सत्य साबित भयो। त्यस समयमा शिमशोन, शमूएल र यिप्तहकी छोरीले बेग्लाबेग्लै ढङ्गमा ईश्वरभीरू परिवारबाट आएको प्रमाण दिए। (न्यायकर्त्ता ११:३०-४०; १३:२-२५; १ शमूएल १:२१-२३; २:१८-२१) सुरुको मसीही समयमा, पावलका केही मिसनरी यात्राहरूमा सङ्गै गएका विश्वासयोग्य साथी, तिमोथीलाई उनकी बजै लोइस र आमा युनिसले हिब्रू शास्त्रको शिक्षादीक्षा दिएर हुर्काएका थिए। पछि गएर उनी कस्तो विशिष्ट चेला तथा मिसनरी बन्न पुगे!—प्रेरित १६:१, २; २ तिमोथी १:५; ३:१४, १५; प्रेरित २१:८, ९ पनि हेर्नुहोस्।
कामकुराहरू एकसाथ किन गर्ने?
३, ४. (क) एउटा एकत्रित परिवारमा कस्ता गुणहरू स्पष्ट देखिनु पर्छ? (ख) एउटा घर केवल घर मात्र नभएर आत्मीयताको स्थान कसरी हुन सक्छ?
३ एकसाथ कामकुराहरू गर्नु परिवारहरूको निम्ति किन फाइदाजनक छ? किनभने यसले पारस्परिक समझदारी र आदर बढाउँछ। यसो गर्दा हामी एक अर्काबाट अलग्गिंदै जानुको सट्टा एक अर्काको नजिक हुन्छौं र एक आपसलाई सहारा दिन्छौं। फ्यामिलि रिलेशन्स् भन्ने पत्रिकामा हालै प्रकाशित एउटा लेखले यसो भन्यो: “‘मजबुत परिवारहरू’-का लागि चाहिने विशिष्ट गुणहरूबारे वर्णन गर्दा तुलनात्मक रूपमा एउटा स्पष्ट चित्र देखा परेको छ। त्यस्ता गुणहरूमा एक अर्काप्रतिको वचनबद्धता, एक अर्काको मूल्याङ्कन, आत्मीयताको भाव, राम्रो कुराकानी, समस्या समाधान गर्न सक्ने क्षमता र बलियो आध्यात्मिकता जस्ता कुराहरू समावेश छन्।”
४ परिवारमा यस्ता गुणहरू छन् भने घर एउटा पेट्रोल पम्प जस्तो मात्र हुँदैन, जहाँ मानिसहरू केवल पेट्रोल भर्न रोक्छन्। यो केवल एउटा घर मात्र होइन। तर परिवारका सदस्यहरू आउन इच्छुक हुने स्थान हो। घर न्यानोपना, स्नेह, दया र समझदारीको आश्रयस्थल हो। (हितोपदेश ४:३, ४) यो तनाव र विभाजन भएको बिच्छीको ओडार जस्तो नभई पारिवारिक एकता भएको आश्रय हो। तर परिवारमा यी कुराहरू कसरी ल्याउन सकिन्छ?
एकसाथ पारिवारिक अध्ययन गर्ने
५. साँचो उपासना सिक्न हामीले कुन कुराको प्रयोग गर्नुपर्छ?
५ तर्क गर्ने हाम्रो क्षमता अथवा “तर्क गर्ने शक्ति (न्यु व०)” को प्रयोगद्वारा यहोवाको साँचो उपासना गर्न सिकिन्छ। (रोमी १२:१) हाम्रा आनिबानीहरू, प्रभावकारी भाषणहरू र टिभीद्वारा फैलाइने देखावटी धार्मिक विश्वास जस्ता कुराहरूबाट उत्प्रेरित क्षणिक भावनाहरूले डोऱ्याइएको हुनु हुँदैन। बरु बाइबल तथा “विश्वासी र बुद्धिमान दास” द्वारा प्रबन्ध गरिएको बाइबलसम्बन्धी प्रकाशनहरूको नियमित अध्ययन र मननद्वारा हामी उत्प्रेरित हुन्छौं। (मत्ती २४:४५) हाम्रा मसीही गतिविधिहरू, हरेक परिस्थिति वा सम्भावित प्रलोभनहरूका समयमा ख्रीष्टको मन धारण गरेको परिणाम हो। त्यस सन्दर्भमा यहोवा हाम्रो महान प्रशिक्षक हुनुहुन्छ।—भजनसंग्रह २५:९; यशैया ५४:१३; १ कोरिन्थी २:१६.
६. पारिवारिक अध्ययनको कस्तो विश्वव्यापी उदाहरण छ?
६ प्रत्येक मसीही परिवारको आध्यात्मिकतामा पारिवारिक बाइबल अध्ययनले एउटा महत्त्वपूर्ण भूमिका निभाउँछ। तपाईं आफ्नो पारिवारिक अध्ययन कहिले गर्नुहुन्छ? यदि यसलाई अनियोजित अथवा अपर्झट हुन दिन्छौं भने पारिवारिक अध्ययन गरियो भने पनि कहिलेकाहीं, र कमै मात्र गरिन्छ। सबैजना एकसाथ बसेर पारिवारिक अध्ययन गर्न एउटा नियमित र स्थायी तालिका चाहिन्छ। त्यसो गऱ्यौं भने पारिवारिक आध्यात्मिक भेलाहुआईबाट आनन्द उठाउन कुन दिन र कुन समयमा आउनु पर्छ भन्ने कुरा सबैजनालाई थाहा हुन्छ। संसारभरिका १२,००० भन्दा बढी बेथेल सदस्यहरूलाई सोमवार साँझ तिनीहरूको पारिवारिक अध्ययन हुन्छ भन्ने कुरा थाहा छ। दिनको अन्तमा सबै जनाले एउटै पाठ अध्ययन गरिरहेका छन् भनेर थाहा पाउनु बेथेलमा काम गर्ने यी स्वयंसेवकहरूका लागि कस्तो प्रोत्साहनदायी कुरा हो। यो अध्ययन प्रशान्त महासागरको टापुहरूमा सुरु भएर न्यु जिल्याण्ड र त्यसपछि क्रमशः अस्ट्रेलिया, जापान, हङकङ्ग, एशिया, अफ्रिका, यूरोप र अन्तमा अमेरिका महाद्वीपका विभिन्न मुलुकहरूमा गरिन्छ। हजारौं किलोमिटर र विभिन्न भाषाहरूले गर्दा तिनीहरू एक अर्का भन्दा टाढा भए तापनि यस पारिवारिक अध्ययनले बेथेल परिवारका सदस्यहरूमा एकताको भावना जगाउँदछ। सानो क्षेत्रमा भए पनि तपाईंले पारिवारिक अध्ययनद्वारा त्यस्तै भावनाको विकास गर्न सक्नुहुन्छ।—१ पत्रुस २:१७; ५:९.
७. पत्रुसअनुसार हामीले सत्यको वचनलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?
७ प्रेरित पत्रुस हामीलाई यसरी सल्लाह दिन्छन्: “नयाँ जन्मेका बालकहरूजस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू मुक्तिको निम्ति बढ्दै जाओ। प्रभु कृपालु हुनुहुन्छ भनी स्वाद पाएका छौ भने।” (१ पत्रुस २:२, ३) ती शब्दहरूद्वारा पत्रुसले एउटा कस्तो राम्रो चित्र हाम्रो मनमा ल्याउँछ! तिनले युनानी क्रिया एपिपोथिसेट प्रयोग गरे। लिंग्वीस्टीक कि टु द ग्रीक न्यु टेस्टामेन्ट अनुसार त्यो युनानी क्रिया “चाह गर्नु, इच्छा गर्नु, लालसा गर्नु” भन्ने अर्थ भएको शब्दबाट आउँछ। यसले तीव्र इच्छालाई सङ्केत गर्दछ। के तपाईंले एउटा जनावरको बच्चाले आफ्नो आमाको स्तनमुख उत्सुकतापूर्वक खोजेको र आफ्नी आमाको स्तनपान गरिसकेपछि एकजना शिशुले सन्तुष्ट महसुस गरेको याद गर्नुभएको छ? सत्यको वचनप्रति हाम्रो पनि त्यस्तै इच्छा हुनुपर्छ। युनानी विद्वान विलियम बार्कलेले भने: “सोझो हृदय भएका एक जना मसीहीको लागि परमेश्वरको वचन अध्ययन गर्नु कष्ट होइन तर आनन्दको कुरा हो किनभने हृदयले चाहेको पोषक तत्व त्यसैबाट आर्जन हुन्छ भन्ने कुरा उसलाई थाहा छ।”
८. परिवारको शीरले पारिवारिक अध्ययन गर्दा कस्तो समस्या सामना गर्नुपर्छ?
८ पारिवारिक अध्ययनले परिवारको शीरमाथि ठूलो जिम्मेवारी ल्याउँदछ। सबैको लागि अध्ययन चाहलाग्दो भएको छ कि छैन र सबैले भाग लिन सक्छन् कि सक्दैनन् तिनले यकिन गर्नुपर्छ। अध्ययन हुर्किसकेका व्यक्तिहरूको लागि मात्र हो भनेर बच्चाहरूले महसुस गर्नु हुँदैन। छलफल गरिने विषयवस्तुको मात्राभन्दा अध्ययनको गुणस्तर बढी महत्त्वपूर्ण छ। बाइबलमा भएका कुराहरूलाई ज्वलन्त पार्नुहोस्। उपयुक्त अवसरहरूमा, छलफल गरिरहेका घटनाहरूको घटनास्थल अर्थात् प्यालेस्टाइनका विशेषताहरू दृष्टिगत गर्न तपाईंको बच्चाहरूलाई मदत दिनुहोस्। व्यक्तिगत तवरमा अनुसन्धान गर्न र त्यसलाई परिवारसित बाँड्न सबैलाई प्रोत्साहन दिनुपर्छ। यसो गरेमा बच्चाहरू पनि ‘यहोवाको सामु बढ्न सक्छन्।’—१ शमूएल २:२०, २१.
एकसाथ प्रचार कार्यमा भाग लिनु
९. प्रचारको कार्यलाई सारा परिवारले आनन्द उठाउने अवसर कसरी बनाउन सकिन्छ?
९ येशूले भन्नुभयो: “पहिला सबै जातिहरूलाई प्रचार गरिएको हुनुपर्छ।” (मर्कूस १३:१०) ती शब्दहरूले प्रत्येक सजग मसीहीलाई प्रचार गर्ने अर्थात् परमेश्वरको राज्यको सुसमाचार अरूहरूलाई सुनाउने एउटा जिम्मेवारी दिन्छ। यो काम परिवारको रूपमा एकसाथ गर्नु प्रोत्साहक र आनन्दमय अनुभव हुन सक्छ। आफ्ना बच्चाहरूले सुसमाचार प्रस्तुत गरेकोमा आमाबाबुहरू गौरव गर्दछन्। एउटा दम्पतीको १५ देखि २१ वर्ष भित्रका तीन जना छोराहरू छन्। प्रत्येक बुधवार स्कूल पश्चात् र प्रत्येक शनिवार बिहान जनसाक्षी दिने काममा तिनीहरूका छोराहरूसङ्गै जाने बानी भएको कुरा तिनीहरू बताउँछन्। तिनीहरूका बुबाले भने: “हामी प्रत्येक पटक तिनीहरूलाई केही न केही सिकाउँछौं। र यसलाई आनन्दमय, प्रोत्साहनवर्धक अनुभव बनाउन हामी सक्दो प्रयास गर्छौं।”
१०. बच्चाहरूलाई सेवकाईबाट फाइदा उठाउन आमाबाबुहरूले कसरी मदत दिन सक्छन्?
१० प्रचार गर्ने र सिकाउने काममा परिवारको रूपमा एकसाथ काम गर्नु फलदायी हुन सक्छ। बच्चाको सरल तर हृदयदेखि गरेको कुराकानीहरूलाई कहिलेकाहीं मानिसहरू ध्यान दिएर सुन्छन्। र मदत चाहिएमा आमा या बुबा साथमै हुन्छन्। बच्चाहरूलाई प्रगतिशील प्रशिक्षण दिन र उनीहरू पछि गएर “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने” प्रचारकहरू हुन मदत दिन आमाबाबुहरू कटिबद्ध हुन सक्छन्। यसरी परिवारको रूपमा एकसाथ प्रचार गर्नाले आमाबाबुहरूले क्षेत्र सेवकाईमा आफ्नो बच्चाको मनोवृत्ति, प्रभावकारिता र असल शिष्टाचारहरू देख्न सक्छन्। एउटा नियमित तालिका बनाउनाले तिनीहरूले बच्चाको प्रगति देख्न सक्छन् र उसको विश्वासलाई बलियो पार्न लगातार प्रशिक्षण तथा प्रोत्साहन दिन सक्छन्। यसको साथसाथै बच्चाहरूले पनि क्षेत्र सेवकाईमा आमाबाबुहरूले देखाएको राम्रो उदाहरण देख्न सक्छन्। आजको कठिन र डरलाग्दो समयमा एकत्रित र एक अर्काको हेरचाह गर्ने परिवारको रूपमा काम गर्नाले एकदमै हिंसा व्याप्त भएको टोलहरूमा केही हदसम्म सुरक्षित हुन सकिन्छ।—२ तिमोथी २:१५; फिलिप्पी ३:१६.
११. कुन कुराले एक जना बच्चाको सत्यप्रतिको जोशलाई सजिलै निभाइदिन सक्छ?
११ केटाकेटीहरूले सजिलै आफूभन्दा ठूलो व्यक्तिहरूको दोहोरो जीवनशैली चाल पाउन सक्छन्। आमाबाबुहरूले सच्चाइ र घर-घरको सेवकाईप्रति साँचो प्रेम देखाएका छैनन् भने छोराछोरीहरू जोशिलो होला भन्ने आशा गर्न सकिंदैन। तसर्थ, स्वस्थ आमाबाबुको क्षेत्र सेवकाई भन्नु नै केवल छोराछोरीसित गरिएको साप्ताहिक बाइबल अध्ययन हो भने केटाकेटीहरू ठूलो भएपछि दुःखदायी परिणामहरू हुन सक्छन्।—हितोपदेश २२:६; एफिसी ६:४.
१२. केही परिवारहरूले यहोवाबाट विशेष आशिष कसरी पाउन सक्छन्?
१२ “एकै मनका” हुनुको एउटा फाइदा, सायद परिवारका सबै सदस्यहरूले एक अर्काको सहयोग गरेको खण्डमा एकजना सदस्यले मात्रै भएपनि पूर्ण समय सेवक भएर मण्डलीमा सेवा गर्न सक्छन्। संसारभरि धेरै परिवारहरूले यसो गर्दछन् र आफ्नो अग्रगामी सदस्यको अनुभवहरू र उनको बढ्दै गएको प्रभावकारिताले गर्दा सबैले आशिष पाउँछन्।—२ कोरिन्थी १३:११; फिलिप्पी २:१-४.
एकसाथ समस्याहरू सुल्झाउन खोज्नु
१३, १४. (क) कस्ता परिस्थितिहरूले गर्दा परिवारको एकता भङ्ग हुन सक्छ? (ख) धेरैजसो पारिवारिक समस्याहरूलाई कसरी रोक्न सकिन्छ?
१३ आजको “तनाव” र “खतरा” को कठिन समयमा हामी सबैले दबाब महसुस गर्दछौं। (२ तिमोथी ३:१; रिभाइज्ड स्टान्डर्ड भर्सन; फिलिप्स्) काम गर्ने ठाउँ, स्कूल, घर बाहिर र घर भित्रै पनि समस्याहरू हुन्छन्। केही व्यक्तिहरू अस्वस्थता वा दीर्घकालीन भावनात्मक समस्याहरूले पीडित छन् जसले गर्दा कहिलेकाहीं परिवारमा तनाव र बेमेलको स्थिति सृजना हुँदछ। त्यस्ता परिस्थितिहरू कसरी सुल्झाउन सकिन्छ? के आपसमा कुराकानी नगरी चुपचाप बस्नाले समस्या सुल्झिन्छ? एउटै घरमा बसेर पनि आफू अलग्ग बसेर पो हुन्छ कि? हुँदैन। यसो गर्नुको सट्टा हामीले हाम्रो चिन्ताहरू पोख्नुपर्छ र मदत माग्नुपर्छ। यसो गर्न एउटा मायालु पारिवारिक घेरा भन्दा सर्वोत्तम ठाउँ अरू कुन नै हुन सक्छ र?—१ कोरिन्थी १६:१४; १ पत्रुस ४:८.
१४ रोगको उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु जाती हो भन्ने सबैजना डाक्टरलाई थाहा भएकै कुरा हो। यही कुरा पारिवारिक समस्याहरूमा पनि लागु हुन्छ। खुला र स्पष्ट कुराकानीहरूले प्रायः समस्याहरू गम्भीर हुनबाट रोक्दछ। गम्भीर समस्याहरू खडा नै भए तापनि परिवारले एकसाथ मिलेर त्यसमा मुछिएका बाइबलका सिद्धान्तहरू छलफल गरेमा त्यो सुल्झाउन र समाधान समेत गर्न सकिन्छ। कलस्सी ३:१२-१४ मा दिइएका पावलका शब्दहरू प्रयोग गर्नाले तनावपूर्ण सम्बन्धहरूलाई पनि राम्रो पार्न सकिन्छ। त्यहाँ यसो भनिएको छ: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कालाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कालाई क्षमा गर . . . प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”
एकसाथ मनोरञ्जन गर्नु
१५, १६. (क) कुन गुणले मसीही परिवारहरूलाई चिनाउनु पर्छ?
१५ यहोवा आनन्दित परमेश्वर हुनुहुन्छ र सच्चाइ एउटा आनन्दित समाचार—अर्थात् मानवजातिको निम्ति आशा हो। यस बाहेक, आत्माको एउटा फल आनन्द पनि हो। एक जना खेलाडीले प्रतियोगितात्मक खेलमा विजयी भएर पाउने क्षणिक हर्षोल्लास भन्दा यो आनन्द निकै नै भिन्न छ। यहोवा परमेश्वरसित घनिष्ठ सम्बन्ध हुनाकारण हृदयमा भरिभराउ हुने सन्तुष्टिको त्यो एउटा गहिरो भाव हो। यो आध्यात्मिक मूल्यहरू र प्रोत्साहनदायी सम्बन्धहरूमा आधारित आनन्द हो।—गलाती ५:२२; १ तिमोथी १:११.
१६ तसर्थ, यहोवाका मसीही साक्षीहरू भएर हामी दुःखी अथवा खिन्न हुनुपर्ने कुनै कारण छैन। कुनै कुनै धर्मका मानिसहरू त्यस्तै हुन्छन् किनभने तिनीहरूको विश्वासले नकारात्मक कुराहरूमा जोड दिएको हुन्छ। तिनीहरूको शिक्षाहरूको परिणाम उदासी र दुःखी प्रकारको उपासना हुन जान्छ। यो न बाइबल अनुसार छ नता यो सन्तुलित उपासना नै हो। परमेश्वरको सेवामा तिनीहरूका परिवारहरू आनन्दित हुँदैनन्। येशूले मनोरञ्जन र आराम गर्नु पर्ने आवश्यकतालाई बुझ्नु भयो। उदाहरणको लागि, एकचोटि उहाँले ‘सुटुक्क एकान्त ठाउँमा आउन र केही थकाइ मार्न’ आफ्ना चेलाहरूलाई बोलाउनुभयो।—मर्कूस ६:३०-३२; भजनसंग्रह १२६:१-३; यर्मिया ३०:१८, १९.
१७, १८. मसीही परिवारहरूले कस्ता प्रकारका सुहाउँदो मनोरञ्जनहरू गर्न सक्छन्?
१७ त्यस्तैगरि परिवारहरूलाई पनि मनोरञ्जन गर्न समय चाहिन्छ। आफ्ना बच्चाहरूबारे एक जना अभिभावकले यसो भने: “हामी सबै जना मिलेर धेरै रमाइला कामहरू गर्दछौं—समुद्रको किनारामा जान्छौं, पार्कमा बल खेल्छौं, पहाडहरूतिर पिकनिक जान्छौं। कहिलेकाहीं हामी सबै जना दिनभरि प्रचार गरेर ‘अग्रगामी दिन’ मनाउँछौं; त्यसपछि हामी विशेष भोजनको प्रबन्ध गर्दछौं र कहिलेकाहीं एक अर्कालाई उपहारहरू पनि दिन्छौं।”
१८ पूरै परिवार मिलेर रमाइलो खेलहरू भएका पार्कहरूमा, सङ्ग्रहालय र अन्य रमाइला ठाउँहरूमा जाने जस्ता कुराहरू आमाबाबुहरूले याद राख्न सक्ने अरू सुझावहरू हुन्। वनजङ्गलहरूमा घुम्न जाने, चरा चुरूङ्गीहरूको अवलोकन गर्ने र बगैंचामा काम गर्ने जस्ता कार्यहरूमा पनि सबैले आनन्दपूर्वक भाग लिन सक्छन्। बच्चाहरूलाई कुनै एउटा बाजा बजाउन सिक्न अथवा आफूलाई मन परेको कुनै काम गर्न पनि आमाबाबुहरूले प्रोत्साहन दिन सक्छन्। सन्तुलित आमाबाबुहरूले पक्कै पनि आफ्ना बच्चाहरूसित खेल्न समय निकाल्नेछन्। परिवारहरूले एकसाथ खेल्ने गरेमा तिनीहरू एकसाथ मिलेर बस्ने सम्भावना पनि बढी हुन्छ!
१९. कुन आधुनिक झुकावले परिवारलाई हानि पुऱ्याउन सक्छ?
१९ मनोरञ्जन गर्ने सन्दर्भमा अहिले जवानहरूको झुकाव परिवारबाट अलग्ग रहेर आफ्नै इच्छानुसारका कामहरू गर्नु रहेको छ। एक जना जवान व्यक्तिको कुनै एउटा सोख हुनु अथवा आफूलाई मनपर्ने कुनै एउटा व्यक्तिगत अभिरूचि हुनुमा कुनै हानि छैन। तर यस्तो अभिरूचिको कारण परिवारबाट सधैं अलग रहनु बुद्धिमानी होइन। बरु, हामी पावलले उल्लेख गरेको यो सिद्धान्त प्रयोग गर्न चाहन्छौं: “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।”—फिलिप्पी २:४.
२०. सम्मेलनहरू कसरी आनन्दको समय हुन सक्छन्?
२० सम्मेलनहरूमा परिवारहरू एकसाथ बसिरहेको देख्न पाउनु कस्तो आनन्दको कुरा हो! त्यसो गर्नाले ठूला बच्चाहरूले अक्सर आफूभन्दा सानाहरूलाई मदत दिन सक्छन्। यस्तो प्रबन्धहरूले गर्दा केही जवानहरू आफ्नो झुन्ड बनाएर पछाडिको पङ्क्तिमा बसेर सम्मेलनको कार्यक्रममा कम ध्यान दिने मौका पाउँदैनन्। सम्मेलनहरूमा जाँदा र फर्किंदा कुन बाटो भएर जाने, कुन कुन ठाउँ हेर्ने र कहाँ बस्ने भनेर परिवारसित सल्लाह गर्नाले त्यो यात्रा पनि आनन्ददायी हुन सक्छ। येशूको समयमा परिवारहरू एकसाथ मिलेर यरूशलेममा जाँदा कस्तो रमाइलो भयो होला यसो कल्पना गर्नुहोस् त!—लूका २:४१, ४२.
एकसाथ हुनाले पाइने आशिषहरू
२१. (क) वैवाहिक सम्बन्धमा सफलता प्राप्त गर्न कसरी प्रयास गर्न सक्छौं? (ख) स्थायी विवाहको निम्ति चारवटा राम्रा सुझावहरू के के हुन्?
२१ कहिले पनि सजिलैसँग विवाहहरूलाई सफल पार्न र परिवारहरूलाई एकत्रित पार्न सकिएको छैन र तिनीहरू एक्कासी आफै हुने कुराहरू पनि होइनन्। केही व्यक्तिहरू ‘हातखुट्टा छाडिदिन’ सजिलो मान्छन्, विवाहलाई छुटानाममा टुङ्ग्याउँछन् र पुनः सुरु गर्न खोज्छन्। यद्यपि, दोस्रो र तेस्रो विवाहहरूमा पनि पहिलेकै जस्ता समस्याहरू आउँछन्। सबैभन्दा राम्रो मसीही सुझाव, प्रेम र आदरसम्बन्धी बाइबलका सिद्धान्त प्रयोग गरेर सफलता हासिल गर्ने प्रयास गर्नु हो। एकत्रित परिवारहरू एक अर्काको कुराहरूमा सम्झौता गर्छन् अर्थात् निस्वार्थताको भावनामा त्यस्ता परिवारहरू अडिएका हुन्छन्। वैवाहिक सम्बन्धहरूलाई स्थायी बनाउन विवाह सम्बन्धी एकजना सल्लाहकारले एउटा सरल सूत्र दिए। उनले लेखे: “प्राय सबै सफल विवाहहरूमा हुने चार प्रमुख गुणहरू—सुन्ने इच्छुकता, भूल स्वीकार गर्ने क्षमता, निरन्तर भावनात्मक समर्थन दिन सक्ने योग्यता, र स्नेहपूर्वक एकअर्कालाई स्पर्श गर्ने इच्छा हो।” यी कुराहरू बाइबलका स्वस्थ सिद्धान्तहरूमा आधारित भएको हुँदा वैवाहिक सम्बन्धलाई स्थायित्व दिन त्यसले साँच्चै नै मदत दिन सक्छ।—१ कोरिन्थी १३:१-८; एफिसी ५:३३; याकूब १:१९.
२२. एकत्रित परिवार हुनाले हुने केही फाइदाहरू के के हुन्?
२२ बाइबलका सल्लाहहरू अनुसार हामी चल्यौं भने एउटा एकत्रित परिवार बनाउने ठोस आधार पाउनेछौं। एकत्रित परिवारहरू एकतापूर्ण र आध्यात्मिक तवरमा बलियो मण्डलीका जग हुन्। तसर्थ, जसै हामी झन् झन् बढी उहाँलाई एकसाथ मिलेर प्रशंसा गर्छौं हामीले प्रशस्त मात्रामा आशिषहरू पाउनेछौं। (w93 9/1)
[फुटनोट]
a परिवार अर्थात् अङ्ग्रेजीमा फ्यामिली भन्ने शब्द ल्याटिन भाषामा फ्यामिलिया-बाट आएको हो। यसले सुरुमा एउटा ठूलो घरानामा हुने नोकरहरू र दासहरू बुझाउँथ्यो। पछि गएर मालिक, मालिक्नी, बच्चाहरू—र त्यहाँ भएका कामदारहरू सहितको घरलाई बुझाउन थाल्यो।”—एरिक प्याट्रिजद्वारा लिखित ओरिजिन्स्—अ शर्ट एटिमोलोजिकल डिक्शनरी अफ मर्डन इङ्गलिस।
के तपाईंलाई याद छ?
▫ परिवारमा एकसाथ मिलेर काम गर्नु किन फाइदाजनक छ?
▫ नियमित पारिवारिक अध्ययन किन अत्यावश्यक छ?
▫ आमाबाबुहरू आफ्ना बच्चाहरूसित क्षेत्र सेवकाईमा जानु किन राम्रो हो?
▫ समस्याहरू परिवार भित्रै छलफल गरेमा किन मदतकारी हुनेछ?
▫ मसीही परिवारहरू खिन्न र उदासी किन हुनुहुन्न?
(ख) कुनै कुनै धर्ममा कस्ता मानिसहरू हुन्छन् र किन?
[पृष्ठ १०-मा भएको चित्र]
के तपाईंको परिवारले दिनमा एक पटक मात्र भए पनि सङ्गै बसेर खाना खान्छ?
[पृष्ठ ११-मा भएको चित्र]
मनोरञ्जनका लागि परिवार मिलेर घुम्न जानु ताजगीपूर्ण र आनन्ददायी हुनुपर्छ