प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 २/१ पृ. ४-७
  • दुष्ट्याइँका कार्यकर्त्ताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुष्ट्याइँका कार्यकर्त्ताहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रथम विद्रोह
  • अरू स्वर्गदूतहरूले पनि विद्रोह गरे
  • मानवजातिका शत्रुहरू
  • तिनीहरूलाई कतिन्जेल रहन दिइनेछ?
  • स्वर्गमा भएको विद्रोह
    मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
  • आत्मिक संसारका शासकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 २/१ पृ. ४-७

दुष्ट्याइँका कार्यकर्त्ताहरू

मानव क्रियाकलापहरूमा प्रेतहरूको भूमिकाबारे केही आधारभूत प्रश्‍नहरूको जवाफ बाइबलले नदिएको भए दुष्ट्याइँसम्बन्धी प्रश्‍नहरू अनुत्तरित नै रहने थिए। उदाहरणको लागि, बाल्कन प्रान्तहरूमा चलिरहेको युद्धबारे इन्टरनेशनल हेरल्ड ट्रिब्युन-मा उल्लिखत यस कथनलाई ध्यान दिनुहोस्‌: “[सिपाहीहरूले] करीब २०,००० मुस्लिम स्त्रीहरू र केटीहरूको बलात्कार गरिसके भन्‍ने निर्क्यौलमा युरोपेली समूहका अन्वेषकहरू पुगेका छन्‌। ती स्त्रीहरूलाई डर धम्की देखाई, निरूत्साहित पारी घरबाट भाग्न बाध्य तुल्याउन ती सिपाहीहरूले यसरी रीतिपूर्वक आतङ्‌क मच्चाइरहेका छन्‌।”

उपरोक्‍त परिस्थितिबारे टाइम पत्रिकामा प्रकाशित निबन्धले एउटा अतार्किक स्पष्टिकरण यसरी दियो: “आफ्ना बुज्रुगहरू अथवा अफिसरहरूलाई रिझाउन र बाबु-छोराको जस्तो सम्बन्ध कायम गर्न युद्धमा जाने सिपाहीहरूले कहिलेकाहीं बलात्कार गर्छन्‌। उसले गर्ने बलात्कार आफ्नो सैन्य गणको उग्रताप्रति वफादारीको प्रमाण हो। आफ्नो समूहको क्रूर उद्देश्‍यहरू पूर्ति गर्न एक जना जवानले घीनलाग्दा कार्यहरू गर्न आफ्नो व्यक्‍तिगत अन्तस्करणलाई दबाउँछन्‌। उसले त्यस्ता उत्पातहरू गरेर आफ्नो निष्ठाको सम्झौता गर्छ।”

तर “समूहको क्रूर उद्देश्‍यहरू” त्यसका सदस्यहरूको व्यक्‍तिगत अन्तस्करणभन्दा किन यति विध्न पतित हुन्छन्‌? व्यक्‍तिगत तवरमा प्रायः सबै जना आफ्नो छिमेकीसित शान्तिपूर्वक जीवन बिताउन चाहन्छन्‌। उसोभए, युद्धको समय मानिसहरू बलात्कार गर्न, एकअर्कालाई सताउन र मार्न किन पछि हट्‌दैनन्‌? यसको प्रमुख कारण हो, त्यस्ता कार्यहरूपछाडि प्रेतहरू सक्रिय छन्‌।

प्रेतहरूको भूमिका बुझ्यौं भने कसै कसैले भन्‍ने गरेको “धर्मविद्‌को समस्या” समाधान हुन्छ। तर ती तीन प्रस्तावनाहरूलाई कसरी मिलाउने भन्‍ने समस्या उत्पन्‍न हुन्छ: (१) परमेश्‍वर सर्वशक्‍तिमान हुनुहुन्छ; (२) परमेश्‍वर दयालु तथा असल हुनुहुन्छ; र (३) नराम्रा घटनाहरू पनि घट्‌छन्‌। यीमध्ये कुनै दुई वटा प्रस्तावना त मिलाउन सकिएला तर तीनै वटालाई मिलाउन भने कहिल्यै सकिंदैन भन्‍ने केही व्यक्‍तिहरूको धारणा छ। परमेश्‍वरको वचनले यसको उत्तर दिन्छ र त्यस उत्तरमा अदृष्य आत्माहरू अर्थात्‌ दुष्ट्याइँका कार्यकर्त्ताहरू सम्मिलित छन्‌।

प्रथम विद्रोह

परमेश्‍वर स्वयं आत्मिक व्यक्‍ति हुनुहुन्छ भनी हामीलाई बाइबलले बताउँछ। (यूहन्‍ना ४:२४) पछि गएर उहाँ अरू लाखौं आत्मिक प्राणीहरू अर्थात्‌ स्वर्गदूतीय पुत्रहरूको सृष्टिकर्त्ता हुनुभयो। परमेश्‍वरको जन दानियलले दर्शनमा करोडौं स्वर्गदूतहरू देखे। यहोवाले सृजनु भएका सबै आत्मिक प्राणीहरू धर्मी र उहाँको इच्छाअनुरूप थिए।—दानियल ७:१०; हिब्रू १:७.

पछि, परमेश्‍वरले “पृथ्वीको जग” बसाल्नुहुँदा यी स्वर्गीय जनहरू “एकसाथ गाए” र “रमाहटले कराए।” (अय्यूब ३८:४-७) तर तिनीहरूमध्ये एउटाले परमेश्‍वरले पाउनु पर्ने न्यायोचित उपासना आफ्नो हातमा लिने इच्छालाई बढ्‌न दियो। परमेश्‍वरको विद्रोह गरेर त्यस स्वर्गदूतले आफूलाई शैतान (जसको अर्थ “विरोधी” हो) र दियाबल (जसको अर्थ “निन्दक” हो) बनायो।—इजकिएल २८:१३-१५ तुलना गर्नुहोस्‌।

प्रथम स्त्री, हव्वासित कुरा गर्न शैतानले एउटा सर्प चलायो। त्यसले स्त्रीलाई फुस्ल्याएर परमेश्‍वरले नखानू भनी आज्ञा दिनुभएको रूखको फल खान लगायो। पछि तिनको पतिले पनि फल खाए। यसप्रकार यहोवाको विद्रोह गर्न प्रथम दम्पतीले त्यस स्वर्गदूतसित हात मिलाए।—उत्पत्ति २:१७; ३:१-६.

अदनमा घटेका घटनाहरू आज्ञाकारितासित मात्र सम्बन्धित एउटा सु-स्पष्ट पाठ जस्तो देखिए तापनि त्यहाँ शैतानले दुई वटा महत्त्वपूर्ण नैतिक प्रश्‍नहरू खडा गऱ्‍यो। प्रथमतः, आफ्ना प्राणीहरूमाथि यहोवाको शासन धार्मिक र तिनीहरूको भलाइको निम्ति प्रयोग भएको छ या छैन भन्‍ने विषयमा शैतानले विवाद उठायो। शायद मानवजातिमाथि शासन चलाउन मानिस नै बढी उपयुक्‍त पो छ कि। दोस्रो, आज्ञाकारी हुँदा कुनै आर्थिक लाभ नभए तापनि बौद्धिक प्राणीहरू परमेश्‍वरप्रति विश्‍वासी र वफादार रहन्छन्‌ वा रहँदैनन्‌ भनेर शैतानले प्रश्‍न खडा गऱ्‍यो।a

परमेश्‍वरका गुणहरूका साथै अदनमा उठेका विवादहरूलाई स्पष्टसित बुझ्यौं भने “धर्मविद्‌को समस्या”-को समाधान पाउन हामीलाई मदत मिल्नेछ। विशेषगरि शक्‍ति र प्रेम जस्ता परमेश्‍वरको गुणहरूसित दुष्टताको अस्तित्वलाई मिलाउनु। यो सत्य हो, यहोवासित असीमित शक्‍ति छ र उहाँ प्रेमको साक्षात्‌ रूप हुनुहुन्छ तर उहाँ बुद्धिमान र न्यायी पनि हुनुहुन्छ। यी चारै वटा गुणहरूलाई उहाँले सन्तुलित ढङ्‌गमा प्रयोग गर्नुहुन्छ। त्यसकारण उहाँले आफ्नो अदम्य शक्‍ति ती तीन विद्रोहीहरूलाई त्यतिखेरै नाश गर्न प्रयोग गर्नु भएन। त्यसो गर्नु न्यायसङ्‌गत त हुन्थ्यो होला तर बुद्धिमानी र दयालु कार्य हुनेथियो भने भन्‍न सकिंदैन। यस बाहेक, कसै कसैले माफी दिनु र बिर्सनु एउटा मायालु विकल्प हुनेथियो भन्ठाने तापनि उहाँले त्यसो गर्नु भएन। त्यसो गर्नु न त बुद्धिमानी न न्यायसङ्‌गत नै ठहरिने थियो।

शैतानले उठाएका विवादहरू समाधान गर्न समयको खाँचो थियो। परमेश्‍वरबाट स्वतन्त्र भएर मानिसहरू आफैले उचित ढङ्‌गमा शासन गर्न सक्छन्‌ वा सक्दैनन्‌ भनी प्रमाणित गर्न समय चाहिन्छ। कठीन परिस्थितिहरूमा मानिसले विश्‍वासीपूर्वक परमेश्‍वरको सेवा गर्नेछैन भन्‍ने शैतानको दाबीलाई झूटो साबित गर्ने मौका दिन पनि उहाँले ती तीन विद्रोहीहरूलाई नाश गर्नु भएन।b

निषेधित फल खाएमा मर्नेछन्‌ भनेर परमेश्‍वरले स्पष्टसित आदम र हव्वालाई भन्‍नुभएको थियो। शैतानले हव्वालाई तिनी मर्नेछैनन्‌ भन्‍ने आश्‍वासन दिएको भए तापनि तिनीहरू निश्‍चय नै मरे। शैतानले पनि मृत्युदण्ड पाएको छ। तर त्यो मृत्यु भोग्नुअघि त्यसले मानवजातिलाई बहकाइनै रहन्छ। यस विषयमा बाइबलले वास्तवमा यसो भन्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।”—१ यूहन्‍ना ५:१९; उत्पत्ति २:१६, १७; ३:४; ५:५.

अरू स्वर्गदूतहरूले पनि विद्रोह गरे

अदनमा घटेका घटनाहरूको केही समय बित्न नपाउँदै अरू स्वर्गदूतहरू पनि यहोवाको सार्वभौमिकता विरूद्ध गरिएको विद्रोहमा सामेल भए। बाइबल यसो भन्छ: “जब मानिसहरू पृथ्वीमा बढ्‌दै गए, तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो आफ्नो रूचिका पत्नीहरू ल्याए।” अर्को शब्दमा भन्‍ने हो भने, यी स्वर्गदूतहरूले “आफ्ना घरबार [स्वर्ग]” छोडे र शारीरिक देह धारण गरेर पृथ्वीमा आए अनि स्त्रीहरूसित कामवासनाको आनन्द उठाउन थाले।—उत्पत्ति ६:१, २; यहूदा ६.

उत्पत्ति ६:४-मा त्यस विवरणको बाँकि अंशले यसो भन्छ: “त्यस बेला पृथ्वीमा नपीलहरू थिए। त्यसपछि पनि परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जानलागे। तिनीहरूनै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू हुन्‌।” स्वर्गदूतहरू र [पार्थिव] स्त्रीहरूद्वारा जन्मेका यी ठिमाहा पुत्रहरू असामान्य बल भएका “शूरवीर”-हरू थिए। तिनीहरू हिंस्रक मानिसहरू अर्थात्‌ नेफिलिम थिए। हिब्रू शब्द नेफिलिम-को अर्थ “अरूहरूको पतन गराउने कारकहरू हो।”

पछि गएर प्राचीन सभ्यताहरूका दन्त्यकथाहरूमा यी घटनाहरू वर्णन गरिनु उल्लेखनीय कुरा हो। उदाहरणको लागि, ४,००० वर्ष पुरानो बेबिलोनी दन्त्यकथामा हिंस्रक अर्धदेव गिल्गामेशले गरेको उत्पात वर्णन गरिएको छ। उसको “कामवासनाले हरेक कुमारीलाई बिटुलो पाऱ्‍यो।” अर्को उदाहरण, युनानी दन्त्यकथामा पाइने असाधारण मानव हर्कुलिज (हेराकल्स्‌) हो। मानव आल्कमेनी र ज्यूस्‌ देवबाट जन्मेका हर्कुलिजले पागलपनमा आफ्नो पत्नी र बच्चाहरूलाई माऱ्‍यो। त्यसपछि ऊ हिंस्रक कर्तुतहरू गर्न लम्क्यो। एक पुस्तादेखि अर्को पुस्तालाई बताउँदै जाँदा ती कथाहरू निकै बङ्‌ग्‌याइएको भए तापनि नपील र तिनीहरूका विद्रोही स्वर्गदूतीय पिताहरूबारे बाइबलले दिने विवरणसित मिल्दोजुल्दो छ।

दुष्ट स्वर्गदूतहरू र तिनीहरूका असाधारण पुत्रहरूको प्रभावले गर्दा पृथ्वी अचाक्ली हिंसाले भरिन थाल्यो। त्यसकारण यहोवाले जलप्रलयद्वारा पृथ्वीलाई नाश गर्ने अठोट गर्नुभयो। सारा अभक्‍त मानिसहरूको साथमा नपीलहरू पनि नाश भए; बचेका मानवहरूमा धर्मी नूह र उनको परिवार मात्र थियो।—उत्पत्ति ६:११; ७:२३.

तथापि, दुष्ट स्वर्गदूतहरू भने नाश भएनन्‌। बरु, तिनीहरूले आफ्नो शारीरिक देह त्यागेर आत्मिक संसारमा प्रवेश गरे। तिनीहरू अनाज्ञाकारी भएको हुनाले परमेश्‍वरका धार्मिक स्वर्गदूतहरूको परिवारमा प्रवेश गर्ने अनुमति पाएनन्‌; न नूहको दिनमाझैं शारीरिक देह नै धारण गर्न पाए। “भूतहरूका मालिक,” शैतान अथवा दियाबलको अख्तियारको अधीनमा रहेर यी स्वर्गदूतहरूले अझै पनि मानव क्रियाकलापहरूमा हानिकारक प्रभाव पारी नै राखेका छन्‌।—मत्ती ९:३४; २ पत्रुस २:४; यहूदा ६.

मानवजातिका शत्रुहरू

शैतान र उसका प्रेतहरू पहिले देखि नै हत्यारा र क्रूर हुन्‌। विभिन्‍न उपायहरूद्वारा शैतानले अय्यूबका गाईवस्तुहरू नाश गऱ्‍यो र उनका सबै नोकरचाकरहरू मारिदियो। अनि “आँधी-बेह्री”-ले घर ढालेर उनका दशै जना छोराछोरीहरूलाई माऱ्‍यो। त्यसपछि, अय्यूबलाई सताउन उनको “टाउकोदेखि पैतालासम्म खटिरा उब्जाइदियो।”—अय्यूब १:७-१९; २:३, ७.

प्रेतहरूले पनि त्यस्तै प्रकारको दुष्ट मनोवृत्ति देखाउँछन्‌। येशूको समयमा तिनीहरूले मानिसहरूलाई लाटो र अन्धो बनाइदिन्थे। तिनीहरूले एक जना मानिसलाई आफैले आफैलाई ढुङ्‌गाले चिर्न समेत लगाए। तिनीहरूले एक जना केटोलाई पछारे र “कक्राक्‌-कुक्रुक्क” पारे।—लूका ९:४२; मत्ती ९:३२, ३३; १२:२२; मर्कूस ५:५.

शैतान र उसका प्रेतहरू पहिले जत्तिकै धूर्त छन्‌ भनेर संसारभरिबाट प्राप्त हुने रिपोर्टहरूले देखाउँछ। कसै कसैलाई तिनीहरूले रोगद्वारा सताउँछन्‌। कसैलाई भने निद्रा नलाग्ने बनाएर अथवा डरलाग्दा सपनाहरू देखाएर अथवा लैङ्‌गिक दुर्व्यवहार गरेर सताउँछन्‌। अरू थुप्रैलाई पागल बनाएका छन्‌ भने कसैलाई हिंसा अथवा आत्महत्या गर्न उत्तेजित गराएका छन्‌।

तिनीहरूलाई कतिन्जेल रहन दिइनेछ?

शैतान र उसका प्रेतहरूलाई सदा रहिरहन दिइनेछैन। असलै कारणको निम्ति यहोवाले तिनीहरूलाई अहिले हाम्रो समयसम्म रहिरहने अनुमति दिनुभएको छ। तर अब तिनीहरूको थोरै समय मात्र बाँकि छ। यस शताब्दीको सुरुतिर तिनीहरूको कार्यक्षेत्रलाई सीमित गर्न एउटा ठूलो कदम उठाइएको थियो। प्रकाशको पुस्तकले यसरी वर्णन गर्छ: “स्वर्गमा लड़ाइँ भयो। माइकल [पुनरूत्थान भइसक्नुभएको येशू ख्रीष्ट] र तिनका दूतहरू त्यस अजीङ्‌गरजस्तै पशुसँग [शैतान] लड़ाइँ गर्न गए, र अजीङ्‌गरजस्तै पशु र त्यसका दूतहरूले युद्ध गरे। औ तिनीहरूले जित्नसकेनन्‌, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्‌यो। अनि त्यो अजीङ्‌गरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।”—प्रकाश १२:७-९.

त्यसको परिणाम के भयो? विवरणले अझै भन्छ: “यसकारण हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ।” स्वर्गमा शैतान र उसका प्रेतहरू नहुनाकारण धर्मी स्वर्गदूतहरू आनन्दित हुन सक्छन्‌। तर पृथ्वीका मानिसहरू नि? बाइबल यसो भन्छ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाहा पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।”—प्रकाश १२:१२.

तिनीहरूमाथि छिट्टै नै आइपर्ने अवश्‍यम्भावी विनाश अघि सकेसम्म बढी दुःख दिन शैतान र उसका कार्यकर्त्ताहरू व्यस्त छन्‌। यस शताब्दीभरि दुई वटा विश्‍व युद्धहरू भए र दोस्रो विश्‍व युद्ध यता १५० भन्दा बढी स-साना युद्धहरू भएका छन्‌। यस पुस्तामा भएका हिंसाहरूलाई प्रतिबिम्बित गर्ने वाक्यांशहरू हाम्रा शब्दा- वलीहरूमा थपिएका छन्‌: “जैविक युद्ध” “नाजी विध्वंस,” “रक्‍तपात क्षेत्र” “बलात्कार शिविरहरू” “क्रमिक हत्यारा” र “अणु बम”। समाचारहरूमा लागू पदार्थ, हिंसा, गोलावर्षा, मानसिक असन्तुलन भएका नरभक्षीहरू, काटमार, भोकमरी र यातनाका खबरहरू छ्यास्‌छ्यास्‌ती हुन्छन्‌।

यी कुराहरू क्षणिक मात्रै हुन्‌ भनी थाहा पाउनु हाम्रो लागि सुसमाचार हो। निकट भविष्यमा परमेश्‍वरले शैतान र उसका प्रेतहरू विरूद्ध फेरि कदम चाल्नुहुनेछ। यस सम्बन्धमा परमेश्‍वरबाट आएको दर्शनबारे प्रेरित यूहन्‍नाले यसरी वर्णन गरे: “अनि अगाध खाँदको साँचो र एउटा ठूलो साङ्‌गलो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएका मैले देखें। औ तिनले त्यस अजीङ्‌गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्‍तान नहोउञ्जेल त्यसले जाति जातिलाई फेरि नठगोस्‌ भनेर तिनले त्यसलाई अगाध खाँदमा फालिदिए। औ त्यसलाई बन्द गरेर त्यसमाथि छाप लगाए।”—प्रकाश २०:१-३.

त्यसपछि, दियाबल र त्यसका प्रेतहरू “केही समयको निम्ति” फुकाइनेछ अनि तिनीहरूलाई सदाको निम्ति नाश गरिनेछ। (प्रकाश २०:३, १०) त्यो कस्तो आनन्दको अवसर हुनेछ! शैतान र त्यसका प्रेतहरूलाई सदाको निम्ति हटाउनु भएपछि यहोवा “सबैमा सर्वश्रेष्ठ” हुनुहुनेछ। अनि सबैले साँच्चै नै “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—१ कोरिन्थी १५:२८; भजनसंग्रह ३७:११. (w94 2/1)

[फुटनोटहरू]

a परमेश्‍वरको जन अय्यूबबारे पछि शैतानले भनेको कुराहरूले यसलाई पुष्टि गऱ्‍यो: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र? आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्‌याउनुभए तिनले तपाईंको मुखकै सामने तपाईंलाई सराप्नेछन्‌।”—अय्यूब २:४, ५.

b परमेश्‍वरले दुष्टता रहिरहने अनुमति किन दिनुहुन्छ भन्‍ने विषयमा विस्तृत जानकारी प्राप्त गर्न वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीद्वारा प्रकाशित पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने