राज्य प्रचारकहरूको रिपोर्ट
‘यहोवाको नाउँ एक बलियो धरहरा हो’
हामी अस्थिर कालमा बाँचिरहेका छौं। स्थिर देखिने हाम्रो जीवन रातारात परिवर्तन हुनसक्छ र केही व्यक्तिहरूले कुनै पूर्व सङ्केतबिना अचानक आफूलाई ठूलो सङ्कटमा पाएका छन्। राजनैतिक उथलपुथल, हिंस्रक आक्रमणकारी, प्राकृतिक प्रकोप अथवा गम्भीर बिमारीले खतरा ल्याउन सक्छ। परिस्थिति जस्तोसुकै होस्, आफ्नो जीवन खतरामा पर्दा मसीहीले कोमाथि भर गर्नुपर्छ?
वाच टावर सोसाइटीको शाखा कार्यालयमा बस्ने मिसनरी डेभिडले एउटा डरलाग्दो अनुभवद्वारा त्यस प्रश्नको जवाफ पाए। सवारी चालकको हैसियतमा सेवारत डेभिड, केही कम्युटर बेथेल कार्यकर्त्ताहरूलाई (शाखाबाहिर बस्ने स्वयंसेवकहरू) लिन एका बिहानै निस्के। अझै उज्यालो भइसकेको थिएन। तिनले रोजालियालाई गाडीमा चढाइसकेका थिए र प्रहरी थाना भएर जाँदै थिए। त्यतिकैमा तिनले गोलीको आवाज सुने।
त्यसपछि अचानक एकसाथ सबै कुरा भए। तिनले ठूलो पटाखा पड्काएको जस्तो आवाज सुने र हेर्दा हेर्दै तिनको गाडीको चक्काबाट हावा फुस्केको तिनले सुने। अचानक तिनले सडकको बीचमा उभिएर आफूतिर बन्दुक तेर्साइरहेको सिपाही देखे। एक्कासी तीन कुरा झण्डै झण्डै एकैसाथ घटे। एकसाथ वर्षेको गोलीको वर्षाले जीपको एकापट्टि भागलाई छियाछिया पार्नुको साथै झ्यालका ऐनाहरू चक्नाचूर पाऱ्यो; डेभिड र रोजालिया आफ्नो अनुहार छोप्दै निहुरे; त्यस सिपाहीले त्यसपछि अगाडिको ऐनाबाट टाउकोमै ताकेर गोली हाने।
गोलीले छियाछिया परेको जीपलाई डेभिडले निहुरेर नै आफ्नो भएभरको बल लगाएर ब्रेक दबाए। डेभिड र रोजालिया दुवैलाई आफू बाँच्छौं जस्तो लागेन। आफ्नो रक्षा गर्न तिनीहरूले जोरसित यहोवालाई प्रार्थना गरे। पछिबाट रोजालियाले यसो भनिन्, आफ्नो मृत्युबारे परिवारले थाहा पाउँदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाउलान् भनी उनी त्यसबेला सोच्दै थिइन्!
जीवितै!
केही समयपश्चात् गोली पड्केको अनि ऐना चर्केको आवाज बन्द भयो। र डेभिडले रोजालियालाई हेरे। उनको ढाडमा सानो, गोलो रगतको टाटा देख्दा तिनको सात्तै गएको थियो। तर घाउ गोलीले नभई सानो टुक्रा ऐनाले गर्दा भएको रहेछ। फुटेर झरेको ऐनाले गर्दा उनको घुँडा रक्ताम्य भएको थियो अन्यथा रोजालियो ठीकै देखिन्थी।
सैनिक पोशाक लगाएका र हातमा सेता पट्टी बाँधेका पुरुषहरू जीप नजिक आएर तिनीहरूलाई हात माथि उठाएर बाहिर निस्कने आदेश दिए। त्यतिकैमा उच्च पदाधिकारी जस्तो देखिने व्यक्ति आएर त्यस सिपाहीलाई यसो भने: “जनतामाथि गोली प्रहार नगर्नु भनेको होइन।” यो सुनेर त्यस सिपाहीले गोलीको आवाज सुन्दा जीपबाटै आएको होला भन्ठानेर प्रहार गरेको हो भन्ने बाहना बनायो।
डेभिड र रोजालियाले यहोवाका साक्षीहरूको रूपमा परिचय दिंदा तिनीहरूले अनुकूल प्रतिक्रिया देखाए। आफू के कामका लागि त्यस ठाउँमा आइपुगे भनी डेभिडले बताए तर सिपाहीहरूले अझै पनि तिनीहरूलाई छोड्न मानेनन्। सम्भवतः बिहान सबेरै सैनिक दलले सरकारलाई अपदस्थ गर्ने कोशिश गरेको र ती सिपाहीहरूले प्रहरी थानालाई कब्जा गर्न लागेको बेला डेभिड र रोजालिया त्यही बाटो भएर जाँदै गरेको हुनुपर्छ।
रोजालियाको होस हवासै उडेको थियो तैपनि डेभिडले मुक्त गर्न बिन्ती गर्दा उनी साहसपूर्वक शान्त भएर बसिन्। अन्ततः तिनीहरूलाई जाने अनुमति त दिइयो तर जीपबिना। नजिकैको मूल बाटोसम्म तिनीहरू हिंडेरै जानुपऱ्यो। त्यसपछि तिनीहरू बस चढेर शाखा कार्यालयमा पुगे जहाँ रोजालियाको औषधोपचार गरियो।
प्रार्थनाको शक्ति
यस अनुभवबाट डेभिडले केही कुरा सिके। त्यो हो, एकाग्र प्रार्थनाको शक्तिलाई कहिल्यै हल्का नठान्नु र निर्भयतासाथ आफूलाई यहोवाको साक्षीको रूपमा चिनाउँदा प्रायः आफ्नै सुरक्षा हुन्छ। “परमप्रभुको नाउँ एक बलियो धरहराजस्तै हो” भन्ने कुरा शाब्दिक तवरमा पनि सत्य हुनसक्छ।—हितोपदेश १५:२९; १८:१०; फिलिप्पी ४:६. (w94 2/1)