प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १/१५ pp. १०-१५
  • यहोवाको आनन्द हाम्रो गढ हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आनन्द हाम्रो गढ हो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “औधी हर्षित”
  • ख्रीष्टद्वारा परमेश्‍वरसित सम्बन्ध
  • धार्मिक स्वतन्त्रता र प्रबुद्ध ज्ञान
  • राज्य आशा र अनन्त जीवन
  • आशिषित भ्रातृत्व
  • उद्देश्‍यको जीवन
  • अचूक गढ
  • आनन्दको हृदयले यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आनन्द परमेश्‍वरबाट पाइने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यहोवाको आनन्द
    यहोवाको स्तुतिगान गाऔं
  • ‘यहोवाले दिनुहुने आनन्द’
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १/१५ pp. १०-१५

यहोवाको आनन्द हाम्रो गढ हो

“आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोऊ, किनभने परमप्रभुको आनन्दनै तिमीहरूको [गढ] हो।”—नहेम्याह ८:१०.

१, २. (क) गढ भनेको के हो? (ख) यहोवामा शरण लिएका छन्‌ भनी दाऊदले कसरी देखाए?

यहोवा अतुलनीय गढ हुनुहुन्छ। गढ भनेको के हो? त्यो सुरक्षा अथवा बचाउ प्रदान गर्ने मजबुत स्थान हो। पुरातन इस्राएलका दाऊदले परमेश्‍वरलाई आफ्नो गढ सम्झन्थे। उदाहरणको लागि, इस्राएलका राजा “शाऊल र शत्रुहरूका हातबाट यहोवाले बचाउनुभएको दिनमा” अति उच्चलाई दाऊदले सम्बोधन गरेको गीत विचार गर्नुहोस्‌।—भजनसंग्रह १८, न्युव अभिलेख।

२ त्यस उत्साहवर्धक गीत दाऊदले यी शब्दहरूद्वारा सुरु गरे: “हे परमप्रभु, मेरो शक्‍ति, म तपाईंलाई प्रेम गर्दछु। परमप्रभु मेरो चटान, मेरो गढ़ी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरा परमेश्‍वर, मेरो बलियो चटान, उहाँमै म भरोसा राख्नेछु। मेरो ढाल, र मेरो उद्धारको सीङ, मेरो अल्गो धरहरा।” (भजनसंग्रह १८:१, २) कुनै विपत्तिबाट जोगिन एक व्यक्‍ति मजबुत स्थानतर्फ दौडेझैं अन्यायपूर्वक त्यागिएका र राजा शाऊलबाट खेदिएका निर्दोष दाऊदले यहोवामा शरण लिए।

३. एज्राको समयका यहूदीहरू किन “असाध्यै रमाए”?

३ निष्ठा कायम गर्नेहरूको हैसियतमा हिंड्‌नेहरूको निम्ति यहोवाले दिनुहुने आनन्द अचूक गढ हो। (हितोपदेश २:६-८; १०:२९) निस्सन्देह, ईश्‍वर-प्रदत्त आनन्द प्राप्त गर्न मानिसहरूले ईश्‍वरीय इच्छा पालन गर्नुपर्छ। यसअनुसार सा.यु.पू. ४६८ मा यरूशलेममा के भयो विचार गर्नुहोस्‌। व्यवस्थाको अर्थपूर्ण पढाइद्वारा लेखनदास एज्रा र अन्य व्यक्‍तिहरूले समझ प्रदान गरे। त्यसपछि मानिसहरूलाई यो आग्रह गरियो: “अब तिमीहरू जाऊ। स्वादिष्ट भोजन खाऊ र मीठो दाखमद्य पिएर ताजा होऊ। आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेऊ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोऊ, किनभने परमप्रभुको आनन्दनै तिमीहरूको [गढ] हो।” आफूले पाएका ज्ञान प्रयोगमा ल्याउँदा यहूदीहरू “[असाध्यै रमाए]” र धूमधामसित झुप्रो बासको उत्सव मनाए। (नहेम्याह ८:१-१२) ‘यहोवाको आनन्दलाई आफ्नो गढस्वरूप पाउनेहरूले’ उहाँको उपासना र सेवाको लागि बल बटुले। यहोवाको आनन्द तिनीहरूको गढ हुनाले यहोवाका जनहरू आज पनि आनन्दित भएको आशा गरिन्छ। त्यसो भए वर्तमान समयमा आनन्दित हुने केही कारणहरू के के हुन्‌?

“औधी हर्षित”

४. यहोवाका जनहरूको लागि आनन्दको एउटा उल्लेखनीय स्रोत के हो?

४ आनन्दित हुनुको एउटा उल्लेखनीय कारण यहोवाले एकसाथ भेला हुन गर्नुहुने प्रबन्ध हो। इस्राएलीहरूका वार्षिक उत्सवहरूले तिनीहरूको हृदयलाई आनन्दित बनाएझैं यहोवाका साक्षीहरूका सम्मेलनहरूले आज तिनीहरूलाई आनन्द प्रदान गर्छ। इस्राएलका मानिसहरूलाई यसो भनिएको थियो: “परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा सात दिनसम्म उहाँको निम्ति [झुप्रो बासको] चाड़ मान्‍नू, किनभने उहाँलेनै तिमीहरूका उब्जनी र काम-काजमा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ। यसकारण तिमीहरू औधी हर्षित हुनेछौ।” (व्यवस्था १६:१३-१५) हो, तिनीहरू “औधी हर्षित” भएको परमेश्‍वर चाहनुहुन्थ्यो। यही कुरा मसीहीहरूमा पनि लागू हुन्छ किनभने प्रेरित पावलले सँगी उपासकहरूलाई यसरी आग्रह गरे: “प्रभुमा सँधै आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर।”—फिलिप्पी ४:४.

५. (क) आनन्द के हो र मसीहीहरूले त्यो कसरी प्राप्त गर्छन्‌? (ख) परीक्षाहरूको बावजूद हामी कसरी आनन्द पाउन सक्छौं?

५ हामी आनन्दित भएको यहोवाले चाहनुहुने हुँदा उहाँको पवित्र आत्माको फलमध्ये एक, आनन्द हामीलाई दिनुभएको छ। (गलाती ५:२२, २३) आनन्द के हो? असल कुराको आशा गर्दा वा पाउँदा अनुभव गरिने रमाइलो भावना आनन्द हो। आनन्द साँचो खुशीको अवस्था र हर्षोल्लास पनि हो। परमेश्‍वरको पवित्र आत्माको यस फलले हामीलाई परीक्षाहरू आइपर्दा सँभाल्छ। “उहाँको [येशू] सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” (हिब्रू १२:२) चेला याकूबले यसप्रकार लेखे: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्‍वासको जाँचले धीरज उत्पन्‍न गराउँछ।” तर कुनै खास प्रकारको परीक्षा आइपर्दा के गर्ने भनी थाहा भएन भने नि? तब त्यसको सामना गर्न निर्धक्क भएर बुद्धिको लागि प्रार्थना गर्न सक्छौं। स्वर्गीय बुद्धिअनुसार चल्नाले समस्याहरू समाधान गर्न र यहोवाको आनन्द नगुमाइकन निरन्तर आइरहेका परीक्षाहरू सामना गर्न सक्छौं।—याकूब १:२-८.

६. आनन्द र साँचो उपासनाबीच कस्तो सम्बन्ध छ?

६ यहोवाले दिनुहुने आनन्दले साँचो उपासना प्रवर्धन गर्न हामीलाई बल प्रदान गर्छ। नहेम्याह र एज्राको समयमा यस्तै भएको थियो। यहोवाको आनन्दलाई आफ्नो गढस्वरूप लिने व्यक्‍तिहरूले साँचो उपासनालाई बढाउन बल प्राप्त गरे। अनि तिनीहरूले यहोवाको उपासनालाई प्रवर्धन गर्दा तिनीहरूको आनन्द वृद्धि भयो। आज पनि यही कुरा लागू हुन्छ। यहोवाका उपासकहरूको हैसियतमा असाध्यै आनन्दित हुने कारणहरू हामीसित छन्‌। आनन्दित हुन सक्ने अन्य थुप्रै कारणहरूलाई आउनुहोस्‌ हामी विचार गरौं।

ख्रीष्टद्वारा परमेश्‍वरसित सम्बन्ध

७. यहोवाको सन्दर्भमा मसीहीहरूसित आनन्दित हुने के कारण छ?

७ यहोवासित हाम्रो घनिष्ठ सम्बन्धले हामीलाई पृथ्वीमा सबैभन्दा आनन्दित मानिसहरू बनाउँछ। मसीहीहरू हुनुअघि हामी ‘अज्ञानताको समझ अँध्यारो भएका र परमेश्‍वरको जीवनबाट बिराना भएका’ अधार्मिक मानव समाजको भाग थियौं। (एफिसी ४:१८) अब परमेश्‍वरबाट बिराना हुनु नपरेकोमा हामी कति प्रसन्‍न छौं! निस्सन्देह, उहाँको अनुग्रहमा रहिरहन प्रयासको खाँचो पर्छ। हामीहरू ‘सुसमाचारको आशाबाट . . . नहटेर स्थिर भई विश्‍वासमा रहिरहनु’ पर्छ। (कलस्सी १:२१-२३) येशूका आफ्नै शब्दहरूअनुरूप यहोवाले हामीलाई उहाँको पुत्रतर्फ खिंच्नु भएकोमा हामी हर्षित हुन सक्छौं: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४४) ख्रीष्टद्वारा परमेश्‍वरसित गाँसिएको हाम्रो मूल्यवान सम्बन्धलाई हामी साँच्चै मूल्यांकन गर्छौं भने त्यसलाई बिगार्ने हरेक कुराबाट जोगाउनेछौं।

८. हाम्रो आनन्ददायी अवस्थाको लागि येशूले कसरी योगदान पुऱ्‍याउनुभयो?

८ ख्रीष्टको छुटकाराको बलिदानमाथि विश्‍वासद्वारा पापहरू माफी हुनु आनन्दित हुने एउटा ठूलो कारण हो किनभने यसैले नै परमेश्‍वरसित हाम्रो सम्बन्ध सम्भव तुल्याउँछ। जानाजानी पापी मार्ग पछ्याएर हाम्रो प्रथम पुर्खा आदमले सारा मानवजातिमाथि मृत्यु ल्यायो। तर प्रेरित पावलले यसरी वर्णन गरे: “परमेश्‍वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” पावल अझै लेख्छन्‌: “यसैले जसरी एउटै अपराधद्वारा सबै मानिसलाई दोषी ठहराउनालाई इन्साफ आइलाग्यो, त्यसैगरी धार्मिकताको एउटै कामद्वारा सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनालाई अनुग्रहको वरदान आयो। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसैगरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक ठहरिनेछन्‌।” (रोमी ५:८, १८, १९) त्यस्तो मायालु प्रबन्धको लाभ उठाउने आदमका सन्तानहरूलाई छुटकारा दिन यहोवा परमेश्‍वर खुशी हुनुहुन्छ भनेर थाहा पाउँदा हामी कति आनन्दित हुन सक्छौं!

धार्मिक स्वतन्त्रता र प्रबुद्ध ज्ञान

९. धार्मिक दृष्टिकोणबाट हामी किन आनन्दित छौं?

९ झूटो धर्मको विश्‍व-साम्राज्य, महान बेबिलोनबाट छुटकारा पाउनु आनन्दित हुने अर्को कारण हो। हामीलाई ईश्‍वरीय सत्यले स्वतन्त्र तुल्याएको छ। (यूहन्‍ना ८:३२) यस धार्मिक वेश्‍याबाट स्वतन्त्रताको अर्थ हो, हामी त्यसको पापहरूमा भाग लिंदैनौं, त्यसका विपत्तिहरू अनुभव गर्दैनौं र त्यस सँगै नाश हुँदैनौं। (प्रकाश १८:१-८) ती सबैबाट उम्कन पाएकोमा दुःखी हुनु पर्ने कुनै कारण छैन!

१०. यहोवाका जनहरूको हैसियतमा हामी कस्तो प्रबुद्ध ज्ञानको आनन्द उठाउँछौं?

१० परमेश्‍वरको वचन बुझ्नु र त्यसलाई जीवनमा प्रयोग गर्नु ठूलो आनन्दका कारणहरू हुन्‌। झूटो धर्मको प्रभावबाट मुक्‍त भएर हामी हाम्रो स्वर्गमा हुने पिताले “विश्‍वासी र बुद्धिमान दास” मार्फत प्रदान गर्नुहुने प्रगतिशील आध्यात्मिक अन्तर्दृष्टिको आनन्द उठाउँछौं। (मत्ती २४:४५-४७) पृथ्वीका सारा मानिसहरूमध्ये यहोवाप्रति पूर्णतया समर्पित मानिसहरूले मात्र उहाँको पवित्र आत्मा र उहाँको वचन तथा इच्छा बुझ्ने आशिष्‌ पाउँछन्‌। यो पावलले भनेझैं छ: “परमेश्‍वरले हाम्रा निम्ति आत्माद्वारा ती [उहाँलाई प्रेम गर्नेहरूको निम्ति तयार गर्नुभएका कुराहरू] प्रकट गर्नुभएको छ। किनभने आत्माले सबै कुरा परमेश्‍वरका गहीरा गहीरा कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।” (१ कोरिन्थी २:९, १०) हितोपदेश ४:१८ मा भनिएको प्रगतिशील समझको आनन्द उठाउन पाएकोमा हामी कृतज्ञ र आनन्दित हुन सक्छौं। “धर्मीको चाल बिहानको उज्या- लोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌ झन्‌ चहकिलो हुँदैजान्छ।”

राज्य आशा र अनन्त जीवन

११. आनन्ददायी राज्य आशा अरूसित कसरी बाँडिएको छ?

११ हाम्रो राज्य आशाले पनि हामीलाई आनन्दित बनाउँछ। (मत्ती ६:९, १०) यहोवाका साक्षीहरूको हैसियतमा मानवजातिको एकमात्र आशा परमेश्‍वरको राज्य हो भनी हामीले घोषणा गरेको निकै समय भइसक्यो। उदाहरणको लागि, १९३१ साललाई विचार गर्नुहोस्‌ जब हामीले विश्‍वभरिका ५१ सम्मेलनहरूमा प्रस्तावनाद्वारा यहोवाका साक्षीहरू भन्‍ने नाउँ अँगालेका थियौं। (यशैया ४३:१०-१२) त्यो प्रस्तावना र जे. एफ. रदरफोर्डले (वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष) सम्मेलनमा गरेका उल्लेखनीय सम्बोधन द किङ्‌गडम, द होप अफ द वर्ल्ड नामक पुस्तिकामा प्रकाशित गरिएको थियो। त्यही सम्मेलनमा स्वीकृत अर्को एउटा प्रस्तावना पनि त्यसमा समावेश थियो। त्यसले मसीहीजगतलाई धर्मत्याग र यहोवाको सल्लाहलाई उपेक्षा गरेको दोष लगाएको थियो। त्यसले यो पनि घोषणा गऱ्‍यो: “संसारको आशा परमेश्‍वरको राज्य मात्रै हो र अरू कुनै आशा छैन।” केही महिनाभित्र यहोवाका साक्षीहरूले सारा संसारभरि त्यस पुस्तिकाको ५० लाखभन्दा बढि प्रतिहरू वितरण गरे। त्यतिबेलादेखि मानवजातिको एकमात्र आशा परमेश्‍वरको राज्य हो भनी हामीले प्रायः निश्‍चितताका साथ भनेका छौं।

१२. यहोवाको सेवा गर्नेहरू समक्ष कस्तो आनन्ददायी प्रत्याशाहरू राखिएका छन्‌?

१२ राज्य शासन अन्तर्गत अनन्त जीवनको प्रत्याशामा पनि हामी हर्षित हुन्छौं। अभिषिक्‍त मसीहीहरूको “सानो बगाल[सित]” आनन्ददायी स्वर्गीय आशा छ। प्रेरित पत्रुसले लेखे: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र पिता धन्यको हुनुहुन्छ, जसले आफ्नो ठूलो कृपा अनुसार मरेकोबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा जीवित आशाको निम्ति हामीलाई फेरि नयाँ जन्म दिनुभयो, स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको अविनाशी, विशुद्ध र नष्ट नहुने हकको निम्ति।” (लूका १२:३२; १ पत्रुस १:३, ४) आज, यहोवाका अधिकांश साक्षीहरू राज्य शासन अन्तर्गत पार्थिव प्रमोदवनमा अनन्त जीवन प्राप्त गर्न उत्सुकतापूर्वक पर्खिरहेका छन्‌। (लूका २३:४३; यूहन्‍ना १७:३) हामीसित भएका प्रत्याशाहरू संसारका अरू कुनै मानिसहरूसित छैन। ती आनन्ददायी प्रत्याशाहरूलाई हामीले कत्तिको कदर गर्नुपर्छ!

आशिषित भ्रातृत्व

१३. हाम्रो अन्तर्राष्ट्रिय भ्रातृत्वलाई हामीले कस्तो दृष्टिकोणले हेर्नुपर्छ?

१३ परमेश्‍वरबाट अनुमोदित एकमात्र अन्तर्राष्ट्रिय भ्रातृत्वको भाग हुन पाउनु पनि ठूलो आनन्दको स्रोत हो। खुशीको कुरा, हामीसित पृथ्वीका सबैभन्दा वाञ्छनीय सँगीहरू छन्‌। हाम्रो समयलाई संकेत गर्नुहुँदै यहोवा परमेश्‍वर स्वयंले यसो भन्‍नुभयो: “सबै जातिहरूलाई हल्लाउनेछु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु।” (हाग्गै २:७) साँचो हो, सबै मसीहीहरू असिद्ध छन्‌। तर त्यस्ता व्यक्‍तिहरूलाई यहोवाले येशू ख्रीष्ट मार्फत खिंच्नुभएको छ। (यूहन्‍ना १४:६) यहोवाले वाञ्छनीय ठान्‍नुहुने मानिसहरूलाई उहाँले खिंच्नुहुने हुँदा हामीले तिनीहरूलाई भ्रातृ प्रेम देखायौं, उच्च सम्मान दियौं, ईश्‍वरीय क्रियाकलापहरूमा तिनीहरूलाई सहयोग गऱ्‍यौं, तिनीहरूका परीक्षाहरूमा मदत दियौं र तिनीहरूको खातिर प्रार्थना गऱ्‍यौं भने हाम्रो आनन्द अझ भरपूर हुनेछ।

१४. पहिलो पत्रुस ५:५-११ बाट हामी कस्तो प्रोत्साहन प्राप्त गर्न सक्छौं?

१४ यी सबै कुराहरूले हाम्रो आनन्दमा योगदान पुऱ्‍याउनेछ। निस्सन्देह, विश्‍वभरि हाम्रो आध्यात्मिक भ्रातृत्वको गढ यहोवाको आनन्द हो। हो, हामी सबैले सतावट र अन्य कठिनाइहरू भोग्छौं। तर यसले हामीलाई एक अर्काको नजीक खिंच्नुपर्छ र पृथ्वीमा परमेश्‍वरको साँचो संगठनको हैसियतमा एकताको भावना जगाउनु पर्छ। पत्रुसले भनेझैं, परमेश्‍वरको सामर्थ्य बाहुलीमुनि आफूलाई नम्र तुल्याउनुपर्छ र उहाँले हाम्रो चासो राख्नुहुन्छ भनी थाहा भएकोले हाम्रा सारा फिक्रीहरू उहाँमाथि सुम्पनुपर्छ। दियाबलले हामीलाई निल्न खोज्ने हुँदा हामी जागा हुनुपर्छ तर हामी एक्लै छैनौं। किनभने पत्रुस यसो भन्छन्‌: “तिमीहरू विश्‍वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यूभाइहरूले पनि यही कष्ट भोगिरहेका छन्‌ भन्‍ने जानेर त्यसको विरोध गर।” अनि यस आनन्ददायी अन्तर्राष्ट्रिय भ्रातृत्व कहिल्यै भत्कनेछैन। किनभने हामीसित यो आश्‍वासन छ, ‘हामीहरूले केही बेर दुःख भोगेपछि परमेश्‍वर आफैले हामीलाई सुधार्नुहुनेछ, स्थिर गराउनुहुनेछ र बलियो गराउनुहुनेछ।’ (१ पत्रुस ५:५-११) यसो विचार गर्नुहोस्‌। हाम्रो आनन्ददायी भ्रातृत्व सदा रहिरहनेछ!

उद्देश्‍यको जीवन

१५. यहोवाका साक्षीहरूसित उद्देश्‍यपूर्ण जीवन छ भनी किन भन्‍न सकिन्छ?

१५ हाम्रो जीवन उद्देश्‍यपूर्ण हुनाले दुःखै दुःखले भरिएको यस संसारमा पनि आनन्दित हुन सक्छौं। आफू र अरूलाई खुशी तुल्याउने सेवकाई हामीलाई सुम्पिएको छ। (रोमी १०:१०) परमेश्‍वरका सहकर्मी हुन पाउनु साँच्चै नै आनन्ददायी विशेषाधिकार हो। यस सन्दर्भमा पावलले भने: “अपोल्लस के हो? र पावल के हो? हरेकलाई प्रभुले दिनुभएझैं सेवकहरू ता हुन्‌, र जसद्वारा तिमीहरूले विश्‍वास गऱ्‍यौ। मैले रोपें, अपोल्लसले पानी हाले, तर परमेश्‍वरले चाहिं बढाउनुभयो। यसकारण नता रोप्ने केही हो, न पानी हाल्ने, बढ़ाउने परमेश्‍वरनै हुनुहुन्छ। अब हामी रोप्ने र पानी हाल्ने एउटै हौं। तर हरेकले आफ्नो आफ्नो मेहनतअनुसार आफ्नो आफ्नै इनाम पाउनेछ। किनभने हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरू परमेश्‍वरका खेत, र परमेश्‍वरद्वारा निर्माण भएका घर हौ।”—१ कोरिन्थी ३:५-९.

१६, १७. यहोवाका जनहरूसित उद्देश्‍यपूर्ण आनन्ददायी जीवन छ भनेर प्रमाणित गर्न कुन उदाहरणहरू उद्धृत गर्न सकिन्छ?

१६ यहोवालाई विश्‍वासीपूर्वक सेवा गर्नाले आनन्दले भरिपूर उद्देश्‍यपूर्ण जीवन प्राप्त हुन्छ भनी धेरै उदाहरणहरू उद्धृत गर्न सकिन्छ। यो भनाइ विशिष्ट छ: “राज्य भवनको [समर्पण समारोहमा] चारैतिर हेर्दा म र मेरी पत्नी अनि हाम्रा तीन बच्चाहरू तथा तिनका जोडीहरू गरी मेरो परिवारका जम्मा आठ सदस्यहरू उपस्थित थिए। . . . म र मेरी पत्नीले परमेश्‍वरको सेवामा साँच्चै आनन्दित र उद्देश्‍यपूर्ण जीवन बिताएका छौं।”

१७ यहोवाको सेवामा साँचो उद्देश्‍यको आनन्ददायी जीवनमा जुन सुकै उमेरको व्यक्‍तिले पनि प्राप्त गर्न सक्नु प्रोत्साहनजनक कुरा हो। उदाहरणको लागि, नर्सिङ्‌ग होममा बाइबल सत्य सिकेर यहोवाका साक्षीको हैसियतमा एउटी स्त्रीले १०२ वर्षको उमेरमा बप्तिस्मा लिइन्‌। यसप्रकार उनले ‘परमेश्‍वरको भय राखेर उहाँको आज्ञा पालन गरेर’ आनन्ददायी उद्देश्‍यसाथ आफ्नो जीवन पूरा गरिन्‌।—उपदेशक १२:१३.

अचूक गढ

१८. नैराश्‍यतामाथि विजय प्राप्त गर्न र हाम्रो आनन्द बढाउन के गर्न सकिन्छ?

१८ विश्‍वासीहरूको लागि यहोवाको आनन्द एउटा अचूक गढ हो। यद्यपि, यो आनन्द हुँदैमा हामी कहिल्यै दुःखी हुनेछैनौं भनेको होइन। त्यस्तो दुःख अनुभव हुनाले गेतसमनीको बगैंचामा यी शब्दहरू भन्‍न येशू प्रेरित हुनु भएको थियो: “मेरो प्राण मरणान्त अति कष्ठित भएको छ।” (मर्कूस १४:३२-३४) उदाहरणको लागि, हाम्रा स्वार्थी इच्छाहरूले गर्दा नैराश्‍यता उत्पन्‍न भएको छ भने हामी हाम्रो जीवन पद्धति परिवर्तन गरौं। निस्वार्थपूर्वक शास्त्रीय जिम्मेवारीहरूको गह्रौं भारी बोकेको हुँदा हाम्रो आनन्द कम भएको छ भने शायद तनाव कम गर्न र आनन्ददायी आत्मालाई पुनःस्थापना गर्न छाँटकाँटहरू गर्न सक्छौं। यसबाहेक, पापी शरीर, दुष्ट संसार र दियाबललाई जोडतोडका साथ विरोध गरेर उहाँलाई खुशी तुल्याउने प्रयास गऱ्‍यौं भने यहोवाले हामीलाई आशिष्‌ दिनुहुनेछ।—गलाती ५:२४; ६:१४; याकूब ४:७.

१९. परमेश्‍वरको सङ्‌गठनमा हामीले पाएका विशेषाधिकारहरूलाई हामीले कुन दृष्टिकोणले हेर्नुपर्छ?

१९ माथि छलफल गरिएका र अरू थुप्रै कारणहरूले गर्दा हामी आनन्दित हुन सक्छौं। चाहे हामी मण्डलीका प्रकाशकहरू अथवा पूर्ण-समय सेवाको कुनै पक्षमा भाग लिइरहेका हौं हामी सबैले प्रभुको काममा प्रशस्त गर्न सक्छौं र यसले अवश्‍य नै हाम्रो आनन्दमा योगदान पुऱ्‍याउँछ। (१ कोरिन्थी १५:५८) यहोवाको सङ्‌गठनमा जस्तोसुकै अवसहरू पाइरहेको भए तापनि हामी त्यसको लागि कृतज्ञ होऔं र हाम्रो मायालु, आनन्दित परमेश्‍वरलाई आनन्दपूर्वक पवित्र सेवा चढाइरहौं।—१ तिमोथी १:११.

२०. हाम्रो सबैभन्दा ठूलो विशेषाधिकार के हो र हामी कुन कुराबारे ढुक्क हुन सक्छौं?

२० उहाँका साक्षीहरू भएर यहोवाको महान नाउँ बहन गर्न पाएको विशेषाधिकारका लागि हामी विशेषगरि आनन्दित हुनुपर्ने कारण छ। हो, हामी असिद्ध छौं र अनेकौं परीक्षाहरू सामना गर्छौं तर यहोवाका साक्षीहरूको हैसियतमा हामीले प्राप्त गर्ने अद्‌भुत आशिष्‌हरूलाई कहिल्यै नभुलौं। अनि नबिर्सनुहोस्‌, स्वर्गमा हुनुहुने हाम्रो प्यारो पिताले हामीलाई कहिल्यै निराश तुल्याउनुहुन्‍न। यहोवाको आनन्द हाम्रो गढ भएमा हामीले सधैं आशिष्‌ पाउनेछौं भनी ढुक्क हुन सक्छौं।

तपाईंले कसरी जवाफ दिनुहुनेछ?

◻ “यहोवाको आनन्द” के हो?

◻ मसीहीहरूले साँचो आनन्द कसरी प्राप्त गर्छन्‌?

◻ यहोवाका साक्षीहरू आनन्दित हुनुका केही कारणहरू के के हुन्‌?

◻ यहोवाको आनन्द किन एउटा अचूक गढ हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने