प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 फेब्रुअरी pp. २८-३०
  • आनन्द परमेश्‍वरबाट पाइने गुण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आनन्द परमेश्‍वरबाट पाइने गुण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आनन्द भनेको के हो?
  • हामीले अनुकरण गर्नुपर्ने उदाहरणहरू
  • हामी आनन्दित हुनुका कारणहरू
  • तपाईँ कसरी आफ्नो आनन्द बढाउन सक्नुहुन्छ?
  • आनन्दित हुँदा कस्ता फाइदाहरू हुन्छन्‌?
  • आनन्दको हृदयले यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आनन्दसाथ यहोवाको सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • यहोवाको आनन्द हाम्रो गढ हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवा हाम्रो “आनन्दको मूल” हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 फेब्रुअरी pp. २८-३०

आनन्द परमेश्‍वरबाट पाइने गुण

  • प्रेम

  • आनन्द

  • शान्ति

  • धीरज

  • दया

  • भलाइ

  • विश्‍वास

  • नम्रता

  • आत्मसंयम

मानिसहरू आनन्दित भएर जीवन बिताउन चाहन्छन्‌। तर यस अन्तको दिनको “असाध्यै कठिन समय”-मा मानिसहरूले अनेकन्‌ समस्याहरू झेलिरहनुपरेको छ। (२ तिमो. ३:१) अन्याय, स्वास्थ्य समस्या, बेरोजगारी, प्रियजनको मृत्यु अनि यस्तै चिन्ता र फिक्री दिने अरू कुराहरूले गर्दा मानिसहरूको आनन्द गुम्न सक्छ। यहोवाका सेवकहरूसमेत निरुत्साहित हुन सक्छन्‌ अनि तिनीहरूको आनन्द पनि गुम्न सक्छ। तपाईँलाई पनि त्यस्तै भएको छ भने फेरि कसरी आनन्द पाउन सक्नुहुन्छ?

त्यसको जवाफ पाउन हामीले साँचो आनन्द भनेको के हो र परमेश्‍वरका अरू सेवकहरू समस्या आइपर्दा कसरी आनन्दित रहे भन्‍ने कुरा बुझ्नुपर्छ। त्यसपछि हामी आनन्द कायम राख्न र त्यसलाई बढाउँदै लैजान के गर्न सक्छौँ भन्‍नेबारे पनि बुझ्नेछौँ।

आनन्द भनेको के हो?

आनन्दित हुनु भनेको खुसी देखिनु वा हँसिलो अनुहार हुनु मात्र होइन। यसलाई बुझ्न एउटा उदाहरण विचार गरौँ, एक जना जँड्याहा टन्‍न रक्सी पिएपछि मज्जाले हाँस्ला अनि रमाइलो गर्ला। तर रक्सीको मातले छोडेपछि उसको हाँसो पनि सिद्धिन्छ। ऊ आफ्नो पहिलेकै निराश अनि समस्याग्रस्त अवस्थामा फर्कन्छ। उसको त्यो क्षणिक हाँसो साँचो आनन्द होइन।—हितो. १४:१३.

अर्कोतर्फ, आनन्द भनेको हृदयभित्र हुने गुण हो। आनन्दलाई “कुनै राम्रो कुरा पाउँदा वा राम्रो कुराको आशा राख्दा मनमा आउने भावना” भनेर पनि परिभाषित गरिएको छ। वरपरको परिस्थिति ठीक होस्‌ या नहोस्‌, आनन्दित मानिस खुसी नै भइरहन्छ। (१ थिस्स. १:६) वास्तवमा भन्‍नुपर्दा कुनै कुराले दुःख दिइरहेको अवस्थामा पनि मानिस आनन्दित हुन सक्छ। उदाहरणको लागि, ख्रीष्टको बारेमा प्रचार गरेकोले प्रेषितहरू पिटिएका थिए। तर तिनीहरू “उहाँको नाममा अपमान सहन योग्य ठहरिएकोमा रमाउँदै . . . यहूदी न्यायपरिषद्‌सामुबाट निस्केर आफ्नो बाटो लागे।” (प्रेषि. ५:४१) तिनीहरू पिटाइ खाएकोले रमाएका थिएनन्‌। बरु यहोवाको सेवक भएकोले अनि उहाँप्रति सत्यनिष्ठ रहिरहन सकेकोले रमाएका थिए।

आनन्द भन्‍ने गुण हामीले जन्मजातै पाउने कुरा होइन अनि यो आफसेआफ विकास हुने कुरा पनि होइन। किन? किनभने साँचो आनन्द परमेश्‍वरको पवित्र शक्‍तिले फलाउने फलको एउटा पक्ष हो। पवित्र शक्‍तिको मदतले हामी “नयाँ व्यक्‍तित्व” धारण गर्न सक्छौँ अनि त्यसमा आनन्द पनि समावेश छ। (एफि. ४:२४; गला. ५:२२) अनि त्यस्तो आनन्द विकास गऱ्‍यौँ भने हामी जीवनका चिन्ता अनि फिक्रीहरूसित लड्‌न अझ सक्षम हुनेछौँ।

हामीले अनुकरण गर्नुपर्ने उदाहरणहरू

पृथ्वी नराम्रो कुराहरूले होइन तर असल कुराहरूले भरिँदै गएको यहोवा चाहनुहुन्थ्यो। तर अहिले संसारमा हामी जताततै नराम्रो कुरा मात्र देख्छौँ। तैपनि त्यस्ता नराम्रा कुराले यहोवाको आनन्द खोस्न सकेको छैन। परमेश्‍वरको वचन भन्छ: “सामर्थ्य र रमाहट उहाँको बासस्थानमा छन्‌।” (१ इति. १६:२७) त्यसका साथै, आफ्ना जनहरूले गरेका असल-असल कामले यहोवाको “हृदयलाई आनन्दित तुल्याउँछ।”—हितो. २७:११.

कुनै कुरा आफूले सोचेजस्तो नहुँदा अचाक्ली चिन्ता नगरेर हामी यहोवाको अनुकरण गर्न सक्छौँ। आनन्द गुमाउनुको साटो हामी अहिले आफूसित भएका राम्रा कुराहरूमा ध्यान दिन सक्छौँ अनि पछि हुने राम्रा कुराहरूलाई धीरजी हुँदै पर्खन सक्छौँ।a

हामी बाइबलमा बताइएका विश्‍वासी व्यक्‍तिहरूको उदाहरण पनि विचार गर्न सक्छौँ, जसले गाह्रा अवस्थाहरूमा पनि आनन्द कायम राखे। अब्राहामले ज्यानै जान सक्ने परिस्थितिहरू अनि अरूको कारणले गर्दा आइपरेका समस्याहरू सामना गर्नुपरेको थियो। (उत्प. १२:१०-२०; १४:८-१६; १६:४, ५; २०:१-१८; २१:८, ९) यस्ता अवस्थाहरूमा पनि अब्राहामले आनन्द कायम राखे। तिनले कसरी त्यसो गर्न सके? तिनले मसीही राज्यले ल्याउने नयाँ संसारमा जीवन बिताउने आशा आफ्नो मनमा सङ्‌गालेका थिए। (उत्प. २२:१५-१८; हिब्रू ११:१०) येशूले तिनीबारे यसो भन्‍नुभयो: “तिमीहरूका बुबा अब्राहाम मेरो दिन हेर्ने आशामा असाध्यै रमाउँथे।” (यूह. ८:५६) हामी पनि भविष्यमा आफूले पाउने आनन्दमा मनन गरेर अब्राहामको अनुकरण गर्न सक्छौँ।—रोमी ८:२१.

अब्राहामले जस्तै प्रेषित पावल अनि तिनका सहकर्मी सिलासले पनि परमेश्‍वरका प्रतिज्ञाहरूमा ध्यान दिए। तिनीहरूको विश्‍वास बलियो थियो अनि दुःखद परिस्थितिमा पनि तिनीहरूले आफ्नो आनन्द कायम राखे। उदाहरणको लागि, एक पटक तिनीहरूले खानुसम्म कुटाइ खाएका थिए अनि झ्यालखानामा जाकिएका थिए तर “मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको स्तुतिगान गाइरहेका थिए।” (प्रेषि. १६:२३-२५) तिनीहरूले आफ्नो आशाबाट बल पाएका थिए अनि ख्रीष्टको नामको खातिर दुःख भोग्न पाएकोले तिनीहरू आनन्दित थिए। वफादार भई यहोवाको सेवा गर्दा हुने राम्रा नतिजाहरूबारे सोचेर हामी पनि पावल र सिलासको अनुकरण गर्न सक्छौँ।—फिलि. १:१२-१४.

गाह्रो अवस्थामा समेत आनन्द कायम गर्ने सन्दर्भमा अहिले हाम्रो समयमा पनि थुप्रै भाइबहिनीले राम्रो उदाहरण बसालेका छन्‌। उदाहरणको लागि, नोभेम्बर २०१३ मा गएको शक्‍तिशाली आँधीले फिलिपिन्सको मध्य भागलाई क्षतिग्रस्त बनायो। एक हजारभन्दा धेरै साक्षी परिवारको घर भत्कियो। ताक्लोबान सहरका भाइ जर्ज, जसको घर आँधीबेहरीले गर्दा भत्किएको थियो, तिनले यसो भने, “त्यत्रो क्षति भयो, तैपनि भाइहरू आनन्दित थिए। हाम्रो मनको आनन्द म शब्दमा व्यक्‍त गर्नै सक्दिनँ।” ठूलठूला समस्या आइपर्दा यहोवाले हाम्रो लागि गरिदिनुभएका कुराहरूबारे सोच्यौँ र कृतज्ञ भयौँ भने हामी पनि आनन्दित रहिरहन सक्नेछौँ। हाम्रो आनन्दको लागि यहोवाले अरू के-के गरिदिनुभएको छ?

हामी आनन्दित हुनुका कारणहरू

यहोवासित सम्बन्ध गाँस्न पाउनुभन्दा धेरै आनन्द दिने कुरा अरू केही होला र? यसबारे सोच्नुहोस्‌: हामीले ब्रह्‍माण्डका सार्वभौम शासकलाई चिन्‍न पाएका छौँ। उहाँ हाम्रो बुबा, परमेश्‍वर अनि साथी हुनुहुन्छ!—भज. ७१:१७, १८.

यहोवाबाट उपहारस्वरूप पाएको जीवन अनि जीवनको आनन्द उठाउने क्षमताको लागि पनि हामी उहाँप्रति कृतज्ञ छौँ। (उप. ३:१२, १३) यहोवाले हामीलाई सोच्ने-बुझ्ने क्षमतासहित सृष्टि गर्नुभएको छ अनि आफूतिर खिच्नुभएको छ। त्यसैले उहाँ हामीबाट के चाहनुहुन्छ भनेर पनि हामीले थाह पाएका छौँ। (कल. १:९, १०) कसरी अर्थपूर्ण जीवन बिताउने भनेर हामीले सिक्न पाएका छौँ। तर अर्कोतर्फ, थुप्रै मानिसहरूलाई जीवनको सही उद्देश्‍य थाह छैन। हामी र ती मानिसहरूबीचको भिन्‍नताबारे पावलले यस्तो लेखे: “‘आँखाले नदेखेका, कानले नसुनेका अनि मानिसहरूको मनले नबुझेका कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।’ परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा यी कुराहरू हामीलाई प्रकट गर्नुभएको छ।” (१ कोरि. २:९, १०) यहोवाको इच्छा अनि उहाँको उद्देश्‍य थाह पाएकोमा हामी साँच्चै आनन्दित छौँ नि, होइन र?

यहोवाले आफ्ना जनहरूको लागि अरू के-के गरिदिनुभएको छ, विचार गर्नुहोस्‌। उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ भन्‍ने कुरा थाह पाउँदा के हामी आनन्दित हुँदैनौँ र? (१ यूह. २:१२) यहोवाले हामीप्रति कृपा देखाउनुभएको कारण हामीले चाँडै आउन लागेको नयाँ संसारमा बाँच्ने साँचो आशा पाएका छौँ। (रोमी १२:१२) अहिले पनि यहोवाले हामीलाई उहाँको उपासना गर्ने असल साथीहरू दिनुभएको छ। (भज. १३३:१) यहोवा आफ्ना जनहरूलाई सैतान र त्यसका प्रेतहरूबाट जोगाउनुहुन्छ भनेर पनि उहाँको वचनले आश्‍वासन दिन्छ। (भज. ९१:११) यहोवाले दिनुभएका यी सबै आशिष्‌मा मनन गऱ्‍यौँ भने हाम्रो आनन्द झन्‌झनै बढ्‌नेछ।—फिलि. ४:४.

तपाईँ कसरी आफ्नो आनन्द बढाउन सक्नुहुन्छ?

के आनन्दित ख्रीष्टियनहरूले आफ्नो आनन्द अझै बढाउन सक्छन्‌? येशूले यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूले पनि पाउन सक र तिमीहरूको आनन्द झन्‌ बढ्‌दै जाओस्‌।” (यूह. १५:११) हामी आफ्नो आनन्द बढाउन सक्छौँ भनेर यस पदले स्पष्ट पार्छ नि, होइन र? आनन्द बढाउनुलाई आगोमा दाउरा थप्नुसित तुलना गर्न सकिन्छ। आगोको राप बढाउन तपाईँले दाउरा थप्नुपर्ने हुन्छ। त्यसरी नै आनन्द बढाउन हामीले आफ्नो आध्यात्मिकतालाई बलियो बनाउँदै लैजानुपर्छ। आनन्दलाई बढाउन हामीलाई परमेश्‍वरको पवित्र शक्‍ति चाहिन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। त्यसैले प्रार्थना गरेर यहोवासित पवित्र शक्‍ति मागिरह्‍यौँ अनि त्यही शक्‍तिद्वारा प्रेरित वचनमा मनन गरिरह्‍यौँ भने हामीले आफ्नो आनन्द अझै बढाउन सक्नेछौँ।—भज. १:१, २; लूका ११:१३.

यहोवालाई खुसी बनाउने काममा व्यस्त हुँदा पनि हामी आफ्नो आनन्द बढाउन सक्छौँ। (भज. ३५:२७; ११२:१) किन? बाइबलले बताएअनुसार हामी ‘परमेश्‍वरको भय राख्न र उहाँका आज्ञा पालन गर्न’ सृष्टि गरिएका हौँ अनि “योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उप. १२:१३) अर्को शब्दमा भन्‍ने हो भने हामी परमेश्‍वरको इच्छाअनुसारै गर्न सृष्टि गरिएका हौँ। त्यसैले यहोवाको सेवा गर्दा हामी आनन्दित हुनु स्वाभाविकै हो।b

आनन्दित हुँदा कस्ता फाइदाहरू हुन्छन्‌?

परमेश्‍वरले दिनुहुने आनन्द विकास गर्दा हामी मनमा आनन्दित हुनुका साथै अरू थुप्रै फाइदा पनि पाउँछौँ। उदाहरणको लागि, जस्तोसुकै समस्या आइपरे पनि हामीले आनन्दित भई यहोवाको सेवा गर्दा उहाँ खुसी हुनुहुनेछ। (व्यव. १६:१५; १ थिस्स. ५:१६-१८) साँचो आनन्द पाएकोले हामी भौतिक धनसम्पत्ति थुपार्नतर्फ लाग्नेछैनौँ बरु परमेश्‍वरको राज्यको लागि विभिन्‍न त्यागहरू गर्न उत्प्रेरित हुनेछौँ। (मत्ती १३:४४) अनि त्यसले ल्याउने असल नतिजा देख्दा हाम्रो आनन्द बढ्‌छ, हामी भित्रैदेखि खुसी महसुस गर्नेछौँ अनि अरूलाई पनि खुसी बनाउनेछौँ।—प्रेषि. २०:३५; फिलि. १:३-५.

मानव स्वास्थ्यबारे गरिएका विभिन्‍न अध्ययन केलाएपछि अमेरिकाको एउटा विश्‍वविद्यालयका अनुसन्धानकर्ताले यसो भने, “तपाईँ अहिले आफ्नो जीवनदेखि सन्तुष्ट हुनुहुन्छ र आनन्दित हुनुहुन्छ भने भविष्यमा स्वस्थ भइरहने सम्भावना धेरै हुन्छ।” यो कुरा बाइबलको यस पदसित मिल्दोजुल्दो छ: “प्रसन्‍न हृदय असल औषधी हो।” (हितो. १७:२२, NRV) हो, आफ्नो आनन्द बढाउँदै लैजाँदा तपाईँको स्वास्थ्य पनि राम्रो हुने सम्भावना धेरै हुन्छ।

यस चिन्तै चिन्ताले भरिएको संसारमा बाँच्नुपरे तापनि हामी प्रार्थनामा पवित्र शक्‍ति मागेर, यहोवाको वचन अध्ययन गरेर अनि त्यसमा मनन गरेर साँचो अनि चिरस्थायी आनन्द पाउन सक्छौँ। साथै अहिले पाइरहेका आशिष्‌हरूमा मनन गरेर, अरूले देखाएको विश्‍वासको अनुकरण गरेर अनि परमेश्‍वरको इच्छाअनुसार चल्न कोसिस गरेर आफ्नो आनन्द बढाउँदै लैजान सक्छौँ। यसो गऱ्‍यौँ भने हामीले भजन ६४:१० मा लेखिएको यो कुरा आफैले अनुभव गर्नेछौँ: “धर्मात्माहरूचाहिं परमप्रभुमा आनन्दित हुनेछन्‌, र उहाँमाथिनै भरोसा गर्नेछन्‌।”

a धीरजबारे हामी “पवित्र शक्‍तिको फलका पक्षहरू” शृङ्‌खलामा पछि आउने लेखमा विचार गर्नेछौँ।

b आनन्द बढाउन अझ के गर्न सक्छौँ, त्यसको लागि “आनन्द बढाउने अरू तरिकाहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

आनन्द बढाउने अरू तरिकाहरू

  • सरल जीवन बिताउनुहोस्‌, भौतिक धनसम्पत्ति थुपार्नतर्फ नलाग्नुहोस्‌।—लूका १२:१५.

  • आफूबाट बढ्‌तै माग नगर्नुहोस्‌।—मीका ६:८.

  • आफ्ना आध्यात्मिक लक्ष्यहरू हासिल गर्न जागिर, स्कुल, मनोरञ्जन वा अरू कुराले तपाईँलाई बाधा पुऱ्‍याउन नदिनुहोस्‌।—एफि. ५:१५, १६.

  • आफू र अरूप्रति व्यावहारिक हुनुहोस्‌।—फिलि. ४:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने