तपाईंको धर्म के त्यो कहिल्यै त्याग्न नहुने जहाज हो?
एउटा जहाज समुद्री आँधीमा फँसेको छ। आफ्नो जहाजलाई बचाउन भरमग्दुर प्रयास गरिरहेका कामदारहरूले एउटा नाटकीय निर्णयको सामना गर्नुपरेको छ: या त जहाजैमा बस्ने या त्यसलाई छोडेर आफ्नो ज्यान बचाउने। यस डरलाग्दो दृश्यलाई धर्म शिक्षाको उदाहरणस्वरूप चलाइएको छ भनेर के तपाईंलाई थाहा थियो?
धर्म विज्ञानीहरू अझ विशेषगरि क्याथोलिक विद्वानहरू आफ्नो चर्चलाई हुरी बतासमा फँसेको जहाजसँग तुलना गर्छन्। येशू वा पत्रुसको नियन्त्रणमा रहेको यो जहाज मुक्तिको एक मात्र उपाय हो भनी तिनीहरू भन्छन्। पादरीवर्ग यस्तो अडान लिन्छन्: ‘आफ्नो जहाजलाई कहिल्यै नत्याग्नुहोस्। हाम्रो चर्चले पहिले पनि गम्भीर संकटहरूको सामना गर्नु परेको थियो, तर हाम्रो चर्च त्यस्तो जहाज हो जसले सबै संकटलाई खपेको छ।’ केही व्यक्तिहरू यसो भन्छन्, ‘किन चर्चलाई छोड्ने? बरु त्यसलाई मदत गरेर शान्त पारे भइ हाल्छ नि। फेरि अरू विकल्पहरू पनि त छैन।’
उपरोक्त प्रतीकात्मक भाषाअनुरूप सबै धर्मपन्थीहरू यस्तो तर्क गर्छन्, ‘धेरै कुराहरूमा मेरो धर्म गलत छ भनेर मलाई थाहा छ, तर त्यो परिवर्तन हुनेछ भन्ने मलाई आशा छ। म त्यसलाई त्याग्न चाहन्न। समस्याहरूसँग जुझ्न म त्यसलाई मदत गर्न चाहन्छु।’ पुर्खौली धर्मप्रतिको निष्कपट स्नेह वा त्यसलाई “धोका” दिए सरह होला भन्ने डरले त्यसप्रकारका तर्कहरूमाथि प्रभाव परेको हुनसक्छ।
भिन्न मत भएका क्याथोलिक धर्म विज्ञानी हान्स कुन्गलाई यसको उपयुक्त उदाहरणस्वरूप लिन सकिन्छ। तिनले यसो भने: “के म आफ्नो जहाजलाई हुरी बतासबीच छोडुँ? आजसम्म सँगै यात्रा गरेका मेरा सहयात्रीहरूको हातमा के म हुरी बतास, जहाजमा भरिएको पानी फ्याँक्ने र शायद ज्यान जोगाउन संघर्ष गर्ने जस्ता सम्पूर्ण जिम्मेवारी छोडुँ?” तिनले जवाफ दिए: “चर्चभित्र मेरो प्रभावकारितालाई म कहिल्यै त्याग्ने छैन।” तर यसको अर्को विकल्प, “उच्च मूल्य तथा मान्यताहरूप्रतिको प्रेम र शायद अझ विश्वासयोग्य मसीही हुन चर्च असफल भएकोले त्यसलाई त्याग्नु हुनेछ।”—दि होफ्नुङ बेवारेना.
तर परमेश्वरले दयापूर्वक सबै धर्महरूलाई सुध्रने असीमित समय दिनु होला भनेर आशा गर्दै के कुनै व्यक्ति आफ्नै चर्चको जहाजमा बसिरहन सक्छ? यो एउटा गम्भीर प्रश्न हो। माथि उल्लिखित उदाहरणले देखाएझैं संकटमा परेको जहाजलाई छोडेर असुरक्षित लाइफ बोटमा चढ्नु पनि डुब्नै लागेको जहाजमा बस्नु जतिकै खतरनाक हुनसक्छ। हर हालतमा आफ्नै चर्चमा बस्नु के बुद्धिमानी कुरा हो? आज धर्महरूमा सुधार हुन सक्ने के-कस्ता सम्भावनाहरू छन्? परमेश्वरले कतिन्जेल तिनीहरूलाई आफ्नो इच्छा विरुद्ध चल्न दिनुहुनेछ?
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Chesnot/Sipa Press