प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bt chap. २६ pp. २०३-२१०
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
  • परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “उल्टो दिशाबाट बतास चलिरहेको थियो” (प्रेषित २७:१-७क)
  • “समुद्री आँधीले जहाजलाई बेसरी उचाल्न र पछार्न” थाल्छ (प्रेषित २७:७ख-२६)
  • “सबै जना सकुशल किनारामा पुगे” (प्रेषित २७:२७-४४)
  • “असाधारण दया” (प्रेषित २८:१-१०)
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • पावललाई रोम पठाइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “समुद्रका जोखिममा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पावल विपत्तिमाथि विजयी हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
bt chap. २६ pp. २०३-२१०

अध्याय २६

“तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”

पावल चढेको जहाज दुर्घटनाग्रस्त भए तापनि तिनको विश्‍वास ढलपल भएको छैन र तिनी मानिसहरूप्रति प्रेम देखाउँछन्‌

प्रेषित २७:१–२८:१० मा आधारित

१, २. पावलले कस्तो यात्रा गर्न लागेका छन्‌? तिनलाई कस्ता कुराहरूले पिरोलिरहेको हुन सक्छ?

पावलको मनमा फेस्तसले भनेको एउटा कुरा खेलिरहेको छ। त्यस कुराले पावलको जीवनमा ठूलो असर पार्नेछ। राज्यपाल फेस्तसले यसो भनेका थिए: “तिमी सिजरकहाँ नै जानेछौ।” जेलको चार भित्ता मात्रै हेरेर दुई वर्ष बिताइसकेका पावलले अब रोमसम्मको लामो यात्रा गर्दा फरक दृश्‍यहरू हेर्न पाउनेछन्‌। (प्रेषि. २५:१२) तर पावलले विगतमा पनि थुप्रै समुद्री यात्रा गरिसकेकोले तिनका सम्झनाहरूमा समुद्रको शीतल हावा र खुल्ला आकाश मात्र त थिएनन्‌। सिजरसामु हाजिर हुन यात्रा गरिरहँदा पावलको मनमा सायद अनेक प्रश्‍न मडारिरहेको थियो।

२ पावल थुप्रै चोटि “समुद्रको खतरामा” परिसकेका छन्‌। तिनी चढेको जहाज तीन चोटि क्षतिग्रस्त भयो अनि तिनले एक रात र एक दिन समुद्रमा बिताए। (२ कोरि. ११:२५, २६) यो यात्रा भने स्वतन्त्र हुँदा तिनले गरेका अरू मिसनरी यात्राभन्दा फरक हुनेछ। पावल कैदीको रूपमा यात्रा गर्दै छन्‌ र सिजरियादेखि रोमसम्म ३,००० किलोमिटरभन्दा लामो दूरी पार गर्दै छन्‌। के तिनी सकुशल रोम पुग्नेछन्‌? सकुशलै पुगे भने पनि के रोममा तिनले न्याय पाउनेछन्‌? नबिर्सनुहोस्‌, सैतानको संसारको त्यतिबेलाको सबैभन्दा शक्‍तिशाली सरकारले तिनको फैसला गर्न लागेको छ।

३. पावल के गर्न कटिबद्ध थिए? हामी यस अध्यायमा के छलफल गर्नेछौँ?

३ तपाईँले अहिलेसम्म पावलबारे थुप्रै कुरा पढिसक्नुभएको छ। तपाईँलाई के लाग्छ, आफूमाथि आइपर्ने कुराहरूबारे सोचेर के पावल अब निरुत्साहित हुनेछन्‌ र लत्तो छोड्‌नेछन्‌? त्यस्तो त हुनै सक्दैन! कठिनाइहरूले आफ्नो बाटो ढुकिरहेको छ भनेर तिनलाई थाह थियो तर आफूले कस्ता कठिनाइहरू भोग्नुपर्नेछ भनेर चाहिँ थाह थिएन। आफ्नो वशमा नभएका फिक्रीहरूको बोझले गर्दा आफूले सेवामा पाएको आनन्द तिनी किन गुमाउँथे र? (मत्ति ६:२७, ३४) यहोवा तिनले राज्यको सुसमाचार सुनाउन हरेक मौकाको सदुपयोग गरेको चाहनुहुन्छ भनेर पावललाई थाह छ। यसमा सांसारिक शासकहरूलाई सुसमाचार सुनाउनु पनि समावेश छ। (प्रेषि. ९:१५) जस्तोसुकै कठिनाइको सामना गर्नुपरे तापनि पावल आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न कटिबद्ध थिए। के हामी पनि तिनीजस्तै कटिबद्ध छौँ? आउनुहोस्‌, पावलको यस ऐतिहासिक यात्रामा तिनीसँगै जाऔँ र तिनको उदाहरणबाट सिक्न सक्ने पाठ विचार गरौँ।

“उल्टो दिशाबाट बतास चलिरहेको थियो” (प्रेषित २७:१-७क)

४. पावलको यात्रा कस्तो जहाजबाट सुरु भयो? तिनका सहयात्रीहरू को-को थिए?

४ पावल र अरू केही कैदीलाई रोमी अफिसर जुलियसको जिम्मा लगाइएको छ, जसले सिजरिया आइपुगेको मालवाहक जहाजमा यात्रा गर्ने निर्णय गरे। त्यो जहाज एसिया माइनरको पश्‍चिमी किनाराको एड्रामिटियमको बन्दरगाहबाट लेजभोस टापुमा पर्ने मितिलेने सहर हुँदै आएको थियो। यो जहाज बीच-बीचमा सामान झार्न र हाल्न रोकिँदै पहिले उत्तरतिर र त्यसपछि पश्‍चिमतिर जाने थियो। यस्ता जहाजहरूमा यात्रीहरूको लागि कुनै सुविधा हुँदैनथ्यो। कैदीहरूको त झन्‌ के वास्ता! (“समुद्री यात्रा र व्यापारिक मार्ग” शीर्षकको पेटी हेर्नुहोस्‌।) धन्‍न कैदीहरूको समूहमा पावल एक जना मात्र ख्रिष्टियन थिएनन्‌। कम्तीमा पनि अरू दुई जना ख्रिष्टियन तिनीसँगै थिए। तिनीहरू अरिस्तार्खस र लुका थिए। यो विवरण पक्कै पनि लुकाले लेखेका थिए। यी दुई वफादार सहयात्रीले यात्राको खर्च आफै बेहोरे कि पावलको सेवकको रूपमा यात्रा गरे, त्यो चाहिँ हामीलाई थाह छैन।—प्रेषि. २७:१, २.

समुद्री यात्रा र व्यापारिक मार्ग

प्राचीन समयमा जहाजहरू खासगरि यात्रीहरू बोक्न होइन तर मालसामान बोक्न प्रयोग गरिन्थ्यो। समुद्री यात्रा गर्नेहरूले आफ्नो गन्तव्यमा जाने मालवाहक जहाज खोज्नुपर्थ्यो, जहाजको मालिकसित भाडाको कुरा मिलाउनुपर्थ्यो र जहाज नहिँडेसम्म पर्खनुपर्थ्यो।

हजारौँ जहाज खाद्यान्‍न र अरू सामानहरू ओसारपसार गर्न भूमध्यसागरमा ओहोरदोहोर गरिरहन्थे। यात्रुहरू जहाजको खुला ठाउँमा सुत्नुपर्थ्यो। तिनीहरूले राती सुत्नको लागि आफैले पाल टाँग्नुपर्थ्यो र बिहान झिक्नुपर्थ्यो। यात्रामा चाहिने खानेकुरा र ओछ्यानजस्ता सबै सामान यात्रु आफैले बोक्नुपर्थ्यो।

यात्रा कति लामो हुने हो, त्यो पूर्णतया हावाको बहाबमा भर पर्थ्यो। हिउँदमा मौसम खराब हुने भएकोले नोभेम्बरको बीचदेखि मार्चको बीचसम्म समुद्री यात्रा ठप्पै हुन्थ्यो।

प्राचीन जहाज र त्यसका मुख्य चार भागहरू: १. पतवार। २. पछिल्तिरको पाल। ३. लङ्‌गर। ४. अगिल्तिरको पाल।

५. सिदोनमा पावलले कस्तो सङ्‌गतिको आनन्द उठाए? यसबाट हामी के सिक्न सक्छौँ?

५ जहाजले ११० किलोमिटर उत्तरतिर एक दिनको यात्रा गरेपछि सिरियाको समुद्री किनार सिदोनमा रोकियो। पावल रोमी नागरिक भएकोले र दोषी प्रमाणित नभइसकेकोले होला, जुलियसले तिनीसित अरू कैदीभन्दा फरक व्यवहार गरे। (प्रेषि. २२:२७, २८; २६:३१, ३२) जुलियसले पावललाई जहाजबाट निस्केर आफ्ना ख्रिष्टियन भाइबहिनीहरूलाई भेट्‌न जाने अनुमति दिए। लामो समय थुनामा परेका प्रेषित पावललाई अतिथि-सत्कार गर्न पाएकोमा भाइबहिनीहरू कत्ति खुसी भए होलान्‌! तपाईँ पनि यस्तै अतिथि-सत्कार गर्ने र यसबाट प्रोत्साहन पाउने मौका खोज्न सक्नुहुन्छ कि?—प्रेषि. २७:३.

६-८. सिदोनदेखि कनिडससम्म पावलको यात्रा कस्तो भयो? सुसमाचार सुनाउन पावलले कस्ता मौकाको सदुपयोग गरे?

६ जहाज सिदोनबाट निस्क्यो र पावलको गृहनगर टार्ससनजिकैको सिलिसिया हुँदै अघि बढ्यो। लुकाले जहाज अरू कुन-कुन ठाउँमा रोकियो भनेर नबताए तापनि “उल्टो दिशाबाट बतास चलिरहेको थियो” भनेर चाहिँ बताएका छन्‌। यसको नतिजा खतरनाक हुन सक्थ्यो। (प्रेषि. २७:४, ५) तैपनि पावलले सुसमाचार सुनाउने हरेक मौकाको सदुपयोग गरे भनेर हामी पक्का हुन सक्छौँ। जहाजमा भएका अरू कैदी, जहाजका कामदारहरू, यात्रीहरू, सिपाहीहरू र जहाज रोकिँदा बन्दरगाहमा भेटिने मानिसहरूलाई पावलले पक्कै पनि साक्षी दिए। के हामी पनि यसरी नै सुसमाचार सुनाउने मौकाको सदुपयोग गर्छौँ?

७ जहाज एसिया माइनरको दक्षिणी तट माइरामा पुग्यो। त्यहाँबाट पावल र अरूले छुट्टै जहाज चढ्‌नुपर्ने थियो। त्यस जहाजले तिनीहरूको अन्तिम गन्तव्य रोममा पुऱ्‍याउने थियो। (प्रेषि. २७:६) त्यतिबेला रोममा चाहिने अन्‍न मुख्यगरि मिश्रबाट ल्याइन्थ्यो। अन्‍न बोकेर मिश्रबाट आएको जहाज माइरामा रोकिन्थ्यो। जुलियसले त्यस्तै एउटा जहाज भेट्टाए र त्यही जहाजमा सिपाहीहरू र कैदीहरूलाई चढाए। त्यो जहाज पहिलो जहाजभन्दा ठूलो हुनुपर्छ। त्यसले गहुँका साथै जहाजका कामदारहरू, सिपाहीहरू, कैदीहरू अनि रोम जान लागेका अरू मानिसहरू गरेर २७६ जनालाई बोकेको थियो। त्यसैले त्यस जहाजमा पावलले अझ धेरै जनालाई साक्षी दिने मौका पाए।

८ त्यसपछि जहाज एसिया माइनरको दक्षिण पश्‍चिममा पर्ने कनिडसमा रोकियो। हावाको बहाब राम्रो भइदिए जहाजले यो दूरी एकै दिनमा पार गर्न सक्थ्यो। तर “निकै दिनसम्म सुस्तरी यात्रा गरेपछि हामी मुस्किलले कनिडस पुग्यौँ” भनेर लुका लेख्छन्‌। (प्रेषि. २७:७क) हो, जहाज चलाउन झन्‌झनै गाह्रो हुँदै गएको थियो। (पृष्ठ २०८ मा भएको “भूमध्यसागरमा उल्टो दिशाबाट चल्ने बतास” शीर्षकको पेटी हेर्नुहोस्‌।) समुद्री आँधीबेहरी चलिरहँदा र ठूलठूला छालले जहाजलाई हिर्काइरहँदा यात्रीहरूको हालत कस्तो भयो होला!

भूमध्यसागरमा उल्टो दिशाबाट चल्ने बतास

प्राचीन समयका मालवाहक जहाजहरू भूमध्यसागरमा कहाँ र कहिले जाने भन्‍ने कुरा निकै हदसम्म बतास र मौसममा भर पर्थ्यो। साधारणतया समुद्रको पूर्वी भागमा जूनदेखि सेप्टेम्बर महिनासम्म पश्‍चिमबाट पूर्वतिर बतास चल्थ्यो। यसले गर्दा जहाजलाई पूर्वतिर लैजान सजिलो हुन्थ्यो। यो कुरा पावलले आफ्नो तेस्रो मिसनरी यात्रामा अनुभव गरे। तिनी र तिनका साथीहरू मिलेटसमा जहाज चढे। त्यो जहाज रोडस हुँदै पटारा पुग्यो। त्यहाँबाट जहाज सीधै फोनिसियाको तटमा पर्ने टायरमा पुग्यो। लुकाले तिनीहरू साइप्रसलाई देब्रेतिर पार्दै यात्रा गरेको कुरा लेखेका छन्‌। यसको मतलब तिनीहरू साइप्रसको दक्षिणतिर लागे।—प्रेषि. २१:१-३.

उल्टो दिशामा अर्थात्‌ पश्‍चिमतिर यात्रा गर्ने विषयमा चाहिँ के भन्‍न सकिन्छ? बतासले साथ दिएको खण्डमा पूर्वतिर गएझैँ त्यही बाटो हुँदै पश्‍चिमतिर पनि जान सकिन्थ्यो। तर कहिलेकाहीँ यो कुरा असम्भव नै हुन्थ्यो। दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया यसो भन्छ: “हिउँदमा वायुमण्डलमा उतारचढाव हुन्छ र पूर्वबाट भूमध्यसागर हुँदै आउने भुमरीले ठूलो आँधी पनि ल्याउँछ। यो आँधी कहिलेकाहीँ त यत्ति शक्‍तिशाली हुन्छ कि यसले गर्दा घनघोर वर्षा हुन्छ वा हिउँ समेत पर्ने गर्छ।” यस्तो अवस्थामा यात्रा गर्न एकदमै जोखिमपूर्ण हुन्थ्यो।

प्रायजसो सबै मौसममा समुद्र किनारमा भएका जहाजहरू प्यालेस्टाइनको तट हुँदै उत्तरतर्फ र त्यहाँबाट पाम्फिलियाको पश्‍चिमसम्म जान सक्थे। यात्राको अन्ततिर जमिनको सतहबाट बहने मन्द हावा र पश्‍चिमतिर बहने समुद्रको पानीको बहाबले जहाजलाई यात्रा गर्न सजिलो बनाउँथ्यो। कैदीको रूपमा पावल रोम जाँदा यात्राको पहिलो भागमा यस्तै भएको थियो। तर बतास उल्टो दिशाबाट चल्न पनि सक्थ्यो। (प्रेषि. २७:४) लुकाले बताएअनुसार अन्‍न बोकेको जहाज मिश्रबाट उत्तरतिर लागेको हुन सक्छ अनि त्यसपछि साइप्रस र एसिया माइनरबीचको सुरक्षित मार्ग हुँदै गएको हुन सक्छ। कप्तानले माइराबाट पश्‍चिमतिर अर्थात्‌ ग्रीसको माथिल्लो भाग र इटालीको पश्‍चिमी तटतिर यात्रालाई जारी राख्ने विचार गरेका थिए। (प्रेषि. २७:५, ६) तर बतास र मौसमले त्यस यात्राको बाटो पूरै बदलिदियो।

“समुद्री आँधीले जहाजलाई बेसरी उचाल्न र पछार्न” थाल्छ (प्रेषित २७:७ख-२६)

९, १०. क्रेट टापुवरिपरि कस्तो समस्या खडा भयो?

९ जहाजका कप्तानले कनिडसबाट पश्‍चिमतिर यात्रा जारी राख्ने योजना बनाए तर प्रत्यक्षदर्शी लुकाले बताएअनुसार “बतासले गर्दा अगाडि बढ्‌न गाह्रो” भयो। (प्रेषि. २७:७ख) समुद्री किनारबाट जहाज हिँड्‌न थाल्दा किनाराबाट बहने पानीको बहाबअनुसार नगई उत्तर पश्‍चिमबाट चलेको वेगको हावाले गर्दा जहाज सायद जोडसित दक्षिणतिर हुत्तियो। उल्टो दिशाबाट आएको बतासबाट जहाजलाई पहिले साइप्रस टापुले जोगाएझैँ यसपालि क्रेट टापुले जोगायो। जहाजले क्रेटको सुदूरपूर्वको पुछारमा पर्ने सालमोनेको चट्टाने भीर पार गरेपछि मौसममा केही सुधार आयो। किन? किनकि जहाज टापुको दक्षिणी भागमा आइपुगेको थियो र त्यहाँ बेसरी बतास चलेको थिएन। यात्रीहरूले कत्ति ढुक्क महसुस गरे होलान्‌! तर समुद्री यात्रा नसिद्धिएसम्म जहाजका कामदारहरूले आउँदै गरेको हिउँदलाई बेवास्ता गर्न सक्दैनथे। यो तिनीहरूको लागि चिन्ताको विषय थियो।

१० लुकाले यसरी घटनाको सही वर्णन गरे: हामी “[क्रेटको] किनारै किनार भएर सुन्दर-बन्दरगाह भनिने ठाउँमा बडो मुस्किलले पुग्यौँ।” तैपनि जहाजलाई नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको थियो। अन्ततः तिनीहरूले लङ्‌गर खसालेर जहाज अड्याउन सकिने एउटा सानो खाडी भेटे। उक्‍त खाडी समुद्री किनार उत्तरतर्फ मोडिने ठाउँमा पर्छ भनेर अनुमान लगाइएको छ। तिनीहरू त्यहाँ कति लामो समय रोकिए? “धेरै दिन” भनेर लुकाले बताए। तर त्यहाँ लामो समय बस्दा यात्रा जोखिमपूर्ण हुन सक्थ्यो किनकि सेप्टेम्बर/अक्टोबरमा समुद्री यात्रा गर्नु खतरनाक थियो।—प्रेषि. २७:८, ९.

११. पावलले जहाजमा भएका मानिसहरूलाई कस्तो सल्लाह दिए तर कस्तो निर्णय भयो?

११ पावलले पहिले पनि भूमध्यसागरमा यात्रा गरिसकेकोले कोही-कोही यात्रीले पावलसँग सल्लाह मागेका हुन सक्छन्‌। पावलले जहाजलाई अघि बढाउनु हुँदैन भनेर सल्लाह दिए। यसो गरेमा “ठूलो क्षति हुनुका साथै हाम्रो ज्यानसमेत खतरामा पर्नेछ” भनेर तिनले बताए। तर जहाजका कप्तान र जहाज-धनीलाई सक्दो चाँडो सुरक्षित ठाउँमा पुगिहाल्नुपर्छ भन्‍ने लागेकोले त्यहाँ रोकिन चाहेनन्‌। तिनीहरूले जुलियसलाई मनाए। जहाजमा भएका थुप्रैलाई अझै परको फिनिक्स बन्दरगाहमा जसोतसो पुग्नुपर्छ भन्‍ने लाग्यो। सायद त्यो बन्दरगाह ठूलो र राम्रो भएकोले हिउँद काट्‌न सजिलो हुने थियो। त्यसैले दक्षिणबाट बहने बतास अलि मन्द भएपछि जहाज त्यहाँबाट निस्क्यो।—प्रेषि. २७:१०-१३.

१२. क्रेटबाट निस्केपछि जहाज कस्तो खतरामा पऱ्‍यो? जहाजलाई दुर्घटनाबाट जोगाउन कामदारहरूले के गरे?

१२ त्यसपछि झनै गाह्रो भयो। उत्तर-पूर्वबाट “भीषण समुद्री आँधी” चल्न थाल्यो। केही समयको लागि तिनीहरूले सुन्दर बन्दरगाहबाट लगभग ६५ किलोमिटर टाढा पर्ने “कौदा नाम गरेको सानो टापु”-मा आश्रय लिए। तैपनि खतरा टरेको थिएन। आँधीले जहाजलाई दक्षिणतिर हुत्त्याउँदै लगेर अफ्रिकाको किनारामा पर्ने सिरटिस भन्‍ने बलौटे दलदलमा पुऱ्‍याउन सक्थ्यो र जहाज धसिएर ध्वस्त हुन सक्थ्यो। त्यस्तो नहोस्‌ भनेर नाविकहरूले जहाजको पछिल्तिर बाँधेर राखिएको डुङ्‌गा हतारहतार तान्‍न थाले। त्यो सानो डुङ्‌गा सायद पानीले भरिएकोले तिनीहरूलाई तान्‍न हम्मेहम्मे पऱ्‍यो। त्यसपछि तिनीहरूले जहाजका फल्याकहरू कस्न जहाजलाई डोरी र साङ्‌लाले बेरे। तिनीहरूले पाल झारे र जहाजलाई हावाको बहाबमा आफै बहन छोडिदिए। कत्ति डरलाग्दो अवस्था! यति गरिसक्दा पनि “समुद्री आँधीले जहाजलाई बेसरी उचाल्न र पछार्न” छोडेन। तेस्रो दिन तिनीहरूले जहाज समुद्रमा तैरिरहोस्‌ भनेर आफैले मस्तुलका डोरीहरू समुद्रमा फ्याँकिदिए।—प्रेषि. २७:१४-१९.

१३. आँधीको बेला जहाजभित्रका मानिसहरूको अवस्था कस्तो थियो होला?

१३ जहाजका सबै यात्री कत्ति त्रसित भए होलान्‌! तर पावल र तिनका सहयात्रीहरू भने सबैको ज्यान जोगिन्छ भन्‍ने कुरामा ढुक्क थिए। पावलले रोममा साक्षी दिनुपर्छ भनेर प्रभुले तिनलाई भन्‍नुभएको थियो। यो कुरा स्वर्गदूतले पछि बताएको कुराबाट झनै पक्का भयो। (प्रेषि. १९:२१; २३:११) तर दुई हप्तासम्म आँधी थामिँदै थामिएन। घनघोर वर्षा र बाक्लो बादलले घाम र ताराहरूसमेत नदेखिने भएकोले जहाज कहाँ छ र कुन दिशामा जाँदै छ भनेर कप्तानले ठम्याउन सकेनन्‌। यस्तो अवस्थामा खाना खान पनि सम्भव थिएन। समुद्री यात्राले गर्दा भएको बिसन्चो, कठ्याङ्‌ग्रिने जाडो, दर्किरहेको पानी अनि त्रासैत्रास! त्यस्तो बेला खाना खाने कुरा कसले पो सोच्न सक्थ्यो र?

१४, १५. (क) पावलले आफूले पहिल्यै दिएको चेतावनी किन फेरि सम्झाए? (ख) पावलले बताएको आशाले भरिएको सन्देशबाट हामी के सिक्न सक्छौँ?

१४ पावल खडा भए। तिनले सबैलाई आफूले पहिल्यै दिएको चेतावनी सम्झाए। तर ‘एउटा कानले सुनेर अर्को कानले उडाइहाल्यौ’ भनेर घोचपेच त गरेनन्‌। जे-जति घटनाहरू भए, त्यसबाट तिनको सुझाव मान्‍नुपर्ने थियो भनेर प्रस्ट भयो। त्यसपछि पावलले यसो भने: “म तपाईँहरूलाई आग्रह गर्छु, हरेस नखानुहोस्‌ किनकि तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन तर यो जहाज मात्र नष्ट हुनेछ।” (प्रेषि. २७:२१, २२) तिनको कुरा सुनेर सबैले बल्ल चैनको सास फेरे! यहोवाले यस्तो सान्त्वनादायी सन्देश सुनाउन आफूलाई चलाउनुभएकोमा पावल पनि एकदमै खुसी भएको हुनुपर्छ। यहोवा प्रत्येक मानिसको जीवनलाई अनमोल ठान्‍नुहुन्छ भनेर सम्झनु कत्ति महत्त्वपूर्ण छ! उहाँ प्रत्येक मानिसको ख्याल राख्नुहुन्छ। प्रेषित पत्रुसले यस्तो लेखे: “यहोवा परमेश्‍वर . . . कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९) परमेश्‍वर मानिसहरूको जीवनलाई अनमोल ठान्‍नुहुन्छ। त्यसकारण धेरैभन्दा धेरै मानिसलाई यहोवाले दिनुभएको आशाको सन्देश सुनाउनु कत्ति जरुरी छ! यसमा तिनीहरूको जीवन-मरणको सवाल छ।

१५ सायद यसअघि पनि पावलले जहाजका थुप्रै यात्रीलाई ‘परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामाथि आशा’ राख्नेबारे साक्षी दिएका थिए। (प्रेषि. २६:६; कल. १:५) तर जहाज दुर्घटना हुने निश्‍चित देखिएको अहिलेको परिस्थितिमा भने तिनले उनीहरूलाई अर्को महत्त्वपूर्ण आशाबारे बताउने मौका पाए। तिनले यसो भने: “परमेश्‍वरको . . . स्वर्गदूत हिजो राती मेरो छेवैमा आए र यसो भने: ‘नडराऊ पावल। तिमी सिजरसामु खडा हुनै पर्छ अनि हेर, तिमीसँगै यात्रा गर्नेहरूको ज्यान पनि परमेश्‍वरले जोगाउनुहुनेछ!’” पावलले तिनीहरूलाई यस्तो आग्रह गरे: “त्यसैले मित्रहरू हो, हरेस नखानुहोस्‌ किनकि स्वर्गदूतले मलाई भनेको कुरा परमेश्‍वरले अवश्‍य पूरा गर्नुहुनेछ भनेर मलाई पूरा विश्‍वास छ। तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर पक्कै क्षतिग्रस्त हुनेछ।”—प्रेषि. २७:२३-२६.

“सबै जना सकुशल किनारामा पुगे” (प्रेषित २७:२७-४४)

यात्रीहरू भएको मालवाहक जहाजमा पावल सबैसामु प्रार्थना गर्दै छन्‌। केही थकित यात्रीहरू शिर निहुराउँदै छन्‌ भने बाँकीले हेर्दै छन्‌। बाकसमाथि रोटीका टुक्राहरू छन्‌।.

“तिनले . . . सबैसामु परमेश्‍वरलाई धन्यवाद चढाए।”​—प्रेषित २७:३५

१६, १७. (क) पावलले कुन बेला प्रार्थना गरे? यसको परिणाम कस्तो भयो? (ख) पावलले भनेको कुरा कसरी पूरा भयो?

१६ त्रासैत्रासमा दुई हप्ता बितिसकेको थियो। यतिबेलासम्म जहाज लगभग ८७० किलोमिटर पर पुगिसकेको थियो। त्यसपछि नाविकहरूले केही परिवर्तन भएको महसुस गरे। सायद तिनीहरूले छालहरू जमिनमा ठोक्किरहेको आवाज सुने। हावाले हुत्त्याउन नपाओस्‌ भनेर तिनीहरूले जहाजलाई रोक्न त्यसको पछिल्लो भागबाट लङ्‌गर झारे र अघिल्लो भाग समुद्र किनारतिर फर्काए। त्यतिबेला नाविकहरू जहाज छोडेर भाग्न खोजे तर सिपाहीहरूले तिनीहरूलाई रोके। पावलले सैनिक अफिसर अनि सिपाहीहरूलाई यसो भने: “यी मानिसहरू जहाज छोडेर गए भने तपाईँहरू बच्नुहुनेछैन।” जहाज अलि सन्तुलनमा आइसकेपछि पावलले सबै जना बाँच्नेछन्‌ भनेर फेरि आश्‍वासन दिँदै तिनीहरू सबैलाई खाना खान आग्रह गरे। त्यसपछि पावलले ‘सबैसामु परमेश्‍वरलाई धन्यवाद चढाए।’ (प्रेषि. २७:३१, ३५) यसरी परमेश्‍वरलाई धन्यवादको प्रार्थना चढाउँदा पावलले लुका, अरिस्तार्खस र आजका सबै ख्रिष्टियनको लागि पनि एउटा उदाहरण बसाले। तपाईँले पनि सार्वजनिक रूपमा प्रार्थना गर्दा के त्यसले अरूलाई प्रोत्साहन र सान्त्वना दिन्छ?

१७ पावलले प्रार्थना गरेपछि “सबैले हौसला पाए अनि उनीहरूले पनि खान थाले।” (प्रेषि. २७:३६) जहाज किनारातिर लैजान सजिलो होस्‌ भनेर तिनीहरूले गहुँका भारीहरू समुद्रमा फालेर जहाजलाई हलुङ्‌गो बनाउन थाले। उज्यालो भएपछि तिनीहरूले डोरी काटेर लङ्‌गरहरूलाई समुद्रमा खसाले, पतवार बाँध्ने डोरी पनि खुकुलो पारे र जहाजलाई किनारामा अड्याउन अघिल्लो भागको पाल उठाए। तर जहाजको अघिल्लो भाग बालुवाको ढिस्कोमा धसियो अनि जहाजको पछिल्लो भागचाहिँ छालले हानेर टुक्रिन थाल्यो। एक जना कैदी पनि पौडेर भाग्न नपाओस्‌ भनेर केही सिपाहीले उनीहरूलाई मार्ने विचार गरे। तर जुलियसले रोके। उनले सबैलाई पौडेर वा कुनै चीजको सहारा लिएर किनारामा जान आदेश दिए। पावलले भनेको कुरा सही साबित भयो। हो, २७६ जना नै बाँचे। उनीहरू “सबै जना सकुशल किनारामा पुगे।” तर त्यो कुन ठाउँ थियो?—प्रेषि. २७:४४.

“असाधारण दया” (प्रेषित २८:१-१०)

१८-२०. माल्टाका मानिसहरूले कसरी “असाधारण दया देखाए”? परमेश्‍वरले पावललाई कस्तो चमत्कार गर्ने शक्‍ति दिनुभयो?

१८ दुर्घटनाबाट बचेका मानिसहरू सिसिलीको दक्षिणमा पर्ने माल्टा टापुमा पुगेका रहेछन्‌। (“माल्टा कहाँ पर्थ्यो?” शीर्षकको पेटी हेर्नुहोस्‌।) अर्कै भाषा बोल्ने त्यहाँका मानिसहरूले तिनीहरूप्रति “असाधारण दया देखाए।” (प्रेषि. २८:२) निथ्रुक्क भिजेका र जाडोले लुगलुग काँप्दै किनारामा आइपुगेका यी अपरिचित मानिसहरूका लागि त्यस टापुका मानिसहरूले आगो बालिदिए। यसले गर्दा झरी र जाडोले कक्रिएका यात्रीहरूलाई न्यानो भयो। यतिबेला एउटा चमत्कार पनि भयो।

१९ पावल अरूलाई सघाउन चाहन्थे। त्यसैले तिनले झिँजा बटुलेर आगोमा हाल्दा एउटा विषालु सर्प निस्क्यो। त्यसले तिनलाई डस्यो र तिनको हातमा बेरियो। यो देखेर माल्टाका मानिसहरूले परमेश्‍वरले तिनलाई सजाय दिनुभएको हो भन्ठाने।a

२० पावललाई सर्पले डसेको देखेर त्यहाँका मानिसहरूले अब तिनको “हात सुनिएर आउँछ होला” भन्ठाने। एउटा सन्दर्भ पुस्तकअनुसार यस पदमा मौलिक भाषामा चलाइएको अभिव्यक्‍ति “चिकित्सासम्बन्धी अभिव्यक्‍ति” हो। यस्तो शब्द “प्रिय वैद्य लुका”-को मनमा आउनु कुनै अचम्मलाग्दो कुरा होइन। (प्रेषि. २८:६; कल. ४:१४) कुरा जे भए पनि पावलले हात झट्‌कारेर त्यो विषालु सर्पलाई झारे र तिनलाई केही पनि भएन।

२१. (क) लुकाको यस विवरणमा के-कस्ता सही जानकारीहरू पाइन्छ? (ख) पावलले कस्तो चमत्कार गरे र यसले माल्टाका मानिसहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

२१ त्यस ठाउँमा पब्लियस नाम गरेका जमिनदार बस्थे। उनी सायद माल्टाका मुख्य रोमी अधिकारी थिए। लुकाले उनलाई “त्यस टापुका मुखिया” भनेका छन्‌। माल्टामा भेट्टाइएका दुई शिलालेखमा पनि ठ्याक्कै यस्तै पदवी उल्लेख गरिएको छ। उनले पावल र तिनका साथीहरूलाई तीन दिनसम्म सत्कार गरे। पब्लियसका बुबा बिरामी थिए। वास्तवमा ती बिरामीलाई के भएको हो भनेर लुकाले प्रस्टसित बताइदिए। तिनले पब्लियसका बुबा “ज्वरो र आउँले थला परेका थिए” भनेर लेखे। यसरी तिनले यतिबेला पनि बिरामीको अवस्थाबारे बुझाउन चिकित्सासम्बन्धी अभिव्यक्‍ति नै चलाए। पावलले प्रार्थना गरे अनि उनीमाथि आफ्नो हात राखे। त्यसपछि पब्लियसका बुबा निको भए। यो चमत्कारबाट प्रभावित भएर त्यहाँका मानिसहरूले बिरामीहरूलाई पावलकहाँ ल्याउन थाले र उनीहरू निको भए। तिनीहरूले पावल र उनका साथीहरूको आवश्‍यकता पूरा गर्न थुप्रै उपहार दिए।—प्रेषि. २८:७-१०.

२२. (क) एक जना प्राध्यापकले लुकाले लेखेको रोमसम्मको समुद्री यात्राको विवरणबारे के भने? (ख) हामी अर्को अध्यायमा के छलफल गर्नेछौँ?

२२ हामीले अहिलेसम्म छलफल गरेको पावलको यात्राको विवरण एकदमै सही छ। एक जना प्राध्यापकले यसो भने: “लुकाको विवरण . . . पूरै बाइबलमा पाइने जीवन्त घटनामध्ये एक हो। प्रथम शताब्दीको जहाज चलाउने तरिकाबारे र पूर्वीय भूमध्यसागरको अवस्थाबारे बताइएको विवरण यत्ति सही छ” कि त्यो एउटा दैनिकीमा आधारित हुनुपर्छ। लुकाले सायद यो दैनिकी प्रेषित पावलसँगै यात्रा गर्दा लेखेका हुन सक्छन्‌। यदि त्यसो हो भने यात्राको अर्को भागबारे पनि तिनले यसरी नै लेखेको हुनुपर्छ। तिनीहरू रोममा आइपुगेपछि पावललाई के हुन्छ होला? आउनुहोस्‌, अब यो कुरा छलफल गरौँ।

माल्टा कहाँ पर्थ्यो?

पावलको जहाज दुर्घटनाग्रस्त भएको “माल्टा” यही हो भनेर मानिसहरूले अनेक टापुलाई इङ्‌गित गर्छन्‌। तीमध्ये एउटा ग्रीसको पश्‍चिमी तटमा पर्ने कोर्फुनजिकैको टापु हो। कसै-कसैले चाहिँ प्रेषितको पुस्तकमा चलाइएको “माल्टा” शब्दलाई नै जोड दिएका छन्‌। त्यो ग्रीक शब्द हो। त्यसैले कसै-कसैले दुर्घटनास्थल मिलेट्टे इलेरिका हो भन्छन्‌। अहिले यस ठाउँलाई मिल्येट भनेर चिनिन्छ। यो एड्रिया समुद्रमा पर्ने क्रोएसियाको तटमा पर्छ।

प्रेषित २७:२७ मा “एड्रिया समुद्र”-बारे उल्लेख गरिएको छ। तर पावलको समयको “एड्रिया”-ले हालको एड्रिया समुद्रभन्दा ठूलो इलाकालाई बुझाउँथ्यो। त्यसमा आयोनियन समुद्र अनि सिसिलीको पूर्व र क्रेटको पश्‍चिममा पर्ने समुद्री इलाका समावेश थियो। त्यसैले यसले वर्तमान समयको माल्टानजिकैको समुद्रलाई पनि बुझाउँथ्यो।

पावल चढेको जहाजलाई बतासले कनिडसबाट हुत्त्याउँदै दक्षिणतिर अर्थात्‌ तल क्रेटतिर पुऱ्‍यायो। यस्तो शक्‍तिशाली बतासलाई विचार गर्दा जहाज फेरि फर्केर उत्तरतिर पर्ने मिल्येट वा कोर्फुनजिकैको टापुमा गयो भन्‍नु त असम्भव देखिन्छ। त्यसैले माल्टा पश्‍चिमतिर थियो भन्‍नु उपयुक्‍त छ। यी सबै कुरा विचार गर्दा पावल चढेको जहाज सिसिलीको दक्षिणतिर पर्ने माल्टा टापुमा दुर्घटनाग्रस्त भएको थियो भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ।

a त्यहाँका मानिसहरूलाई त्यस्ता सर्पहरूबारे थाह भएको कुराबाट त्यतिबेला त्यस टापुमा विषालु सर्पहरू थिए भन्‍ने बुझिन्छ। आज माल्टामा विषालु सर्पहरू पाइँदैनन्‌। यसो हुनुको कारण सायद सयौँ वर्षको दौडान त्यहाँको वातावरणमा आएको परिवर्तन हुन सक्छ वा जनसङ्‌ख्या बढेकोले त्यस टापुबाट विषालु सर्पहरू लोप भएका हुन सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने