“हामीसँग यो सेवा भएको हुनाले हामी हरेस खाँदैनौं”
रोनल्ड टेलरको वृतान्तमा आधारित
सन् १९६३ को ग्रीष्म ऋतुमा मैले आफ्नो जीवन बचाउन संघर्ष गर्नुपऱ्यो। पानीमा हिंड्दै म किनारातर्फ जाँदैथिए। तर धोखामा परेर अचानक पानीको साह्रै गहिरो भागमा टेक्न पुगें। मलाई पौडी खेल्न आउँदैन थियो र किनाराभन्दा केही मिटर टाढा यस खाडलमा म डुब्नै लागेको थिएँ। तीन चोटि म पानीमा डुबेर उत्रिसकेको थिएँ र समुद्री पानी निकै निलिसकेको थिएँ। त्यतिकैमा एक मित्रले मेरो दुर्दशा देखेर मलाई बचाएर किनारातर्फ लग्यो। धन्य उसले तत्कालै कृत्रिम श्वास प्रश्वास गराएकोले म बचें।
निराशाजनक स्थिति आइपरिहाले तापनि कहिल्यै हरेस नखानु कतिको महत्त्वपूर्ण रहेछ भनेर मैले सिकेको यो पहिलो चोटि होइन। कलिलो उमेरदेखि मैले आफ्नो आध्यात्मिक जीवनको लागि संघर्ष गर्नु परेको थियो।
म पहिलो चोटि मसीही विश्वासको सम्पर्कमा आउँदा चारैतिर दोस्रो विश्व–युद्धको कालो बादल छाएको थियो। बमवर्षाबाट बच्न लन्डनबाट अन्यत्र सारिएका हजारौं बालबच्चाहरूमध्ये म पनि थिएँ। त्यतिबेला म मात्र १२ वर्षको थिएँ। त्यसकारण मलाई युद्ध भनेको के हो भनेर त्यति राम्ररी थाहा थिएन; मेरो लागि त्यो रोमाञ्चकारी अभियान बराबर थियो।
बेलाइतको दक्षिणपश्चिम भागमा पर्ने वेस्टन-सुपर-मेरका वृद्ध दम्पतीले मलाई आफ्नो रेखदेखमा लिए। यस दम्पतीको घरमा आएको केही दिन भित्रै केही अग्रगामी सेवकहरू हामीकहाँ आउन थाले। तिनीहरू हारग्रिब्स परिवारका थिए; परिवारका चारै जना रेग, माब्स, पामेला र भलेरी विशेष अग्रगामीहरू थिए। मेरा धर्म मातापिताले सच्चाइलाई अपन्याए र द हार्प अफ गड (परमेश्वरको वीणा) पुस्तक पढेपछि मैले पनि यहोवाको सेवा गर्ने निधो गरें। त्यसपछि छ हप्ता बित्दा नबित्दै मलाई प्रचार–कार्यमा भाग लिन आमन्त्रित गरियो।
पहिलो पटक प्रचारमा गएको दिन मलाई अझै पनि सम्झना छ। कुनै पूर्वतयारीबिना मेरो हातमा केही पुस्तिकाहरू थमाइदिएर मलाई यसो भनिएको थियो: “तिमी सडकको त्यो पल्लो छेउमा गएर काम गर।” त्यसरी मैले प्रचार-कार्यको पहिलो अनुभव बटुलें। त्यसताका प्रायः जोडदार उपदेशहरू भएका फोनोग्राफ रेकर्डद्वारा हामी प्रचार गर्थ्यौं। त्यतिबेला आफैले फोनोग्राफलाई घर-घर लगेर भाषणहरू बजाउन सक्दा मलाई साह्रै खुशी लागेको थियो। आफूलाई त्यस्तो काममा प्रयोग गरिएकोमा मैले त्यसलाई साँचो सुअवसरको रूपमा लिएँ।
मैले स्कूलमा निकै साक्षी दिएँ। बाइबल विषयहरूमा आधारित एक सेट पुस्तकहरू मेरो प्रधानाध्यापकलाई दिएको मलाई अहिलेसम्म सम्झना छ। समय बित्दै जाँदा बाथ भन्ने ठाउँ नजिकैको सम्मेलनमा मैले १३ वर्षको उमेरमा बप्तिस्मा लिएँ। युद्धकालीन समयमा भएको अर्को सम्मेलनलाई म कहिले बिर्सन सक्दिनँ। सन् १९४१ मा लेस्टरस्थित दे मनफोर्ट भवनमा उक्त सम्मेलन भएको थियो। त्यस सम्मेलनमा मैले मञ्चमा गएर चिल्ड्रेन (केटाकेटीहरू) पुस्तक लिएको थिएँ। यो पुस्तकमा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष भाइ रदरफोर्डको व्यक्तिगत समाचार थियो। सो सम्मेलनमा उपस्थित सबै जवानहरूको लागि दिइएको भावोत्तेजक भाषणले यहोवाको सेवा गर्ने मेरो इच्छालाई पुनः बलियो बनायो।
यसप्रकार सच्चाइमा हुर्कंदै मैले आफ्ना धर्म मातापितासँग रमाइला दुई वर्ष बिताएँ। तर १४ वर्षको उमेरमा मैले लन्डन फर्केर आफ्नो जीविका धान्नुपऱ्यो। आफ्नो परिवारसँग पुनर्मिलन भए तापनि आध्यात्मिक तवरमा म आफ्नै खुट्टामा उभिनुपऱ्यो। किनभने मेरो घरका कोही पनि सच्चाइमा थिएनन्। तर यहोवाले चाँडै नै मलाई चाहिएको मदतको प्रबन्ध गर्नुभयो। लन्डन आएको तीन महिना भित्रमा एक भाइ मलाई भेट्न घरमा आउनुभयो। मलाई स्थानीय राज्य भवनमा लैजान उहाँ मेरो बुबासँग अनुमति लिन आउनुभएको थियो। मलाई बोलाउन आउनुहुने त्यस भाइ जोन बार हुनुहुन्थ्यो। उहाँ अहिले यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य हुनुहुन्छ। मेरो संकटकालीन किशोरावस्थामा मेरा आध्यात्मिक “पिताहरूमध्ये” उहाँ पनि हुनुहुन्थ्यो।—मत्ती १९:२९.
लन्डन बेथेल घर नजिकै क्रेभन टेरेस नाउँ गरेको इलाकामा मैले पाडिङ्गटन मण्डली धाउन थालें। आध्यात्मिक तवरमा टुहुरो भएकोले वृद्ध अभिषिक्त भाइ हम्फ्रीज अथवा मेरो “पितालाई” ममाथि विशेष रेखेदेख गर्न खटाइयो। त्यस मण्डलीमा भएका थुप्रै अभिषिक्त भाइबहिनीहरूसँग संगत गर्न पाउनु निस्सन्देह मेरो लागि ठूलो आशिष् थियो। हामी पार्थिव आशा हुने जतिलाई त्यतिबेला यहोनादाब भन्थ्यौं र त्यतिबेला हामी ज्यादै कम थियौं। वास्तवमा, मैले धाउने गरेको पुस्तक अध्ययनमा “यहोनादाबको” नाउँमा ममात्र थिएँ। आफ्नो उमेरका जवानहरूसँग त्यति संगत गर्न नपाए तापनि परिपक्व भाइहरूसँगको अमूल्य संगतिले मलाई धेरै लाभदायी कुराहरू सिकायो। यहोवाको सेवालाई कहिल्यै नत्याग्नु नै शायद मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा होला।
त्यसताका हामी पूरै सप्ताहन्त प्रचार–कार्यमा लगाउने गर्थ्यौं। मलाई “ध्वनियन्त्रयुक्त गाडी” चलाउने जिम्मेवारी दिइएको थियो। तर वास्तवमा त्यो गाडी नभएर ध्वनियन्त्र र कारको ब्याट्री राख्न मिल्ने गरी बनाइएको रिक्सा थियो। हरेक शनिबार म रिक्सा चलाएर बेग्लाबेग्लै सडकहरूमा जान्थें। अनि केही संगीत बजाइसकेपछि भाइ रदरफोर्डको भाषण बजाउँथ्यौं। शनिबारकै दिन हामी पत्रिका बोक्ने झोला लिएर सडक प्रचार–कार्य पनि गर्थ्यौं। आइतबार, पुस्तिका र सजिल्द पुस्तकहरू दिएर हामी घर-घर प्रचार गर्थ्यौं।
जोशिला वृद्ध भाइहरूसितको संगतले गर्दा मभित्र अग्रगामी गर्ने इच्छा जाग्यो। जिल्ला सम्मेलनहरूमा अग्रगामीका लागि भाषणहरू सुनेपछि मेरो त्यो इच्छा झन् बलियो भयो। मेरो जीवनमा गहिरो प्रभाव पार्ने सम्मेलनहरूमध्ये सन् १९४७ मा लन्डनको अर्ल्स कोर्ट भवनमा भएको सम्मेलन थियो। यो सम्मेलनको दुई महिनापछि म अग्रगामी सेवामा भर्ती भएँ र त्यस समयदेखि मैले अग्रगामी आत्मालाई कायम राख्ने प्रयत्न गरेको छु। प्रगतिशील बाइबल अध्ययन सञ्चालन गरेर मैले पाएको आनन्दले मेरो निर्णय ठीक थियो भनेर झन् पुष्टि दियो।
स्पेनी दुलहीसँगसँगै स्पेनी कार्यभार
सन् १९५७ मा पाडिङ्गटन मण्डलीमा अग्रगामीको काम गरिरहेकै बेला मैले राफेला नाउँ गरेकी राम्री स्पेनी बहिनी भेटें। केही महिनापछि हामीले विवाह गऱ्यौं। हामीले एकसाथ मिलेर अग्रगामी काम गर्ने लक्ष्य बनाएका थियौं। तर पहिले राफेलाको आमाबाबुलाई मैले भेट्न सकोस् भनेर हामी माड्रिड गयौं। यो भ्रमणले मेरो जीवनै परिवर्तन गऱ्यो। माड्रिडमा हुँदा स्पेनको शाखा निरीक्षक भाइ रे डुजिनबेरीले स्पेनमै सेवा गर्नेबारे मेरो राय सोध्नुभयो। त्यतिबेला स्पेनमा अनुभवी भाइहरूको निकै खाँचो थियो।
यस्तो निमन्त्रणालाई कसरी इन्कार गर्न सक्थ्यौं र? अतः सन् १९५८ मा हामीले स्पेनमा हाम्रो पूर्ण-समय सेवा सुरु गऱ्यौं। त्यसताका स्पेनमा फ्रान्कोको हुकुम चल्थ्यो। हाम्रो कामले कानुनी मान्यता नपाएको हुँदा प्रचार गर्न कठिन थियो। यसबाहेक स्पेनी भाषा सिक्न मैले केही वर्षसम्म निकै संघर्ष गर्नुपऱ्यो। मण्डलीका भाइहरूसँग कुरा गर्न नसकेर म हतोत्साहित भएर निकै पटक रोएँ। तर फेरि एकपल्ट हरेस नखाने बेला आएको थियो।
त्यतिबेला स्पेनमा निरीक्षकहरूको साह्रै खाँचो भएकोले स्पेनी भाषा बोल्न नसक्ने भए तापनि एक महिना भित्रमा मैले सानो समूहको रेखेदेख गर्न थालिसकेको थिएँ। गोप्य ढंगमा हाम्रो काम सञ्चालन गर्नु पर्ने भएकोले १५-२० प्रकाशकहरूको स-साना समूहहरूमा हामी बाँडिएका थियौं। यी समूहहरू लगभग साना मण्डलीहरू जस्तै थिए। स्रोताहरूले दिएको टिप्पणी सधैं नबुझ्ने भएकोले सुरु-सुरुमा सभाहरू सञ्चालन गर्न मलाई निकै कठिन परेको थियो। तथापि, मेरी पत्नी पछाडि बस्थी र म अत्तालिएको देखी भने बिस्तारै टाउको हल्लाएर मेरो जवाफ ठीक छ भनेर संकेत दिन्थी।
मसँग भाषा सिक्ने क्षमता थिएन र बेलाइतमा मलाई कुनै कठिनाइ नभएकोले निकै पटक त्यहीं फर्केर जाऊँ जस्तो लाग्यो। यद्यपि, सुरुदेखि हाम्रा प्रिय भाइबहिनीहरूले देखाएको प्रेम र मित्रताले गर्दा भाषा सिक्दा सहनु परेको हतोत्साहलाई मैले बिर्सें। अनि यहोवाले मलाई विशेष सुअवसरहरू प्राप्त गर्ने आशिष् पनि दिनुभयो जसले गर्दा स्पेनमा बस्नै मलाई मनासिब लाग्यो। सन् १९५८ मा मलाई स्पेनी प्रतिनिधिको रूपमा न्यु योर्कको अन्तर्राष्ट्रिय सम्मेलनमा आमन्त्रित गरियो। त्यसपछि सन् १९६२ मा हाम्रो लागि टानजियर, मोरोक्कोमा आयोजित गरिएको राज्य सेवकाई पाठशालामा मैले अमूल्य प्रशिक्षण पाएँ।
भाषा बाहेक मैले सामना गर्नुपरेको अर्को समस्या, प्रहरीले पक्रेला भन्ने चिन्ता सधैं लागिरहनु पनि हो। विदेशी भएको हुनाले, तिनीहरूले मलाई पक्रे भने देशनिकाला गरिदिनेछन् भनी मलाई थाहा थियो। यो खतरालाई कम गर्न हामी दुई-दुई गरी काम गर्थ्यौं। दुईमध्ये एकले साक्षी दिइरहेको छ भने अर्को चाहिं कतै कुनै खतरा छ कि भनेर सतर्क रहन्थ्यो। प्रायः घरको माथिल्लो तल्लामा एक दुई ढोका प्रचार गरिसकेपछि हामी दुई-तीन वटा भवनहरू पार गरिसकेपछि अर्को दुई-तीन वटा घरमा प्रचार गर्थ्यौं। हामी व्यापक तवरमा बाइबल प्रयोग गर्थ्यौं र जिज्ञासु व्यक्तिहरूलाई दिन ठूलो कोटको खल्तीभित्र केही पुस्तिकाहरू राख्थ्यौं।
माड्रिडमा एक वर्ष काम गरिसकेपछि हामीलाई उत्तरपश्चिम स्पेनको ठूलो शहर भिगोमा खटाइयो, जहाँ साक्षीहरूको नाउँमा कोही पनि थिएन। हामी पर्यटकहरू हौं भन्ने भान परोस् भनेर सोसाइटीले सुरुको एक दुई महिना मेरी पत्नीले धेरैजसो साक्षी दिने काम गरोस् भन्ने सुझाव दिए। मानिसहरूले याद नगरोस् भन्ने हेतुले प्रचार गरेको भए तापनि त्यसले निकै ध्यानाकर्षण गऱ्यो। एक महिना भित्रमा क्याथोलिक पादरीहरूले रेडियोबाट हाम्रो भत्सर्ना गर्न थाल्यो। घर-घर गएर बाइबलको विषयमा कुरा गर्ने विवाहित दम्पतीसित होशियार भनेर तिनीहरूले आफ्ना इलाकाका मानिसहरूलाई चेताउनी दिए। त्यसताका बाइबल गैरकानुनी किताब जस्तै थियो। तिनीहरूको भनाइअनुसार “प्रहरीले खोजिरहेका दम्पतीमा” एक विदेशी र धेरैजसो प्रचार गर्ने तिनकी स्पेनी पत्नी थियो।
यी खतरनाक दम्पतीसँग कुरा गर्नु मात्र पनि पाप हो र तुरुन्त पादरीसमक्ष पाप स्वीकारेमा मात्र क्षमा हुन्छ भनेर ती पादरीहरूले आदेश जारी गरे। र हुन पनि त्यस्तै नै भयो। एक चोटि एक भद्र महिलासँग हामी रमाइलो छलफल गर्दै थियौं। तर छलफल सक्ने बित्तिकै त्यस महिलाले क्षमायाचना गर्दै चर्चमा गएर पाप स्वीकार्छु भनी हामीलाई बताइन्। तिनको घरबाट बाहिर निस्केपछि हामीले तिनलाई हतार-हतार चर्चतर्फ गइरहेकी देख्यौं।
देश-निकाला
भिगो शहरमा आएको दुई महिना बित्दा नबित्दै प्रहरीले हामीलाई पक्रिहाल्यो। तर हामीलाई हिरासतमा लिने प्रहरी सहानुभूतिशिल थियो र प्रहरी थाना लैजाँदा तिनले हामीलाई हतकडी लगाएनन्। थानामा हामीले चिरपरिचित अनुहार देख्यौं। त्यो अनुहार भर्खरै मात्र हामीले प्रचार गरेको टाइपिस्टको थिई। हामीलाई अपराधी जस्तो व्यवहार गरेको देखेर तिनी लज्जित भएकी प्रष्टै देखिन्थ्यो। हामीलाई फँसाएको होइन भनेर तिनले हामीलाई तुरुन्त आश्वासन दिई। तर यसो भए तापनि, “स्पेनको आध्यात्मिक एकतालाई” खतरामा पारेको अभियोग हामीमाथि लगाइयो र छ हप्ताभित्रमा हामीलाई त्यहाँबाट अन्यत्र पठाइयो।
त्यसले गर्दा मनमा धक्का त लाग्यो तर हामीले हरेस खाएनौं। आइबेरियन प्रायद्विपमा अझ थुप्रै काम बाँकि नै थियो। टानजियरमा तीन महिना बिताइसकेपछि पहिले कहिल्यै प्रचार नगरिएको अर्को ठाउँ जिब्रलटारमा हामीलाई खटाइयो। प्रेरित पावलले भनेझैं हामीले आफ्नो सेवकाईलाई मूल्यवान ठान्यौं भने, हामी अघि बढि नै रहनेछौं र इनाम पाउनेछौं। (२ कोरिन्थी ४:१, ७, ८) हाम्रो परिस्थितिसँग यो कुरा एकदम सत्य साबित भयो। जिब्रलटारमा हामी गएको पहिलो घरमै हामीले पूरै परिवारसँग बाइबल अध्ययन गर्न सक्यौं। र केही समय भित्रमै हामी दुवैले १७-१७ वटा बाइबल अध्ययन संचालन गरिरहेका थियौं। हामीले साक्षी दिएका थुप्रै व्यक्तिहरू साक्षीहरू बने र दुई वर्षभित्रमा २५ जना प्रकाशकहरूको मण्डली पनि स्थापना भइसकेको थियो।
तर भिगोमा जस्तै यहाँ पनि पादरीहरूले हाम्रो विरोधमा अभियान चलाउन थाले। हामीहरू “अप्रिय मानिसहरू हौं” भनेर एङ्गलिकन पादरीले प्रहरी प्रमुखलाई चेतावनी दिए। र अन्ततः प्रहरी प्रमुख तिनको दबाबमा परे। जनवरी १९६२ मा हामीलाई जिब्रलटारबाट देश-निकाला गरियो। अब कहाँ जाने? स्पेनमा अझै पनि आवश्यकता धेरै थियो। अतः हाम्रो पुरानो प्रहरी रेकर्ड अहिलेसम्म रद्द भइसकेको हुनुपर्छ भन्ने आशा गर्दै हामी स्पेनतर्फ फर्क्यौं।
हामी सन्नी सेभिल भन्ने घमाइलो शहरमा बस्यौं। त्यहाँ हामीले अर्को अग्रगामी दम्पती, रे अनि प्याट किरकपसँगै काम गरेर आनन्द उठायौं। सेभिल पाँच लाख जनसंख्या भएको शहर भए तापनि त्यहाँ २१ जना प्रकाशकहरू मात्र थिए, अतः थुप्रै काम गर्न अझै बाँकि नै थियो। अहिले यो शहरमा १५ वटा मण्डली र १,५०० प्रकाशकहरू छन्। सेभिल पुगेको एक वर्षपछि हामीले अप्रत्याशित ढंगमा राम्रो मौका पायौं; हामीलाई बार्सेलोना क्षेत्रमा परिभ्रमण सेवा गर्न आमन्त्रित गरियो।
हाम्रो कामले कानुनी मान्यता नपाएको देशमा क्षेत्रीय सेवकाईको काम गर्नु अलि बेग्लै हुन्छ। हरेक हप्ता हामी स-साना समूहहरूलाई भेट्न जान्थ्यौं र हामीले भेटेका अधिकांश समूहहरूमा ज्यादै कम दक्ष भाइहरू थिए। यी परिश्रमी भाइहरूलाई हामीले दिन सक्ने सबै प्रशिक्षण र समर्थनको आवश्यकता थियो। हामीलाई यो काम निकै मन पऱ्यो! ज्यादै कम वा साक्षीहरू नै नभएका इलाकाहरूमा निकै वर्ष बिताएपछि हामीलाई थुप्रै भाइबहिनीहरूसँग भेट गर्न पाएकोमा रमाइलो लाग्यो। यसबाहेक, बार्सेलोनामा प्रचार गर्न सजिलो थियो र धेरै मानिसहरू बाइबल अध्ययन गर्न चाहन्थे।
नैराश्यतासँग लड्नु
तथापि, छ महिना भित्रमा मेरो जीवन नाटकीय ढंगले परिवर्तन भयो। सुरुमा मैले उल्लेख गरेको दुर्घटनामा पर्दा समुद्री किनारामा बिताएको हाम्रो पहिलो छुट्टीको झण्डै दुःखद अन्त भएको थियो। डुब्ला भन्ने डरले पुऱ्याएको धक्काबाट शारीरिक तवरमा म छिट्टै निको त भएँ तर मेरो स्नायु प्रणालीमा त्यसले अमेट छाप छोड्यो।
केही महिनासम्म मैले क्षेत्रीय कार्यमा लागिनै रहन संघर्ष गरें तर पछि औषधी उपचार गराउन बेलाइत नगइ भएन। दुई वर्षपछि स्पेनमा फर्कन सक्ने स्थितिसम्म मेरो रोग निको भइसकेको थियो र त्यहाँ पुगेर फेरि एकपल्ट क्षेत्रीय कार्यमा लाग्यौं। यद्यपि, मैले लामो समय त्यो काम गर्न सकिंन। मेरी पत्नीको आमाबाबु साह्रै सिकिस्त बिरामी भएकोले तिनीहरूको हेरचाह गर्न हामीले पूर्ण-समय सेवालाई छोड्यौं।
सन् १९६८ मा मेरो मानसिक अवस्था पूर्णतयाः अस्तव्यस्त भएको हुँदा हाम्रो जीवन साह्रै कठिन भयो। निकै चोटि राफेला र मलाई म कहिल्यै निको हुँला जस्तो लागेन। मलाई आफू फेरि अर्कै तरिकामा डुबिरहेको जस्तो लाग्यो! नकारात्मक अनुभूतिहरूले विह्वल हुनुको अलावा नैराश्यताले मेरो पूरै शक्ति हरण गऱ्यो। बेला-बेलामा मलाई पूर्णतया थकान अनुभव हुन्थ्यो जसले गर्दा मैले बाध्यतावश धेरैजसो समय आराम गर्नुपऱ्यो। त्यसबेला सबै भाइहरूले मेरो यस्तो समस्यालाई बुझेनन् तर यहोवाले अवश्य बुझ्नुहुन्थ्यो भनेर मलाई थाहा थियो। प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाका लेखहरू पढेर मैले ठूलो सन्तुष्टि पाएको छु। यी पत्रिकाहरूले निराशित व्यक्तिहरूको कुरा निकै राम्ररी बुझिदिनुका साथै मदत पनि गरेको छ।
यस्तो कठिन समयको दौडान मेरी पत्नीले मलाई निरन्तर प्रोत्साहन दिइरहिन्। एकसाथ मिलेर समस्याको सामना गर्दा वैवाहिक बन्धन साँच्चै बलियो हुँदो रहेछ। समयमा राफेलाका आमाबाबुको मृत्यु भयो र १२ वर्षपछि मेरो स्वास्थ्यमा निकै सुधार आएकोले हामी फेरि पूर्ण-समय सेवकाईमा लाग्न सक्छौं जस्तो लाग्यो। सन् १९८१ मा अप्रत्याशित र मनै हर्षित पार्ने ढंगमा हामीलाई पुनः एकपटक क्षेत्रीय कार्यको लागि आमन्त्रित गरियो।
त्यसताका पहिलो चोटि परिभ्रमण कार्यमा जाँदा र अहिले स्पेनमा निकै धेरै ईश्वरतान्त्रिक परिवर्तनहरू भइसकेका थिए। प्रचार गर्न पहिले जस्तो प्रतिबन्ध थिएन र नयाँ परिस्थितिसँग मैले आफूलाई परिचित गराउनु पऱ्यो। तर यसो भए तापनि, फेरि एकपल्ट क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न पाउनु ठूलो सुअवसर थियो। कठिन परिस्थितिहरूका बावजूद अग्रगामी सेवा गरेको हुनाले समस्याहरूका सामना गर्न हामीले अग्रगामीहरूलाई प्रोत्साहन दिन सक्यौं। र बेलाबेलामा अरूलाई अग्रगामी गर्न पनि हामीले मदत गर्नसक्यौं।
माड्रिड र बार्सेलोनामा ११ वर्ष परिभ्रमण कार्य गरिसकेपछि कमजोर स्वास्थ्यको कारण हामीले आफ्नो काम परिवर्तन गर्नुपऱ्यो। सालामान्का शहरमा हामीलाई विशेष अग्रगामीको रूपमा खटाइयो जहाँ मैले प्राचीनको हैसियतमा मदत पुऱ्याउन सक्थें। सालामान्काका भाइहरूले तुरुन्तै हाम्रो स्वागत गरे। तर एक वर्षपछि हाम्रो धीरजलाई जाँच्न सक्ने अर्को संकटको सामना गर्नुपऱ्यो।
राफेलालाई साह्रै नराम्रोसँग रक्तअल्पता भयो र पछि स्वास्थ्य परीक्षण गर्दा तिनको ठूलो आन्द्रामा क्यान्सर भएको पत्ता लाग्यो। अब भने आफ्नो मनलाई बलियो बनाउने र मेरी पत्नीलाई यथाशक्य सहारा दिने मेरो पालो थियो। राफेलालाई क्यान्सर भएको थाहा पाउँदा पहिले त हामीलाई विश्वासै लागेन र डर पनि लाग्यो। राफेला क्यान्सरबाट निको हुने हो कि होइन भनेर हाम्रो मनमा प्रश्न खेलिरहेको थियो। यस्तो बेलामा यहोवामाथिको पूर्ण भरोसाले मात्र हामीलाई हिम्मत नहार्न मदत गर्नसक्छ। राफेलाको सफलतापूर्वक शल्यक्रिया भएकोमा मलाई खुशी लाग्छ र फेरि क्यान्सर देखा नपरोस् भनेर हामी आशा गर्छौं।
स्पेनमा बिताएको ३६ वर्षको दौडान हामीले निकै उतार-चढावको सामना गरेको भए तापनि त्यस्तो आध्यात्मिक वृद्धिको समयमा बाँच्नु पाउनु हृदयग्राही कुरा थियो। सन् १९५८ मा ८०० प्रकाशकहरूको सानो समूह बढेर अहिले १,००,००० भन्दा बढी पुगेको देख्यौं। अरूलाई सच्चाइ स्वीकार्न अनि आध्यात्मिक तवरमा परिपक्व हुन मदत दिएर, पति-पत्नी एकसाथ मिलेर काम गरेर अनि हाम्रो जीवनलाई यथासम्भव उत्तम ढंगमा बिताएको सन्तुष्टिले गर्दा हामीले थुप्रै आनन्द बटुल्यौं र त्यसले गर्दा हाम्रा कठिनाइहरू विलिन भएका छन्।
कोरिन्थीहरूलाई लेखेको दोस्रो पत्रमा पावल यसरी लेख्छन्: “कृपा पाएर हामीसँग यो सेवा भएको हुनाले हामी हरेस खाँदैनौं।” (२ कोरिन्थी ४:१) बितेका कुराहरूलाई विचार गर्दा मलाई लाग्छ, मेरो जीवनमा त्यस्ता थुप्रै कुराहरू थिए जसले मलाई कहिल्यै हरेस खान दिएन। म हुर्कंदै गर्दा ममाथि चासो देखाउने विश्वासी अभिषिक्त भाइहरूको उदाहरणले असल जग बसालेको थियो। अनि एउटै आध्यात्मिक लक्ष्य भएकी पत्नी पाउनु पनि ठूलो मदत हो; निराशित हुँदा हामी दुवैले एक-अर्कालाई प्रोत्साहन दिने गर्थ्यौं। हँसीमजाक गर्न सक्नु पनि ठूलो वरदान हो। आफ्ना भाइहरूसँग र आफैलाई सम्झेर हाँस्न सक्दा समस्याहरू त्यति चर्को लाग्दैन रहेछ।
तर सबैभन्दा ठूलो कुरा परीक्षाहरू आइपर्दा धैर्य धारण गर्न यहोवाको बल चाँहिदो रहेछ। म सधैं पावलले भनेको यो कुरालाई सम्झने गर्छु: “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” यहोवा हाम्रो साथमा हुनुहुन्छ भने हामीले हरेस खानु पर्ने कुरै उठ्दैन।—फिलिप्पी ४:१३.
[पृष्ठ २३-मा भएको चित्र]
रोनल्ड र राफेला टेलर सन् १९५८ मा
[पृष्ठ २४, २५-मा भएको चित्र]
स्पेनमा प्रतिबन्ध हुँदाखेरिको सभा (१९६९)