प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ५/१ pp. २६-२९
  • अस्सी वर्षको उमेरमा अर्कै कार्यभार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अस्सी वर्षको उमेरमा अर्कै कार्यभार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल सत्यले हाम्रो जीवनमा परिवर्तन ल्यायो
  • हामीलाई बलियो बनाउने उदाहरणहरू
  • पूर्वी एन्जलियामा अग्रगामी
  • युद्धको समय र परिवार
  • स्पेनमा बसाइँ सर्ने निर्णय
  • “हामीसँग यो सेवा भएको हुनाले हामी हरेस खाँदैनौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आमाहरू हो, युनिसको उदाहरणबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • हृदय अनि दृष्टिलाई इनाममा केन्द्रित गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवाको सेवा गरेर हामीले थुप्रै नौला अनुभवहरू बटुल्यौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ५/१ pp. २६-२९

अस्सी वर्षको उमेरमा अर्कै कार्यभार

गिन्डोलाइन म्याथ्युको वृत्तान्तमा आधारित

अस्सी वर्षको हुँदा मेरा श्रीमान्‌ र मैले हाम्रा सबै सरसामानहरू भाडाको ट्रकमा हालेर बेलाइतबाट स्पेन बसाइँ सर्ने निर्णय गऱ्‍यौं। हामीलाई स्पेनी भाषा बोल्न आउँदैनथ्यो अनि हामी दक्षिणपश्‍चिम स्पेनतिर जान लागेका थियौं जहाँ कहिल्यै अंग्रेजीभाषी पर्यटकहरू आउँदैनथे। धेरैजसो साथीहरूले हाम्रो दिमाग खुस्क्यो भन्ठाने। तर ऊर देश छोडेर हिंडदा अब्राहाम पनि त ७५ वर्ष पुगिसकेका थिए नि भनेर मनमनै सम्झें।

अप्रिल १९९२ मा स्पेन आएदेखि यताका वर्षहरू हाम्रोलागि सबैभन्दा इनामदायी साबित भएका छन्‌। तर हामी बसाइँ सर्नुको कारण बताउनुअघि यतिका वर्षहरू यहोवाको सेवामा बिताइसकेपछि कसरी यस्तो ठूलो निर्णय गर्नुपऱ्‍यो, पहिला त्यो बताउँछु है त।

बाइबल सत्यले हाम्रो जीवनमा परिवर्तन ल्यायो

म बेलाइतको दक्षिण-पश्‍चिम लन्डनको धर्मपरायण परिवारमा हुर्केकी हुँ। मेरी मुमाले बहिनी र मलाई उपासना गर्ने विभिन्‍न ठाउँहरूमा लग्नुहुन्थ्यो किनकि उहाँ आध्यात्मिक सन्तुष्टिको खोजमा हुनुहुन्थ्यो। छिप्पीसकेको क्षयरोगले थला पर्नुभएकोले बुबा हामीसँग जान सक्नुहुन्‍नथ्यो। तर उहाँ उत्साही भएर बाइबल पढ्‌नुहुन्थ्यो र शिक्षाप्रद लागेका कुरामा सधैं कच तान्‍नुहुन्थ्यो। मैले अति जतन गरेर राखेकी धनसम्पत्तिहरूमध्ये त्यो पुरानो बाइबल पनि हो जुन बुबाको लागि ठूलो महत्त्वको थियो।

सन्‌ १९२५ तिर हाम्रो घरको ढोकामुन्तिर कसैले एउटा पर्चा घुसाइराखेको पाएँ। उक्‍त पर्चामा पश्‍चिम हामको खुला मञ्चमा जनभाषण सुन्‍ने निम्तो थियो। त्यतिखेर म १४ वर्षकी थिएँ। मुमा र एउटी छिमेकीले भाषण सुन्‍न जाने निधो गर्नुभयो। अनि बहिनी र म पनि उहाँहरूको पछि लाग्यौं। “अहिले बाँचिरहेका लाखौं मानिसहरू कहिल्यै मर्नेछैनन्‌” भन्‍ने त्यहाँ दिइएको भाषणले गर्दा मुमाको हृदयमा बाइबल सत्यको बीउ टुसायो।

केही महिनापछि, ३८ वर्षको उमेरमा बुबा बित्नुभयो। उहाँको मृत्युले हामीलाई ठूलो आघात पुग्यो किनकि हामी अत्यन्त दुःखी हुनुका साथै दरिद्र पनि हुन पुग्यौं। स्थानीय चर्च अफ इंग्ल्याण्डमा सम्पन्‍न अन्त्येष्टि कार्यक्रमको दौडान पादरीले बुबाको आत्मा स्वर्ग पुगिसकेको छ भन्दा मुमालाई झट्‌का लाग्यो। उहाँले मृतजनहरू चिहानमा सुतिरहेका हुन्छन्‌ भनेर बाइबलबाट बुझिसक्नुभएको थियो। अनि पृथ्वीमा अनन्त जीवन बिताउन बुबा एक दिन बौरनुहुनेछ भन्‍ने पक्का विश्‍वास थियो। (भजन ३७:९-११, २९; १४६:३, ४; उपदेशक ९:५; प्रेरित २४:१५; प्रकाश २१:३, ४) परमेश्‍वरको वचन सिकाउने मानिसहरूसँग संगत गर्नुपर्ने रहेछ भन्‍ने कुरामा विश्‍वस्त हुनुभएकी मुमाले त्यतिखेर अन्तरराष्ट्रिय बाइबल विद्यार्थीहरू भनिने यहोवाका साक्षीहरूसँग चिनजान बढाउने निर्णय गर्नुभयो।

हामीसँग गाडीभाडा पनि हुँदैनथ्यो। अतः घरदेखि यहोवाका साक्षीहरूका सभाहरू धाउन प्रत्येक हप्ता दुई घण्टा हिंडथ्यौं। त्यसपछि, घर फर्कन फेरि दुई घण्टा हिंडनुपर्थ्यो। तर हामी ती सभाहरूको गहिरो मूल्यांकन गर्थ्यौं र हुस्सुले लन्डन शहर डम्म ढाक्दासमेत एउटै सभा छुटाएनौं। केही समय नबित्दै मुमाले आफ्नो जीवन यहोवाको सेवामा समर्पण गर्ने निर्णय गरेर बप्तिस्मा लिनुभयो। सन्‌ १९२७ मा मैले पनि बप्तिस्मा लिएँ।

आर्थिक कठिनाइको बावजूद आध्यात्मिक कुरालाई महत्त्व दिन मुमा सधैं सिकाउनुहुन्थ्यो। उहाँलाई मनपर्ने पदहरूमध्ये मत्ती ६:३३ एउटा थियो अनि उहाँले साँच्चै ‘पहिले राज्यको खोजी’ गर्नुभयो। सन्‌ १९३५ मा क्यान्सरले गर्दा अल्पायुमै मृत्यु हुनुअघि उहाँले फ्रान्स गएर सेवा गर्नसक्ने पूर्ण-समय सेवकहरूलाई दिइएको निमन्त्रणा स्वीकार्ने योजना बनाउदै हुनुहुन्थ्यो।

हामीलाई बलियो बनाउने उदाहरणहरू

ती प्रारम्भिक वर्षहरूमा लन्डनको सभा धाउनेमध्येका कोही कोही आफ्नै विचारधारा अघि सार्न खोज्थे। फलतः तिनीहरूबीच बाझाबाझ र चर्को मनमुटाउ भयो। यद्यपि, हामीले यहोवाको संगठनबाट यति धेरै कुराहरू सिकिसकेपछि त्यतिकै छोडेर हिंड्‌नु धोकाबाजी हुनेछ भनी मुमाले सधैं बताउनुहुन्थ्यो। हामीले वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष जोसेफ एफ. रदरफोर्डको भ्रमणले गर्दा इमानदारसाथ सेवा गर्ने उत्प्रेरणा पायौं।

मलाई सम्झना भएसम्म, भाइ रदरफोर्ड दयालु हुनुहुन्थ्यो र उहाँसँग धक नमानी कुरा गर्न सकिन्थ्यो। म किशोरी छँदा लन्डन मण्डलीले वनभोजको कार्यक्रम मिलाएको थियो र त्यसमा उहाँ पनि सरिक हुनुभयो। उहाँले मलाई क्यामेरा बोकेकी अलि लज्जालु स्वभावकी केटी देख्नुभयो क्यार। अनि मेरो एउटा फोटो खिचीदिने हो भन्दै सोध्नुभयो। त्यतिखेर खिचेको फोटो एउटा मीठो सम्झना भएको छ।

पछि, त्यस्तै खास घटनाले गर्दा अर्थात्‌ मसीही मण्डलीमा अगुवाइ लिनेहरू र संसारका ठूलाबडा व्यक्‍तिहरूबीच भिन्‍नता देखेर म प्रभावित भएँ। म लन्डनको एउटा ठूलो घरमा बेयरा काम गर्थें र त्यहाँ फ्रान्ज भोन पापेनलाई खानमा निम्तो थियो। तिनी हिटलरका दूतहरूमध्ये एक थिए। खाना खाँदा तिनले कम्मरमा भिरेको तरवार फुकाल्न इन्कार गरे र त्यसमा अल्झेर मैले सुप पोखाएँ। जर्मनीमा यस्तो हेलचेक्य्राइँ गऱ्‍यो भने गोली ठोकिन्छ भन्दै तिनी रिसाए। त्यसपछि, तिनलाई खानाको अन्य परिकार भने अलि टाढै उभिएर दिएँ!

सन्‌ १९३१ मा अलेक्जान्ड्रा प्यालेस हलमा सम्पन्‍न अविस्मरणीय अधिवेशनमा भाइ रदरफोर्डको भाषण सुन्‍न पाएँ। त्यहाँ हामीले अपार उत्साहका साथ यहोवाका साक्षीहरू भन्‍ने नयाँ नाउँ धारण गऱ्‍यौं। (यशैया ४३:१०, १२) दुई वर्षपछि १९३३ मा मैले अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवकाई गर्न थालें। मैले त्यसताका अनुभव गर्न पाएकी अर्को आशिष्‌ अझै झलझली याद छ। त्यो हो, असल युवकहरूसँग संगत गर्न पाउनु जो पछि मिसनरी भएर पृथ्वीको कुना कुनामा गए। जस्तै, क्लड गुडमेन, हेरोल्ड किंग, जोन कुक र एडविन स्किनर। उहाँहरूको विश्‍वासी उदाहरणले गर्दा मेरो मनमा पनि विदेशमा सेवा गर्ने इच्छा पलायो।

पूर्वी एन्जलियामा अग्रगामी

मैले पूर्वी एन्जलियामा (पूर्वी बेलाइत) अग्रगामी कार्यभार पाएकी थिएँ। त्यहाँ प्रचार गर्न उत्साह तथा जोसको खाँचो पर्थ्यो। हाम्रो इलाका ठूलो थियो र कुनाकाप्चासम्म प्रचार गर्न साइकल लिएर शहर-शहर तथा गाउँ-गाउँ गयौं र डेरामा बस्यौं। त्यस क्षेत्रमा कुनै मण्डली नै थिएन। तसर्थ, नियमित साप्ताहिक सभाहरूमा हुने सबै विषयहरू मेरी साथी र म छलफल गर्थ्यौं। हामीले सेवकाईमा परमेश्‍वरको उद्देश्‍यसम्बन्धी सयौं पुस्तक तथा पुस्तिकाहरू वितरण गऱ्‍यौं।

एकचोटि पादरीको घर गएको घटना मलाई अझै सम्झना छ। त्यहाँ हामीले चर्च अफ इंगल्यान्डको स्थानीय पादरीसँग कुराकानी गऱ्‍यौं। थुप्रै इलाकाका एंगलिकन पादरीहरूलाई अन्तमा मात्र भेट्‌ने हाम्रो योजना थियो। किनकि हामीले ती इलाकाहरूमा सुसमाचार प्रचार गरेको थाह पाएपछि तिनीहरूले अवरोध खडा गर्थे। तर यस गाउँमा त सबैले उक्‍त पादरीको विषयमा राम्रै कुरा गरे। तिनी बिरामीहरू हेर्न जान्थे, पढ्‌न रुचाउनेहरूलाई पुस्तकहरू दिन्थे साथै आफ्ना चर्चका सदस्यहरूलाई बाइबलको कुरा बताउन घर-घर जान्थे।

हामीले प्रत्याशा गरेजस्तै तिनको दैलो ढकढकाउँदा तिनले अति मित्रैलो व्यवहार गरे अनि केही पुस्तकहरू पनि राखे। गाउँका कुनै व्यक्‍तिले हामीसँग पुस्तक लिन चाहेर पैसा दिनसक्दैन भने म दिन्छु भनेर तिनले हामीलाई आश्‍वस्त गराए। तिनले प्रथम विश्‍वयुद्धमा अनुभव गरेका भयानक अनुभवको कारण आफ्नो चर्चमा शान्ति र मैत्रीभाव बढाउने संकल्प गरेका रहेछन्‌ भनेर हामीले पछि थाह पायौं। छुट्टिनअघि तिनले हामीलाई आशिर्वाद तथा आफ्नो काममा लागिरहने प्रोत्साहन दिए। तिनले हामीलाई छुट्टिने बेलामा गन्ती ६:२४ का शब्दहरू भनेका थिए: “परमप्रभुले तिमीलाई आशिष्‌ दिऊन्‌ र तिमीलाई रक्षा गरून्‌।”

मैले अग्रगामी थालेको दुई वर्षपछि मुमा बित्नुभयो। अनि रित्तो हात र परिवारविहीन भएर म लन्डन फर्कें। एक जना प्रिय स्कटिश साक्षीले मलाई आश्रय, मुमाको मृत्युको चोट सहने मदत र पूर्ण-समय सेवकाई जारी राख्ने प्रोत्साहन दिए। अतः नयाँ साथी जुलिया फेयरफ्याक्ससँग फेरि पूर्वी एन्जलिया फर्कें। हामीले पुरानो काराभान अर्थात्‌ गाडीसँगै गुडाएर लान मिल्ने गाडालाई अलि मर्मत गरेर आफ्नो बनायौं; त्यसलाई ट्रयाक्टर वा ट्रकले तानेर एक ठाउँबाट अर्को ठाउँ लग्थ्यौं। पाको दम्पती अर्ल्बट र इथेलसित पनि काराभान थियो र उनीहरूसँगै हामी प्रचारकार्यमा लागिरह्‍यौं। मेरोलागि अर्ल्बट र इथेल आमाबाबुजस्तै भए।

क्याम्ब्रिजसाइरमा अग्रगामीको काम गर्दा जोन म्याथ्युसँग भेट भयो। तिनी असल मसीही थिए र विकट परिस्थितिहरूको सामना गरेर यहोवाप्रतिको आफ्नो निष्ठाको प्रमाण दिइसकेका थिए। हामीले दोस्रो विश्‍वयुद्ध सुरु भएको केही समय नबित्दै १९४० मा विवाह गऱ्‍यौं।

युद्धको समय र परिवार

भर्खरै बिहे भएको बेला हाम्रो घर भनेको भान्छाघर जत्रो एउटा सानो काराभान थियो अनि सेवकाईमा जानलाई चाहिं एउटा भरपर्दो मोटरसाइकल थियो। विवाहको वर्ष दिनपछि बाइबल आधारित दृढ विश्‍वासले गर्दा सेनामा भर्ती हुन अस्वीकार गरेको कारण जोनलाई फार्ममा काम गर्ने सजाय दिइयो। (यशैया २:४) परिणामस्वरूप, हाम्रो अग्रगामी कार्य त ठप्प रोकियो नै तर एक किसिमले राम्रै भयो किनकि म आमा बन्‍न लागेकी थिएँ अनि तिनले फार्ममा काम गरेर परिवार धान्‍नसक्थे।

युद्ध मच्चिएको बेला अनेकन्‌ कठिनाइहरूको बावजूद सञ्चालन गरिएका विशेष सभाहरूबाट हामीले आनन्द उठायौं। सन्‌ १९४१ मा जोन र म मोटरसाइकल चढेर ३०० किलोमिटर टाढा पर्ने म्यानचेस्टर गयौं। त्यतिखेर म दुई जीउकी थिएँ। बाटोमा अनेकौं बम विस्फोटनले ध्वस्त पारेका शहरहरू भेट्यौं र त्यस्तो अवस्थामा सभाहरू नहुने पो हुन्‌ कि भनेर सोच्दै अघि बढ्यौं। तर सभा सञ्चालन भयो। बेलाइतका विभिन्‍न ठाउँहरूबाट आएका साक्षीहरूले म्यानचेस्टरको मुटुमा रहेको द फ्रि ट्रेड हल टन्‍न भरिएको थियो। सबै कार्यक्रम सफलतापूर्वक सम्पन्‍न भयो।

अधिवेशनका अन्तिम वक्‍ताले आफ्नो भाषणको अन्तमा हवाई आक्रमणको आशंका भएको हुनाले यथाशीघ्र हल छोड्‌न स्रोताहरूलाई आग्रह गरे। त्यो सूचना बेलैमा पाइयो। हलबाट केही परतिर मात्र के पुगेका थियौं खतरासूचक ध्वनि र विमानभेदी बन्दुकका आवाज हाम्रो कानमा गुञ्जियो। यसो फर्केर हेर्दा दर्जनौं विमानहरूले बीच शहरमा बम बर्साएको देख्यौं। अलि परतिर आगो र धूँवाबीच हामी भर्खरै मात्र बसेको हल देख्यौं; त्यो त तहसनहस भइसकेको थियो! खुसीको कुरा, हाम्रा कुनै मसीही भाइबहिनीहरूले ज्यान गुमाउनु परेन।

हामीले बच्चाहरू हुर्काइबढाइ गर्दा अग्रगामी त गर्नसकेनौं तर परिभ्रमण निरीक्षक तथा डेरा नपाएका अग्रगामीहरूलाई हाम्रो घरमा आश्रय चाहिं दियौं। एकचोटि त हामीसँग छ जना अग्रगामीहरू महिनौंसम्म बसे। निस्सन्देह, उनीहरूको संगतले गर्दा हाम्री छोरी युनिसले १५ वर्षकी भएपछि १९६१ मा अग्रगामी गर्न थालिन्‌। तर दुःखको कुरा, जवान भएपछि छोरो डेविडले भने यहोवाको सेवालाई लत्यायो। अनि अर्की छोरी लिन्डाको चाहिं युद्धताकाको दुःखलाग्दो परिस्थितिले गर्दा मृत्यु भयो।

स्पेनमा बसाइँ सर्ने निर्णय

मुमाको उदाहरण तथा प्रोत्साहनले गर्दा मिसनरी गर्ने मेरो ठूलो धोको थियो र त्यो लक्ष्य कहिल्यै बिर्सेको थिइनँ। अतः १९७३ मा युनिस बेलाइतबाट स्पेनतर्फ लाग्दा हामी खुसीले गद्‌गद भयौं। त्यहाँ राज्य उद्‌घोषकहरूको बढी आवश्‍यकता थियो। निस्सन्देह, उनीसँग छुट्टिनुपर्दा हामी दुःखित भयौं तर विदेशमा सेवा गर्ने उसको इच्छाले गर्व महसुस गऱ्‍यौं।

वर्षौंसम्म हामी युनिससँग भेटघाट गर्न गइरह्‍यौं र स्पनेको विषयमा धेरै कुरा थाह पायौं। भनौं भने, हामी तिनले मिसनेरी कार्य गरेकी चार विभिन्‍न ठाउँहरूमा पुगिसकेका छौं। त्यसपछि, समयको चक्रसँगसँगै हाम्रो बलबर्कत घट्‌दै गयो। लडेर जोनको स्वास्थ्य झनै दयनीय भयो अनि मेरो मुटु र घाँटीको रोग थियो। यसबाहेक, हामी दुवै जना बाथ रोगले पीडित थियौं। हामीलाई युनिसको सहयोग चाहिए तापनि उसले हाम्रो खातिर आफ्नो सेवा छोडोस्‌ भन्‍ने चाहँदैनथ्यौं।

हाम्रो विचारबारे युनिससँग छलफल गऱ्‍यौं र निर्देशनको लागि प्रार्थना गऱ्‍यौं। हामीलाई सहयोग गर्न उनी घर फर्कन तयार थिइन्‌। तर हाम्रो समस्याको सबैभन्दा राम्रो समाधान चाहिं जोन र म स्पेन गएर युनिससँगै बस्नु नै हो भनेर निर्णय गऱ्‍यौं। मैले मिसनरी गर्न नसके पनि मेरी छोरी र उसको दुई अग्रगामी साथीलाई त पूर्ण-समय सेवामा लागिरहन मदत गर्नसक्थें। त्यस समयदेखि जोन र मैले युनिसका दुई अग्रगामी साथी नुरिया र अनालाई आफ्नै छोरीजस्तै सम्झेका छौं जसले लगभग १५ वर्ष अघिदेखि युनिससँगै सेवा गरिरहेका छन्‌। तिनीहरूलाई जहाँसुकै खटाए पनि हामीलाई तिनीहरूसँगै लग्न तिनीहरू असाध्यै खुसी छन्‌।

यस्तो निर्णय गरेको अहिले छ वर्ष भइसक्यो। हाम्रो स्वास्थ्य पहिलेभन्दा नाजुक हुन पाएको छैन र जीवन निकै चाखलाग्दो भएको छ। म अझै पनि फडकारेर स्पेनी भाषा बोल्नसक्दिनँ तर यसले मलाई प्रचार गर्नदेखि रोकेको छैन। जोन र मलाई दक्षिण-पश्‍चिम स्पेनको एक्सट्रिमेडुरा मण्डली आफ्नै घरजस्तो लाग्छ।

स्पेनमा बस्न पाएकोले विश्‍वव्यापी तवरमा परमेश्‍वरको राज्यबारे कसरी प्रचार हुँदो रहेछ भनेर धेरै कुरा सिक्न पाएकी छु। अनि येशूले “खेत संसार हो” भन्‍नुभएको वचनलाई अझ राम्ररी बुझ्नसकेकी छु।—मत्ती १३:३८.

[पृष्ठ २८-मा भएका चित्रहरू]

सन्‌ १९३० को दशकमा अग्रगामी गरिरहेको

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने