प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ६/१ पृ. २०-२५
  • हामीलाई मूल्यवान्‌ मोती दिइयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीलाई मूल्यवान्‌ मोती दिइयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा अविस्मरणीय अनुभव
  • नौलो संस्कृति
  • स्पेनी भाषा सिकेर काम सुरु गर्ने
  • म्याड्रिडमा प्रारम्भिक परीक्षाहरू
  • म्याड्रिडका अद्‌भुत अनुभवहरू
  • सेनाहरूसित फलदायी सेवकाई
  • अनौठो बाइबल अध्ययन
  • अप्रत्याशित निमन्त्रणा
  • मिसनरी सेवा छोड्‌नुपर्दा
  • लागू पदार्थ र हिंसाबीच प्रचार गर्ने
  • कठिन निर्णय
  • “हामीसँग यो सेवा भएको हुनाले हामी हरेस खाँदैनौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको सेवा गरेर हामीले थुप्रै नौला अनुभवहरू बटुल्यौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • हृदय अनि दृष्टिलाई इनाममा केन्द्रित गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ६/१ पृ. २०-२५

हामीलाई मूल्यवान्‌ मोती दिइयो

रिचर्ड गुन्थरको वृतान्तअनुसार

सेप्टेम्बर १९५९ तिरको कुरा हो, हामी जुलीयो सिजर नामक यात्रुवाहक इटालियन जहाज चढेर आन्द्र महासागर हुँदै न्यु योर्कबाट काडिथ, स्पेनतर्फ जाँदैथियौं। म, मेरी पत्नी, रीता, अनि अर्को मिसनरी दम्पती पल तथा एभ्लिन हन्डर्टमार्कलाई वाच टावर सोसाइटीले त्यस आइबेरिन देशमा खटाएको थियो। हामीले निकै कठिन चुनौतीहरूको सामना गर्नेथियौं। तर हामीले किन मिसनरी सेवा सुरु गऱ्‍यौं त?

रीता र मैले सन्‌ १९५० तिर न्यु जर्सी, स.रा.अ.-मा यहोवाका साक्षीहरूको हैसियतले बप्तिस्मा लिएका थियौं। त्यसपछि चाँडै नै हामीले त्यस्तो निर्णय गऱ्‍यौं जसले एक दिन हाम्रो हातमा मूल्यवान्‌ मोती थमाउने थियो। हाम्रो इलाकाका लागि भाइ-बहिनीहरू पर्याप्त भएको मण्डलीमा हामी थियौं। अतः प्रचारकको धेरै आवश्‍यकता भएको ठाउँमा सेवा गर्नुपर्ने बाध्यता हामीले महसुस गऱ्‍यौं। सन्‌ १९५८ को ग्रीष्म ऋतुमा सम्पन्‍न यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय सम्मेलनमा हामीले मिसनरी सेवाका लागि निवेदन दियौं।

त्यसको केही समयपश्‍चात्‌ हामीलाई वाचटावर बाइबल स्कूल अफ गिलियडमा आमन्त्रित गरियो र वर्षदिनभित्र हामी मिसनरी भएर स्पेनतर्फ लाग्यौं। थुप्रै कुराहरूको प्रबन्ध मिलाउनुपर्ने र त्यसमाथि रोमाञ्चित भएकोले हामीलाई कति मूल्यवान्‌ कुरा दिइएको थियो भनेर त्यतिबेला महसुसै गरेनौं। येशूले मूल्यवान्‌ मोतीबारे भन्‍नुभएको थियो। (मत्ती १३:४५, ४६) उहाँको दृष्टान्तले भन्‍न खोजेको कुरासँग नमिले तापनि मिसनरीको हैसियतमा सेवा गर्ने सुअवसर हाम्रो लागि त्यस्तै मोती समान थियो। बितेका समयलाई सम्झँदा यहोवाको संगठनमा पाएको यस्तो सेवा वास्तवमा मूल्यवान्‌ वरदान नै थियो भनी अझ धेरै मूल्यांकन गर्छौं।

एउटा अविस्मरणीय अनुभव

त्यतिबेला न्यु योर्क प्रान्तको फिंगर लेक्स क्षेत्रमा गिलियड मिसनरी कक्षा सञ्चालन हुने गर्थ्यो। ग्रामीण क्षेत्रमा अवस्थित यो ठाउँ वरपरको वातावरण सुन्दर थियो। संसारको झर-झमेला अनि समस्याहरूदेखि टाढा त्यस स्कूलमा हामीले छ महिना पूर्णतया बाइबल अध्ययन र साँचो मसीही संगतिमा बितायौं। हाम्रा सहपाठीहरू अष्ट्रेलिया, ग्रीस, न्युजिल्यान्ड, बोलिभिया, र बेलाइतलगायत संसारका विभिन्‍न भागहरूबाट आएका थिए। चाँडै नै स्नातक हुने दिन पनि आयो। सन्‌ १९५९ को अगस्त महिनामा एकअर्कालाई आँसुले बिदाइ गरेर हामी आ-आफ्ना मिसनरी क्षेत्रतर्फ लाग्यौं। यसको महिना दिनपछि हामीले स्पेनी भूमिमा पाइला टेक्यौं।

नौलो संस्कृति

विशाल रक अफ जिब्राल्टार छेउ हामी अल्जेसिरसको दक्षिणी बन्दरगाहमा उत्रियौं। त्यस रात हामी चारै जना, हन्डर्टमार्कहरूसहित रीता र म रेल चढेर म्याड्रिडतर्फ लाग्यौं। त्यसपछि हामी होटेल मेर्कादोर गयौं र सोसाइटीको गोप्य शाखा कार्यालयका सदस्यहरूले सम्पर्क नगरेसम्म त्यहीं पर्खेर बस्यौं। स्पेनमा त्यतिबेला जेनरालिसिमो फ्रान्सिस्को फ्रांकोको तानाशाही शासन थियो। त्यसको अर्थ त्यस देशमा कानुनी मान्यता पाउने एक मात्र धर्म रोमन क्याथोलिक चर्च थियो। यसबाहेक अरू कुनै धर्म खुलेआम मान्‍नु गैर-कानुनी थियो र यहोवाका साक्षीहरूको घर-घरको प्रचार-कार्यमाथि प्रतिबन्ध लगाइएको थियो। धार्मिक जमघटसमेत निषेधित थियो। त्यसैकारण त्यतिबेला स्पेनका ३० वटा मण्डलीका लगभग १,२०० साक्षीहरू अन्य मुलुकहरूमा जस्तै राज्य भवनहरूमा भेला हुन सक्दैनन्‌ थिए। मानिसहरूको घरमा हामी गोप्य रूपले भेला हुनुपर्थ्यो।

स्पेनी भाषा सिकेर काम सुरु गर्ने

हाम्रो पहिलो चुनौती भाषा सिक्नु थियो। पहिलो महिना हामीले स्पेनी कक्षामा बिहान ४ घण्टा र व्यक्‍तिगत अध्ययनमा ७ घण्टा गरी जम्मा दिनको ११ घण्टा स्पेनी भाषा सिक्न बिताउँथ्यौं। दोस्रो महिनामा बिहानको कक्षा यथावत्‌ रह्‍यो तर दिउँसो हामी घर-घरको प्रचार-कार्यमा जान थाल्यौं। के तपाईं कल्पना गर्न सक्नुहुन्छ? राम्ररी भाषा नसिक्दै, मुखस्त पार्न कार्डमा लेखिएको प्रस्तुतिको भरमा हामी घर-घरको प्रचार-कार्यमा जान्थ्यौं!

म्याड्रिड शहरका कर्मचारीहरू बस्ने भाल्येकास भन्‍ने ठाउँमा ढोका-ढोका ढकढकाएको मलाई अझै सम्झना छ। कथंकदाचित्‌ केही बिर्सिहालेमा हेर्नको निमित्त हातमा कार्ड लिंदै मैले स्पेनी भाषामा यसो भनें: “नमस्ते। हामी मसीही-कार्य गर्दैछौं। बाइबलले यसो भन्छ (एउटा बाइबल पद पढेर सुनाउँथ्यौं)। तपाईं यो पुस्तिका लिनुहोस्‌ भनी हामी चाहन्छौं।” त्यस महिलाले त्यतिकै ट्‌वाल्ल परेर हेरिरहिन्‌, त्यसपछि पुस्तिका लिइन्‌। पछि पुनःभेट गर्दा त्यस महिलाले हामीलाई भित्र बोलाइन्‌ तर कुरा गर्दा पहिलेजस्तै ट्‌वाल्ल परेर हेरि मात्र रहिन्‌। स्पेनी भाषाको सीमित ज्ञानको बावजूद हामीले तिनीसित अध्ययन सुरु गऱ्‍यौं र अध्ययनको दौडान तिनी पहिलेजस्तै ट्‌वाल्ल परेर हेर्दै सुन्थिन्‌। केही समयपछि मात्र बल्ल तिनले पहिलो भेटमा हामीले भनेको कुरा नबुझेको तर दियोस (परमेश्‍वर) भन्‍ने शब्दले गर्दा केही असल कुरा हुनुपर्छ भनी लागेको थियो भनेर बताइन्‌। समयमा तिनले बाइबलका यथेष्ट ज्ञान लिइन्‌ र बप्तिस्मा लिएर यहोवाका साक्षी भइन्‌।

स्पेनी भाषा सिक्नु मेरोलागि साह्रै कठिन थियो। शहरमा यात्रा गर्दा म क्रियारूपलाई स्मरण गर्थें। तर आफूले स्मरण गरेको कुरा हप्तादिन नबित्दै बिर्सन्थें। यो कुरा साह्रै निरुत्साहजनक थियो। निकै चोटि मैले हार मानें। स्पेनी भाषा राम्ररी बोल्न नजान्‍ने र त्यसमाथि नेतृत्व लिनुपर्दा स्पेनी भाइहरूले निकै धैर्य धारण गर्नुपऱ्‍यो। एकपटक जिल्ला अधिवेशनमा एक जना भाइले मलाई पर्ची दिंदै मञ्चबाट घोषणा गर्न लगाए। तिनको अक्षर बुझ्न नसकेर मैले यसरी घोषणा गरें: “भोलि यस रंगशालामा आ-आफ्ना मुलेतास (वैशाखी) लिएर आउनुहोस्‌।” तर वास्तवमा त्यो घोषणा यस्तो हुनुपर्थ्यो, “भोलि यस रंगशालामा आ-आफ्ना मालेतास (सर-सामान) लिएर आउनुहोस्‌।” अवश्‍य सबै जना हाँसे र म भने लाजले भुतुक्क भएँ।

म्याड्रिडमा प्रारम्भिक परीक्षाहरू

म्याड्रिडमा हामीले बिताएका प्रथम केही वर्षहरू रीता अनि मेरोलागि भावनात्मक रूपमा निकै कठिन थियो। हामीलाई आफ्नो घर, आफ्ना साथीहरूको सम्झनाले निकै सताउँथ्यो। हरेक चोटि संयुक्‍त राज्यबाट पत्र पाउँदा हामी दुवैलाई घरको सम्झनाले छोप्थ्यो। ती अवधिहरूमा घरको सम्झनाले हामी साह्रै विह्वल हुन्थ्यौं तर त्यो समय पनि बित्यो। आखिरमा जे भएपनि एउटा मूल्यवान्‌ मोती प्राप्त गर्न हामीले आफ्नो घर, परिवार र साथीहरू छाडेका थियौं। हामी परिस्थिति अनुकूल चल्नुपरेको थियो।

म्याड्रिड पुगेपछि हामी बसेको ठाउँ साह्रै अगतिलो थियो। हामीले एउटा कोठा लिएका थियौं र हामीलाई दिनमा तीन छाक खान दिइन्थ्यो। हामी बसेको कोठा सानो अनि अँध्यारो थियो र ओछ्यान परालको थियो। हाम्रो सीमित मासिक भत्ता महिना दिनको भाडा तिर्दैमा सकिन्थ्यो। प्रायः हामी मध्यदिनमा भोजन गर्थ्यौं र हाम्रो घरधनीले बेलुकीको भोजन तातो राख्न खानेकुराहरू ओभनमा राखिदिन्थिन्‌ जसले गर्दा राती अबेर फर्कंदा हामी भोकै सुत्नुपर्दैन थियो। दिउँसो र साँझ तलमाथि सडक ओहोर-दोहोर गर्दागर्दै हामीलाई साह्रै भोक लाग्थ्यो। भत्ताको पैसा सकेपछि हामी आफूसँग भएको व्यक्‍तिगत पैसाले सबैभन्दा सस्तो चकलेट किनेर खान्थ्यौं। तथापि, सोसाइटीको प्रान्त निरीक्षकको भ्रमणपश्‍चात्‌ चाँडै नै स्थिति परिवर्तन भयो। तिनले हाम्रो दुःखदायी अवस्था देखे र मिसनरी घरको रूपमा प्रयोग गर्न एउटा सानो घर खोज्न लगाए। अब चाहिं भान्सा कोठाको भुइँमा ठूलो बाटामा उभेर नुहाउनुभन्दा त निकै सजिलो हुनेभयो। हामीले सुविधायुक्‍त नुहाउने ठाउँ, खानेकुरा राख्ने रेफ्रिजरेटर अनि खाना पकाउने इलेक्ट्रिक बर्नर पायौं। हाम्रो ख्याल गरिदिएकोमा हामी निकै आभारी थियौं।

म्याड्रिडका अद्‌भुत अनुभवहरू

त्यतिबेला निकै होशियारीपूर्वक घर-घरको प्रचार-कार्य गरिन्थ्यो। म्याड्रिडमा दिनहुँ हुने कोलाहल हाम्रोलागि लाभदायी थियो। किनभने त्यसले गर्दा मानिसहरूले हामीतर्फ त्यति ध्यान दिन पाउँदैनन्‌ थिए। विदेशीहरूजस्तो नदेखियोस्‌ भनेर हामी अरूले लगाउनेजस्तै लुगा लगाउथ्यौं र त्यस्तै ढंगमा चल्थ्यौं। हाम्रो ढोका-ढोकाको प्रचार-कार्य विधि यस्तो हुन्थ्यो। हामी घरभित्र पस्थ्यौं, ढोका ढकढकाउँथ्यौं, ढोका खोल्ने मान्छेसँग कुरा गर्थ्यौं त्यसपछि त्यो घर, सडक र इलाकै छोडेर अन्यत्र जान्थ्यौं। घरधनीले कुनै पनि बेला प्रहरी बोलाउनसक्ने भएकोले त्यस छर-छिमेक वरपर बस्नु बुद्धिमानी कुरा थिएन। वास्तवमा यो उपायअनुरूप होशियारीपूर्वक चल्दाचल्दै पनि पल र एभ्लिन हन्डर्टमार्कलाई सन्‌ १९६० मा गिरफ्तार गरेर देश निकाला गरियो। तिनीहरू छिमेकी राष्ट्र पुर्तुगाल गए र निकै वर्षसम्म त्यहीं सेवा गरे। पलले चाहिं भूमिगत शाखा कार्यालयको जिम्मा लिए। आज तिनी सान डिएगो, क्यालिफोर्नियामा शहर निरीक्षकको रूपमा सेवा गर्दैछन्‌।

तथापि, फेरि समानता आयो। केही महिनापश्‍चात्‌ पुर्तुगालमा खटाइएका छ जना मिसनरीहरूलाई देश छाड्‌ने आदेश दिइयो। यसले गर्दा रमाइलो प्रगति भयो किनभने हाम्रै कक्षाका एरिक र हेजल बेभरिजलाई पुर्तुगाल छाडेर स्पेन जाने निर्देशन दिइयो। अतः सन्‌ १९६२ फेब्रुअरीमा हामी फेरि होटेल मेर्कादोर पुग्यौं। तर यसपटक एरिक र हेजललाई स्वागत गर्न।

म्याड्रिडमा हामीले बिताएका यी प्रारम्भिक दिनहरूमा रीता र मैले पहिलो चोटि धार्मिक ढोंगको अनुभव गऱ्‍यौं। हामी बर्नार्डो र मारिया नाउँ गरेका दम्पतीसित बाइबल अध्ययन गर्दैथियौं। अरूले फ्याँकेका भवन निर्माण सामग्रीहरू खोजखाज गरेर बर्नार्डोले बनाएको सानो झोपडीमा तिनीहरू बस्थे। हामी रात ढल्केपछि तिनीहरूसित अध्ययन गर्थ्यौं। अध्ययन सकेपछि तिनीहरूले हामीलाई पाउरोटी, दाखमद्य र सानो टुक्रा चीज वा आफूसँग जे छ त्यही खुवाउँथे। हामीले खाएको चीज मलाई अमेरिकी चीजजस्तै लाग्यो। एक रात अध्ययनपश्‍चात्‌ तिनीहरूले त्यो चीजको बट्टा हामीलाई देखाए। ठूल-ठूला अंग्रेजी अक्षरमा त्यसमा यस्तो लेखिएको थियो, “यो स्पेनी जनताको लागि अमेरिकी जनताको सहयोग हो—बिक्री गर्नु मनाही छ।” यस गरिब परिवारले कसरी त्यो चीज प्राप्त गरेछन्‌ त? त्यतिबेला गरिबहरूलाई यी खाद्य सामग्री बाँड्‌न सरकारले क्याथोलिक चर्चलाई चलाउँथ्यो। तर चर्चका पादरीहरूले त्यसलाई बेच्दा रहेछन्‌!

सेनाहरूसित फलदायी सेवकाई

हामी र अरू थुप्रै मानिसहरूका लागि ठूलो आशिष्‌ साबित हुने एउटा रोमाञ्चकारी घटना पनि चाँडै नै भयो। शाखा कार्यालयबाट हामीले वल्टर केड्यास नाउँ गरेको जवान केटालाई भेट्‌नू भन्‍ने खबर पायौं। यो केटालाई म्याड्रिडबाट केही किलोमिटर टाढा, टोरिकोनस्थित अमेरिकी हवाई सेना स्थलमा खटाएको रहेछ। हामीले तिनी र तिनकी पत्नीलाई भेट्यौं अनि तिनीहरूसित र हवाई सेनाकै अर्को दम्पतीसित बाइबल अध्ययन सुरु गऱ्‍यौं।

त्यसताका, म अमेरिकी हवाई सेनाको कर्मचारीहरूसित पाँचवटा बाइबल अध्ययन सञ्चालन गर्थें। निस्सन्देह, यी सबै अध्ययनहरू अंग्रेजीमै हुन्थे। यिनीहरूमध्ये सात जनाले पछि बप्तिस्मा लिए र संयुक्‍त राज्य फर्केपछि चार जना मण्डलीका प्राचीनहरू भए।

यही समयतिर हो, हाम्रो काममाथि लागेको प्रतिबन्धले गर्दा किताप, पत्रिका र बाइबलहरू देशमा भित्र्याउनु साह्रै गाह्रो थियो। तथापि, पर्यटकहरू र हाम्रा अमेरिकी सम्पर्कहरूले केही साहित्यहरू लिएर आउँथे। स्पेनको शाखा कार्यालयले मलाई गोप्य साहित्य डिपो सञ्चालन गर्न खटाएको थियो। भाल्येकासको स्टेशनरी पसलपछाडि अँध्यारो भण्डार कोठामा हाम्रो डिपो थियो। घरधनीकी पत्नी यहोवाका साक्षी थिइन्‌। आफू साक्षी नभए तापनि घरधनीले हाम्रो कामको आदर गर्थे र आफू अनि आफ्नो व्यापारलाई ठूलो जोखिममा पारेर तिनले त्यो पछाडिको कोठा प्रयोग गर्ने अनुमति दिए। देशको विभिन्‍न भागहरूमा पठाउन म त्यही कोठामा बसेर साहित्यहरू पोका पार्थें। त्यो कोठा सधैं भण्डार कोठाजस्तै धूलो र कागजका बाकसहरूले भरिएको देखिनुपर्ने हुँदा मैले तुरुन्त ठड्याउन अनि लुकाउन सकिने किसिमले काम गर्ने बेन्च र किताप राख्ने दराजहरू बनाएँ। साँझपख पसलमा कोही पनि नभएको मौका पारेर म आफ्ना पोकाहरू लिएर तुरुन्त बाहिर निस्कन्थें।

देशभरिका मण्डलीहरूलाई वाचटावर र अवेक! पत्रिका तथा अन्य साहित्यहरूजस्ता आध्यात्मिक सामग्री बाँड्‌न पाउनु मेरोलागि साँच्चै नै एउटा सुअवसर थियो। ती दिनहरू निकै रोमाञ्चक थिए।

रीताले १६ वटा बाइबल अध्ययन गर्ने मौका पाइन्‌ र तिनीहरूमध्ये आधी जति यहोवाका बप्तिस्मा प्राप्त साक्षीहरू भए। डोलोरेस नाउँ गरेकी एउटी जवान विवाहिता मुटुको समस्याले गर्दा जाडो महिनाभरि ओछ्यानमै बस्थिन्‌। तर बसन्त ऋतुमा तिनी उठबस गर्न सक्थिन्‌ र केही हदसम्म सक्रिय हुन्थिन्‌। डोलोरेसको विश्‍वास बलियो थियो। अतः टूलुज, फ्रान्समा सम्पन्‍न हुने हाम्रो जिल्ला अधिवेशनको समय आउँदा तिनलाई त्यहाँ जाने साह्रै इच्छा भयो। तर तिनको मुटुको अवस्थाले गर्दा त्यसो गर्नु बुद्धिमानी हुनेछैन भनेर चिकित्सकले तिनलाई चेताउनी दिए। घरमा लगाउने लुगा र चप्पल लगाएर तिनी आफ्नो पति, आमा र अरूलाई बिदाइ गर्न रेल स्टेशन पुगिन्‌। तिनको हातमा कुनै सर-सामान थिएन र गहभरि आँसु थियो। आफूलाई त्यसरी छोडेर गएको देख्दा तिनलाई असह्‍य भयो र त्यही रेल चढेर तिनी फ्रान्स पुगिन्‌! यो कुरा रीतालाई थाहै थिएन। त्यसकारण अधिवेशनमा ठूलो मुस्कान लिएर बसेकी डोलोरेसलाई देख्दा तिनी तीन छक परिन्‌!

अनौठो बाइबल अध्ययन

म्याड्रिडमा हामीलाई खटाइएको कामको यो विवरण डन बेनिग्नो फ्रांको, “एल प्रोफेसोर[बिना]” अधुरो हुनेछ। कुरा के थियो भने, एक जना स्थानीय साक्षीले मलाई एक भद्र वयोवृद्ध र तिनकी पत्नीको घर लगे। तिनीहरू गरिबहरू बस्ने घरमा बस्थे। मैले तिनीसित बाइबल अध्ययन सुरु गरें। अनि साढे एक वर्षजति अध्ययन गरेपछि तिनले बप्तिस्मा लिएर यहोवाको साक्षी बन्‍ने इच्छा जाहेर गरे।

डन बेनिग्नो फ्रांको नाउँ गरेको यो भद्र वयोवृद्ध, तत्कालीन स्पेनी तानाशाही फ्रान्सिस्को फ्रांकोका नातेदार रहेछन्‌। डन बेनिग्नो पहिलेदेखिनै स्वतन्त्रताको प्रेमीजस्तो देखिन्छन्‌। स्पेनी गृह-युद्धको दौडान तिनले रिप्बलिकप्रति सहानुभूति देखाएका थिए र गृह-युद्ध जितेर क्याथोलिक तानाशाह शासनव्यवस्था स्थापना गर्ने आफ्नो सेनापति नातेदारको विरोधी थिए। सन्‌ १९३९ देखि डन बेनिग्नोलाई काम गर्ने अधिकारदेखि वञ्चित गरेकोले गरिब जीवन यापन गरिरहेका थिए। यसरी स्पेनी तानाशाही सैन्य नेता, जेनरालिसिमो फ्रान्सिस्को फ्रांकोका नातेदार यहोवाका साक्षी बन्‍न पुगे।

अप्रत्याशित निमन्त्रणा

सन्‌ १९६५ मा स्पेनी शाखा कार्यालयले हामीलाई बार्सेलोनामा क्षेत्रीय कार्य सुरु गर्न आमन्त्रित गरे। त्यसको अर्थ म्याड्रिडमा रहँदा बस्दा घनिष्ठ भएका सबै मायालु भाइहरूलाई छोडेर जानुपर्ने भयो। अब भने मेरोलागि एउटा नयाँ अनुभव मात्र होइन तर परीक्षा नै सुरु हुन लागेको थियो। यो अनुभव मेरोलागि डरलाग्दो थियो किनभने आफ्नो क्षमतामा म सधैं शंका गर्थें। तर सेवाको यस क्षेत्रमा मलाई प्रभावकारी बनाउने यहोवा नै हुनुहुन्छ भनेर मलाई राम्ररी थाह थियो।

हरेक हप्ता एउटा मण्डलीमा भ्रमण गर्नुको अर्थ हामी हरेक हप्ता भाइहरूको घरमा बस्नु थियो। हरेक दुइ हप्ता जसोमा आफ्नो सुटकेस बोकेर हामी अर्को घरमा सर्नुपर्थ्यो। विशेषगरि एउटी स्त्रीको लागि यो कुरा त्यति सजिलो हुँदैन। तर बार्सेलोनामा बस्ने होसे र रोजर इस्क्युडाले हामीलाई तिनीहरूसँगै बस्न आमन्त्रित गरे। तिनीहरूको यो काम प्रेमपूर्ण थियो। किनभने हामीले आफ्नो सर-सामान राख्ने स्थायी ठाउँ पाउनुको साथै आइतबार बेलुकी घर फर्कंने नियमित ठाउँ पनि पायौं।

भूमध्य सागरको तटमा पर्ने काट्‌लोनिया प्रान्तमा पनि रीता र मैले चार वर्ष क्षेत्रीय कार्यमा बितायौं। हाम्रा सबै बाइबल सभाहरू गोप्य तवरले भाइहरूको घरमा हुने गर्थ्यो र मानिसहरूको ध्यान आकर्षण नहोस्‌ भनेर घर-घरको प्रचार-कार्य पनि बुद्धिमानीपूर्वक गरिन्थ्यो। कहिलेकाहीं आइतबारको दिन र अझ विशेषगरि क्षेत्रीय सम्मेलन गर्नुपर्दा पूरै मण्डली जंगलमा गएर “वनभोज” मनाउँथ्यौं।

आफ्नो जागिर र स्वतन्त्रतालाई जोखिममा पारेर मण्डलीहरूलाई एकताबद्ध अनि सक्रिय राख्न प्रयत्नशील समर्पित आध्यात्मिक भाइहरूको हामी सधैं कदर गर्नेछौं। प्रचार-कार्यलाई शहरबाहिरसम्म विस्तार गर्न तिनीहरूमध्ये धेरैले नेतृत्व लिए। पछि सन्‌ १९७० मा प्रतिबन्ध फुकुवा हुनुको साथै धार्मिक स्वतन्त्रता दिइएपछि ती कुराहरू स्पेनको ठूलो वृद्धिको आधारशिला साबित भए।

मिसनरी सेवा छोड्‌नुपर्दा

यहोवाको सेवा गर्न हामीले स्पेनमा बिताएका दश वर्षको यो विशेष आशिष्‌को आनन्द हाम्रा आमा-बाबुको स्थितिले गर्दा सीमित भएको थियो। मेरो मुमा र बुबाको रेखदेख गर्न निकै चोटि हामीले झन्डै आफ्नो काम छोडेर घर फर्कनु परेको थियो। तथापि, मेरा आमा-बाबुको घर नजीकै मण्डलीका मायालु भाइ-बहिनीहरूप्रति म आभारी छु। किनभने तिनीहरूको सहयोगले गर्दा हामीले स्पेनमै बसेर काम गर्नसक्यौं। हो, परमेश्‍वरको राज्यसम्बन्धी कार्यहरूलाई हामी सँगसँगै प्रथम स्थानमा राख्नहरूले गर्दा नै मिसनरी सेवामा लागिरहने सुअवसर पायौं।

अन्ततः मेरी आमाको हेरचाह गर्न हामी सन्‌ १९६८ डिसेम्बरमा घर फर्क्यौं। हामी घर पुगेकै महिना मेरो बुबा बित्नुभयो र मेरी आमा एक्लै हुनुभयो। पूर्ण-सेवा गर्न तुलनात्मक रूपमा अझ पनि स्वतन्त्रै भएकोले हामीले क्षेत्रीय सेवा गर्ने जिम्मेवारी पायौं। तर अर्कै क्षेत्र संयुक्‍त राज्यमा। त्यसपछि २० वर्षसम्म हामीले स्पेनी क्षेत्रहरूमा सेवा गऱ्‍यौं। मिसनरी सेवा गर्ने मूल्यवान्‌ मोती हराएको भए तापनि हामीले त्यसको ठाउँमा अर्को मोती पायौं।

लागू पदार्थ र हिंसाबीच प्रचार गर्ने

अहिले हामी अपराध जगजगी भएको शहरी क्षेत्रहरूमा थुप्रै भाइ-बहिनीहरूसँग मिलेर सेवा गर्दैछौं। भनौं भने, ब्रूक्लिन, न्यु योर्कमा क्षेत्रीय-कार्य थालेको पहिलो हप्तामै रीताको झोला लुटिएको थियो।

एकपटक रीता र म भाइहरूको समूहसित न्यु योर्क शहरको अर्को क्षेत्रमा घर-घर प्रचार गरिरहेका थियौं। सडकको मोडमा फर्कंदा हामीले केही मानिसहरू देख्यौं। निर्जन घरको प्वाल परेको भित्ताअगाडि तिनीहरू लस्करै उभिरहेका थिए। केही कदम अगाडि बढ्‌दा एउटा जवान केटाले पेटीमा बसेर हामीलाई हेरिरहेको याद गऱ्‍यौं। अर्को एक जना केटा चाहिं पल्लो छेउमा उभेर प्रहरीहरूको कार आए-नआएको हेरिरहेको थियो। हामी त लागू पदार्थ बेचबिखन भइरहेको ठाउँमा पो पुगेछौं! हामीलाई देख्नेबित्तिकै त्यो केटो अक्क न बक्क भयो। तर वाचटावर पत्रिका देखेपछि बल्ल उसको सास आयो। के थाह, म प्रहरी अधिकृत पनि हुनसक्थें! त्यसपछि स्पेनी भाषामा, “¡लोस आटालायाज! ¡लोस आटालायाज!” (प्रहरीधरहरावाला! प्रहरीधरहरावाला!) भनेर त्यो केटाले आफ्ना साथीहरूलाई बोलाउन थाल्यो। पत्रिकाहरूको कारण हामीहरू को हौं भनेर तिनीहरूलाई थाह थियो। त्यसकारण आत्तिनुपर्ने कुनै कारण थिएन। त्यो केटाको नजीकैबाट जाँदा मैले, “¿बुएनोस दियास, कोमो एस्ता?” (शुभ प्रभात, तिमीलाई सञ्चै छ?) भनें। उसको निम्ति प्रार्थना गरिदिन उसले आग्रह गर्दै मेरो अभिवादन फर्कायो।

कठिन निर्णय

सन्‌ १९९० तिर मेरी आमाको अवस्थाले गर्दा हर दिन उहाँसँगै बस्नुपर्ने कुरा स्पष्ट देखियो। परिभ्रमण कार्यलाई नछाड्‌न हामीले निकै प्रयत्न गरेका थियौं तर दुवै जिम्मेवारीहरूलाई पूरा गर्न सम्भव नहुने हामीले देख्यौं। अवश्‍य मेरी आमाको मायालुपूर्वक हेरविचार होस्‌ भनेर हामी दुवै चाहन्थ्यौं। तर फेरि एकपटक हामीले मूल्यवान्‌ मोतीलाई गुमाउनुपऱ्‍यो। यो हाम्रोलागि साह्रै अमूल्य कुरा थियो। यहोवाको संगठनमा मिसनरी वा परिभ्रमण निरीक्षकहरू भएर सेवा गर्न पाउनु संसारका सबै रत्न र त्यसलाई प्राप्त गर्न मानिसहरूले गर्ने यत्नभन्दा धेरै गुना मूल्यवान्‌ रत्न हो।

रीता र म अहिले ६० वर्ष पुगिसक्यौं। स्थानीय स्पेनीभाषी मण्डलीमा सेवा गर्न पाउँदा हामी सन्तुष्ट र आनन्दित नै छौं। तर यहोवाको सेवामा बिताएका ती वर्षहरूलाई फर्केर हेर्दा, यहोवाले हामीलाई केही मूल्यवान्‌ मोतीहरू दिनुभएकोमा उहाँलाई धन्यवाद चढाउँछौं।

[पृष्ठ २३-मा भएको चित्र]

म्याड्रिडमा साँढे जुधाउने भवनबाहिर रीता तथा पल र एभ्लिन हन्डर्टमार्कसँग (दाँया)

[पृष्ठ २४-मा भएको चित्र]

जंगलमा “वनभोज” मनाउँदै मण्डलीको सेवा गरेको दृश्‍य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने