लगनशीलताले प्रगतितर्फ लैजान्छ
जुझे म्याग्लोभ्सकीको वृतान्तमा आधारित
प्रहरीले मेरो हात समात्दा मैले आफ्नो बुबालाई खोजें। तर मलाई थाहै नदिइकन उहाँलाई थाना लगिसकिएको रहेछ। म त्यहाँ आइपुग्दा प्रहरीले बाइबललगायत हाम्रा सारा प्रकाशनहरू जफत गरेर भुइँमा थाक लगाएर राखेका थिए। यो देखेर मेरो बुबाले सोध्नुभयो: “तपाईंहरूले बाइबललाई समेत भुइँमा राख्ने हिम्मत गर्नुभयो?” यो सुनेर प्रहरी प्रमुखले माफी मागे र बाइबलहरू टिपेर टेबलमाथि राखे।
हामी कसरी थाना पुग्यौं? हामीले त्यस्तो के काम गरिरहेका थियौं? हाम्रो बाइबलसमेत जफत गर्न के हामी अनिश्वरवादी सरकारको अधीनमा थियौं? यी प्रश्नहरूको जवाफका लागि, इतिहासको पन्ना पल्टाएर सन् १९२५ मा पुग्नुपर्नेछ जुनबेला म जन्मिएको पनि थिइनँ।
त्यस वर्ष मेरो बुबा इस्टाफनो म्याग्लोभ्सकी र मेरी आमा जुलियाना तत्कालीन युगोस्लाभिया छाडेर ब्राजिलको साऊ पाऊलुमा बसाइँ सर्नुभएको थियो। मेरो बुबा प्रोटेस्टेन्ट र आमा क्याथोलिक भए तापनि उहाँहरू बीच धर्म फाटोको बीउ बनेन। वास्तवमा दश वर्षपछिको घटनाले उहाँहरूलाई धार्मिक तवरमा एक बनायो। मेरो सानो बुबाले मृत मानिसहरूबारे छलफल गर्ने हंगेरी भाषाको एउटा रंगीन पुस्तिका ल्याउनुभयो। उहाँले उपहारस्वरूप सो पुस्तिका पाउनुभएको रहेछ त्यसैकारण मेरो बुबालाई त्यो पुस्तिका पढेर आफ्नो राय व्यक्त गर्न भन्नुभएछ। विशेषगरि “नरक” शीर्षक भएको भागबारे उहाँ बुबाको प्रतिक्रिया जान्न चाहनुहुन्थ्यो। रातभर बुबाले पुस्तकलाई दोहोऱ्याइ तेहऱ्याइ पढ्नुभयो र अर्को दिन सानो बुबा प्रतिक्रिया बुझ्न आउनुहुँदा एकदम स्पष्टसाथ यसो भन्नुभयो: “यसमा सच्चाइ छ!”
साना सुरुआतहरू
त्यो पुस्तिका यहोवाका साक्षीहरूको भएकोले तिनीहरूको विश्वास र शिक्षाहरूबारे अझ बढी सिक्न उहाँहरू दुवैले साक्षीहरूलाई खोज्न थाल्नुभयो। अन्ततः सम्पर्क भएपछि हाम्रो परिवारका अधिकांश सदस्यहरूले साक्षीहरूसित बाइबलमा आधारित छलफल गर्नथाले। त्यही वर्ष सन् १९३५ तिर हंगेरी भाषामा नियमित बाइबल अध्ययन सुरु भयो र औसतन आठ जना त्यसमा सामेल हुन्थे। त्यसै समयदेखि हाम्रो घरमा नियमित तवरले बाइबल अध्ययनहरू सञ्चालन भयो।
दुइ वर्ष बाइबल अध्ययन गर्नुभएपछि मेरो बुबाले सन् १९३७ मा बप्तिस्मा लिनुभयो र घर-घरको प्रचार-कार्यका साथै नियुक्त सेवक र अध्ययन सञ्चालकको हैसियतमा यहोवाको उत्साही साक्षी बन्नुभयो। उहाँले साऊ पाऊलुको भिला मरिनामा पहिलो मण्डली स्थापना गर्न सहयोग पुऱ्याउनुभयो। यो मण्डलीलाई पछि शहरको मध्य भागमा सारियो र केन्द्रीय मण्डलीको नाउँले चिनिन थाल्यो। दश वर्षपछि इपिरंगा क्षेत्रमा दोस्रो मण्डली स्थापना भयो र मेरो बुबालाई मण्डली सेवकको हैसियतमा त्यहाँ नियुक्त गरियो। सन् १९५४ मा मोईन्यो भेल्यो क्षेत्रमा तेस्रो मण्डली स्थापना भयो र त्यहाँ पनि उहाँले मण्डली सेवकको हैसियतमा सेवा गर्नुभयो।
यो समूह बलियो हुने बित्तिकै उहाँले साऊ बर्नार्डो डो क्याम्पो भन्ने नजीकैको ठाउँमा अर्को समूहलाई मदत गर्न थाल्नुभयो। साक्षीहरूका यी साना समूहहरूको प्रयत्नलाई यहोवाले दिनुभएको आशिष्प्रति हामी आभारी छौं। किनभने वर्षौंको दौडान असाधारण वृद्धि भएको छ। फलतः सन् १९९४ सालतिर अहिलेको ठूलो साऊ पाऊलुमा ७६० मण्डलीहरू तथा ७०,००० प्रकाशकहरू छन्। तर दुःखको कुरा, मेरो बुबाले यी सबै देख्न पाउनु भएन। सन् १९५८ मा ५७ वर्षको उमेरमा उहाँको मृत्यु भयो।
बुबाको उदाहरण अनुकरण गर्ने प्रयत्न
अरू परिपक्व मसीहीहरूजस्तै मेरो बुबाको एउटा उल्लेखनीय गुन आतिथेय थियो। (३ यूहन्ना १, ५-८ हेर्नुहोस्।) फलस्वरूप सन् १९३६ मा भाइ र बहिनी युलसँगै संयुक्त राज्यबाट ब्राजिल आउने आन्टोनियो अन्ड्राडे र तिनकी पत्नी तथा छोरालाई हाम्रो घरमा आतिथेय गर्ने सुअवसर पायौं। वाचटावर बाइबल स्कूल अफ गिलियडका दुइ स्नातक ह्यारी ब्ल्याक र डिलर्ड लेथ्को पनि हाम्रो घरका पाहुनाहरू थिए। यी दुइ सन् १९४५ मा ब्राजिल आउने प्रथम मिसनरीहरू थिए। त्यसपछि अरू थुप्रै मिसनरीहरू आए। यी भाइ-बहिनीहरूले हाम्रा परिवारका सबैलाई निरन्तर प्रोत्साहन दिन्थे। त्यसप्रतिको मूल्यांकन र मेरो परिवारको हितका लागि मैले आफ्नो बुबाको उदाहरण अनुकरण गर्दै अतिथेयको मसीही गुन देखाउने प्रयत्न गरेको छु।
सन् १९३५ मा मेरो बुबाले सत्य सिक्नुहुँदा म नौ वर्षको मात्र थिएँ। तैपनि जेठो छोराको हैसियतमा म उहाँ सँगसँगै ईश्वरतान्त्रिक क्रियाकलापहरूमा सामेल हुनथालें। साऊ पाऊलुको इशा दे कारोज सडक नम्बर १४१ स्थित साक्षीहरूको मुख्यालयमा हाम्रो राज्य भवन थियो र हामी उहाँसँगै सभाहरूमा जान्थ्यौं। मेरो बुबाले दिनुभएको शिक्षा र प्रशिक्षणका लागि म आभारी छुँ। त्यसले गर्दा नै मैले आफूमा यहोवाको सेवा गर्ने तीव्र इच्छा विकास गरें अनि सन् १९४० तिर मैले यहोवालाई आफ्नो जीवन समर्पण गरें र साऊ पाऊलुको मध्य भाग भएर बग्ने अहिलेको प्रदूषित टेटा नदीमा निमज्जनद्वारा त्यसलाई प्रतीकात्मक रूप दिएँ।
त्यसपछि चाँडै नै, सुसमाचारको नियमित प्रकाशक हुनु भनेको के हो अनि अरूको हृदयमा सत्यको समाचारलाई रोपेर, पानी हालेर कसरी बाइबल अध्ययन गर्ने भनेर सिकें। अहिले ब्राजिलमा यहोवाका हजारौं समर्पित साक्षीहरूमध्ये अधिकांश मानिसहरूलाई सत्यको ज्ञानमा आउन वा त्यसप्रति तिनीहरूको मूल्यांकन बढाउन मदत दिन परमेश्वरले मलाई चलाउनुभएकोमा मलाई खुशी लाग्छ।
तिनीहरूमध्ये एक ज्वाकेन मेलो थिए, जसलाई मैले ढोका-ढोकाको सेवकाईमा भेटेको थिएँ। म तीन जना मानिसहरूसित कुरा गर्दै थिएँ। तर तिनीहरूले त्यति चासो दिइरहेका थिएनन्। त्यतिकैमा बीचमा आएर ध्यानपूर्वक मेरो कुरा सुनिरहेको एक जना केटोलाई याद गरें। उनको चासो देखेर मैले उनीतिर ध्यान दिएँ र राम्रो साक्षी दिएपछि उनलाई मण्डली पुस्तक अध्ययनका लागि निमन्त्रित गरें। उनी अध्ययनमा उपस्थित भएनन् तर ईश्वरतान्त्रिक पाठशालामा भने देखा परे र त्यसपछि नियमित तवरमा सभाहरू धाउन थाले। उनले राम्रो प्रगति गरे र बप्तिस्मा लिए अनि निकै वर्षसम्म आफ्नी पत्नीसित परिभ्रमण सेवामा लागे।
त्यस्तै मेरो काम गर्ने ठाउँमा मैले अर्नाल्डो ओर्सीलाई भेटें। म आफ्ना सहकर्मीहरूलाई नियमित तवरमा साक्षी दिन्थें तर दाढी पाल्ने यो जवान मानिसले मेरो कुरा सधैं ध्यान दिएर सुन्थ्यो। अतः म सीधै तिनीसँग कुरा गर्न थालें। तिनी कट्टर क्याथोलिक परिवारबाट आएका थिए र धूम्रपान, अश्लील चलचित्रहरू र मार्शल आर्ट जुडोजस्ता थुप्रै कुराहरूबारे प्रश्न गर्थे। बाइबलले त्यस विषयमा के भन्छ भनेर मैले तिनलाई देखाएँ र मलाई छक्कै पार्नेगरि भोलिपल्ट बोलाएर मेरै सामू तिनले धूम्रपान गर्ने नली र क्रस भाँचेर टुक्रा पारे, अश्लील फिल्महरू नष्ट गरे अनि आफ्नो दाढीसमेत खौरे। क्षणभरमा तिनी अर्कै मानिस भइसकेका थिए! तिनले जुडो खेल्न पनि छाडिदिए र दिनहुँ बाइबल अध्ययन गर्न मलाई आग्रह गरे। आफ्नी पत्नी तथा पिताको विरोधको बावजूद तिनले नजीकै बस्ने भाइहरूको मदतद्वारा राम्रो आध्यात्मिक प्रगति गरे। केही समयभित्र तिनले बप्तिस्मा लिए र आज मण्डलीको प्राचीनको हैसियतमा तिनी सेवा गर्छन्। तिनकी पत्नी तथा छोरा-छोरीहरूले पनि सच्चाइ स्वीकारे।
राज्य सेवामा भाग लिने
म १४ वर्षको भएपछि एउटा विज्ञापन फर्ममा काम गर्न थालें र त्यहींबाट साइनबोर्डहरू रंगाउन सिकें। यो निकै लाभदायी साबित भयो र निकै वर्षसम्म साऊ पाऊलुमा जनभाषण तथा यहोवाका साक्षीहरूको अधिवेशनको विज्ञापन गर्न पोस्टर र ब्यानर बनाउने भाइ म मात्र थिएँ। लगभग ३० वर्षसम्म मैले अधिवेशन साइन विभाग निरीक्षकको हैसियतले सेवा गर्ने सुअवसर पाएँ। अधिवेशनहरूमा काम गर्न म सधैं आफ्ना बिदाहरू बचाउँथे र समयमै साइनहरू तयार पार्न अधिवेशन भवनमा समेत सुत्थें।
मैले सोसाइटीको साउण्ड कारमा काम गर्ने मौका पनि पाएँ। त्यतिबेला यो नौलो कुरा थियो। त्यतिखेर हामी आफ्ना बाइबल प्रकाशनहरू ठेलामा राखेर घुमाउँथ्यौं र साउण्ड कारले पूर्व रिकर्ड गरिएको समाचार घोषणा गरेपछि मानिसहरू आ-आफ्नो घरबाट के भयो भनी बाहिर हेर्न आउँदा तिनीहरूसित कुरा गर्थ्यौं। राज्य सुसमाचार प्रचार गर्न हामीले अपनाएको अर्को विधि वहनीय ग्रामाफोन थियो। सोसाइटीका प्रकाशनहरू प्रस्तुत गर्न चलाइने रेकर्डहरू अझैसम्म मसँगै छ। फलतः त्यतिबेला हामीले निकै बाइबल साहित्यहरू वितरण गऱ्यौं।
ती दिनहरूमा क्याथोलिक चर्चले साऊ पाऊलुका सडकहरूमा ठूलो जुलुस निकाल्थे र प्रायः पुरुषहरू अघि अघि हिंडेर बाटो तयार पार्थे। एक आइतबार बुबा र म सडकमा द वाचटावर तथा अवेक! वितरण गर्दैथियौं त्यतिकैमा एउटा जुलुस देखा पऱ्यो। मेरो बुबाको टोपी लाउने बानी थियो। त्यसैकारण तिनले टोपी लाएको देख्नेबित्तिकै एक जना मानिसले चिच्याउँदै भने: “टोपी फुकाल्! जुलुस आइरहेको देखिनस्?” तर मेरो बुबाले टोपी नफुकाल्दा अझ अरू मानिसहरू आए। तिनीहरूले उहाँलाई पसलको झ्यालतिर चेपे र निकै होहल्ला गरे। होहल्ला भएको देखेर एक जना प्रहरी त्यहाँ आइपुगे। तिनीसँग कुरा गर्न एक जना मानिसले तिनको हात तान्न खोजे। यो देखेर त्यस प्रहरीले हातमा थप्पड हान्दै यसो भने, “मेरो पोशाकमा हात नहाल्!” त्यसपछि तिनले सोधपूछ गर्न थाले। जुलुस आउँदा मेरो बुबाले टोपी फुकाल्नुभएन भनेर त्यो मानिसले बताउनुका साथै अझ यसो भने: “म प्रेरितहरूजस्तै रोमन क्याथोलिक हुँ।” यसको निकै अप्रत्याशित जवाफ आयो: “तिमी रोमी हौं भने रोममा जाऊ, यो ब्राजिल हो।” त्यसपछि हामीतर्फ फर्कंदै तिनले सोधे: “पहिला यहाँ को थियो?” मेरो बुबाले हामी थियौं भनेर जवाफ दिनुभयो। यति भनेपछि त्यस प्रहरीले अरू मानिसहरूलाई पठाइदिए र हामीलाई चाहिं आफ्नो काम जारी राख्न दिए। पूरै जुलुस नसकेसम्म त्यो प्रहरी हामीसँगै उभिरहे र मेरो बुबाको टोपी पनि शिरको शिरमै रह्यो।
यस्ता घटनाहरू सधैं हुँदैनन्। तर त्यस्ता घटनाहरू हुँदा अल्पसंख्यक मानिसहरूको पनि न्याय हुनुपर्छ भनी विश्वास राख्ने र क्याथोलिक चर्चको चापलुसी नगर्ने मानिसहरू भेटाउनु निकै प्रोत्साहनजनक कुरा हो।
अर्को समयको कुरा हो, मैले एक जना किशोरलाई भेटें। तिनले मेरो कुरामा चासो देखाए र अर्को हप्ता आउन आग्रह गरे। म फर्केर जाँदा तिनले मेरो स्वागत गरे र घरभित्र लगे। तर भित्र मेरो खिसी गर्ने र मलाई चिढ्याउन खोज्ने केटाहरूको डफ्फा भेटाउँदा म एकदम छक्क परें! स्थिति बिग्रँदै गयो र तिनीहरूले अब केही बेरमै मलाई आक्रमण गर्छन् जस्तो मलाई लाग्यो। मलाई निम्त्याउने त्यो केटालाई मैले धम्की दिंदै आफूलाई केही भएमा ऊ स्वयम् जिम्मेवार हुने र म कहाँ छुँ भनी मेरो परिवारलाई थाह भएको कुरा बताएँ। मलाई जानदेऊ भनेर तिनीहरूसित आग्रह गरें र तिनीहरू राजी भए। तर तिनीहरूमध्ये कोही मसँग एक्लै कुरा गर्न चाहेमा म तयार हुनेछु भनी जानअघि बताएँ। पछि तिनीहरू हठधर्मी समूह, स्थानीय पादरीका मित्रहरू रहेछन् भनी थाह पाएँ र मसँग त्यस किसिमको भेट गर्न प्रोत्साहन दिने पनि त्यही पादरी रहेछ। तिनीहरूको हातबाट फुत्कन पाएकोमा म खुशी भएँ।
निस्सन्देह सुरु-सुरुतिर ब्राजिलको प्रगति ठम्याउनै नसकिने किसिमले सुस्त गतिमा भइरहेको थियो। हामी “रोप्ने” कामको प्रारम्भिक अवस्थामा थियौं र हामीसित “पानी हाल्ने” र “कटनी गर्ने” समय कम थियो। हामी सधैं प्रेरित पावलले लेखेका यी शब्दहरू सम्झन्थ्यौं: “मैले रोपें, अपोल्लसले पानी हाले, तर परमेश्वरले चाहिं बढ़ाउनुभयो। यसकारण नता रोप्ने केही हो, न पानी हाल्ने, तर बढ़ाउने परमेश्वरनै हुनुहुन्छ।” (१ कोरिन्थी ३:६, ७) तर सन् १९४५ मा दुइ गिलियड स्नातकहरू आएपछि यो चिरप्रतीक्षित वृद्धिको समय आयो जस्तो हामीलाई महसुस भयो।
विरोधको बावजूद दृढता
तथापि, विरोध नआई वृद्धि हुने छाँटकाँट थिएन। अझ विशेषगरि युरोपमा दोस्रो विश्व-युद्ध सुरु भएपछि। जनसाधारण र केही अख्तियारवालाहरूले हाम्रो तटस्थता बुझ्न नसकेकोले पूर्णतया सतावट आयो। एक पटक सन् १९४० तिर साऊ पाऊलुको मध्य भागमा हामी पोस्टरहरू लिएर सडक-कार्य गर्दै थियौं। त्यतिकैमा पछाडिबाट एक जना प्रहरीले मेरो पोस्टर च्यातिदियो र मलाई हात समातेर थानामा लग्यो। मैले बुबालाई खोजें। तर उहाँ कतै देखिनु हुन्नथियो। मलाई थाहै नदिइकन उहाँ र ब्राजिलको काम निरीक्षण गर्ने भाइ युलका साथै अरू थुप्रै भाइ-बहिनीहरूलाई समातेर थानामा लगिसकेको रहेछ। र माथि सुरुको अनुच्छेदमा उल्लेख गरेझैं मैले आफ्नो बुबालाई त्यहीं थानामा भेटें।
म नाबालिग भएकोले तिनीहरूले मलाई हिरासतमा राख्न सक्दैनन् थिए। त्यसैकारण केही समयपछि त्यहींकै प्रहरीले मलाई घर लगेर मेरी आमालाई बुझाइदिए। त्यही बेलुकी बहिनीहरूलाई मुक्त गरियो। पछि प्रहरीले भाइ युलबाहेक बाँकी दश जना जति भाइहरूलाई मुक्त गर्ने निर्णय गऱ्यो। तथापि, भाइहरूले यसो भन्दै जोड गरे: “या त हामी सबैलाई मुक्त गर्नुहोस्, होइन भने हामीमध्ये कोही पनि जाने छैनौं।” तर प्रहरीहरू आफ्नो निर्णयमा अटल थिए, अतः हामी सबैले त्यो रात सिमेन्टको चिसो भुइँमा बितायौं। अर्को दिन कुनै शर्तबिना हामी सबैलाई मुक्त गरियो। पोस्टर लिएर साक्षी दिएकोमा हाम्रा भाइहरू निकै पटक गिरफ्तार भए। ती साइनहरूमा जनभाषणका साथै फासिज्म अर फ्रिडम (फ्यासिज्म वा स्वतन्त्रता) शीर्षक भएको पुस्तिकाको घोषणा गरियो र केही अख्तियारवालाहरूले हामी फ्यासिज्मको पक्षमा छौं भनी ठान्दा गलतफहमी हुनगयो।
अनिवार्य सैनिक सेवाले पनि हाम्रा जवान भाइहरूका निम्ति समस्या खडा गऱ्यो। सन् १९४८ तिर यसै विवादले गर्दा ब्राजिलमा कैद हुने पहिलो व्यक्ति म भएँ। मलाई के गर्ने हो भनेर अख्तियारवालाहरूलाई थाह थिएन। त्यसैकारण तिनीहरूले मलाई क्यासापाभा शहरको ब्यारेकमा पठाइदिए र करेसाबारी र बगैंचाको हेरचाह गर्नुका साथै अफिसरहरूले तलवारबाजी गर्ने कोठा सफा गर्ने काममा लगाए। त्यहाँका मानिसहरूलाई साक्षी दिने र प्रकाशनहरू दिने थुप्रै मौका मैले पाएँ। हाम्रो सोसाइटीको चिल्ड्रेन (केटा-केटीहरू) नामक पुस्तक स्वीकार्ने प्रथम व्यक्ति त्यहाँका सुपरिवेक्षक थिए। पछि कसरत गर्न नसकेर कोठामा बस्नु परेका ३०-४० जना सिपाहीहरूलाई धर्मबारे सिकाउने जिम्मेवारी मलाई दिइयो। अन्ततः दश महिना जेलमा बिताएपछि मलाई अदालतमा लगेर मुक्त गरियो। केही मानिसहरूको धम्की, अपमान र गिल्ला सहने मदत दिनुभएकोमा म यहोवाप्रति कृतज्ञ छुँ।
विश्वासी तथा वफादार सहायक
जून २, १९५१ मा मैले बार्बरासित विवाह गरें र त्यस समयदेखि हाम्रा छोरा-छोरीहरूलाई शिक्षा दिने र “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्ने काममा तिनी मेरो वफादार तथा विश्वासी साथी भएकी छिन्। (एफिसी ६:४) हाम्रा पाँच छोरा-छोरीहरूमध्ये चार जना विभिन्न क्षेत्रमा यहोवालाई आनन्दपूर्वक सेवा गर्दैछन्। हामी सँगसँगै तिनीहरू सच्चाइमा लागिरहनेछन् र हाम्रो संगठनको उन्नति र भइरहेको काममा योगदान दिई नै रहनेछन् भनी हामी आशा गर्छौं। काखमा हुने बच्चाबाहेक फोटोमा हामीसँगै उभिने परिवारका सबै सदस्यहरू यहोवाका समर्पित सेवकहरू हुन्। यिनीहरूमध्ये चार जना प्राचीन र दुइ जना नियमित अग्रगामीहरू पनि हुन्। यसले हितोपदेश १७:६ को सत्यतालाई चित्रण गर्दछ: “नाति-नातिनीहरू वृद्धावस्थाका मुकुट हुन्, औ छोराहरूको गर्व आफ्ना बाबुमाथि हुन्छ।”
अहिले ६८ वर्षको उमेरमा मेरो स्वास्थ्य त्यति राम्रो छैन। सन् १९९१ मा मैले ट्रिपल-बाइपास शल्यक्रिया र पछि एन्जियोप्लास्ट गराएँ। तथापि, साऊ बर्नार्डो डो क्याम्पो क्षेत्रमा काम गर्ने प्रथम व्यक्तिहरूमध्ये एक, मेरो बुबाको पदचिन्हमा चल्दै त्यहींकै मण्डलीको अध्यक्षको हैसियतमा आफ्नो सेवा कायम राख्न सकेकोमा म खुशी छु। यहोवाको मसीह राज्य स्थापनाबारे घोषणा गर्ने अर्थात् कहिल्यै नदोहरिने यस काममा भाग लिने सुअवसर पाउने हाम्रो पुस्ता निस्सन्देह अनुपम छ। त्यसैकारण पावलले तिमोथीलाई भनेका यी शब्दहरू हामीले कहिल्यै भुल्नु हुँदैन: “प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।”—२ तिमोथी ४:५.
[पृष्ठ २३-मा भएको चित्र]
मेरा आमा-बाबु, इस्टाफनो तथा जुलियाना म्याग्लोभ्सकी
[पृष्ठ २६-मा भएको चित्र]
यहोवाका समर्पित सेवकहरूले बनेको आफ्नो परिवारका सदस्यहरूसित जुझे र बार्बरा