यहोवाप्रतिको मेरो आस्थाले मलाई सँभाल्यो
अझेनोर दा पाइशूनको वृत्तान्तमा आधारित
भर्खर ११ महिना पुगेको हाम्रो एक्लो छोरो पाउलू ब्रोनक्राइटीसले गर्दा मऱ्यो। यसको ठीक तीन महिनापछि अगस्त १५, १९४५ मा निमोनियाले गर्दा मेरी प्रिय पत्नीको पनि मृत्यु भयो। त्यतिबेला म २८ वर्षको थिएँ। यी दुःखद परिस्थितिहरूले गर्दा म अत्यन्त दुःखी भएँ, निराश भएँ। यद्यपि, यहोवाप्रतिको आस्था र उहाँका प्रतिज्ञाहरूले मलाई सँभाले। मैले यस्तो आस्था कसरी राख्नसकें, आउनुहोस्, तपाईंहरूलाई बताउँछु।
जनवरी ५, १९१७, ब्राजिलस्थित बहाइ प्रान्तको साल्भाडोरमा म जन्मेको दिनदेखि मेरी आमाले मलाई क्याथोलिक चर्चका “सन्तहरूको” उपासना गर्न सिकाउनुभयो। सँगै मिलेर प्रार्थना गर्न सकोस् भनेर उहाँले मेरा दाइहरू र मलाई बिहान सबेरै उठाउनुहुन्थ्यो। तथापि, मेरा आमाबाबु अफ्रिकी-ब्राजिली भूडू रीतिहरूमा अर्थात् कन्दोम्ब्लेमा पनि भाग लिने गर्नुहुन्थ्यो। म यी विश्वासहरूको कदर गर्थें तर क्याथोलिक मतका ती सन्त कहलाइएकाहरू वा कन्दोम्ब्लेमा भने मलाई रत्तिभर आस्था थिएन। यी धर्महरूमा जातीय भेदभाव देखेर म असाध्यै दुःखी भएँ।
समयको क्रममा मेरा दुइ दाइहरू कामको खोजीमा घर छोडेर जानुभयो। पछि बुबा पनि हामी सबैलाई चटक्कै छोडेर जानुभयो। त्यसैकारण नौ वर्षको छँदादेखि नै मेरी आमा र बहिनीलाई सघाउन मैले काम गर्नुपऱ्यो। लगभग १६ वर्षपछि कारखानामा एक जना सहकर्मीसित भएको वार्तालापपछि मेरो जीवनले अर्कै मोड लियो।
यहोवामा आस्था राखें
सन् १९४२ मा फेर्नान्डू टेलेजलाई भेटें। “सन्तहरूलाई” उपासना गर्नु ठीक छैन भनी तिनी अक्सर भन्ने गर्थे। (१ कोरिन्थी १०:१४; १ यूहन्ना ५:२१) सुरुमा त तिनको कुरालाई त्यति ध्यान दिइनँ। तर जुनसुकै जातका मानिसहरूप्रति तिनको निष्कपट चासो देखेर म प्रभावित भएँ। बाइबलबारे तिनको ज्ञान, अझ विशेषगरि परमेश्वरको राज्य र पार्थिव प्रमोदवनबारे तिनी जे भन्थे, त्यो सुनेर म दंग पर्थें। (यशैया ९:६, ७; दानियल २:४४; प्रकाश २१:३, ४) मेरो चासो देखेर तिनले मलाई बाइबल र बाइबलमा आधारित केही साहित्यहरू दिए।
केही हप्तापछि मण्डली पुस्तक अध्ययनमा उपस्थित हुने निम्तो स्वीकारें। त्यतिबेला मण्डली पुस्तक अध्ययनमा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित धर्म (अंग्रेजी) पुस्तक अध्ययन भइरहेको थियो। मलाई त्यो अध्ययन निकै रमाइलो लाग्यो र म यहोवाका साक्षीहरूको मण्डलीका सम्पूर्ण सभाहरूमा उपस्थित हुन थालें। तिनीहरूबीच जातीय भेदभाव नभएकोले र तिनीहरूले मप्रति देखाएको व्यवहारले म औधी प्रभावित भएँ र त्यही मार्गलाई तुरुन्तै पछ्याउन थालें। त्यति नै खेर लीन्डूर र मेरो माया बसेको थियो। सिकिरहेको कुराबारे तिनलाई बताउँदा तिनी पनि मसित सभाहरूमा उपस्थित हुन थालिन्।
प्रचार कार्यमा दिइएको जोडले गर्दा पनि मलाई सभाहरू असाध्यै मन पर्थ्यो। (मत्ती २४:१४; प्रेरित २०:२०) पूर्ण-समय सेवकहरू अर्थात् अग्रगामीहरू देखेर म साह्रै प्रभावित भएको थिएँ। त्यसैकारण काममा जाँदा आउँदा रेलमा मसितै यात्रा गर्नेहरूलाई अनौपचारिक साक्षी दिन थालें। कसैले चासो देखाएमा म तिनको ठेगाना टिप्थें र तिनको चासोलाई बढाउन तिनलाई फेरि भेट्न जान्थें।
त्यसैबीच यहोवा र उहाँले परिचालन गरिरहनुभएको संगठनमाथिको मेरो आस्था झन् झन् बढ्न थाल्यो। यसकारण मसीही समर्पणबारे दिइएको जनभाषण सुनेपछि अप्रिल १९, १९४३ का दिन मैले आन्द्र महासागरमा बप्तिस्मा लिएँ। त्यही दिन मैले पहिलो पटक औपचारिक तवरले घर-घरको सेवकाईमा भाग लिएँ।
यसको दुइ हप्तापछि मे ५ तारिखका दिन लीन्डूर र मेरो विवाह भयो। अनि १९४३, अगस्तमा साल्भाडोर शहरमा यहोवाका साक्षीहरूद्वारा आयोजित प्रथम सम्मेलनमा तिनले बप्तिस्मा लिइन्। यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९७३-ले (अंग्रेजी) उक्त सम्मेलनबारे यसो भन्यो: “साल्भाडोरमा दिइने जनभाषणमा पादरीहरूले रोक त लगाए तर . . . विस्तृत प्रचारप्रसार भइसकेपछि मात्र।” कठोर सतावट भोग्नुपर्दा पनि यहोवाले डोऱ्याइरहनुभएको प्रमाण पाउँदा उहाँमाथिको मेरो आस्था झन् बलियो भयो।
मेरी प्रिय पत्नी लीन्डूरले बप्तिस्मा लिएको दुइ वर्षपछि र हाम्रो छोरो मरेको तीन महिनापछि तिनको पनि मृत्यु भयो। यसबारे मैले सुरुमै बताइसकें। तिनी भर्खर २२ वर्ष पुगेकी थिइन्। तर यहोवाप्रतिको मेरो आस्थाले यस्ता कठिन क्षणहरूमा पनि मलाई सँभाल्यो।
आध्यात्मिक क्रियाकलापले सुदृढ भएँ
मेरी पत्नी र छोरोको मृत्यु भएको वर्ष दिन जतिपछि सन् १९४६ मा म साल्भाडोरस्थित त्यतिखेरको एक मात्र मण्डलीमा सेवा निरीक्षक नियुक्त भएँ। त्यही वर्ष ब्राजिलमा ईश्वरतान्त्रिक सेवकाई पाठशाला कार्यक्रम सुरु गरियो र म बहाइ प्रान्तको पहिलो पाठशाला सञ्चालक भएँ। अनि १९४६ अक्टोबरमा साऊ पाऊलु शहरमा “आनन्दित जातिहरू” भनिने ईश्वरतान्त्रिक सम्मेलन आयोजना गरियो। मैले दश वर्षदेखि काम गरिरहेको कार्यालयका हाकिमले कार्यालयमा मेरो खाँचो छ, त्यसैकारण सम्मेलनमा नजाऊ भनेर दबाब दिन थाले। तथापि, सम्मेलनमा उपस्थित हुनु मेरोनिम्ति कत्तिको महत्त्वपूर्ण हुन्थ्यो, तिनलाई बताइसकेपछि तिनले मलाई केही पैसा दिएर सफल यात्राको कामना गरे।
साऊ पाऊलुको नगरपालिकाको रंगमञ्चमा आयोजित सम्मेलन अंग्रेजी, जर्मन, पोलिस, रूसी र हंगेरी भाषाहरूलगायत ब्राजिलमा बोलिने पुर्तुगाली भाषामा सञ्चालन गरिएको थियो। त्यही सम्मेलनमा पुर्तुगाली भाषामा ब्यूँझनुहोस्! पत्रिका पनि विमोचन गरिएको थियो। जनभाषण सुन्न करिबन १,७०० मानिसहरू उपस्थित भएको त्यस सम्मेलनमा म यत्ति उत्प्रेरित भएँ, नोभेम्बर १, १९४६ देखि अग्रगामी सेवा थाल्न मैले आवेदन भरें।
त्यतिबेला अग्रगामी गर्न हामी फोनोग्राफ असाध्यै प्रयोग गर्थ्यौं। हामी घरधनीलाई अक्सर “सुरक्षा” विषयमा भाषण सुनाउँथ्यौं। भाषण सुनाइसकेपछि हामी यसो भन्थ्यौं: “एक अदृश्य शत्रुबाट बच्न हामीले एक अदृश्य व्यक्तिसितै मित्रता गाँस्नुपर्छ। यहोवा हाम्रो महान् मित्र हुनुहुन्छ र उहाँ हाम्रो शत्रु शैतानभन्दा निकै शक्तिशाली हुनुहुन्छ। त्यसकारण शैतानबाट बच्न हामी यहोवासित घनिष्ठ हुनैपर्छ।” त्यसपछि हामी त्यस विषयमा थप जानकारी दिने सुरक्षा शीर्षक भएको सानो पुस्तिका दिन्थ्यौं।
अग्रगामी गरेको वर्षदिन पुग्दा नपुग्दै मैले रियो दे जेनेरियोस्थित कारिओका मण्डलीमा विशेष अग्रगामीको रूपमा सेवा गर्ने निम्तो पाएँ। त्यहाँ हामीले कहिलेकाहीं भयंकर विद्रोहको सामना गर्नुपर्थ्यो। मेरो मित्र इभान ब्रेनरलाई एक चोटि त घरधनीले हमला नै गरेको थियो। त्यहाँका छिमेकीहरूले प्रहरीलाई खबर गरे र हामी सबै थानामा लगियौं।
सोधपुछको क्रममा त्यस चिढिएका घरधनीले हामीलाई होहल्ला मचाएको आरोप लगाए। प्रहरी प्रमुखले तिनलाई चुप लाग्ने आदेश दिए। त्यसपछि प्रहरी प्रमुखले नरम स्वरमा बोल्दै हामीलाई जाने अनुमति दिए। तर हामीलाई आरोप लगाउने त्यस घरधनीलाई तिनले हातपात गरेको आरोपमा हिरासतमा लिए। यस्ता परिस्थितिहरूले यहोवामाथिको मेरो आस्थालाई झन् बलियो बनाए।
पूर्ण-समय सेवकाईलाई बढाएको
बेथेल सेवा गर्न जुलाई १, १९४९ मा निम्तो पाउँदा मेरो खुट्टा भुइँमा थिएन। यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई बेथेल भनिन्छ। त्यतिखेर ब्राजिलको बेथेल रियो दे जेनेरियोस्थित ३३० लीसीन्यो कार्डोसु सडक नजीकै थियो। त्यसबेला बेथेल परिवारमा जम्मा १७ जना सदस्यहरू मात्र थिए। केही समय म स्थानीय एन्झेन्यो दे देन्त्रु मण्डली धाएँ तर पछि म रियो दे जेनेरियोभन्दा केही किलोमिटर पर पर्ने बेलफोर रोशू शहरस्थित मण्डलीको अध्यक्ष नियुक्त भएँ। त्यतिखेर त्यहाँ त्यही एउटा मात्र मण्डली थियो।
सप्ताहन्तमा फुर्सतै हुँदैन थियो। शनिबार म रेलबाट बेलफोर रोशू पुग्थें। त्यहाँ दिउँसोपख क्षेत्र सेवकाईमा जान्थें, त्यसपछि साँझपख ईश्वरतान्त्रिक सेवकाई पाठशाला र सेवा सभामा जान्थें। शनिबार त्यहीं भाइहरूसित रात बिताउँथें र भोलिपल्ट बिहान क्षेत्र सेवकाईमा जान्थें। आइतबार दिउँसो म जनभाषण र प्रहरीधरहरा अध्ययन सिध्याएर बेथेल पुग्दा रातको करिब साढे नौ बजिसकेको हुन्थ्यो। अहिले बेलफोर रोशूमा १८ वटा मण्डलीहरू छन्।
यसरी बेलफोर रोशूमा साढे तीन वर्ष सेवा गरेपछि १९५४ मा म फेरि रियो दे जेनेरियोकै साऊ क्रिस्टभाऊन मण्डलीको अध्यक्ष नियुक्त भएँ। त्यस मण्डलीमा मैले दश वर्षसम्म सेवा गरें।
बेथेल सेवा
बेथेलमा मैले गरेको पहिलो काम ग्यारेज बनाउने थियो। त्यतिखेर सोसाइटीमा यातायात साधनको नाउँमा १९४९ मा बनेको डाज भ्यान मात्र थियो। उक्त भ्यानको रंग खैरो भएकोले हामी त्यसलाई चक्लेट भन्थ्यौं। ग्यारेज बनिसकेपछि म भान्छामा काम गर्न खटाइएँ र भान्छामा मैले तीन वर्षसम्म काम गरें। त्यसपछि म सानो छापाखानामा काम गर्न खटाइएँ र बितेको ४० वर्षदेखि म यहीं काम गर्दैछु।
हामीसित भएका अधिकांश मुद्रण यन्त्रहरू पुराना थिए। उदाहरणका लागि, फ्ल्याटबेड मुद्रण यन्त्र हामीले निकै वर्षसम्म प्रयोग गऱ्यौं। त्यस मुद्रण यन्त्रलाई हामी माया गरेर सारा भन्थ्यौं। सारा अब्राहामकी पत्नी थिइन्। ब्रूक्लिन, न्यु योर्कस्थित वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको मुख्यालयको छापाखानामा उक्त मुद्रण यन्त्र वर्षौंसम्म प्रयोग गरिएको थियो। अनि १९५० को दशकमा त्यो यन्त्र ब्राजिलमा ढुवानी गरिएको थियो। अब्राहामकी पत्नी साराले बुढेसकालमा सन्तान जन्माएजस्तै पुरानै भए तापनि यो मुद्रण यन्त्रले प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू छाप्ने काम गऱ्यो।
ब्राजिलको छापाखानामा यत्ति धेरै प्रकाशनहरू छापिएको देख्दा म सधैं आश्चर्यचकित हुन्छु। सन् १९५३ मा हामीले ३,२४,४०० पत्रिकाहरू छाप्थ्यौं भने अहिले हामी प्रत्येक महिना ३० लाखभन्दा धेरै साहित्यहरू छाप्छौं!
बेथेल कार्यालय
ब्राजिलस्थित बेथेल कार्यालय धमाधम विस्तारित हुँदै गइरहेको देख्न पाउनु असाध्यै उत्साहवर्धक साबित भएको छ। यहाँ रियो दे जेनेरियोमा १९५२ तिर बेथेल गृहपछाडि दुइ तल्ले कारखाना निर्माण गरियो। त्यसपछि १९६८ मा बेथेल साऊ पाऊलुस्थित नयाँ भवनमा सारियो। हामी ४२ जना बेथेल परिवारका सदस्यहरूलाई त्यहाँ नयाँ भवनमा सर्दा सबै कोठाहरू ठूल-ठूलो र ठाउँ निकै चौडा जस्तै लागेको थियो। यो भवनले भविष्यमा हुने वृद्धिलाई पनि थाम्नेछ भनेर हामीले सोचेका थियौं। तथापि, १९७१ मा पाँच तल्ले दुइवटा भवनहरू निर्माण गरिए अनि छेवैमा रहेको कारखाना पनि किनेर त्यसको मरमत गरियो र ती भवनहरूमा सजिलै आवतजावत गर्नसकिन्थ्यो। तर केही वर्षभित्रै राज्य प्रकाशकहरूको संख्या निरन्तर बढ्न थाल्यो। सन् १९७५ मा राज्य प्रकाशकहरूको संख्या १,००,००० भन्दा बढी पुग्यो जसले गर्दा थप कोठाहरू आवश्यक पर्न गए।
यसरी साऊ पाऊलुभन्दा लगभग १४० किलोमिटर पर सिजारीओ लाम्झाको सानो गाउँमा एउटा नयाँ भवन निर्माण गरियो। हाम्रो बेथेल परिवारका १७० सदस्यहरू १९८० मा त्यस नयाँ शाखा कार्यालयमा सरे। त्यसबेलादेखि परमेश्वरको राज्यसम्बन्धी क्रियाकलापहरू कल्पनै गर्न नसकिने ढंगमा बढेको छ। अहिले ब्राजिलमा नियमित तवरले प्रचार कार्यमा भाग लिनेहरूको संख्या ४,१०,००० भन्दा धेरै भएको छ! यी सबै राज्य उद्घोषकहरूको आध्यात्मिक आवश्यकता पूरा गर्न बाइबल साहित्यहरू छाप्नको लागि नयाँ कारखानाहरूका साथै बेथेल स्वंयसेवकहरू बस्ने नयाँ आवास भवनहरू निर्माण गर्नुपरेको छ। अहिले हाम्रो बेथेल परिवारमा करिब १,१०० सदस्यहरू छन्!
अनमोल विशेषाधिकारहरू
बेथेल सेवालाई म निकै बहुमूल्य विशेषाधिकार ठान्छु। सुरु सुरुमा पुनःविवाह गर्ने विषयमा मैले नसोचेको चाहिं होइन तर पनि बेथेलमा पाएको विशेषाधिकार तथा प्रचार कार्यमै ध्यानकेन्द्रित गर्ने निर्णय गरें। यहाँ मैले छापाखानामा थुप्रै जवान व्यक्तिहरूसँगसँगै काम गर्ने र तिनीहरूलाई तालिम दिने अवसरहरूको आनन्द उठाउन पाएको छु। मैले तिनीहरूलाई आफ्नै छोराहरूजस्तै व्यवहार गर्ने प्रयास गरेको छु। तिनीहरूको जोस र निःस्वार्थ भाव मेरोनिम्ति ठूलो प्रोत्साहनको स्रोत साबित भएको छ।
समयको क्रममा भिन्नाभिन्नै साथीहरूसित बस्ने मौका पाएँ र तिनीहरूसितको संगतिबाट आनन्द पनि उठाएँ। यो मेरो अर्को विशेषाधिकार हो। हो, भिन्नै व्यक्तित्वले गर्दा कहिलेकाहीं व्यवहार गर्न गाह्रो हुन्छ। तर मैले अरूबाट सिद्धता आशा नगर्न सिकेको छु। तिललाई पहाड बनाउने वा आफैलाई बढ्ता महत्त्व दिने झुकाउबाट पनि टाढै बस्ने प्रयास गरें। ज्यादै संवेदनशील नभएको हुँदा अरूले गल्ती गर्दा माफ गर्नसकेको छु।
संयुक्त राज्यमा आयोजित ठूल-ठूला अन्तरराष्ट्रिय अधिवेशनहरूमा उपस्थित हुँदा पाएको आनन्द अर्को बहुमूल्य विशेषाधिकार हो। सन् १९६३, यांकी स्टेडियम, न्यु योर्कमा आयोजित “अनन्तको सुसमाचार” सम्मेलन त्यस्ता ठूला अधिवेशनहरूमध्ये एक थियो भने त्यही रंगशालामा १९६९ मा सम्पन्न अर्को अन्तरराष्ट्रिय अधिवेशन “पृथ्वीमा शान्ति” थियो। त्यहाँ छँदा मैले नजीकैको ब्रूक्लिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको विश्व मुख्यालयमा भ्रमण गर्ने मौका पाएँ!
दश वर्षसम्म बेथेल परिवारको प्रातःकालीन उपासना पालैसित सञ्चालन गर्न पाउनु पनि मेरो विशेषाधिकार थियो। तर मैले आनन्द उठाएको र प्रोत्साहन पाएको सबैभन्दा महत्त्वपूर्ण विशेषाधिकार चाहिं मालिक येशू ख्रीष्टले जस्तै इमानदार हृदय भएकाहरूसित परमेश्वरको राज्यबारे कुरा गर्न पाउनु नै हो।
हालै, पार्किनसन्स रोगले गर्दा म डाँडामाथिको जूनसरह भएको छु। तर बेथेल उपचार कक्षका भाइबहिनीको मायालु हेरविचार मेरोनिम्ति निरन्तर मदत र सान्त्वनाको स्रोत साबित भएको छ। यहोवाको साँचो उपासनामा आफूले सकेजति गरिरहनसक्न चाहिंदो बल दिनुहोस् भनेर पूर्ण आस्थासहित म उहाँलाई प्रार्थना गर्छु।
[पृष्ठ २३-मा भएको चित्र]
ब्राजिलको शाखा कार्यालय जहाँ म अहिले बस्छु
[पृष्ठ २३-मा भएको चित्र]
मेरी पत्नीसित, सन् १९४५ मा तिनको मृत्यु भयो