तिनीहरू कहिले पढ्छन् र कसरी लाभ उठाउँछन्
बिहान सबेरै:
एउटा जागिरदार विवाहित दम्पतीले हरेक बिहान दश मिनेट चाँडै उठ्ने र काममा जानुअघि दुवैले सँगै बाइबल पढ्ने निर्णय गरे। आफूले पढेका कुराहरूले तिनीहरूलाई घरबाहिर स्वस्थकर कुरा गर्ने आधार प्रदान गर्छ।
पारिवारिक बाइबल पढाइको लागि नाइजेरियाका प्राचीन, ईश्वरतान्त्रिक सेवकाई पाठशालामा दिइएको कार्यक्रमलाई आधार मान्छन्। हरेक दिन प्रायः बिहानीपख दैनिक पद पढिसकेपछि तिनीहरू बाइबलका केही भाग पढ्छन्। छोरा-छोरीहरूलाई पालैपालो अह्राइएको भाग पढ्न लगाउँछन्। त्यसपछि आफूले पढेका पदहरूबाट प्रश्न गर्न निम्त्याउँछन्।
जापानकी एउटी गृहिणीले सन् १९८५ देखि वर्षेनी पूरै बाइबल पढ्दै आएकी छिन्। हरेक बिहान ५ बजे २० देखि ३० मिनेटसम्म बाइबल पढ्ने तिनको कार्यक्रम छ। आफूले प्राप्त गरेको लाभबारे तिनी यसो भन्छिन्: “मेरो विश्वास बलियो भएको छ। म बिरामी छुँ भन्ने कुरा बिर्सेर प्रमोदवनको आशिष्मा आफ्नो ध्यान केन्द्रित गर्न त्यसले मलाई मदत गर्छ।”
एक जना बहिनी अग्रगामी सेवामा लागेको ३० वर्ष भइसक्यो तर तिनको पति साक्षी होइनन्। आफ्नो बाइबल पढाइका लागि यो बहिनी हरेक बिहान पाँच बजे उठ्छिन्। तिनको कार्यक्रमअनुसार हरेक दिन हिब्रू शास्त्रको चार पृष्ठ, युनानी शास्त्रको एउटा अध्याय र हितोपदेशको एउटा पद पढ्नुपर्छ। सन् १९५९ देखि तिनले वर्षेनी पूरै बाइबल पढ्दै आएकी छिन्। तिनी यसो भन्छिन्: “मेरो पढाइले गर्दा म यहोवाको प्रेम महसुस गर्छु . . . म प्रोत्साहन, सान्त्वना अनि सल्लाह पाउँछु।” तिनी अझ यसो भन्छिन्: “दिनहुँ बाइबल पढ्दा यहोवाले मेरो जीवनमा स्फूर्ति थप्नु भएजस्तै लाग्छ।”
यहोवाका साक्षीहरूको क्रियाकलाप प्रतिबन्ध भएको एउटा मुलुकमा सत्य सिक्ने एउटी बहिनीको पतिले पनि तिनको विश्वासको विरोध गर्छन्। तापनि सोमबारदेखि शुक्रबार बिहान ६ देखि ७ बजेसम्म तिनी बाइबल पढ्छिन्। यसले तिनलाई आन्तरिक बल प्रदान गरेको छ। आफ्नो पढाइले कसरी आफूलाई असर गरेको छ भनेर स्मरण गर्दै तिनी यसो भन्छिन्: “यहोवाका प्रतिज्ञाहरू कहिल्यै विफल हुनेछैनन् भनेर थाह पाएकोले समस्या र कठिनाइहरूको बावजूद हामी यहोवा तथा येशूलाई प्रेम गर्न अनि आनन्दित भएर बाँच्न सिक्छौं।”
अग्रगामी सेवा पाठशालामा भाग लिने एउटी बहिनीले बाइबल पढाइलाई आफ्नो दैनिक कार्य बनाउन दिइएको सल्लाह पालन गर्ने अठोट गरिन्। सुरुमा तिनले बिहान ५ देखि ६ बजेसम्म पढाइ गर्न सकिन्। तर आफ्नो जागिरले गर्दा तिनले समय सारेर बेलुकी ९ देखि १० बजेसम्म पढाइ गर्न थालिन्। पछि अन्य चुनौतीपूर्ण परिस्थिति खडा हुँदा तिनी यसो भन्छिन्, “परिस्थितिअनुरूप मैले आफ्नो तालिका परिवर्तन गरें।”
दिउँसो:
ब्राजिल बेथेल परिवारका दुइ दिदी-बहिनी दिउँसोको भोजनपश्चात् २० मिनेट जति सँगै बसेर बाइबल पढ्छन्। तिनीहरूले सुरुदेखि पुछारसम्म २५ पटक बाइबल पढिसकेका छन्। तैपनि तिनीहरू यसरी लेख्छन्: “हामी सधैं नयाँ कुरा भेटाउँछौं त्यसकारण हामीलाई बाइबल पढाइ कहिल्यै निरस लाग्दैन।”
साक्षीहरूको परिवारमा हुर्केकी जापानकी एउटी अविवाहित बहिनीले आफूलाई शास्त्रबारे राम्रो ज्ञान नभएको महसुस गरिन्; त्यसैकारण अग्रगामी बनेपछि तिनले नियमित तवरमा बाइबल पढ्ने निधो गरिन्। अहिले हर हप्ता उपचारका लागि अस्पताल जाँदा तिनी ईश्वरतान्त्रिक पाठशालाका लागि आफ्नो बाइबल पढाइ गर्छिन्। पछि घरमा फर्केपछि तिनी थप अनुसन्धान गर्छिन्। अनि हप्ताको अन्ततिर बाइबल पुस्तकहरूको क्रमअनुसार एउटा पुस्तक छानेर फेरि बाइबल पढ्छिन्।
तीन पटक बाइबल पढिसक्ने एक जना १३ वर्षीय केटा अहिले दिनहुँ स्कूलबाट घर फर्केपछि एक अध्याय पढ्ने गर्छन्। तिनको भनाइअनुसार यसले तिनलाई “यहोवाप्रति अझ धेरै प्रेम महसुस गर्न” मदत गरेको छ।
जागिरे, प्राचीन, पति र पिताको हैसियतमा काम गर्नुपर्ने एक जना साक्षी आफ्नो व्यस्त तालिकाको बावजूद अफिस जान रेल यात्रा गर्दा बाइबलका श्रव्य क्यासेटहरू सुन्ने गर्छन्। घर फर्केपछि तिनी आफूले सुनेका विषयवस्तुको फेरि व्यक्तिगत पढाइ गर्छन्।
व्यक्तिगत पढाइको अलावा फ्रान्सकी एक अग्रगामी बहिनी खाना पकाउँदा, गाडी चलाउँदा, कठिन समयको सामना गर्नुपर्दा वा रमाइलो गर्न बाइबलका श्रव्य क्यासेटहरू सुन्छिन्।
जापानका २१ वर्षीय अग्रगामी आफ्नी आमाले हरेक दिन केही आध्यात्मिक आहार लिन जोड गरेकी अनि सधैं एकै समयमा पढाइ गर्न नसके तापनि तीन वर्षको उमेरदेखि दिनहुँ बाइबल पढ्ने गरेको स्मरण गर्छन्। हरेक दिन आफूले छानेको अंश पढिसकेपछि मुख्य बुँदाहरूलाई तिनी फेरि पढ्छन् र आफूले पढेका कुराहरूलाई केही मिनेट मनमनै दोहोऱ्याउँछन्।
अर्को एक जना अग्रगामी साक्षीले बितेका १२ वर्षभित्रमा दश पटक पूरै बाइबल पढिसकेकी छिन्। आफ्नो पति विश्वासमा नभएको हुँदा तिनी दिउँसोपख पढ्ने गर्छिन्।
बेलुकी:
जापानका एक जना प्राचीन तथा अग्रगामी बितेको आठ वर्षदेखि हरेक रात सुत्नुअघि बाइबल पढ्छन्। तिनी यसो भन्छन्: “यहोवाले के सोच्नुहुन्छ, कुनै कुरा उठ्दा कस्तो महसुस गर्नुहुन्छ र उहाँले कसरी परिस्थितिहरूलाई सँभाल्नुहुन्छ भनेर संकेत गर्ने शास्त्रपदहरू विशेषगरि मनपर्छ। यी शास्त्रपदहरूमाथि मनन गरेर मैले आफ्नो सोचाइलाई यहोवाको सोचाइमा ढाल्न र मेरा मसीही भाइ-बहिनीहरू तथा मेरो परिवारका सदस्यहरूलाई मदत गर्न सकेको छु।”
फ्रान्सका एक जना प्राचीनले सन् १९७९ देखि हरेक बेलुकी एक घण्टा बाइबल पढ्दै आएका छन्। बाइबलका प्रायः पाँच-छवटा अनुवादहरू आफ्नो अगाडि राखेर तिनी तुलना गर्ने गर्छन्। तिनको भनाइअनुसार यसरी होशियारीपूर्वक पढाइ गर्दा तिनले “दैनिक जीवनमा बाइबलको ज्ञान कसरी प्रयोगमा ल्याउने” भनेर बुझ्ने मदत पाएका छन्। शास्त्रबाट सल्लाह दिंदा अझ प्रभावकारी हुन पनि यसले तिनलाई मदत गरेको छ।
गत २८ वर्षदेखि नाइजेरियाका एक जना भाइले हरेक बेलुकी दिनहुँ शास्त्रपदहरूको जाँच गर्ने पुस्तिकामा भोलिपल्ट बिहान छलफलका लागि दिइएको शास्त्रपद पढ्ने बानी बसालेका छन्। त्यसको अलावा दैनिक पद लिइएको अध्यायलाई तिनी पूरै पढ्छन्। विवाहपश्चात् पनि तिनले आफ्नो बानी छुटाएनन् र आफ्नी पत्नीसँग पढाइ र छलफल कायम राखे।
आफ्नो आमा-बाबु साक्षीहरू नभए तापनि एउटी किशोरीले हरेक बेलुकी सुत्नअघि पाँचदेखि दश मिनेट बाइबल पढ्ने बानी बसालिन्। यो समयलाई तिनी मूल्यवान सम्झन्छिन् र पढाइको सुरु अनि अन्त्यमा प्रार्थना गर्छिन्। बाइबलका प्रत्येक लेखकहरूलाई यहोवाले रिकर्ड गर्न निर्देशन दिनुभएको समाचार जान्ने तिनको लक्ष्य छ।
बेथेल सेवामा संलग्न एक जना विवाहित भाइ आफूले बितेका आठ वर्षदेखि वर्षेनी पूरै बाइबल पढ्ने गरेको बताउँछन्। सुत्नअघि २० देखि ३० मिनेटसम्म तिनी पढ्छन्। असाध्यै थकाइ लागेको दिनमा समेत नपढी सुत्न खोज्दा आफूलाई निद्रा नलाग्ने गरेको तिनी अनुभव गर्छन्। आफ्नो आध्यात्मिक खाँचो पूरा नगरी तिनी सुत्न सक्दैनन्।