प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१५ pp. ४-७
  • हाम्रा पुर्खाहरूका लागि नयाँ जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रा पुर्खाहरूका लागि नयाँ जीवन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मृतकहरूको अवस्था
  • पुनरुत्थानको आशा
  • स्वर्गीय जीवनको लागि पुनरुत्थान
  • पार्थिव पुनरुत्थानअघिका घटनाहरू
  • पृथ्वीमा प्रमोदवन
  • हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • पुनरुत्थान–कसकालागि र कहाँ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • फेरि जीवित हुनु भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१५ pp. ४-७

हाम्रा पुर्खाहरूका लागि नयाँ जीवन

मरणोपरान्त मानिसहरू स्वतः आत्मिक संसारमा प्रवेश गर्छन्‌ भनेर के परमेश्‍वरको वचन, बाइबलले सिकाउँछ? अहँ, सिकाउँदैन। मरणोपरान्त जीवनबारे बाइबलले अद्‌भुत आशा प्रदान गर्छ तर त्यो धेरैले सोचेजस्तो ढंगमा होइन।

हाम्रो प्रथम पुर्खा, आदमबारे बाइबल के भन्छ, त्यसमा ध्यान दिनुहोस्‌। यहोवाले तिनलाई “भूमिको माटोबाट” बनाउनुभयो। (उत्पत्ति २:७) पृथ्वीमा सधैंभरि आनन्दसित बाँच्नसक्ने अवसर आदमसमक्ष थियो। (उत्पत्ति २:१६, १७) तथापि, तिनले आफ्नो मायालु सृष्टिकर्ताको विद्रोह गरे अनि त्यसको परिणाम मृत्यु थियो।

मरणोपरान्त आदम कहाँ गए? परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।”—उत्पत्ति ३:१९.

यहोवाले माटोबाट सृष्टि गर्नुअघि आदम कहाँ थिए? कतै थिएनन्‌। तिनको अस्तित्व थिएन। अतः यहोवाले आदमलाई “माटोमा फर्किजानेछस्‌” भन्‍नुहुँदा अवश्‍य आदम पुनः माटोजस्तै अस्तित्वहीन हुनेछ भन्‍नुभएको हुनुपर्छ। पुर्खाहरूको आत्मिक संसारको संस्थापक हुन आदमले रूप ‘परिवर्तन’ गरेनन्‌। तिनी नता स्वर्गको परमसुखमय जीवनमा नता अनन्त शासना भोग्ने ठाउँमा प्रवेश गरे। तिनको एक मात्र परिवर्तन जीवनबाट निर्जीवन, अस्तित्वबाट अस्तित्वहीन अवस्था थियो।

बाँकी मानवजातिबारे के भन्‍न सकिन्छ? के आदमका बाँकी सन्तानहरू पनि मरणोपरान्त अस्तित्वहीन हुन्छन्‌? बाइबल यस्तो जवाफ दिन्छ: “सबै [मानिस र पशु दुवै] माटैले बनिएका हुन्‌, औ सबै माटैमा मिल्नेछन्‌।”—उपदेशक ३:१९, २०.

मृतकहरूको अवस्था

हो, मृतकहरू निर्जीव हुन्छन्‌। तिनीहरू सुन्‍न, हेर्न, बोल्न वा सोच्न सक्दैनन्‌। उदाहरणको लागि, बाइबल यसो भन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . तिनीहरूका निम्ति प्रेम, घृणा, अभिलाषा सबै खतम भएका हुन्छन्‌।” बाइबल यसो पनि भन्छ: “मृत्युमा [चिहान] जहाँ त जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।”—उपदेशक ९:५, ६, १०.

तसर्थ, मानिसहरू जिउँदो हुँदा तिनीहरू मृत्युबारे सजग हुन्छन्‌ भनेर परमेश्‍वरको वचनले बताउँछ। तथापि, मृत्यु हुँदा तिनीहरू कुनै कुराबारे सचेत हुँदैनन्‌। आफ्नै लाशको छेउमा त्यो घटना अवलोकन गर्न उभिंदैनन्‌। अस्तित्वहीनतामा चैन, पीडा, आनन्द हुँदैन नता दुःख नै हुन्छ। मृतकहरू समयबारे सजग हुँदैनन्‌। तिनीहरूको अचेत अवस्था जस्तोसुकै निद्राभन्दा गहिरो हुन्छ।

मरणोपरान्त मानिसहरू बाँचिरहँदैनन्‌ भन्‍ने कुरा पुरातन समयका परमेश्‍वरको सेवक, अय्यूबलाई थाह थियो। परमेश्‍वरको हस्तक्षेपबिना पुनः जीवन पाउने आशा गर्न सकिंदैन भनेर पनि तिनले बुझेका थिए। अय्यूबले यसो भने: “मान्छे ता मरिहाल्छ, र लोप हुन्छ। मानिस आफ्नै आखिरी अवस्थामा आइपुग्छ, र त्यो कहाँ हुन्छ? मरणशील मानिस ढल्छ र त्यो फेरि कहिल्यै उठ्‌दैन।” (अय्यूब १४:१०, १२) निस्सन्देह, अय्यूबले मरणोपरान्त आत्मिक संसारमा आफ्ना पुर्खाहरूलाई भेट्‌ने आशा गरेका थिएनन्‌।

पुनरुत्थानको आशा

मरणोपरान्त जीवनको अस्तित्व नरहने हुँदा अय्यूबले उठाएको यो प्रश्‍न जटिल छ: “कोही मानिस मऱ्‍यो भने के त्यो फेरि जीवित हुनसक्छ?” अय्यूब आफैले जवाफ दिए: “मेरो सेवा [चिहानमा बिताएको समय] जतिसुकै लामो भए तापनि म आशा मार्नेथिइनँ? मेरो उद्धार आउनेछ भनी म प्रतीक्षा गर्नेथिएँ। तपाईंले [यहोवा] मलाई आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ। आफूले सृजनुभएको प्राणीलाई तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो।”—अय्यूब १४:१४, १५.

अर्को शब्दमा भन्‍ने हो भने, अय्यूब अस्तित्वहीन भए तापनि परमेश्‍वरले तिनलाई बिर्सनु हुनेथिएन। पुनरुत्थानद्वारा जीवन प्रदान गर्नुभएर यहोवा परमेश्‍वरले तिनलाई “आज्ञा गर्नुहुने” दिन आउनेछ भनी अय्यूबलाई विश्‍वास थियो।

पुनरुत्थानमाथि अय्यूबको आशा वास्तविक थियो भनी परमेश्‍वरको पुत्र, येशू ख्रीष्टले देखाउनुभयो। मृतकहरूलाई बिउँताउन सकिन्छ भनी येशूले प्रमाणित गर्नुभयो। कसरी? मृतकहरूको पुनरुत्थान गर्नुभएर! येशूले अय्यूबको पुनरुत्थान त गर्नुभएन तर पृथ्वीमा छँदा येशूले नाइन शहरकी विधवाको छोराको भने पुनरुत्थान गर्नुभयो। याइरस नाउँ भएको मानिसको १२ वर्षीया छोरीलाई पनि येशूले बिउँताउनुभयो। अनि उहाँले आफ्नो मित्र, लाजरसको पुनरुत्थान गर्नुभयो, जो मरेको चार दिन भइसकेको थियो।—लूका ७:११-१५; ८:४१, ४२, ४९-५६; यूहन्‍ना ११:३८-४४.

यी चमत्कारहरू गर्नुको अलावा भविष्यमा हुने महान्‌ पुनरुत्थानबारे येशूले बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ . . . र निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) पछि, एक जवान मानिसको पुनरुत्थान गर्न यहोवाले प्रयोग गर्नुभएको प्रेरित पावलले पनि भविष्यमा हुने पुनरुत्थानमा विश्‍वास व्यक्‍त गरे। तिनले यसो भने: “धर्मी र अधर्मीहरूसमेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु।”—प्रेरित २०:७-१२; २४:१५.

भविष्यमा हुने पुनरुत्थानबारे संकेत गर्ने यी शास्त्रीय पदहरूले आत्मिक संसारमा कायम भइरहने जीवनबारे बताउँदैनन्‌। उक्‍त पदहरूले लाखौं मृतकहरू यसै पृथ्वीमा भौतिक शरीर लिएर बिउँतने समयबारे बताइरहेका हुन्‌। पुनरुत्थान हुने यी मानिसहरूलाई पृथ्वीमा आफ्नो पूर्व जीवनबारे स्मरण हुनेछ। नवजात शिशुहरूको रूपमा तिनीहरूको पुनर्जन्म हुनेछैन। बरु, आफू मर्नुअघिको सम्झना र व्यक्‍तित्व भएका उही व्यक्‍तिहरू हुनेछन्‌। तिनीहरूले आफूलाई चिन्‍नेछन्‌ र अरूले पनि तिनीहरूलाई चिन्‍नेछन्‌। आफ्ना साथी तथा परिवारसित पुनर्मिलन हुँदा त्यो कस्तो आनन्दमय अवसर हुनेछ! अनि हाम्रा पुर्खाहरूलाई भेट्‌नु कस्तो रोमाञ्चकारी हुनेछ!

स्वर्गीय जीवनको लागि पुनरुत्थान

केही मानिसहरू स्वर्गमा जानेछन्‌ भनी के येशूले भन्‍नुभएको थिएन र? हो, भन्‍नुभएको थियो। आफू मारिनुभन्दा अघिल्लो साँझ उहाँले यसो भन्‍नुभयो: “मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्‌। . . . म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। औ यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।” (यूहन्‍ना १४:२, ३) येशू आफ्ना विश्‍वासी प्रेरितहरूसित कुरा गर्दै हुनुहुन्थ्यो तर ती शब्दहरूको अर्थ सबै असल मानिस स्वर्ग जान्छन्‌ भन्‍ने होइन।

स्वर्गीय जीवनको लागि पुनरुत्थान गरिएकाहरूले असल जीवन बिताउनु मात्र होइन तर अन्य आवश्‍यकताहरू पूरा गर्नुपर्छ भनेर येशूले देखाउनुभयो। एउटा आवश्‍यकता, यहोवा परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे सही ज्ञान लिनु हो। (यूहन्‍ना १७:३) अन्य आवश्‍यकताहरू, येशू ख्रीष्टको छुडौतीको बलिदानमा विश्‍वास राख्नु र परमेश्‍वरको आज्ञा पालन गर्नु हो। (यूहन्‍ना ३:१६; १ यूहन्‍ना ५:३) यसबाहेक, परमेश्‍वरको पवित्र आत्माद्वारा समर्पित मसीहीको हैसियतमा ‘नयाँ गरी जन्मनु’ आवश्‍यक छ। (यूहन्‍ना १:१२, १३; ३:३-६) मृत्युसम्मै परमेश्‍वरप्रति वफादार भएर येशूजस्तै स्थिर रहनु स्वर्गीय जीवनको थप आवश्‍यकता हो।—लूका २२:२९; प्रकाश २:१०.

त्यस्ता उच्च आवश्‍यकताहरूको कारण छ। स्वर्गीय जीवनको निम्ति पुनरुत्थान हुनेहरूले महत्त्वपूर्ण कार्य गर्नुपर्छ। मानव सरकारहरूले पृथ्वीमा कामकुराहरू सफलतापूर्वक कहिल्यै सम्हाल्न सक्नेछैनन्‌ भनी यहोवालाई थाह थियो। अतः उहाँले मानवजातिमाथि शासन गर्ने स्वर्गीय सरकार अर्थात्‌ राज्यको प्रबन्ध गर्नुभयो। (मत्ती ६:९, १०) त्यो राज्यको राजा येशू हुनुहुनेथियो। (दानियल ७:१३, १४) पृथ्वीबाट छानिएका र स्वर्गीय जीवनको निम्ति पुनरुत्थान गरिएकाहरूले उहाँसित शासन गर्नेथिए। यी पुनरुत्थान गरिएकाहरू “परमेश्‍वरको निम्ति राज्य र पूजाहारी . . . [हुनेछन्‌], तिनीहरूले पृथ्वीमाथि राज्य [गर्नेछन्‌]” भनी बाइबलले अगमवाणी गऱ्‍यो।—प्रकाश ५:१०.

के धेरै मानिसहरूले स्वर्गीय जीवनको पुनरुत्थानको लागि त्यो आवश्‍यकता पूरा गर्नेछन्‌? गर्नेछैनन्‌। आफ्नो कुनै दोष नभए तापनि प्रायजसो मृतकहरू त्यसको निम्ति योग्य छैनन्‌। यहोवा र उहाँका उद्देश्‍यहरूको सत्यताबारे सिक्न धेरैले कम या भनौं भने कुनै मौका पाएनन्‌। येशू ख्रीष्ट वा परमेश्‍वरको राज्यबारे कुनै ज्ञान नपाइकनै तिनीहरू मरे।

स्वर्गमा जानेहरूलाई येशूले “सानो बगाल” भनी सम्बोधन गर्नुभयो। (लूका १२:३२) ख्रीष्टसित स्वर्गमा शासन गर्न “पृथ्वीबाट किनिएका[हरूको]” संख्या १,४४,००० हुनेछ भनी पछि प्रकट गरियो। (प्रकाश १४:१-३; २०:६) येशूले उल्लेख गर्नुभएको “धेरै बस्ने ठाउँहरू” ओगट्‌न १,४४,००० ठूलो संख्या भए तापनि आदमका अरबौं सन्तानहरूको तुलनामा यो कम हो।—यूहन्‍ना १४:२.

पार्थिव पुनरुत्थानअघिका घटनाहरू

आउनुहोस्‌, अहिलेसम्म छलफल गरेका कुराहरूको पुनरावृत्ति गरौं। बाइबलअनुसार यहोवा परमेश्‍वरले पुनरुत्थान नगर्नु भएसम्म मृतकहरू निर्जीव हुन्छन्‌। येशू ख्रीष्टसित राज्य सरकारमा शासन गर्न स्वर्गीय जीवनको निम्ति केही व्यक्‍तिहरूको पुनरुत्थान हुनेछ। अधिकांश मानिसहरू त्यो राज्यको प्रजा हुन पृथ्वीमा पुनरुत्थान गरिनेछन्‌।

केही हदसम्म पार्थिव पुनरुत्थानद्वारा यहोवाले पृथ्वीको लागि आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ। यहोवाले यो पृथ्वी “आबाद गर्न” सृष्टि गर्नुभयो। (यशैया ४५:१८) यो मानवजातिको स्थायी घर हुनुपर्नेथियो। यसर्थ, भजनरचयिताले यसप्रकार गाए: “स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिं उहाँले मानिस जातिलाई दिनुभएको छ।”—भजन ११५:१६.

पृथ्वीमा पुनरुत्थान सुरु हुनुअघि ठूला परिवर्तनहरू हुनु खाँचो छ। युद्ध, प्रदूषण, अपराध तथा हिंसाले पृथ्वी भरियोस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थिएन भनेर शायद तपाईं सहमत हुनुहुन्छ होला। परमेश्‍वर र उहाँका धार्मिक नियमहरू आदर नगर्ने मानिसहरूले गर्दा यी समस्याहरू भएका हुन्‌। तसर्थ, पृथ्वीमा परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने मुख्य कदमस्वरूप उहाँको राज्यले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नेछ। (प्रकाश ११:१८) त्यो राज्यले सबै दुष्ट मानिसहरूलाई नाश गर्नेछ र धर्मीहरू यसै पृथ्वीमा सधैंभरि रहनेछन्‌।—भजन ३७:९, २९.

पृथ्वीमा प्रमोदवन

सफा पारिएको पृथ्वीमा पुनरुत्थान हुनेहरू कोमल, सही काम गर्ने र अरूको हेरचाह गर्ने मानिसहरू हुनेछन्‌। (मत्ती ५:५ तुलना गर्नुहोस्‌।) परमेश्‍वरको राज्यको मायालु सुपरिवेक्षणमा तिनीहरूले ढुक्क भएर आनन्दित जीवन बिताउनेछन्‌। त्यतिबेला व्याप्त हुने परिस्थितिको पूर्वझलक बाइबलले यसरी दिन्छ: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

हो, यो पृथ्वी प्रमोदवनमा परिवर्तन हुनेछ। (लूका २३:४३) त्यसको अर्थ के हुनेछ, विचार गर्नुहोस्‌! अस्पताल तथा वृद्धाश्रमहरूको नामनिसान हुनेछैनन्‌। अहिले वृद्धावस्थाले पीडित भएकाहरू प्रमोदवनमा पुनः बलिया र स्वस्थ हुनेछन्‌। (अय्यूब ३३:२५; यशैया ३५:५, ६) शवगृह, मसानघाट तथा चिहानहरू हुनेछैनन्‌। उहाँको राज्य मार्फत यहोवाले “मृत्युलाई सदाको निम्ति” निल्नुहुनेछ। (यशैया २५:८) निस्सन्देह, त्यस्ता आशिष्‌हरूको अर्थ हाम्रा पुर्खाहरू र हाम्रो लागि नयाँ जीवन हुनेछ।

[पृष्ठ ७-मा भएको चित्र]

पृथ्वीमा पुनरुत्थान हुनेहरू परमेश्‍वरको राज्यका प्रजा हुनेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने