प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१५ pp. २९-३१
  • तिनी मसीहका पूर्वगामी थिए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनी मसीहका पूर्वगामी थिए
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनको काम भविष्यवाणी गरिएको थियो
  • उजाडस्थानमा आवाज
  • “सबैलाई” चेताउनी दिइयो
  • मसीहलाई परिचित गराइयो
  • अन्तसम्मै विश्‍वासी
  • बप्तिस्मा गराउने युहन्‍ना बाटो तयार पार्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • युहन्‍ना बाटो तयार पार्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यूहन्‍नाले बाटो तयार पार्छन्‌
    सबैभन्दा महान्‌ पुरुष
  • येसु मसीह बन्‍नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१५ pp. २९-३१

तिनी मसीहका पूर्वगामी थिए

घामले डढेको छालामा फराकिलो छालाको कम्मर-पेटी स्पष्ट देखिन्थ्यो। उँटको रौंले बनेको वस्त्र लगाएका तिनी निस्सन्देह अगमवक्‍ताजस्तो देखिन्थे। यर्दन नदीमा तिनीप्रति धेरै मानिसहरू आकर्षित भए। पश्‍चात्तापी पापीहरूलाई बप्तिस्मा दिन तिनी तयार छन्‌ भनेर त्यहाँ यस अचम्मको मानिसले निडरतापूर्वक घोषणा गरे।

मानिसहरू अचम्मित भए! त्यो मानिस को थिए? तिनको उद्देश्‍य के थियो?

यस मानिसबारे येशू ख्रीष्टले यसो भन्‍नुभयो: “तिमीहरू किन निस्क्यौ? के अगमवक्‍ता हेर्नालाई? अँ, म तिमीहरूलाई भन्दछु, अगमवक्‍ताभन्दा पनि श्रेष्ठलाई। . . . मानिसहरूमध्ये बप्तिस्मा दिने यूहन्‍नाभन्दा ठूलो कोही उठेको छैन।” (मत्ती ११:९-११) यूहन्‍ना किन त्यस्तो विशिष्ट मानिस थिए? किनभने तिनी मसीहका पूर्वगामी थिए।

तिनको काम भविष्यवाणी गरिएको थियो

यूहन्‍ना जन्मिनुभन्दा ७०० वर्षअघि नै तिनले उजाडस्थानमा निम्न आह्वान गर्नेछन्‌ भनी यहोवाले घोषणा गर्नुभएको थियो: “उजाड़-भूमिमा परमप्रभुको बाटो तयार गर। हाम्रा परमेश्‍वरको निम्ति मरूभूमिमा मूल-बाटो समतल बनाऊ।” (यशैया ४०:३; मत्ती ३:३) यूहन्‍ना जन्मिनुभन्दा ४०० वर्षअघि सर्वशक्‍तिमान परमेश्‍वरले यसप्रकार घोषणा गर्नुभयो: “हेर, परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउनअघि म एलिया अगमवक्‍तालाई पठाउनेछु।” (मलाकी ४:५) येशूभन्दा छ महिनाअघि बप्तिस्मा दिने यूहन्‍नाको जन्म हुनु कुनै संयोग वा प्राकृतिक प्रक्रिया थिएन। प्रतिज्ञा गरिएको बालक इसहाकजस्तै यूहन्‍नाको जन्म पनि एउटा चमत्कार थियो किनभने तिनका आमा-बाबु, जकरिया र इलिशिबा दुवै सन्तान जन्माउन नसक्ने उमेरका भइसकेका थिए।—लूका १:१८.

यूहन्‍ना जन्मिनुअधि नै तिनको दायित्व, कार्य र जीवनपद्धतिबारे गब्रिएल स्वर्गदूतले बताइसकेका थिए। एलियाको जस्तै उत्साह र जाँगरका साथ तिनले अनाज्ञाकारीहरूलाई मृत्युको मार्गबाट फर्काउनेथिए अनि मसीहको रूपमा येशूलाई स्वीकार्न तिनीहरूलाई तयार पार्नेथिए। यूहन्‍ना, जन्मदेखि नै परमेश्‍वरप्रति पूर्णतया समर्पित र मद्यपान पटक्कै नगर्ने एक नाजरी हुनुपर्ने थियो। निस्सन्देह, मरुभूमिमा तिनको भोजन “सलह र वन-मह” थियो। (मर्कूस १:६; गन्ती ६:२, ३; लूका १:१३-१७) यूहन्‍नालाई शमूएलजस्तै बाल्यकालदेखि नै अति उच्च परमेश्‍वरको सेवा गर्नको निम्ति अलग छुट्याइएको थियो।—१ शमूएल १:११, २४-२८.

यूहन्‍नाको नाउँसमेत परमेश्‍वरले छान्‍नुभएको थियो। “यूहन्‍ना” भनी अनुवाद गरिएको हिब्रू नाउँको अर्थ “यहोवाले अनुग्रह देखाउनुभएको छ; यहोवा कृपालु हुनुभएको छ” हो।

बालकलाई आठौं दिन खतना गर्दा तिनका बाबु, जकरिया यो घोषणा गर्न ईश्‍वर प्रेरित भए: “ए बालक, तिमी परमप्रधानको अगमवक्‍ता कहलाइनेछौ। किनकि तिमी प्रभुको अगिअगि उहाँको मार्ग तयार पार्नालाई जानेछौ, तिनीहरूका पापको क्षमा [गर्न] उहाँका मानिसलाई उद्धारको ज्ञान दिनलाई, हाम्रा परमेश्‍वरको कोमल दयाको कारण, जसमा बिहानको ज्योतिले हामीलाई दर्शन दिनेछ।” (लूका १:७६-७८) यूहन्‍नाको आम-सेवकाई तिनको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेथियो। त्यसको दाँजोमा बाँकी सबै कुराहरू महत्त्वहीन थिए। यसर्थ, यूहन्‍नाको जीवनको सुरुका ३० वर्षहरूलाई शास्त्रले एउटै पदमा यसरी व्यक्‍त गर्छ: “बालक बढ्‌दै र आत्मामा शक्‍तिमान हुँदै गए। औ इस्राएलकहाँ प्रकट नहोउञ्जेल एकलास ठाउँहरू हुँदो रहे।”—लूका १:८०.

उजाडस्थानमा आवाज

सिजर टाइबेरियसको शासनकालको पन्ध्रौं वर्षमा पन्तियस पिलातस यहूदियामा बड़ा हाकिम हुँदा यस अनौठो समाचारसहित बप्तिस्मा दिने यूहन्‍ना उजाडस्थानमा देखा परे: “पश्‍चाताप गर, किनभने स्वर्गको राज्य नजीक आएको छ।” (मत्ती ३:२; मर्कूस १:४; लूका ३:१, २) त्यस क्षेत्रका सम्पूर्ण जनसंख्यालाई यो समाचारले जगायो। निश्‍चित आशाको तिर्सना गरिरहेका मानिसहरूको हृदयलाई त्यस निडर घोषणाले असर गऱ्‍यो। यूहन्‍नाको घोषणाले मानिसको विनम्रतालाई पनि चुनौती दियो किनभने त्यसमा भित्री हृदयदेखि पश्‍चात्ताप गर्नु समावेश थियो। यूहन्‍नाको निष्कपटता र दृढताले गर्दा तिनी परमेश्‍वरबाट पठाइएको मानिस हो भनी विश्‍वास गर्न इमान्दार अनि सोझो हृदय भएका धेरै मानिसहरूलाई उत्प्रेरित गऱ्‍यो।

यूहन्‍नाको ख्याति बिहानीको किरणजस्तै व्यापक हुन थाल्यो। यहोवाको अगमवक्‍ताको हैसियतमा तिनको वस्त्र र भक्‍तिले गर्दा तिनी सजिलै चिनिन्थे। (मर्कूस १:६) यस्तो चासो जाग्नुको कारण पत्ता लगाउन यरूशलेमदेखि पूजाहारी तथा लेवीहरूसमेत आउन थाले। पश्‍चात्ताप गर्न? किन र केको लागि? त्यो मानिस को थिए? तिनीहरू जान्‍न चाहन्थे। यूहन्‍नाले यसरी वर्णन गरे: “‘म ख्रीष्ट होइनँ,’ भनी स्वीकार गरे। तब तिनीहरूले उनलाई सोधे, तब के? तिमी एलिया हौ? उनले भने, ‘म होइनँ।’ के तिमी अगमवक्‍ता हौ? औ उनले जवाफ दिए, ‘होइनँ।’ यसकारण तिनीहरूले उनलाई भने, तिमी को हौ ता? र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिऔं। तिमी आफ्नो विषयमा के भन्छौ? उनले भने, ‘यशैया अगमवक्‍ताले भनेझैं, परमप्रभुको बाटो सीधा पार, भन्दै वनमा कराउनेको म एउटा शब्द हुँ।’ औ तिनीहरू फरिसीबाट पठाइएका थिए। अनि तिनीहरूले उनलाई सोधे ‘तिमी ख्रीष्ट, न एलिया, न अगमवक्‍ता हौ भने, किन बप्तिस्मा दिन्छौ त?’”—यूहन्‍ना १:२०-२५.

परमेश्‍वरको राज्यमा प्रवेश गर्नेहरूले पश्‍चात्ताप गर्नु र बप्तिस्मा लिनु अपरिहार्य थियो। तसर्थ, यूहन्‍नाले यस्तो जवाफ दिए: ‘म ता साँच्चिनै तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एक जना मभन्दा शक्‍तिशाली आउँदैहुनुहुन्छ, जसका जुत्ताको फिता खोल्ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको नांग्लो उहाँकै हातमा छ, र उहाँले आफ्नो खला राम्ररी सफा पार्नुहुनेछ, औ आफ्नो गहुँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भूसचाहिं ननिभ्ने आगोमा जलाउनुहुनेछ।’ (लूका ३:१५-१७; प्रेरित १:५) निस्सन्देह, मसीहका अनुयायीहरूमाथि पवित्र आत्मा खन्याइनेछ तर उहाँका शत्रुहरूले विनाशको आगोभोग्नेछन्‌।

“सबैलाई” चेताउनी दिइयो

इमान्दार हृदय भएका थुप्रै यहूदीहरू यूहन्‍नाको वचन सुनेर साह्रै प्रभावित भए र व्यवस्थाको करारप्रति अविश्‍वासी भएको पाप खुल्लमखुल्ला स्वीकारे। यर्दन नदीमा यूहन्‍नाद्वारा बप्तिस्मा लिएर तिनीहरूले खुल्लमखुल्ला पश्‍चात्ताप प्रदर्शन गरे। (मत्ती ३:५, ६) परिणामस्वरूप, तिनीहरूको हृदय मसीहलाई स्वीकार्नको निम्ति उचित अवस्थामा थियो। परमेश्‍वरको धार्मिक आवश्‍यकताहरूको ज्ञानप्रति तिनीहरूको तिर्खा मेटाउन आफ्ना चेलाहरूको हैसियतमा यूहन्‍नाले खुशीसाथ तिनीहरूलाई निर्देशन दिए र प्रार्थना गर्नसमेत सिकाए।—लूका ११:१.

मसीहको यस पूर्वगामीको सन्दर्भमा प्रेरित यूहन्‍नाले यसरी लेखे: “सबैले उनीबाट विश्‍वास गरून्‌ भनी ज्योतिका विषयमा गवाही दिनालाई उनीनै गवाहीका लागि आए।” (यूहन्‍ना १:७) अतः “इस्राएलका सबै जातिलाई पश्‍चातापको बप्तिस्माको प्रचार” गर्दा सबै प्रकारका मानिसहरू बप्तिस्मा दिने यूहन्‍नाको कुरा सुन्‍न आए। (प्रेरित १३:२४) मानिसहरूबाट बढी असुल नगर्नू भनी तिनले महसुल उठाउनेहरूलाई चेताउनी दिए। कसैलाई नतर्साउनू वा झूटो आरोप नलगाउनू भनी तिनले सिपाहीहरूलाई चेताउनी दिए। अनि तिनले ढोंगी, कपटी फरिसी तथा सदुकीहरूलाई यसो भने: “ए सर्पका सन्तान हो, आउनलागेका क्रोधबाट भाग्न कसले चेताउनी दियो? यसकारण पश्‍चात्ताप लायकको फल फलाओ। औ अब्राहामनै हाम्रा पिता हुनुहुन्छ भन्‍ने आपसमा विवाद नगर्‌। किनभने म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुंगाबाट अब्राहामको लागि सन्तान खड़ा गर्न सक्नुहुन्छ।”—मत्ती ३:७-९; लूका ३:७-१४.

सामूहिक रूपमा हेर्ने हो भने, यूहन्‍नाको समयका धार्मिक नेताहरूले तिनीमाथि विश्‍वास राख्न इन्कार गरे र तिनलाई भूत लागेको छ भन्‍ने आरोप लगाए। अनन्त जीवनतर्फ डोऱ्‍याउने धार्मिकताको मार्गलाई तिनीहरूले तिरस्कार गरे। अर्कोतर्फ, महसुल उठाउने पापीहरू र वेश्‍याहरूले यूहन्‍नाले दिएको साक्षीलाई विश्‍वास गरे अनि पश्‍चात्ताप गरेर बप्तिस्मा लिए। समयमा तिनीहरूले येशू ख्रीष्टलाई मसीहको रूपमा स्वीकारे।—मत्ती २१:२५-३२; लूका ७:३१-३३.

मसीहलाई परिचित गराइयो

सा.यु. २९ को वसन्तदेखि शरद्‌ ऋतुसम्म छ महिनाको अवधिभित्र परमेश्‍वरको विश्‍वासी साक्षी यूहन्‍नाले आउँदै गरेको मसीहतर्फ यहूदीहरूको ध्यान केन्द्रित गरे। त्यो मसीह राजा देखा पर्ने समय थियो। तर जब उहाँ देखा पर्नुभयो, उहाँ त्यही यर्दन नदीमा आउनुभयो र बप्तिस्माको लागि आग्रह गर्नुभयो। सुरुमा त यूहन्‍नाले मानेनन्‌ तर पछि तिनी राजी भए। आफ्नो पुत्रप्रति अनुमोदन प्रकट गर्न यहोवाको आवाज गुञ्जिदा र येशूमाथि पवित्र आत्मा ओर्लेको देख्दा तिनको आनन्द कल्पना गर्नुहोस्‌।—मत्ती ३:१३–१७; मर्कूस १:९-११.

येशू नै मसीह हुनुहुन्छ भनी चिन्‍ने प्रथम व्यक्‍ति यूहन्‍ना थिए र पछि तिनले यस अभिषिक्‍त जनको परिचय आफ्ना चेलाहरूलाई यसरी दिए। यूहन्‍नाले भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!” तिनले अझै यसरी घोषणा गरे: “उहाँ उही हुनुहुन्छ, जसका विषयमा मैले भनें, ‘मपछि एक जना आउनुहुन्छ, जो मभन्दा अघाड़ि हुनुहुन्छ, किनभने उहाँ मभन्दा पहिला हुनुहुन्थ्यो।’ औ मैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेरनै म पानीले बप्तिस्मा दिंदै आएँ।”—यूहन्‍ना १:२९-३७.

येशूको सेवकाई सँगसँगै यूहन्‍नाको काम लगभग छ महिनासम्म चल्यो। एकअर्काले गरिरहेका काम दुवैले राम्ररी बुझेका थिए। यूहन्‍नाले आफूलाई दुलहाको साथी ठान्थे अनि आफू र आफ्नो काम घट्‌दै गएको तर ख्रीष्टको काम बढेको हेर्न रमाए।—यूहन्‍ना ३:२२-३०.

एलियाद्वारा चित्रित यूहन्‍ना आफ्नो पूर्वगामी थिए भनी ख्रीष्टले चिनाए। (मत्ती ११:१२-१५; १७:१२) एउटा अवसरमा येशूले यसो भन्‍नुभयो: “व्यवस्था र अगमवक्‍ताहरू यूहन्‍नासम्मै भए। त्यस बेलादेखि परमेश्‍वरको राज्यको प्रचार गरिएकोछ, औ सबै जना त्यसभित्र बलजफतसँग पस्तछन्‌।”—लूका १६:१६.

अन्तसम्मै विश्‍वासी

निडरतापूर्वक सत्यको घोषणा गरेकोले यूहन्‍नालाई गिरफ्तार गरेर कैद गरियो। राजा हेरोदको पाप पर्दाफास गर्ने आफ्नो जिम्मेवारीबाट समेत तिनी पन्छेनन्‌। परमेश्‍वरको व्यवस्था भंग गरेर त्यस राजाले आफ्नै भाइकी पत्नी, हेरोदियाससित व्यभिचार गरेका थिए। राजा हेरोदले पश्‍चात्ताप गरेर परमेश्‍वरको दया प्राप्त गरोस्‌ भन्दै यूहन्‍नाले निडरतापूर्वक बोलेका थिए।

यूहन्‍ना, विश्‍वास र प्रेमको कति राम्रो उदाहरण थिए! तिनले आफ्नो व्यक्‍तिगत स्वतन्त्रताको खतरा मोलेर यहोवा परमेश्‍वरप्रति विश्‍वासीलोपन र संगी मानवहरूप्रति प्रेम प्रमाणित गरे। एक वर्षको कैदपछि यूहन्‍ना विरुद्ध “ईख राखेकी” दुष्ट हेरोदियासको दियाबल-उत्प्रेरित षड्यन्त्रको फलस्वरूप तिनको शिर काटियो। (मर्कूस ६:१६-१९; मत्ती १४:३-१२) तर मसीहका पूर्वगामीले यहोवाप्रति आफ्नो निष्ठा कायम राखे र चाँडै नै परमेश्‍वरको धार्मिक नयाँ संसारमा जीवनको आनन्द उठाउन तिनलाई मृत्युबाट बिउँताइनेछ।—यूहन्‍ना ५:२८, २९; २ पत्रुस ३:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने