प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ६/१५ pp. ३-४
  • के घृणा कहिल्यै अन्त हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के घृणा कहिल्यै अन्त हुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • घृणाको बीजारोपण
  • घृणाका परिणामहरू
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणामाथि विजय सम्भव छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • किन यति धेरै घृणा?
    ब्यूँझनुहोस्‌!—१९९७
  • घृणाको जरा सदाका लागि उखेलिनेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ६/१५ pp. ३-४

के घृणा कहिल्यै अन्त हुनेछ?

तपाईंले टेलिभिजनमा एक दुइटा मात्र समाचार हेर्नुभएको छ भने पनि तपाईं घृणाको विषयसित परिचित हुनुहुन्छ होला। घृणा नै दिनहुँजस्तो नरसंहारद्वारा हुने रक्‍तपातको सामान्य कारक हो। बेल्फास्टदेखि बोस्निया, जेरूशलेमदेखि जोहानेसबर्गलगायत संसारका विभिन्‍न ठाउँहरूमा बेकसूर मानिसहरूको हत्या गरिएको छ।

हत्याका शिकार हुनेहरूले ती आक्रमणकारीहरूलाई प्रायजसो चिनेका हुँदैनन्‌। तिनीहरूको एक मात्र “अपराध” शायद तिनीहरू “विरोधी पक्षको” भाग भएका हुनसक्छन्‌। त्यस्ता जघन्य हत्याहरू अतीतमा भएको घोर अत्याचार वा “जातिसंहारको” बदला लिन गरिएका हुनसक्छन्‌। हिंसाको हरेक लहरले विरोधी समूहबीच घृणाको ज्वालालाई अझ दन्काउँछ।

घृणाको यो डरलाग्दो चक्रको टुंगो देखिंदैन। कुल, जाति, सम्प्रदाय वा धार्मिक समूहहरूबीच आपसी वैमनस्यले रक्‍तपात भइरहेको छ। के घृणालाई कहिल्यै निर्मूल पार्न सकिन्छ? त्यसको जवाफ पाउन हामीले घृणाका कारणहरू बुझ्नु आवश्‍यक छ किनभने घृणा गर्ने स्वाभाविक प्रवृत्ति लिएर हामी जन्मिएका थिएनौं।

घृणाको बीजारोपण

ज्लाटा फिलिपोभिच, सारायेभोकी एक बोस्नियाली केटीले अझसम्म घृणा गर्न सिकेकी छैनन्‌। तिनी आफ्नो दैनिकीमा जातीय घृणाबारे वाक्पटुशैलीमा यसप्रकार लेख्छिन्‌: “म सधैं सोधिरहन्छु, किन? केको लागि? दोष कसको? तर त्यसको जवाफ कतै पाउँदिन। . . . मेरा सँगिनीहरूलगायत हाम्रा अन्य साथीहरू अनि हाम्रो परिवारका सदस्यहरू सर्बियाली, क्रोएशियाली र मुस्लिमहरू हुन्‌। . . . हामी असल मानिसहरूसित घुलमिल गर्छौं, खराबहरूसित होइन। अनि असल मानिसहरूमा सर्बियाली, क्रोएशियाली र मुस्लिमहरू छन्‌ भने खराबहरू पनि हुन्छन्‌।”

तर अर्कोतर्फ, धेरै वयस्कहरूको सोचाइ अर्कै छ। तिनीहरू सोच्छन्‌, घृणा गर्ने प्रशस्त कारणहरू छन्‌। किन?

अन्याय। सम्भवतः घृणाको प्रमुख कारण अन्याय र दमन हो। बाइबलले बताएअनुसार, “छल [दमनले, न्युव] गर्दा बुद्धिमान मानिसको मति बिग्रन्छ।” (उपदेशक ७:७) मानिसहरूलाई शोषण वा निर्मम व्यवहार गरिंदा दमनकारीहरूप्रति घृणा जाग्नु स्वाभाविक हो। अनि सम्पूर्ण समूहप्रति घृणा जाग्नु अव्यवहारिक वा “मूर्खतापूर्ण” भए तापनि यथार्थ त्यही हो।

अन्याय चाहे वास्तविक होस्‌ वा काल्पनिक, यो घृणाको प्रमुख कारण बन्‍नसक्छ। तर यो एक मात्र कारण होइन। अर्को कारण हो, पूर्वाग्रह।

पूर्वाग्रह। पूर्वाग्रह प्रायजसो कुनै खास जाति वा राष्ट्रिय समूहबारे अज्ञानताले गर्दा सुरु हुन्छ। सुनेको भरमा, परम्परागत दुश्‍मनी वा एक दुइ जना मानिससितको नराम्रो अनुभवले गर्दा कसै कसैले एउटा जाति वा राष्ट्रका सम्पूर्ण समूहका मानिसहरूसित ती अप्रिय गुनहरू गाँस्नसक्छन्‌। एक चोटि पूर्वाग्रहले जरा गाडिसकेपछि यसले मानिसहरूलाई सत्यप्रति अन्धा बनाउनसक्छ। अंग्रेज लेखक चार्ल्स कालेब कोल्टनले यसप्रकार अवलोकन गरे, “हामी केही मानिसहरूलाई घृणा गर्छौं किनभने हामी तिनीहरूलाई चिन्दैनौं; अनि चिन्‍ने प्रयास पनि गर्दैनौं किनभने हामी तिनीहरूलाई घृणा गर्छौं।”

अर्कोतर्फ, राजनीतिज्ञ र इतिहासकारहरूले राजनैतिक वा राष्ट्रवादी उद्देश्‍यपूर्तिको लागि जानाजानी पूर्वाग्रहलाई प्रवर्धन गर्नसक्छन्‌। यसको प्रमुख उदाहरण हिटलर थिए। हिटलर युवा अभियानका भूतपूर्व सदस्य, गार्ग यसो भन्छन्‌: “हामीलाई नाजी अफवाहले सर्वप्रथम यहूदीहरू, त्यसपछि रूसीहरू अनि पछि ‘नाजी सरकारका शत्रुहरूलगायत’ सबैलाई घृणा गर्न सिकायो। किशोर हुनाले मैले सुनेजति सबै कुरा विश्‍वास गरें। तर मलाई भ्रममा पारेको रहेछ भनेर पछि थाह पाएँ।” नाजी जर्मनी र अन्य ठाउँहरूमा जस्तै जातीय तथा साम्प्रदायिक पूर्वाग्रहलाई घृणाको अर्को एउटा स्रोतले न्यायोचित बनाएको छ। त्यो हो, राष्ट्रवाद।

राष्ट्रवाद, कुलवाद र जातिवाद। इतिहासकार पिटर गेले आफ्नो पुस्तक, द कल्टिभेशन अफ हेट्रेड-मा प्रथम विश्‍व-युद्ध सुरु हुँदाको घटना यसप्रकार वर्णन गर्छन्‌: “वफादारीको युद्धमा राष्ट्रवाद सबैभन्दा बलियो साबित भयो। देशप्रेम र देशका शत्रुहरूलाई घृणा, उन्‍नाइसौं शताब्दीको लामो वैमनस्यको सबैभन्दा बलियो कारण साबित भयो।” जर्मन राष्ट्रवादी भावनाले “घृणाको भजन” नामक जंगी गीतलाई लोकप्रिय तुल्यायो। गेले बताएअनुसार बेलाइत र फ्रान्समा घृणाका दलालहरूले जर्मन सिपाहीहरूद्वारा बलात्कृत स्त्रीहरू र मारिएका बच्चाहरूका हत्याका झूटा कथाहरू रचे। एक अंग्रेज सिपाही, सिग्फ्रेड सासुन बेलाइती युद्ध अफवाहको सार यसरी वर्णन गर्छन्‌: “जर्मनहरूलाई मार्न नै मानिसको सृष्टि भएजस्तो देखिन्थ्यो।”

राष्ट्रवादजस्तै कुनै जातको अत्यधिक बढाइचढाइ गर्दा अर्को जात विरुद्ध घृणा जाग्नसक्छ। साम्प्रदायिकताले गर्दा थुप्रै अफ्रिकी मुलुकहरूमा अझै पनि हिंसा भइरहेको छ र पश्‍चिम युरोप तथा उत्तर अमेरिकालाई जातिवादले अझै पीडित तुल्याएको छ। राष्ट्रवादसित मुछिनसक्ने अर्को विभाजक तत्त्व हो, धर्म।

धर्म। संसारका धेरैजसो अनियन्त्रित विवादहरूमा धार्मिक तत्त्वले बलियोसित जरो गाडेको हुन्छ। उत्तरी आयरल्यान्ड, मध्यपूर्व र अन्य स्थानका मानिसहरू आफ्नो धर्मले गर्दा घृणाको पात्र भएका छन्‌। लगभग दुइ शताब्दीअघि अंग्रेज ग्रन्थकार जोनाथन स्वीफ्टले यस्तो अवलोकन गरे: “एकअर्कालाई घृणा गर्न मात्र हाम्रो धर्म पर्याप्त छ।”

सन्‌ १९३३ मा हिटलरले ओस्नाब्रुकको पादरीलाई यो सूचना दिए: ‘क्याथोलिक चर्चले १,५०० वर्षदेखि अपनाउँदै आएको नीतिअनुसार नै म यहूदीहरूसित व्यवहार गर्दैछु।’ जर्मन चर्चका अधिकांश नेताहरूले हिटलरद्वारा गरिएको नरसंहारलाई कहिल्यै निन्दा गरेनन्‌। अ हिस्ट्रि अफ क्रिश्‍चियानीटी नामक पुस्तकमा पल जोन्सन यस्तो टिपोट गर्छन्‌, “आफ्नो शवलाई जलाइयोस्‌ भनेर इच्छापत्रमा उल्लेख गर्ने क्याथोलिकहरूलाई चर्चले बहिष्कार गऱ्‍यो, . . . तर यसले तिनीहरूलाई यातना शिविरहरूमा काम गर्न मनाही गरेन।”

केही धार्मिक नेताहरूले घृणाको समर्थन गर्नु मात्र होइन तर त्यसलाई पवित्रसमेत तुल्याएका छन्‌। सन्‌ १९३६ मा स्पेनी गृह-युद्ध सुरु हुँदा पोप पायस एघारौंले “ईश्‍वरप्रति साँच्चै शैतानी घृणा गर्नेहरू” भनेर गणवादीहरूको निन्दा गरे यद्यपि, गणतन्त्र पक्षमा पनि क्याथोलिक पादरीहरू थिए। त्यस्तैगरि, स्पेनी गृह-युद्धताका त्यसको नेता कार्डिनल गोमाले ‘सशस्त्र संघर्षबिना परिस्थिति साम्य पार्नु असम्भव छ’ भनी दाबी गरे।

धार्मिक घृणा कम होला जस्तो संकेत कतै देखिंदैन। ग्रीक अर्थोडक्स चर्चका अधिकृतहरूले यहोवाका साक्षीहरू विरुद्ध घृणा उस्काउन प्रयोग गरिएको तौरतरिकालाई सन्‌ १९९२ मा ह्‍युमन राइट्‌स विथाउट फ्रन्टियर्स पत्रिकाले भर्त्सना गऱ्‍यो। यसले थुप्रै उदाहरणहरू उल्लेख गऱ्‍यो। त्यसमध्ये एक, ग्रीक अर्थोडक्स पादरीले दुइ जना १४ वर्षीय साक्षीहरूको विरुद्धमा लगाएको मुद्दा थियो। आरोप के थियो? ‘तिनीहरूले उनलाई धर्म परिवर्तन गराउन खोजे।’

घृणाका परिणामहरू

अन्याय, पूर्वाग्रह, राष्ट्रवाद र धर्मद्वारा संसारभरि घृणाका बीउहरू रोपिएका छन्‌ र ती सिंचिएका छन्‌। त्यसको अवश्‍यम्भावी फल रिस, प्रतिशोध, युद्ध र विनाश हो। यसको गम्भीरता बुझ्न बाइबलमा १ यूहन्‍ना ३:१५ को वाक्यांशले मदत दिन्छ: “आफ्नो भाइसँग दुश्‍मनी गर्ने हरेक हत्यारा हो।” निस्सन्देह, घृणा फलिफाप भएको ठाउँमा शान्ति भई नै हाले तापनि त्यो नाजुक हुन्छ।

एली विजल, नोबेल पुरस्कार विजेता हुन्‌ र नाजी विध्वंसबाट बचेपछि तिनी यसरी लेख्छन्‌: “नाजी विध्वंशबाट बच्ने व्यक्‍तिको कर्तव्य त्यतिबेला भएको घटनाबारे पुष्टि दिनु हो . . . त्यस्ता घटनाहरू हुनसक्छन्‌, दुष्टता बेलगाम हुनसक्छ भनी मानिसहरूलाई चेताउनी दिनुपर्छ। जातीय घृणा, हिंसा, कुनै चीजप्रति अत्यधिक आशक्‍ति अझै फलिफाप भइरहेका छन्‌।” घृणा भनेको आफै निभ्ने आगो होइन भनी २०औं शताब्दीको इतिहासले प्रमाण प्रदान गर्छ।

मानिसहरूको हृदयमा गडेर बसेको घृणा के कहिल्यै उखेलिनेछ? के घृणा सधैं विनाशकारी हुन्छ वा त्यसको सकारात्मक पक्ष पनि छ? आउनुहोस्‌, हामी हेरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने