विश्वभरि यहोवाका साक्षीहरू–ब्राजिल
ब्राजिल धेरै अर्थमा एउटा विशाल मुलुक हो। यो क्षेत्रफल र जनसंख्या दुवै दृष्टिकोणमा विश्वको पाँचौं ठूलो देश हो। यसले दक्षिण अमेरिकाको झन्डै आधाजति भूभाग ओगटेको छ र त्यस महादेशका अन्य देशहरूको कुल जनसंख्याभन्दा बढी मानिसहरू यहाँ बसोबास गर्छन्। ब्राजिलमा संसारको सबैभन्दा ठूलो रेन फरेष्ट पनि छ। पृथ्वीको सबैभन्दा ठूलो नदी, अमेजन त्यही जंगलको बीचबाट बग्छ।
ब्राजिल अर्को अर्थमा पनि विशाल छ। यहाँ परमेश्वरको राज्यको सुसमाचारका प्रकाशकहरूको संख्या झन्डै ४,००,००० पुग्न लागेको छ र ख्रीष्टको मृत्युको स्मरणार्थमा १०,००,००० भन्दा बढी उपस्थित भए। त्यसकारण यो मुलुक विशेषगरि राज्य प्रचार कार्यको सन्दर्भमा अरू मुलुकहरूभन्दा भिन्न छ। हालैका अनुभवहरूले यो कुरालाई देखाउँछ।
आवश्यकता बढी भएको ठाउँमा सेवा गर्ने
आन्टोन्यो तथा उनकी पत्नीले साऊ पाऊलुमा आफ्ना नातेदारहरू र स्थायी, प्रशस्त रकम आर्जन हुने जागिर छोडेर राज्य उद्घोषकहरूको आवश्यकता बढी भएको मिनास गेरायस प्रान्तमा सेवा गर्ने कठिन निर्णय गरे। तिनीहरूको त्यस इलाकामा चिनी मिलका कामदारहरूको समुदाय समावेश थियो। तिनीहरूले त्यहाँ प्रचार गरेको पहिलो दिनमै नौवटा बाइबल अध्ययन सुरु गरे। तिनीहरूले १८ महिनाभित्र ४० वटाभन्दा बढी बाइबल अध्ययन सञ्चालन गरिरहेका थिए!
सभाहरू सुरु-सुरुतिर मिलमा नै हुनेगर्थ्यो। तथापि, नयाँ प्रकाशकहरू वास्तविक राज्य भवन हेर्न चाहन्थे। यसर्थ, ७५ जनालाई नजीकैको मण्डलीमा लैजान एउटा बस भाडामा लिइयो। त्यसपछि तिनीहरूलाई एउटा सम्मेलनमा लगियो; ४५ जना नयाँ बाइबल विद्यार्थीहरू उपस्थित थिए र तिनीहरूको अन्तर्वार्ता लिइयो। यस अवसरमा तीमध्ये पन्ध्र जनाले बप्तिस्मा लिए। निस्सन्देह, त्यहाँ हर्षको आँसु बग्यो!
त्यही बस कम्पनीलाई त्यस्तै प्रकारका अन्य यात्राहरूको निम्ति प्रयोग गरियो र त्यसका अधिकृतहरूले विशेष छूट दिए। त्यसको मूल्यांकनस्वरूप आन्टोन्योले त्यस बस कम्पनीका मालिकलाई एउटा बाइबल अध्ययन सहायक उपहारको रूपमा दिए। तिनी त्यही साँझ बाइबल अध्ययन गर्न राजी भए र केही महिनासम्म लगनशील अध्ययन गरेपछि बप्तिस्मा लिए। सुरुमा तिनकी पत्नीले अध्ययनको विरोध गरिन् तर समय बित्दै जाँदा उनको मनोवृत्ति कोमल भयो। आज उनी पनि यहोवाको बप्तिस्माप्राप्त साक्षी भएकी छिन्।
सन् १९९२ फेब्रुअरीमा २२ सक्रिय प्रकाशकहरूको एउटा मण्डली स्थापना भयो। सन् १९९४ सम्म यो संख्या वृद्धि भएर ४२ पुगिसकेको थियो र यहाँ ४ नियमित अग्रगामीहरू अर्थात् सुसमाचारका पूर्ण-समय प्रचारकहरू छन्। त्यसको फलतः आन्टोन्यो अन्तमा यसरी व्यक्त गर्छन्: “मलाकी ३:१० ले भनेअनुसार ‘यहोवालाई जाँचेर हेऱ्यौं’ भने, उहाँले ‘अटाउने ठाउँ पनि नहुने सम्मका आशिष् वर्षाउनुहुनेछ’ भन्ने कुरा मेरी पत्नी र मैले देखेका छौं।”
बाइबल साहित्यहरू प्रस्तुत गर्ने
ब्राजिलमा प्रचार कार्य यसरी द्रूत गतिमा प्रगति हुनुको अर्को कारण शायद साक्षीहरूले हरेक अवसरमा बाइबल साहित्य प्रस्तुत गरेकोले हुनसक्छ। उदाहरणको लागि, एउटा मण्डलीले वाच टावर सोसाइटीको शाखा कार्यालयसित क्वेश्चन्स् यंग पिपल आस्क—आन्सर्स द्याट वर्क (जवान मानिसहरूले सोध्ने प्रश्नहरू—उपयोगी जवाफहरू) पुस्तकको २५० प्रति माग्यो। किन यति ठूलो अर्डर?
पत्रमा यसरी वर्णन गरिएको थियो: ‘हाम्रो शहरको एउटा स्कूलले यस पुस्तकलाई शिक्षण सामग्रीको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। स्कूलका अख्तियारवालाहरूले त्यस्तो निर्णय गर्नुको कारण यहोवाका साक्षी विद्यार्थीहरूका आमाबाबुहरू र स्कूलका एक सुपरिवेक्षकले दिएको अनौपचारिक साक्षीले गर्दा हो। यस पुस्तक मार्फत असल निर्देशन प्रदान गरिरहँदा यहोवा परमेश्वरले आफ्ना सेवकहरूलाई आशिष् दिइरहून्।’ साथै यस विशाल मुलुक, ब्राजिलमा राज्य प्रचार कार्यको असल प्रगतिलाई यहोवाले आशिष् दिइरहून्।
[पृष्ठ ८-मा भएको पेटी]
देशको तथ्यांक
१९९४ सेवा वर्ष
साक्षी दिनेहरूको शिखर संख्या: ३,८५,०९९
अनुपात: १ साक्षीले ४०४
स्मरणार्थ उत्सवमा उपस्थिति: १०,१८,२१०
औसत अग्रगामी प्रकाशकहरू: ३८,३४८
औसत बाइबल अध्ययनहरू: ४,६१,३४३
बप्तिस्माप्राप्त संख्या: २४,६३४
मण्डलीहरूको संख्या: ५,९२८
शाखा कार्यालय: सेजारियो लान्जा
[पृष्ठ ९-मा भएको चित्र]
सन् १९४० तिर साऊ पाऊलुमा प्रयोग गरिएको साउण्ड कार
[पृष्ठ ९-मा भएको चित्र]
रियो दे जेनेरोको बगैंचामा साक्षी दिंदै
[पृष्ठ ९-मा भएको चित्र]
सेजारियो लान्जास्थित शाखा कार्यालय