लगनशीलताका इनामहरू
तिनी सा.यु. ३२ मा फोनेसियामा बस्ने ग्रीक स्त्री थिइन्। छोरी असाध्यै बिरामी भएकीले तिनी उपचारको खोजीमा भौंतारिरहेकी थिइन्। अन्ततः एक जना अपरिचित विदेशीसित रोग निको पार्ने शक्ति छ र उहाँ तिनको इलाकामा भ्रमण गर्दै हुनुहुन्छ भनेर सुनेपछि तिनले उहाँलाई भेटेर बिन्ती गर्ने निधो गरिन्।
उहाँलाई भेटेपछि घोप्टो पर्दै तिनले यसो भनेर बिन्ती गरिन्: “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरी छोरीलाई भूतले साह्रै ग्रस्त पारेको छ।” यसप्रकार त्यस ग्रीक स्त्रीले आफ्नी छोरीलाई निको पार्न येशूलाई बिन्ती गरिन्।
यस्तो बिन्तीभाउ गर्न तिनले कति साहस अनि विनम्रता जुटाउनुपऱ्यो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? येशू शक्तिशाली र प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो। त्यसैकारण आफ्नो गन्तव्यस्थान कसैले थाह पाएको रुचाउनुहुन्न भनेर पहिलै खुलस्त पारिसक्नुभएको थियो। उहाँले आफ्ना प्रेरितहरूलाई फोनेसिया लग्नुभएको थियो। तर उहाँले अविश्वासी अन्यजातिहरूलाई प्रचार गर्न होइन तर साह्रै थाकेकोले केही क्षण आराम गर्न चेलाहरूलाई लग्नुभएको थियो। यसबाहेक, येशू यहूदी हुनुहुन्थ्यो भने तिनी अन्यजाति। निस्सन्देह, यहूदीहरूले अन्यजातिका मानिसहरूलाई छिःछिः दूरदूर गर्छन् भनेर तिनलाई थाह थियो। तर यसो हुँदा हुँदै पनि तिनले आफ्नी छोरीको उपचार गराउने पक्का निधो गरिन्।
त्यसबेला येशू र उहाँका प्रेरितहरूले मदत नमाग्न तिनलाई निरुत्साहित गर्ने कोसिस गरे। सुरुमा येशूले एक शब्द पनि बोल्नुभएन। तर तिनले बारम्बार बिन्ती गरेकीले प्रेरितहरू दिक्क मान्दै येशूलाई यसो भने: “यसलाई बिदा गर्नुहोस्, किनभने त्यो हाम्रो पछिपछि कराउँदैछ।”
तर तिनी खाली हात फर्कंन चाहँदिन थिइन्। त्यसैकारण येशूलाई ढोग्दै तिनले फेरि यसो भनिन्: “हे प्रभु, मलाई सहायता गर्नुहोस्!”
इस्राएलका सन्तानप्रतिको आफ्नो मुख्य जिम्मेवारीलाई औंल्याउँदै अनि तिनको विश्वास र दृढता जाँच्दै येशूले अनुकम्पापूर्ण ढंगमा तिनलाई यसो भन्नुभयो: “बालकहरूको [इस्राएल] रोटी लगेर कुकुरहरूलाई [छाउराहरू, न्युव] [अन्यजातिका मानिसहरू] फालिदिनु मनासिब हुँदैन।”
तर आफ्नो जातिप्रति त्यस्तो नकारात्मक टिप्पणी गर्नुभएकोमा तिनी रिसाइनन् बरु अझ बिन्ती गर्दै तिनले यसो भनिन्: “हो प्रभु, तर कुकुरले [छाउरा, न्युव] पनि ता आफ्ना मालिकको टेबलबाट झरेको टुक्रा खान्छ।”
यो ग्रीक स्त्रीको लगनशीलता देख्नुभएपछि येशूले तिनको विश्वासको सराहना गर्नुभयो र तिनको बिन्ती स्वीकार्नुभयो। घर फर्किंदा आफ्नी छोरीलाई पूर्णतया तन्दुरुस्त पाउँदा त्यस स्त्री कति हर्षित भइन् होली, कल्पना गर्नुहोस्!—मत्ती १५:२१-२८; मर्कूस ७:२४-३०.
यहोवालाई प्रसन्न तुल्याउन र उहाँको अनुमोदन पाउन हामीले पनि प्रथम शताब्दीको यस स्त्रीले जस्तै लगनशील भई यत्न गर्नुपर्छ। “भलाइ गर्नामा” लगनशील भयौं भने त्यस ग्रीक स्त्रीले जस्तै हामीले पनि इनाम पाउनेछौं भनी बाइबलले आश्वासन दिन्छ।—गलाती ६:९.
तर लगनशीलता के हो? त्यो किन आवश्यक छ? कुन कुन कुराले गर्दा हामीले यो गुन गुमाउनसक्छौं र हार मान्न पुग्छौं? अनि अहिले लगनशील भई हाम्रो सृष्टिकर्ता तथा पिता, यहोवाको सेवा गऱ्यौं भने कस्तो इनाम पाउने आशा गर्नसक्छौं?
एउटा शब्दकोशले “लगन” क्रियालाई यसरी परिभाषित गर्छ: “अड्चन, चेताउनी वा बाधाको बावजूद अडिग भई दृढतापूर्वक कुनै उद्देश्य, वा काम पूरा गर्नु वा स्थितिसित जुझ्नु। . . . लागिरहनु; पछिसम्म रहिरहनु।”
बाइबलले बारम्बार यहोवाका सेवकहरूलाई लगनशील भई उहाँको इच्छा पूरा गर्न जोड दिन्छ। उदाहरणको लागि, हामीलाई “पहिले उहाँको राज्य र धार्मिकता खोजी गर,” “जुन असल छ, त्यसैमा लागिरहो,” अनि असल गर्नमा “अल्छी नहोओ” भनेर आज्ञा दिइएको छ।—मत्ती ६:३३; १ थिस्सलोनिकी ५:२१; रोमी १२:१२; गलाती ६:९.
आफ्नो दिनचर्या धान्न हामीसित हुनुपर्ने र विकास गर्नुपर्ने गुन लगनशीलता हो। त्यो गुनबिना हामी पछिसम्म कामलाग्ने मूल्यवान् कुरा प्राप्त गर्न सक्दैनौं। उदाहरणको लागि, सानो बालक कसरी आफ्नो खुट्टामा उभिएर लर्खराउँदै हिंड्ने कोसिस गर्छ त्यसलाई विचार गर्नुहोस्। एक दिनमै उभिएर हिंड्न सिक्ने बालक कमै होलान्। सानो छँदा टुकुटुकु हिंड्न सिक्नुअघि सम्भवतः हामीले कति उभिने कोसिस गऱ्यौं अनि लड्यौं होला। पहिलो चोटि लड्ने बित्तिकै फेरि कहिल्यै हिंड्ने कोसिस नगर्ने निर्णय गरेको भए के हुन्थ्यो होला? शायद हामी अहिलेसम्म पनि हात खुट्टा टेकेर बामे सर्दै गरिरहेका हुन्थ्यौं कि? फलदायी लक्ष्य प्राप्त गर्न अनि क्रमशः आफ्नो दक्षता र आत्मसम्मान वृद्धि गर्न लगनशीलता अत्यावश्यक छ। एउटा लोकप्रिय कथनले यसो भन्छ, “जित्ने कहिल्यै पछि हट्दैन, पछि हट्ने कहिल्यै जित्दैन।”
धेरै समयदेखि अग्रगामी सेवा गर्नेहरूले के महसुस गरेका छन् भने विशेष योग्यता वा सीपहरू हुँदैमा सफलताको ग्यारेन्टी दिन नमिल्दो रहेछ। त्यसका लागि अटुट लगनशीलता चाहिन्छ, पूर्णतया यहोवाको इच्छा गर्ने कटिबद्धता र नैराश्यलगायत अन्य बाधाहरूको सामना गर्ने साहस चाहिन्छ। अनन्तसम्म परमेश्वरका आशिष्हरूमा सहभागी हुने लक्ष्यमा पूर्ण ध्यान केन्द्रित हुनुपर्छ।
हो, यहोवाको अनुमोदन अनि जीवनको दौडमा विजयी हुन चाहने सबैलाई लगनशीलता, अनवरत चेष्टा र सहनशीलता चाहिन्छ। यी गुनहरूबिना हामीले सम्भवतः यहोवाको अनुमोदन र वास्तविक जीवनको इनाम गुमाउनसक्छौं।—भजन १८:२०; मत्ती २४:१३; १ तिमोथी ६:१८, १९.
एक जना मसीहीलाई आफ्ना अन्य जिम्मेवारीहरूमा भन्दा आध्यात्मिक क्रियाकलापहरूमा लगनशील हुन प्रायः झन् कठिन हुन्छ। परिवारका भौतिक आवश्यकताहरू पूरा गर्न दिनभरि मेहनत गर्ने पुरुषले आफ्नी पत्नी र छोराछोरीहरूसँग नियमित बाइबल अध्ययन गर्ने बेलामा भने ‘असाध्यै थाकेको’ महसुस गर्नसक्छ। कुन कारणहरूले गर्दा अधिकांश मसीहीहरूलाई आफ्ना मसीही कार्यहरूमा लगनशील हुन असाध्यै कठिन लाग्छ?
एउटा कारण आफ्नै गल्ती र कमजोरीहरूले गर्दा उत्पन्न हुने निरुत्साह हो। आफ्ना गल्तीहरूमाथि नकारात्मक भई सोचिरह्यौं भने हामी निराश हुनसक्छौं अनि यहोवाले कहिल्यै हाम्रा पापहरू क्षमा गर्नुहुनेछैन भन्ने सोचाइले गर्दा हार मान्नसक्छौं।
अर्को कारण अनैतिकता, भ्रष्टाचार र घृणाले भरिएको सांसारिक वातावरण हो। (१ यूहन्ना २:१५, १६) किनभने सांसारिक प्रभावले बिगार्नसक्ने एउटा “भला चाल-चलन” मसीही लगनशीलता हो।—१ कोरिन्थी १५:३३.
मानिसहरूको विरोध वा हाम्रो पवित्र सेवाप्रतिको भावशून्यताले गर्दा प्रचार कार्यमा शिथिल हुनसक्छौं। शायद हामी हतोत्साही हौंला अनि आफ्नो इलाकामा त सत्य चाहने कोही छैन भन्ने निष्कर्षमा पुगौंला। यस्तो परिस्थितिमा हामी ‘आखिर के फाइदा?’ भन्ने तर्क गर्न अनि सेवकाईजस्तो विशेष सुअवसरलाई त्याग्नसक्छौं।
संसारको आत्मविलासी आत्माले पनि हामीलाई प्रभाव पार्नसक्छ। आखिरमा, सबै जना रमाइलो गर्दै मस्त भएर जीवन बिताइरहेको बेला हामी चाहिं किन त्याग गर्दै मरिमेट्ने?—मत्ती १६:२३, २४ तुलना गर्नुहोस्।
लगनशील भई यहोवाको इच्छा पूरा गर्न मसीही व्यक्तित्व धारण गर्नुपर्छ र शरीरअनुसार होइन तर आत्माअनुसार जीवन बिताउनुपर्छ। (रोमी ८:४-८; कलस्सी ३:१०, १२, १४) यहोवाको जस्तो दृष्टिकोण राख्नाले हाम्रा अपरिहार्य आध्यात्मिक क्रियाकलापहरूलाई अघि बढाउन सक्नेछौं।—१ कोरिन्थी १६:१३.
लगनशीलताका उदाहरणहरू
कठिनभन्दा कठिन परीक्षाहरूको बावजूद यहोवाप्रति वफादार अनि विश्वासी भएर बस्ने सेवकहरूका थुप्रै उत्प्रेरक उदाहरणहरू यहोवाले दिनुभएको छ। ती उदाहरणहरूमाथि मनन गर्नाले मसीही लगनशीलता कसरी विकास गर्ने अनि देखाउने र त्यो किन साह्रै मूल्यवान् छ, सो बुझ्नसक्छौं।
यस सम्बन्धमा सबैभन्दा उत्तम उदाहरण येशू हुनुहुन्छ। उहाँले यहोवाको नाउँ महिमित गर्न असाध्यै कष्ट भोग्नुभयो। उहाँले लगनशील भई गर्नुभएका भक्तिका कार्यहरूको गहिरो अध्ययन गर्न बाइबलले प्रोत्साहित गर्छ: “यसैकारण हामी पनि, यतिका गवाहीका मेघले घरिएका हुनाले, हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौडौं। औ विश्वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं। जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। किनभने पापीहरूबाट उहाँको विरुद्धमा भएको यतिका विवादहरू सहनुहुनेलाई विचार गर, औ मन शिथिल भई तिमीहरू थाकेर नजाओ।”—हिब्रू १२:१-३.
जीवनको दौड छोटो छैन। छोटो दूरीसम्म वेगसित कुदे वा उफ्रे पुग्ने दौड त्यो होइन। त्यसैकारण हामीसित मसीहको जस्तो लगनशीलता हुनुपर्छ। शायद निकै समयसम्म दौडँदा पनि लक्ष्य नदेखिएला। तर मनको आँखाले लक्ष्य स्पष्ट देखेका छौं भने दौड लामै र संघर्षपूर्ण नै किन नहोस् हामी मानसिक तवरमा आफ्नो लक्ष्यसम्म पुग्नसक्छौं। येशूले पनि त्यस्तो मानसिक परिकल्पना राख्नुभएको थियो। र त्यो थियो “उहाँको सामने राखिदिएको आनन्द।”
आज मसीहीहरूका लागि यो आनन्दमा कुन कुन कुरा समावेश छन्? प्रथमतः त्यसमा केही मानिसहरूले पाउने स्वर्गीय अमर जीवन र बाँकी थुप्रै मानिसहरूले पाउने पार्थिव अनन्त जीवन समावेश छ। साथै, हामीले यहोवाको हृदयलाई प्रसन्न तुल्याएका छौं अनि उहाँको नाउँ पवित्र पार्न केही योगदान दिएका छौं भन्ने कुरा थाह हुँदा जुन सन्तुष्टि अनुभव गर्छौं, त्यो पनि यसमा समावेश छ।—हितोपदेश २७:११; यूहन्ना १७:४.
यो आनन्दमा समावेश अर्को कुरा यहोवासितको घनिष्ठ अनि मनमोहक सम्बन्ध हो। (भजन ४०:८; यूहन्ना ४:३४) त्यस्तो सम्बन्धले स्फूर्ति अनि ढाडस दिनुका साथै हार नमानी सहनशीलतासाथ दौड दौड्ने बल दिन्छ। यसबाहेक, आफ्ना सेवकहरूमाथि पवित्र आत्मा खन्याउनु भएर यहोवाले त्यस्तो सम्बन्धलाई आशिष् दिनुहुन्छ। फलतः हाम्रो आनन्द अनि आनन्ददायी क्रियाकलाप अझ बढ्छ।—रोमी १२:११; गलाती ५:२२.
अय्यूबको लगनशील विश्वासको उदाहरणलाई मनन गर्नु पनि लाभदायी हुन्छ। तिनी असिद्ध थिए र आफ्नो परिस्थितिबारे तिनीसित सीमित ज्ञान थियो। त्यसै- कारण तिनले बेला-बेलामा आत्मसफाइ दिन खोजे अनि निराश भए। तथापि, तिनले अनवरत रूपमा यहोवाप्रति दृढ निष्ठा कायम राख्ने कटिबद्धता देखाउनुका साथै उहाँलाई कहिल्यै त्यागेनन्। (अय्यूब १:२०-२२; २:९, १०; २७:२-६) अय्यूबले त्यस्तो लगनशील भक्ति देखाएको हुँदा यहोवाले तिनलाई आध्यात्मिक तथा भौतिक आशिष्हरूका साथै अनन्त जीवनको आशा दिनुभयो। (अय्यूब ४२:१०-१७; याकूब ५:१०, ११) शायद अय्यूबजस्तै हामीले धेरै दुःख अनि नोक्सान अनुभव गर्नुपर्ला। तर हामीले विश्वासीपूर्वक सहनशीलता देखाएको हुँदा यहोवाले आशिष् दिनहुनेछ भनेर हामी पनि ढुक्क हुनसक्छौं।—हिब्रू ६:१०-१२.
आधुनिक समयमा यहोवाका साक्षीहरूले सामूहिक रूपमा यहोवाको इच्छा पूरा गर्न मसीही लगनशीलता देखाएका छन्। उदाहरणको लागि, तिनीहरूले लगनशील भई घर-घर प्रचारका साथै अन्य तरिकाले जनप्रचार गरेकोले तिनीहरू अनि तिनीहरूका समाचारतर्फ सारा संसारको ध्यान गएको छ। विरोध र परीक्षाहरूको बावजूद सुसमाचार प्रचार गर्न तिनीहरूले देखाएको जोश र निर्णयबारे पत्रपत्रिका तथा रेडियो टेलिभिजनले थुप्रै टिप्पणीहरू गरेका छन्। तिनीहरूमध्ये एउटाले कार्टुन चित्रसमेत बनाएर यस्तो ठट्यौली लेखे, “यहोवाका साक्षीहरूदेखि कोही पनि उम्कन सक्दैन!”—मत्ती ५:१६.
यहोवाले आफ्ना साक्षीहरूको लगनशील प्रयत्नलाई दिनुभएको आशिष्ले गर्दा सेवकाईमा अझ वृद्धि भएको छ। उदाहरणको लागि, सन् १९६० को दशकतिर इटालीका केही कुशल साक्षीहरूको अनुभवलाई लिनुहोस्। त्यतिबेला ५,३०,००,००० जनसंख्या भएको उपरोक्त देशमा लगभग १०,००० साक्षीहरू मात्र थिए। छ हजार जनसंख्या भएको एउटा शहरमा त एउटै साक्षी थिएन। अरू ठाउँबाट आएका भाइहरूले त्यहाँ प्रचार गर्न खोज्दा वैमनस्यको सामना गर्नुपऱ्यो।
हरेक पल्ट भाइहरू प्रचार गर्न जाँदा शहरका थुप्रै स्त्रीहरू र पुरुषहरूले समेत केटाहरूलाई सुऱ्याउने अनि साक्षीहरूको पछि पछि गएर सिटी बजाउने, होहल्ला मच्चाउनेजस्ता काम गर्न लगाउँथे। अनि केही मिनेटभित्र भाइहरूलाई जबरजस्ती त्यो शहर छोडेर जान बाध्य गराउँथे। तर भाइहरूले एक पल्ट मात्र भए पनि शहरका सबै मानिसहरूलाई राम्ररी साक्षी दिने निधो गरे। अतः केटाहरूले दुःख नदेओस् भन्ने आशा गर्दै भाइहरूले पानी परेको दिनमा मात्र प्रचार गर्ने निर्णय गरे। यसो गर्दा प्रकाशकहरूको काममा खलल पार्न त्यस शहरका मानिसहरू पानीमा रुझ्न चाहिं पटक्कै मन पराउँदा रहेनछन् भनेर ती भाइहरूले देखे। यसप्रकार तिनीहरूले राम्रो साक्षी दिए। जिज्ञासुहरू पनि भेटिए। नयाँ बाइबल अध्ययनहरू सुरु भए। फलतः त्यो शहरमा एउटा फल्दोफुल्दो मण्डली स्थापित हुनुको साथै घमाइलो दिनमा पनि प्रचार गर्न सकिने भयो। आफ्ना साक्षीहरूले त्यस इलाका र इटालीभरि देखाएको लगनशीलतालाई यहोवाले लगातार आशिष् दिइरहनुभएको छ। अहिले यो देशमा २,००,००० भन्दा धेरै साक्षीहरू छन्।
लगनशील भई सही काम गर्नाले प्रशस्त आशिष्हरू पाइन्छ। परमेश्वरको आत्माको शक्ति पाएर यहोवाका साक्षीहरूले मानव इतिहासको अपूर्व काम पूरा गर्न सकिरहेका छन्। त्यो हो, घर-घर गएर वा अन्य तरिकाद्वारा लाखौं मानिसहरूलाई राज्यको सुसमाचार प्रचार गर्ने। (जकरिया ४:६) तिनीहरू यहोवाको पार्थिव संगठनको अद्भुत उन्नति र शक्तिमा बाइबलको भविष्यवाणी पूर्ति देख्न पाएकोमा आनन्दित छन्। (यशैया ५४:२; ६०:२२) परमेश्वरसमक्ष तिनीहरूको अन्तस्करण स्वच्छ छ र अनन्त जीवनको आशा पाएकोमा तिनीहरू हर्षित छन्। सबैभन्दा ठूलो कुरा, तिनीहरू सृष्टिकर्ता, यहोवा परमेश्वरसित घनिष्ठ सम्बन्धको आनन्द उठाउँछन्।—भजन ११:७.
[पृष्ठ २५-मा भएका चित्रहरू]
येशूले यस ग्रीक स्त्रीलाई तिनको विनम्र लगनशीलताको इनाम दिनुभयो
[पृष्ठ २६-मा भएको चित्र]
आज मसीहीहरूसमक्ष राखिदिएको आनन्दमा प्रमोदवनमा जीवन बिताउने प्रत्याशा समावेश छ