“धैर्य धारण गर”
१ जसै शैतानको पुरानो रीतिरिवाजको अन्त नजिकिंदै जान्छ, यहोवाको उद्धारको दिन पर्खदै “धैर्य धारण गर्नु” एकदमै आवश्यक छ। विशेष गरेर यो अन्तिम समयमा दुष्टात्माका सेनाहरूले थुप्रै स्वार्थ इच्छाहरूको लोभ देखाएर यहोवाको राज्यजस्तो प्रमुख विषयबाट हामीलाई अलमलाउन कम्मर कसेको छ। यसरी छल गरेर राज्य प्रचार कार्यमा हामीलाई ढिला सुस्ती गर्न लाउँछ। (याकू. ५:७, ८; मत्ती २४:१३, १४) हामी कसरी धैर्य धारण गर्नसक्छौं?
२ नम्र भएर: हाम्रो सेवकाईको काममा भावशून्यता वा विरोध आइपर्दा नम्रताले हामीलाई प्रचारमा लागिरहन मदत दिन्छ। हामीले भेटेका मानिसहरू रूखा वा कठोर छन् भने पनि हामी त्यतिकै तर्सदैनौं वा चित्त दुखाउदैनौं। (१ पत्रु. २:२३) हामीले प्रचार गर्ने इलाकामा हाम्रो कामलाई बेवास्ता र घृणा गर्ने मानिसहरूबारे निराशावादी कुरा नगर्न यस आन्तरिक बलले हामीलाई मदत दिन्छ। यस्तो कुरा गर्दा आफू र आफूसित सेवकाईमा काम गर्ने व्यक्ति निरुत्साहित हुन्छ भनेर बुझ्ने मदत पनि दिन्छ।
३ स्थिरसाथ धीरजी भएर: क्षेत्र सेवकाईमा राम्रो छलफल भएपछि अर्कोपटक फेरि भेट्न जाँदा इच्छुक व्यक्तिलाई घरमा नभेट्टाउँदा हामीलाई धीरजको आवश्यक धेरै पर्छ। यदि हाम्रो बाइबल विद्यार्थीले प्रगति गर्न ढिलो गरिरहेको छ वा सत्यमा दृढ भएको छैन भनेपनि त्यस्तै हुन्छ। तापनि स्थिरसाथ धीरजी हुँदा राम्रो फल पाइन्छ। (गला. ६:९) बाइबल अध्ययन साँच्चै सुरु हुनुभन्दा अगाडि हाम्री एक जना बहिनीले एउटी युवतीलाई धेरै पटक भेट्न गई। पाँच खेप त्यस युवतीलाई भेट्न जाँदा ऊ आफ्नै काममा व्यस्त थिई। छैटौं खेप हाम्री बहिनी पानीमा निथ्रुक्क भिज्दै जाँदा त झन् घरमा कोही पनि भेट्टाइनन्। तैपनि, अझ एकपटक मौका दिऊँ भनेर हाम्री बहिनी फेरि भेट्न गई र त्यस युवती अध्ययन सुरु गर्न तयार भई। त्यसपछि, त्यस युवतीले चाँड-चाँडो प्रगति गरी र केही समय भित्रै यहोवालाई आफ्नो जीवन समर्पण गरी।
४ यहोवाको दिनले ढिलो गर्नेछैन भनी हामी जान्दछौं। यसकारण, ईश्वरीय धीरजले राम्रो फल दिन्छ भनेर मनमा राख्दै हामी उहाँले आफ्नो काम पूरा गर्नुहुने दिन पर्खन्छौं। (हब. २:३; २ पत्रु. ३:९-१५) यहोवाले जस्तै हामीले पनि धैर्य धारण गर्नुपर्छ र सेवकाईको काम छोड्नुहुँदैन। यहोवाले हाम्रो परिश्रमको फल दिनुहुन्छ भन्ने मनमा राख्दै “विश्वास र धीरज” साथ यहोवामाथि भरोसा गरौं।—हिब्रू ६:१०-१२.