ट्रोबाडोरहरू—प्रेम गीत गायकहरू मात्र होइनन्
फ्रान्सका ब्यूँझनुहोस्! संवाददाताद्वारा
ट्रोबाडोरहरू तथा घुमन्ते गायकहरू, यी शब्दहरूले तपाईंलाई कुन कुराको सम्झना गराउँछ? सायद मायाप्रीती तथा वीरताका गीतहरू गाउने पुरुषहरू तपाईंको मनमा आउँछ होला। तपाईंले ठीकै सोच्नुभयो तर ती त्यति मात्रै होइनन्। तिनीहरू सम्भवतः कान्सो डामोर वा प्रेम गीतका निम्ति ज्यादै प्रख्यात छन्, अतः तिनीहरूलाई वीणाजस्तो बाजा लिएको, राति प्रेयसीको झ्यालमुनी बसेर गीत गाएको चित्रण गरिन्छ। तर मायाप्रीती मात्र तिनीहरूको प्रमुख चासोको विषय थिएन। ट्रोबाडोरहरू आफ्नो समयका थुप्रै सामाजिक, राजनैतिक तथा धार्मिक मामिलाहरूमा सम्मिलित थिए।
वर्तमान फ्रान्सको दक्षिणी भागमा १२ औं र १३ औं शताब्दीताका ट्रोबाडोरहरूको फलिफाप भयो। तिनीहरू कवि-संगीतकारहरू थिए र तिनीहरूले सबैभन्दा विशुद्ध स्थानीय भाषा रोमान्समा लेख्थे। यसलाई ल्याङवे डक भनिन्थ्यो।a सामान्यतया लेवार नदीको दक्षिणमा पर्ने फ्रान्सिसी भूभाग तथा नजिकैको इटाली र स्पेनमा पनि यही भाषा बोलिन्थ्यो।
“ट्रोबाडोर” भन्ने शब्दको सुरुआतबारे धेरै विवाद गरिएको छ तर यो “रचना गर्नु, बनाउनु वा पत्ता लगाउनु” भन्ने अर्थ बुझाउने अक्टियन क्रियापदबाट निकालिएको जस्तो छ। अतः एक ट्रोबाडोरले आफ्ना सुन्दर पद्यहरू छन्द मिलाएर लेख्नसक्थे। तिनीहरूको कविता संगीतबद्ध भएकोले गाउन सकिन्थ्यो। ट्रोबाडोरहरू सँगसँगै पेशेवर चटकेहरू घुम्ने गर्थे अनि शहर शहरहुँदो ट्रोबाडोरहरूले हार्प, भाइलिन, बाँसुरी, वीणाजस्तो बाजा वा गीटार बजाएर गीतहरू गाउँथे। धनीहरूको बैठकदेखि लिएर बजार वा प्रतियोगिता, मेला, चाडपर्व वा भोज-भतेरजस्ता कुनै पनि अवसरहरूमा औपचारिक मनोरञ्जनको रूपमा यी ट्रोबाडोरहरूको सांगितिक कार्यक्रम समावेश गरिन्थ्यो।
बेग्लै पृष्ठभूमि
ट्रोबाडोरहरू अक्सर बेग्लाबेग्लै पृष्ठभूमिका हुन्थे। कोही प्रतिष्ठित परिवारमा जन्मिएका हुन्थे भने, कोही राजाहरू र कोही चाहिं साधारण परिवारमा जन्मेर ट्रोबाडोरको ठूलो ओहदासम्म पुग्थे। कोहीले निकै मानमर्यादा हासिल गरे। थुप्रै ट्रोबाडोरहरू पढेलेखेका साथै देशविदेश भ्रमण गरेका हुन्थे। सबैले वीरता, शीष्टता, काव्यशैली र संगीतका नियमहरूबारे व्यापक प्रशिक्षण पाएका हुन्थे। एउटा स्रोतअनुसार असल ट्रोबाडोर, “जहाँतहींको ताजा समाचारहरू सबै विस्तृत रूपमा थाह पाएको, विश्वविद्यालयका उल्लेखनीय सबै शोधग्रन्थहरू मुखस्त भएको, अदालतमा भइरहेका सबै काण्डहरूबारे जानकारी भएको, . . . पुरुष वा स्त्रीको लागि तुरुन्तातुरुन्तै छन्दहरू रचना गर्नसक्ने र कम्तीमा पनि दुइटा बाजा बजाउनसक्ने” खूबी भएका हुन्छन् भन्ठानिन्थ्यो।
बाह्रौं शताब्दीको आर्थिक उन्नतिले गर्दा फ्रान्सको दक्षिणी प्रान्तहरू निकै सम्पन्न थिए। सम्पन्नताको साथसाथै फुर्सदको समय, शिक्षा, कला र सोखसित बस्ने चाहनाहरू बढ्न थाले। ल्याङवेडक र प्रोभेन्सका महान् नवाब तथा मिमहरू ट्रोबाडोरहरूका सबैभन्दा समर्पित संरक्षकहरू थिए। कविहरूलाई अत्यन्तै सम्मान दिइन्थ्यो र तिनीहरूले घरानियाँहरूको रुचि, फेसन तथा शीलस्वभावमा अत्यधिक प्रभाव जमाउन थाले। युरोपको बलरुम नृत्य सुरु गर्ने यिनीहरू नै थिए। तथापि, न्यु इनसाइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “ट्रोबाडोरहरूको सबैभन्दा ठूलो उपलब्धि नै चोकहरूमा भेला भएका स्त्रीहरूलाई पहिला कहिल्यै अनुभव नगरेको परिष्कृट सभ्यता तथा सौहार्द्धताको माहोल सृजना गरिदिनु थियो।”
स्त्रीहरूप्रति नयाँ प्रकारको आदर
शताब्दीऔंदेखि पश्चिमी युरोपमा पुरुषले स्त्रीको निम्ति ढोका खोलि दिने, कोट लाउन मदत गरिदिने वा अन्य कुनै पनि “महिलाहरू पहिला” भन्नेजस्ता शिष्टताहरू सम्भवतः ट्रोबाडोरहरूले नै सुरु गरेका हुनुपर्छ।
मध्ययुगमा स्त्रीहरूप्रति गरिने व्यवहार धेरै हदसम्म चर्चको शिक्षाबाट प्रभावित थियो र मानिस पापी हुनु र प्रमोदवनबाट निस्कनु पर्नाको कारण स्त्रीहरू नै हुन् भन्ने चर्चको धारणा थियो। तिनलाई प्रलोभक अनि शैतानको साधनको रूपमा लिइन्थ्यो तर यी सबैको बावजूद पुरुषहरूलाई नभई नहुने कुरा थियो। विवाह अक्सर अत्यन्तै घृणित कार्य मानिन्थ्यो। चर्चको नियमले स्वास्नीलाई कुट्न अनुमति दिन्थ्यो जसले गर्दा स्त्री जातिले बेइज्जती र थिचोमिचो सहनुपर्थ्यो। हरेक पक्षमा स्त्री जातिलाई पुरुषभन्दा तुच्छ ठानिन्थ्यो। तर ट्रोबाडोरहरूको समयदेखि पुरुषहरूले स्त्रीहरूप्रति अर्कै विचारधारा राख्न थाले।
अक्युटेनका डुक विलियम नवौं पहिलो ट्रोबाडोरको रूपमा चिनिन्छन्। तिनको कवितामा पहिलो पटक प्रेमबारे अनुपम विचार व्यक्त गरिएको थियो, जसलाई पछि प्रेम कविताहरू भनियो। प्रोभेन्सका कविहरू आफैले यसलाई भेरामोर (साँचो प्रेम) वा फिनामोर (असली प्रेम) भन्न थाले। यो बिलकुलै नयाँ धारणा थियो किनभने यस उप्रान्त स्त्रीहरूलाई पुरुषभन्दा तल्लो दर्जाको ठानिएन।
ट्रोबाडोरहरूका कविताहरूले स्त्रीजातिलाई अपार सम्मान, इज्जत र आदर दिए। तिनी महान् र सद्गुणी गुनहरूका मूर्तरूप हुन थालिन्। मख्ख पर्दै स्त्रीहरू हेर्ने कविहरूप्रति स्त्रीहरूले देखाएको भावशून्यताबारे कुनै कुनै गीतहरूमा बिलौना गरिएको हुन्थ्यो। सैद्धान्तिक तवरमा मात्र भए पनि ट्रोबाडोरहरूको प्रेम पवित्र हुनुपर्ने थियो। तिनको प्रमुख उद्देश्य स्त्रीलाई हासिल गर्ने नभई उनीप्रतिको प्रेमले गर्दा आफ्नो नैतिकतालाई अझ परिष्कृत बनाउनु थियो। उत्साही कविले स्त्रीमा भएका सबै राम्रा गुनहरू जस्तै नम्रता, आत्म-संयम, धीरज, वफादारी खेती गर्न आफूलाई योग्य बनाउन बाध्य हुन्थ्यो। अतः सबैभन्दा रुखो पुरुषसमेत प्रेमले गर्दा सुध्रन सक्थ्यो।
ट्रोबाडोरहरूले मायाप्रीती सामाजिक र नैतिक शुद्धिकरणको स्रोत हुनुका साथै शिष्टता तथा उदारताका कार्यहरू पनि प्रेममा आधारित हुन्छन् भन्ने विश्वास राख्थे। यो विचार प्रख्यात हुँदै जाँदा आचारसंहिताको आधार हुनगयो र समयमा सामान्य घरपरिवारका मानिसहरूले पनि त्यही आचारसंहिता पछ्याउन थाले। घिनलाग्दा कुराहरू र क्रूरताले व्याप्त सामन्त समाजको विपरीत नयाँ जीवनशैली सुरु भयो। स्त्रीहरूले आफ्ना पति आत्म-त्यागी, अरूको ख्याल राख्ने र दयालु अर्थात् भद्र पुरुष भएको आशा गर्न थाले।
चाँडै अधिकांश युरोपले नै ट्रोबाडोरहरूको शैली अपनाउन थाले। स्पेन र पुर्तुगालले तिनीहरूको कलात्मक शैली अंगाले। उत्तरी फ्रान्समा ट्रुभरहरू हुन थाल्यो भने जर्मनीमा माइनसिंगर र इटालीमा ट्रोभाटोरी हुनथाल्यो। ट्रोबाडोरका मायाप्रीतीका विषय तथा वीरताका विचारहरूको मिश्रण गरेर साहित्यमा रोमान्स भनिने एउटा नयाँ शैली उत्पन्न भयो।b उदाहरणका लागि, मायाप्रीतीका विचारहरूलाई सेल्टीक ब्रिटानी अर्थात् ट्रुभेर क्रेट्याङ त्रवा कोही पनि ठूलो सानो नहुनेगरि राजा आर्थर र उनका वीरहरू बस्ने बाटुलो टेबुलको कथामा उदारता र कमजोरहरूको सुरक्षाजस्ता सद्गुणहरूलाई नमुनाको रूपमा चलाए।
समाजमा तिनीहरूको प्रभाव
अधिकांश ट्रोबाडोर गीतले मायाप्रीतीका सद्गुणबारे गुनगान गरे तापनि कुनै कुनैले चाहिं त्यतिबेलाको सामाजिक र राजनैतिक विषयहरूबारे गाउँथे। ला भ्ये अ लप-का (भायलिन र तरबार) फ्रान्सिसी लेखक मार्टिन अरेलले बताएअनुसार ट्रोबाडोरहरू ‘समकालीनहरूबाट अलग्गै छुट्टिने संघर्षहरूमा पनि भाग लिन्थे र पक्ष वा विपक्षको विजयमा समेत ट्रोबाडोरहरूले योगदान पुऱ्याउँथे।’
मध्ययुगका ट्रोबाडोरहरूको विशिष्ट स्थानबारे टिप्पणी गर्दै रबर्ट साबाटियर भन्छन्: “कविहरूले कहिल्यै यस्तो सम्मान पाएका थिएनन्, पहिला कसैले पनि त्यत्तिको वाकस्वतन्त्रता पाएका थिएनन्। तिनीहरूले प्रशंसा गर्थे र हप्काउँथे, तिनीहरू सर्वसाधारणका आवाज थिए, राजनैतिक सिद्धान्तहरूमा तिनीहरूको हात हुन्थ्यो र तिनीहरू नयाँ विचारका माध्यम भए।”—ला पोइजे डु म्वायन आइस।
तिनीहरूको समयको समाचार माध्यम
छापाखानाहरूको आविष्कार हुनुभन्दा धेरैअघि ट्रोबाडोरहरू तथा अन्य घुमन्ते संगीतकारहरूले समाचार माध्यमको रूपमा सेवा गरे भन्न सकिन्छ। मध्ययुगका संगीतकारहरू अन्तरराष्ट्रिय यात्रुहरू थिए। युरोपभरि अर्थात् साइप्रसदेखि स्कटल्याण्ड र पोर्तुगालदेखि पूर्वी युरोपसम्म, तिनीहरू जहाँसुकै गए पनि ठाउँ ठाउँका समाचारहरू संकलन गर्थे अनि कथा, धुन तथा गीतहरू आदानप्रदान गर्थे। चटकेहरू मार्फत एक कान दुई कान मैदान गरी फैलिएको ट्रोबाडोर गीतका मनोहर धुनहरू मानिसहरूले सिक्न थाले, जनसाधारणहरू तिनीहरूको विचारबाट प्रभावित हुन थाले र आमजनतालाई विभिन्न कामकुराहरू गर्न जुर्मुराए।
ट्रोबाडोरहरूको एउटा कवितात्मक शैलीलाई अंग्रेजीमा सरभान्त भनिन्छ जसको शाब्दिक अर्थ “दासहरूको गीत” हो। यसका कतिपय गीतहरूले शासकहरूको अन्याय पर्दाफास गर्थे। कुनै कुनैले वीरता, आत्म-त्याग, उदारता र कृपाका कार्यहरूको गुनगान गर्थे भने कतिपयले चाहिं पाशविक क्रूरता, कायरता, लोकाचार र स्वार्थीपनाको आलोचना गर्दै गाउँथे। लाङवेडकमा भयंकर उथलपुथल हुँदा राजनैतिक र धार्मिक अवस्था कस्तो थियो भन्नेबारे इतिहासकारहरूले तेह्रौं शताब्दीको सुरुतिरका सरभान्तहरूद्वारा जानकारी पाउनसक्छन्।
चर्चको आलोचना
क्रूसेडको विफलतापछि थुप्रै मानिसहरूले क्याथोलिक चर्चको आध्यात्मिक र राज्य अधिकारबारे शंका गर्न थाले। पादरीहरूले ख्रीष्टको प्रतिनिधित्व गर्ने दाबी गर्थे तर तिनीहरूको कार्य चाहिं ख्रीष्टको जस्तो पटक्कै थिएन। तिनीहरूको कपट, लोभ र भ्रष्टाचारबारे सबैले थाह पाउन थाले। सधैं धन र राजनैतिक शक्तिको मात्र पछि लाग्ने विशप तथा पादरीहरूले धनीमानीको सेवा गर्न थाले। गरिब तथा मध्यम वर्गका आध्यात्मिक आवश्यकतालाई बेवास्ता गर्दा स्वतः विभाजनहरू हुन थाले।
प्रायजसो मध्यमवर्गका साथसाथै धनीमानीहरू लाङवेडकमा लेखेपढेका हुन्थे। इतिहासकार एच. आर. ट्रेभर-रोपरले यस्तो टिप्पणी गरे, १२ औं शताब्दीको चर्चले “पुरातन नमुनाहरूलाई पछ्याइरहेको भनी दाबी गरे तापनि तिनीहरूभन्दा अत्यन्तै भिन्न भएको” शिक्षित जनवर्गले थाह पाउन थाले। मानिसहरूले यसरी सोच्न थाले भनी तिनी अझ भन्छन्: “कन्स्टेनटाइनअघि औपचारिक रूपमा स्थापना नभएको चर्च, प्रेरितहरूको चर्च, सतावटताकको चर्चभन्दा . . . एकदमै भिन्न थियो। . . . पोप वा सामन्ती विशप अथवा गुठी वा गैरमसीहीधर्म सिद्धान्त या नयाँ शर्तनामाबिना चर्चले धन र शक्ति मात्र थुपार्दै लैजाने गर्थ्यो।”
ल्याङवेडक धार्मिक सहिष्णुताको भूमि थियो। टुलुज र दक्षिणी प्रान्तका अन्य शासकहरूले जनसाधारणलाई धार्मिक स्वतन्त्रता दिएका थिए। वाल्देन्सहरूलेc लाङवे डकमा बाइबल अनुवाद गरेका थिए र त्यस प्रान्तमा दुई दुई जना गएर जोसका साथ प्रचार गरिरहेका थिए। कथारीहरूले (अल्बिजेनसियन पनि भनिन्छ) पनि आफ्नो धर्मसिद्धान्त प्रचारप्रसार गरिरहेका थिए र थुप्रै कुलीन परिवारका मानिसहरूले धर्मपरिवर्तन गरेर यो मत स्वीकारे।
क्याथोलिक चर्चसित थुप्रै मानिसहरू निराश हुनुका साथै त्यसप्रति तिनीहरूको अनादर र घृणा ट्रोबाडोरहरूको सरभान्तमा झल्किन्थ्यो। पादरीवर्गले “आफ्नो प्रमुख कार्यलाई त्यागेर” सांसारिक कुराहरूपछि लागेकोमा गे डि काभायनको एउटा सरभान्तमा छ। ट्रोबाडोरका गीतमा अग्निमय नरक, क्रूस, पाप स्वीकार्ने र “पवित्र जल” जस्ता कुराहरूको निन्दा गरिएको हुन्थ्यो। तिनीहरूले विलासिता र मूर्तिपूजाको गिल्ला गर्थे र अनैतिक पादरी, भ्रष्ट विशपहरूलाई “धोखेबाज, फटाहा र कपटीहरू” भनी निन्दा गर्थे।
स्वतन्त्रता विरुद्ध चर्चको युद्ध
तर, रोमी चर्चले आफूलाई सबै साम्राज्य र राज्यहरूभन्दा श्रेष्ठ ठान्थ्यो। शक्ति हासिल गर्ने यसको प्रमुख साधन युद्ध हुनगयो। पोप इनोसेन्ट तेस्रोले फ्रान्सका दक्षिणी प्रान्तका राजकुमारहरूलाई दबाउन तथा सबै विरोधीहरूलाई पेल्नसक्ने कुनै पनि सेनालाई लाङवेडकको सारा धन दिने प्रतिज्ञा गरे। यसले गर्दा फ्रान्सिसी इतिहासमै सबैभन्दा रक्तपातपूर्ण यातना र हत्याकाण्डहरू भए। यसलाई पछि अल्बिजेनसियन क्रूसेड भनियो (१२०९-२९)।d
ट्रोबाडोरहरूले यसलाई झूटो धर्मयुद्ध भने। चर्चको मत विरोधीप्रतिको क्रूर व्यवहार र फ्रान्सिसी धर्मविरोधी तथा मसीही हुन गएका मुसलमानहरूलाई मारेको खण्डमा पोपले दिन्छु भनेको विलासिता जस्ता विषयहरूबारे तिनीहरूको गीतमा आक्रोश व्यक्त गरियो। अल्बिजेनसियन क्रूसेडको दौडान र त्यसपछिको इनक्विजिसनमा चर्चले थुप्रै धन थुपारे। परिवारहरूको सम्पत्ति, घरजग्गा सबै जफत गरे।
कथारी धर्मविरोधको दोष लगाइएको कारण थुप्रै ट्रोबाडोरहरू त्यति वैरभाव नराख्ने देशहरूतिर भागे। यस क्रूसेडपछि अक्टियन सभ्यता, यसको जीवनशैली र कविताको अन्त भयो। इनक्विजिशनका नियमहरूले ट्रोबाडोरका गीत गाउनु वा गुनगुनाउनसमेत गैरकानुनी ठहरायो। तर तिनीहरूले छाडेका सम्पदा आजसम्म जीवितै छ। वास्तवमा तिनीहरूको चर्च विरोधी गीतहरू धार्मिक सुधारको निम्ति आधार बन्न गयो। साँच्चै ट्रोबाडोरहरूको चिनारी प्रेम गीतहरूसित मात्र सम्बन्धित होइन।
[फुटनोटहरू]
a रोमी सेनाहरूबाट आएको ल्याटिन भाषालाई रोमन भनिन्थ्यो। त्यतिञ्जेल यो फ्रान्सका दुई स्थानीय भाषामा विकास भइसकेको थियो: दक्षिणी फ्रान्समा ल्याङवे डक (अक्टियन वा प्रोभेन्सल पनि भनिन्थ्यो) बोलिन्थ्यो भने उत्तरी फ्रान्समा ल्याङवे डोइल बोलिन्थ्यो (यसलाई नै पुरानो फ्रान्सिसी भाषा भनिन्थ्यो)। यी दुई भाषाहरूलाई छुट्याउने तरिका नै तिनीहरूले हो भन्न चलाउने शब्दबीचको भिन्नता थियो। जसलाई दक्षिणमा ओक भनिन्थ्यो (ल्याटिन होक-बाट); उत्तरमा ओइल (ल्याटिन होक इल-बाट) भनिन्थ्यो जुन पछि आधुनिक फ्रान्सिसी भाषामा वी हुन गयो।
b उत्तरी वा दक्षिणी भाषामा लेखिएको कुनै पनि लेखोटलाई रोमन भनिन्थ्यो। प्रायजसो वीरताका कथाहरू मायाप्रीतीका भावनाहरूसित सम्बन्धित भएकाले तिनीहरू रोमान्सका आदर्श स्तरको रूपमा लिन थालियो।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रहरीधरहरा, (अंग्रेजी) अगस्त १, १९८१, पृष्ठ १२-१५ हेर्नुहोस्।
d प्रहरीधरहरा, सेप्टेम्बर १, १९९५, पृष्ठ २७-३० हेर्नुहोस्।
[पृष्ठ १८-मा भएको चित्रको स्रोत]
मुद्रकका गहनाहरू/by Carlo Belanger Grafton/Dover Publication, Inc
Bibliothèque Nationale, Paris
[पृष्ठ १९-मा भएको चित्र]
बाह्रौं शताब्दीको पाण्डुलिपिबाट लघुचित्र
[स्रोत]
Bibliothèque Nationale, Paris