के हाम्रो माझ स्वर्गदूतहरू छन्?
मर्लिन विचारमग्न भई रेलको पटरीमा हिंडिरहेकी थिइन्। आफ्नो वरपर के भइरहेछ, तिनलाई अत्तोपत्तो थिएन। अचानक तिनले केही चीज गुड्दै आएको चर्को आवाज सुनिन्। फनक्क फर्केर हेर्दा आफूतिर रेल वेगसित आएको देखिन्। मर्लिन कहालिन्। त्यो रेल यति नजीक आइसकेको थियो, तिनले रेल चालकको निलो आँखा र भयभीत अनुहारसमेत देख्न सक्थिन्। तर यसपछि जे भयो, त्यसलाई मर्लिन कहिल्यै बिर्सन सक्दिनन्। “मलाई बलियो मानिसले घचटेको जस्तो लाग्यो,” तिनले भनिन्। “त्यो घचेटाइले म पटरी छेवैमा राखेको कोइलाका थुप्रोमा पछारिन पुगें।” तिनलाई सामान्य चोटपटक लाग्यो र कोइलाको थुप्रोबाट उठ्दै आफ्नो उद्धारकलाई धन्यवाद दिन खोजिन्। तर अचम्म, त्यहाँ कोही पनि थिएन। अचानक र अनायास भएको यो घटनाले गर्दा अब तिनी कस्तो निष्कर्षमा पुग्छिन्? “मेरो रक्षक दूतले मलाई बचायो नत्र अरू को थियो र त्यहाँ मलाई बचाउन?,” मर्लिन् भन्छिन्।
यो शंकालु संसारलाई आजकल स्वर्गदूतहरूको सनक चढेको छ। हालसालै, स्वर्गीय प्राणीहरूलाई लिएर टेलिभिजन कार्यक्रम, चलचित्र तथा नाटकहरू मञ्चन गरिएका छन्। स्वर्गदूतहरूबारे लेखिएका पुस्तकहरू अहिले सबैभन्दा बढी बिक्री हुने धार्मिक पुस्तकहरूको अग्रपंक्तिमा आउँछन्। अब त, स्वर्गदूत क्लब, विचार गोष्ठी र सानातिना पर्चा पत्रिकाहरूसमेत जताततै देखिन थालिसक्यो। अझ एउटा लेखअनुसार “स्वर्गदूतीय मदत” प्राप्त गर्न कार्यशाला गोष्ठीहरूसमेत आयोजन गरिएका छन्।
मौकावादी व्यापारीहरूले मानिसहरूको यस्तो चासोको सजिलै फाइदा उठाइरहेका छन्। तिनीहरूले स्वर्गदूतको नाउँमा अनगिन्ती उपभोग्य वस्तुहरू प्रचार प्रसारमा ल्याएका छन्। संयुक्त राज्यस्थित एउटा पसलकी सह-मालिकको भनाइअनुसार “स्वर्गदूतको नाउँ जोडिएको सबै वस्तु असाध्यै बिक्री हुन्छ।” ती वस्तुहरूको सूचिमा तिनी अनगिन्ती कितापहरूबाहेक “स्वर्गदूतहरूका मूर्ति, पिन, पुतली, गन्जी, पोस्टर र शुभेच्छा प्रकट गर्ने कार्डहरू” आदि उल्लेख गर्छिन्। अधिक मात्रामा बेचबिखन हुने यी वस्तुहरूलाई एक पत्रकारले “स्वर्गीय नाफा” भनेर सम्बोधन गर्छन्।
तर स्वर्गदूत समर्थकहरू यो फेशन होइन भनेर तर्क गर्छन्। आफ्नो दाबीलाई समर्थन गर्न तिनीहरू एकपछि अर्को घटनाहरू बताउँछन्—स्वर्गदूतहरूसँग भेट भएका “सत्य” घटनाहरू। केही मानिसहरू आफूले स्वर्गदूतलाई मानिसको रूपमा देखेको बताउँछन्। अरू चाहिं चम्किलो प्रकाश देखेको, आवाज सुनेको, स्वर्गदूत आफू नजीकै भएको अनुभूति वा एक किसिमको प्रेरणा, जसलाई तिनीहरू स्वर्गदूतीय प्रेरणा भन्छन् त्यो महसुस गरेको बताउँछन्। अर्कोतर्फ मर्लिनजस्ता थुप्रै मानिसहरू आफूलाई स्वर्गदूतले बचाएको हो भनी बताउँछन्।
के हुँदैछ यो संसारमा? “मेरो विचारमा यो आध्यात्मिकताको पुनःजन्म हो।” “अलौकिक” भेटघाटबारे दुइ पुस्तक लेख्ने जोन वेस्टर एन्डरसनले यसरी आफ्नो विचार पोखिन्। अर्को पुस्तक लेख्न मदत गर्ने अल्मा दानियल अझ थप्दै के भन्छन् भने धेरैभन्दा धेरै मानिसहरूकहाँ पुग्न सकोस् भनेर स्वर्गदूतहरूलाई “अहिले प्रकट हुन निर्देशन दिइएको छ। स्वर्गदूतहरू आफैले त्यस्तै चाहेको हुँदा अहिले हामी तिनीहरूबारे यति धेरै कुरा सुन्दैछौं। यो सबै तिनीहरूकै काम हो।”
के यो यथार्थ कुरा हो त? वा आजकल स्वर्गदूतहरूप्रति बढ्दै गएको आकर्षणपछाडि अरू कुनै कुरा छ कि? त्यसको जवाफ पाउन हामीले परमेश्वरको वचन जाँच्नैपर्छ। हामी देख्नेछौं, बाइबलमा स्वर्गदूतहरूबारे यथार्थ कुरा पाइँदो रहेछ।
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
पृष्ठ ३ र ४: The New Testament: A Pictorial Archive from Nineteenth-Century Sources, by Don Rice/Dover Publications, Inc.