उत्तम जीवन प्रतिज्ञा गरिएको छ
के तपाईं जीवनलाई कठिन बनाउने समस्याहरूबाट मुक्त हुन चाहनुहुन्छ? के तपाईं यस पत्रिकाको आवरण पृष्ठमा चित्रण गरिएझैं आनन्दमय संसारमा जीवन बिताउन चाहनुहुन्छ? त्यो चित्रलाई नियालेर हेर्नुहोस्। मानिसहरूसित प्रशस्त खानेकुरा छ। तिनीहरूले साँच्चै स्वादिलो भोजनको आनन्द उठाउनेछन्। सबै आनन्दित छन्। विभिन्न जातिका मानिसहरू एकसाथ मिलेर बसेका छन्। जनावरहरूमा समेत मेलमिलाप छ! कोही पनि झगडा गरिरहेको छैन। कोही गरिब छैन। कोही बिरामी छैन। रमाइलो वातावरण, सुन्दर रूख तथा स्वच्छ पानी छ। कति मनोरम वातावरण!
के यो पृथ्वी त्यस्तो कहिल्यै होला र? हो, पृथ्वी प्रमोदवन हुनेछ। (लूका २३:४३) पृथ्वीको सृष्टिकर्ता परमेश्वरले यस पार्थिव प्रमोदवनमा मानिसहरूले उत्तम जीवनको आनन्द उठाओस् भन्ने उद्देश्य राख्नुभएको छ। अनि तपाईं त्यहाँ बस्न सक्नुहुन्छ!
तपाईं कुन जीवन रुचाउनुहुन्छ?
अहिले हामी बाँचिरहेको संसारभन्दा त्यो भावी पार्थिव प्रमोदवन कसरी भिन्न हुनेछ? अहिले दिनहुँ एक अरबभन्दा बढी मानिसहरू भोकै छन्। तर परमेश्वरले उद्देश्य गर्नुभएको पार्थिव प्रमोदवनमा सबैसित प्रशस्त भोजन हुनेछ। बाइबलले यस्तो प्रतिज्ञा गर्छ: “सेनाहरूका परमप्रभुले . . . सारा मानिसहरूका निम्ति मीठा मीठा थोकहरू—छिप्पिएको मद्य, असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको भोज लाउनुहुनेछ।” (यशैया २५:६) खानाको अभाव हुनेछैन किनभने बाइबल यसो भन्छ: “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ।”—भजन ७२:१६.
आज, धेरै मानिसहरू छाप्राहरूमा बस्छन् वा भाडा तिर्न दौडधूप गरिरहेका छन्। अरू थुप्रैको घर छैन र सडकमै सुत्छन्। विश्व स्वास्थ्य संगठनअनुसार संसारभरि दश करोड केटाकेटीहरू घरबारविहीन छन्। तर आउँदै गरेको प्रमोदवनमा सबैको आ-आफ्नो घर हुनेछ। परमेश्वरको वचनले यसो भन्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्।”—यशैया ६५:२१.
धेरैले आफूलाई मन नपर्ने जागिरमा हाड घोटिरहेका छन्। तिनीहरूले प्रायजसो हरेक दिन धेरै घण्टा काम गरेर पनि थोरै मात्र कमाउँछन्। संसारमा ५ जनामध्ये १ ले प्रतिवर्ष ५०० अमेरिकी डलरभन्दा कम आयमा जीवन निर्वाह गरिरहनु परेको छ। तथापि, आउँदै गरेको प्रमोदवनमा मानिसहरूले आफ्नो काम खुशीसाथ गर्नेछन् र त्यसबाट राम्रा परिणामहरू पाउनेछन्। परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्।”—यशैया ६५:२२, २३.
अहिले, बिमारी र रोगव्याधि जताततै छ। धेरै अन्धा छन्। केही बहिरा छन्। केही लुलालंगडा छन्। तर प्रमोदवनमा मानिसहरू बिमारी वा रोगव्याधिबाट मुक्त हुनेछन्। यहोवा यसो भन्नुहुन्छ: “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’” (यशैया ३३:२४) अपांगहरूका लागि यस हृदयग्राही प्रतिज्ञा गरिएको छ: “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लंगडा मृगझैं उफ्रनेछ, र गूंगाको जिब्रोले स्तुति गर्नेछ।”—यशैया ३५:५, ६.
वर्तमान समयमा चारैतिर दुःख, पीडा र मृत्यु व्याप्त छ। तर आउँदै गरेको प्रमोदवनमा यी सबै हुनेछैनन्। हो, मृत्युसमेत हुनेछैन! बाइबल यसो भन्छ: “परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
अतः, यहोवाले प्रतिज्ञा गर्नुभएको पार्थिव प्रमोदवनमा मानवजातिको लागि उत्तम जीवन हुनेछ भनेर स्पष्ट छ। तर त्यो पक्कै आउनेछ भनेर हामी कसरी ढुक्क हुनसक्छौं? त्यो कहिले आउनेछ र कसरी? तपाईं त्यहाँ हुन के गर्नुपर्छ?